-दीपक सापकोटा
मध्यसाउनको एक दिन ।मध्याह्न्न १२ बजेतिर गाडीको छतमा बसेर खुला आकाशमुनि बनेपाको बसपार्कमा मानिसको भ्याइनभ्याइको हतारो हेरिरहेका थियौँ हामी साथीभाइको एक मण्डली । बनेपादेखि मंगलटारसम्म यो मौसममा पानीमा नभिजी छतबाट फुत्किएर कसरी पुग्न पाइएला भनी सोचिरहेका थियौँ । घुमाउरो बाटो अनि बसको लोसे गुडाइबाट मंगलटार पुग्नै चार घन्टा लाग्यो । बाटोमा कुनै पसल छैनन्, केही किनेर खान या सुस्ताउन ।
बेँसीबाटै खुब हिँड्नुपर्यो । जति माथि गयो पहाडको सडक तन्किएकोतन्कियै छ । कहालिलाग्दो उकालो ! जति हिँडे पनि सिँद्धिदैन । तर, बेँसीमा रोशीखोला उस्तैगरी कराइरहेछ । रोशीखोलाको सुसेली कानमा ठोक्किरहेछ । जति माथि पुगे पनि यसैले पच्छ्याइरहेझैँ लाग्छ । कहिले टाढाबाट, कहिले यहीँजस्तो । धेरै तल रोशीखोलाकिनारमा एउटा गुजुमुज्ज परेको बस्ती देखिन्छ । अनि, बर्सेनि बाढीले काटेको बगर । र, बालुवा ओसार्ने ट्रकहरूको हूल ।
यात्रामा उत्साह, उमंग, अत्यास, सबैखाले अनुभूति हुनेरहेछ । केही पहिले पढेको विश्वप्रसिद्ध कथाकार ओ हेनरीको एउटा कथाको सम्झना भयो । कथाको थिम यस्तो छ- युरोपको कुनै एउटा बेसक्याम्पमा एक पर्वतारोहीले कतै पनि बास भेटेन । रात परिसकेको थियो । बाध्यता कस्तो आइपर्यो भने उसले एउटी केटीसँग एउटै ओछ्यानमा रात बिताउनुपर्ने भयो । खाटको बीचमा तकिया राखेर उनीहरू सुते । भोलिपटक झिसमिसेमै पर्वतारोही उठ्यो र हिमाल चढ्न तयार भयो । होटलबाट निस्कनुअघि युवतीलाई ब्युँझाएर भन्यो, 'तिम्रो मायाले गर्दा राति बास पाएँ, नत्र म चिसोले कक्रिएर मरिसक्थेँ कि ? तर, अब ढुक्क छु, म यो चुचुरो मजाले चढ्न सक्छु ।' केटीले भनी, 'राति यत्रो जाबो तकिया त चढ्ने हिम्मत गरेनौ, यो हिमाल कसरी चढौला खै ?' ओ हेनरीको यो कथा सुनाएपछि सँगै हिँडिरहेका साथीहरूबीच सन्नाटा चिरेर हाँसो गुन्जियो ।
०००
हामीलाई भेट्टाउँला जसरी एक हूल मान्छे हतार-हतार कस्सिइरहेका छन् । तलदेखि माथिसम्म सेतो धोती लगाएको एउटा केटो हूलको अघि-अघि छ । अचम्म, केहीछिनमै ती पाइलाहरूले हामीलाई भेट्टाइछाडे । नजिक आएपछि थाहा भयो, त्यो मलामीको लर्को रहेछ । भर्खरै रोशीखोलाकिनारमा लास जलाएर उकालो लाग्दै गरेका मलामीहरू । हामीसँगै हिँडेका जगतसिंह तामाङले लगभग सबै मलामी चिनेका रहेछन् । जगतको घर उतै भोज्र्याङ हो । हामी उनैको घरमा जाँदै थियौँ । त्यही भीडबाट कछाड बेरेका, मैलो इस्टकोट लगाएका, रातो हात्तीछाप चप्पल लगाएका आइतबहादुर तामाङले भर्खर जलाएर आएको लासबारे भने, 'त्यो भर्खर ५१ वर्ष मात्र लागेको थियो । कालले चटक्कै चुँड्यो । बिचरा खुब दुःख गर्यो । यो लामो उकालो-ओरालो गर्दा-गदर्ैै मर्यो बिचरा ।' शोकमग्न मलामीको भीडमा ठिटा केही थिएनन् । मात्र हाडछाला बाँकी भएका बूढा मलामीको झुन्ड । 