साउदीमा ३३ नेपालीले सम्झौता अनुसारको तलब पाएनन्

- विष्णु प्रसाद चापागाई, दमाम 
२३ पौष । साउदी अरबको यान्बुमा कार्यरत ६८ नेपालीहरुको खबर सेलाउन नपाउँदै फेरि अर्को समस्या देखिएको छ । रियाद स्थित एलसेफ इञ्जिनियरिङ कन्ट्रयाक्टिङ कम्पनीमा कार्यरत ३३ जना नेपाली कामदारहरुले साउदी प्रवेश गरेकै मितिदेखि करारनामा अनुसारको तलब पाउन सकेका छैनन् । 

आठ महिना अघि बानेश्वरस्थित डेस्टिनी प्लेसमेन्ट सर्भिसेजबाट आएका यी कामदारहरुलाई शुरुको डेढ महिनासम्म ९०० दिने र त्यसपछिका दिनहरुमा कार्यदक्षता अनुसार साउदी रियाल १५०० सम्म दिने सहमति थियो । तर पाइप फिटर, स्कापफोल्डर ,कार्पेन्टर, ड्राइभर जस्ता योग्यता अनुसारकै काम गरेपनि कामदारहरुमध्यै कसैले पनि सम्झौता बमोजिम भनिएको तलब नपाएको जानकारी पीडितहरूमध्येकै कञ्चनपुर पुनर्बासका हरि खडकाले दिनुभएको छ । उहाँका अनुसार शुरूको ४५ दिनसम्म सा.रि. ७५० + १५० र त्यसपछि दक्षता(जब क्याटेगोरी) अनुसार १,००० देखि १,५०० साउदी रियाल तलब दिने सम्झौता थियो ।
 
डेस्टिनी प्लेसमेन्टका नेपाली एजेन्ट रियादमै रहेको र म्यानपावर कम्पनीको कडा निर्देशन बमोजिम आ-आफ्नो सम्झौता पत्र लगायतका सबै कागजातहरू रहेको बन्द खाम सबैजनाले आउने बित्तिकै रोजगारदाता कम्पनीलाई बुझाएको भए तापनि उनीहरुको गुनासो प्रति अहिलेसम्म कुनै सुनुवाई भएको छैन । रोजगारदाता कम्पनी रियादमै भएतापनि अहिले उनीहरु झण्डै १४सय किलोमिटर टाढा राबिक नजिकैको साबर भन्ने ठाउँमा कार्यरत छन् । 

 रोजगारदाता कम्पनी र म्यानपावर कम्पनीसंग बारम्बार गुनासो पोखिरहंदा पनि भनिएको तलब पाउन नसकेपछि करीब ५ जना कामदारहरू बाद्य भएर भागिसकेका छन् भने अरू केहीले भने राजिनामा दिएर घर जानका लागि काम छोडेर बसेको अवस्था छ तर कम्पनी घर पठाउन पनि तयार छैन । स्थानीय एजेन्ट जित बहादुर खडकाका अनुसार यही जनवरी महिनादेखि दक्षता अनुसारको तलब दिइनेछ । यस्तो आश्सासन बिगत ५-६ महिनादेखि निरन्तर दिइदै आएको तर पूरा नभएकोले कामदारहरूको आशा र बिश्वास दुबै टुटिसकेको अवस्था छ । 

 यो दुःखदायी खबर प्राप्त हुनेवित्तिकै एनआरएनए साउदी अरबले पीडित कामदारहरूलाई नभाग्न, काम नछोड्न तथा अन्य बिरोध या हडताल नगरी संयमतापूर्बक नेपाली राजदूतावासको बिशेष पहलकदमीमा दिलाइने न्याय र सुविधाको प्रतिक्षामा बस्न सल्लाह दिदै समस्या समाधानका लागि आजै दूतावासमा पत्राचार गरिसकेको छ ।

No comments:

Post a Comment

- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।