दीपावली र मेरी दिदी

- विष्णु बैकुण्ठे
गाउँभित्रका गल्लीहरु
नागबेली झैं सल्बलाइरहेछन्
घरआँगन
पँधेरीको डिलमा पत्रैसँग
केस्राहरु फक्रक्क फक्राउँदै
सयपत्री र मखमली
आजित छन् निम्त्याउन
शुभ दीपावली ।

वस्तीको अँध्यारो पन्छाउन
चेतनाको बिगूल फुक्दै
लह-लह झुलिरहेका
सप्तरंगी फूलहरु
जुर्मुराइरहेछन् यसबेला
शहरिया दुर्गन्ध हराउँदै
लक्ष्मीको पर्खाइमा रातारात
नयाँ कोपिला पूनः जन्माउँदै
माथि उठिरहेछन्
देशको दुर्दशालाई
निमिट्यान्न बनाउन
आइरहेछ दीपावली ।

झुपडीभित्रको
रित्तो कराही भरेर
अगेनामा निभेको आगो सल्काउँदै
हरेकका कानमा
शुभ खबर गुञ्जाउन
पखेटा फिँजाएर
धुरीमाथिको धुवाँ नियालिरहेछ
कगेनी ।

शान्तिको खडेरीमाथि
ध्वाँजा फाटेका
गल्छीभित्रबाट गुहारिरहेछिन्
मेरी दिदी
छाती फूलाएर गर्वसाथ
सप्तरंगी टीका थमाउन
आफ्नै भाइहरुलाई
बुनिरहेछिन् एक सिंगो एकता
हातमा झण्डा लिएर

हिमालका टाकुरा देखि
तराईका फाँटहरुसम्म
अनि
मेचीदेखि कालीसम्म
चारसुरमा उभिएर थर्थराउँदै
भए पनि आज
हातमा झण्डा बोकेर
डाकिरहेछिन् मेरी दिदी
भाइका निधार रङ्ग्याउन
सप्तरंगी बुट्टा भर्न

एकतामा उनिएका
माला गलाभरी सजाउन ।

दुःख भगाउँछिन् मेरी दिदी
पछ्यौरीले आँशु
किनारा लगाउँछिन्
आमापछिकी अर्की आमा
चोट सहेर आज भाइकै
रक्षामा तल्लिन छिन्
तेलको धारा बगाउँदै
यमदुतसँग भीख मागिरहेछिन्
हात जोडेर र भन्छिन्
मेरो भाइको सधैं रक्षा होस् ।

बिडम्बना लुकेको संस्कृतिमा
शास्वत वाणी
बिना हिच्किचाहट निस्किरहेछन्
आवाजहरु
भित्री पीडा भूलेर
मन मष्तिस्कबाट ओकलिरहेछिन्
मेरो देश नेपालमा मेरी दिदी ॥

No comments:

Post a Comment

- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।