जादुगरी डण्डा

- कृष्ण बजगाईं
एक जादुगरको जादुगरीको प्रशंसा निकै फैलियो । उनी गाउँ-घरमा मात्र सिमित नरहेर अब शहर बजारमा पनि चर्चित हुन थाले । टेलिभिजनको पर्दा होस वा रेडियो या अखवारमा उनको बारेमा निकै महत्व दिएर समाचार आउन थाल्यो ।

यो कुरा त्यस राज्यका राजाले थाहा पाए । जादुगरलाई आफ्नै दरवारमा बोलाएर उनको कला हेर्ने रुची जाग्यो । बोलेर मानिसहरुलाई लट्ठ पार्न सक्ने वाक्कला र वाक् चातुर्यता देखेर राजा छक्क परे । अझ एउटा जादुको छडीले आश्चर्यजनक काम गर्न सक्ने उनको कला प्रति राजा नतमस्तक भए ।
त्यसपछि आफ्ना प्रजाका सम्पूर्ण समस्या समाधान गर्न उनलाई मन्त्री बनाए । राजाको यस्तो गुन बापत उनले आफ्नो जादुको छडी राजाको पाउमा समर्पण गरे । त्यसलाई राजाले राजदण्डको रुपमा प्रयोग गरे ।

जादुगर मन्त्री हुँदैमा सम्पूर्ण समस्या समाधान हुने कुरै थिएन । जादुगरी त उनको कला मात्र थियो । जसका माध्यमले आफ्नो पेट पाल्दथे । जनताका समस्या यथावत रहे । बिभिन्न तह र तप्का जनताहरु आफ्नो मागहरु पुरा गरियोस भन्दै दिनहुँ बिरोध जुलुस तथा सभा गर्न थाले । जनताका यस्ता माग देखेर मन्त्री चिन्तित भए । अनि जनताका सम्पूर्ण समस्या समाधान गर्न उनले पुलिसलाई डण्डा दिएर पठाए ।

बाजेको सेकुवा

पिँडालु पण्डित
लाटो र सोझोको एउटै अर्थ लाग्छ भने म त्यही एउटै अर्थ लाग्ने मान्छे । त्यसो नभएर लाटो र सोझोको अलगअलग अर्थ लाग्छ भने म त्यही अलगअलग अर्थ लाग्ने मान्छे । प्रस्टसँग भत्रु पर्दा म लाटो पनि सोझो पनि । त्यसैले सोझो कुरा जान्दिन, बाङ्गो कुरा मान्दिन । अनि यसैमा महाभारत । न कसैको साथ लिएर हुन्छ, न कसैलाई हात दिएर हुन्छ । अनि परेन फसाद ! सधैँ लाटाको लाटै सोझाको सोझै । यस्तो प्रसङ्ग कसरी आयो भनेर तपाईँ अलमलिनु होला । अर्थ न बर्थको कुरो एकैचोटि कोट्ट्याएपछि नअलमलिनु पनि किन ? स्वाभाविकै हो, जो पनि अलमलिन्छ ।

कुरो के भने नि टाकटुक यसोउसो बोल्दाबोल्दै पनि मलाई धेरैले ‘यो मान्छे लाटो छ’ भनेको आफ्नै कानले सुनेको छु । त्यस्तै कसैले सोझो त कसैले हुती नभएको भत्र पनि भ्याएका छन् । तर मैले यसलाई अन्यथा लिएको छैन । अगाडि आइपुगेको दुनु आफूतिर सोझ्याउन नसकेपछि यस्ता उपाधि कति पाइन्छन् कति । सुनेर सुनिने भए म यतिखेर धौलागिरीभन्दा मोटो भइसक्थेँ, तर सुनेको जति उडाइदिने भएकाले आजका मितिसम्म जस्ताको तस्तै छु । लुखुरलुखुर हिँडिरहेकै छु । आफ्नै पेट चाउरिनेबाहेक लाटो र सोझो हुनुले अरुको बिमाख त्यत्तिविधि हुँदो रहेनछ । त्यसो भनेर तपाईं पनि लाटो वा सोझो हुने कसरतमा लाग्नु होला । तर झुक्किएर पनि त्यस्तो नगर्नुस् । यदि त्यस्तो कसरतमा लाग्न थाल्नु भयो भने परचक्रीले केही नगरे पनि घरचक्रीले तपाईंलाई बसिखान दिँदैनन् । अनि परेन फसाद ! चौबीस घन्टाको दिनरातमा छब्बीस घन्टाको चिन्ता । हुन पनि हो नि चलनचल्ती अनुसार चलेर धमिलोमा धकेलिन नसकेपछि यस्तो चिन्ताको ठेकदार अरु कोही खोज्नै पर्दैन । बिनाप्रतिस्पर्धा सधैँ आफ्नै हातमा डाडुपन्यू ।

मेरो आनीबानी मात्र होइन स्वभाव पनि त्यस्तै छ । पैसालाई ‘अर्थ’ र मिनिङलाई ‘माने’ बुझ्न थालेपछि यस्तो नहुनु पनि किन ? ‘नेपाल’ माने ‘नेपाल’, ‘अमेरिका’ माने ‘अमेरिका’, ‘फ्रान्स’ माने ‘फ्रान्स’ भनेर एकोहोरो पढिराखेका बेलामा ‘इन्डिया’ माने ‘भारत’ भनेर पढ्न पर्नेबित्तिकै म अलमलिन्छु । ‘भारत’ माने ‘भारत’ किन भएन ? ‘नेपाल’ माने ‘नेपाल’ हुने ‘इन्डिया’ माने ‘भारत’ कसरी हुने ? ‘इन्डिया’ माने त ‘इन्डिया’ पो हुनु पर्ने होइन र ? अनि दिमाग चक्कराउन थाल्छ । अझै ‘अस्ट्रेलिया’ माने ‘अस्ट्रेलिया’, ‘मोरक्को’ माने ‘मोरक्को’, ‘पोल्यान्ड’ माने पोल्यान्ड, ‘हङ्गेरी’ माने ‘हङ्गेरी’, ‘स्वीटजरल्यान्ड’ माने ‘स्वीटजरल्यान्ड’, ‘थाइल्यान्ड’ माने ‘थाइल्यान्ड’ भनेर पढ्दापढ्दै बीचमा ‘इङ्गल्यान्ड’ माने ‘बेलायत’ आउनेबित्तिकै यो के हो ! भनेर म तीन छक पर्न थाल्छु । यसै त लाटो र सोझोको उपाधि आफ्नै मात्र पेवा भइराखेका बेलामा यस्ता कुरा अरुलाई सोध्ने आँट पनि कसरी गर्नू ? अनि सधैभरि लाटो हुनुको विकल्प रहेन, न त सोझो हुनुकै ।

म पनि उहिलेको थर्ड डिभिजने एसएलसीवाला । आफूलाई कम सम्झने कुरै भएन । बुर्लुकबुर्लुक भँगेरा उफ्रेजस्तो उफ्रेर हिँड्थेँ । जागिर खाने धोको आफूभन्दा पनि जेठो थियो । पास गरेको एसएलसी मात्रै । त्यो पनि पटके । तैपनि भुइँमा खुट्टा थिएन । शहरका साइनबोर्डहरु यसो नियाल्दै हिँड्थेँ । ठाउँठाउँमा देख्थेँ,— ‘नेशनल ट्रेडिङ लिमिटेडको अधिकृत बिक्रेता’, ‘कृषि सामग्री संस्थानको अधिकृत बिक्रेता’, ‘बाँसबारी छालाजुत्ता कारखानाको अधिकृत बिक्रेता’, वा यस्तै यस्तै अधिकृत बिक्रेता । सहायक बिक्रेता कहीँ भेटिन्नथ्यो । संस्थानहरुका यत्रोविधि अधिकृतैअधिकृत बिक्रिमा हुँदा आफू भने एसएलसी मात्रै । सहायकस्तरको योग्यता । मुखबाट र्याल चुहिन्थ्यो । अनि लाग्थ्यो,— ’धत्तेरिका, यतिखेर बी.ए. मात्र पास हुन सकेको भए पनि यत्राविधि संस्थानका अधिकृत रोजीरोजी कित्र पाइन्थ्यो । कति पो जान्थ्यो होला र ? अधिकृतमा जागिर खान आउने मान्छे नभएरै यसरी बिक्रिमा राखिएको त होला नि भत्रे मेरो एकतर्फी ठोकुवा थियो । कुरो सम्झिँदा अहिले पनि हाँसो उठ्छ । अनि, आफैले आफैलाई भन्छु,— ‘धत् लाटा, तँ त सानोमा पनि उस्तै रहिछस् ।’

