- विष्णु प्रसाद चापागाईं
"हैन हजुर मेरो भिसा अझै लागेन ? ६ महिना भइसक्यॊ मेरो एग्रिमेन्ट पेपर अझै आउँदैन ? मैले भने बमोजिमको भएन भने ५०० सेलरीको भएपनि हुन्छ । त्यसैमा मेरो पासपोर्ट एप्लाई गरिदिनुहोस् । आऽऽ कति बस्नु नेपालमा ! विदेश जान पाए सबै कुराको समाधान हुन्थ्यो !"
माथिको प्रसंग कुनै नौलो होइन । यी प्रसंगहरु काठमाण्डौका मेनपावरमा मात्र नभई नेपालका विभिन्न शहरका मेनपावरमा हरेक दिन सुन्न पाइन्छ र मैले सुनेको पनि थिएँ । माथिका यस्ता कुराहरुले प्रष्ट पार्छ कि हामी नेपालीलाई विदेश जाने र धन कमाउने कत्रो धोको रहेछ त ! नेपाल छोड्ने वित्तिकै उसको सम्पूर्ण समस्या समाधान हुने कत्ति ठूलो विश्वास । के उसले धन कमाउन विदेश नै जानुपर्ने कारण किन ?
हामी सबैले नेपालको पत्रपत्रिका तथा रेडियोमा देखे सुनेकै हो- "फलानो देशको फलानो कम्पनीमा ४०० कामदारको माग भई आएको हुँदा जान इच्छुक नेपालीले आफ्नो सक्कल राहदानी र १२ प्रति पासपोर्ट साइजको फोटो सहित तुरुन्त फलानो म्यानपावरमा सम्पर्क राख्नुहोला ।" यस्तो विज्ञापन सुनेपछि त वेरोजगार युवा युवतीहरुको तोकिएको मेनपावरमा भिड नै लाग्छ अनि पहिलो अनुच्छेदमा झैं वाक्यहरु फरर निस्कन्छन् उनीहरुबाटै ।
आफ्नो जन्म तथा कर्मथलोमा भएको हरेक अवरोध देखि वाक्क भएर विदेश पलायन हुने चाहना हामी गरीब नेपालीमा हुनु स्वभाविक नै हो । तर यसको पछाडी विदेश गएपछि त्यहाँ आउने हरेक समस्या प्रति पनि त सोच्नु पर् यो नि ? आफूसँग कस्तो शीप छ ? कस्तो किसिमको योग्यता छ ? आफ्नो अनुभव के-के मा छ ? यति कुराहरुमा मात्र नभएर विदेशमा आइपरेका समस्याहरुलाई पनि कसरी समाधान गर्ने हो ? यी सबै कुराहरुलाई आ-आफ्नो मष्तिष्कले राम्रोसँग सोचविचार गरेर मात्र विदेश जाने चाहना राख्नु उचित हुन्छ ।
मलाई लाग्थ्यो ४०० कामदारलाई एकैचोटी काम दिने कम्पनी कस्तो र कत्रो होला ? त्यसका सुविधाहरु के-के होलान् ? अनि त्यत्तिका ४०० कामदारहरुलाई कहाँ बसाइन्छ ? उनीहरुलाई के खान दिइन्छ ? म नेपालमा हुँदा यस्ता प्रश्नहरुले मलाई सताइरहन्थ्यो । तर आज थाहा भयो कि त्यस्ता कम्पनि नभएर सबै ठेकेदारहरुको समुह रहेछ । नेपालबाट एकै गाउँबाट एक हूल नेपालीसाथीहरु एकै कम्पनीमा काम गर्ने, सँगै बस्ने र सँगै फर्कने आशा बोकेर आएका हुन्छन् । तर यहाँ आएपछि सबैको सपना भङ्ग हुन्छ । किनकी यहाँका कम्पनि नभएर ठेकदार हुन् जसले कहाँ, कति र कस्ता योग्यता भएका कामदार चाहिन्छ ? त्यस्ता योग्यता पुगेका कामदारलाई एकैठाउँ नपठाई छुट्टाछुट्टै निर्माण कम्पनिमा पठाइन्छ । अब ति पठाएका श्रमिकहरु त्यो काम नसकि फर्कने कुरै हुदैन । १/२ महिना वा १/२ वर्ष नै लाग्ने भएमा त्यतिञ्जेलसम्म ति कामदारहरु त्यहीं नै बस्नुपर्ने हुन्छ । त्यसैले यहाँ आएपछि सबै साथीहरु एकै कोठा बसी सँगै खाने सँगै सुत्ने अनि सँगै काममा जाने भनि सपना नदेखे हुन्छ । अपवादमा कहिलेकाहीं भेट हुनु र बस्नु भनेको सामान्य हो । आफ्नो करार अवधिभित्र एकै ठाउँ बस्न पाउन एउटा ठूलो भाग्य लिएर जन्मनु पर्ने रहेछ जस्तो हुन्छ ति कामदारहरुलाई । नभए विरालाको बसाईं सरे जस्तो जहिले/जहाँ कम्पनीले पठाउँछ त्यहीं आफ्नो सम्पूर्ण सामानहरु बोकी जानुपर्ने वाध्यता । यस्तो वाध्यतामा पर्ने विशेष गरेर लेबर, कार्पेन्टर, मेसन, प्लम्बर, पाइप फिटर, पेन्टर, वेल्डर र स्काप फोल्डर आदि कार्यक्षेत्रमा रहेका कामदारहरु रहेका हुन्छन् । यी बाहेकका पदहरुमा आउने कामदारहरुले यस्तो दुःख पाउने सम्भावना हुदैन वा ज्यादै कम हुन्छ ।
अब म साउदीका केही सप्लाई कम्पनीको बारेमा केही जानकारी दिन्छु । विभिन्न देशबाट हामीजस्ता श्रमिकहरुलाई ल्याएर राख्ने अनि अन्य निर्माण कम्पनिसँग सम्वन्ध गाँसेर आफ्ना कामदारहरु त्यहाँ पठाई कमिशन खानु रहेको छ । यस्ता सप्लाई कम्पनी यहाँ हजारौं स्थापित छन् । र यही कमिशनबाट बाँचेका छन् उनीहरु । यस्तो मरुभूमिको देश जहाँ समुद्रीक र तेलखानीको आम्दानी बाहेक अरु केही पनि आयश्रोत छैन । उब्जनी नाममा एउटा खजुरको बोट बाहेक अरु केही हुदैन । तरपनि यहाँका अरबीहरु सप्लाई कम्पनी खोलेर साँच्चैका अरबी भएका छन् ।
म एउटा उदाहरण दिन्छु- नेपालबाट एउटा लेबर भिसामा एक श्रमिक ल्याइन्छ । उसलाई तलब ६०० रियाल कम्पनीले दिन्छ । त्यो ६०० रियालमा त्यो श्रमिकले दैनिक १० घण्टासम्म काम गर्नुपर्ने र त्यसैले खानुपर्ने हुन्छ । र सो समयभन्दा बढी काम गरेको भए प्रतिघण्टा ३ रियालले उसलाई ओभरटाइमको तलब दिइन्छ । उसले दैनिक १२ घण्टा काम गरेको भए त्यो महिनाको उसको मासिक तलब ६०० र ओभरटाइम दैनिक दुई घण्टाको १५६ गरी जम्मा तलब ७५६ रियाल भयो । तर कम्पनिले त्यो श्रमिकलाई दैनिक प्रतिघण्टा न्युनतम ८ रियालमा सम्बन्धित निर्माण कम्पनिमा बेचेको हुन्छ । यदि सो कम्पनीमा उक्त श्रमिकले दैनिक १२ घण्टा काम गर्दा उसले दैनिक ९६ रियाल र मासिक २६ दिनको २४९६ रियाल कमाउने छ । अब यस्ता सप्लाई कम्पनिले उक्त श्रमिकलाई मासिक तलब ६०० र ओभरटाइमको १५६ गरी जम्मा ७५६ रियाल मात्र दिन्छ । यस कम्पनीले एक निम्न स्तरको श्रमिक लेबर बराबर १७४० रियाल प्रतिमहिना कमिशन मात्र खान्छ । फेरि अर्को कुरा यदि कामदार बेखबर उसको काममा अनुपस्थित भएमा दैनिक ३० रियालको दरले खर्च कटाइन्छ । अब तपाईहरु आफै सोच्नुहोस् कि यहाँका यस्ता