- बुद्धिसागर
दिउसो साढे चारबजेतिर कटासे बजारमा मुर्मुरिएका गोरुको लस्करझैं बजारका केटाहरू दगुरिरहेका थिए। संख्या तीसएकतीस जना। मान्छेहरू घरका बार्दलीमा बसेर रमाइलो हेरिरहेका थिए। म भने सुरुमा गद्र्याङगुद्रङ दगुरिरहेका केटाहरू देखेर तर्सेको थिएँ- कतै फेरि ग्याङफाइट भयो कि! बजारमा हप्तैपिच्छे फाइट भइरहन्थ्यो। तर, होइन रहेछ। त्यस भीडलाई एकजना नयाँ मानिसले सम्हालिरहेका थिए।
उनी भीडको अघिल्तिर दगुरिरहेका थिए। तलमाथि सिमलको भुवाजस्तो सेतो कपडा र कम्मरबाट तलतिर लत्रेको कालो बेल्ट। बेल्टअघिल्तिरका दुइटा पाता घाइते सर्पझैं एकअर्कासित जुधिरहेका थिए। भीड जमराखोलाको किनारतिर लाग्यो। खोलाको किनारमा ठूलो चौर थियो, जहाँ अघिल्लो वर्ष वीरेन्द्र रनिङ सिल्ड भएको थियो। म पनि पछिपछि दगुरेँ।
दगुर्दै गर्दा मैले थाहा पाएँ- अघिअघि दगुर्ने मानिसलाई 'गुरु' भन्नुपर्ने रहेछ। केटाहरूले 'सुनिल गुरु' भन्न थासिकेका रैछन्। गुरु ताइकान्दो सिकाउन धनगढीबाट कटासे आएका हुन् रे। उनले ताइकान्दोमा पहिलो 'डन' पाइसकेका रे। ब्ल्याक बेल्टभन्दा पनि ठूलो। गुरुले चौरमा पुगेपछि सबैलाई बिस्तारै गोडा चलाउँदै उभिन भने। धेरै त सास फुलेर स्वाँस्वाँ भइसकेका थिए। कतिले त सर्पले झैं जिब्रो बाहिर निकाल्न थालिसकेका थिए। गुरुले सबैलाई गोलबद्ध हुन भने। र, कराए- सबैले पालैपालो परिचय दिने।
म पनि कसोकसो त्यो गोलामा परिसकेको थिएँ। सबैले पालैपालो परिचय दिए। कोही किराना पसले थिए, कोही बजारका दादा। कोही विद्यार्थी। सबै ठुल्ठुलो स्वरमा आआफ्नो परिचय दिइरहेका थिए। म पनि ठूलो स्वरमा कराएँ- बुद्धिराम चपाईं, कक्षा ६। मेरो कक्षा छ सुनेर सबै हाँसे। परिचय सकिएपछि, सुनिल गुरु ठूलो स्वरमा कराए- आज पहिलो दिन हो। यो चौरलाई सबैले पाँच फन्का लगाउने। एक। दुई। तीन।
गुरुरुरु धुलो उडाउँदै भीड दगुर्यो। प्रायः किराना पसलका साउजीहरू पहिलो फन्कामै भुइँमा थचारिए। दादाहरू भने बेस्मारी दगुरिरहेका थिए। मलाई पनि दोस्रो फन्काको अन्त्यतिर मुटु नै फुट्लाजस्तो भो। मुख प्याकप्याक भो। जिब्रो त बगरझैं सुख्खा भो। नदी नै रित्याउँथेँ जसरी तिर्खा लाग्यो। पिँडौला बाउडिए। म थ्याच्च बसेँ।
'यसरी थ्याच्च बस्ने होइन,' गुरुले मेरोछेउ आएर भने, 'बिस्तारै खुट्टा चलाउँदै बस। नत्र, रगत जाम हुन्छ।' म साइकलको पाइडल थिचेझैं बसीबसी गोडा चलाउन थालेँ। पाँचछ जनाले मात्र चौरको तीन फन्का लगाउन सके। सबैले एकछिन थकाइ मारे। कतिको घाँटी त यत्ति सुख्खा भइसकेछ कि तिनले थुक निल्दा पनि म किक्लिक्क आवाज सुन्थेँ। गुरुले फेरि सबैलाई गोलबद्ध हुन आदेश दिए र भने, 'सुरुमै मुटु फुट्नेगरी दगुर्नुहुन्न। बिस्तारै दगुर्नुपर्छ, पछि जतिजति ज्यान तात्छ। त्यति जोडले दगुर्नुपर्छ। थाक्यो भने एक्कासि रोकिनु हुन्न। गति कम गर्दै लैजानुपर्छ। बुझेको हो?'