यी त केटाकेटीका कुरा भए । उहिलेका कुरा खुइले । तर कुरा खुइलिएर के गर्नू ? बुद्धि जस्ताको तस्तै छ । खुइलिएको छैन । शहरका साइनबोर्ड नियाल्ने नानीदेखिको बानी अहिलेसम्म छुटेको छैन । हुन त यी साइनबोर्ड हेर्नकै लागि राखिएका हुन् । पढाउनकै लागि राखिएका हुन् । उद्देश्य भने विज्ञापन । कुराको जानकारी । तर अर्थको अनर्थ अर्थात् मानेको अमाने लाग्ने विज्ञापन देखेपछि भने मलाई अहिले पनि भाउत्र हुन्छ । यसरी हेर्दैमा भाउत्रिने अचेलको एउटा विज्ञापन हो,— ‘बाजेको सेकुवा ।’ केही वर्ष यता ‘बाजेको सेकुवा’ लेखेका यस्ता विज्ञापनी साइनबोर्ड शहरका ठाउँठाउँमा देख्न पाइन्छ । लाग्छ,— खसीको सेकुवा, कुखुराको सेकुवा, बङ्गुर, बँदेल, हाँस आदिइत्यादिको सेकुवाले अघाएका सेकुवाप्रेमीहरु आजभोलि बाजेको सेकुवा खान निकै पल्केका छन् ।

यस्तो साइनबोर्ड देख्न थालेपछि म भने आफैं रनभुल्लमा पर्न थालेको छु । कसैलाई सोध्ने आँट पनि गरेको छैन । लेखाइमा कुनै गडबडी छैन । प्रस्टैसँग लेखेको छ,— ’बाजेको सेकुवा ।’ झुक्किनु पर्ने कारण छैन । यसो अगाडि गयो भने गन्ध (खानेका लागि सुगन्ध) पनि कस्तो कस्तो आउँछ । सोध्न पनि के सोध्नू ? मभन्दा लाटाले पनि बुझ्ने कुरो खसीको सेकुवा भनेका ठाउँमा खसीको सेकुवा पाएजस्तै ‘बाजेको सेकुवा’ भनेका ठाउँमा ‘बाजेको सेकुवा’ पाइन्छ । अरुथोक पाइने कुरै भएन । अनि सोध्नु पर्ने कुरो पो के रह्यो र ?

मान्छेमा आत्मविश्वास नभएपछि एउटै कुरामा ऊ अडिन सक्तैन । आत्मविश्वास नै नभएपछि कसको के लाग्छ ? म पनि त्यही वर्गमा परेँ । अनि एकदिन यस्तो खसखस मनमा पाल्नभन्दा कसैलाई सोध्नु बेस भन्ने निर्णयमा पुगेँ । तर सोध्ने कसलाई ? जो कोहीलाई सोध्ने हिम्मत भएन । त्यहीँबाट खाएर निस्कनेलाई पनि कसरी सोध्नू ? ‘तपाईंले के खाएर आउनु भो ?’ भनेर सोधूँ भने ‘म जेसुकै खाऊँ तँलाई के मतलब ?’ भन्ला । नयाँ नेपालका मान्छे न हुन् । कहिलेसम्मलाई हो ? छोइसक्नु कोही छैनन् । ‘तपाईंले बाजेको सेकुवा खाएर आउनु भा’हो ?’ भनेर सोधूँ भने ‘के भनिस् रे ?’ भनेर बङ्गारा खुस्कने गरी गालामा चड्काउला भन्ने डर ।

म निकै दोमनमा परेँ । तै त्यही छेउमा झट्ट एउटा पुरानो साथी भेटियो । दस कक्षासम्म सँगै पढेको । संयोगले म पटके एसएलसी, ऊ अन्डर एसएलसी । पाठ्यक्रमका कुरा भए मैले उसलाई सोध्न डराउनु पर्थ्यो । तर मैले सोध्न खोजेको कुरो त्यस्तो थिएन । त्यसैले सोधिहालेँ,— ‘वई, त्यो ‘बाजेको सेकुवा’ भनेर लेखेको ठाउँमा के पाइन्छ हँ ?’

मेरो प्रश्न भुइँमा खस्न नपाउँदै उसले भन्यो,— ‘धत् ग्वाँजे लाटा ! ‘बाजेको सेकुवा’ भनेका ठाउँमा के पाइन्छ ? ‘बाजेको सेकुवा’ पाइन्छ नि ।’ ‘कि तैँले त्यहाँभित्र जेरीस्वारी, पुरी/तरकारी पाइन्छ भन्ठान्याछस् ? मूर्ख कहीँको, यस्तो पनि सोध्ने हो ?’ लाटो र सोझो त थिएँ थिएँ, यति सोध्नाले लाटाको अगाडि ‘ग्वाँजे’ विशेषण र मूर्खको थप उपाधि पनि मैलाई आइलाग्यो । यसरी तीन-तीनवटा उपाधि पाइसकेपछि मेरो त उपाधिमा ‘ह्याट्रिक’ भो भन्ने सम्झेर झन् दङ परेँ । त्यसैले बढी बोल्नेतिर नलागी खरखरती आफ्नो बाटो लागेँ ।

मनको खसखस न हो, अर्काले हप्काउँदैमा के मेटिन्थ्यो ? मेटिएन । एकदिन ‘बाजे’ को मैले जानेबुझेभन्दा अरु केही बढी अर्थ पनि र’छ कि ? भनेर नेपाली शब्दकोश पल्टाएँ । त्यहाँ पनि मैले जानेभन्दा बढी केही रहेनछ,— ‘आमा वा बाबुका बाबु’, ‘ससुरो’, ‘ब्राह्मणलाई आदर जनाउन प्रयोग गरिने शब्द’ । बस् । सेकुवाको अर्थ हेर्नै परेन जोसुकैलाई थाहा छ ।

म अब झन् रन्थनिन थालेँ । निन्द्रा अनिन्द्रा जतिखेर पनि मेरो मनमा त्यही घुमिरहन थाल्यो । ‘बाजेको सेकुवा !’ ‘बाजेको सेकुवा !!’ तर पछिपछि भएपछि आफैले आफैलाई गाली गर्दै सम्झाउन थालेँ । ‘धत् लाटा ! जरायोदेखि खरायोसम्म, बङ्गुरदेखि सुङ्गुरसम्म, बट्टाईदेखि लट्टाईसम्म पाइने यत्रो शहरमा यसो कतैकतै ‘बाजेको सेकुवा’ पाउनु कुन अनौठो भो र ?’

कुरो अझै टुङ्गिएको छैन । एकदिन यसो घुम्दै जाँदा संसदभवन अगाडि उभिन पुगेछु । मुलुकको संविधान बन्दै गरेको नेपाली मात्रको पवित्र भूमि । मनमनै प्रणाम गरेँ । म उभिएछेउबाट अलिक पर एउटा कोठाभित्र भरखरै गधापच्चीसी नाघेजस्ता देखिने दुईचारजना ठिटाठिटीबीच निकै चर्काचर्की बहस भइरहेको देखेँ । सुनेँ,— ‘उही ‘बाजेको सेकुवा’ का कुरा ।’ अनि,— मलाई मात्र होइन, अनौठा कुरा सबैलाई अनौठै लाग्ने रहेछ । म मात्र लाटो भनेको त यी पनि लाटै रहेछन् जस्तो लाग्यो ।

अगाडि के-के कुरामा बहस भइसकेको थियो मैले चाल पाइन । भरखर पुगेको मान्छेले अगाडिका कुरा चाल पाउने कुरो पनि भएन । नसुनेका कुरामा जथाभावी अनुमान पनि किन लगाउनू ? तर सुनेका कुरा भने गर्नै पर्छ । चर्काचर्कीमा उपस्थित मध्ये एउटा केटो निकै जोसका लागि औँला ठड्याएर कुर्लँदै भन्दै थियो,— ‘बाजे हो, अब तिम्रा दिन गए । अब तिम्रा (बाजेको) सेकुवा मात्र होइन भुटन, छोयला, फ्राई, कचिला, मम सबै बन्छ । पख न मुलुकको नयाँ संविधान त लेखिसकियोस्, अनि चाल पाउँछौ । आज ‘बाजेको सेकुवा’ देख्दा आत्तिनेहरुले भोलि ‘बाजेको भुटन’, ‘बाजेको छोयला’, ‘बाजेको कचिला’, ‘बाजेको मम’, आदि-इत्यादि सबै देख्न पाउनेछौ । यतिखेर राज्यका हर्ताकर्ता भएर सत्रतिर नाचिहिँड्दा त स्वेच्छाले सेकुवा बन्न थालेका तिमीहरुको राज्यबिहीन भएपछि के हबिगत होला ? हेर्दै गरन ।

