"साउदीमा नेपाली समुदायमा देखिएका चुनौतीहरु" गोष्टी सम्पन्न

- विष्णु प्रसाद चापागाईं
एन. आर. एन. ए. क्षेत्रिय समन्वय समितिले आज साउदी अरेबियाको अब्केकमा "साउदीमा नेपाली समुदायमा देखिएका चुनौतीहरु" गोष्टी सम्पन्न गरेको छ । श्री धरम के सी ज्यूको सभापतित्वमा नेपाली राष्ट्रियगान गाएर उक्त कार्यक्रममा शुरु गरिएको थियो ।
पञ्जिकृत सदस्यहरूको उल्लेख्य उपस्थितिमा पुर्बी क्षेत्रिय समितिका सदस्य तथा लेबर टास्क फोर्स कमिटीका सदस्य चिन्तामणी राजनले सञ्चालन गर्नुभएको यस समारोहमा उपस्थित वक्ताहरुबाट आ-आफूले देखेका तथा भोगेका चुनौतिहरुलाई कार्यक्रममा प्रस्तुत गर्नुभएको थियो । पूर्व क्षेत्रिय समन्वय समितिका अध्यक्ष श्रीकृष्ण श्रेष्ठले मदिरा, मध्यपान तथा अन्य कूलत, भगौडा कामदाहरुको संख्या बढ्दै गएकोले यसलाई निरुत्साहित गर्नुपर्ने, जनसरोकारबाट उठेका मुद्दाहरुको विषयमा केन्द्रित भई यथासक्दो छिटो समाधान गरिनुपर्ने आदि चुनौतिहरुबारे प्रष्ट्याउनु भयो भने आर. सी. सी. सदस्य श्री बुद्धी ब. गुरुङले विदेशमा काम गर्ने नेपालीहरुको न्यूनतम ज्याला तोक्नुपर्ने, जीउधनको ग्यारेण्टी गर्नुपर्ने कुरालाई दर्शाउनु भयो । त्यसैगरी एन. आर. एन. सदस्य श्री सूर्य श्रेष्ठले पनि विदेशमा कार्यरत नेपाली कामदारहरुलाई कम्पनिबाट अन्यत्र भगाउन नेपाली दलालहरु नै सकृय रहेको, कम्पनीमा बेतलबी काम गर्नुपर्ने वाध्यता रहेको, अबैधानिक कारोबारमा नेपालीहरु पनि सामेल भएको र प्राविधिक ज्ञानको कमिले कामदारहरुले दुःख पाएको यथार्थ जानकारी गराउनुभयो भने आर. सी. सी. सल्लाहकार श्री शंकर श्रेष्ठले पनि अबैधानिक तथा जोखिमपूर्ण काममा नेपालीहरु समावेश रहेको र यसलाई निरुत्साहित गर्नु पर्ने कुरामा जोड दिनुभयो ।

यसैगरी विश्व नेपाली साहित्य महासंघ साउदी अरेबीयाका केन्द्रिय सदस्य श्री विष्णु प्र. चापागाई (बैकुण्ठे)ले विदेश आउँदा नेपालदेखि नै समस्या लिएर आएको र यहाँ धेरै दुःख पाएको, पीडीत वर्गहरुलाई सके व्यक्तिगत रुपबाटै सहयोग गर्नु पर्ने र नसके संस्थागतरुपमा जानुपर्ने, कामदारहरु पीडीत हुनुपूर्व नै जनहितको लागि खुलेको संस्थामा आवद्ध भए समस्यामुक्त हुने सन्देश भावात्मक शैलीमा मुक्तकद्वारा नै अवगत गराउनु भयो । अर्का वक्ता दीपक आचार्यले पनि लोटरी/चिठ्ठाको दलदलमा फसेर धेरै नेपालीहरुले दुःख पाएको र दुःख बिर्सन मदिरापानतिर उन्मुख भई समस्यामाथि झन् समस्या खडा गरेको, भाषा संस्कृति तथा कानूनको विषयमा ध्यान नदिएकोले विकृति बढेको यथार्थतालाई चित्रण गर्नुभयो ।

कार्यक्रमको अन्त्यमा सभापति तथा एन. आर. एन. साउदी अरबका अध्यक्ष श्री धरम के. सी.ज्यूले बैदेशिक समाजमा फैलिएका समसामयिक विकृति तथा विषयवस्तुहरुलाई कम गर्न लोटरी/चिठ्ठा हृदयदेखि नै बहिष्कार गर्ने/गराउने, हजारौंलाई रुवाएर एउटा हाँस्ने प्रवित्तिको अन्त्य गर्ने/गराउने, "ल अफ द ल्याण्ड" अर्थात कार्यभूमिमा भएको नियमलाई पालना गर्ने/गराउने र नेपाली दूतावाससँग सहकार्य गरी समस्याको समाधान गर्ने तर्क अघि सार्दै कार्यक्रमको समापन गर्नुभएको थियो ।

यसै अवसरसमा एन आर एन पूर्वी क्षेत्रिय समन्वय समिति अन्तर्गत साउदीको अब्केकमा श्री अक्षयलाल ठाकुरको अध्यक्षतामा एन आर एन स्थानिय समन्वय समितिको पनि गठन भएको छ ।

No comments:

Post a Comment

- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।