- जीवन शर्मा
नेपालको अन्तिम पूर्वीय स्थान हो श्रीअन्तु अथवा समुन्द्र सतहदेखि २३२८ मीटरको उचाइसम्म उचालिएको पहाडी टाकुरो हो श्रीअन्तु अथवा यसो भनौ मेचीखोलाको काख र सिद्धिखोलाको बुईमा हुर्किएको एउटा पुल्पुले बालक हो श्रीअन्तु ।
श्रीअन्तु डाँडामा रहेको पोखरी
यसलाई जसरी जे भनेर परिभाषित गरे पनि हुन्छ। तर सूर्योदयको लागि प्रख्यात पहाडी टाकुरो हो श्रीअन्तु अर्थात दीपेन्द्र शिखर भन्यो भने पक्कै पनि अपूरो र अधुरो परिचय हुन्छ श्रीअन्तुको । किनभने श्रीअन्तुले आफ्नो परिचयको लागि धेरै प्रख्यात बनाएको छ भनौं न कुबेरको सुमधुर स्वर मानसिङको मीठो संगीत, सूर्यको उदीयमान सृजना गिरीजीको लोक सुस्केरा छत्रबहादुरहरूका चिया बगान रमेशको सल्बलाउँदो साहित्यिक जमर्को लेप्चाजातिहरूको पौराणिक–ऐतिहासिक संग्रह अनि संसार हँसाउने फूलका खेतीहरू र तिनका मीठो सुबास त्यही अन्तुडाँडाबाट बगेका छन्।
अन्तुलाई चिन्न त ओल्टाई–पल्टाई सबैतिरबाट हेर्नुपर्छ, छाम्नुपर्छ भनौ न सिद्धिखोलामा डुबुल्की मारेर गाउँ–गाउँमा बास बस्दै धित मरुन्जेल मेची खोलामा पौडिएपछि अनि असले दोभानमा निस्किएपछि मात्र अन्तुलाई छामिन्छ र बल्ल अन्तुको बास्तबिकता पाइन्छ। त्यसैले श्रीअन्तुमा सूर्यास्त कहिल्यै हुदैन ।
कुबेर, मानसिङ, सूर्यहरूका सांगीतिक यात्राले थामेको छ सूर्यलाई, चिया किसानले थेगेका छन् सूर्यलाई, फूलहरूको सुवासले अल्मल्याएका छन् सूर्यलाई, जुझारु युवाजमातले रोकेका छन् सूर्यलाई, कलमहरू तिखारिदैछन्, आवाजहरूमा मिठासता थपिंदैछ। त्यसैले श्रीअन्तुमा सूर्यास्त हुँदैन। पहिले–पहिले हुन्थ्यो होला तर अब हुँदैन। यहाँ अब चौवीसै घण्टा सूर्य लागिरहने छ। त्यसैले यसलाई आनन्दसँग भन्न सकिन्छ श्रीअन्तु मेचीखोला र सिद्धिखोलाको लाडप्यारमा हुर्कदै गरेको पुल्पुले बालक हो। श्रीअन्तुको वास्तविकता यस्तै छ। यिनै वास्तविकता बोकेर अन्तुले सकेसम्मको र भ्याएसम्मको उन्नति गरेको छ सँगसँगै आफूले सके जतिको मनोरञ्जन सबैसँग बाँड्दै आएको छ। यसलाई आत्मीयताले अझै धेरै नजिकबाट छामेर हेर्दा अझ धेरै वास्तविकता र परिचय पाउन सकिन्छ। मैले पनि श्रीअन्तुलाई स्नेहपूर्ण धेरै नजिकबाट छुने जमर्को गरें र पाएँ एउटा नमीठो कारुणिक र दुःख लाग्दो वास्तविकता।
श्रीअन्तु डाँडाबाट देखिएको सूर्योदयको मनोरम दृश्य