कुरो सुन्दा मेरो पनि आङ जुरुङ्ग भयो । अनि, ‘त्यसरी कुर्लिने मान्छे को रहेछ ?’ भनेर खुसुक्क सोधखोज गरेँ । मुलुकको संविधान लेख्ने ठूलो मान्छे त त्यही पो रहेछ ! त्यस्तो ठूलो मान्छेसँग म जस्तो लाटाले भेटेर वादविवाद गर्ने कुरो आउँदैआएन । त्यसमाथि ऊ कोठाभित्र, म बाहिर । नबोलीकन लुखुरलुखुर आफ्नो बाटो लागेँ । तर यति सुनिसकेपछि म एकमनले ढुक्क भने भएँ । कमसेकम सबैका लागि स्वादिष्ट जनप्रिय छोयला–कचिलामा त बिकिने भइयो । त्यसै त खेर जाने भइएन नि ! यो पनि बाजेहरुका लागि फाइदाकै कुरा हो !!!
इमेलः- pindalup@yahoo.com

गजल (हाँस्नुपर्छ)

- विष्णु बैकुण्ठे
मुटुमाथि ढुङ्गा राखी, पल-पल हाँस्नुपर्छ
भाँचिएको बैशाखीमा, एक्लोभई नाच्नुपर्छ

बेसहारा जीन्दगी यो, थन्क्याउन गार्होभयो
एकचोटी मर्नलाई, धेरै घडी बाच्नुपर्छ

आदर्शको कुरा गर्ने, मेरो प्राणप्यारो बनी
घरी-घरी च्यातिइदा, मनभित्रै टाँस्नुपर्छ

उच्छृङ्खल घमण्डले, जति सीमा नाघेपिन
चुडिएको डोरीलाई, गाँठोपारी गाँस्नुपर्छ

घामछायाँ जीन्दगीमा, वर्षादको भेल सरी
चोट खप्ने बानी मेरो, खै कसरी मास्नुपर्छ
दमक, झापा// हाल साउदी अरेविया

गजल (डराएर गयौ)

- विष्णु बैकुण्ठे
पहिलो भेटमै, मनपराएर गयौ
अन्तरमनको, वाणी हराएर गयौ

व्युतिएका इच्छा, अझै नदिएर मर्न
तृप्त शब्दहरु, छोड्दै कराएर गयौ

सुगन्ध छरेझैं, मुस्कुराउँदै चम्किने
घायल भमरा, धेरै चराएर गयौ

हृदयकी रानी, अप्सरा झैं बनी तिमी
आसीन तनमा, मोती झराएर गयौ

बाँधी अँगालोमा, कस्सिएर लुटुपुटु
उठेँ विपनीमा, तिमी डराएर गयौ

गजल (टुट्यो सपना)

- विष्णु बैकुण्ठे
क्रान्ति परिपाठले टुट्यो सपना
औंशीको यो रातले लुट्यो सपना

गजलसँग सम्बन्धित तस्वीर

छरेथेँ मनोकांक्षा सबै हराए
बज्रिएको काठले चुट्यो सपना

इर्श्यालु मन्दहावा मनको खडेरी
अग्निज्वाला रापले भुट्यो सपना

अशान्ति यत्रतत्र यात्रा अधुरो
भेदभाव जातले कुट्यो सपना

अनन्त यात्रा चालेँ चुमिनसक्दै
कठोर आघातले छुट्यो सपना

पाँच टुक्राहरु

- विष्णु बैकुण्ठे
१.
नाचुँ नाचुँ लाग्छ तालमा उसैको ।
झम्म झम्म रम्न मनलाग्छ उसैको ॥
तिमीले थाहानपाउनु अलग कुरा हो……
छोडिगयो संसार याद आउँछ उसैको ॥

२.
तिमीले माया देखायौ त मरो दिन फर्कनेभो ।
च्यातिएको क्यानाभासमा तिम्रो दिल थर्कनेभो ॥
ढुङ्गाले त सहारा पाउँछ मैले नपाउने कुरै भएन…
तिमीसँग साइनो गासिएसी नयाँ फूल फक्रनेभो ॥

३.
अन्तरआत्मा लुकाई हिड्दा अब तिम्रो जय हुन्छ ।
नीदरीमा देख्या सपनाले विपनामा भय हुन्छ ॥
अञ्जान गीत सबैले सजिलै गाउँछन् धन्दा नमान……
आँखा जुधाउन सबैले काँशीधाममा गए हुन्छ ॥

४.
पृयाले मायाको ढुङ्गाले हानेको हुँदा विस्तारो दुख्छ ।
आफूमाथि आएको रीसको आगो थाहैनपाई लुक्छ ॥
बेमौषमी फलेको फूलकोपी जस्तै तिमी फक्रन्छौ…
हान्न पाएँ भनेर फूलले हान्दा पनि बेस्सरी नै दुख्छ ॥

५.
के भन्यौ यो तिमीले तिमी रुँदा म पनि रुदैछु ।
चिन्ता नमान तिमी टाढिए म नजिक हुदैछु ॥
बरु भएन होला तिमीलाई छटपटी मेरो झैं…
धरोधर्म ढाँट्या हैन कसम खाएँ यो मुटु छुदैछु ॥

गजल (चढाएर आयौ)

- विष्णु बैकुण्ठे
अञ्जुलीले पानी चढाएर आयौ
छोटिएको आयु बढाएर आयौ

पश्चताप छैन हरपल खुशी
नगलेको पाप सडाएर आयौ

भगवान एक तिरस्कार हैन
नबिर्सने पाठ पढाएर आयौ

पावनका वर्षा उर्लिएको भेल
कटुताको प्रेम बगाएर आयौ

अन्तरंग कुण्ठा विलाएको पाएँ
नलडेको हठ लडाएर आयौ
*****************

लोकल बसको सिट

- गोपाल झापाली
प्रणय दिवशको अघिल्लो साँझ म बजारको एक रेलिँमा लेटिएर बदाम टोक्दै थिएँ । उदाश मनमा आकाशमा प्रशव अवस्थाको जून मलाई ढाडस दिदै थियो । हातको बदाम सकियो पुनः ५ रुपैयाको किन्न त्यहा बाट उठे । हात भरि बदाम लिएर आए । लाग्यो त्यो जून पनि मेरो बदाम माग्न आज धर्तीमा आउदै छ ।

बदाम लिएर आउदै गर्दा एउटा आकृती मलाई बाँया पार्दै अघि लाग्यो कसैको पाखुरो समातेर । उसैको शरीरबाट आएको मधुरो अत्तरको गन्धले मेरो नाकमा बेस्सरी मुक्का हान्यो । त्यो आकृती लाग्थ्यो मधुमासको मादकतामा उत्तेजक थियो । सायद उसले मलाई देखेन वा देखेर पनि हेर्न चाहेन । मैले नियाले उसका गाला भरि मेरा ओठका डामहरु प्रष्टै थिए । उसको फर्फराईरहेको केशबाट आएको नशा युक्त परागमा मेरो शरिरको गन्ध खुट्याउन मेरो नाकलाई कुनै मुस्किल परेन ।

म आएँ मेरो पुरानै ठाउँ , जहाँ म एक घण्टा देखि बदाम टोक्दै थिएँ । त्यस बेला त्यो जून पनि सायद बादलको ब्याक होलमा छिर्दै थियो । म आउँदा मेरो ठाउँमा अर्को कुनै जख्खु बसि सकेको थियो । उस्लाई निवेदन गरे “दाइ यो त मेरो ठाउँ हो ।” उ कडा रुपमा देखियो “यो बाटाको रेलिंग कसरी तिम्रो, वनका केरा तेरा न मेरा ।” म पुनः निहुरिए उ प्रति “हेर्नुन मेरा चप्पल, म अघि देखि यहि बसि रहेको छु । बदाम सकिएर लिन गाएको थिए ।” उ कड्कियो “यो लोकल बस हो र रु, रुमाल राखेर सिट रोक्न लाई ।” लाचार म फर्किएँ । सायद त्यो आकृतीका ओठ र गाला भरि कुदिएका मेरा ओठका बुट्टाहरु पनि त्यहि रुमाल बन्यो । जसले मेरा लागि उसको जिन्दगीको सिट रोक्न सकेन ।

पुरुषसँग मेरो पहिलो रात

- तसलिमा नसरिन
विश्वप्रसिद्ध लेखिका
मयमनसिंहमा प्राइभेट कोठा नपाइए पनि ढाकामा पाइन्छ भनेर रुद्र भनिरहन्थ्यो । तर, म कसरी ढाका जान सक्थेँ र ! रेलमा चढेर एक्लै जान त सक्थेँ होला, तर घरबाट अनुमति देलान् र ! अन्त्यमा सान्दाइ मयमनसिंह आएका वेला ढाका जान जिद्दी गरेँ । 'पहिलो वर्षको जाँच पास गरेको प्रमाणपत्र लिन ढाका जान्छु,' भनेँ । ढाका पुग्नेबित्तिकै 'एकजना साथीलाई ढाका विश्वविद्यालयको होस्टेलमा भेट्न जान्छु' भन्दै सान्दाइको कोठाबाट हिँडेँ । र, सीधै रुद्रको कोठा गएँ । तर, रुद्र खुसी भएन । खुसीमा उफ्रिनु वा पीडामा आँसु झार्नु रुद्रका लागि असम्भवप्रायः थियो । शिरदेखि पाउसम्म ऊ रूखको ठुटोजस्तै थियो । ऊ आफ्ना अनुभूति बाहिर देखाउँदैनथ्यो ।

