- खगेन्द्र संग्रौला
केही साताअघि राजधानीको चाबेलमा चन्द्रविनायक-भैरवनाथ जात्राको धुमधाम थियो । चाबेल भेगमा उमङ्ग थियो, रौनक थियो र गति थियो । रैथाने बाजागाजा, खटयात्रा, धुनी जगाइ र भोजमा चाबेल मस्त भयो । जात्राका कर्ताहरूले यसलाई संस्कृतिको जगेर्ना, पितृहरूको सम्झना, अनिष्टहरूको विनाश र समुदायको भावनात्मक ऐक्य भन्ने सङ्ज्ञा दिएका थिए । तर जात्राको बीचमा एउटा अनर्थ भयो । 'युवराजाधिराज' भनेर पारस शाहलाई निम्त्याइयो र गणतन्त्रको खिल्ली उडाइयो । राजसी शैलीमा रातो कार्पेटमा पारसको सवारी चलाइयो र चाबेलको शिर निहुराइयो । यसबारे यसै दैनिकमा मैले एउटा सानो टिप्पणी लेखेँ ।
मेरो भन्नु थियो- तन्नेरी कुममाथि बूढा टाउका भएका जीवात्हरूले लज्जास्पद दासता प्रदर्शन गरे । र तिनले स्वतन्त्रता र स्वाभिमानप्रेमी चाबेलको अनुहारमा कलङ्क लगाए । लेख पढेर केही युवा मकहाँ आए । तिनले गुनासो गरे- हामी पत्रु पारसपथका पथिक किमार्थ होइनौँ । हामी त जात्राको मूल समितिका पो हौँ । पारसको पूजाअर्चना गरेको चारुमती युवा परिवारले हो । रैथाने युवाहरूको चित्त दुखेको देखेर मेरो पनि चित्त दुख्यो । लेखमा मैले सिङ्गै चाबेललाई पारसमार्गी भनेको थिइन । तर त्यस्तो बुझिएछ । नखाएको विष लाग्दैन । कालो खानेले पो कालो हग्छ, नखानेले किन हग्छ ? चाबेलका बेकसुर युवाहरूले त्रुटि सच्याइपाऊँ भनी मसँग आग्रह गरे । र मैले तीसँग सविनय माफी मागेँ । पारस शाहका चरणमा शिर राखेर निजी लाभ र मोक्षको याचना गर्ने वृद्ध युवाहरू चाबेलमा कति नै पो होलान् र !
तिनै पारस शाह अहिले चर्चाको शिखरमा छन् । यो चर्चामा बन्दुके पारस नायकको स्थानमा छन् । र पारसलाई कार्बाइ गरौँ भन्ने सत्ताधिकारीहरू खलनायकको स्थानमा छन् । लाग्छ, ती कान समातेर निहुरिँदै भनिरहेका छन्- पारसलाई फेरि पनि कार्बाइ नगरौँ । सिंहले चुपचाप सिकार गर्छ, स्यालले केवल हुइयाँ मच्चाउँछ । पारस चरितचर्चाले मलाई जर्ज ओर्वेलको सम्झना गरायो । एनिमल फार्ममा कठोर कटाक्षको भाकामा ओर्वेलले भनेका छन्- कानुनको दृष्टिमा सबै समान छन्, तर कोही-कोही अलि बढी नै समान छन् । तिनको कटाक्ष सोभियत समाजवादको नोकरशाहीतन्त्रका निरङ्कुश अधिपतिहरूतर्फ लक्ष्यित थियो । सत्चालीसको शाही संसदीय संविधानमा पनि कानुनको दृष्टिमा सबै समान छन् भन्ने रकमी सूत्र अङ्कति थियो । तर