नेपालको पूर्व भागमा रहेको जनकपुर पछिको प्रमुख तीर्थस्थल भनी प्रसिद्ध सतासीधाम समुद्र सतहबाट २८० देखि ३०० मिटरसम्मको उचाइमा ७६.५ वर्ग कि.मि. क्षेत्रभित्र फैलिएर रहेको छ । सतासीधाम दिगम्बेश्वर मन्दिर सतासीधाम गा.वि.स. वडा नं. ९ को सिमानामा अवस्थित छ । पूर्व पश्चिम राजमार्गको झिलझिलेबाट लगभग २ कि.मि. को दूरीमा चुरे पहाडसँगै अवस्थित सतासीधाम धार्मिक आस्थाका अतिरिक्त बनभोज जाने, फोटो खिच्ने र बिदाको समय उपभोग गर्न जाने उद्देश्यका लागि समेत उपयोग हुने गरेको पाईन्छ । विभिन्न किसिमका बोटबिरुवाका साथै आँपको बगैचाले घेरिएको यो क्षेत्र अत्यन्तै रमणीय रहेको छ ।
सतासीधाम क्षेत्रमा सताक्षी देवी दिगम्बेश्वर महादेव, हनुमान, गायत्री आदि मन्दिर र जसमुनी आश्रम पनि रहेको छ । सतासीधाम क्षेत्रको पूर्वमा सुरुङ्गा गाविस उत्तरमा इलामको महमाई गा.वि.स तथा दक्षिणमा शिवगञ्ज गाविसहरु पर्दछन् । रतुवामाई वृक्षारोपण आयोजनाद्वारा धामको दक्षिणमा वृक्षारोपण गरिएको छ भने पूर्व र पश्चिममा वन उपभोक्ता समितिको रेखदेखमा रहेको प्राकृतिक जंगल र उत्तरमा ईलाम जिल्लाको जंगलले घेरिएको छ ।
यहाँ मंसिर महिनामा वाला चतुर्दशीको अवसरमा तीन दिन सम्म र माघे संक्रान्तिको अवसरमा एक दिन मेला लाग्ने गरेको पाईन्छ । यस स्थानमा अन्य समयमा भने मंगलवार र शनिवार भक्तजनहरुको भीड हुने गरेको पाईन्छ । पौराणिक कालमा पाँण्डवहरु वनवासको समयमा यही स्थानमा हतियार लुकाएर विराटराजाको दरवार गुप्तवास बस्न गएरका थिए भन्ने किम्बदन्ती रहेको पाइन्छ । सतासीधाम क्षेत्रको उत्तरतर्फ रहेको पहाडमा पाईने ढुङ्गाहरु विभिन्न वीव जन्तुसंग मिल्दो जुल्दो आकार प्रकारका हुने गरेको पाईन्छ । मन्दिर नजिकै रहेको पानीमा तातो र नुनीलो गुण हुने र यसलाई औषधीको रुपमा लिने गरिएको समेत पाईन्छ ।
मन्दिरबाट लगभग आधा घण्टा पैदल यात्रा गरेपछि सहस्र धारा भन्ने स्थान पुगिन्छ । यहाँ रहेको रमणीय झरनामा युधिष्ठिरले सताक्षी देवीको पूजा आरधना गरी देवीको दर्शन पाएको स्थान भएको हुनाले यसलाई सताक्षी धाम भनिएकोमा पछि अपभ्रंश भई सतासीधाम भएको हो भन्ने भनाई समेत रहेको पाईन्छ । यस झरनाको उत्तरमा त्रिशुल अदि रहेको स्थानलाई पाथिभरा भन्ने गरिएको छ । सहस्र धारामा नुहाउनाले पाप नाश हुने जनविश्वास रहेको समेत पाइन्छ ।
सतासीधाम क्षेत्र वरिपरि अवस्थित जंगलमा विभिन्न दुर्लभ जडिबुटीहरु समेत पाइने भएकोले यस क्षेत्रमा सधैं साधुसन्तहरुको जमघट भईरहने गर्दछ । सतासीधाम देखि उत्तर माईनदीको किनारै किनार डांडोमा गएपछि अप्ठेरो भीरमा एउटा गुफा रहेको छ । गुफा भित्र शिवलिङ्ग जस्तो देखिने स्थान पनि छ । पाण्डवहरु गुप्तवासको समयमा भीमले लुकेर बस्ने ठाँउ बनाएको विश्वास गरीने यस स्थानमा हतपत कोही पनि नजाने भए पनि कहिलेकही साधु सन्तहरु भने बस्ने गरेको पाईन्छ ।
पूर्व–पश्चिम राजमार्गबाट केवल ५ कि.मि. को दूरीमा अवस्थित भए पनि यहां सम्म जाने बाटोको राम्रो ब्यवस्था भने हुन सकेको देखिदैन । यस अतिरिक्त विद्युत एवं भक्तजनहरुलाई आवश्यक सत्संग भवन समेतको ब्यवस्था गरिएको खण्डमा मन्दिर क्षेत्रमा भ्रमण गर्ने तीर्थयात्रीहरुको संख्यामा वृद्धि हुन सक्ने देखिन्छ । यस मन्दिर क्षेत्रमा हाल पनि प्रशस्त मात्रामा बनभोज खाने समुहहरु आउने गरेको पाईन्छ । हिमालय पर्वतकी छोरी पार्वतीले उनको विवाह भगवान विष्णुसँग गरिदिन आटेपछि भागेर लुकेको ठाउँ भनी सतसीधामलाई लिने गरिन्छ । साथै पृथ्वीमा सुक्खा लागेपछि सतीदेवीले अफ्नो सयवटा आँखाबाट एकैछोटि अश्रुवर्षा गरी खोलो बगाउदा तिनै देवीको नामबाट सतासी हुदै सतासीधाम रहेको भन्ने धार्मिक विश्वास छ ।
झिलझिले बजारबाट लगभग ४ कि.मीं उत्तर चुरेपहाडको फेदीमा इलामको सिमानासंग जोडिएको यस स्थानमा रहेको प्राकृतिक मूर्तिका स्वरुपहरु, भित्तामा रहेका गाईका थुन आकारका प्रतीकहरु, सतासी खोलाको एक स्थानको बीच भागमा लगभग २० मिटरभित्र मात्र निस्कने गन्धक–पानी, फेदीमा रहेका अन्य मूर्तिहरुले पनि यो स्थान धार्मिक र प्राकृतिक दृष्टिले रोमाञ्चकारी रहेको छ । यहाँ जाने भक्तजनहरु आफ्नो मनोकांक्षा पूरा हुने विश्वासले पूजा आराधना गर्दछन् ।
सतासीधाममा प्रत्येक वर्ष बालाचतुर्दशीको दिन शतबीज छर्नको निम्ति दर्शनार्थीहरुको घुइचो लाग्ने गर्दछ । यसलाई पवित्र धार्मिक स्थल मानिन्छ ।
यताउतिबाट
No comments:
Post a Comment
- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।