- टंक वनेम
दुईटा फूल देउरालीमा
संगै राख्यौं जस्तो लाग्छ
कतै टाढा जाँदा खेरि …. ...........
.............................
यो कर्णप्रिय गीतले मन छुदाँ भरखरै जीवनको बैँस उक्लि रहेको थियो । सम्भवतः धेरै नभए पनि दुई चार वटा देउरालीमा फूलका पातीहरु चढाई सकिएको हुनु पर्छ । त्यति बेला एउटा कर्णप्रिय गीत बन्नको लागि शब्द, संगीत र स्वरको तालमेल मिलेर मात्र सबैको मन छुने गीतको सिर्जना हुन्छ भन्ने ज्ञान नभएको हुनाले गीत सुन्यो गीतले मनको अन्तर कुन्तर छोएपछि स्वरको प्रसंशक मात्र हुने गरिन्थ्यो । नेपाली सांगीतिक आकासमा त्यो पूरानो चलनको बादल हटेर गई सकेको छैन। यही धरापको पासोमा परेर कति संगीतकार र गीत रचनाकारहरु ओझेलमा परेका थिए/छन् ।
तर दुईटा फूल टिपेर देउरालीमा चढाउँने साहित्यकार कवि एवं गीतकार स्व.इश्वर वल्लभ त्यो ओझेलमा पक्कै थिएनन् । यति खेर ह्वार हृवार्ती बल्ने उनका आगाका फूलहरुभित्र गीतका मधुर मूर्च्छनाहरु निभी सकेका छन्। पहिले पल्ट सन १९८६ सालतिर “आगोका फूलहरु हुन आगोका फूलहरु होइनन्” कविता संग्रह पढेको थिएँ। ति कविताहरु बुझन धेरै गाह्रो लागेको थियो। करीव दुई दशकपछि त्यही कविताहरु पढ्दा सजिलो लागेको छैन। तर ति आगो भित्रका आगोका रापहरुले भने मन, मुटु र मश्तिष्कलाई झम झम पोल्ने गर्दछ।
तेश्रो आयामका एक प्रवर्तक र सिर्जनशील अराजकता सम्बन्धी लेखहरुमा साक्षत्कार गर्न पाए बाहेक प्रदेशकै आकास ओढ्ने होडबाजीमा उहाँसंग भेट हुने भाग्य संधैको लागि बिदा भएको छ। सुदूर अतितको एउटा लङ प्ले रेकर्ड रि विङ् गर्दा स्व. ईश्वर बल्लभका तिनै दुईटा फूल देउरालीले झस्काई रहन्छ। आम्बे पोजोमाको वारी लहरै उभेको घरका बार्दलीमा लेखनाथ दाई गिटार बजाएर यही गीत गुनगुनाई रहेका हुन्छन्। म भने जीवन भरी निको नहुने संम्झनाको बिरुवामा मल हालेर स्मृतिको ब्याडमा तिनै यादहरुलाई हुर्काई रहेको हुन्छु ।
गीतको लय र स्वरले मन छोएपछि दुईटा फूल देउराली मुखैमा झुण्डिन बेर नलागेर सुमधुर स्वरका धनी स्व.नारायण गोपाल हो भन्ने कुरा थाहा भए पनि गीतका रचनाकार ईश्वर बल्लभ हो भन्ने कुरा चाँहि धेरै पछाडि मात्र दिमाकभित्र घुस्न आई पुग्यो। तिनै कालजयी गीतकार, बिशिष्ट साहित्यकार एवं कवि ईश्वर बल्लभ संधैको लागि नभेटिने ईश्वरको अवतार अवतरण गर्न पुगेका छन्। अब उसो ईश्वरका अवतार लिएका ईश्वर बल्लभलाई आगोका फूलहरुमा भेट्न सक्ने छौं। देउरालीका गीतहरुमा मात्र सुन्ने छौं। उनको भौतिक शरीर मृत्युपछि जो हुनु पर्छ त्यही भई सकेको छ। इश्वरको रुपमा सबै मानवको आगमन हुन्छ तर धर्तीमा आएपछि थोरैले मात्र ईश्वरको कर्तव्य फत्ते गर्दछन्। तर स्व. ईश्वर बल्लभले नेपाली साहित्यको आकासमा नाम अनुसारकै कर्तव्य पूरा गरेर बिदा भएका छन्।
श्रोता र पाठकहरुलाई उनका कालजजी गीतका ति शब्द र जीवनमा ताप्नै पर्ने साहित्यका आगोका फूलहरुले न्यानो आभास गराइ रहने छ। आखिर जीवन के हो रहेछ र ? दुनियाँको कोमल मन मुटुभित्र बाँच्न पाउनु नैं मृत्युपछि को विजय हो। इश्वर बल्लभ त्यही कालजयी स्मरणको धागोमा उनिएका छन्। उनका आगोका लप्काहरु देखेर शायद अध्यारोको आगमन पर परै भाग्ने छ। देउरालीको आस्था अग्लि रहने छ। अनि आगोका फूलहरु निभे पनि जाग्ने छ फेरि हृवार हृवार्ती। उहाँकै संम्झनामा कस्ले भन्छ फुल्ने छैनन् -
“आगोका फूलहरु”
स्वरुप बदल्दै
हृवार् हृवार्ती बल्ने
ति आगोका लप्काहरुले
सल्काउँथ्यो डढेलो
र भाग्थे
प्रेतात्मामयी ऐंठनहरु
जब फुल्न लाग्थ्यो
रम रम रातो
आगोको फूल
टिप्न आउँथे
मायावी मनहरु
र आगोको बीउ लगेर
उमार्थे आगोकै फूलहरु ।
आगोकै फूलहरुले
नेपाली साहित्य संसारलाई
यहाँसम्म डोर्यासयो
यही फूलहरु भित्र
एउटा आगोको थुङ्गा
प्रज्वलित थियो
पाएर ईश्वरीय वरदान
त्यो बरदानको अन्त्य
मृत्युले छोट्याई दिएको छ
अब आगो भित्र फुल्ने
रमरम आगोका फूलहरु
फुल्ने छैनन् फेरि
र सल्काउँने छैन
आयामको घमाइलो दुनियाँ
देखिने छैन
अध्यारोमा फुल्ने आगोका फूलहरु ।
आस्थाको देउरालीमाथि
दुई थुङगा फूल चढाउँने
ईश्वरीय मन
ईश्वरकै अवतार भएको छ
ईश्वरले सल्काएको आगो
सल्कने छ दनदनी
साहित्यको महायज्ञमा
तर
ऋतु परिवर्तन हुँदैमा
फुल्ने छैन
नयाँ नयाँ
आगोका फूलहरु
बरु
त्यही आगोकै बिरुवाहरु
रोपिने छन् जत्ता तत्तै
आगोकै फूलहरुको संम्झनामा
आगोकै फूलहरुले
ढाकिने छ यत्र तत्र
देखिने छ
आगै आगोका ज्वालाहरु
मानौं
वायुमण्डल टेकेर
आएको सूर्य किरण झैं
आयामको त्यो दुनियाँ
ईश्वरको अवतार अवतरण हो ।
No comments:
Post a Comment
- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।