- भक्त खपाङ्गी प्राचार्य
नेपाली भाषामा शुद्धताभक्त खपाङ्गी प्राचार्य कथ्य होस् वा लेख्य भाषा सकेसम्म शुद्ध प्रयोग गर्नु राम्रो हो। सामान्यतः शुद्धता भन्नाले प्रयोगमा एकरूपता भन्ने बुझिन्छ। विकसित भाषाहरूले संसारभरि एकै ढङ्गले प्रयोग गराउन शब्दकोश, व्याकरण पुऱ्याएका छन्। अङ्ग्रेजी भाषाले त उच्चारणमा समेत एकरूपता कायम गराउन विभिन्न ध्वनि सङ्केतहरूको तर्जुमा गरेको छ, शब्दकोशलाई संस्कारैपिच्छे उपयुक्त परिमार्जन गरिरहन्छ। नेपाली भाषाको भने त्यस्तो हैसियत रहेको छैन। यद्यपि, नेपाली भाषाको व्याकरणको पनि एउटा मानक रूप तयार भइसकेको छ तर व्यवहारमा लागू हुन भने सकिराखेको छैन। भाषाविज्ञानका दृष्टिबाट तर्कसङ्गत देखिए पनि अघिका व्याकरणहरूको प्रभाव हट्न सकेको छैन। अघिका व्याकरणहरू कुनै संस्कृतबाट र कुनै अङ्ग्रेजीबाट प्रभावित थिए।
त्यसबाट शिक्षित -दीक्षित पुस्ता नयॉं व्याकरण अपनाउन तयार देखिँदैन। आफूले जानेकै सही भन्ने मानसिकताबाट ग्रसित देखिन्छ। कतिपय भने व्याकरणका "अनावश्यक झन्झट' मा फस्न चाहॅंदैनन्। यस्तो सोच राख्नेहरूमा साहित्यकार, पत्रकार मात्र होइन नेपाली विषयका शिक्षक- प्राध्यापकसमेत देखिन्छन्। "अपाङ्ग' को विपरीतार्थक शब्द "सपाङ्ग' हो भन्नेमा दृढ देखिन्छन्। "साङ्ग' वा "सबलाङ्ग' शुद्ध रूप हो भन्नेमा उनीहरू सहमत हुन चाहॅंदैनन्। कतिपय विद्वानहरू त नेपालीको पनि शुद्धरूप हुन्छ भन्ने कुरा नै स्वीकार गर्नचाहॅंदैनन्। अङ्ग्रेजीका हजारौं शब्दको सही शुद्ध "स्पेलिङ' (हिज्जे) कण्ठस्थ पार्न सक्नेहरू नेपालीका दुइ-चारवटा शब्दको हिज्जे याद गर्न सक्दैनन्।
नेपाली भाषाको मानक व्याकरण अहिलेसम्म तयार भएको छैन? वर्णविन्यासको कुनै नियम बनेको छैन? त्यसैका आधारमा प्राथमिक विद्यालय तहदेखि विश्वविद्यालयस्तरका पाठ्यपुस्तकहरू लेखिइसकेका छन्। व्याकरणकै पुस्तकहरू पनि तयार भइसकेका छन्, पठन-पाठन भइराखेको छ। तर दुःदुखको कुरा पढाउने शिक्षकहरू नै स्पष्ट हुनसकिराखेका देखिँदैनन्, पुरानै नियममा अभ्यस्त देखिन्छन्। कान्तिपुर (दैनिक) लगायत राजधानी काठमाडौंबाट प्रकाशित हुने पत्र-पत्रिकाहरूले नयॉं व्याकरणको पालना गरिराखेका देखिन्छन्। तिनमा प्रयुक्त वर्णविन्यास नयॉं व्याकरणअनुसारकै छन् तर त्यसबाट सकारात्मक असर परेको देखिँदैन। "कान्तिपुर'- जस्ता ठूला पत्रपत्रिकाले चलाएको (शुरु गरेको) वर्णविन्यास हामीले किन अनुसरण गर्ने? भन्नेहरू पनि भेटिन्छन्। यो वर्णविन्यास कान्तिपुरहरूले शुरु गरेको नभई स्थापित हुनआएको व्याकरणअनुसार उसले अप्नाएको पो हो भन्ने बुझ्न नसकेको भान हुन्छ। वास्तवमा नयॉं व्याकरण सजिलो, वैज्ञानिक र भाषाविज्ञानसम्मत प्रतीत हुन्छ। यद्यपि, अझै पनि धेरै अस्पष्टताहरू कायमै छन्।
