- सन्तोष पोखरेल
सर्वोच्च शिखर सगरमाथादेखि समुन्द्री सतह (समिट टु सि) सम्म प्याराग्लाइडिङमा उडेर किर्तिमान राखेका पाइलट सानोबाबु सुनुवार अफ्रिकी महादेशको सबैभन्दा अग्लो चुली किलिमन्जरोबाट उड्ने तयारीमा छन्। आगामी फेबु्रअरी ६ मा त्यहाँबाट उड्न उनी बुधबार त्यसतर्फ प्रस्थान गरे।
तान्जानीयामा अवस्थित किलिमञ्जरो ५ हजार ८ सय ९५ मिटर अग्लो छ। उक्त चुचुरोबाट प्याराग्लाइडिङबाट समुन्द्री सतहसम्म उडान गर्न विश्वव्यापी रुपमा सुनुवार छनोट भएका हुन्। प्रतिश्पर्धाका लागि हजारौ पाइलटले आवेदन दिएका थिए। प्रतिश्पधार्मा विश्वका करिब २ सय सहभागि मध्ये ६ जनामात्र टेण्डम पाइलट छानिएका छन्। सुनुवारले टेण्डम उडान गर्नेछन्। आफूले हलिउडका चर्चित कलाकारलाई लिएर उड्ने उनले बताए। आफ्नो सहभागिताले नेपाललाई विश्वमा थप परिचित गराउने उनले बताए।
विङगस् अफ किलिमन्जरो एक्सपिडिसनको आयोजनामा उक्त चुचुरोमा पहिलोपटक हुन लागेको यो स्पर्धाका लागि सुनुवारले पोखराबाटै अनलाइन फारम भरेका थिए। उक्त चुचुरोबाट प्याराग्लाइडिङ उडान गर्न पहिलोपटक त्यहाँको सरकारले स्विकृति दिएको उनले बताए। यसअघि नेशनल ज्योग्राफिक च्यानलले सुनुवारसहित लाक्पा छिरी शेर्पालाई २०१२ को 'वर्षका साहसिक व्यक्ति' उपाधि दिएको थियो। सुनुवार र शेर्पाले डेढ वर्षअघि सगरमाथाको चुचुरोबाट प्याराग्लाइडिङमा उडेर समुन्द्री सतह छोएका थिए।
'समिट टु सी' नाम दिइएको उक्त यात्रा 'सर्वोच्च शिखर सगरमाथादेखि समुद्री सतहको जिरो लेभल' सम्म थियो। 'साहसिक व्यक्तिको उपाधि पाएकाले पनि मलाई यसमा छनोट गरिएको हुनसक्छ' सुनुवारले भने, 'सगरमाथाबाट गरेको उडानले मलाई धेरै साहसिक पाइलटका रुपमा चिनाएको छ।' उनी पोखराको ब्लुस्काई प्याराग्लाइडिङ कम्पनिमा आवद्ध छन्। अफ्रिकाको उक्त स्पर्धामा भाग्यले साथ दिए सफल हुने उनले बताए। 'अरु प्रतिश्पर्धिले एकमहिना अघिदेखि नै त्यहा पुगेर तयारी गरेका छन्, तर म अन्तिम समयमा जाँदैछु, सकेको प्रयास गर्नेछु', उनले भने।
सुनुवार विश्वमै साहसिक मानिएको रेडबुल एक्स आल्पसको छनोट चरणमा परेका पाइलट हुन्। प्याराग्लाइडिङमा उडेर, दौडेर र हिँडेर गरिने स्पर्धाको २०१३ को संस्करणका लागि उनी विश्वका हजारौं पाइलटबिच छानिएका हुन्। यूरोपका सबैभन्दा अग्ला डाँडा, झाडी, नदी पार गर्दै गरिने यो प्रतिश्पर्धा निकै जोखिम र चुनौतीपूर्ण मानिन्छ।
- नागरिकबाट
No comments:
Post a Comment
- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।