– मोतीराम तिमल्सिना
उनी भक्कानिन लागिन् । श्रीमान्ले पीडा लुकाउने अनेक चेष्टा गरे । घरी आंखा मिच्दै थिए । घरी श्रीमतीलाई हेरेर घोत्लिंदै थिए । कहिले आंखैअगाडि भएका कक्षा ५ मा अध्ययनरत छोरालाई नियालिरहेका थिए । झ्यालमा बसेर कुरा सुनिरहेकी ८४ वर्षीया बूढी आमातिर पुलुक्क हेर्दै साउतीको शैलीमा कुरा गरिरहेका थिए । सांझ पर्नै लाग्दा छोरी घरभित्र पस्ने आशामा धेरै दिन बिते । महिना बिते र वर्ष पनि बितिसकेका छन् । धेरै समयपछि उनले फेरि सांझकै समय छोरीको सम्झना गरिन् ।
धनकुमारी गोले भर्खर १४ वर्षकी । फलामेटारको बालविकास माविमा कक्षा ६ मा अध्ययन गर्दै थिइन् । घरबाट विद्यालय जान ३ घन्टा लाग्छ । गाउंका धेरै बच्चालाई निम्न माध्यमिक तहको शिक्षा लिनकै लागि त्यति धेरै समय हिंड्नुपर्ने बाध्यता थियो । त्यो समस्या अझै ज्युँका त्युँ छ । जुन सरकार आए पनि, जुन शासन व्यवस्था आए पनि डांडापारिको समस्याका लागि कानमा तेल कसैले नराखेकोमा उनको दुखेसो छ । सात बजे खाना खाएर हिंडेका छोराछोरीले सांझ छिप्पिएर रातै पर्न लाग्दा मात्रै घरभित्र पस्नु परेपछि दैनिक ६ घन्टा हिंडेर कतिवेला विद्यालयको गृहकार्य गर्छन् होला ? कतिखेर पढाइबारे सोच्ने समय पाउंछन् होला ? कहिलेकाहीं घर आउन नभ्याएको वा नसकेको अवस्थामा धनकुमारी आफन्तकोमा बस्ने गरेकी थिइन् । त्यसदिन पनि सांझ बितिसक्दासमेत धनकुमारी घर नआएपछि बाबु–आमाले सोचे, छोरी आज पनि आफन्तकैमा बसिन् होला ।
त्यतिबेला कक्षा ५ माथिका सबै विद्यार्थीलाई युद्धमा जान उर्दी लगाइएको थियो । यसैले क्षेत्रबहादुर गोले, ५७, को मनमा चिसो पस्यो । तीन दिनसम्म छोरी नआएपछि आमा–छोरी खोज्न विद्यालय गइन् । ०५८ चैत १ गते विद्यालयमा हाजिर भएकी छोरी घर पुगिनन् । त्यही विद्यालयमा माओवादीले १ गते कार्यक्रम गरेका रहेछन् । दाइ कृष्णबहादुरको छोरी मानकुमारी पनि हराएकी रहिछन् । एउटै उमेरका दुवै एकैपटक हराएपछि गाउंभरि हल्ला भयो । माओवादीले विद्यालय पोसाकमै दुवैलाई लिएर हिंडेछन् । आज आउली, छैन । भोलि आउली, छैन । करिब चार महिनापछि धनकुमारी विद्यालयकै पोसाकमा लाइन लागेर आंगनमा आई । क्षेत्रबहादुरलाई बोल्नै दिइएन । घरभन्दा धेरै तल गएर छोराछोरी बास बसे । धनकुमारी र मानकुमारीका बाबुआमा रुन थाले ।
६ महिनासम्म दुवैलाई फर्काउने प्रयास गरियो । तर, सम्भव भएन । डांडापारिका धार्नी, भुत्ते, अन्तरेडांडा सबैतिर खोज्न जाँदा पनि छोरीहरू फेला परेनन् । क्षेत्रबहादुरका ३ छोरा र ४ छोरी छन् । धनकुमारी साहिंली हुन् । दोस्रोपटक त्यही सालको मंसिरमा धनकुमारी फेरि समूहमै आइन् । त्यतिखेर मानकुमारी थिइनन् । एकोहोरो मात्रै सोध्न दिएर धनकुमारीलाई त्यो दिन पनि बाबुआमासंग बोल्नै दिइएन । त्यसको केही समयपछि च्यासिङखर्क गाविसबाट घर जांदै गरेका क्षेत्रबहादुरले कामीडांडामा छोरी भेटे । त्यहां पनि कुरा गर्न पाएनन् । एकोहोरो क्षेत्रबहादुरले सोधे– तिमी खुसीले हिंडेको कि जबर्जस्ती ल्याएको ? धनकुमारी बोल्न सकिनन्, बरु रोइन् मात्र । क्षेत्रबहादुरलाई मनमनै लाग्यो–कसका लागि युद्ध ? कस्तो युद्ध ? कलिला बालबालिका लगेर आफ्नै परिवारका सदस्यसंग भेट्न नदिने कस्तो क्रान्ति ? बन्दुक बोकाउंदा भुइं छुने बालिकालाई पढ्दापढ्दै विद्यालय जान नदिएर कस्तो जनवादी शिक्षा प्राप्त गर्ने हो ? खोइ त युद्ध सकिएको धेरै भयो भनेजस्तै जनवादी शिक्षा लागू भयो ? बुर्जुवा शिक्षा भन्दै गरिबका छोराछोरीलाई पढ्न नदिएर कस्तो क्रान्तिको योजना बनाएको होला ? अहिले माओवादी नेताका छोराछोरी कुन शिक्षा अध्ययन गरिरहेका छन् ? जनतालाई जवाफ दिनु पर्दैन ?
