- दुर्गा खनाल रियाद, साउदी अरब
बैदेशिक रोजगारमा हामी बैदेशिक रोजगार सम्बन्धि बिज्ञापन र त्यसको असर प्रति लेख्ने जमर्को गर्दैछु । बैदेशिक रोजगारको बारेमा धेरै ब्याख्या र भूमिका बांधिरहनु नपर्ला किनकि बैदेशिक रोजगारमा आज प्रत्येक गाउँमा कोहि न कोही युबा युबती गएकै छन् । विश्वमा भारत बाहेक नै झण्डै ३० लाख नेपालीहरु छरिएर रहेका छौ भने २० लाख जति त मलेशिया र मध्यपूर्बमा नै छौं । हाम्रो देशको अर्थतन्त्र पनि बैदेशिक रोजगारमा गएका युबा युबतिको कमाइबाट पठाइएको बैदेशिक मुद्रा बाटनै चलेको छ भन्दा खासै फरक पर्दैन । किन की यो यथार्थ पनि हो ।
खस्कदै गएको अर्थतन्त्रलाई आज बैदेशिक रोजगारले टेवा दिदै आएको छ । बैदेशिक रोजगारलाई आज ठग र दलालहरुले आफ्नु ठगि खाने भाडो नै बनाएका छन् रोजगार दिलाउने नाममा । आजको आधुनिक समाजमा बिज्ञापन गरिएका कमसल सामानको बिक्रि बढ्दै गएको छ । बोल्ने को पिठो बिक्छ नबोल्ने को चामल पनी बिक्दैन भने झैँ भएको छ आज । थोरै समयमा नेपाल सुचना प्रविधिमा धेरै अगाडी बढ्दै गयो र समाजमा परिवर्तन ल्याउन सफल त भयो तर कतै कतै सदुपयोग नभएको हो या सदुपयोग गर्न नजानेर हो भन्ने कुरामै प्रश्नहरु छन् ।
आज घर घर मा इन्टरनेट प्रयोग हुने मोबाइल र ल्यापटप छन् । गाउ घरमै बसेर संसारका कुना कुनामा भएका खबर पढ्न पाइन्छ र गाउका खबर संसार भर बाँड्न सकिन्छ । समाजलाई सुसुचित पार्ने समाचार र बिज्ञापन दिएर समाजमा ख्याती कमाएका संचार जगतले बैदेशिक रोजगारको बारेमा समाचार लेख्न भुलेको हो या ती समाचार र बिज्ञापन लेख्दा बजाउदा शुल्क नपाएर हो की ? थोरै स्थान सम्म दिएको पनी पाउन कठिन छ ।
प्रसङ्ग बैदेशिक रोजगारसँग सम्बन्धित बिज्ञापनको हो । नेपाली पत्रपत्रिका र ध्वनि माध्यमबाट बैदेशिक रोजगारको बारेमा धेरै बिज्ञापन बजिरहेछन्, छापिई रहेछन । बिज्ञापनमा भनिएको हुन्छ “ विदेश जानलाई —- —मेनपावरमा सम्पर्क गर्नुहोस् ……—भिषा उपलब्ध छ ….अन्तर्वार्ता धमाधम हुदैछ ……फलाना फलाना पोस्टमा आकर्षक तलब सहित ओ टि र खान बस्न सहित को सुबिधा छ ……चाडो गर्नुस् ….”””” भन्ने संदेश बोकेका लोभ लाग्दा बिज्ञापन बजिरहन्छन् । ति बिज्ञापन सुनेर, पढेर बेरोजगार युबा युबतीहरु दैनिक हजारौंको संख्यामा विदेश जादैछन् र देश को श्रम पलायन हुदैछ ।
ति बिज्ञापनमा भने जस्तै काम र तलब सुबिधा विदेश पुगेपछि थोरैले मात्र पाउने गरेका छन् । धेरै समय काम गर्नु पर्ने , थोरै तलब त सामान्य भए, कामको दाम नै नपाउने, ऋण तिर्न नै कठिन र धौ धौ पर्ने, मानसिक र शारीरिक यातना खप्नु पर्ने ( बिशेषतः महिलाहरुको हकमा हुने दर्दनाक यथार्थ कथा/ब्यथाहरु ) जस्ता कुराको बारेमा खासै समाचार बन्ने गरेको पाइदैन स्थानीय