कम्पनीले नेपालबाट आउने लाखौं श्रमिकहरुबाट कति कमिशन खादारहेछन् ? यहाँका अरबीले हरेक श्रमिकको श्रम बेचेर अत्याधिक मात्रामा ब्रम्हलुट गरिरहेका छन् । मैले यहाँ एउटा सामान्य लेबरको मात्र कुरा राखेको छु । यदि एउटा लेबर भन्दा माथिल्लो दर्जा वा इन्जिनियर वा सो सरहकॊ कामदारको कुरा राख्ने हो भने त झन् प्रति महिना लाखौं कमिशन पुग्न सक्छ ।
मैले माथि खाली कमिशनको मात्रै कुरा गरें । तर यहाँ यस्ता कम्पनिमा जोखिम पनि त्यतिकै मात्रामा रहेको हुन्छ । उसको स्वास्थ्यको हेरचाह, दुर्घटना बीमा कामदारको मृत्यु भए त्यसको सम्पूर्ण जिम्मा, श्रमिकलाई पठाउन कुनै निर्माण कम्पनि नभेटे महिनौं दिन सम्म पनि उसलाई बिनाकाम तलब दिईराख्नुपर्ने, करार अवधि सकिएपछि घर पठाउने खर्च दिनु, कुनै अपराधिक कृयाकलाप गरे त्यसको पूर्ण जिम्मा लिनु र त्यस उपर बहस गर्नु आदि समस्याहरु पनि उत्तिकै मात्रा रहेका छन् ।
माथि भनिएका हजारौं कम्पनीहरु सबै नै नराम्रा भन्न मिल्दैन । जस्तैः Hadi Hammam, Sendan International Co., ABB Int. Co., ACES Int. Co., PM&C, Al-Suwadi आदि कम्पनीहरु साउदीमा निकै लोकप्रिय भएका छन् । यी कम्पनीहरुबाट पाउने सुविधा भने धेरै फरक रहेको छ । फेरि यस्ता ठूला कम्पनिहरुमा तल्लो दर्जाका कर्मचारीहरुले धेरै दुःख पाउने र साना कम्पनीहरुमा ठूला दर्जाका कर्मचारीहरुले दुःख/झन्झट पाउने कुरा पनि अविस्मरणिय छ । तरपनि यस्ता ठूला हुन् या साना कम्पनिहरुले महिनामा लाखौं डलर कमाईरहेका हुन्छन् भने नेपालीको गरीबी भने जस्ताको तस्तै यथावत नै रहन्छ ।
आकासमा बादल भन्ने कहीं पनि देखिदैन । जताततै खुल्ला आकाशले जमिन छोएको देखिन्छ । फेरि यहाँ एकदम बाक्लो हुस्सु लागेजस्तो हुने गर्दछ । त्यसको कारण सबै हावाले उडाएर ल्याएको वालुवा हो । अर्थात गर्मी मौषममा जहिल्यै बालुवाको हुस्सु लाग्ने गर्दछ । घामको कुरै नगरौं विहान ७ बजे त बाहिरको तापक्रम ४२ डी. पुगेको हुन्छ भने दिउँसो एकैचोटी १० वटा घाम लागे जस्तो हुन्छ । त्यहिंमाथि हरियो बोटविरुवाको नाम निशान नै छैन । कहीँ कतै लाखौं खर्चेर हरियो बनाउनु अलग कुरा हो । बाहिरको तापक्रम ५० डी. पुग्नुभनेको यहाँ सामान्य मानिन्छ । नेपालमा ४० डी. पुग्दा त घरबाहिर निस्कन हम्मेहम्मे पर्थ्यो । नेपालमा अत्याधिक तापक्रम भनेको ४४ डी. भन्दा माथि तापक्रम पुगेको छैन जस्तो लाग्छ मलाई । अब आफै सोच्नुहोस् कि यहाँ कति गर्मी हुँदोरहेछ । त्यहीमाथि तातो हावा फुईंफुईं चलिरहेको । यस्तो घाममा पनि कामदारले म काममा जादिन भन्न पाउँदैन । उसले अनिवार्य जानैपर्छ । माटो खन्ने हो कि, गाह्रो उठाउनु पर्ने हो