आज माघे संक्रान्ति

- विष्णु प्र चापागाईं
आज नेपालीहरुको परम्परागत पर्व "माघे संक्रान्ति" मुलुकभर मनाइँदै छ । यस पर्वमा घ्यू, चाकु, तरुल, तिलको लड्डु जस्ता पौष्टिक खाद्य पदार्थ खाने चलन छ । नेवार समुदायमा भने ती खाद्य वस्तुहरूका साथै सम्येबजी (चिउरा, पोलेको मासु, साँधेको भटमास, अदुवा र रक्सी वा जाँड) का साथै सिद्रा माछा खाने चलन छ । गाउँघरमा यो पर्वमा घ्यू, चाकु, अघिल्लो दिन उसिनेको तरुल, मासको फुलौराका साथै मास र चामल बराबर मिसाई घ्यू हालेर पकाइएको खिचडी खाने चलन छ ।

विशेषगरी घ्यू र चाकु खाने भएकाले नेपालभाषामा 'घ्यू, 'चाकु सँल्हु' भनिने यस पर्वमा उपत्यकाका तीन सहरमा खिचडीका साथै 'यलय् पलः (पाटने पालुङ्ग)'  भनिने एक प्रकारको लामो खालको मालुङ्ग खाने चलन छ ।

आजदेखि सुर्य धनु राषीबाट मकर राषीमा प्रवेश गर्ने भएकाले माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भन्ने चलन छ । आजको दिनमा जीउभरि तेल घसेर घाम ताप्नुका साथै  पारिवारिक सदस्य, आफन्त तथा साथीभाई सँगै बसेर गएराति नै पकाइएको तरुल, चाकु, लड्डु तथा घ्यू लगायतका मीठामीठा परिकार खाएर रमाइलो गर्ने चलन छ ।
यस पर्वमा परिवारका मूली वा आमाले आफ्ना छोराछोरीलाई तालुमा तेल हालिदिने पनि गर्दछन् र विभिन्न नदी तीर्थमा स्नान गर्ने गर्दछन् । यस दिन भक्तपुरको तौमढी टोलमा रहेको तिलमाधव नारायणको विशेष पूजा हुन्छ ।

माघे संक्रान्तिको अवसरमा झापाको कन्काई, सुनसरीको बराहक्षेत्र, चितवनको देवघाट, नुवाकोटको देवीघाट, बर्दियाको ठाकुरद्वारालगायतका स्थानमा  स्नान गर्न दर्शनार्थीहरुको बिहानैदेखि घुइँचो लाग्ने गर्छ । यी धार्मिक स्थलहरुमा अघिल्लो रातिदेखि नै जाग्राम बसेर दर्शनार्थीले पाठपूजा गर्ने गर्छन् ।

त्यसैगरी थारु, मगर र छन्त्याल समुदायहरुले भने आजको दिनलाई नयाँ वर्षको रुपमा माघी पर्व धुमधामसँग मनाउँने गर्छन् । यस अवसरमा ठाकुरद्वारामा आजदेखि तीन दिनसम्म लगातार माघी मेला लाग्ने गर्दछ ।

नेपाल सरकारद्वारा यसै वर्षदेखि माघे संक्रान्तिलाई राष्ट्रिय पर्व घोषणा गरी मुलुकभर सार्वजनिक बिदा दिइएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषदको  बैठकले माघे संक्रान्तिलाई राष्ट्रिय पर्वको मान्यता दिने निर्णय गरेको थियो ।

1 comment:

  1. Lekh ramro cha. yo makar sankrantima lageko mela ma jana paiena. tarul khayera chitta bujhaiyo.

    ReplyDelete

- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।