श्रीअन्तु त धेरै कालदेखि एउटा नमीठो वास्तविक पीडाले नराम्ररी थलिएको रहेछ। आफूलाई थिल्थिलो पारेर भए पनि सबैलाई हसाउँन खोज्दोरहेछ ? आफू रोएर अरुलाई हसाउँने कति महान् रहेछ श्रीअन्तु। उसका पीडामा पीडित हुनु नै मैले आफूलाई उपयुक्त ठानें। उसका पीडामा केही मलम लगाउने प्रयास गर्नु नै सच्चा मित्र बन्न सकिन्छजस्तो लाग्छ मलाई। उसका पीडाले मलाई पनि रुवाएको छ। त्यसैले मैले उसका पीडामा केही गर्न प्रसंगवश पावनभूमि साप्ताहिक, अघिल्लो बर्षको चिनारी तथा अन्य केही पत्रपत्रिकामा प्रसंग उठाएको थिएँ। तर आज मलाई पीडाका बारेमा धेरै लेख्न मन लागेको छ ‘मेची खोलाको उद्गमस्थल लालीखर्क‘ होइन। अहिले बजारमा पाइने सामान्य ज्ञानका पुस्तकहरूमा मेची खोलाको उद्गमस्थल लालीखर्क हो भनेर प्रकाशित गरी हाम्रो इलामको गौरव श्रीअन्तुलाई सिमानापारि पार्ने कुप्रयास गरिएको पाइन्छ। ऋषिकेश निरौलाद्वारा संकलित तथा प्रकाशित सामान्यज्ञान दिग्दर्शनको पेज नं. ४७ को नेपालका महत्वपूर्ण नदीहरू शीर्षकमा, हिरामणि निरौला तथा भिम राना जिज्ञासुबाट सम्पादित सामान्यज्ञान दिग्दर्शनको पेज नं. ७२ को केही नदीहरूको चिनारी शीर्षकमा तथा सुरेशचन्द्र डीसी तथा सन्तोषबहादुर खड्काबाट सम्पादित आठराई सामान्य ज्ञानको पेज नं. को अन्य केही चर्चित नदीहरूको चिनारी शीर्षकमा पनि मेचीखोलाको उद्गमस्थल लालीखर्क नै उल्लेख गरिएको छ।
यस्ता सामान्यज्ञानका पुस्तकहरूको नाम लिने हो भने यहाँ निकै ठूलो स्थान लिन्छ। कतिपय पुस्तकहरूमा त मेचीखोलाको उद्गमस्थल पाँचथरको लालीखर्क उल्लेख गरिएकोछ। सुरेशचन्द्र डीसी तथा सन्तोषबहादुर खड्काको पुस्तकमा पनि पाँचथरको लालीखर्क नै उल्लेख गरिएको छ। जति सामान्य ज्ञानका पुस्तकहरू छन् सबैमा नै मेचीखोलाको उद्गमस्थल लालीखर्क नै उल्लेख गरिएको पाइन्छ। तर साँचो र सही वास्तविकतालाई मान्ने हो भने मेचीखोलाको जन्म नै श्रीअन्तुमा भएको हो। (पाठकहरूलाई अफ्ठ्यारो पर्नजाला मैले श्रीअन्तु भनेर श्रीअन्तु गाविस र समालबुङ्ग गाविसलाई चिन्ने गरेको छु।) श्रीअन्तुमा देखिएको चियाकमान
मेचीखोला नेपालको सुदुरपूर्वका जिल्लाहरू इलाम र झापाका सीमाबाट नेपाल र भारतको सीमाङ्कन गर्दै बग्ने खोला हो। यस खोलाले सुगौलीको सन्धि पश्चात आजसम्म नेपाल र भारतको सिमाना छुट्याएर बगिरहेको छ। हुन त खोलाले पूरै मेची अञ्चलभरि नेपाल र भारतको सिमाना भने छुट्याएको छैन किनभने यसको उद्गमस्थल नै श्रीअन्तु गाविसअन्तर्गत वडा नं. ५ छब्बीसे मेचीबजारबाट भएको छ। यस खोलालाई उसको उद्गमस्थलदेखि नै मेचीखोलाकै नामले चिनिन्छ। सामान्यज्ञानमा