कि, अग्ला-अग्ला टावर बनाउनु पर्ने हो कि वा सडक बनाउनु पर्ने हो सम्बन्धित ठाउँमा नपुगी सुखै नपाउने । अरु कुरा त के भनौ खाना खाइरहेको अवस्थामा पनि खानै छोडेर काममा जानुपर्ने अर्को वाध्यता । चराहरु उड्दाउड्दै गर्मीले झरेर मर्छन् । हाम्रै कम्पनिको साथीहरुले बताए अनुसार त्यस्ता कार्यक्षेत्रमा नेपाली कामदारहरु पनि दैनिकरुपमा गर्मीले ढलिरहेका हुन्छन् रे ! बाहिर हिड्नु पर्दा पुरै शरिर ढाक्ने सेफ्टी कपडा, कालो चस्मा, हेल्मेट, जुत्ता आदि नलगाई त्यस्तो क्षेत्रमा काम गर्न सकिदैन । त्यस्ता सेफ्टी सामाग्रीहरु सम्बन्धित कम्पनिले नै दिए तापनि उक्त गर्मी छेक्ने कुनै उपाय हुदैन । हामीले पशुहाट सधैं देखेकै हो त्यहाँ जसरी पशु एकबाट अर्कोलाई बेचिन्छ त्यसैगरी यहाँ कामदारलाई एक कम्पनीबाट अर्को कम्पनीलाई अधिकतम मोल-मोलाईका साथ बेचिन्छ ।
यस्तो बेलामा कुनै कम्पनीले त समयमा तलब पनि दिदैन खाली खाने खर्चमात्र दिन्छ । कहिले त खाने खर्च पनि नदिदा साथीहरुसँग सापट मागेर किनेर खान्छन् । यस्तो दुःख पाइरहेको बेलामा उल्टै नेपालबाट फोन गरेर मलाई यति पैसा पठाइदे मैले यो गर्न पाइन, ऊ गर्न पाइन, यदि पैसा पठाउन सक्दैनस भने किन विदेशमा काम गर्छस् भनेर गाली गरिन्छ । यहाँ उसको मर्म बुझ्ने कोशिस नै हुदैन । यस्तो वेलामा उक्त कामदारले आफ्नो जिन्दगीबाट हार खाएको महशुस गर्छ र आत्महत्या पनि गर्न सक्छ । यसरी आत्महत्या गर्नेहरुमा पनि नेपाली नै बढी रहेका छन् । जिन्दगी देखि हारेको व्यक्तिलाई दैवले पनि हराउँछ भन्ने उक्ति यहाँ लागू हुन्छ । यहाँ लाखौं नेपाली साथीहरुको यस्तो हालत र दयनीय अवस्था देखेर मलाई ज्यौदै दुःख लोगेर आउँछ । मन रुन्छ मन अँध्यारो हुन्छ मन भक्कानिन्छ । अनि म आफैलाई फेरि सम्हाल्छु अनि चित्त बुझाउँछु । किनकी म एक्लैले उनीहरु सबैलाई के नै गर्न सक्छु र ?
के नेपालीहरु आफै स्वविवेकले विदेशमा बलिको बोको जस्तो निरीह बन्न लागेका हुन् त ? नेपालको ४० डी. को तापक्रममा काम गर्न नसक्ने नेपालीहरु विदेशमा ५० डी. भन्दा माथिको तापक्रममा काम गर्न कसरी तयार रहेका छन् ? के यस बारे नेपाल सरकारले कहिल्यै सोच पुर् यायो ? नेपालीहरु आफ्नो मातृभूमि छोडेर किन विदेशिदैछन् ? यस्ता कुरामा सरकारले कहिले ध्यान पुर् याउने ? वस, नेपाल सरकार यति मात्र जान्दछ कि यो वर्ष विदेशबाट यति रेमिटान्स भित्रियो, आउँदो वर्ष यति करोड रेमिट भित्रियो भने नेपाललाई यति फाइदा हुन्छ । के विदेशमा हरेक दुर्दशा खपेर अनि आफ्नो ज्यानको बाजी राखी जोखिमपूर्ण अवस्थामा काम गरी पठाएको रकमलाई नेपाल सरकारले सजिलै नाफामुलक भन्न कत्तिको सुहाउँछ ?