'बुझ्यौं।'
'सबै खेलको आआफ्नै नियम हुन्छ। यसरी रुखो भएर बु‰यांै भन्ने होइन,' गुरुले आफ्ना दुवै हत्केला मुठी पारे। दुवै पाखुरालाई गोलो बनाई ठिक्क कम्मरनेर दुवै मुठी जोडे। अलिकति निहुरिए र कराए, 'हुस् गुरु। आजदेखि सबैले मलाई जता देखेपनि, मैले जे भनेपनि हुस् गुरु भन्ने।' 'हुस् गुरु!' तीसपैंतिस जनाको एकैपल्टको हुस् गुरुले जमराखोलाको किनारमा टहलिरहेका बकुल्ला डराउँदै भुर्र उडे।
गुरुले ज्यान तन्काउन लगाएर एकछिन व्यायाम गराए। र, फेरि भने, 'आजलाई यत्ति हो। भोलिदेखि हामी नियममा सिक्नेछौं। ताइकान्दो खेलाडी बन्न मात्र सिकिँदैन। यसले आत्मसुरक्षा गर्ने साहस दिन्छ।' पसलेहरूमात्रले ताली बजाए। गुरुले थपे, 'भोलिदेखि बिहान साढे चार बजे आइपुग्ने। साँझ भने छ बजे। टाइट कपडा लगाएर नआउने। मैले लगाएको डे्रसलाई गि भन्छन्। यस्तै सिलाउने। एकहप्ताभित्र। र, हरेकले हरेक महिनाको सुरुमा तीनसय रुपैयाँ फि तिर्ने। म विनोदको घरमा बसेको छु, साँझ नाम लेखाउन भेला हुने। यसपालि नाम लेखाउन आउँदा फि बोकेर आउने। बुझ्यौ?'
'हुस् गुरु!' सबैले शिर निहुराए।
'आजलाई यत्ति!'
यत्ति भनेर गुरु फटाफट हिँडे। विनोद कानेखुसी गर्दै पछि लाग्यो। विनोदको घर तेस्रो गल्लीमा थियो। मेरो घरभन्दा नौघर पर। सालेले त फ्रिमै सिक्न पाउने भयो। मलाई ईर्ष्या लाग्यो। तैपनि, अलिकति खुसी पनि लाग्यो, गुरु त मेरै छेउमा बस्ने भए नि! बजारका मानिस गुरुतिर हेर्दै मुसुमुसु हाँसिरहेका थिए। २८-२९ वर्षका देखिने गुरु अग्ला थिए। रंग भने कालो। सेतो गि खुब सुहाएको थियो। हाँस्दा सेता दाँत मोतीझैं टल्किन्थे। म गुरुलाई टुलुटुलु हेर्दै पछि लागिरहेँ। र, मनमा पीर पनि पर्दै गयो। तीन सय रुपैयाँ कहाँबाट ल्याउने? गि कहाँबाट सिलाउने?
बालाई फोन गर्नुपर्ला।
...........................................
'के भनिस्?' बा बेस्मारी कराउनुभो।
'कराते सिक्छु के!'