रुद्रले मलाई साडी लगाउन दियो । सेतो साडीमा स-साना फूलका बुट्टा थिए । पेटीकोट र ब्लाउज पनि साडीसँग मिल्ने थिए । रुद्रकी बहिनी विठीले छानेकी थिई यो साडी । रुद्र आफैँले मलाई साडी छानेर कहिल्यै दिएको थिएन । पहिले उसले दिएको हरियो सुती साडी पनि उसकी साथी मुक्तिलाई छान्न लगाएको थियो । मचाहिँ रुद्रलाई जन्मदिनमा दिने उपहार आफैँ छानेर किन्थेँ । कुन रङको सर्टसँग कुन रङको पेन्ट मिल्छ, म आफैँ छान्थेँ । अरूलाई साडी छान्न लगाउँदा रुद्र मेरो रूपरंगबारेमा भन्ने गर्थ्यो, 'अलि कालीखालको केटीलाई जुन सुहाउँछ, त्यही ।'

रुद्रले मुक्ति र विठी दुवैलाई हाम्रो गुप्त बिहेबारेमा भनेको रहेछ । त्यो रात उसले मलाई चाइनिज रेस्टुरेन्ट लिएर गयो । खाना खाएर हामी फर्कियौँ । मैले हाम्रो बिहेबारेमा कसैलाई बताएकी थिइनँ । रुद्रचाहिँ बिस्तारै सबै मान्छेलाई बताउन थालिसकेको थियो । त्यो रात मैले रुद्रकोमा बस्नुपर्ने भयो । तर, मैले जानुपर्ने थियो । सान्दाइलाई एक घन्टामा आउँछु भनेर हिँडेकी थिएँ ।

सान्दाइकोमा जान खोज्दा रुद्रले भन्यो, 'दाइकोमा जाने कुरा नगर । तिमी मेरी श्रीमती हौ । यही नै तिम्रो सबभन्दा ठूलो परिचय हो ।'

'तर, यो परिचयले म अहिले बाँचेको जिन्दगी बाँच्न सक्दिनँ ।'
'तिमी अवश्य सक्छौ ।'

'तर, मैले सान्दाइलाई आफू झुनू सानिमाकोमा थिएँ भनेर झुट बोल्नुपर्छ ।'
'त्यसो भए पीर नगर । म झुनू सानिमालाई कुरो मिलाउन आग्रह गर्छु ।'

'तर, सानिमा माल्लिन् र ?'
'किन नमान्नु ? मैले सकेको गर्छु ।'

त्यो रात मैले रुद्रसँग बिताउनै पर्ने भयो । यो रुद्रको माग, आदेश, आग्रह, इच्छा, सबै थियो । रुद्रले भन्यो, 'आज तिमी मलाई सम्पूर्ण रूपमा चाहिन्छ ।'

'सम्पूर्ण भन्नाले....'
'सम्पूर्ण भनेको सम्पूर्ण । पछिका लागि केही बाँकी नराखी .....।'

यसको अर्थ बुझेर मेरो मुटु हल्लियो । मैले गलत गरिरहेको छैन भनेर आफूलाई आश्वस्त पार्न खोजेँ । वैधानिक रूपमै म आफ्नो लोग्नेसँग रात बिताउन गइरहेकी थिएँ । मेरै उमेरकी हसिना त त्यसो गर्न सक्छे भने मचाहिँ किन सक्दिनँ त ? मेरै कक्षाकी मन्दिराले पनि सहपाठी सौकतसँग गोप्य बिहे गरेकी थिई । ऊ पनि सौकतको कोठामा गएर रात बिताउँछे भन्ने हल्ला चलेको थियो ।

अन्त्यमा त्यो रात आयो । रुद्रले मलाई उसको कोठामा लग्यो । सर्ट, पाइन्ट खोलेर लुंगी मात्रै बेर्‍यो र बत्ती निभायो । त्यसपछि मलाई बोकेर ओछयानमा लगेर पल्टायो । म मनमनै भनिरहेकी थिएँ, 'अब तेरो बिहे भइसक्यो । बिहेपछि लोग्नेसँग सुत्नुपर्छ । तैँले सुत्नैपर्छ । सबै केटीको नियति यही हो ।'

सडक-बत्तीको उज्यालो झयालबाट भित्र पसिरहेको थियो । मलाई त्यो उज्यालो चन्द्रमाको प्रकाशजस्तो लाग्यो । म रुद्रलाई माया गर्थें । ऊ मेरो लोग्ने थियो । रुद्रतिर ढाड फर्काएर एकैपोको परेर पल्टिएँ म । मेरो गुडुल्किएको शरीरलाई रुद्रले आफूतिर तान्यो । म होइन, खाली मेरो प्राणविहीन शरीरमात्र रुद्रको अँगालोमा बेरियो । मेरा हात छातीमा लपक्कै टाँसिए । रुद्रले निकै बल गरेर छातीबाट मेरो हात हटायो । म काँपिरहेकी थिएँ । रुदले मेरो ओठमा गहिरो चुम्बन गर्‍यो । मेरो ओठ बाक्लो र गह्रौँ भएजस्तो लाग्यो । नचाहँदा-नचाहँदै पनि म रुद्रलाई जोडजोडले धकेलिरहेको थिएँ । रुद्रले एक हातले मेरो ब्लाउजको टाँक खोल्यो । उसको ओसिलो जिब्रो मेरो छातीमा चलमलाउन थाल्यो । अस्तव्यस्त साडीमा अल्भिएर म उसको अँगालोमा निस्सासिरहेँ ।

'हेर केटी, आफ्नो लोग्नेले भनेअनुसार गर । खुट्टा फाडेर राख । यही नै त हो तरिका !' मैले आफूलाई बारम्बार यसो भनिरहेँ । त्यसपछि मैले पूरै शरीर छाडिदिएँ । आँखा चिम्लँदै म आफू त्यहाँ नभएको परिकल्पना गरेँ । 'यो मेरो शरीर होइन । यहाँ जे-जस्तो अश्लील काम भइरहेको छ, त्यसमा म पटक्कै संलग्न छैन । यो म होइन । यो अरू कसैको शरीर हो,' म यस्तै-यस्तै सोचिरहेकी थिएँ । त्यसपछि रुद्र ममाथि उक्लियो । अब मेरो आँखामात्रै होइन, सासै बन्द भयो । तैपनि, यसलाई मैले आफ्नै लोग्नेले गरेको स्वाभाविक प्रक्रिया भनेर चित्त बुझाउन खोजेँ । तर, मेरो यो मनचिन्ते विचारको प्रक्रियालाई तोडेर घाँटीबाट चिच्चाहट निस्कियो । रुद्रले दुवै हातले मेरो मुख बन्द गरिदियो । मलाई असहय पीडा भयो । रातभर रुद्रले हरेक तरिका अपनायो । सामान्य रूपमा अपनाइने सबै विधि अपनायो, तर हरेकपटक रातलाई चिर्दै ऐआऽऽ मरेँ भनेर म चिच्चाउन छाडिनँ । प्रत्येकपटक मेरो चित्कारलाई रोक्न रुद्रले मेरो मुख थुन्नु पर्‍यो । जब यो कहालिलाग्दो रात सकियो, थकित मैले साडी फेरेर कुर्ता-सुरुवाल लगाउँदै भनेँ, 'म जान्छु ।' मुन्टो निहुर्‍याउँदै आँखा झुकाउँदै मेरो बेकामे शरीर लिएर म टाढा जान चाहन्थेँ । रातको डर, लाज र घिनले बिहान पनि मलाई छाडेन । अपराधबोध पनि भयो मलाई । रुद्र मलाई 'रुद्र' जस्तै लाग्यो । मेरो लोग्नेजस्तो कति पनि लागेन । घर छिर्ने वेला बाटोमा उसले भन्यो, 'राति नाटक नगरेकी भए राम्रो हुन्थ्यो ।' त्यसबाहेक उसले केही भनेन । न त मैले नै केही भनेँ । म रातिको घटनालाई सम्भिएर चुपचाप बसेँ । त्यो सबको साटो बरु रातभरि पढेर, गफ गरेर, कविता वाचन गरेर वा निश्चल चुम्बनमात्रै गरेर बसेको भए !