अङ्ग्रेजी भाषाको गहिरो अध्ययन गर्ने नेपालीहरूको सङ्ख्या अहिले निकै ठूलो देखिन्छ। इङ्लिस ग्रामरका जटिल नियमहरू खर्लप्पै खाएका छन्। हिज्जे (स्पेलिङ) र उच्चारण (प्रनन्सिएशन) को खासै नियम नभएका हज्जारौं अङ्ग्रेजीका शब्दहरू कण्ठस्थ पारेका देखिन्छन्। अरूले बोलेका, लेखेकामा गल्ती औंल्याउने क्षमता राख्छन् तर नेपाली भाषा-व्याकरणका सामान्य कुराहरू पनि ख्याल गर्दैनन्। "व्याकरणका वाहियात नियमहरू किन याद गर्नु?' भन्न हिच्किचाउँदैनन्। नेपाली भएर शुद्ध नेपाली भाषा लेख्न, बोल्न नसक्दा हीनताबेध होइन बरू गर्व गर्छन्। यस्तो अवस्थामा नेपाली भाषा र नेपाली समाजको कसरी प्रगति होला? अलिकति ध्यान पुऱ्याउने हो भने नेपाली व्याकरण सजिलै जान्न सकिन्छ, शुद्ध बोल्न, लेख्न सहज हुन्छ। यसका लागि केही आधारभूत कुरा थाहा पाउनु आवश्यक हुन्छ।
पहिले नेपाली अक्षर र वर्णहरूको जानकारी लिउँ
नेपाली स्वरहरूः भाषा वैज्ञानिक दृष्टिबाट हेर्दा नेपाली भाषामा 6 वटा मात्र स्वर पाइएका छन्- अ, आ, इ, उ, ए, ओ। ई ऊ भनेका इ उकै दीर्घ रूप मात्र रहेछन्। ऐ भनेको अ+इ को र औ चाहिँ अ+उ को संयुक्त रूपले काम दिने रहेछन्। अं अः मा त व्यञ्जनवर्णहरूको मिसावट भएको छ। यी छ वटा स्वरकै सहायताबाट जत्ति पनि नेपाली शब्द निर्माण हुनसक्छन्। परम्परागत संस्कृत स्वर वर्णमालाको काम छैन त? भन्ने प्रश्न उठ्छ। काम सकिएको होइन।
संस्कृत जस्ताको तस्तै आएका हज्जारौं तत्सम शब्दहरू लेख्नुपर्दा यिनको काम आउँछ। नेपाली व्यञ्जनवर्णहरूः निम्न 29 वटा मात्र नेपालीका व्यञ्जनवर्ण ठहरिएका छन् क ख ग घ ङ च छ ज झ ट ठ ड ढ त थ द ध न प फ ब भ म य र ल व स ह। ञ ण नेपाली शब्द लेख्नका लागि आवश्यक पर्दैनन्। स मात्र नेपाली जिब्रोले सहज उच्चारण गर्नेभएकाले ष श पनि आवश्यक देखिएनन्। क्ष त्र ज्ञ संस्कृतमै पनि संयुक्त व्यञ्जन हुन् नेपाली शब्द लेख्ता यिनको खॉंचो नपर्ने ठहर भएको छ। अनावश्यक मानिएका वर्णहरू पनि तत्सम शब्द लेख्ता भने चाहिने ठहरिएका छन्।
अब नेपाली शब्दका बारेमा थोरै चर्चा गरौः
संस्कृत भाषाबाट जन्मिएको नेपाली भाषामा संस्कृतका शब्दहरू प्रशस्त हुनु स्वाभाविक हो। कुनै तत्सम रूपमा (माता, पिता, विद्या, गुरु, पृथ्वी, सूर्य आदिः कुनै तद्भव रूपमा (दूध (दुग्ध), जोगी (योगी), जोड (योग), तितो (तिक्त), रित्तो (रिक्त), रक्छे (रक्षा) आदि)। यी बाहेक ङिच्च, प्वाक्क, लुत्त, सिन्कीजस्ता ठेट- झर्रा शब्दहरू पनि छन्। यसका अतिरिक्त संसारका धेरै भाषाहरूबाट थुप्रै शब्दहरू नेपालीमा प्रवेश गरेका छन्। तिनलाई आगन्तुक शब्द भन्ने गरिन्छ। यसरी स्रोतका आधारबाट हेर्दा नेपालीमा तीन खाले शब्द पाइन्छन्-तत्सम, तद्भव र आगन्तुक।