उल्लेख गरिएको उद्गमस्थल लालीखर्क चाहि पशुपतिनगर गाविसको वार्ड नं. ३ को भूभाग हो र यो स्थान चाहिँ श्रीअन्तुलाई सधै बुईमा राखेर बग्ने सिद्धिखोलाको उद्गमस्थल हो। लालीखर्क पशुपतिनगर गाविसको एउटा वडा हो। यसको सिमाना पशुपतिनगर बजारसँग जोडिएको छ। सोही गाउँबाट ३ वटा अलिक ठूला खोल्साहरू देवीस्थान खोलाको बारेमा चाहिँ गीतकार बुद्धविर लामाले आफ्नो एउटा गीतमा उल्लेख गरेका छन्-
"देवीस्थान खोलाको त्यो चिसोपानी ग्रागी है भरौला,
तिम्रो त्यो बाचा साँचो हो भने सिन्दुरले सजाउँला"
यी तीन खोल्साहरूमध्येमा पनि धोद्रेखोला चाहिँ अलिक ठूलो छ जसमा पशुपतिनगर बजारको निकास पानी पनि मिसिन्छ। केही बर्ष पहिले पशुपतिनगर बजारमा बिशाल पानी पर्दा एउटा बालकलाई नालीवाट बग्ने भेलले बगाएर लगेको थियो र धोद्रेखोलामा पुर्याएपछि निक्कै लामो दुरीसम्म धोद्रेखालाले बगाएको थियो। त्यसै गरेर पशुपतिनगर गाविस र श्रीअन्तु गाविसको सीमाङ्कन गरेर बग्ने अर्को सल्लेरी खोला छ जसको उद्गमस्थल हिले आसपास हो। ती खोल्साहरू लालीखर्क र अर्थेटारको फेदीमा मिसिन्छन् तिनीहरू त्यहाँ मिसिएपछि ती खोलावाट एउटो खोला वनिन्छ जसको नाम हो सिद्धिखोला। सिद्धिखोलामा गायक कुवेर राईको विशेष सक्रियतामा एउटा पक्की पुलको पनि निर्माण भइसकेको छ। यो खोला लगभग ३० किलोमिटर जति एक्लै फिक्कल श्री अन्तु, कन्याम समालबुङ गाविसको सिमाना छुट्याएर बग्छ। यता मेचीखोला भने श्रीअन्तु गाविसको छब्बीसे मेचीबजारवाट सुरु भई बग्छ। हुन त भौगोलिक हिसावले हेर्ने हो भने मेचीखोलाको उद्गमस्थलभन्दा सिद्धिखोलाको उद्गमस्थल निकैमाथि पर्छ।
श्रीअन्तु डाँडामा अवस्थित स्वयम्भू
मेचीबजारबाट निस्कने सानो खोल्सो नै मेचीखोला हो। यसको नामका लागि अन्य खोलाको सहारा लिनुपर्ने आवश्यकता नै पर्दैन। यसरी उद्गमस्थलदेखि नै मेचीखोलाको नामले बग्ने मेचीखोलाले नेपाल र भारतको सिमाना छुट्याएको छ। तर ती सामान्यज्ञानहरूमा भने सिद्धिखोलाको उद्गमस्थललाई भनी उल्लेख गरिएको छ। यो सरासर श्री अन्तुको लागि अन्याय हो, इलामका लागि घृणा गरिएको हो र समस्त राष्ट्रका लागि घात हो। तर दुई तीन पटक यस प्रसंगलाई सञ्चार माध्यमबाट प्रकाशित गरिए पनि हाम्रो इलामको सम्बन्धित विभागले निष्कर्ष निकाल्ने कष्ट गरेन। बरु यस प्रसंगलाई आँखा चिम्लेर बसेको छ त्यसैले यो प्रसंग जस्ताको तस्तै छ। इलामको सम्बधित निकायले यसवारेमा अध्ययन गर्न नसक्नु र समस्त जिल्लावासीले