नेपालका लेन्डुप दोर्जेहरूको आर्तनाद

imageसबैलाई थाहा भएको कुरा हो समाजवादी मुलुक सोभियत भूमिलाई नष्ट गर्न कम्मर कसेर लागेका चर्चिल र रुजवेल्टले हिटलर, मुसोलिनी र तोजाको फाँसीवादी युद्धबाट विश्वलाई बचाउन आफ्नो ठूलो शत्रु अझ कुनै वेलाका एक नम्बरका शत्रु स्टालिनसित हात मिलाएका थिए । इतिहासमा यी तीन नेता चर्चिल, रुजवेल्ट र स्टालिनलाई बिग थ्री भनिन्छ ।

यस्तो नांगो यथार्थ नबुझ्ने पाखण्डीले मात्र माओवादीले सत्ता नपाएको पीडामा भारतलाई विस्तारवादी भन्यो भन्दै गुनासो गर्छन् । आफ्नो पीडाबोध प्रकट गर्छन् । यसरी उनीहरूले आफूलाई लेन्डुप दोर्जेको स्थानमा झार्छन् । उनीहरूका निम्ति भारतीय विस्तारवादको नेपालमाथिको नांगो हस्तक्षेप पीडादायी कुरा होइन, बरु ठूलो हर्षोल्लासको कुरा हो । धन्य नेपालका संसद्वादी दलहरू ! धन्य नेपालका लेन्डेप दोर्जेहरू ! वास्तवमा भारतले यतिवेला नेपालमा सत्तामा कब्जा जमाउनु भनेको यिनै लेन्डुपेमार्फत नै हो । माओवादी सत्तामा पुगेमा भारतीय विस्तारवादलाई नेपालमाथिको कब्जा गुमेजस्तो लाग्छ । यसैले यतिवेला भारतको कसरत कुनै विभिषणलाई नेपालको राजगद्दीमा बसाल्ने कुरामा नै केन्दि्रत छ ।
माओवादीले भारतीय विस्तारवाद नेपाली क्रान्तिको प्रमुख दुश्मन हो भनेको सन्दर्भमा विस्तारवादका दलालको मन कुँडिएको छ । भाँचिएको छ । आँखाभरि आँसु भरिएको छ, गोहीका आँसु भए पनि । किनभने कुनै पनि विदेशी शक्तिका दलालका आँखामा मानवीय आँसु हुँदै हुँदैन, आँसु हुने भनेको उही गोहीकै हो । विदेशी प्रभुका दलालहरूको तर्क छः सत्ता प्राप्त गर्न नसकेको पीडाले ग्रस्त भएर नै माओवादीले भारतलाई विस्तारवादी भनेको हो । उनीहरूका यस भनाइले पनि घुमाइ-फिराइ के कुरा पुष्टि गर्छ भने भारत विस्तारवादी नै हो । सबैलाई थाहा भएकै कुरा हो सरकारमा कसलाई पुर्‍याउने भन्ने टुंगो नेपाली जनताले गर्दैनन्, नेपालको निर्वाचनले गर्दैन । संसद्ले पनि गर्दैन । त्यो दिल्लीले मात्र गर्छ ।

भारतकै कारण नेपाली जनताले निर्वाचनमा मुलुकको सबभन्दा ठूलो दल बनाउँदा पनि माओवादीको नेतृत्वमा सरकार बन्न सकिरहेको छैन । बने पनि टिक्न दिइएको छैन । यसको पछि भारतीय विस्तारवादको प्रत्यक्ष हात हुने कुरा जगजाहेर छ । एउटा पुँजीवादी संसद्मा सरकार बनाउन त भारतीय विस्तारवाद बाधक बन्छ भने नेपाली जनवादी क्रान्तिको लागि त्यो बाधक बन्नु स्वाभाविकै हो ।

भारत विस्तारवादी हो भन्नुको अर्थ भारतका जनता विस्तारवादी हुन् भन्ने होइन, अहिलेसम्मका शासक वर्ग विस्तारवादी हुन् भनेको हो । बरु अहिलेको प्रतिक्रियावादी शासक वर्ग विस्तारवादी हो भनिएको हो । त्यो कुरा माओवादीले सत्ता नपाएको पीडाले होइन कि उसको चरित्र त्यस्तो भएर भनिएको हो । यस्तो कुरा माओवादीले बुर्जुवा संसद्लाई लात हानेर जनयुद्धमा जाँदा पनि भनेको थियो । यस्तो कुरा माओवादीले लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि सरकारमा पुग्दा पनि भनेको थियो । यो कुरा माओवादीले भारतमा प्रतिक्रियावादी विस्तारवादी शासक रहेसम्म भनिरहनु पर्नेछ । यो कुरा सत्ता नपाएको पीडामा र सत्ता प्राप्त भएको हर्षका वेलामा पनि भन्नु पर्नेछ ।

