परिभाषामा नपरेकी उनी

- जेपी सापकोटा
कागजको सानों टुक्रा हातमा थमाउँदै पुलुक्क मुखतिर हेरेर आफ्नों सिटमा फर्किन् उनी । ट्याक्सीमा पोका पन्त्यौरा खाँदेर कलंकी बस स्टैण्ड छाड्दै आफू बसेको कोठातिर हुइँकिएँ । टुक्रा खोलेर पढें, ‘भोलि बिहान ठीक १० बजे फोन नं. … मा फोन गर्नुहोला ।’ दोहोर्याई तेहेर्याई पढेर खल्तीभित्र सम्हालेर राखें । कोठामा पुगेपछि सन्चो नभएको बहाना ओछ्यानमा पल्टिएँ । भोलिपल्टको दस बजेको पर्खाइ मेरो लागि जुगौं भयो ।

स्नातक तहको पढाइ सकेपछि मैले काठमाडौं गएर पढ्ने निधो गरें । क्याम्पस छोडेपछि उनीसँगका भेटघाट पनि पातलिए ।काठमाडौं आउनेबेलामा पनि भेट भएन ।मध्यम परिवारमा हुर्किएको हुनाले काठमाडौंमा जागिर खाएर मात्रै पढाइलाई निरन्तरता दिन सकिने मेरो बाध्यता थियो । दसैंको छुट्टीमा उनको घरमा गएको थिएँ ।ममता अलि फुस्रिएजस्तो लाग्यो । पुर्याउन अलि वरसम्म आइन्, तर खासै कुराकानी भएनन् । मायाका अनुरागहरू खासै थपिएन ।

त्यो दिन अचानक झापा-काठमाडौं बीचको करिब १४ घन्टा लामों यात्रामा एकै बसमा सहयात्री हुनुपर्ने संयोग परेछ । म अघिल्लो सिटमा मेरा मान्यवरसँग थिएँ ।उनी पनि आफन्तसँग पछाडिको सिटकी यात्री रहिछन् । विरानो भएको घनिष्टता ताजा भयो । भलाकुसारीपछि ‘दुब्लाइछौं’ भन्ने मेरो भनाइलाई ‘मोटाउनुभएछ’ भन्ने छोटो प्रत्युत्तरले बिट मारिन् । सन्चो बिसन्चो सोधिन् । मैले आफ्नों विवरण बताउन चाहें । ‘मलाई सबै थाहा छ भनिन् ।’ धेरै सोध्न सकिन । वैवाहिक लक्षणहरू उनीमा देखिएनन् । उनीसँगै यात्रा गर्ने मित्रसँग अप्रत्यक्ष बुझ्दा अविवाहित भन्ने थाहा पाएपछि अलि सशंकित भएँ । त्यत्रो लामों यात्रामा खासै कुराकानी भएनन् । संयोगको यात्रा त छँदैथियो फेरि त्यसको तेस्रो दिन मेरो विदेश लाग्ने यात्राको टिकट पनि निश्चित भइसकेको थियो ।

‘ठीक ११ बजे म तपाईलाई स्वयम्भू मन्दिर छेउमा पर्खिरहेकी हुनेछु । त्यही आउनुहोला ।’ फोनमा छोटो कुरा गर्दै रिसिभर राखी दिइन् । कौतूहलकै बीचमा तोकिएकै समयमा आफूलाई उनको अगाडि उभ्याएँ । सामान्य कुराकानीसँगै निकै बाटो हिँडेपछि अन्योल र उल्झनकै बीचमा उनी बसेको एकान्त घरको कोठामा पुग्यौं । थोत्रे घरको सानो र अस्तव्यस्त कोठाभित्र पसेपछि बस्न आग्रह गरिन् । एउटा पलंगबाहेक बस्ने कुरा केही थिएन । उनी त्यही पलंगमा बसिन् । म हिच्किचाएँ ।