जहाँ घुस्याहा तथा भ्रष्टचारी नेताहरुले राजनीतिको नाममा सम्पूर्ण देशलाई नै अझ दुर्गतिमा फसाईरहेछन् । यो राजनीतिको खेल कहिलेसम्म खेल्ने हो ? के यहि दलदलमा भासिएको राजनीतिले नै नेपालमा विकासको बाटो अघि बढाउन सक्छ ? के यही राजनितिबाट नै नेपालका गरीबहरुले गरीबीबाट मुक्ति पाउँछन् ?राजनीतिको माचमा उभिएर मात्र नेपाललाई स्वीटजरल्याण्ड बनाउन सकिन्छ ? आफ्नो आङको भैसी नदेखेर अर्काको आङको जुम्रा देख्नु हाम्रा नेताहरुको कतिसम्मको खिचातानी हो ?
साउदीका अरबी बोस भनाउदाहरु केरला, इजिप्सियनहरुलाई ज्यादै विश्वास गर्दछन् र अफिसको मुख्य पदमा उनीहरुलाई नै राखिएका हुन्छन् । फेरी त्यो इजिप्सियनहरुले नेपालीहरु नगन्ने भएको हुँदा नेपालीहरुले धेरै मार खप्नु अर्को दुःख लाग्दो कुरा हो । इजिप्सियनहरुले अरबी बोसलाई जे पोल सुनायो त्यसैलाई सही मानेर नेपाली तथा अन्य कामदारहरुलाई जस्तोसुकै पनि सजाय दिन सक्छ । त्यसैले यहाँ आउने कामदारले इजिप्सियन, तुर्किस्तानी तथा पाकिस्तानीबाट ज्यादै सतर्क रहनुपर्छ । उनीहरु अलि सुलसुले, चिप्लुसे र सुराकी प्रकृतिका हुन्छन् ।
यहाँ साउदी अरबमा मुस्लीमहरुको बाहुल्यता भएको हुनाले यहाँ आउने सम्पुर्ण नागरिकले मुस्लीमको नियमलाई मान्नुपर्ने अर्को वाध्यता छ । यदि नियम उल्लंघन गरेमा ज्यादै खतरा दण्ड गर्दा रहेछन् । एउटा हाफपाइन्ट र सेण्डो लगाएर मात्र पनि बाटोमा हिड्न पाइदैन । पूरा कपडा लगाएर मात्र कोठा बाहिर निस्कनुपर्छ । यहाँका अरबी महिलाहरु प्रायः सबै नै घरभित्र सीमित रहन्छन् । बाहिर निस्कनु परेमा टाउको देखि पैतालासम्म ढाक्ने कालो कपडा (बुर्का) लगाएर मात्र निस्कन्छन् । उनीहरुलाई सम्बन्धित ठाउँ बाहेक अन्य व्यक्तिसँग बोल्ने अधिकार छैन । बाटोमा हिड्दा उनीहरुको आँखा देख्न पनि मुस्किल पर्छ सम्पूर्ण शरिर बुर्काले ढाकेको हुन्छ । केबल एउटा कालो ठूटो या मुर्कुटो जस्तो मात्र देखिन्छ । उनीहरु दिन या रात जतिखेर पनि यसै गरी हिड्छन् । घरमा आएका पाहुनासँग पनि उनीहरुले आफ्नो अनुहार लुकाउनै पर्छ । बाटोमा हिड्दा कुनै पुरुषलाई देखे भने उनीहरु तर्किएर हिड्छन् र पुरुषले पनि तर्किएर हिड्नुपर्छ । नेपालको जस्तो पुरुषले महिलालाई सीधै आँखामा आँखा जुधाएर एकहोरो हेर्न समेत पाइदैन । अफिस या सार्वजनिक संघ संस्थामा कार्यरत महिलाहरुले भने चाहीं अनुहार मात्र देखाई अन्य सम्पूर्ण शरिर बुर्काले ढाकेको हुन्छ । नेपालमा जस्तो फेशन शो गर्न यहाँका महिलामा पूर्ण बन्देज छ । पसलमा जाँड रक्सी वियर तथा अल्कोहलजन्य पदार्थ बेचविखन गर्न पुर्णरुपमा मनाही छ । देह व्यापारको त कुरै छाडौं यहाँ कसैले परपुरुषगमन तथा परस्त्रीगमनको कल्पनासम्म पनि गर्न पाउदैन । त्यसैले अति कूलतमा लागेको नेपालीलाई चाहीं सुधार्न यहु पठाउनु पर्ने रहेछ भन्ने पनि मलाई लाग्यो । किनकी यहाँ कसैले पनि आफ्नो मनोमानी गर्न पाउँदैन ।