ठीक हो माओवादीले सरकारमा भएका वेलामा भारतीय शासकसित कूटनीतिक सम्बन्ध राख्दा विस्तारवादको पदावलीलाई कम प्रयोग गर्ला । नगर्ला पनि । तर, माओवादीले आफ्नो दस्तावेजमा भारतीय विस्तारवादको चरित्रमा कुनै फेरबदल नआएसम्म उसलाई विस्तारवादी नै भन्नु पर्नेछ । चोरलाई चोर नभनेर साधु भन्न मिल्दैन । डाँकालाई डाँका नभनेर महात्मा भन्न मिल्दैन । भारतलाई विस्तारवादी भन्ने माओवादी मात्र एक्लो पार्टी होइन । हिजो झापालीहरू पनि भारतलाई विस्तारवादी भन्थे । हिजो मालेहरू पनि भारतलाई विस्तारवादी भन्थे । हिजो मशालहरू पनि भारतलाई विस्तारवादी नै भन्थे । अरू त अरू हिजो र आज पनि भारतका नक्सलवादीहरू भारतलाई विस्तारवादी नै भन्छन् । भारतका माओवादी भारतलाई विस्तारवादी नै भन्छन् ।

भारतलाई अर्थात् भारतका प्रतिक्रियावादी शासकलाई प्रभु भन्दै उनीहरूको आरती जगाउनेहरू मात्र भारतलाई नेपालको एक नम्बरको मित्रशक्ति ठान्छन् र उसको आदेश पालना गर्छन् । यस्ता लुन्डुपेहरूका नजरमा भारत विस्तारवादी होइन, असल छिमेकी हो । त्यस्तो छिमेकी जसले नेपालको सीमामा निरन्तर अतिक्रमण गरिरहन्छ, नेपालका ६५ भन्दा धेरै ठाउँमा सीमा मिच्छ, जंगे पिलर गायब पार्छ, सुस्तालाई सुस्तसुस्त अजिंगरले जस्तै निल्छ, कालापानीमा भारतीय सेनाको क्याम्प नै खडा गर्छ, नेपालको सीमामा बाँध बाँधेर नेपालको भूभाग डुबानमा पार्छ, नेपालको अपार जलस्रोतमाथि कब्जा जमाउन चाहन्छ, नेपालको भूसम्पदामाथि अधिपत्य जमाउन चाहन्छ, आफ्नो दलाल बन्न तयार छ भने दुईदुई ठाउँबाट चुनाव हारेको व्यक्तिलाई नै प्रधानमन्त्री बनाउने हैसियत राख्छ र उसको हुकुम मान्न तयार भएन, उसको स्वार्थअनुरूप काम गर्न मानेन भने जनमतअनुरूपको सरकार बनाउन पनि दिँदैन ।

एउटा स्वतन्त्र देश सिक्किमलाई निल्ने मुलुक विस्तारवादी हुन्न भने कस्तो मुलुक विस्तारवादी हुन्छ ? यसको उत्तर माओवादीले भारतलाई विस्तारवाद भनिदिँदा पीडाबोध गरेर छटपटिनेले दिनु पर्‍यो । भुटानलाई आफ्नो मुठीको माखो बनाउने, भुटानले भुटानी नेपालीलाई लखेट्दा नेपाल छिर्नलाई बाटो खोलिदिने तर उनीहरू त्यही बाटोबाट भुटान फर्किन्छु भन्दा काँडे तार लगाउने भारत विस्तारवादी नभएर को विस्तारवादी हुन्छ ?

भारतलाई विस्तारवाद कसैले मनगढन्ते भाषामा भनेको होइन । आवेशमा आएर भनेको होइन । सत्तामा पुग्न नपाएर पीडा बोधको कारणले भनेको पनि होइन । बरु उसको अझसम्मको चारित्रिक विशेषताका कारणले भनेको हो । यो गाली नभएर उसको चारित्रिक विशेषताको पहिचान हो । भारत, बेलायत, जापान वा अमेरिकाजस्तो विकसित पुँजीवादी देश हुन्थ्यो र उसको चरित्र अहिलेको जस्तै रहन्थ्यो भने उसलाई विस्तारवादी नभनेर साम्राज्यवादी भनिन्थ्यो । साम्राज्यवाद पुँजीवादको विकसित रूप हो । भारत पुँजीवादको विकसित रूपमा पुगेको नै छैन । भारत त अझ पनि नेपाल जस्तै अर्ध सामन्ती र अर्ध औपनिवेशिक अवस्थामा रहेको छ । भारत आफैँ विस्तारवादी बन्दै छिमेकी देशमाथि थिचोमिचो गर्दै छ भने आफू पनि साम्राज्यवादी मुलुकको थिचोमिचोमा परेको छ, शोषणमा परेको छ । भारतीय जनता यतिवेला पनि बाहिरी साम्राज्यवाद र भित्री सामन्तवादका विरुद्धमा जुधिरहेका छन् । दलाल पुँजीवादको विरुद्धमा संघर्ष गरिरहेका छन् । नेपाली मुक्तिकामी जनता भारतीय मुक्तिकामी जनताको घरेलु सामन्तवाद, दलाल पुँजीवाद र साम्राज्यवाद विरुद्धको लडाइँमा नैतिक समर्थन जनाउँछन् । वास्तविकता यही हो ।