क्षेत्रका नेपाली समाचारहरुमा जो सधैं घर दैलोमा पुग्ने माध्यम हुन् । विदेशमा बसेका नेपालीहरुले मिलेर ब्लग र वेबसाइट मार्फत बिदेशमा घट्ने पीडाहरु लेख्दै आएता पनि ति पीडाका अवाजहरु, अक्षरहरु गाउँघरसम्म पुर्याउन अझै सकिएको छैन । नेपाली संचार माध्यमहरुले समाचार नै नपाएका हुन या पीडितका अवाज नै नसुनेका हुन् त्यो पाटोमा बुद्धिजिबीहरुले नै सोच्नुपर्ने भएको छ ।
विदेशमा घटेका पिडादायी घटानाहरुलाई स्थानीय समाचार माध्यमहरुले गाउँघरसम्म पुर्याउनु र समाजमा सुसुचित पार्नु आजको आवश्यकता पनी हो । बिज्ञापन छापे, बजाए बापत एफ एम र पत्रपत्रिकाहरुले आम्दानी त गरेका होलान तर लाखौ रकम खर्च गरेर विदेश गएका युबा युबतीहरुको बारेमा त समाचार लेखिदो या बज्दो रहेनछ नी स्थानीय नेपाली संचार माध्यम र पत्रपत्रिकामा किन होला ? धेरै युबाहरु मलेशिया तथा खाडीमुलुक लगायत अन्य मुलुकमा बिचल्ली अवस्थामा छन् । बिना तलब काम गरिरहेका छन । जेलमा छन । घर फर्कन पाएका छैनन् । यस्ता कुराको बारेमा एफ एम स्टेसन र पत्रिकाहरुको समाचार कक्षसम्म समाचार नै नपुगेको हो त ?
हुनत पीडा लेख्दा र बजाउंदा बजे, लेखे बापतको शुल्क कतैबाट नपाइएला तर पनि समाजलाई ति पीडाको बारेमा जानकारी दिनु पर्ने हैन र ? जसरि आज विदेश जान यति र उति तलब, भिषा, कामदारको संख्या भन्दै विदेश जान उक्साउने बिज्ञापन लेखिन्छ, बजाइन्छ, त्यसैगरी ति युवाजमातले विदेश पुगेपछि भोग्ने पीडा र ब्यथाहरुको बारेमा पनी समाचार गाउ घर सम्म दिन सके बैदेशिक रोजगारको बारेमा गाउँ गाउँमा चेतना पुग्ने थियो की ?!
आज विदेशमा कति युबा बिचल्लीमा छन् । जेल मा छन् । खाडीमुलुकमा कति बिचल्ली मा छन् भनेर बेला बेलामा नामुद पत्रिकाहरुले लेखेपनि ति नामुद पत्रिकाहरुको पहुच सिमित शहरी क्षेत्रमा मात्रै छ र गाउँघर सम्म पुग्ने त स्थानीय पत्रिका र एफ एम रेडियोहरु नै हुन् । तर ति स्थानीय माध्यमहरु ले खासै चासो राखेर बैदेशिक रोजगारको समाचारलाई स्थान दिएजस्तो लाग्दैन । साउदी अरबमा आज धेरै नेपाली गैर कानुनी रुपमा कार्यरत छन् । किन र कसरि गैरकानुनी रुपमा काम गर्दैछन भनेर समाचार बन्नुपर्ने हो स्थानीय समाचारहरुमा ।
नेपाली दुतावासको आश्रय स्थल मा बसेका पीडित नेपाली महिलाहरुको बारेमा स्थानीय नेपाली पत्रपत्रिकाहरुमा स्थान छैन । किन स्थान नभएको हो ? सुचना नपाएरै हो या समाचार संकलन गर्न समस्या भएको हो ? जसरि विदेश जान भनेर पत्रपत्रिकामा बिज्ञापन लेखिन्छ, बजाइन्छ, त्यसरी नै बिदेशमा पुगेका नेपालीहरुको पीडा संकलन गरेर बेरोजगार युबा जमात र गाउंघरमा बेलैमा सुसुचित गर्ने प्रयास हामीसबैबाट हुनसके नेपालीहरुले बिदेशमा पुगेर ठगिनु र बिचल्ली हुनुपर्ने त थिएन की !!!!
