जेलभित्र सपनामै मृत्युदण्ड

- होम कार्की
संयुक्त अरब इमिरेट्स (यूएई) मा १२ वर्षदेखि मृत्युदण्डको सजाय भोगिरहेका धारी-५, दार्चुलाका ३४ वर्षीय अमरबहादुर बमको जीवन रक्षा गर्न सरकारले गम्भीर रूपमा पहल गरेको छैन । जनवरी २५, २००३ मा भारतीय सरद सेट्ठीको हत्या प्रकरणमा संलग्नता देखिएको भन्दै स्थानीय अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको थियो । पक्राउ पर्नेहरूमा भारतीय नागरिकहरू मनोज मुदाना, करनसिंह राजपुत, स्मिथ कुलत बनवारी र अमर थिए । मनोज र नरसिंहलाई गोली हानेको, अमरलाई कार हाँकेर भागेको र वनबारीलाई हतियार उपलब्ध गराएको आरोप छ । उनीहरूमध्ये मनोज, करन र अमरलाई मृत्युदण्ड दिने दुबई अदालतले फैसला सुनाएको थियो ।

बमले दुई वर्षअघि यूएईस्थित तत्कालीन राजदूत अर्जुनबहादुर थापासमक्ष आफू निर्दोष रहेकाले जीवन रक्षाका लागि पहल थाल्न निवेदन दिएका थिए । उनले माथिल्लो अदालतमा बहस भए आफू निर्दोष सावित हुने बताए पनि सरकारले यसबारे प्रक्रियासमेत अगाडि बढाएको छैन । दुबईस्थित अल अबिर जेलमा सजाय पाइरहेका बमलाई उनका गाउँले राजेन्द्र कुँवरले भेटेर शुक्रबार स्वदेश फर्के ।

बमले भनेको आफ्नो पीडा राजेन्द्रले यसरी सुनाए । 'हामीलाई देख्नेबित्तिकै अमरको आँखा आँसुले भरिएको थियो । बोल्न सकेनन् । निकैबेर हाम्रो हातमात्रै समातिरहे । केहीबेर पछि बुबा कर्णबहादुर र श्रीमती धनमतीको हालखबर सोधे । 'बुबाको शरीर कस्तो भयो ? धनमती झन् कस्ती भइहोली ?,' उनी एकएक गरी अर्को प्रश्न गर्न थाले, 'गाउँ कस्तो भयो ? खलंगामा गाडी पुग्यो ? मलाई गाउँमा अपराधी भन्छन् कि निर्दोष ?' उनी आफ्नो कारणले सबैले दुःखसास्ती र तनाव पाएकामा निकै चिन्तित देखिन्थे ।

'मलाई मृत्युदण्ड दिइहाले, निर्दोष रहेको गाउँले, आफन्तले बुझिदिए हुन्थ्यो भन्ने लाग्छ,' उनले बिस्तारै आफू यो परिबन्दमा परेको विवरण सुनाउन थाले, 'गाडी चलाउने काम लगाइदिन्छु भन्दै दिल्लीबाट मनोज मुदाना, करनसिंह राजपुतले सँगै लिएर आए । उनी के गर्थे भन्ने केही थाहा थिएन । आउने बित्तिकै मेरो हातमा लाइसेन्स राखिदिए ।' पाँचौं दिन दुबईको इन्डियन सोसियल क्लबमा गएको विवरण राख्दै भने, 'राति ८ बजेतिर उनीहरू भित्र गए । म गाडीमा थिएँ । त्यसको केहीबेरमै उनीहरू आए । मलाई गाडी अलि छिट्टै चलाउन लगाउँदै होटलमा लगे । त्यहाँ ४ दिन बाहिर जान नदिई राखे ।'

पाँचौं दिन सिरिया जाने भनेर दुबईको पानी जहाजमा लगेको केही समयमा प्रहरी आएर पक्राउ गर्‍यो । 'त्यतिखेर मात्रै थाहा पाएँ कि उनीहरूले हत्या गरेका रहेछन् । जसमा मेरो पनि संलग्नता छ भनेर प्रहरीले अभियोग लगायो,' उनले भने । प्रहरीले हत्यामा संलग्न भएको बयान दिन धेरै शारीरिक/मानसिक यातना दिएको रहेछ । 'उनीहरूको यातनाको अगाडि झुक्न बाध्य भएँ । त्यसपछि अदालतमा पेस गरियो । अदालतमा भाषाको समस्याले केही बोल्न सकिनँ । अनि मृत्युदण्डको सजाय पाएँ', उनले रुँदै सुनाए ।

अमरलाई दुई भारतीय नागरिकपछि मात्रै तेस्रो नम्बरमा मृत्युदण्ड दिने अदालतको फैसला छ । भारतीय सरकारको दबाबले अहिलेसम्म कसैलाई मृत्युदण्डको सजाय कार्यान्वयन नगरेको पाइयो । अहिले हत्यामा संलग्न दुई भारतीयले अमरको संलग्न नरहेको भन्दै माफी दिन अदालतलाई पत्र लेखेका छन् । 'हुन त हजारौं पटक मरिसकेको छु ।
कान्तिपुरबाट

No comments:

Post a Comment

- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।