विश्वकै होचा व्यक्ति 'चन्द्रबहादुर डाँगी'

- अब्दुल्लाह मियाँ, काठमाडौ
 दाङ पुरन्धाराका ७२ वषीर्य चन्द्रबहादुर डाँगी विश्वकै होचा व्यक्ति बनेका छन् । उनको तौल १४.५ किलो छ । बेलायतबाट आएको 'गिनिज बुक अफ दी वल्र्ड रेकर्ड' का चार सदस्यीय टोलीले डाँगीको उचाई २१.५ इन्च (५४.६ सेमि) भएको प्रमाणित गरेपछि उनी विश्वकै होचो व्यक्ति बन्न सफल भएका हुन् ।

चन्द्रको उचाइ नाप्दै डाक्टर र गिनिज बुकका प्रधान सम्पादक । फोटो साभारः रोयटर्स

नेपालबाट गिनिजबुकमा विश्वकै होचो व्यक्तिको रेकर्ड राख्ने डाँगी दोस्रा हुन् । यसअघि बाग्लुङका १८ वषीर्य खगेन्द्र थापा मगरले पनि त्यही किर्तिमानी पाएका थिए । यसअघि 'गिनिज बुक अफ दी वल्र्ड रेकर्ड'ले डाँगीभन्दा दुई इन्च अग्ला फिलिपिन्सका जुनरी बाल्विङ -२३.५ इन्च -५९.९ सेमी) लाई होचो व्यक्तिको प्रमाणपत्र दिएको थियो । बाल्विङ अघि उनीभन्दा तीन इन्च अग्ला खगेन्द्र थापा मगर विश्वकै होचो व्यक्ति बनेका थिए । गत जुनमा बाल्विङले मगरको किर्तिमान खोस्दै होचा व्यक्ति बन्न सफल भएका थिए । टोलीले लैनचौरस्थित 'सिविक क्लिनिक ट्राभल मेडिसिन सेन्टर'मा २४ घण्टामा तीन पटक उनको नाप लिएको थियो ।
 
नापजाँचपछि 'गिनिज बुक अफ दी वल्र्ड रेकर्ड'ले आइतबार नै डाँगीलाई विश्वकै होचो व्यक्तिको 'सर्टिफिकेट' दिएको छ । ढाकाटोपी, सेतो दौरा र स्टकोटमा सजिएका डाँगीले विश्वकै होचो व्यक्तिको प्रमाणपत्र पाएपछि सञ्चारकर्मीमाझ मुसुक्क मुस्कुराउँदै प्रसन्नता व्यक्त गरे ।

जीवित होचा व्यक्तिको र अहिलेसम्म कै सबैभन्दा होचो व्यक्तिको गरी एकैपटक दुईवटा रेकर्ड ।

'देश, गाउँ, ठाउँको नाम राख्न पाएँ, यो मेरो गाउँ र देशकालागि ठूलो कुरा हो' पर्यटनबोर्डमा पमाणपत्र पाएपछि गिनिजबुककै अधिकारीसमक्ष उनले भने, 'अब देश, विदेश घुम्न र संसारका मान्छेहरुसंग भेट्न चाहन्छु ।' तामझामका साथ प्रमाणपत्र पाएपछि हौसिएका उनले पुराना गित 'पानको पात....' र 'छमछम नाचिदेउ निहुरेर....' बोलको गीत पनि सुनाए । त्यसो त मादल बजाउन पनि उनी खप्पिस छन् । उनको आवाज भने धेरै स्पष्ट छैन । प्रमाणपत्र दिएपछि 'गिनिज बुक अफ दी वल्र्ड रेकर्ड'का प्रधान सम्पादक क्रेग ग्लेन्डीले गिनिज बुकको ५७ वर्षे इतिहासमा चन्द्र नै सबैभन्दा होचो व्यक्ति भएको बताए । '७२ वर्षे बुढ्यौली उमेरमा होचोको रेकर्ड राख्ने पनि उहाँ नै हो' उनले भने ।

अहिलेसम्म होचा मानिएका भारतको नयाँदिल्लीका गुल मोहम्मदको सन् १९९७ मा निधन भईसकेको छ । मोहम्मदको उचाईँ २२.५ इन्च थियो ।

प्रतिष्ठानका अध्यक्ष रामबहादुर विकका अनुसार डाँगीको जन्म १९९६ साल मंसीर १५ मा सल्यानको कालिमाटी गाउँमा भएको हो । बेलबहादुर डाँगीका पाँचौं छोरा (राइँला) हुन् । उनका चार दाजु र एक भाइको उचाईँ भने औसत छ । उनका दुई दिदीको उँचाई पनि औशत नै छ । उमेरले सात दशक पार गरेपनि उनी अझैं स्वस्थ्य (निरोगी) छन् । उनले एक पटक सिटामोलबाहेक मेडिकलको -अंग्रेजी) औषधी खाएका छैनन् र खान पनि मान्दैनन् ।

उचाईँ कम भएकै कारण विहे नभएको उनले बताउने गरेका छन् । अब भने उनलाई घरजम गर्ने रहर छैन । 'बुढो भइयो अब के विहे गर्नु !' उनी भन्छन् । पत्रपत्रिका नपढेपनि अहिले देशमा संविधान बनिरहेको उनलाई जानकारी छ । संविधानसभाको चुनावमा उनले पुरन्धारामै भोट दिन गएका थिए । संविधान बनाउन थालेको धेरै समय भईसकेपनि पूरा नभएको चिन्ता उनलाई पनि रहेछ । त्यही भएर उनको कामना छ, 'देशमा संविधान बनोस्, देश र जनतालाई राम्रो होस् ।'

No comments:

Post a Comment

- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।