विदेशमा बिचल्ली परेका नेपाली दाजुभाई दिदीबहिनीहरुलाई बिदेशमा बसेका नेपालीहरुले विभिन्न संगठन खोलेर सहयोग गर्दै आएका छन् सम्बन्धित देशमा भएका नेपाली कुटनीतिक नियोगहरु सँग मिलेर । मेनपावर र स्थानीय एजेन्टहरुले भनेझै विदेश पुगेपछि त्यहाका रोजगारदाताहरुले तोकेको , भनिएको तलब सुविधा र भनेको करार अवधि सम्मनै काम दिन्छन् भनेर विस्वास गरिहाल्न कठिनाई छ । किनकि प्रमाण नै खोज्ने हो भने विदेशमा बसेर संचालन गरेका नेपाली अनलाइन खबरहरुलाई लिन सकिन्छ ।
नेपालबाट धेरै रकम लिएर श्रमगर्ने देशमा पठाउनु मात्र हैन की पठाएका कामदारहरुले करारनामा बमोजिम काम गर्दै छन् छैनन् , तलब सुबिधा र स्वास्थ्य सुबिधा पाएका छन् छैनन् भनेर जानकारी राख्नु पनी मेनपावर एजेन्सी र मिडियाकर्मीको दायित्व हुन आउँछ । केहि समयदेखि साउदी अरबमा नेपाली दुतावासले त्यहाँ रहेका नेपाली समुदाय र संगठनहरुबिच आपसी सम्पर्क, बिचार बिमर्श र सल्लाह गर्दै पीडित नेपालीहरुका पीडा सुन्दै आएको छ, उद्धारका प्रयासहरु पनी सफल हुदै आएका छन् ।
यसै कार्यलाइ गैर आवासीय नेपाली संघ साउदी अरब ले निरन्तरता र प्रमुख एजेन्डा बनाउदै आएको छ विभिन्न संघ सस्था र दुतावास सँग मिलेर । पीडित महिलाहरुको उद्धार कार्यको लागि सास्कृतिक कार्यक्रम आयोजना गरेर कोष खडा गरि कोष को बिधान बमोजिम पीडित महिलाको अवस्था हेरी दुतावासको सल्लाह बमोजिम नेपालसम्म जाने टिकटको व्यवस्था गरिरहेको छ । त्यसै गरि अन्य सस्था र संगठनहरुले र अन्य व्यक्तिहरुले व्यक्तिगत रुपमा पनी महिला तथा पुरुष कामदारहरुलाई उद्धारको प्रयास हुदै आइरहेको छ । यसो गर्दा घरको छानो चुहिदा बाल्टी थाप्ने काम मात्र भए पनी चुहिने घर को छानो टाल्न सकिएको छैन र सकिने पनी छैन ।
यस्ता उद्धारका प्रयासमा नेपाल सरकार र बैदेशिक रोजगार बिभाग को कुनै चासो भएको जस्तो पाइदैन जवकी यो र यस्ता काम गर्ने सरकारी निकायहरु रकम र राजस्व संकलन गर्ने काममै ब्यस्त छन् भन्दा फरक नहोला । विदेश जांदै गर्दा बाटोमा पर्ने व्यवधान र ठगि प्रसस्तै छन् । श्रम स्वीकृति गर्दा हुने झन्झट र जीवनबिमा गर्दा हुने लापर्बाई पनी त्यतिकै छन् । श्रम स्वीकृति लिने ठाउमा दलालहरुको बिगबिगी त्यतिकै छ । जसरि हुन्छ राजस्व संकलन गर्ने मात्र सरकारको उदेश्य हो या यो संकलन गरेको रकम सदुपयोग पनी हुन्छ ?
त्रिभुवन बिमानस्थलमा श्रम स्वीकृति हेर्ने कर्मचारीले मात्र कहाँ र कुन ठाउँ जाने भन्दै श्रम को स्टिकरमा स्ट्याम्प मात्र लगाउदै छन् । साउदी अरब आउन २१ वर्ष उमेर हुनुपर्ने मा ऐले नेपालीहरु १७ वर्ष पार गरेपछी नागरिकता र पासपोर्टमा जन्ममिति बढाउदै आउदै छन् । स्कुल र कलेज जाने उमेरका युबा आज धमाधम बिदेशिने र विदेश पुगेर ठगिने क्रम बढ्दो छ । यी युबाजगतलाई मन भड्काउने काम देशको राजनैतिक अवस्था र गाउँ गाउँमा फस्टाउदै गएका मेनपावर व्यवसायी नै हुन् ।