हरफको बीचमा कोही-कोही अलि बढी नै समान छन् भन्ने अर्थ सुटुक्क लुकाइएको थियो । त्यो 'बढी'मा शाही परिवारका पारसहरू पर्थे । पारसले कलाकार प्रवीण गुरुङको वध गरे । बागी युवा रवीन्द्र अधिकारीको नायकत्वमा विरोधको आगो बल्यो । कार्बाइको माग गर्दै करिबन पाँच लाख हस्ताक्षर बटुलिए । हस्ताक्षरको चाङ प्रधानमन्त्री गिरिजाबाबुलाई बुझाइयो । तर कार्बाइ भएन । बरु उल्टै एकजना लाटा भुजेलको भेषमा अपराधी खडा गर्ने प्रपञ्च रचियो । र वास्तविक अपराधीलाई गहुँत छर्केर चोख्याइयो ।
त्यो एक दिग्भ्रमित युवकको आपराधिक मनोविज्ञानलाई मलजल गर्ने आपराधिक कृत्य थियो । त्यो मलजलले अपराधको शृङखलालाई जन्म दियो । चितवन, टाइगर टप्सको गोलीकाण्ड त्यही शृङखलाको पछिल्लो कडी हो । अपराधको कर्ताभन्दा अपराधको प्रणेता र रक्षक ज्यास्ती दोषी हो । यहाँनेर पारसीय सनातनी पराक्रमले मलाई फेरि पनि जर्ज ओर्वेलको याद दिलायो । कानुनको दृष्टिमा सबै पीडित बराबर छन्, तर कोही-कोही पीडित अलि बढी नै बराबर छन् । ताजा उदाहरण रुबेल चौधरी हुन् । पारसको निसाना कुनै निमुखो नेपाली हुँदो हो त त्यो चर्चालायक समाचार बन्ने नै थिएन । सञ्चारको विरलै आँखा पर्ने कुनै महत्त्वहीन कुनामा त्यो समाचार राखिन्थ्यो । र आजको भोलि नै त्यो विस्मृतिको गर्तमा विलिन
हुन्थ्यो । तर रुबेल चौधरी परे सुजाताका सहोदर ज्वाइँ । सुजाता कोइराला वंशकी गिरिजापुत्री त हुँदैहुन्, ढङ्ग थोरै र दम्भ धेरै भएकी पराराष्ट्रमन्त्री पनि हुन् । जब सुजाताका अबोध र निर्दोष ज्वाइँ पारसको गोलीको प्रतीकात्मक निसाना बने, त्यो भयङ्कर समाचार बन्यो । ढ्याके दैनिकहरू पारस विशेषाङ्कतुल्य भए । र सत्तासीनहरू यत्रतत्र गर्जिए- पारसलाई न्यायको कठघरामा उभ्याऊ !
कुण्ठित तृष्णा तृप्त गरिदिन काङ्ग्रेसले कृपा गरी बनाएका माधव नेपाल प्रधानमन्त्री छन् । माधव फगत निमित्त नायक हुन् । यसको अर्थ यो काङ्ग्रेसी माधव सरकार हो । एमालेका भीम रावल गृहमन्त्री छन् । ती पनि काङ्ग्रेसी कृपाकै भाग्यमानी उपभोक्ता हुन् । सत्ता गठबन्धनको बागडोर लाटलुट्टै काङ्ग्रेसकै हातमा छ । तैपनि सुशीलदाहरू अरण्य रोदन गर्दै भन्दाछन्- पारसलाई पक्राउ गर । निजलाई कार्बाइ गर । सत्ताको अधिपति आफू हुनु र रुन्चे स्वरमा कुनै अविदित र अगोचर शक्तिलाई गुहार्नु- योभन्दा हास्यास्पद विडम्बना अरू के हुनसक्छ ?