'पढ्नु लेख्नु छैन। फेरि के लन्ठोमा लागिस्?' फोनको जाली नै फुट्लाजस्तो आवाज आयो, 'यसपालि त तँलाई एक पैसा दिन्न।'
'नाइँ!' मेरो आवाज रुन्चे भयो।
'खुरुक्क पढेर बस्। कराते सरातेमा लाएको थाहा पाएँ भने मुड्क्याउँछु,' बाले फोन राखिदिनुभो। बा कालिकोट हुनुहुन्छ। आमा पनि उतै। कसलाई आँसु देखाऊँ? दिदीलाई त भने पनि के र! म लुरुलुरु घर फर्कें।
चिया पिएर विनोदको घरतिर लागेँ। भीड जम्मा भइसकेको रैछ। म यताउता ठेलिँदै भित्र पसेँ। मेरीबाबै, गुरुको छेउमा त क्या राम्री केटी! कटासेमा अहिलेसम्म यति राम्री केटी देखेको भए मरिजाऊँ। बीसवर्ष जतिकी। जिन्स पेन्ट लाएकी। कानमा ठुल्ठुला रिङ। म ती केटीको सौन्दर्यमा एकछिन हराएँ। उनी मुस्कुराउँदै नाम टिपिरहेकी थिइन्। गुरु पैसा मुठ्याइरहेका।
'तिम्रो पनि नाम टिप्ने हो?' उनले त मैलाई सोधिन्।
'हो, तर बा घरमा हुनुहुन्न। पैसा छैन,' मैले मसिनो आवाजमा भनेँ।
'कहिले आउनुहुन्छ?' गुरुले सोधे।
'एक महिनाभित्र।'
'ल, तिमी एक महिनाभित्रमा दिनु। तर गिचाहिँ चाँडै सिलाउनुपर्छ।'
'हुस् गुरु,' म फुरुंग हुँदै निस्केँ।
राति चौरहामा विनोदले सुनायो- गुरुसित आएकी केटी त गुरुकी श्रीमती हुन्। गुरुले धनगढीबाट भगाएर ल्याका हुन् रे। केटीका बाले धुइधुइँति खोजिरहेका छन् रे। गुरु विनोदका नातेदार भएकाले यता आएका हुन् रे। हिजो राति आएका रैछन्। कराते सिक्ने हो भन्दै विनोदले नै दिउँसोको भीड जम्मा गरेको रैछ। २१ जनाले मात्र नाम लेखाएछन्। तैपनि, गुरु राम्रै आम्दानी भएकोमा खुसी छन् रे।
म घर फर्कें। तर अबेरसम्म पनि निदाउन सकिनँ। मलाई झलझली सेतो भुवाजस्तो गिको सम्झना आइरह्यो। सधैं छसात बजे बिहान उठ्ने म बिहानै ४ बजे ब्युझेँ। खुकुलो सर्टपाइन्ट लगाएँ र चौरतिर दगुरेँ। धेरै त सवा चार बजे नै पुगिसकेछन्। गुरुले फेरि चौरको तीन फन्का लगाउन भने। टन्न कसरत गराए। र, टाङ फटाउन लगाए। मैले पनि कोसिस गरेँ, तर तिघ्राको जोर्नीमा ब्लेडले रेटेजस्तो भयो। पित्रिक्क आँसु निस्क्यो। मेरो मात्र होइन, धेरैको निस्केछ।
भोलिपल्ट त झन् गुरुले दुई समूह बनाए। एक समूह टाङ फट्याएर बस्यो भने अर्कोले सम्मुखमा बसेर टाङ फटाएर बसिरहेकाहरूको दुवै पिँडौलानेर आफ्ना गोडाले पछाडि धकेलेर टाङ फटाउन मद्दत गरेँ। पालैपालो। एक हप्तासम्म गुरुले सामान्य कसरत र टाङ फट्याउन मात्रै लगाए। ताइकान्दोमा हातको काम छेक्नेमात्र हो, प्रहार त गोडाले गर्नुपर्छ। टाङ नफाटी कसले किक हान्न सक्छ- गुरु सोच्थे। कहिलेकाहीँ गुरुमा पनि हेर्न आउँथिन्। गुरुमा आएको दिन गुरु रवरझैं टाङ फट्याएर देखाउँथे। गुरुमा मुसुमुसु हाँस्थिन्।