बिहान सान्दाइको कोठामा पुगेर मैले काँपेको स्वरमा भने, 'म झुनू सानिमाको कोठामा रोकेया हलमा थिएँ ।'

'झुनू सानिमा आजकल त्यहाँ बस्दिनन्,' सान्दाइले भन्नुभयो । बिहेपछि सानिमाका बूढाबूढीले विश्वविद्यालयकै घरमा एउटा कोठा भाडा लिएर बस्न थालेको सान्दाइलाई थाहा थियो ।

'हिजो त्यहाँ आएकी थिइन् ।'

'अझै कोठा छाडेकी रहिनछन् ?'
'अहँ ।'

'हँ.. अनि तेरो साथीलाई भेटिस् त ?'
'अँ भेटेँ ।'

'नाम के हो त्यसको ?'
'नदिरा ।'

'रामकृष्ण मिसन रोडकी केटी होइन त्यो ?'
'हो ।'

'अनि त्यो त जहाँगिर नगरमा पढ्छे भनेकी हैन र तैँले ?'
'हिजो ऊ पनि आश्मालाई भेट्न रोकेया हल आएकी थिई । ऊ पनि राति त्यहीँ बसी ।'

'को आश्मा ? हासिमुद्दिनकी छोरी ?'
'हो ।'

'ऊ पनि ढाका विश्वविद्यालयमा पढ्छे ?'
'अँ, हो ।'

'तँ त तेरो सर्टिफिकेट लिन आएकी होइन ?'
'अँ लिन्छु ।'

त्यसपछि म सरासर भित्र गएँ र ओछयानमा पल्टिएर रातिको डरलाग्दो त्रासदी सम्भिmएँ । त्यो रात ! मैले नाटक गरेको भन्यो रुद्रले । के त्यो स्वाङ थियो त ? आफ्नो स्वाभिमानमा चोट लागेको महसुस भयो मलाई । म बिस्तारै रोएँ । मेरो पूरै जिउ थिलथिल भयो । मानौंँ म भर्खरै सिंहको ओडारबाट फर्किएकी हुँ । हिँड्दा पनि कम्मर दुख्न थाल्यो । पीडाले गर्दा मैले राम्रोसँग पिसाब फेर्न पनि सकिनँ । आफ्नोे स्तन पनि ढुंगाको थुप्रोजस्तो लाग्यो । उसको चुम्बनको दाग बिस्तारै हरायो । मैले बिहेको कागजातमा सही गरेदेखि नै रुद्रले एकरात सँगै बिताउने कुरा गरिरहेको थियो । तर, बिहेभन्दा अगाडि पनि उसले मलाई कम गिजोलेको थिएन । प्रत्येकपटक भेट्दाखेरी रुद्र मलाई चुम्बन गर्न र छातीमा हात राख्न झम्टिहाल्थ्यो । तर, मैले आफूलाई बचाउन सकेकी थिएँ । मसुदको घरमा हामीलाई बस्न दिइएन । यही कारणले रुद्र मसँग निकै समय रुष्ट भएको थियो । मसँग एकरात बिताउनु उसका लागि किन यति अमूल्य

हो ? मैले कहिल्यै बुझ्न सकेकी थिइनँ । मैले उसलाई प्रतीक्षा गर्न आग्रह पनि गरेकी थिएँ । पर्खाइको पीडाको प्रतिफल पनि राम्रै हुन्थ्यो होला । तर, रुद्र पर्खिनेवाला थिएन । पर्खाइमा मजा छैन भन्थ्यो ऊ । म 'आऊ, माया गरौँ' भन्थेँ, ऊ 'आऊ, सुतौँ' भन्थ्यो । रुद्र भोको भिखारीको व्यवहार गथ्र्यो । ऊ सबै कुरो आजै चाहन्थ्यो, अहिल्यै चाहन्थ्यो । मयमनसिंह आउँदा ऊ एकान्तखालको प्राइभेट कोठाको खोजीमा बौलाहाझैँ लाग्थ्यो । मैले खोज्न सक्ने स्थिति थिएन । तर पनि ऊ मसँग रिसाउँथ्यो । कुनै पनि हालतमा ऊ मसँग एकरात बिताउन चाहन्थ्यो । यसरी एकरात बिताइयो, त्रासदीपूर्ण रात । मेरो जीवनमा यस्तो होला भन्ने सोचेकै थिइनँ । मेरो मन दुख्यो । रुद्रलाई धकेलेर हुत्याउन चाहेकी थिएँ । तर, त्यसो गर्न सकिनँ । म अपांगसरी भएँ । त्यही कागजको अगाडि म हारेँ । त्यस हस्ताक्षरको अगाडि म पराजित भएँ । किनभने, त्यही हस्ताक्षरको मतलब नै विवाह थियो । तर, म रुद्रलाई माया गर्थें । मैले सोचेँ- मेरो सोच र विचारले मलाई एकैसेकेन्ड पनि चैनपूर्वक बस्न दिएन ।

मैले सान्दाइसँग झुट बोलेँ । सान्दाइले म सानिमासँगै सुतेकी होली भन्ने पत्याउनुभयो होला । तर, सान्दाइले के सोच्नुभयो होला, कसलाई थाहा ? तर, उहाँ मलाई आफ्नो आँखाबाट ओझेल पार्न चाहनुहुन्नथ्यो । त्यतिमात्रै होइन, मेरो साथीसँग भेट्न पनि मलाई एक्लै पठाउनुहुन्नथ्यो । सान्दाइले भोलिपल्ट मलाई आफै रजिष्ट्रारको कार्यालय लगेर सर्टिफिकेट निकालिदिनुभयो । दुई दिनपछाडि फेरि उहाँले मलाई मयमनसिंह ल्याएर छाडिदिनुभयो ।

रुद्रले पछि मलाई भन्यो, 'तिमी मलाई पूरा विश्वास गर्दिनौ । तिम्रो मनमा अझै शंका छ ।' उसका कुरा सुनेर मलाई साह्रै दुःख लाग्यो । मैले म उसलाई माया र विश्वास गर्छु भनेँ । मायामा सबैभन्दा ठूलो आवश्यकता विश्वासको हो । यो विश्वासको डोरी अलिकति कमजोर भयो भने माया गरिँदैन । मनमात्र पराइन्छ । रुद्रले एउटा चिट्ठीमा लेखेको थियो, 'के म त्यस्तो अभागी हो, जसले सबै कुरा बलजफ्ती ठीक पार्नुपर्छ ?'

यस घटनाको वर्ष दिनपछाडि रुद्रले लेख्यो, 'प्यारी अर्धाङ्गिनी, त्यस रात के भयो थाहा छ तिमीलाई ? पहिलोपटक तिमीलाई साडीमा देख्दा तिमीलाई एकदम भिन्न पाएँ । नयाँ मान्छेजस्तै । विगतमा मैले तिम्रो अरू नै चीज मन पराएको थिएँ । तर, यो पटक फरक छ । एकदमै अन्जानखालको आनन्द ! हाम्रो प्रेम नै भर्खर सुरु भएझैँ लाग्यो । यस्तो लाग्यो- पहिले रिहर्सलमात्र थियो । आजचाहिँ रंगमञ्चमा मञ्चन गर्दै छौँ ।

विगत डेढ वर्षमा रुद्र दुई-तीन महिनाको अन्तरालमा मयमनसिंह आइरहयो । मैले उसलाई सम्बोधन नगरेकाले रिसले गर्दा उसले पनि मलाई सम्बोधन नगरीकन पत्र पठायो । हाम्रो समय प्रेस क्लबको क्यान्टिनमा बित्थ्यो । क्यान्टिनबाट निस्कनुपर्दा हामी उपयुक्त स्थानको खोजीमा यताउति भौँतारिन्थ्यौँ । तर, सदाझैँ ठाउँ पाउन मेरा लागि असम्भव थियो । रुद्रको अनुरोधमा मैले साडी लगाएर उसलाई भेट्न गएँ । मलाई साडी लगाउन राम्रोसँग आउँदैनथ्यो । यास्मिनको सहयोगमा आमाको साडी लगाएर म साथीको जन्मदिन छ भनेर घरबाट हिँडेँ । त्यो दिन अलि एकान्तको फाइदा उठाउँदै रुद्रले मलाई दुई-तीनपटक चुम्बन गर्‍यो र छातीमा हात मुसार्न भ्यायो । घर फर्किएर उसले लेखेको चिट्ठी यस्तो थियो- 'तिमी आफैँलाई देखेर हाँसिरहेकी हौली, हैन त ? वास्तवमा मलाई पनि हाम्रो प्रेम भर्खर सुरु भएझैँ लाग्यो । यत्रो वर्षसम्म हामीले एक-अर्कालाई खालि स्पर्शमात्र गरेका थियौँ । आज एक-अर्काको शरीरको ...पनि महसुस गर्‍यौँ । एक-अर्काको मुटुको धड्कन सुन्यौँ । आज यस्तो लाग्यो, म कहिल्यै पनि यति सन्तुष्ट भएर तिमीसँग छुट्टिएको थिइनँ । तिमी बिस्तारै अनौपचारिक भएर खुल्न थाल्यौ । अब म नौलो संसारलाई चिन्न सक्ने भएझैँ लाग्यो । अब तिमी अझ बढी स्वभाविक भएर खुल्नेछौ, अझ स्वतन्त्र हुनेछौ । हाम्रोभन्दा राम्रो प्रेमको घर अरु कसैको हुने छैन । तिमी हेरी मात्र राख मेरी पि्रय लक्ष्मी, अब मलाई अलिकति माया गर । हैन-हैन, त्यतातिर मुन्टो नबटार न, मेरा आँखामा हेर त, लजाउनुपर्ने कुरा के छ र ? तिमीले पहिलेदेखि नै चिनेकै मान्छे त हुँ नि म । यी आँखा, यी परेली, यो निधार, यो मुहार र शरीरलाई तिमीले थुप्रैपटक स्पर्श गरेकी छौ । अनि किन लजाउनु ? मलाई चुम्बन गर, आऊ मलाई माया गर ।