मानकुमारी ०५९ असार ६ गते साल्धार–१ कोदाखोरियामा बम सुकाउंदै गर्दा विस्फोट भएपछि बितिछन् । बम भन्ने थाहा नहुनेले बम सुकाउंदै गर्दा मृत्युको खबरले गाउं नै विक्षिप्त बन्यो । धनकुमारी पनि लामो समय सम्पर्कमा आइनन् । माओवादी नेता बाटोमा हिंड्दा छोरी ल्याइदिन भने क्षेत्रबहादुरले तर धेरै टाढा छ, पछि ल्याउंला भन्दै गए । घर छाडी हिँडेको दुई वर्षमै धनकुमारीको मृत्यु भइसकेको रहेछ । कहां मरिन् थाहा छैन, कसले मा¥यो थाहा छैन ।
माओवादीले ०६० चैत २८ गते फलामेटारको महादेवटारमा कार्यक्रम आयोजना गरेको थियो । क्षेत्रबहादुरलाई पनि कार्यक्रममा माओवादीले बोलायो । उनी कार्यक्रममा पुगेका मात्र के थिए माओवादीका नेता किसनले धनकुमारी खोटाङको ऐंसेलुखर्कमा भएको भिडन्तमा मरिसकेको खबर दिए । तर, गाउंमा धनकुमारीको माघ महिनामै मृत्यु भएको हल्ला चलेको थियो । कार्यक्रम सकिन्जेल उनी बसेनन्, तर माओवादी नेताहरूले भाषण गरे रे, उनीहरू सहिद भए भनेर ।
क्षेत्रबहादुर घरमा आएर टोलाउन थाले । घरमा भन्न सकेनन् । तर, नभनी सुखै थिएन । रुवाबासी चल्यो । माओवादीले मान्छे मरे पनि काजकिरिया नगर्नू भन्ने उर्दी चलाएका थिए । तैपनि, धार्मिक परम्पराअनुसार धनकुमारीको काजकिरिया गरियो । कलिली छोरीले कसका लागि र किन ज्यान गुमाइन् उनले बुझ्न सकेका छैनन् । उनको गरिबी घटेको छैन, बढेको छ । त्यही गाउंका माओवादी नेताहरू राष्ट्रिय राजनीतिलाई प्रभाव पार्ने स्थानमा पुगेका छन् । सभासद् अक्कलबहादुर थिङ त्यही गाउंका हुन् ।
जिल्ला सह–इन्चार्ज र खेलकुद विकास समितिका राष्ट्रिय कोषाध्यक्ष भएका छन्, इन्द्रबहादुर थिङ अर्थात् छिन्ताङ । उनीहरू कहिल्यै क्षेत्रबहादुर र कृष्णबहादुरको घरमा टेक्न गएनन् । कहिल्यै पनि माओवादी नेताहरूले तिम्रो छोरीले युद्धमा ज्यान गुमाएर देशका लागि बलिदान दिइन् भन्न भ्याएनन् । छोराछोरी पढाउन उस्तै समस्या छ । रोजगारकै लागि जेठो छोरा कक्षा १२ पास गरे पनि खाडी मुलुक पुगेका छन् । ‘नयां नेपाल बन्छ, नयां शासन आउंछ भन्दै गरिबका छोराछोरीलाई युद्धमा होमेको माओवादीले आखिर गर्यो के ? दुई-दुईपटक सरकारको नेतृत्व गरिसक्दासमेत हाम्रो सपनामा माओवादीले लात हानेको छ,’ क्षेत्रबहादुरले एकै स्वरमा भने । धनकुमारीको नाम लिनेबित्तिकै आमा भक्कानिन्छिन् । एउटै फोटो छ । घरी फोटो छातीमा टांस्छिन् । कसैले धनकुमारीको फोटो मागे देखाउनै सक्दिनन् । सायद माओवादी युद्धले कति धनकुमारी र उनका आमाहरू जन्माएको होला ? के माओवादीले यी सबैको सपना पूरा गर्न सक्ला ?
No comments:
Post a Comment
- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।