त्यो देखेर केही जवान केटाहरू पनि टाङ फटाउने कोसिस गर्थे। तर, जति ठसठस कने पनि टाङ फाट्दैनथ्यो। जब उनीहरू जोडले टाङमा झट्का दिन्थे। तुरुक्क आँसु निकालेर 'मरेँ आमा' भन्दै फुर्लुंग पल्टिन्थे। मेरो कोसिस पनि जारी थियो। म स्कुल, घर, चौर जे भेटिन्छ, त्यहीँ टाङ फट्याउने कोसिस गर्थें। र, दिनभर काछ लागेझैं खोच्याउँदै हिड्थेँ। ममा यस्तो लगाव एउटै कारण आएको थियो- म पहिलो गल्लीकी एउटी केटीलाई मनमनै मन पराउथेँ। उसको अगाडि टाङ फट्याएर आफ्नो इज्जत बढाउन चाहन्थेँ।
नौदस दिन बित्यो। प्रायःले गि सिइसकेका थिए। मलाई भने छटपटी हुन थाल्यो। गि लाएर दगुर्नेहरूको रौनकै अर्को। आफू भने सेता बकुल्लाको बीच निलो काग हुने खतरा बढ्यो। निलो किनभने, म पुराना भएका निला स्कुले डे्रस लगाएर दगुर्थें।
एकदिन दोस्रो गल्लीको हरेरामले आफूसित गि भएको सुनायो। उसका दाइले पनि टिकापुरतिर पढ्दा कराते सिकेका रैछन्। म उसले थोत्रो बाकसबाट गि झिकेर देखायो। गि ठूलो साइजको छँदैथ्यो र पुरानो पनि थियो। तैपनि मेरो काम चल्थ्यो।
'कतिमा दिने?' मैले सोधेँ।
'तेरो वाकमेन दे, लैजा,' उसले भन्यो।
वाकमेन बाले किन्दिनुभएको थियो। नौदस महिना पनि भएको थिएन। वाकमेनको असाध्यै माया थियो, तैपनि के गर्नु! मैले वाकमेनसँग गि साटेँ। दिदीले थाहा पाएर बेस्मारी गाली गरिन्। र, मेरो रुन्चे अनुहार देखेर गिको साइज घटाउन ४० रुपैयाँ पनि दिइन्। अनि, गि धोइदिइन् पनि। भोलिपल्ट म सेतो गि लाएर हुरीझैं दगुर्दै चौरमा पुगेँ। सबैले गि सिएको देखेर गुरु पनि मख्ख भए। र, उनले साँझ करसत गराउनुअघि, सबैलाई बजारमा फन्का लगाउन भने। र, आफू भने अघिअघि दगुरे। पहिलो गल्ली आएपछि, मेरो ज्यान झन् तात्यो। केटीले पनि हेरिरहेकी होली भनेर नथाकेजस्तो गरेर दगुरिरहेँ। खुप रमाइलो भो।
त्यसदिन गुरुले नयाँ कुरा सिकाए। हावामा पन्च हान्दा पाखुरानेर गि पड्किनुपर्छ भने र आफंैले गि पड्काएर देखाए- प्याट्ट प्याट्ट आवाज आयो। त्यस्तो गर्न अरूले सकेनन्। चौरहामा किराना पसल खोलेका अधिकारीको त कुरै अर्को। हेर्दै फु गर्दा ढल्नेजस्ता, त्यसमा पनि झुस्स दाह्री। उनले त पहिलोपल्टमै गुरुको भन्दा ठूलो 'भ्याट्ट भ्याट्ट' आवाज निकाले। सबै छक्क। गुरुले पनि अचम्म मान्दै भने, 'अधिकारीजी, फेरि गर्नुस् त!' अधिकारीजी त खुसीले फुरुंग हुँदै भ्याट्ट भ्याट्ट आवाज निकाल्दै पन्च हान्न थाले। गुरुले नियालेर हेरेपछि भने, 'भएन अधिकारीजी।'
