- सन्तोष थापा
विश्वकै ठूलो शिला अवलोकन गर्न आउने पर्यटकको घुइँचो लाग्ने गरेको छ । सुन्दर मनोरम दृश्य भएको पर्वतको शालिग्राम गाविसमा पर्ने शिला अवलोकन गर्न दैनिक १ हजारको संख्यामा पर्यटक आउने गरेको स्थानीयबासी बताउँछन् ।
धौलागिरि, लुम्बिनी र गण्डकी तीनै अञ्चलका पर्वत, स्याङ्जा र गुल्मी जिल्लाका सिमानामा रहेको छ शिला । धार्मिक दृष्टिले पनि उत्तिकै महत्त्वको मानिने भएकाले स्वदेशी तथा विदेशी पर्यटक शालिग्राम पुग्ने गर्छन् ।
हिन्दू धर्मअनुसार शिलालाई भगवान विष्णुका रूपमा पुज्ने गरिन्छ । शालिग्रामको शिला दर्शन गरेर 'भाकल' गरे मनोकामना पूरा हुने जनविश्वास छ । शिलाको पूजा गरेको र भाकल गर्नेका तस्बिर खिच्न विदेशी लालायित हुन्छन् ।
कालीगण्डकीमा मात्र पाइने शालिग्राम शिलाको अवलोकनका लागि विभिन्न जिल्लाका विद्यालयबाट विद्यार्थी आउने गरेका छन् । कालीगण्डकी 'ए' जलविद्युत् केन्द्र निर्माण गर्दा बनेको जलाशयमा ७ किलोमिटर लामो स्टिमर सेवा सञ्चालनमा आएपछि पर्यटक आउने क्रम बढेको स्थानीय व्यवसायी रेशमराज न्यौपानेले बताए ।
०५८ सालदेखि नेपालमै पहिलोपटक व्यासायिक रूपमा जलयातायात सञ्चालनमा आएपछि ३ जिल्लाको संगममा पर्ने सेतीवेणीबजारमा पर्यटक आउने क्रम बढेको हो । स्याङ्जाको वालिङ नगरपालिका हुँदै मिर्मीसम्म सडक पुगेकाले पर्यटकलाई सजिलो भएको छ ।
शीला हेर्न आउने पर्यटकबाट थोरै शुल्क लिएपनि करोडौ आम्दानी गर्न सकिने शिला संरक्षण समितिले जनाएको छ । तर, समितिबाट अहिलेसम्म त्यस्तो प्रयास भएको छैन । पर्यटक बढेपछि जलाशयमा सञ्चालन हुँदै आएको १० स्टिमरलाई भ्याइनभ्याई छ । त्यस्तै सेतीवेणी बजारको व्यवसायमा लाखौँको व्यापार हुन थालेको हिमलालले बताए । सेतीवेणीमा पर्यटकका लागि आवश्यक सबैखाले सुविधा नहुँदा लामो समय बस्ने पर्यटकलाई समस्या पर्ने गरेको छ । कालीगण्डकीमा र्याफ्टिङका लागि आउने बाह्य पर्यटकको गन्तव्यसमेत बनेको छ शालिग्राम ।
हरिवोधनी एकादशी, बालाचतुर्दशी, वैशाखे संक्रान्ति, माघेसंक्रान्ति, श्रीपञ्चमीलगायतका चाडपर्वमा निकै भीड हुने पुजारी केशवराज न्यौपाने बताउँछन् ।
सरकारले चिन्न नसकेको महत्त्वपूर्ण पर्यटकीय क्षेत्रको विकासका लागि स्थानीयबासीले चासो दिनुपर्ने न्यौपानेको भनाइ छ । पर्यटन वर्ष २०११ लाई लक्षित गरेर शालिग्राममा पर्यटक ल्याउन अतिथि सत्कार गृह, पर्यटकीय होटललगायत मनोरञ्जनका साधनस्रोत उपलब्ध गराउने तयारी हुँदै छ । शिलाको विकास र प्रवर्द्धनका लागि गतवर्ष महायज्ञसमेत लगाइएको थियो । महायज्ञबाट संकलित १ करोड ३९ लाख रुपैयाँ त्यसै क्षेत्रको विकासमा खर्चिने बताइन्छ । दुर्गम क्षेत्रमा रहेको शिलाको प्रचारका लागि जिल्ला विकास समितिले सहयोग गरेपनि छिमेकी जिल्ला गुल्मी र स्याङ्जाले भने कुनै पहल नगरेको गुनासो सेतीवेणीका बासिन्दाले गरेका छन् ।
संगम स्थलमा व्यवस्थित होटलको अभाव छ । बसोबासको उचित प्रबन्ध नभएकाले विदेशी पर्यटक धेरै दिन बस्दैनन् । शालीग्राम उच्च माविका प्राचार्य अशोकसिंह पाण्डेले सेतीवेणीलाई पर्यटकीय क्षेत्र घोषणा गर्नुपर्ने बताए । तीनै जिल्लाको सदरमुकामबाट दुर्गममा पर्ने सो स्थानको संरक्षण र प्रचार-प्रसार गर्न सके लाखौँ पर्यटक भित्र्याउन सकिने उनको भनाइ छ ।
नयाँपत्रिकाबाट
No comments:
Post a Comment
- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।