'गाउँमा ठिटा बस्दैनन्, तिघ्रा लागेपछि काठमान्डू, कतारतिर जान्छन्,' आइतबहादुरले सुस्केरा हाले ।
०००
हाम्रा पाइला भोज्र्याङ जित्न जसरी अघि बढिरहेका छन् । एकपछि अर्को पहाडको थुम्को नाघेर हामी भोज्र्याङ बस्ती छुन खोजिरहेका थियौँ । ठुल्ठूला ढुंगाका पहरा छिचोल्दा आफू केही वर्षपहिले रसुवाको गोसाईंकुण्ड गएको सम्झना भयो । अग्ला चट्टानी पहाड । तेज हावा बगिरहेको । 'जति माथि गयो, उति मज्जा, दृश्य सफा,' शिव हुमागाईं र शैलेन्द्र सापकोटा दृश्यपानको आनन्द लिइरहेका थिए । धेरै माथि पीपलबोटबाट तल हेर्दा रोशी उस्तै पारामा बगिरहेको थियो । हामी पुगेको दिन यो पहाडी गाउँमा कुहिरो डम्म थियो । दिन ढल्किँदै गएपछि अँध्यारोले पनि छोप्दै आयो । नजिकैको गहुँबारी र एकनासे घरबाहेक अरू केही कुरा देखिन छाड्यो । घरका धुरीबाट निक्लिरहेको धुँवाले गाउँले घर छिरिसकेको संकेत गथ्र्यो । रोशीखोलाबाट आएका एक हूल मलामीसँगै हामी पनि गाउँ पस्यौँ । हाम्रो यो प्रवेश अलिकति खल्लो पनि भयो, तर हामी त यात्री थियौँ । हामी यहाँ आएका थियौँ । अब जन्ती या मलामी, जुनसुकैको भीडसँग पनि हामी हिँड्न बाध्य थियौँ ।
०००
साँझ ढल्दै थियो । केही माथि पुगेपछि 'लेकका हामी केटाकेटी' गीत सुनियो । नजिँकिँदै जाँदा बुढ्यौली आवाज पो सुनिन थाल्यो । आँगनमै पुगेपछि थाहा भयो, यो केटाकेटीले गाएका थिएनन् । प्रौढकक्षा पढ्ने बूढाबूढी मिर्मिरे लालटिनको उज्यालोमा मस्त हाँसिरहेका थिए । कालोपाटीमा गीतको एउटा पंक्ति लेखिएको रहेछ-
कलमले लेख्ने मन थियो
हिउँले पो औँला खाइदियो
कुहिरोमा लुकेको स्कुलले
टाढै बसेर बोलायो
अँध्यारो गाउँ भोज्र्याङ ठूला डाँडा र पहराहरूबीच कतै हराएजस्तो लाग्यो । साथमा, हामी पनि अँध्यारेमा कतै बिलाइरहेछौँ, हराइरहेछौँ । देशले काँचुली फेरिसक्दा पनि हाम्रा गाउँहरू अझै अँध्यारोमै उस्तैगरी केही कुरिरहेछन्, केही ढुकिरहेछन् । लगभग ४ सय घरधुरी रहेको भोज्र्याङमा तामाङ जातिको बाहुल्य छ । केही बाहुन क्षेत्रीको पनि बसोबास रहेछ । गाउँ पूरै अँध्यारोमा बसेको छ । तर, गाउँमा जम्मा आठ घरले मात्र बिजुली बालेका छन् । आफैँले लगानी गरेर जोडेको सोलार प्यानलबाट उनीहरूले बिजुली बालेका हुन् । गाउँमा सबैभन्दा पहिले ०५२ सालमा किसानसिंह तामाङले आफ्ना घरमा बिजुली ल्याएका रहेछन् । 