यस्तो अवस्थामा नेपाली चेलीहरुको पीडा अझै दुःख लाग्दो र कारुणीक छ । साउदीमा नेपाली चेलीहरुलाई पठाउन नेपाल सरकारले बन्देज गरेको कुरा बाहिरी प्रचारमा मात्र सीमित छ । विदेशी रेमिटान्सको लोभमा सरकार पक्षकै दलालबाट अनेक बहाना बनाई साउदी तथा अन्य मुलुकहरुमा खुलेआम पठाउने दलालहरुको कुनै कमि छैन नेपालमा । साउदीमा पुरुष कामदारहरुलाई मात्र बाहिरको काममा पठाउने र महिला कामदारहरुलाई घरभित्र बन्दि बनाएर राखिन्छ । अनि उक्त चेलीमाथि आफ्नो मोजमस्ती गर्छ । यस्तो दयनीय अवस्था देख्ने र भोग्ने स्वयं उनीहरुमात्र हुन्छन् । किनकी बाहिर उसको कुनै सुनुवाई हुदैन । अरबी महिलाहरुको इज्जत जोगाउने बहानामा हरेक नेपाली चेलीहरुको अस्मिता लुट्नु, उनीहरुको जीवन बर्बाद पार्नु साउदीहरुको दैनिकी नै हो । जहाँ निरञ्कुशताभित्र लादिएको नियममा हरेक नेपालीहरु निरीह बन्नुको अर्को विकल्प छैन । के नेपाल सरकार यस्ता विषय प्रति कहिल्यै चनाखो भएको छ ?
हो ! कहिलेकाहीँ यस्ता विविध कुराहरुको विषयवस्तु बनाएर समाधान गर्ने हेतुले सरकार पक्षबाट विदेश भ्रमणमा गएका पनि छन् । तर उनीहरु विदेशको वैज्ञानिक आविष्कारहरुले भरिभराउ भएका हरेक चिजहरु देखि मख्ख पर्ने र आफूसँगै आएको विषयवस्तु विर्सिएर रित्तै फर्कन्छन् । किनकी विदेशका यस्ता विविध वैज्ञानिक प्रविधि तथा आविष्कारका सामाग्रीहरुले नेपाली प्रतिनिधीको मन त्यसै नै भुलाईदिन्छ । अनि कसरी हुन्छ समस्याको समाधान ?
यी सबै सम्झदा मनभित्र रिसको आगो बलेर आउँछ जुन आगोले सम्पूर्ण भ्रष्टचारीहरुलाई खतम पारौं र हाम्रो प्रकृतिको धनी देशलाई सधैंभरी शुसाशन सत्मार्ग र अनुशासनको बाटोमा लगाऔं । देशका हरेक नागरिकलाई स्वरोजगारको अवस्था श्रृजना गरौं, आत्मनिर्भर तथा आत्मस्ववलम्वन बनौं सबैलाई बाँच्न पाउने अधिकार प्रदान गरौं अर्थात सम्पूर्ण नेपालीले आफूले पाउने नागरिक शैक्षिक, साँस्कृतिक तथा नैतिक अधिकार पाउन् जसले गर्दा आफ्नो देश संसारभरि चिनाउन पाऔं ।
तर यहाँ खाडी देशको यो मरुभूमिको ठाउँमा यस्ता कुराहरु सम्झेर आफूभित्रको आगो दन्काउनु यहाँ आउने सम्पूर्ण कामदारहरुमा सामान्य कुरा हो । किनकी यस्तो देशमा बसेर नेपालमा कुनै परिवर्तन गर्न सकिदैन । बल्ल-बल्ल आफ्नो करार अवधि सकेर आफ्नो मातृभूमि फर्की केही उद्यमशिल कार्यमा लागौं भन्ने उद्देश्यमा लागेका व्यक्तिहरु पनि आफ्नै देशभित्रको हत्या, हिंसा तथा अपहरणको शिकारमा परेर ज्यान गुमाइरहेका छन् । एउटा स्वच्छ र सभ्य नागरिक, एउटा कर्मठ उद्यमी तथा स्वाभिमानी नेपाली देख्नै नहुने भएको छ नेपालमा । त्यसैगरी अरुको भलाईमा लागेको व्यक्ति पनि कसैको आँखाको तगारो बनिरहेको हुन्छ अनि ऊ चाँडै नै मृत्युको मुखमा पुग्छ । के एउटा नेपालीले आफ्नो देशमा बसेर जीवन निर्वाह गर्न नपाउनु ? के नेपालीले सभ्य इमान्दारी र उद्यमी नागरिक बन्नै नपाउनु ? अब यसरी नै अघि बढ्दै जाने हो भने न्यायपूर्ण समाज यसरी नै बन्छ त ? यसरी सोच्ने हो भने हरेक नेपालीले म नेपालको नागरिक हुँ र म नेपालमा नै जीवन विताउन चाहन्छु भन्न सक्ला ?