अधिकारीलाई त भुत्रो आउनु, उनले त दायाँ मुड्कीले पन्च हान्दा, बायाँ मुड्की छातीमा ढोक्दा रैछन्। बायाँ मुड्कीले पन्च हान्दा दायाँ मुड्की छातीमा। थाहै नहुनेगरी। उनको रहस्य थाहा पाएर सबै गलल्ल हाँसे। र, पनि अधिकारीजी ताइकान्दोमा भिडेर लागेका थिए। ३३ वर्षजतिका उनी तीन सन्तानका बाबु थिए। गुरु सामान किन्न उनकै पसलमा जाँदा रैछन्। गुरुलाई देख्नेबित्तिकै उनी जुरुक्क उठेर 'हुस् गुरु' भन्दा रैछन्।
उनले मात्र होइन, प्रायले गुरुलाई देख्नेबित्तिकै हुस् गर्थे। कटासेको चौकीको असइले पाउने सलामभन्दा गुरुले हुस् बढी पाउँथे। बजारका दादा केटाहरू गुरुका अगाडि चुरोट पिउँदैनथे। खैनी कम गरेर बिहान बिहान भिजाएको चना खान थालेका थिए। कोहीकोही केटा त स्कुलमा सरले बोलाउँदा पनि 'हुस् गुरु' भन्दा रैछन्, बिर्सेर।
एकदिन बजारमा फाइट पर्यो। ताइकान्दो सिक्नेहरूले उफ्रीउफ्री हमला गरे। त्यसको भोलिपल्ट गुरुले भाषण गरे, 'अब त ताइकान्दोबारे धेरै थाहा पायौ होला। यो दादागिरी देखाउन सिक्ने कुरा होइन। यसले आत्मबल बढाउँछ। चाहिएको बेला प्रयोग गर, तर सोचेर। सोझासाझा मानिसलाई पिट्नु भनेर मैले सिकाएको होइन। कसैलाई दादागिरी गर्नु छ भने गर, तर खेल्न छाडिदेऊ।'
'हुस् गुरु।'
त्यसपछि केटाहरूले कमै ग्याङफाइट गरे। पुलिस पनि छक्क थिए- बदमास केटाहरू कसरी असल भए?
...............................................
मेरो ताइकान्दो प्रेम देखेर बाले महिना-महिनामा फिस पठाइदिन थाल्नुभो। डेढ महिना भएको थियो। एकदिन मैले घरमै कोसिस गरिहेको थिएँ। ए हे, अचानक मेरो टाङ फाट्यो। मेरा टाङ 'भि' बाट 'टि' आकारका भए। अरू केटाका टाङ पनि 'टि' आकारका हुँदै गए। खोलामा नुहाउन जाँदा नि केटाहरू टाङ फटाएर करतव देखाइरहेका हुन्थे।
एकदिन गुरुले घोषणा गरे, 'अब तपार्इंहरू सिपालु हुँदै जानुभा छ। नयाँ ब्याच पनि आउँछु भनेका छन्। त्यसैले पन्ध्र दिनपछि तपार्इंहरूको परीक्षा छ। आजदेखि काता सिकाउँछु। र, राम्रो गर्नेले ओरेन्ज बेल्ट पाउनेछन्।' गुरुको घोषणाले हामीमा नयाँ तरंग फैल्यो। मैले आफ्नी प्रिय केटीलाई सम्झेँ। मेरो कम्मरमा अरेन्ज बेल्ट देख्दा उसले के भन्ली?
