एक साँझ ! काठमाडौमा बेसरि बतास चलको छ । म राजदरबार उत्तर ढोका हुँदै old navy स्लिपरमा पैदल हिँडेको छु । केहि दिनदेखि पेट्रोल पाइएको छैन । मोटरसाइकल लाजिम्पाटको गल्लिमा थन्किएको छ । तराईमा तेल बोक्ने ट्यांकर ड्राइभरहरुले हडताल गरेका छन रे । त्यहि हो थाहा पाएको अखबारहरु पढेर । मलाई झ्याउ लागेको छ यार ! यथार्थ यहि थियो ।
अहिले लागेको छैन किनकि त्यो साँझ म कम्प्युटर झोलामा हालेर हाफ पेन्ट र स्लिपरमा गोगँबु बसपार्क पुगेँ । झम्याक्क रात परिसकेको थ्यो । बस पाए घरतिर(बुटवल) लाग्छु, नपाए फर्कन्छु । त्यसपर सोँचिएन । बसपार्क पुग्दा पानी र बतास दर्केका थे । छाता ओडेको थेँ, बालै भयन । पानी दर्केका बेला बसपार्कभित्र टेन्ट ओडायर बनाइयको च्या पसलाँ उभियँ । पसले बुढि थिइन, पानी छलेर लुते कुकुरसँगै उभियको म पात्रतिर हेर्दै सोधिन’ केहि चाहिएको हो कि बाबुलाई ?’ उनी दिनभरको बेपारबाट निम्तेका पुराना नोठहरु गन्दै थिइन् । बुढी ‘मल्टिटास्किङ’ रहिछिन् । मेरो मुला कपाल र हाफ पेन्टको पछिल्लो भाग पानीले पुरै भिजेको थ्यो ।
‘के दिन सक्नुहुन्छ ?’ नेपालि फिलिमको २ पैसे भिलेनले झै सोधेँ मैले ! बुढी हल्का तर्सिएकै हुन् मेरो डाइलगले । चाउरी परेका तिनका आँखा ठुला भए । यो मुलोले कतै दिनभरको बेपारसेपार चिरिपझ्याँठ पार्दिने त होइन हँ? बुढीका ठुला बनेका मौन आँखाले त्यहि सोधेका थे । उत्तर दिनु अनिवार्य थ्यो उनले – ‘मसित भाको त च्या, चुरोट हो लिनेभए बाबुले ‘दिनुस दुइटै !’
‘कतेवटा दिम चुरोट’
‘एउटो’
‘कुन दिम’ यतिबेलासम्म बुढिले बिरप्पनले भारतका जंगलमा चन्दन तस्करि गर्दा नमाझि च्या पकाउने भन्दा कम्तिको नदेखिने ताप्केमा पानी प्रशस्त मिसाएको दुधको एक कप खोलो बगाइसकेकि थिन्, त्यसै ‘मल्टिटास्किङ’को पद दिइन्छ र ? उनि माकुने त होइनिन् नि, केहि नगरि लड्डु पाउने ।
‘जुन महँगो छ त्यहिदिनुस न यार ‘ सुर्याभन्दा माथिल्लो त्यहाँ थिएन भन्ने त मलाई थाहा थियो, त्यहि पनि पानी सधै नपर्ला । यसरि भिलेन बन्न नपाइन सकिने संभावना राम्रै थ्यो । बुढीले सुर्या र लाइटको समेत काम गर्ने दाउराजत्रो लाइटर पास गरिन्, च्यापत्ति पनि थपिन् ताप्केमा । च्यामा रङ निकाल्ने काममा बिहानदेखि पकाइएका मृत च्यापत्तिहरुको भुमिका प्रसंशायुक्त देखियो । च्यापत्तिहरु ताप्केको भित्ता र ग्राउण्डमा जुको झैँ टाँसियका थे । मैले च्या र चुरोट इन गर्दै थेँ । जन्मजात दुःखी देखिने एउटो टेउसि ड्राइभर पानी छल्दै आयो र सोध्यो – के छ खानेकुरा ?