बिस्तारै-बिस्तारै म आफूलाई नियन्त्रण गर्छु । यदि यही तरिकाले तिमीले मलाई अलि-अलि माया दिन थाल्यौ भने तिमीले देख्नेछौ- म कसरी तिम्रो चाहना बन्नेछु अर्थात् तिमी मेरी बन्नेछौ । वास्तवमा माया भनेको दुई मुटु एक हुनु त हो नि, मलाई सडकमा उभिएर सबैलाई चिच्याउँदै सुनाउन मन छ- ए मान्छे सबैजना सुन । मैले माया गर्ने मान्छे भेट्टाएँ । हामी एकै भयौँ । राम्ररी बस पि्रय । मेरो जीवन, आफ्नो ख्याल गर ।
तिम्रो रुद्र ।

(प्रस्तुत स्मृति नसरिनको वाइल्ड विन्ड नामक पुस्तकबाट विकास बस्नेतले अनुवाद गरेका हुन् ।)
साभारः नयाँ पत्रिका

गजल (भुलें परीक्षाका जहरहरु)

- विष्णु बैकुण्ठे
लगाएँ गुण र खुले अनिच्छाका कहरहरु
बजाएँ धुन र हुलें प्रशिक्षाका लहरहरु

हेपिएर अस्ताएथें, आज मेरै देश प्यारो भो
म छाएँ पूनः र डुलें सदिक्षाका शहरहरु

बार्हखरी नचिनेर अज्ञानमा कुहिरो देखें
खाएँ जून र असुलें अशिक्षाका बहरहरु

छैन मेरो घरवार, न भकारी नै वरिपरी
न पाएँ ऊन र बुनें प्रतिक्षाका लहरहरु

श्रमजीवी बनाउन हजार दुःख भोगेर नै
सजाएँ सुन र भूले परीक्षाका जहरहरु
**********************

परिभाषामा नपरेकी उनी

- जेपी सापकोटा
कागजको सानों टुक्रा हातमा थमाउँदै पुलुक्क मुखतिर हेरेर आफ्नों सिटमा फर्किन् उनी । ट्याक्सीमा पोका पन्त्यौरा खाँदेर कलंकी बस स्टैण्ड छाड्दै आफू बसेको कोठातिर हुइँकिएँ । टुक्रा खोलेर पढें, ‘भोलि बिहान ठीक १० बजे फोन नं. … मा फोन गर्नुहोला ।’ दोहोर्याई तेहेर्याई पढेर खल्तीभित्र सम्हालेर राखें । कोठामा पुगेपछि सन्चो नभएको बहाना ओछ्यानमा पल्टिएँ । भोलिपल्टको दस बजेको पर्खाइ मेरो लागि जुगौं भयो ।

स्नातक तहको पढाइ सकेपछि मैले काठमाडौं गएर पढ्ने निधो गरें । क्याम्पस छोडेपछि उनीसँगका भेटघाट पनि पातलिए ।काठमाडौं आउनेबेलामा पनि भेट भएन ।मध्यम परिवारमा हुर्किएको हुनाले काठमाडौंमा जागिर खाएर मात्रै पढाइलाई निरन्तरता दिन सकिने मेरो बाध्यता थियो । दसैंको छुट्टीमा उनको घरमा गएको थिएँ ।ममता अलि फुस्रिएजस्तो लाग्यो । पुर्याउन अलि वरसम्म आइन्, तर खासै कुराकानी भएनन् । मायाका अनुरागहरू खासै थपिएन ।

त्यो दिन अचानक झापा-काठमाडौं बीचको करिब १४ घन्टा लामों यात्रामा एकै बसमा सहयात्री हुनुपर्ने संयोग परेछ । म अघिल्लो सिटमा मेरा मान्यवरसँग थिएँ ।उनी पनि आफन्तसँग पछाडिको सिटकी यात्री रहिछन् । विरानो भएको घनिष्टता ताजा भयो । भलाकुसारीपछि ‘दुब्लाइछौं’ भन्ने मेरो भनाइलाई ‘मोटाउनुभएछ’ भन्ने छोटो प्रत्युत्तरले बिट मारिन् । सन्चो बिसन्चो सोधिन् । मैले आफ्नों विवरण बताउन चाहें । ‘मलाई सबै थाहा छ भनिन् ।’ धेरै सोध्न सकिन । वैवाहिक लक्षणहरू उनीमा देखिएनन् । उनीसँगै यात्रा गर्ने मित्रसँग अप्रत्यक्ष बुझ्दा अविवाहित भन्ने थाहा पाएपछि अलि सशंकित भएँ । त्यत्रो लामों यात्रामा खासै कुराकानी भएनन् । संयोगको यात्रा त छँदैथियो फेरि त्यसको तेस्रो दिन मेरो विदेश लाग्ने यात्राको टिकट पनि निश्चित भइसकेको थियो ।

‘ठीक ११ बजे म तपाईलाई स्वयम्भू मन्दिर छेउमा पर्खिरहेकी हुनेछु । त्यही आउनुहोला ।’ फोनमा छोटो कुरा गर्दै रिसिभर राखी दिइन् । कौतूहलकै बीचमा तोकिएकै समयमा आफूलाई उनको अगाडि उभ्याएँ । सामान्य कुराकानीसँगै निकै बाटो हिँडेपछि अन्योल र उल्झनकै बीचमा उनी बसेको एकान्त घरको कोठामा पुग्यौं । थोत्रे घरको सानो र अस्तव्यस्त कोठाभित्र पसेपछि बस्न आग्रह गरिन् । एउटा पलंगबाहेक बस्ने कुरा केही थिएन । उनी त्यही पलंगमा बसिन् । म हिच्किचाएँ ।

सहजतापूर्वक हातमा समाएर बस्न कर गरिन् । म आज्ञाकारी बालकजस्तै चुपचाप पालना गर्दै गएँ। एक छेउमा राखेको स्टोभ सल्काएर चिया बनाइन्, दुवैले चिया पियौं । मलाई विदेश जानको कारण सोधिन् । अध्ययन, तालिम र जागिर भने । बीच-बीचमा मौनतालाई चिर्दै म बोल्न आग्रह गर्थें । छोटो कुराकानी पुनः मौनता छाउँथ्यो ।

वातावरणमा नौलो निष्तब्धता छाएपछि म हिँड्ने तर्खरमा लाग्दैथिएँ । एक्कासि भक्कानिएर मेरो कुममा टाउको राखेर सुक्सुकाउन थालिन् उनी । एकान्त र अपरिचित परिवेश, फेरि उनकै कोठा । म डराएँ । परिस्थितिको आँकलन गर्ने ममा साहस भएन । निकै अत्तालिएर डराएको स्वरमा भनें, ‘तिमीले यो के गरेको ?, ‘म तपाईंलाई अप्ठेरोमा पार्दिनँ । मलाई केहीबेर रुन दिनुहोस् …… ।’ मेरो काखमा पूरै घोप्टो परेर रुन थालिन् । सम्झाउन खोजें । मेरो मुख थुनिदिइन् । अनायासै मेरा पनि आँखा रसाएर आए । उनका आँसु पुछ्न खोजें । ‘तपाईं मेरा आँसु पुछ्न सक्नुहुन्न ।’ रोएका तर मायालु आँखा तर्दै व्यंग्यवाण छोडिन् । ‘प्रेमी प्रेमिकाले एकअर्काको आँसु पुछेर घट्दैन, झन् बढ्छ,’ भन्थे सत्य लाग्यो । फेरि यो नाता लगाउने मेरो अधिकार टुटिसकेको थियो र सोच्नु पनि अपराध हुन्थ्यो । सायद निकै अगाडिको प्रेमी …. । उनको कपाल सुम्सुम्याएँ । मुटु गाँठो परेर आयो । त्यही नौ वर्षअघि सँगै बस्दाको गन्ध, त्यही ममता, त्यही लवज र आत्मीयता ।