यस विषयमा गम्भीर भएर आवाज नउठाउनु हामी सवैको ठूलो कमजोरी हो। तसर्थ पनि यो प्रसंग श्रीअन्तुको लागि अत्यन्तै दुःखदायी छ। मेचीखोला र सिद्धिखोला तुलनात्मक रूपमा उद्गमस्थलमा सिद्धिखोला ठूलो छ तर यी दुईको मिलन हुने ठाँउमा भने मेचीखोला नै ठूलो छ त्यसैले सिद्धिखोलाको नाम विलय भएर मेची खोलाको नामले यो अरु बग्दै गएको छ। यी दुईवटा खोलाको मिलन चाँहि जिर्मले गाविसको फेदी असले दोभान भन्ने ठाउँमा हुन्छ। तिनै सामान्य ज्ञानलाई आधार मानेर जाने हो भने सल्लेरीदेखिको भू–भाग मेची खोलापारि पर्छन् र हाम्रा राष्ट्रका दुई वटा गाविस रातारात हराउँदैछन्। हाम्रो देशको पूर्वको सिमाना मेचीखोला हो भनेर किटान गरिएको छ भने ती सामान्य ज्ञानले सिद्धिखोलालाई मेचीखोला हो भने किटान गरेका छन्। त्यसैले मैले श्रीअन्तुलाई मात्रै नभएर समस्त राष्ट्रकै पीडाका विषयमा उल्लेख गर्न खोजेको हुँ। यदि त्यसैलाई सत्य मान्ने हो भने कुन चाहिँ अन्तुवासी सिमानापारिको नेपाली भएर बाँच्न चाहन्छ ? श्रीअन्तु भनेर समालवुङ्ग गाविसमा पर्छ र श्रीअन्तु डाँडाको नामबाट श्रीअन्तु गाविसको नाम रहन गयो, तर समालवुङ्ग गाविसको भू–भाग हो। तसर्थ श्री अन्तु एउटा दुई गाविसको संयुक्त भू–भाग हो।
श्रीअन्तु को टुप्पाबाट हेर्दा सूर्र्योदयको सुन्दरता देखिन्छ आ–आफ्नो कल्पनाअनुसारको प्रायः सबैको अनुभव हुन्छ कसैसँग कसैको अनुभव नमिल्न सक्छ। शायद आँखाको भ्रम पनि हुनसक्छ। सबैको समान मत पाइदैन। श्री अन्तुको गौरव–गाथा उच्च पार्न पटक–पटक श्रीअन्तु महोत्सव गरिदैछ। ठूला–ठूला फूलका फाँटहरू तयार छन्, फूलैफूलका सुन्दर फाँट। गाउँलेहरूले कम्प्युटर भित्राएकाछन् । कस्तो सुन्दर सोचाइ दुई दईवटा चिया कारखाना वनाएकाछन् । कस्तो राम्रो योजना, तर वाटो र विजुलीले भनेजस्तो वाटो देखेको छैन। मिल र घट्ट घुमेका छन् तर सरकारी दृष्टि अझै घुमेको छैन।
श्रीअन्तुले चाहेको छ एउटा विचित्रको योजना। अन्तुलाई गहिरिएर अध्ययन गर्दै जाँदा मैले उसको योजनाको मेसो पाएँ – कन्यामबाट श्री अन्तु डाँडासम्मको केवुलकार सञ्चालन। वास्तवमा सही सोचाइ हो श्रीअन्तुको कन्याम पनि पर्यटकीय स्थल श्रीअन्तु पनि संगै सानी पाथीभारा देवीको पनि महिमा उत्तिकै बड्ने। “यदि कन्याम र श्रीअन्तु केवुलकारले जोडिदिने हो भने एउटा पर्यटक श्रीअन्तुमा सूर्योदय हेरेर पाथीभरामा पूजा गरी कन्याममा वनभोज खाएर आफ्नो गन्तव्यमा सजिलै पुग्न सक्छ।” यसका लागि हामीसंग आन्तरिक पर्यटकहरू पनि काफी हुनेछन्। राम्रो सोचाइ पर्यटकीय स्थलको उत्थानका लागि अत्यन्तै उपयुक्त सोचाइ।