पुष्पलालले भारतीय विस्तारवादी शासकको चरित्र बुझेका थिए । तैपनि उनी भारतीय विस्तारवाद भन्नुभन्दा भारतीय एकाधिकार पुँजीवाद भनी सम्बोधन गर्न रुचाउँथे । भारतलाई एकाधिकार पुँजीवादी भन्ने पुष्पलाल पनि के भन्थे भने नेपाली क्रान्ति विजयोन्मुख हुन थाल्दा भारतले नांगो हस्तक्षेप गर्न थाल्छ । त्यतिवेला भारतभूमिबाट नै नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने भारतीय नीतिका विरुद्धमा भारतीय जनताको विरोधको स्वर चर्को बनाउनु पर्छ । नेपाली क्रान्तिमा भारतीय शासकले हस्तक्षेप गर्दा नेपाली जनताले मात्र होइन भारतीय जनताले पनि त्यस हस्तक्षेपकारी कदमका विरुद्धमा आवाज घन्काउनु पर्छ ।

जनता र सरकारमा धेरै फरक छ । सरकार बुसको जस्तो युद्धउन्मादी हुन सक्छ । हस्तक्षेपकारी हुन सक्छ । आक्रमणकारी हुन सक्छ । बुसको सरकारले एउटा स्वतन्त्र मुलुक इराकमाथि युद्धको घोषणा गर्‍यो । अफगानिस्तानमाथि यृद्धको घोषणा गर्‍यो । तर, अमेरिकी जनताले युद्धको कहिल्यै समर्थन गरेनन् । त्यस्तो हस्तक्षेपकारी साम्राज्यवादी युद्धप्रति कहिल्यै नैतिक समर्थन जनाएनन् । बरु त्यसका विरुद्ध लाखौँ सडकमा उत्रे । बुसको पार्टी चुनावमा पराजित भएको एउटा कारण साम्राज्यवादी इराक युद्ध नै हो ।

माओवादीले भारतीय विस्तारवादलाई प्रमुख शत्रु ठान्दा स्वयं भारतीय शासकको मन दुख्यो कि दुखेन थाहा छैन । तर, नेपालका उसका दलालको मन दुखेको छ । माओवादीले भारतीय विस्तारवाद भन्यो भन्दैमा उसले यिनै विस्तारवादी शासकसित कुनै सम्बन्ध राख्न हुँदैन भन्ने होइन । जबसम्म भारतको शासन सत्तामा भारतीय विस्तारवादी रहन्छन्, नेपालको माओवादीले पनि उससित कूटनीतिक सम्बन्ध्ा राख्नुपर्ने हुन्छ । ऊसित अनेक सवालमा छलफल गर्नुपर्ने हुन्छ । राजनीतिमा यो सम्भव छ । आवश्यक पनि छ । भारतीय विस्तारवादले नेपाली माओवादीलाई उग्रवादी भन्ला । अझ आतंकवादी पनि भन्ला । तर, पनि ऊ नेपाली माओवादीसित कुराकानी गर्न बाध्य छ । चाहेर पनि उसले यस्तो कुराकानी गर्नु पर्दछ । नचाहेर पनि उसले यस्तो कुराकानी गर्नैपर्छ । राजनीतिमा कोही पनि स्थायी शत्रु र मित्र हुन सक्दैन । राजनीतिमा मित्रसित मात्र होइन, शत्रुसित पनि मित्रवत् ढंगले कुराकानी गर्नैपर्ने हुन्छ ।

मित्रसित मात्र होइन, शत्रुसित पनि मेलमिलाप गर्नैपर्ने हुन्छ । सन्धि-सम्झौता गर्नैपर्ने हुन्छ । तर, त्यसो गर्दा व्यक्तिगत वा दलगत स्वार्थ होइन, देश र जनताको स्वार्थलाई सर्वोपरि स्थान दिनुपर्छ । केही पाउन केही गुमाउनु पनि पर्छ । शायद यही भएर होला लेनिनले स्टालिनलाई रुसको केही भूभाग गुमाएर भए पनि जर्मनीसित सम्झौता गर्न भनेका थिए ।

No comments:

Post a Comment

- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।