'गाउँलेले बढी भएको सम्पत्ति तह लगाएको भनेर कुरा पनि काटे ।' विगत सम्झँदै उनी भन्छन्, 'तर, बिजुली भएपछि छोराछोरीलाई पढ्न र बूढीलाई काम गर्न सजिलो भयो ।'
अँध्यारोमा बस्न बाध्य भोज्र्याङवासीले अझैसम्म पनि बिजुलीबाट वञ्चित हुनु भनेको दुःखलाग्दो पक्ष हो । सरकारले बिजुली ल्याउने भनेर उहिल्यै प्रत्येक घरधुरीबाट १ हजार ५ सय ५० रुपैयाँ उठाएको पनि हो । तर, बिजुली नआएपछि गाउँले निराश भएका छन् । 'अब दुई वर्षपछि आउँछ भन्ने आशा छ,' किसानसिंहले भने । किसानसिंहको परिवारले जस्तै सबै गाउँलेले उज्यालोमा बस्न पाउने दिन कहिले आउला ?
राजधानीका सम्भ्रान्त राजनीतिज्ञ, सम्पन्न व्यापारी र सत्ताका दलालहरूलाई मल्लिका शेरावत र विपाशा वसूजस्ता हिन्दी फिल्मका नायिकाका नखरासँग मतलब छ । यस्ता गाउँबारे सोचेर उनीहरूलाई के फाइदा ?
मलाई ०६१ मा तिमाल आउँदाको एक क्षणको सम्झना भयो । त्यसवेला बटुवाले बास पाउँदैनथे । साँझ गाढा भएकाले हामी एक गाउँलेको घरमा बास माग्न पुग्यौँ । 'तपाईंहरू राजाका सिपाही हो कि माओवादी ? साँझ बास माग्न आएका पाहुनालाई फर्काउन हुन्न त भन्छन् । तर, अहिले तपाईंहरूलाई बास दिँदा भोलि कुन बन्दुकले हामीलाई हिर्काउने हो ?' हामीले विद्यार्थी भएको र यसो गाउँ घुम्न निस्केको बताएपछि उनी बास दिन राजी भएका थिए । त्यसवेला सामान्य मानिसका यी अभिव्यक्ति सामान्य थिए । त्यसवेला मुलुकभरि फैलिएका त्रासका आवाज थिए यी । तर, अहिले समय फेरिएको छ । गाउँबस्तीले केही न केही सुविस्ताको सास फेर्न पाएका छन् । तिमाल मात्र होइन, देशको जुनसुकै कुनामा पुगे पनि बास पाइन थालेको छ ।
०००
बिहानीपख पातलो कुहिरो फाट्दै गयो । झुरुप्पै घर भएको एउटा बस्ती उज्यालियो । यो डाँडाबाट निकै तल हेर्दा रोशीखोला देखिन्थ्यो र सर्पझैँ गुडुल्किएका घुम्ती बाटोहरू देखिन्थे ।
गाउँका प्रत्येक घरमा टायलको छाना छ । अनि टोलैपिच्छे खेतबारीमा पानी लगाउन बनाइएको सिँचाइ पोखरी । केही घरमा चिटिक्क परेका शौचालय पनि थिए । शौचालयको दैलोमा भित्र पस्न चप्पलसहित हात धुने पानीको बाल्टी, जग, खरानी र साबुन थिए । काभ्रेको तिमाल क्षेत्रभित्र पर्ने मेच्छे गाविसको भोज्र्याङ गाउँ सफा र सुन्दर देखिन्छ । भोज्र्याङको