आफ्नो उत्थानको सम्भाव्यतालाई बाहिर ल्याएको छैन होला तर ग्रामीण भेगमा त्यसको परिकल्पना गरिएको पाइन्छ रिटामतिरका बासिन्दाले भने बाहुनडाँगीको बाटोसँगै कन्याम गाबिस वार्ड नं. ५ बाट गएको बाटोलाई आफ्नो गाउँसँग जोडन सके झनै राम्रो हुने महसुस गर्दारहेछन्। यसरी फिक्कल, बरबोटे, कन्याम, बाहुनडाँगी, बौद्धधाम, पशुपतिनगर, हिले, छब्बीसे, निगाले, तल सौरेनी र सिस्ने मेची बगानबाट बाटो जोड्न पाए श्रीअन्तुको उचाइ कति अग्लिन्थ्यो होला तर यसका लागि पशुतिनगरबाट पर्यटकहरूले सोझै आवतजावत गर्न पाउनुपर्छ। हो यिनै सम्भाव्यताहरूले र महत्वकांक्षी बिकास योजनाहरूले श्रीअन्तुमा घाम अस्ताउने छैन तर यसका लागि श्रीअन्तुको एक्लो प्रयासले सम्भब छैन । श्रीअन्तु डाँडाको मनोरम दृश्य
यदि पानी पुग्ने हो भने सिद्धिखोलामा उत्पादन गर्न सकिने बिद्युतलाई उपभोग गरेर केबुलकारलाई फन्फनी घुमाउन सकिएला, सिद्धिखोलामा सञ्चालन गरिएका पसलहरूमा बसेर लोकल माछा र चिउरा मरक–मरक मर्क्याएर उकालो लाग्न सकिन्थ्यो। सूर्योदयको मनोरमतामा आफैलाई हराएर भारतका भू–भाग र नेपाली भू–भागको आँखाभरिको रमिता हेर्न सकिन्थ्यो। कालोपत्रे बाटो टेलिफोन र बत्तीको सुविधा हुनु हो भने अन्तुका फूलहरू बिदेशमा मुस्कुराउन पुग्थे, लेप्चाहरूका ऐतिहासिक बस्तुहरूलाई धित मरुन्जेल अवलोकन गरेर पूर्खाहरूको बीरताको गाथा बुझ्न सकिन्थ्यो होला। उखु पनि फल्ने हो भने कति मीठो फल हुन्थ्यो होला ।
यसरी नै श्रीअन्तु ले चाहेअनुरूपको बिकास पाए श्रीअन्तुलाई छोडेर सूर्यले कतै जाने प्रयास गर्दैनथ्यो होला अब सूर्यलाई अस्ताउन नदिन धेरै गर्न बाँकी छ तर अन्तुको पहिलो आवश्यकता भने आफ्नो भू–भागलाई नेपालमा नै रहेको प्रमाण गर्न ती कथित पुस्तकहरूलाई सुधारेर अर्थात मेचीखोलाको उद्गमस्थल लालीखर्क होइन मेचीबजार बनाउनु छ अनि दुई पैसा लाभको लागि सस्ता सामान्यज्ञानको पुस्तक संकलन गर्ने र बजारमा प्रकाशित गरी राष्ट्रिय अस्मितामाथि खेलबाड गर्ने सम्पूर्ण बिना प्रमाणित र बिना आधारका कुरालाई समेट्न खोज्ने कोठे संकलनकर्ता र प्रकाशकलाई झूलको खेती गरी नगदको ब्यापार गर्न नदिन श्रीअन्तुको मात्र होइन इलामकै पहिलो कदम हुनुपर्नेछ।
Jiwanharidas@yahoo.com
No comments:
Post a Comment
- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।