त्यसै दिनदेखि गुरुले काता सिकाए। काता ताइकोइजाङ, काता ताइकोउझाङ के-के हो के-के! सुरुमा गुरुले हावामा सुस्तरी उडिरहेको पातझैं एकदमै हलुका ज्यान बनाएर काता देखाए। मेरो ज्यान त खुसीले सिरिंगै भो। त्यसको भोलिपल्टदेखि त बजारका कुनाकुना जता हेर्यो, त्यतै केटाहरू लुकीलुकी काताको अभ्यास गरिरहेका देखिन्थे। म पनि कोठाभित्र अभ्यास गर्थें। सारा बजारमा लफडा गरिरहने केटाहरू अचानक सुधि्रँदै गएका थिए। गुरुले भनेका पनि थिए, 'काता जानेरमात्र हुँदैन, हामी आनीबानीलाई पनि नम्मर दिन्छौ।'
मैले बाह्र दिनमै काता मज्जाले सिकेँ। पन्ध्रौं दिन टिकापुरबाट अर्का गुरु आएका थिए। उनले हाम्रो खेल हेरे। काता हेरे। २१ जनामा १७ जनाले अरेन्ज बेल्ट पाउने भयौं। अरू तीनजना त ब्लु बेल्टका लागि सिफारिस पनि गरिने भए। तर, अधिकारीजीले बेल्ट पाएनन्, भोलिपल्टदेखि ज्वरो आयो भनेर आउन छाडे। मैले भोलिपल्टै टेलर मास्टरकोमा गएर बेल्ट सिएँ। त्यो बेल्ट लगाएर हिँड्दा मलाई असाध्यै गर्व महसुस हुन्थ्यो।
गुरु हरेक शुक्रबार एकआपसमा फाइट गराउँथे। म नाच्नमा मरिहत्ते गर्थें। त्यसैले ज्यान अलिक हलुंगो लाग्थ्यो। म राउन्ड किक त आफूभन्दा अग्लो मानिसको गालामै हिर्काउन सक्थेँ। एकदिन शुक्रबारको फाइटमा मैले सन्जुसित भिड्नुपर्ने भयो। ऊ भीमकाय शरीरको मालिक थियो। मेरो त सातोपुत्लो उडेको थियो।
फाइट सुरुभो। मैले सुरुमै उफ्रेर दायाँ गोडाले उसको दायाँ गालामा हिर्काएँ। च्याट्ट आवाज आयो। सन्जु एकछिन चक्कर आएझैं उभियो। बिचरा उसले त बायाँतिरबाट किक आउँछ भन्ने सोचेछ र दुवै हातले बायाँ गाला छेकेछ। च्याट्ट आवाज आयो दायाँ गालाबाट। गुरुले मेरो प्रशंसा गरे तर धेरैले इर्ष्या।
त्यसपछि म गुरुको अलिक नजिक भएको थिएँ। र, मैले थाहा पाएको थिएँ- गुरुमाका बा केही दिनअघि खोज्दैखोज्दै मुढासम्म आएका थिए रे। गुरुलाई तनाव थियो। आफू पहिलो डन भएपनि भित्रभित्र डराइरहेका थिए। गुरु गरिब, गुरुमा धनी। यस्तैयस्तै समस्या रैछ।
सुरुसुरुमा धेरैले रमाइलो मान्दै गएपनि साढे तीन महिना नबित्दै धेरैजना आत्तिसकेका थिए। विभिन्न बहाना बनाउँदै गुरुलाई फि बुझाउँदैनथे। एकदिन गुरुले घोषणा गरे, 'अबको पन्ध्र दिनमा टिकापुरमा प्रतियोगिता छ। हामी पनि भिड्न जाने हो। अब राम्रै तयारी गर्नुपर्छ।' गुरुले झन् कडा-कडा व्यायाम गराउन थाले। तर, म थाकिनँ। किनभने, गुरु मलाई पनि टिकापुर लड्न पठाउने सुरमा थिए। म कल्पना गर्थें- जितेर आउँदा पहिलो गल्लीकी केटीले के भन्ली?
... ..................................