सुन्दरताभित्र सबैथोक अटाएको छ । कति सुन्दर पहाडमाथि चढेर यहाँ रातो सूर्य उदाउँछ ! पहिलो झुल्को भोज्र्याङभरि पोखिएजस्तो लाग्छ । दिनभरि भोज्र्याङमै नाचेर दिन ढल्केपछि टाढाटाढा पश्चिमतिरको पश्चिमी डाँडाबाट त्यो बिलाउँछ । सयौँ वर्षदेखि भोज्र्याङमा जन्मेर मर्नेहरूले सधँै-सधैँ त्यो दृश्य देखिरहे । कमेरो र रातोमाटोले लिपेका घरहरू गुजमुज्ज परेर बसेका छन् । असार साउनमा गाउँभरि हरियो फैलिएर टाढाबाट हेर्दा घरहरू हरियो रंगमा बसेका सेता थोप्ला मात्र देखिन्छन् ।
तिमाल क्षेत्रकै सबभन्दा दुर्गम मानिने भोज्र्याङभित्र धार्मिक, सांस्कृतिक, ऐतिहासिक विशेषता सबै जोडिएका छन् । सुनकोसी र रोशीबीचको डाँडाभित्रका मेथिनकोटदेखि मेच्छेसम्मका गाउँ विविधताले भरिएका छन् । मेच्छे, मेथिनकोट, कानपुर, सस्युँखर्क, पोखरी नारायणस्थान, चापाखोरी, ठुलोपर्सेल, समरथली, बोल्देफेदीचे, कटुन्जेलगायत १० गाविस तिमाल क्षेत्रका रूपमा चिनिन्छन् ।
भोज्र्याङका गोरेटो, खोल्साखोल्सी, धारा, घरआँगन सबैले अनुहार फेरेका छन् । करेसाबारी सुख्खा छैनन् । गोलभेँडा, आँप, अनार, फर्सी, भन्टा, सिमीलगायत तरकारी र फलफूलले रंगीचंगी पारेका छन् भोज्र्याङलाई । तर, भ्रम नपरोस्, यहाँका मानिसका जिन्दगी सुखमय छैन ।
०००
तिमाल सुन्दर पर्यटकीय क्षेत्र पनि हो, जहाँ भोज्र्याङ छ । तिमालको इतिहास खोतल्दै जाँदा नेपालका २४ सय राज्यमध्येको एक तामाङ राज्य तिमालको कानपुरस्थित कोटतिमाल थियो । तामाङ राज्यका राजा स्वर्गीय रेन्जेन दोर्जेको ऐतिहासिक दरबारका थोरै अवशेष अझै पनि कोटतिमालमा छन् । कानपुरभित्रकै खरिदार पार्टीभित्रको ऐतिहासिक महत्त्व पनि कम छैन । सस्र्युंखर्कको गुफा प्रचार-प्रसार अभावमा ओझेल परेको छ । अनगिन्ती मन्दिरले यसलाई धार्मिक क्षेत्रका रूपमा समेत चिनाएका छन् । 'तिमालबाट हिमालदेखि महाभारतसम्मको सुन्दरतालाई नियाल्न सकिने रहेछ,' सँगै हिँडेका साथी शैलेन्द्र भन्दै थिए । विशेषगरी खाँटी तामाङको बस्ती रहेको तिमालका तामाङ तामाङनीको भेषभुषा र छुट्टै रहनसहनले तिमालको आकर्षण बढाइदिएको छ । जोकोही तिमालमा पुगे पनि त्यसको सुन्दरताले सबैलाई लोभ्याउँछ । तर, तिमालको दुर्भाग्य, यहाँ पर्यटनका क्षेत्रमा एकछेस्को काम पनि भएको छैन ।
०००
गाउँमा एउटा स्कुल छ, जहाँ कक्षा ८ सम्म मात्र पढाइ हुन्छ । ०३४ सालमा खुलेको जनज्योति निमावि उनै किसानसिंह तामाङ गाउँ पञ्चायतको अध्यक्ष भएका वेला उनकै पहलमा खुलेको हो । 'बालबालिका नियमित विद्यालय जान्छन,' उनी भन्छन्, 'अहिले गाउँ फेरिएकोजस्तो लाग्छ ।'