सहजतापूर्वक हातमा समाएर बस्न कर गरिन् । म आज्ञाकारी बालकजस्तै चुपचाप पालना गर्दै गएँ। एक छेउमा राखेको स्टोभ सल्काएर चिया बनाइन्, दुवैले चिया पियौं । मलाई विदेश जानको कारण सोधिन् । अध्ययन, तालिम र जागिर भने । बीच-बीचमा मौनतालाई चिर्दै म बोल्न आग्रह गर्थें । छोटो कुराकानी पुनः मौनता छाउँथ्यो ।

वातावरणमा नौलो निष्तब्धता छाएपछि म हिँड्ने तर्खरमा लाग्दैथिएँ । एक्कासि भक्कानिएर मेरो कुममा टाउको राखेर सुक्सुकाउन थालिन् उनी । एकान्त र अपरिचित परिवेश, फेरि उनकै कोठा । म डराएँ । परिस्थितिको आँकलन गर्ने ममा साहस भएन । निकै अत्तालिएर डराएको स्वरमा भनें, ‘तिमीले यो के गरेको ?, ‘म तपाईंलाई अप्ठेरोमा पार्दिनँ । मलाई केहीबेर रुन दिनुहोस् …… ।’ मेरो काखमा पूरै घोप्टो परेर रुन थालिन् । सम्झाउन खोजें । मेरो मुख थुनिदिइन् । अनायासै मेरा पनि आँखा रसाएर आए । उनका आँसु पुछ्न खोजें । ‘तपाईं मेरा आँसु पुछ्न सक्नुहुन्न ।’ रोएका तर मायालु आँखा तर्दै व्यंग्यवाण छोडिन् । ‘प्रेमी प्रेमिकाले एकअर्काको आँसु पुछेर घट्दैन, झन् बढ्छ,’ भन्थे सत्य लाग्यो । फेरि यो नाता लगाउने मेरो अधिकार टुटिसकेको थियो र सोच्नु पनि अपराध हुन्थ्यो । सायद निकै अगाडिको प्रेमी …. । उनको कपाल सुम्सुम्याएँ । मुटु गाँठो परेर आयो । त्यही नौ वर्षअघि सँगै बस्दाको गन्ध, त्यही ममता, त्यही लवज र आत्मीयता ।

‘हजुरले मलाई धोका दिनुभयो भनेर भन्ने आधार त ममा छैन तर मेरो कलिलो मस्तिष्कमा निको नहुने गरी घाउ लागेछ राजा † मैले चाहेर पनि भुल्नै सकिन । हजुरले बिहे गरिसकेपछिका २ वर्षहरू हजुरलाई घृणा गरेर बिते अनि बाँकी ६ वर्ष माया गरेर- हृदयमा सजाएर अनि पूजा गरेर । मलाई थाहा छैन म अर्काको लोग्नेलाई किन पूजा गर्छु तर यस्तै हुन्छ … । हजुरलाई यदाकदा गाउँ जाँदा देख्थें । आफूलाई लुकाएर निहालेर हेर्थें । तपाईंकी जीवन संगिनीलाई म राम्ररी चिन्छु । धेरैपटक देखेकी छु । एकपटक हजुर छलिएको बेला नजिकै गएकी छु, छोएकी छु । सायद अप्रत्यक्ष संर्सग होस् भन्ने चाहना पूरा गरेकी हुँदिहुँ । उनी अलि उत्तेजित हुँदै गइन्- ‘कति माया गर्नुहुन्छ होला हगि उहाँले । किन नगर्नु पनि - कत्रो तापस्यापछि पाइने एउटा लोग्ने, अनि लोग्नेसँगको सुखसयल ….. । र, राजा मलाई अब अर्को कुनै पुरुषसँग बिहे गरेर खुसी हुन्छु जस्तो लागेको छैन । मैले जवानी त खेर फालिसकें । अब त मेरा चाहनाहरू पनि बिस्तारै मर्दै गए । विश्वास गर्नुहोस् । म हजुरको सुखद जीवनका कहिल्यै भाँजो हाल्न पनि आउनेछैन । छुनेसम्म इच्छा थियो । पूरा भयो । म हजुरकी हुँ र आजीवन रहिरहने छु … सदा सर्वदा हजुर सुखी रहेको टाढैबाट चियाइरहन्छु ।’ धेरै बेर मुखमा हेरेर टोलाएपछि उनले आफ्ना उक्उकीहरू यसरी पोखिन् ।

