घरेलु महिला र भगौडा कामदारका समस्या न्युनिकरण गर्न NRNA को 'सुझावपत्र’

- NRNA साउदी अरब
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबले साउदी अरबका लागि नेपाली राजदूत महामहिम उदयराज पाण्डेय समक्ष घरेलु महिला कामदार र भगौडा कामदारहरूका समस्या न्यूनिकरण गर्नका लागि ७-७ बुंदे सुझावपत्र पेश गरेको छ । गतः ३० डिसेम्बरमा एनआएनए एनसिसी साउदी अरबको सातौं बैठक पश्चात एक प्रतिनिधि मण्डल राजदूतज्युको कार्यकक्षमा पुगी उक्त सुझावपत्र बुझाइएको हो । एनसिसी साउदी अरबका अध्यक्ष धरम के.सी.ले उक्त पत्र पेश गर्नु अघि महा सचिव पुरूषोत्तम दास श्रेष्ठले सो पत्र वाचन गरी सुनाउनुभएको थियो ।



राजदूतज्युले सुझावपत्रका प्रायः सबै बुंदाहरू स्वीकार गर्दे केही बुंदाहरूमा भएका र हुंदै गरेका पहल र प्रगतिबारे प्रतिनिधी मण्डललाई जानकारी गराउनुभएको थियो । राजदूतज्यूका अनुसार २ हप्ता अघिदेखि नै कुवेतबाट नेपाली घरेलु महिला कामदारहरू साउदी अरब भित्रिने क्रम दुई मुलुकका सरकारी स्तरको संयुक्त पहल भएपछि रोकिएको, भारतको मुम्बई लगायतका शहरहरूमा साउदी पठाइन लागेका करीब २ हजार नेपाली महिलाहरू बिगत १ हप्तादेखि भारतमै रोकिएको र त्यसरी नेपाली घरेलु महिला कामदारहरू मुम्बईमा रोकिएपछि ४-५ जना साउदी (मालिक)हरूले दूतावासमै आइ सिकायत गर्दै ती महिलाहरूलाई साउदी आउनदिनका लागि सरकारी पहल गरिदिन अनुरोध गरेकोमा राजदूतज्युले १५ बुंदे मापदण्ड मञ्जुर गरी पालना हुने भए मात्र नेपाली महिला साउदी आउन पाउने अन्यथा त्यसरी नै रोकिने जानकारी दिंदा ती साउदीहरूले भने मापदण्डहरूको पालना गर्न तयार नभई पुर्बवत ल्याउन पाउनुपर्ने माग गरेको बताउनुभयो । हालै निर्धारित भई कार्यान्वयनमा ल्याउन लागिएका उक्त १५ बुंदे मापदण्डमा नेपाली घरेलु महिला कामदारहरूको न्युनतम मासिक तलब साउदी रियाल ८०० हुनुपर्ने, हरेक शुक्रबार पनि काम गर्नुपर्ने भएकोले सोको लागि ओभरटाइम स्वरूप थप २०० रियाल दिनुपर्ने, औषधोपचार, बिमा, स्वदेश फिर्ती टिकट, अनुगमन, फोन सुविधा अनि महिला ल्याउने मालिकको आयस्तर, एजेन्ट मार्फत मात्र ल्याउनुपर्ने र एजेन्टले दूतावासमा ठूलो रकम डिपोजिट राखेको हुनुपर्ने लगायतका शर्त सुविधाहरू समावेश छन ।

नेपाली महिलाहरूको पासपोर्टमै साउदी अरब या खाडीमै आउन नपाउने गरी स्टाम्पिङ गरिने मागका बारेमा यो मागको आशय सही, मार्मिक र मननीय भएता पनि यसो गर्दा ती महिलाहरूको बिदेश घुमफिर गर्ने स्वतन्त्रा हनन हुने र त्यसबाट नेपाल र साउदी अरबका बिचको दुई देशिय कुटनैतिक (दौत्य) सम्बन्धमा समेत नकारात्मक असर पर्न सक्ने हुंदा त्यसलाई त्यही रूपमै लागु गर्न नसकिने बताउनुभयो । नेपाल सरकारले नेपाली महिलाहरूलाई साउदी अरबमा आई घरेलु कामदारका रूपमा काम गर्नका लागि श्रम स्वीकृती रोक्न भने सक्ने र यथार्थमा लामो समय श्रम स्वीकृति रोकेको पनि स्मरण गराउंदै तर त्यही बेला एकातिर भारतीय बाटो हुंदै नेपाली महिलाहरू साउदी अरब आउने क्रम निरन्तर चलिरह्यो भने अर्कोतिर नेपालमा पनि केही महिला अधिकारकर्मी र NGO/INGO का महिलाहरूले त्यसरी रोक्न नहुने दबाव दिएपछि हालैका दिनमा नेपाल सरकारले निश्चित मापदण्ड र शर्त सहित उक्त प्रतिबन्धलाई फुकुवा गरेको बताउनुभयो ।

त्यसैगरी भगौडा कामदारहरूका बारेमा यो तत्काल त्यती ठूलो समस्याका रूपमा नदेखिएपनि दिर्घकालमा यो स्वयम भगौडा कामदारहरू, समाज र राष्ट्र (दुबै मुलुकहरू) का लागि घातक हुने हुंदा यसको नियन्त्रणका लागि आंफूले छिटै नै साउदी अरबका श्रम मन्त्रीसंग भेटवार्ता गरी ठोस सुझाव / प्रस्तावहरू राख्ने बताउनुभयो । “हामी सबैले भाग्न र भगाउन दुरूत्साहित गर्नुपर्दछ” वहांले भन्नुभयो । नेपाली कामदारहरूलाई बिभिन्न लोभ र अवसर देखाई भाग्न लगाउने र पछि तिनै भगौडा कामदारहरूलाई स्वदेश फर्काउन कमिशन रकम लिएर जेल पठाउने नेपाली दलालहरूको आंफूले खोजी गर्दैरहेको खुलासा पनि गर्नुभयो । भाग्नु अघि नेपाली कामदारहरूलाई परेका सबै खाले समस्याहरू हल गर्न सम्पूर्ण दुतावास परिवार नै हाल लागिपरेको, कामदारहरूले दूतावासका कुनै पनि कर्मचारीहरूसंग तिनका मोबाइलमा समेत सम्पर्क गरी सहयोग लिन सकून भनी सबै कर्मचारीहरूका मोबाइल नम्बरहरू समेत दूतावासको वेभ साइट (www.neksa.org) मा राखिदिएको जनाउनुभयो ।

No comments:

Post a Comment

- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।