डाँडामा भएकाले सबैभन्दा बढी भोज्र्याङवासीले खानेपानी समस्या भोग्नुपरेको छ । भोज्र्याङ घर भएका जगत भन्छन्, 'मुख्य रूपमा खानेपानी, बाटो र बिजुलीबत्तीको समस्या छ गाउँमा ।' अहिले महाभारत क्षेत्रबाट झन्डै ४० करोड खर्च गरेर तिमाल क्षेत्रमा खानेपानी ल्याउने प्रयास सरकारबाट भइरहेको पनि गाउँलेहरू बताउँछन् । तर, पानी कहिले आउने कसैलाई थाहा छैन ।
विकासका सरोकार विविध स्वार्थ र असमानताले गर्दा विभाजित छन् । गाउँका ध्वस्त प्रशासकीय भवन अझै पनि मर्मत हुन सकेका छैनन् । शिक्षा र स्वास्थ्यका प्रारम्भिक आधार ठप्प छन् । मोटरबाटो पुगिसक्नुपर्ने जिल्लाका सडक आयोजना ठप्प छन् । बनिसकेको बाटोमा पनि सवारीसाधन चलेका छैनन् । यस्तै छ, हाम्रा गाउँको हाल, नेपालका धेरै गाउँ भोज्र्याङभन्दा पनि कहालिलाग्दो अवस्थामा छन् ।
०००
सँगै हिँडेका साथी जगत सधैँ भन्थे 'हिमाल हेर्ने भए तिमाल जाउँ ।' यो उखानजस्तै भइसक्यो । भोज्र्याङबाट पनि हिमालको सुन्दरता राम्रोसँग नियालियो । सदरमुकाम धुलिखेलदेखि मंगलटार अनि मेथिनकोटदेखि मेच्छेसम्म गाडीमा घुम्दाको मज्जा बेग्लै छ । तर, कच्चीबाटोको यात्रामा हुने ढिकिच्याउँसँगै यात्रा कष्टदायी बन्ने गर्छ । भोज्र्याङ र तिमाल क्षेत्रको घुमाइपछि के लाग्यो भने 'सुनकोसीको र्याफ्टिङ र रोशीको पहरोसँग रमाउँदै सुन्दर हिमाल हेर्ने योभन्दा उपयुक्त ठाउँ नेपालमा अरू छैनन् ।' तर, मन बडो भारी हुन्छ, तिमालमा खानेपानी, बाटो र बिजुली छैन । अब सदरमुकामबाट गाउँ जोड्ने मोटरबाटो, शुद्ध खानेपानी र सबै घरमा बिजुलीको सपना देखिरहेका छन् तिमालवासी ।
गाउँ अहिले यथास्थितिको विरोधमा विद्रोहको चेतनाले उद्वेलित छ । स्थापित सत्ताले कोरेका विकासे नारा मेटिन थालेका छन् । मानिसमा परिर्वतनको चाहना बढेको छ । मैले पढेको 'सोसियल साइन्स'मा भौगोलिक, प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक विविधताबीचको एकतालाई नेपालको विशेषताका रूपमा बखान गरिए पनि त्यो सूत्रलाई बलियो बनाउने कुनै आर्थिक आधार कतै भेटिन्न ।
भोज्र्याङबाट रोशीखोलातिर ओरालो लाग्दै गर्दा कानमा आफ्नै पाइलाको सर्सारहट, सहयात्रीको गाइँगुइँ र रोशीको मीठो सुसेली ठोक्किरहेको थियो ।
spkt.deepak@gmail.com
No comments:
Post a Comment
- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।