‘चाउचाउ खाने हो ? बनाइदिम् ?’ बुढिले कर्कशायुक्त आवाजमा सोधिन् । दुखिरामले टाउको हल्लायो र गोजीबाट शिखरको खिल्लि निकालेर ओँठमा च्याँप्यो । मतिर हेर्यो । त्यो हेराइमा के छ भनेर बुझ्न कुनै डिग्रि लिनु जरुरि छैन । चुरोट पिउने चुरोटेहरुले बुझ्छन् । मेरो चुरोटबाट सल्कायो । धन्यवाद सन्यवाद गए तेल लिन । केहि आएन । बुढिले च्या बनाएको ताप्के धसिन र जुके च्यापत्तिहरु पखालिन् । एकैछिनमा त्यसैमा चाउचाउ पाक्यो । वाइवाइमा २ रुप्पे परेछ । टेउसि ड्राइभरको आँखा छलेर बुढीले कुपन पटुकाभित्र पुराइन् ।
यो उमेराँ के खान बुढिले पसलाँ ऐना राखेकि होलिन्, हेर्दा त यिनलाई लाइन हान्ने एउटै उपर्युक्त पात्र गिरिजाप्रसादमात्र हुनसक्ने मेरो बिश्लेषण थ्यो, तर बुढा केहि दिनअघि नै हिँडिसकेका थे, कृष्णप्रसाद प्याक नै छन् । बुढी तर्सेको सम्झेर ऐनामा नजरपान गरेँ आफनै – किर्तिपुर रुटमा चल्ने बसको खलाँसीभन्दा बढी भन्नु मप्रति अन्याय हुने देखियो । सहर्ष स्विकारेँ । काम माग्न गएको भए कुनै मुला ड्राइभरले रिजेक्ट गर्ने हिम्मत थेन । गइन ।
पाखुरामा छाता च्याँप्दै टिकट काउण्टरमा पुगेँ । नर्कको कुनै हाटबजारभन्दा कम मान्नु न्यायसंगत थिएन बसपार्कलाई । मल र मुत्रगन्धले हार्दिक स्वागत गरिहाले । यी अपेक्षित नै थिए । काउण्टरमा भर्खर यमलोकबाट भागेर आएकाजस्ता देखिने दुई चण्ड र मुण्ड ढाकाटोपीमै थे । ओँठभित्रबाट भिजेको सुर्ति दुई औलाले निकालेर मुण्डचाँहिले अनुसन्धान गर्ने मुडमा हेर्यो, मानौ उ कन्फर्म गर्न चाहन्थ्यो भित्तामा झट्कारेर फाल्नुपुर्व सुर्तिमा कामलाग्ने केहि बाँकि त छैन । बढीमा नासा र कम्तिमा रोनाष्टमा हुनुपर्ने यो अनुसन्धानकर्मि काउण्टरमा हुनु मलाई निको लागेन । माकुने सरकारलाई एकपल्ट फेरि गाली गरेँ – योग्यताको कुनै कदर नै छैन अनि किन पलायन हुन्नन् त युवाहरु ? मुला तोरि सरकार !