यस्तो अवस्थामा नेपाल फर्केर केही गर्न खोज्दा वा कुनै उद्यमशिल कार्य लाग्न खोज्दा सरकारपक्षबाट सुरक्षाको कुनै सहयोग नपाउनु अर्को दुःखको कुरा हो । के नेपालका राजनीतिज्ञले जनताको हितका लागि गरेको काम यहि हो ? जसले गर्दा हामी हरेक नेपालीले जानी जानीकन यस्तो खाडी क्षेत्रमा बलीको बोको जस्तो हुनु परेको कुरा छर्लङ्ग छ ।
हामी नेपाली कामदारहरुमा पनि एउटा कमजोरी छ । जो बेरोजगार भएको छ, जो अशिक्षित छ, जो शिप विहिन छ, तिनीहरुले यस्तो दुःख बढीमात्रामा पाएको हुन्छ । हुन त विदेश पलायन हुनुमा हामी नेपालीको गरीबीको कारणलाई पनि म पहिलो प्राथमिकता दिन्छु । त्यसैले म यो सल्लाह दिन्छु कि नेपालबाट यहाँ रोजगारीमा आउने साथीहरुले जहिले पनि आफ्नो योग्यता शिपलाई निखारपन ल्याउनु जरुरी छ । योग्यता शिप तथा कुनैपनि काममा दक्ष नभएको व्यक्तिले यहाँ ज्यादै नै दुःख पाउँछ । त्यहीं माथि यहाँका जस्ता मानव सप्लाई कम्पनिमा पर्ने हो भने माथिल्लो पदका मान्छेहरुले पनि दुःख पाउँदैन भन्न सक्दैन । सप्लाई कम्पनी हो कि होइन भनी बुझ्नको लागि कम्पनीको नाउँ पछाडी General Contracting Est. लेखिएको हुन्छ र यस्ता कम्पनीहरुले नेपालबाट भारी संख्यामा कामदार मगाउने गर्दछन् ।
मानिसको जन्म लिएर मानिसकै जस्तो व्यवहार गर्नुपर्छ भन्ने हाम्रो सिद्धान्त हो । हरेक मानिसले बाहिर दार्शनिक तथा आदर्शको कुरा गरेर भित्र भित्रै षडयन्त्र बुनिरहेको हुन्छन् । यस्ता व्यक्तिहरु देखि सबैले सतर्क हुनुपर्दंछ । आफ्नो परिवार, नाता, गाउँ, समाज, संस्कृति तथा सभ्यतालाई पैतालामुनि कुल्चिएर पैसालाई मात्र ठूलो देख्ने मानिसहरुको पनि कमि छैन । त्यसैले यस्ता व्यक्तिहरुदेखि पनि सबैले सतर्क रहनुपर्छ । समाजमा आपसी सहयोगको भावनाका साथ बाँच्नु नै हाम्रो कर्तव्य तथा धर्म हो र यसैलाई स्वर्ग मान्नुपर्दछ भन्ने मलाई लाग्दछ ।
अन्त्यमा स्वदेशी वा विदेशी मानव दलालहरुबाट सावधान ……………………………
हालः साउदी अरब
No comments:
Post a Comment
- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।