‘हजुरले मलाई धोका दिनुभयो भनेर भन्ने आधार त ममा छैन तर मेरो कलिलो मस्तिष्कमा निको नहुने गरी घाउ लागेछ राजा † मैले चाहेर पनि भुल्नै सकिन । हजुरले बिहे गरिसकेपछिका २ वर्षहरू हजुरलाई घृणा गरेर बिते अनि बाँकी ६ वर्ष माया गरेर- हृदयमा सजाएर अनि पूजा गरेर । मलाई थाहा छैन म अर्काको लोग्नेलाई किन पूजा गर्छु तर यस्तै हुन्छ … । हजुरलाई यदाकदा गाउँ जाँदा देख्थें । आफूलाई लुकाएर निहालेर हेर्थें । तपाईंकी जीवन संगिनीलाई म राम्ररी चिन्छु । धेरैपटक देखेकी छु । एकपटक हजुर छलिएको बेला नजिकै गएकी छु, छोएकी छु । सायद अप्रत्यक्ष संर्सग होस् भन्ने चाहना पूरा गरेकी हुँदिहुँ । उनी अलि उत्तेजित हुँदै गइन्- ‘कति माया गर्नुहुन्छ होला हगि उहाँले । किन नगर्नु पनि - कत्रो तापस्यापछि पाइने एउटा लोग्ने, अनि लोग्नेसँगको सुखसयल ….. । र, राजा मलाई अब अर्को कुनै पुरुषसँग बिहे गरेर खुसी हुन्छु जस्तो लागेको छैन । मैले जवानी त खेर फालिसकें । अब त मेरा चाहनाहरू पनि बिस्तारै मर्दै गए । विश्वास गर्नुहोस् । म हजुरको सुखद जीवनका कहिल्यै भाँजो हाल्न पनि आउनेछैन । छुनेसम्म इच्छा थियो । पूरा भयो । म हजुरकी हुँ र आजीवन रहिरहने छु … सदा सर्वदा हजुर सुखी रहेको टाढैबाट चियाइरहन्छु ।’ धेरै बेर मुखमा हेरेर टोलाएपछि उनले आफ्ना उक्उकीहरू यसरी पोखिन् ।

गाली र लाञ्छना सुन्न तयार रहेको मेरो सोचाइ पाताल भासियो । आत्माग्लानिले भरियो । मुटु टम्म भएपछि जिव्रो लाटिन्छ रे ।त्यसै भयो । अपमान सहन तयार रहेको मेरो तन मेरो मन । उल्टो भइदियो । उनको ‘बिहे गर्दिन’ भन्ने अठोटमा जिद्दी गरिरहें । उनले त्यो दृढता छोडिनन् । र ५ बज्नुभन्दा अघि नै उनका कोठाका साथीहरू नआउँदै म त्यहाँबाट हिँडें । भोलिपल्टको फोनमा सम्झाउन लाख प्रयत्न गरें । असफल प्रयत्न ।

पर्सिपल्ट मेरा घरका परिवारहरू विमानस्थलसम्म पुर्याउन आए । सबैको आँखा छलेर उनी मलाई बिदाका हातहरू हल्लाइरहेकी थिइन् । मैले भने हेर्ने सिवाय केही गर्न सकिन । रुन्चे अनुहार लगाएर सिँढीमा चढें । परिवारसँगको विछोडको पीडा थियो वा अरू केही त्यो त मैले अहिलेसम्म लख काट्न सकेको छैन ।
विछोडको पीडामा खाटो बसोस् भन्ने लागेर हो वा भकानिएको मुटु फेरि चिरा पर्ला भन्ने त्रासले लामों समयसम्म फोन गर्ने साहस आएन । बल्लतल्ल फोनको उत्तर घर मालिक्नीले दिएकी थिइन्, ‘कोठा छोडेर गइसके ।’ ‘र, मेरी उनी †

मैले मेरो जीवनमा कहिल्यै प्रेमपत्र लेखिन । तर आज किन हो यो लेखाइ तिमीसम्म पुग्थ्यो कि भन्ने झिनों आशामा मेरा उक्उकीहरू पोख्ने तिमीसँग अनुमति माग्छु । यो लेखाइ पढ्ने तिमीमा अनुकूलता समय र पहुँच छ वा छैन त्यो त मलाई थाहा छैन तर तिमीमा पुग्छ नै भन्ने मेरो निर्क्योल हो । ‘प्रेम त्यागमा हुन्छ, बलिदानमा हुन्छ, बदलामा यसले केही चाहँदैन’ भन्ने तिमीले सुनेकी छौ पढेकी छौ । तर त्यागको पनि आफ्नै सीमा र परिभाषा हुन्छ होइन र ? मेरो स्पन्दन रित्तो छैन भन्ने कुरा तिमीलेबुझेकी छौ । यो अनाहकको त्याग भएन त ? अग्निरूपी डढेलोमा सातफेरा हालेर वैवाहिक नामको वृक्षमा अठ्याएर कसिएको म, तिमीलाई थाहै छ । फेरि त्यसमा मुना पनि पलाइसकेका छन् मैले त्यो बन्धनको घेरा तोड्न सक्दिन र ती कलिला मुनालाई मैले ठुन्क्याउन किमार्थ हुँदैन । जानी जानी गल्ती गर्नु र भूलवश हुनुको हीनताबोधमा धेरै फरक हुन्छ ।

१७-१८ वर्षको काउकुतीले भरिएको जीवनमा मन बहलाउने माध्यम हुनु, सँगै हिँड्नु, हाँसखेल र ठट्टा गर्ने अनि सँगै घुम्न निस्किनेले दोषै थिएन भनेर पन्छिन म खोजेको होइन तर हामीले कहिल्यै विवाह गर्ने झूटो कसम त खाएका थिएनौ नि ? किन त्यसरी निस्सारताको पछाडि तिमी भौतारिइरहेकी ? न त यौवनको तुफानीमा होमियौ कुनै दिन । होला तिमी सावित्री बनेर पछ्याइरह्यौ तर अचेतन अवस्थाको सत्यवानमा त्यो अनुभूति थियो र ? पर्खाल ढालिदिनेलाई यी विश्वासका पर्खाल थिए भन्ने थाहै थिएन भने उसलाई कति दोष दिने ?

‘आहा, हजुरकी भार्याले कति माया गर्नुहुन्छ होला हगि ? हुन पनि किन नगर्नु कत्रो तपस्या गरेर मात्रै पाइँदो हो एउटा लोग्ने † मेरो ललाटतिर हेर्दै उत्तेजित भएर तिमीले भनेको यो प्रसंग सायद प्राप्तिमा अवमूल्यन भैरहेका तिमीजस्तै स्वास्नी मान्छे तर लोग्ने पाएकाहरूको लागि गतिलो दीक्षा भैदिन्छ कि ? साँच्चै नै लोग्ने शब्दले तिमीमा अहिले कत्रो महत्व राख्छ हगि † अनि कति पवित्र र लावण्य छ यो ‘लोग्ने’ शब्द, अभावमा । पाएकाहरूमध्ये कतिले यसलाई कौडीको दर्जा दिएको तिमीले नसुनेकै हुनुपर्छ……। तर म कदाचित् विवाह गर्दिन भन्ने हठ त्यागी देउ ल † खुसी भएको देख्न चाहन्छौ होइन ? तिम्रो बिहेको खबरभन्दा खुसी अरू कुनै हुँदैन मलाई । पूरा गरिदनु ल † टाढाको सहरमा बसे पनि मेरा प्रत्येक पलहरूलाई पूर्वस्मृतिले डसिरहन्छन् । यता र उता बस्नुमा आखिरी फरक नै के भयो र - बरु भेटघाटले कतै केही दोष आउ“थ्यो कि हामीमा । टाढा हुँदा त हाम्रा वास्तविक भावनाहरू विशुद्ध रूपमा बाँची नै रहे होइनन् र ?

‘रोग बोकेर नआउनु विदेश पुगेर’ भनेकी थियौ तिमीले । यो मेरो प्रायश्चित्त भयो, म यो खुला सहरमा कसैसँग पनि आफ्नो अस्मितालाई क्षणिक बन्धक नराखी फर्किनेछु । यद्यपि जुन तिमीलाई कहिल्यै दिन सकिन सायद दिन हुँदैन भन्ने सीमारेखा छ क्यारे हाम्रो चलनमा । लुकेर गौतम पत्नी दाग्ने इन्द्र, गुरुपत्नी स्याहार्ने चन्द्र, बृहन्नलाको सत्य डगाउने विष्णु, सप्तऋषिका पत्नी पछि लगाएर हिँड्ने शिव, सोह्र सय गोपिनीका साझा पति कृष्ण र सरस्वती-ब्रह्माको सम्बन्धलाई पवित्र मान्ने तिमी हामी बस्ने समाजको कानुनमा । अनि आधाजसो हिन्दु धर्मका सिद्धान्तहरूलाई आधार बनाए पनि कस्यप ऋषिले एउटै यज्ञकुण्डमा एकैपटक दक्षप्रजापतिका १३ वटी छोरीसँग विवाह गरेको प्रसंग ढाकछोप गर्दै तयार गरेको तिमी हामीले पालना गर्नैपर्ने कानुनी भाषामा ।