केही सोध्न तयार हुँदैथेँ, चारै दिशाबाट केटाहरु प्रकट भए ‘ काँ जाने दाई, पोखरा हो, धनकुटा ? भैरहवा ? त्रिशुलि ? बिरगञ्ज ? जनकपुर ? गौर ? काँ हो काँ ? भन्नुस् न ? भिडियो कोच हाम्रो, बुटोल हो ? नेपालगञ्ज ? भएजतिका दिशाबाट बर्षियका यि प्रश्नहरुले मनमा डर उत्पन्न गराए – यी तोरिहरुले अपहरण नै गर्ने त हैनन् यार ? कुरो जायज छ ! अपहरणको बिगनेश नै अहिले चलेको बिगनेश हो नेपालाँ । ‘बुटवल हो’ तीनटा केटाबाहेक बाँकि तोरिहरु मेरो जवाफपछि ‘मुला पाजी तँलाई नेपालगञ्ज या जनकपुर या बीरगञ्ज नगएर बुटोल जानुपर्ने ?’ भन्ने भावसहित अदृश्य भए ।
साढे आठ भैसकेको थ्यो – बसपार्काँमा । अनुभव सबै लिनुपर्छ भन्ने मेरो मान्यता छ । प्रचण्ड नै बन्ने हो भने त ‘सबै अनुभव लिनुपर्छ भन्ने हाम्रो महान गौरवशाली पार्टीको मात्र होइन कि मेरो पनि महान ठम्याइ छ (यहाँनिर ३ सेकेण्डका लागि कुम हल्लिन सक्छ) । चप्पल र हाफपेण्टमा हुनाले म लुटिने सम्भावना न्युन थ्यो बरु मलाई पार गर्दै हिँडनेहरु र परपर खुलेका पसलधनीहरु जसको थुतुनो लोडसेडिङले हाइब्रिड कुखुराको जत्रो बनाइदिएको छ, उनीहरु मबाट लुटिनसक्ने सम्भावनातिर सचेत देखिन्थे । यो पनि एउटो मजै हो यार ! तिम्रो गेटअपले तिमिलाई बजारमा बिक्ने गुण्डाभन्दा कम्तिको देखाउन्न भने त्यो पनि खुबिलिटि नै हो । सहमत हुनु या नहुनुस्, कल्ले दिन्छ यार यहाँ बाल कसैलाई । बाँचो भाई जैसा चाहते हो । एक मित्र भन्छन् संसार मिलाएर चल्छ । चल्छ भने आपत्ति छैन- म भन्छु !
पानी दर्केकै छ काठमाडौमा ! हेलिकोप्टरबाट हेर्ने हो भने बसपार्क यतिबेला सुनामीपछिको इण्डोनेशियन तटभन्दा फरक नदेँखिदो हो । कृपया यो अनुमान मात्र हो । नत्र नेपालाँ बिरोध भैहाल्छ । फेरि नेपाली सेनासित मिलेर हेलिकोप्टर भाडामा लिँदा घोटाला गर्यो भनेर बसपार्क बन्द गर्लान् भन्ने डर । नहाँस्नुस् ! नेपालाँ के हुन्छ र हुनसक्छ भन्ने अनुमान गर्न स्वयं महादेवसमेत असमर्थ छन् । बसपार्कलाई नर्कको कुनै घाटभन्दा र चण्ड-मुण्ड, प्रचण्डहरुबाट मुक्त पार्न मैले केहिसमयपछि बिशेष प्रस्ताव लियर माकुनेको दैलो खट्खटाउने बिचारमा छु, कल्पना गर्नुस् माकुने यो प्रस्तावलाई ६०१ भेँडाहरुका सामुन्ने कसरी प्रस्तुत गर्लान् । माकुनेले बाँकी जेसुकै भनुन् तर सुरुवात यी शब्दबाट गर्नेछन् ‘बर्तमान परिपेक्ष्यमा…..’
लास्टाँ उहि भनेझैँ तीनटा केटाहरुले मलाई उनिहरुको बसमा जान अफर गरे । कार्ड त थेन त्यहिपनि ‘दालमेँ काल’ भनेँझै बिद्यार्थी डिस्काउण्ट त होला नि भाई हो ? सोधेँ । कुन कलेजको बिद्यार्थी तपाईं कार्ड छ ? मोटेचाहीँले पेट कन्याउँदै सोध्यो । ‘डकुमेन्ट्रि ओपन कलेज’ एकपल्ट हेराहेर गरे । सुनिएको थेन यस्तो नाम त, मिलाएर लैजाम्ला नि ब्रोलाई । हातमा यात्रुको नामलिस्ट समातेको ठिटोले भन्यो । कतिमा ? मेरो प्रश्न !
