- छविरमण सिलवाल
विदेशीनु को पीडा एकातिर छँदैछ । अर्कोतिर विदेशमा यन्त्रवत जीवन जीउनुको पीडा पनि बेग्लै । तैपनि केही व्यक्तिहरुले यी सबै पीडाहरुलाई भुलेर साहित्यिक रचनाहरु मार्फत आफ्ना अभिव्यक्तिहरु पोखिरहेका छन् । दीप्स शाहले भर्खरै ‘आगो’ कवितासङ्ग्रह संगै आफ्नो कवित्व सार्वजनिक गरेकी छिन् । ‘प्रसुन’ साहित्यिक सँगालो यस अघि प्रकाशित भई सकेको थियो । उनले केही पत्रपत्रिकाहरुमा सम्पादन कार्य पनि गरिरहेकी छिन् । प्रवासबाट प्रकाशित हुने ‘मेरो नेपाल’ द्धैमासिक पत्रिकामा सह–सम्पादनको कार्य गरिरहेकी दीप्सको ‘आगो’ कवितासङ्ग्रहलाई रमेश सागरले सम्पादन गरेका छन् भने राम शाह‘राजा’ले प्रकाशन ।
साहित्यले जीवन–जगत्का गूढता संम्प्रेषण गरि समाजलाई सुमार्ग र नविन चेतनालाई धकेल्नुपर्ने धारणा पोख्दै साहित्यमा आफ्ना कलम तिर्खादै छिन दीप्स । सरल भाषामा गहन प्रस्तुति उनका कविताका विशेषताहरु हुन । तिस ओटा अत्यन्त शक्तिशाली, मार्मिक र मन छुने कविताहरु रहेका छन् ‘आगो’मा । हेरौं एउटा कविताः–
तिम्रो इसारामा लाचार भई
सकिनसकी
म नाचेकी छु
तर नबिर्सि
त्यही नचाइले
तिमीलाई ‘बचाएकी’ छु
र
बाँचकी छु ‘आफै’ ।
म सांप
तिमी सपेरा–
तिम्रो र मेरो फरक चिनारी ।
नारीले समाजभित्र अनेक भूमिकाहरुका उपस्थिति भएर रहनुपर्छ । घरको चुलो चौकोबाट फूर्सद निकालेर पनि साहित्यमा रमेका महिला साहित्यकारहरु निकै चर्चित रहेका छन् । समाजका भएका कुरिति विरुद्ध कलम चलाएका छन् । दीप्सका कविताहरु यसैका आवजहरु हुन । समाज भित्र रहेका विकृतीहरुका केही नमुनाहरु हुन । फरक पृष्टभूमि फरक दृष्टिकोणबाट लेखिएका यीनका कविताहरु साँच्चै पढ्न लायक नै छन् । एउटी महिलाको हात घरको चुलोचौको छोडेर विदेशी भूमिमा पसिना बहिरहेकाछन् । देश छोड्नुको पीडा त छदैछ । आफ्नो परिवारबाट पनि अलग्गै रहनुको पीडा भोग्नेलाईमात्र थाह हुन्छ । त्यही पीडाका परिणामहरु हुन दीप्सका कविताहरु हुन् । हामीलाई आगो नभैपनि हुँदैन । सदुपयोग गर्न जानेन भने सर्बनास बनाउँछ । समाज भित्र रहेका यस्ता धेरै विकृतिहरु छन् जो हामीले चाहेर पनि निमूल पार्न सक्त्तैनां त्यसले हामीलाई भित्रभित्रै सल्काई रहेछ । विस्तार विस्तारै ति कुराहरुलाई निस्तेज पार्दै लैजानु पर्छ । समाजका यीनै विकृतिविरुद्वका आवाजहरु प्रस्फुटन भएका छन् कविताको सहारा लिएर ।
मान्छेका अहम्हरु जति चुलिएपनि उसले एकदिन माटोको सहारा लिनु नै पर्छ, त्यसकारण अहंम् त्यागेर सत्मार्गमा लागौं भन्ने शास्वात सत्य कुराहरु कविताका माध्यमबाट प्रस्फुटित भएका छन् । मान्छेले जे जति गरेपनि जीवन त केवल केही दिनको पाहुना मात्र हो सबै यही छोड्नु पर्छ । यो यथार्थ हो त्यसकारण मान्छेले मान्छेका पीडाहरु बुझेर दीन दुःखीहरुको सेवामा आफूलाई सर्मर्पित गरौं भन्ने सकारात्मक सन्देशहरु प्रवाह गरिरहेका छन् दीप्सका कविताले । जीवनका यथार्थ भोगाईहरु कविताका विषय बनेका छन् । नारीप्रति गरिएका विभेदलाई कविताले उच्च स्थान दिएको छ । एउटी नारी हुनुको पीडाबोधले नै यी कविताहरु जन्मन सकेका हुन् । ढोंगी परम्परालाई त्यागेर अब सकारात्मक परम्परा बसाल्नु पर्छ भन्ने सन्देश तिमी र म होइन अब हामी बाँच्नुपर्छ भन्ने कविताले गरिरहेको छ ।
मानविय संवेदनाहरुलाई ध्यानमा राखेर लेखिएका उनका यी कविताहरुले देश प्रेमप्रति सर्मर्पित छन् । सम्पूर्ण एउटै भएपनि सिमा भञ्जनले गरिएका छेकवारहरु प्रति विमति छ कविको । आमा बन्ने चाहनामा कसैका बासनामात्र पुरा गर्न नहुने र नयाँ युग जन्माउन सक्नु पर्छ भन्ने सकारात्मक पक्ष कवितामा छताछुल्ल भएर पोखिएका छन् । नारी पात्रलाई समाजले कमजोर बनाएर पुरुषहरु नारीप्रति दयागर्ने र अझ कमजोर बनाउने संस्कार प्रति विमति छ कविको र नारीहरु पनि कम छैनन् भन्ने कुरा उनी आफै पनि हुन जो बिदेशी भूमिमा आफ्ना पौरखहरु सिञ्चित गरिरहेकी छिन् । फुर्सदको समयमा नेपाली भाषा साहित्यको श्रीबृद्विमा कार्यहरु गरिरहेकी छिन् । मान्छे आफैले आफुप्रति विश्वास गर्न सक्नुपर्छ । सकारात्मका विचारहरुलाई सम्प्रेषण गर्नूपर्छ । सम्पूर्ण मानवहरुको पीडा नै आफ्नो सम्झनु पर्छ, भात्तृत्वप्रेम जगाउँन सक्नुपर्छ भन्ने सकारात्मक सन्देशहरु दीप्सका कविताहरुले बोलिरहेका छन् । यसैगरि आगामी दिनहरुमा पनि आफ्नो उचाई कायम गर्न सकेमा दिप्सको काव्य उडान चुलिइरहने विश्वास गर्न सकिन्छ । उनको कविताको पहिलो कृति‘आगो’पनि सार्थक बन्छ ।
समकालिन साहित्यबाट
No comments:
Post a Comment
- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।