श्रमस्वीकृति बापत १००० रुपैया लियो अनि सरकार बेखबर !!!! विदेशमा बिचल्लीमा परेका नेपालीहरुको बारेमा सरकार मौन छ मात्र जीवन बिमा वापत ३५ बर्षमुनिका लाइ १८२५ लियो राजस्व संकलन गर्यो अनि चुपचाप ….. मध्यपूर्बका कति हस्पिटलमा ज्युदा र मरिसकेका शब छन् ति पनी त नेपालीकै हुन् नी खै त त्यो बिमाको रकम सदुपयोग भएको ? दैनिक बज्ने संचारमाध्यमबाट बैदेशिक रोजगारमा जान र सुनौलो भविश्य बनाउन बिज्ञापन दिने अनि ब्रमलुट अर्थात् धेरै रकम असुल्नेलाइ न कारबाई हुन्छ न छानविन हुन्छ, न सम्पति कर नै लगाइन्छ ।
विदेश मा काम गर्न जानेलाई पासपोर्ट बोकेर हिडेदेखिनै नेपालीहरुले नेपालीहरुलाई ठग्दै र ठगिदै जान्छन् र अन्त्यमा पनी ठगिन्छन् । विदेश जान आजभोलि सजिलो भएको छ तर जान जति सजिलो छ गए पछी काम पाउन र कमाउन कठिन छ । कमाएपछि जोगाउन पनी कठिन छ । जोगाएपछी नेपाल सम्म पुर्याउन पनि समस्यानै छन् । हुन्डीवालाहरुले ठग्ने चलन अझै छ। यी र यस्ता कुराहरुको पूर्व जानकारी समाजलाई दिन आवश्यक छ ।
हाल आएर नेपालमा खुलेका बित्तिय सस्थाहरुले सबै प्रकारका रेमिट्यान्स बाट पठाएका रकम भुक्तान त गर्दा रहेछन् तर ति बित्तिय सस्थामा रकम झिक्नजादा रकम पाउने ले अनिवार्य बचत खाता खोल्नुपर्ने नियम पनि बनाएका छन् जो सर्ब साधारणका लागि बुझाउन र स्विकार्न अझै समस्यानै छन् । अन्त्यमा –
- विदेशमा पुगेका नेपालीकामदारहरुले दुख किन पाउछन ?
- किन नेपालीकामदारहरु बिदेशमा गैरकानुनीरुपमा काम गर्दै छन् ?
- के, किन, कसरि र कस्कालागी नेपाली कामदारहरु ठगिन्छन ?
- आफु काम गर्न जाने देशको कानुनको बारेमा किन पूर्व जानकारी हुदैन ?
बिदेशमा पुगेर भोगेका पीडा र ति पीडाहरुबाट बिदेशमा जानलाई लाइनमा बसेर भिषा खोज्दै गरेका नेपालीहरुलाई के के कुराको बारेमा पूर्व जानकारी गराउने भन्ने बारेमा अग्रिम सुचना दिनु हामी सबैको कर्तब्य हो । सबैले कमाउँ, जोगाउँ र अरुलाई पनी सिकाउँ । ठगिनबाट बचौं, बचाउँ भन्ने संदेश गाउँ गाउँमा पुर्याउँ ।
साउदी अरबको श्रमिक समस्या समाधान को बारेमा गैर आवासीय नेपाली संघ साउदी अरब च्याप्टरले आफ्नु एजेन्डा को रुपमा लिंदै विभिन्न संघसस्था सँग परामर्स गर्दै दुतावासलाई प्रतिबेदन नै दिएको थियो र त्यो प्रतिबेदनलाई दुतावासले केहि हदसम्म लागू गर्ने प्रयास गर्दै आएको छ । त्यसैगरी अव हामीले हाम्रो एजेन्डामा बैदेशिक रोजगारमा भएका हुनेगरेका ठगी र पीडाका कथा अनि राम्रा परिणामहरुलाई गाउँ गाउँमा पुर्याउने बाटो खोज्नु र स्थानीय पत्रिका र एफ एम हरुसंग सहकार्य गर्दै बिदेशमा काम गर्न जाने युबा जमातलाई सुसुचित पार्नु पर्छ । त्यसको लागि सबैले बेलैमा सोच्नु पर्छ र सबैको सहयोग पाएमा पक्कै पनी त्यो सम्भव छ ।
समस्याको उद्दगम स्थल नेपाल को गाउँघर बाटै सुरु भएको हुंदा , समस्या निराकरण को लागि पनि अब हाम्रो वेबसाइटमा छापिने समाचारलाई गाउँ गाउँमा पुर्याउने प्रयासको बारेमा सबैले सोचौं र बैदेशिक रोजगारको बारेमा राम्रो र समाजलाई सुसुचित पार्ने बिज्ञापन दिन प्रयास गरौं नत्र बिदेशमा बिचल्लीमा परेका नेपालीहरुलाई सहयोग गर्ने योजनाहरु बालुवामा पानि लगाएझै हुनेछन् , पूर्ण समाधानको पाटोमा हामी पुग्ने छैनौ र हामीले दैनिक आफ्नो परिवारलाई दिने समय पीडित नेपाली को बारेमा सोचेर व्यर्थै समय खेर फालेको महसुस मात्र हुने छ । ” बेलैमा चेतना भया “।
{ अस्तु }
No comments:
Post a Comment
- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।