पारसीय पराक्रम प्रत्यक्ष देख्ने थुप्रै आँखा टाइगर टप्समा जीवित छन् । फुर्तिला पारसले बडो इमानसाथ लिखित साविती बयान सञ्चारमा बुझाइसकेका पनि छन् । बयानमा तिनले शानले भनेका छन्- मैले गोली ठोकेकै हुँ । पीडित रुबेल चौधरी मृत्युको भयले अर्धविक्षिप्त मुद्रामा कामिरहेका छन् । तैपनि मानौँ झल्झलाकार घाम लागिरहेको मध्यदिनमा राँको बालेर धूलोको थुप्रोमा सियो खोजेझैँ गरी सवुतको खोजी गरिँदैछ । लाग्छ, यो कार्बाइ गर्ने रट लगाउँदै आलटाल गर्ने र केही नगर्ने पुरानै कायर कथाको झुत्रो संस्करण हो । सके सम्भ्रान्त कुलिनहरूका आक्रामक दृष्टिका डरले कामचलाउ प्रधानमन्त्री र गृहमन्त्री पारसलाई सुटुक्क सिङ्गापुरतर्फको सहज निकास देलान् । कार्बाइको शुभसाइतको प्रतीक्षा गरेजस्तो पनि देखिने र सम्भ्रान्त कुलिनहरूको कृपापात्र पनि भइरहने बडो काइदाको जुक्ति हो यो ।
बन्दुक पारसका लागि मुरलीतुल्य हो र तिनका कानमा बन्दुक पड्किँदाको आवाज मुरलीको मीठो धुन हो । टाइगर टप्समा तिनले एक राउन्ड धुन बजाए । जसले जे जानेको छ र जसलाई जे मनपर्छ, उसले गर्ने त्यही त हो । पारसले गरे । यसमा मूल दोष उनको छैन । मूल दोष त पिता ज्ञानेन्द्र र पुत्र पारसलाई नागरिकमा फेरिन नदिनेहरूको पो । सिङ्गासनच्युत भएका अति गरिब ज्ञानेन्द्र शाहलाई दानवीर लाठे दलहरूले नागार्जुन दरबारमा राजसी बास मिलाइदिए । त्यो पनि समयसीमा नै नतोकिकन । तिनलाई झन्डै राष्ट्रपतिसरह सुरक्षाबल पनि कृपा गरे । तिनको यत्रतत्रको सवारीमा राजसी तामझाम र ठाँठबाँटको सनातनी बन्दोबस्त पनि कायमै राखे । यसरी ज्ञानेन्द्रको तामसी चित्तमा म राजै हुँ भन्ने भ्रम रहिरह्यो । र निजका पुत्र पारसलाई म युवराजाधिराजै हुँ भन्ने लागिरह्यो । यी पिता-पुत्र गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षताको बालहत्या गर्न खुलेआम कटिबद्ध छन् । तैपनि यिनलाई राजसी सुरक्षा र सुविधा प्राप्त भएकै छ । यिनलाई यी कुरा दिनेहरू को हुन् र अहिले पारसले मुरली बजाउँदा रुनेहरू को हुन् ? पारसलाई घातक मुरली बोक्न छुट दिनु र तिनले मुरली बजाउँदा कोकोहोलो मच्चाउनु कति असङ्गत व्यवहार हो ? सर्पलाई दूध खुवाएर पालेपछि त्यसले पालकलाई म्वाइ खाँदैन, डस्छ । डस्नु सर्पको दोष होइन, त्यो त उसको निजत्वयुक्त विशेषता पो हो । तर डसिनुचाहिँ पालकको मूर्खताको अनिवार्य फल हो ।
कानुनका निष्प्राण अक्षरहरूलाई ब्रह्मसत्य मान्ने एकथरी कानुन्चीहरू पारसको मुरलीको कानुनी हैसियत थाहा पाउन आतुर छन् । के पारसको मुरली वैध हो ? यो तिनको दुर्दम जिज्ञासा हो । यी विधिविज्ञ मनिषीहरूलाई सोध्न मनलाग्छ- के पारसको मुरली वैध हो भने निहत्था र निर्दोष रुबेल चौधरीमाथि त्यो मुरलीको धुनको वर्षा गर्नु वैध हो ?
अकिञ्चन नागरिकहरू सोध्छन्- के मुरलीधर पारस पक्राउ पर्लान् ? उत्तर निराकार छ । ससाना कसुरदारहरूलाई हत्कडी लगाएर काँचका पर्दामा देखाउनु प्रहरी संस्कृतिको फेसनजस्तो भएको छ । स-साना मानिसहरू सोध्छन्- महान मुरलीबाज पारसलाई पनि त्यसरी नै देखाइएला ? उत्तर शून्य छ । सम्भ्रान्त कुलिनहरूका पावन चरण स्पर्श नगरी अस्तित्वबोधै नगर्ने नैतिकशक्तिविहीन राजनीतिक पात्रहरूबाट यति ठूलो आशा कसरी गर्नु ?
कान्तिपूरबाट
No comments:
Post a Comment
- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।