म हरेक बिहान भिजाएको चना खान्थेँ, म आफूलाई अझै बलियो बनाउन चाहन्थेँ। ब्लु, ग्रिन बेल्ट हुँदै ब्ल्याक बेल्टसम्म पुग्ने सपना देखिरहेको थिएँ। यसरी दस दिन बिते। दसौं दिनको साँझ गुरुले अर्को घोषणा गरे, 'सबैलाई त टिकापुर लैजान सकिन्न, त्यसैले भोलि आपसमै प्रतिस्पर्धा गर्नुपर्छ। तयारी गरेर आउनु।'
'हुस् गुरु।'
म राति अबेरसम्म पुस-अप गर्दै, यताउता तन्किँदै बसिरहेँ। बिहानै भिड्न जानु थियो। अलिअलि मनमा त्रास बोकेर चौरतिर लागेँ। गुरुले फेरि ताइकान्दोको नियम सुनाए, 'हातले प्रहार गर्न पाइन्न। खुट्टाले मात्र गर्नु। हातले छोयो भने पनि फल हुन्छ।' सुरुमा दुईदुई जना गरेर चार जना भिडे र दुईजना छानिए।
मेरो पालो आयो। म भुवनसित लड्नुपर्ने भो। भुवन सानो काटीको बलिष्ठ केटो थियो। सानैमा धेरै कोतराकोतर गरेकाले उसको अनुहारभरि दागै दाग थिए। केटो चलाख पनि थियो। फाइट सुरु हुने भो। खुट्टाले मात्र प्रहार गर्न पाइने भएकाले म भुवनका गोडा हेरिरहेको थिएँ। उसका गोडा यताउता चलिरहेका थिए। म उसले पहिला कुन गोडाले प्रहार गर्ला भनेर चनाखो थिएँ। र, आफूले राउन्ड किक कताबाट हान्ने भन्ने पनि सोचिरहेको थिएँ। भुवनलाई राउन्ड किक राम्ररी हान्न आउँदैनथ्यो, पुड्को भएकाले पनि धेरै माथि उफ्रिन सक्दैनथ्यो। उसले मेरो गर्दनभन्दा माथि कुनै पनि हालतमा प्रहार गर्न सक्नेवाला थिएन। म सम्भावित प्रहार छातीमै आउने कुरामा सचेत थिएँ।
भुवन आफ्ना दुवै गोडा अगाडि-पछाडि गर्दै उफ्रन थाल्यो। उसले दायाँ गोडाले हिर्काउनेछ... म एकदम सचेत थिएँ। तर अचानक... धड्याम्म... मैले दायाँ गालामा ठूलो प्रहार भेटेँ। एकछिन भनन्न रिङटा चल्यो। टाउको पृथ्वीझैं फनफनी घुमेजस्तो भो। अँध्यारो भो। के भाको? उसले त गोडा उचालेकै छैन। मलाई कसैले अनुहारमा घन नै बजारेजस्तो भो। दुईचार वटा दाँत पनि झरे कि के हो? मेरा आँखा धमिला भएका थिए। बिस्तारै धमिलो दृश्य सफा हुँदै आयो। मैले अनुहार नै छैन कि जसरी हतारमा छामेँ। अनुहार त थियो, तर एकदम तातो। मुखबाट बैस्मारी र्याल बगेछ, गिले पुछेँ। र, थुचुक्क बसेँ। सबै ट्वाल्ल परेर हेरिरहेका थिए।
मुलाले त दायाँ मुड्की बजारेको रैछ। उसका औंला पनि राता भएका थिए। ऊ एक्कासि आत्तिएछ कि के हो? गुरुले उसलाई बेस्मारी गाली गरे। म सुन्निएको गाला लिएर घर फर्कें । दुखाइ कम गर्ने औषधी खाएँ। भुवनको एक मुड्कीले मेरो सपना बिजुलीको गुलुपझैं चकनाचुर भएको थियो।
भोलिपल्ट स्कुल जाँदा कति केटाहरूले भने- भुवनले जानीजानी हानेको हो। म त एकदम कातर भइसकेको थिएँ, केही भनिनँ। एकपल्ट गुरु मलाई भेट्न घरमै आएका थिए तर म लुकेँ। फेरि गि लगाउने आँट आएन। पहिलो गल्लीतिर पनि गइनँ, केटीले देखी भने के भन्ली? मैले मुड्की खाएको के केटीले थाहा पाई?
त्यसको दुई दिनपछि गुरु टिकापुर गएछन् खेलाडीको फर्म भर्नु छ भन्दै तर प्रतियोगिता हुने दिन पनि कटासे फर्किएनन्। कहाँ गए? करिब डेढ महिनापछि विनोदले खबर ल्यायो- गुरु त नेपालगन्जमा लुकेर बसेका छन्। गुरुमाका बाले गुरु कटासेमै भएको थाहा पाए रे।
गुरु त गए तर कटासेका केही घरको बार्दलीमा सेतो र सफा गि धेरै समयसम्म्म झुन्डिरह्यो।
नागरिकबाट
No comments:
Post a Comment
- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।