शुद्ध लेख्नका लागि मुख्य ध्यान दिनुपर्ने कुरा यिनै हुन्। मुख्य कुरा तत्सम शब्दचाहिँ चिन्नसक्नुपऱ्यो अर्थात् संस्कृतबाट रूप नफेरिई आएका शब्दहरू ठहऱ्याउन सक्नुपऱ्यो। यसैका लागि अध्ययनको खॉंचो पर्छ। यी बाहेकका शब्द सबै तद्भव वा आगन्तुक हुन्छन्। तद्भव र आगन्तुक शब्दका लागि सरल नियमहरू बनाइएका छन्। परम्परागत जटिल व्याकरणका नियम तत्सम शब्दका हकमा मात्र लागू हुन्छन्। नयॉं नियम थाहा हुननसकेकोले तद्भव र आगन्तुक शब्दहरू संस्कृत व्याकरणका आधारमा लेखिने हुँदा अनौठा देखिन्छन्। हुन त नयॉं पाराले लेखिएकालाई चाहिँ अनौठो मानिने गरिन्छ। नयॉं वर्णविन्यासअनुसार इन्डस्ट्री, एसिया, ग्रिल, छेत्री, झन्डा, झुण्डयाउनु, टिस्टा, दस, दसैं, दर्साउनु, बर्सेनि, मिर्गौला, रुन्चे, सन्च, सहर, साहिद, सायद, साही, सुरु, सेर, स्वीकार्नुजस्ता शब्दहरू अझसम्म पनि पुरानै पाराले इण्डष्ट्री, एशिया, गृल, क्षेत्री, झण्डा, झुण्डाउनु, टिष्टा, दश, दशै, दर्शाउनु, वर्षेनि, मृगौला, रुञ्चे, सञ्च, शहर, शहीद, शायद, शाही, शुरु, शेर, स्वीकार्नु लेख्ने गरिन्छ। यो अशुद्ध रूप हो। उल्लिखित उनन्तीसवटा व्यञ्जन र छ वटा स्वरमै सीमित हुनु राम्रो हो। "स्विकार्नु' कतिलाई पाच्य नहोला। तत्सम शब्दका रूपमा "स्वीकार' सही हो। "स्विकार्नु' तद्भव भएकाले "स्वीकार्नु' सही नमानिएको हो।
अरबी - फारसी स्रोतबाट आएका शब्दहरू शहर, शायद, शहीद, शुरु, शेर हिन्दीमा यसरी नै लेखिने भएकाले त्यो नै शुद्ध हो भन्न सकिएला। संसारका सबै भाषाले अन्य भाषाबाट शब्द भित्र्याउनैपर्छ। हाम्रो हकमा पनि त्यही लागू हुन्छ। शब्द भित्र्याउँदा "सुशील बुहारी' बनाएर ल्याउनुपर्छ, मालिक्नी बनाएर होइन। संस्कृतबाहेक अरू भाषाबाट ल्याइने शब्दलाई नेपाली व्याकरणमा ढाल्नुपर्छ। मूल भाषाकै व्याकरणअनुसार भित्र्याउनु राम्रो होइन।
विभिन्न तत्वहरूले भाषिक शुद्धतालाई असर गरिराखेको हुन्छ। शुद्धता हेर्ने पहिलो कसी हो वर्णविन्यास। हिज्जे, वर्तमानी, खिप्ती पनि भनिने वर्णविन्यासअन्तर्गत ह्रस्व-दीर्घका अतिरिक्त श ष स, शिरबिन्दु चन्द्रबिन्दु र पञ्चमवर्णको प्रयोग य ए, क्ष क्ष्य, छे, ज्ञ ग्यॅं, ब व, हलन्त- अजन्त, पदयोग- पदवियोगजस्ता तत्वहरूको पनि महत्वपूर्ण भूमिका हुन्छ। यिनको पनि हेक्का राख्नैपर्छ।
आलोपालोबाट
No comments:
Post a Comment
- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।