गाली र लाञ्छना सुन्न तयार रहेको मेरो सोचाइ पाताल भासियो । आत्माग्लानिले भरियो । मुटु टम्म भएपछि जिव्रो लाटिन्छ रे ।त्यसै भयो । अपमान सहन तयार रहेको मेरो तन मेरो मन । उल्टो भइदियो । उनको ‘बिहे गर्दिन’ भन्ने अठोटमा जिद्दी गरिरहें । उनले त्यो दृढता छोडिनन् । र ५ बज्नुभन्दा अघि नै उनका कोठाका साथीहरू नआउँदै म त्यहाँबाट हिँडें । भोलिपल्टको फोनमा सम्झाउन लाख प्रयत्न गरें । असफल प्रयत्न ।

पर्सिपल्ट मेरा घरका परिवारहरू विमानस्थलसम्म पुर्याउन आए । सबैको आँखा छलेर उनी मलाई बिदाका हातहरू हल्लाइरहेकी थिइन् । मैले भने हेर्ने सिवाय केही गर्न सकिन । रुन्चे अनुहार लगाएर सिँढीमा चढें । परिवारसँगको विछोडको पीडा थियो वा अरू केही त्यो त मैले अहिलेसम्म लख काट्न सकेको छैन ।
विछोडको पीडामा खाटो बसोस् भन्ने लागेर हो वा भकानिएको मुटु फेरि चिरा पर्ला भन्ने त्रासले लामों समयसम्म फोन गर्ने साहस आएन । बल्लतल्ल फोनको उत्तर घर मालिक्नीले दिएकी थिइन्, ‘कोठा छोडेर गइसके ।’ ‘र, मेरी उनी †

मैले मेरो जीवनमा कहिल्यै प्रेमपत्र लेखिन । तर आज किन हो यो लेखाइ तिमीसम्म पुग्थ्यो कि भन्ने झिनों आशामा मेरा उक्उकीहरू पोख्ने तिमीसँग अनुमति माग्छु । यो लेखाइ पढ्ने तिमीमा अनुकूलता समय र पहुँच छ वा छैन त्यो त मलाई थाहा छैन तर तिमीमा पुग्छ नै भन्ने मेरो निर्क्योल हो । ‘प्रेम त्यागमा हुन्छ, बलिदानमा हुन्छ, बदलामा यसले केही चाहँदैन’ भन्ने तिमीले सुनेकी छौ पढेकी छौ । तर त्यागको पनि आफ्नै सीमा र परिभाषा हुन्छ होइन र ? मेरो स्पन्दन रित्तो छैन भन्ने कुरा तिमीलेबुझेकी छौ । यो अनाहकको त्याग भएन त ? अग्निरूपी डढेलोमा सातफेरा हालेर वैवाहिक नामको वृक्षमा अठ्याएर कसिएको म, तिमीलाई थाहै छ । फेरि त्यसमा मुना पनि पलाइसकेका छन् मैले त्यो बन्धनको घेरा तोड्न सक्दिन र ती कलिला मुनालाई मैले ठुन्क्याउन किमार्थ हुँदैन । जानी जानी गल्ती गर्नु र भूलवश हुनुको हीनताबोधमा धेरै फरक हुन्छ ।

१७-१८ वर्षको काउकुतीले भरिएको जीवनमा मन बहलाउने माध्यम हुनु, सँगै हिँड्नु, हाँसखेल र ठट्टा गर्ने अनि सँगै घुम्न निस्किनेले दोषै थिएन भनेर पन्छिन म खोजेको होइन तर हामीले कहिल्यै विवाह गर्ने झूटो कसम त खाएका थिएनौ नि ? किन त्यसरी निस्सारताको पछाडि तिमी भौतारिइरहेकी ? न त यौवनको तुफानीमा होमियौ कुनै दिन । होला तिमी सावित्री बनेर पछ्याइरह्यौ तर अचेतन अवस्थाको सत्यवानमा त्यो अनुभूति थियो र ? पर्खाल ढालिदिनेलाई यी विश्वासका पर्खाल थिए भन्ने थाहै थिएन भने उसलाई कति दोष दिने ?

