कुनै अपरिचित युवतीले मुसुक्क हाँस्दै फूलको गुच्छा दिइन् भने युवालाई के होला ? सम्भवतः उनीहरू गमक्क पर्नेछन् । तर, बाराको सिमरामा आइतबार युवतीको हातबाट फूलको गुच्छा पाउँदा युवकहरू लज्जित हुन पुगेका छन् ।
हेल्मेटविना मोटरसाइकल चलाउने युवकलाई युवतीले फूलको गुच्छा दिएका हुन् । फूल दिएर हाँस्दै 'अबदेखि हेल्मेट लगाएर मात्र मोटरसाइकल चलाउनुस् है,' भन्ने अनुरोध गरेपछि युवा लाजले पानीपानी भए । गल्ती गर्नेलाई सजाय र दण्ड-जरिवानाबाट सुधार्न सकिन्छ भन्ने मान्यताविपरीत माया र प्रेमबाट पनि राम्रो बाटोमा डोर्याउन सकिन्छ भन्ने अवधारणासहित नयाँ शैली अपनाइएको हो । क्लिन सोसाइटी सिमरा नेपाललले आयोजना गरेको 'हेल्मेट लगाऔँ, क्षति न्यूनीकरण गरौँ, ट्राफिक नियम पालना गरौँ' जागरण अभियानअन्तर्गत हेल्मेटविना बाइक चलाउनेलाई फूल दिइएको हो ।
हातमा गुच्छा लिएर बसेकी दृष्टि र दिप्ती रेग्मीले 'प्लिज अबदेखि हेल्मेट लगाएर बाइक चलाउनुस् है, तपाईंकै सुरक्षा हुन्छ' भन्दै नवविवाहित दम्पतीलाई फूल दिएपछि उनीहरूले आफ्नो गल्ती अनुभव गर्दै अबउप्रान्त हेल्मेट लगाएर मात्र चलाउने प्रतिबद्धता जनाए । निकै राम्रो कामको थालनी भएको भनी उनीहरूले प्रशंसासमेत गरे ।
कारबाही गर्दा पनि हेल्मेट नलगाउनेमा सोसाइटीले जागरण ल्याएको ट्राफिक प्रहरी कार्यालय सिमराका सहायक निरीक्षक सई मनोजकुमार साहीले बताए । सोमबारदेखि हेल्मेट लगाउन अझै कडाइ गरिने उनले जानकारी दिए ।
प्रहरीको बेवास्ताका कारण पथलैया-वीरगन्ज र पथलैया-हेटौंडा सडकखण्डमा अत्यधिक मात्रामा हेल्मेटविना बाइक चलाउने गरेको पाइन्छ । आफू लोकल भएकोले हेल्मेट नलगाएको तर बहिनीहरूले फूल दिएपछि आफ्नो आँखा खुलेको सिमराका राम थापाले बताए । हेल्मेट नलगाउनेलाई मात्र होइन बाइकमा तीनजना चढेर आउनेलाई पनि अबदेखि नचढ्न आग्रह गर्दै फूलका गुच्छा दिइएको थियो ।
हेल्मेट नलगाउनेको संख्यामा अत्यधिक वृद्धि भएपछि दुर्घटना बढेकाले जागरण अभियान थालेको सोसाइटीका अध्यक्ष श्यामबाबु गुप्ताले बताए ।
- नयाँपत्रिका
No comments:
Post a Comment
- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।