जुली गुरुङ
चढ्दिन भन्छु चढ्नैपर्छ, डराउदिन भन्छु डर लागिहाल्छ । कस्तो अत्यासलाग्दो छ हवाइजहाजको यात्रा । जहाजमा चढेर उड्नेबित्तिकै मुटु ढुकढुक हुन्छ । चढ्न नपाई पुगिहाले हुन्थ्यो, ओर्ली हाल्न पाए हुन्थ्योजस्तो लाग्छ । मुखले नभने पनि सबैको अनुहारले यस्तै कुरा प्रस्ट भनिरहेको हुन्छ । यसो प्लेन तलमाथि गर्यो कि मुटुले ठाउँ छोड्छ, पल्याकपुलुक हेर्यो निन्याउरो अनुहार लगायो, बस्यो । के गर्नु प्लेन नचढी, यातायातको एउटै मात्र विकल्प हो जहाज । सोलुखुम्बुवासीलाई यातायात भेट्ने ठाउँसम्म पुग्न हिँड्नलाई कम्तीमा दुईदेखि चार दिन लाग्छ ।
हवाई यात्रा गर्ने सोलुवासीको मन थीरमै हुँदैन । यही कात्तिक महिनामा मात्र सामान्य खालका तीनवटा दुर्घटना र भाइटीकाकै दिन फिस्टेल एयरको हेलिकोप्टर दुर्घटना भयो । यसअघि पनि धेरैजसो आकाशे यात्राको दुर्घटना सोलुखुम्बुमै भइरहेको छ । सम्झदा पनि मनै चिसो भएर आउँछ ।
जिल्लाका सबै विमानस्थलमा दुर्घटना भइसकेको छ । कात्तिक २१ गते कागेल विमानस्थल पुग्नै लाग्दा नेपाल एयरलाइन्सको टुइनअटर विमानको एकापट्टिको पंखा नघुमेपछि आपतकालीन अवरतण भयो । आँखाभरि आँसु लिएर यात्रुहरू विमानबाट ओर्लिए । 'प्लेन चढ्दाचढ्दै कुन दिन मरिन्छ जस्तो छ, आज त हामी बाँच्यौं, किन यस्तो हुन्छ हाम्रो ठाउँमा मात्र ?' मुक्ली घर बताउने सन्ताउन्न वर्षीय मनकुमारी राई भन्छिन् । अस्ति बिहीबार पनि स्विजरल्यान्डका सभामुख लुइस पास्को चढेको हेलिकप्टरमा सामान्य समस्या देखिएपछि फाप्लु विमानस्थलमा आपतकालीन अवतरण गरियो । लुक्लामा सीता एयरको जहाज दुर्घटना हुँदा सामान्य क्षति पुग्यो । बारम्बारको घटनालाई सम्झदै जहाज चढ्नैपर्छ ।
'खराब मौसमको बेला जहाज कहिले कुहिरोभित्र पुर्याउँछ, कहिले रिङ्गटा छुट्ने गरी शरीरको तापक्रमले नभ्याउने उचाइमा पुर्याउँछ, कहिले आङै जर्किने गरी तल झार्छ । कुनै बेला त सास फेर्नै मुस्किल हुन्छ । कतिपटक मेरो मुटु-कलेजो मुखसम्म आएको छ, अब त मानसिक रोग नै भइसक्यो, प्लेनमा चढेपछि डर लाग्ने र काप्ने हुन्छ' सल्लेरी ५ की लीला श्रेष्ठले भनिन् ।
हुन त यात्रु पनि अचम्मकै छन् । उड्ने बेला काठमाडौंबाट फाप्लु होस् या फाप्लु र कागेलबाट काठमाडौं, सबैको हातमा दस केजीको त हाते झोला नै हुन्छ । अझ सामान आउने र पठाउने त कुरै नगरौं । कोही रित्तो यात्रु देख्नै हुँदैन, एउटा न एउटाले अलिकति इमर्जेन्सी छ भन्छ अनि दुई-चार केजीको झोला भिराउँछ । 'हुँदैन भन्नु कसरी मान्छे नै त्यस्तै छन्,' नेचाका कुमार शर्माले भने ।
हिमाली जिल्लाको उडान, एकातिर डाँडाकाँडा अर्कोतिर मौसमको चुनौती, मुस्किल छ जहाजको यात्रा । गुणस्तर कुनै प्रविधिमा छैन, सबै जहाज थोत्रा छन् । दुर्घटना हुनुमा पैसाका लागि चुनौती मोल्ने एयरलाइन्सको हात पनि कम छैन । प्राइभेट एयरलाइन्सलाई मौसमको वास्ता छैन । थोत्रो जहाजमा यात्रु बोक्ने एयरलाइन्सलाई जहाज थप्नेभन्दा कसरी कुम्ल्याउने भन्ने दाउ छ । यात्रुलाई गन्तव्यमा छिटो र सरल तरिकाले पुग्न पाए भयो ।
धेरैजसो दुर्घटनामा प्राविधिक समस्या कारण भएको तथ्य आइरहेको छ । तर सरकारले राम्रो व्यवस्थापन र मर्मतमा किन ध्यान दिन सक्दैन ? कतिपय जहाज पुरानो हो भन्ने यात्रुलाई थाहा हुन्छ तर त्यही जहाज नचढेर के गर्नु ? बाध्यतापूर्वक चढ्नैपर्छ । जनता जोखिम मोलिरहेका छन् तर सरकारलाई वास्ता छैन । दुर्घटना भइहालेमा मात्र दुःख प्रकट गर्छ । नियममा कडाइ गरी नयाँ संरचना बनाउन, जहाज र हेलिकोप्टरको मर्मतमा ध्यान दिन, नयाँ जहाज किन्न निजी क्षेत्रलगायत सरकारले पनि ध्यान दिनुपर्ने हो ।
धेरै बाबुआमाको आशिष पाइलट, इन्जिनियर, डाक्टर हुनु भन्ने हुन्छ तर अब त पाइलट हुनु भन्ने आशीर्वाद कुनै बाबु र आमाको मुखबाट निस्कँदैन होला । तिहारको टीका लगाइदिएर दाजुभाइको लामो आयुको कामना गर्ने चेलीको फूलमाला हवाई दुर्घटनाका कारण एकाएक ओइलाउँदा कसको मन चुँडिएन होला । महिनैपिच्छे वा वर्षैपिच्छे ज्यान गुमाउनेमा पाइलट मात्र होइन थुप्रै सर्वसाधारण पनि पर्छन् तर उनीहरूको नाम त्यति आउँदैन । जति डर लागे पनि सबैको एउटै विकल्प भएको छ यो हवाइजहाज ।
कान्तिपुरबाट
No comments:
Post a Comment
- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।