‘आहा, हजुरकी भार्याले कति माया गर्नुहुन्छ होला हगि ? हुन पनि किन नगर्नु कत्रो तपस्या गरेर मात्रै पाइँदो हो एउटा लोग्ने † मेरो ललाटतिर हेर्दै उत्तेजित भएर तिमीले भनेको यो प्रसंग सायद प्राप्तिमा अवमूल्यन भैरहेका तिमीजस्तै स्वास्नी मान्छे तर लोग्ने पाएकाहरूको लागि गतिलो दीक्षा भैदिन्छ कि ? साँच्चै नै लोग्ने शब्दले तिमीमा अहिले कत्रो महत्व राख्छ हगि † अनि कति पवित्र र लावण्य छ यो ‘लोग्ने’ शब्द, अभावमा । पाएकाहरूमध्ये कतिले यसलाई कौडीको दर्जा दिएको तिमीले नसुनेकै हुनुपर्छ……। तर म कदाचित् विवाह गर्दिन भन्ने हठ त्यागी देउ ल † खुसी भएको देख्न चाहन्छौ होइन ? तिम्रो बिहेको खबरभन्दा खुसी अरू कुनै हुँदैन मलाई । पूरा गरिदनु ल † टाढाको सहरमा बसे पनि मेरा प्रत्येक पलहरूलाई पूर्वस्मृतिले डसिरहन्छन् । यता र उता बस्नुमा आखिरी फरक नै के भयो र - बरु भेटघाटले कतै केही दोष आउ“थ्यो कि हामीमा । टाढा हुँदा त हाम्रा वास्तविक भावनाहरू विशुद्ध रूपमा बाँची नै रहे होइनन् र ?

‘रोग बोकेर नआउनु विदेश पुगेर’ भनेकी थियौ तिमीले । यो मेरो प्रायश्चित्त भयो, म यो खुला सहरमा कसैसँग पनि आफ्नो अस्मितालाई क्षणिक बन्धक नराखी फर्किनेछु । यद्यपि जुन तिमीलाई कहिल्यै दिन सकिन सायद दिन हुँदैन भन्ने सीमारेखा छ क्यारे हाम्रो चलनमा । लुकेर गौतम पत्नी दाग्ने इन्द्र, गुरुपत्नी स्याहार्ने चन्द्र, बृहन्नलाको सत्य डगाउने विष्णु, सप्तऋषिका पत्नी पछि लगाएर हिँड्ने शिव, सोह्र सय गोपिनीका साझा पति कृष्ण र सरस्वती-ब्रह्माको सम्बन्धलाई पवित्र मान्ने तिमी हामी बस्ने समाजको कानुनमा । अनि आधाजसो हिन्दु धर्मका सिद्धान्तहरूलाई आधार बनाए पनि कस्यप ऋषिले एउटै यज्ञकुण्डमा एकैपटक दक्षप्रजापतिका १३ वटी छोरीसँग विवाह गरेको प्रसंग ढाकछोप गर्दै तयार गरेको तिमी हामीले पालना गर्नैपर्ने कानुनी भाषामा ।

मेरो सम्बोधनको परिधिमा नआएकी ‘उनी’ †
फेरि पनि बिदा हुनु नै छ हगि … †,

लेखाइ पनि अनन्त हुन्न नि … । तर पनि… विवाहित पुरुषले परस्त्रीको सम्झना राख्नु अथवा माया गर्नु अपराध नै हुन्छ भने पनि म तिमीलाई माया गरिरहेको छु, सुषुप्त रुपमा रहेको पवित्र माया, प्राप्तिमा नपाइने माया, पुनरावृत्ति भएको माया र कताकता अनायसमै गाला छिचोलिसकेपछि आँसुका ढिक्का भनेर अनुभूति गराइदिने अमर, अजर र कुनै पनि परिभाषामा नअटाउने तिम्रो र मेरो मात्रै अलग्गै ………… मायाँ ।।
हाल, अबुधावी, दुवई ।
Email:- sapkotajp@gmail.com

No comments:

Post a Comment

- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।