भाडा तीनसय साठी हो तिनसय मा लैजाम्ला नि , टिकट काट्नु पर्दैन हिँड्नुस् । कुरो ठिकै हो भाई, पहिलो त कार्ड सार्ड छैन । whatever is enough भनेर केटाहरुसित हिँडें । अघिको टेउसि ड्राइभरभन्दा कम्तिको बस देखिएन । बिचरा बस ! पुराउने हो कि बीचैमा स्वर्गे बनाइदिने हो, शंका उठेको हो । जेसुकै होस् । त्रिशुलिमै खसेछ भनेपनि पौडिन आउँछ यार । नौ बजे बस हिँड्यो । ३-४ पल्ट ऐया ऐया गर्दै स्टार्ट त भयो ।
बाँकी के भो भन्नु पर्ला र ? मलेखुपर ६ घण्टा जाममा परियो । सदुपयोगको सिद्वान्त अनुसार सुतियो । बिहान नौ बजे घरको गेट खोलेर भित्र पस्नेबित्तिकै कुकरको सिठि बजेको सुनियो । पाक्दै छ केहि ! सरासर छतमा गएँ किचनमा । दार्ही पालेको, हाफ पेन्ट र चप्पलमा, कालो चश्मा अनि ब्याग भिरेको बुढोजस्तो मान्छे छतमा देखेपछि आमाले ‘नमस्ते कल्लाई…….खोज्नु…’ भनिहाल्नुभो । मेरो थोरै अनुहारमात्र आमातिर फर्केको थ्यो । म बाहिर छतमा बोरामा माटो भरेर आमाले लगाउनुभएका सिमीका जस्तादेखिने बोटहरु हेर्दै थिएँ । हुर्किसकेछन् नि ।
‘सिमी हैनन र आमा यि….’ प्रश्नसँगै मैले ढोग्दिसकेको थेँ । आमाका आँखाले ‘ छोरा के भयौ यस्तो जोगिजस्तो भन्दै थे’ । आमाले मेरो प्रश्न सुन्नु नै भएन कि ?
एक हप्ता घरमा बसेँ । त्यहाँ इन्टरनेट थिएन, फेसबुक र इमेलहरु थियनन् । ज्याज थिएन र त्यहाँ साथीहरु थिएनन् तर धेरै थ्यो । केटाकेटीहरुसँग साँझमा फुटबल खेलेँ । तिनीहरुको बल टालेँ, हावा भरेँ । हेल्मेट नलाई कालिकानगरका भित्री सडकहरुमा मनिषलाई(दाइको छोरा) काखमा राख्दै मोटरसाइकल कुदाएँ । आमाले मेरै लागि ल्याउनुभयको कफिलाई कालो बनायर छतमा बसेर चेतन भगत पढेँ । छोरालाई गर्मि भयो भनेर बुवाले पिसपास पार्नुभयको के के झारको झोलपनि पिएँ । गजब काम गर्यो । बुवा र दाइसँग राति म्यारिजपनि खेलेँ । मेरो पक्षमा हुटिङ गर्न छेउमा आमा बसिरहनुभो । जित निश्चित थ्यो । भाउजुसँग सडकछेउ उभियर अमिलो चाटपनि खाएँ । भाउजु र आमालाई एक-एकवटा पश्मिना सल लैजानुपर्ला भनेर सोँच्दा माओवादी जनयुद्व शुरु भएको थिएन होला तर ती सल कहिले घरमा पुगेनन् । किन यति सारो तोरि भएको होला म ? रियल्लि झ्याउ नै लाग्छ कहिलेकाँहि त !
हाफ पेन्ट र टिशर्ट आमाले धोइदिसक्नुभएको थ्यो ।
एक हप्तापछिको एक साँझ म झोला बोकेर काठमाडौ फर्किएँ । मैले हाफ पेण्ट र टिशर्ट लगाउँदै गर्दा आमाले घरमा हरेक १०-१२ दिनमा आउनुपर्छ भन्दै हुनुहुन्थ्यो । टाउको हल्लाएँ ।
बसपार्कमा झरिसक्दासम्म मेरा चप्पल धुले भैसकेका थे ।
एउटा तोरि माइक्रोमा चढेर लाजिम्पाटतिर लागेँ ।
- sateliteblog बाट
No comments:
Post a Comment
- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।