मेरो सम्बोधनको परिधिमा नआएकी ‘उनी’ †
फेरि पनि बिदा हुनु नै छ हगि … †,

लेखाइ पनि अनन्त हुन्न नि … । तर पनि… विवाहित पुरुषले परस्त्रीको सम्झना राख्नु अथवा माया गर्नु अपराध नै हुन्छ भने पनि म तिमीलाई माया गरिरहेको छु, सुषुप्त रुपमा रहेको पवित्र माया, प्राप्तिमा नपाइने माया, पुनरावृत्ति भएको माया र कताकता अनायसमै गाला छिचोलिसकेपछि आँसुका ढिक्का भनेर अनुभूति गराइदिने अमर, अजर र कुनै पनि परिभाषामा नअटाउने तिम्रो र मेरो मात्रै अलग्गै ………… मायाँ ।।
हाल, अबुधावी, दुवई ।
Email:- sapkotajp@gmail.com

आप्पाले फेरि तोडे आफ्नै किर्तिमान

सगरमाथाका सफल आरोही आप्पा शेर्पाले आफ्नै कीर्तिमानलाई तोड्दै २०औं पटक सगरमाथामाथि विजय प्राप्त गरी नयाँ विश्वकीर्तिमान कायम गर्नुभएको छ।
एक वर्षघिको आफ्नो विश्वकीर्तिमान तोड्दै ५० वर्षको हिमाल आरोही आप्पाले शनिबार २०औं पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको हो। आप्पाले शनिबार बिहान ८ बजेर ३४ मिनेट जाँदा आफ्नो कीर्तिमान तोड्नुभएको हो। ‘हाम्रो आवाजलाई तिमी सुन, अब हामी हिमालमा जलवायु परिवर्तनलाई रोक्न सक्छौं’ भन्ने सन्देशयुक्त झन्डा उहाँले सगरमाथाको चुचुरोमा फहराउनु भएको थियो।

जलवायु परिवर्तनबाट हिमाली क्षेत्रमा परेको प्रभावका बारेमा जनचेतना जगाउने उद्देश्यले शुरू भएको इको एभरेस्ट पर्वतारोहण टोलीका नाइके आप्पा जलवायु परिवर्तनसम्बन्धी र्सार्कका सद्भावना राजदूतसमेत हुनुहुन्छ।

विश्वमा जलवायु परिवर्तन विषयमा वकालत गर्दै आएका आरोही एवम् इको एभरेस्ट एक्सपिडिसनका संयोजक दावा स्टेभन शेर्पाले भन्नुभयो- ‘कोपनहेगनको जलवायु परिवर्तनको विश्वसम्मेलनपछि हिमालका बारेमा अझ व्यापक बहस गर्नुपरेको छ र विश्वलाई झकझक्याउनुपरेको छ। हाम्रो सफल आरोहणले विश्वलाई जलवायु परिवर्तनमा सबैले चासो दिनुपर्छ भने सन्देश दिएको छ।’

सन् १९९० देखि सगरमाथाको सफल आरोहण गर्न शुरू गर्नुभएका आप्पाले सन् १९९६ र सन् २००१ बाहेक हरेक वर्षसगरमाथाको आरोहण गर्दै सन् १९९२ को मे ८ र अक्टोबर १२ गरी एकै वर्ष २ पटक सगरमाथाको आरोहणसमेत गर्नुभएको छ।
सगरमाथा आधार शिविर
आप्पाले २७ वर्षको उमेरमा सन् १९८८ मा पहिलो पटक सगरमाथाको आरोहणप्रयास गरे पनि ८ हजार ५ सय मिटरको उचाइबाट फर्किनुपरेको थियो। दुई पटकसम्म लगातार असफल आप्पाले सन् १९९० मे १० मा पहिलो पटक सगरमाथाको सफल आरोहण गर्नुभएको थियो। आप्पाले शुक्रबार साउथ पोलको चौथो शिविरबाट बेलुका १० बजे चुचुरोमाथि आरोहण थाल्नुभएको थियो। उहाँ सोमबारसम्ममा आधारशिविरमा फर्किसक्ने नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाले बताउनुभयो।

सगरमाथाक्षेत्रमा रहेको फोहोरलाई संकलन गरेर आधारशिविरमा ल्याउने योजनासहित विश्ववन्यजन्तु कोषको सहयोगमा आप्पाले सगरमाथाको आरोहण गर्नुभएको हो। हालसम्म ३ हजार किलोग्राम फोहोर संकलन गरी आधारशिविरमा ल्याइएको एसिएन ट्रेकिङका अध्यक्ष शेर्पाले बताउनुभयो।

आप्पासँगै भारतका कान्छो आरोही १६ वर्षीय अर्जुन बाजपेयीले पनि सगरमाथामाथि विजय प्राप्त गरी नयाँ कीर्तिमान कायम गरेको पर्यटन उद्योग महाशाखाले जनाएको छ। उनले विश्वकीर्तिमान कायम गरेको भनिए तापनि उत्तरी भेगबाट अमेरिकाका १३ वर्षीय जोर्डनले पनि सगरमाथामाथि विजय प्राप्त गरेका छन्। यसअघि कम उमेरमा आरोहणको रेकर्ड दक्षिणी मोहडाबाट तेम्बाछिरी शेर्पा र उत्तरी पोलबाट मिङकपा शेर्पाको नाममा रहेको छ। उनीहरू दुवै जना क्रमशः १६ र १५ वर्ष ९ महिनाको हुँदा सगरमाथा चढेका थिए। उनीहरूभन्दा पहिले शम्भु तामाङले १८ वर्षमा सगरमाथाको आरोहण गरेको विश्वकीर्तिमान छ।
आप्पाले २०औं पटकसम्म सगरमाथा आरोहण गर्नुभएको समयतालिकाः-
श्रोतः नेपाल समाचारपत्र / आप्पा वीकीपेडिया

अनौठो आँपको रुख

कपिलवस्तु- जिल्लाको धनकौली स्थित बडिलवा गाउँमा आँपको अनौठो रुख देखिएको छ । यो देखेर सबै छक्क परेका छन् । आँपको रुखका हाँगाबिगा माथि नगई सबैलॆ भूईं छोएर पूनः माथि फर्किएका छन् । रुखका हाँगा सोझो नभएर बाङ्गोटिङ्गो र एकआपसमै बटारिएका छन् ।

प्रशस्त आँप फलेको उक्त रुख पटकपटक काट्ने प्रयास गरे पनि कसैले नसकेको स्थानीय ७० वर्षीय सीताराम कुर्मीले बताए । धेरै मान्छे रुख काट्न ठेक्का लिदै आए तर सबै अनेक घटना बेहोर्दै फर्किए । रुख ठूलो भएकाले इँटाभट्टाले किनेर काट्न आउँदा कहिले अकस्मात् मौरी आई टोक्न थाल्छन् भने कहिले रुख काट्नेहरु बेहोस् हुने गरेको ६० वर्षीय मंगल कहारले बताए ।

रुखमा दैवीशक्ति रहेको स्थानीयको विश्वास छ । यहाँ रुख काट्न आउनेमात्र नभई रुखका मालिक सूर्यलाल चौधरीलाई पनि बेलाबेलामा समस्या पर्छ । रुखमा आरा लगाउनासाथ सूर्यलालकी श्रीमती बौलाउने गर्छिन् । टाउको ठोक्दै रुखमा आएर माफी मागेर फर्कने गरेको गाउँलेले बताए । १० वर्षयता उनले रुख बेच्ने नाम पनि लिन चाहदैनन् । रुखमा दैवीशक्ति रहेको बताई गाउँलेले रुखको पूर्वपट्टि समयमाई स्थान बनाई पूजाआजा गर्न थालेका छन् । इँटाभट्टाका लागि रुख खरिद गरी काट्न आउने ३ भट्टा पनि चल्न नसकेर बन्द भएपछि अरु कसैले आँट गरेर रुख काट्न नसकेको स्थानीय रामभवन मल्लाहले बताए ।
साभारः कान्तिपुर दैनिक

अप्रत्यासित प्रेम

- विष्णु प्रसाद चापागाई
अस्ति विहिवार दिउँसो अफिस आउने गाडी नभएपछि म अर्कै कम्पनिको गाडी चढी एक्लै अफिसतिर हुईकिएँ । हुन त त्यो समय म अफिस हाजिर नभएपनि हुने थियो तर बेलुका सन्तोषजीको कोठामा बास बस्ने र मेरो एक समान नेपाल पठाउन राम भट्टराईजीलाई भेट्नुपर्ने भएकोले म एक्लै अफिसतिर हुईकिएको हुँ । सदा झैं म अफिसमा बसेर गीत सुन्दै काम गरिरहेको थिएँ । ३ बजे फोनको रिङ्ग टिनिनिनिनि……………………… बज्यो उठाएँ बोसले गरेको रहेछ ।
मः - Hello, Good Afternoon, Mohammed Saleh Al-Qahtani Est.
बोसः - Bishnu! Asalaam Aalekum.
मः- Aalekum Asalaam.
बोसः - Are you fine? What are you doing now?
मः - Yes, I am fine. I am checking timesheet and making invoice for Abdullah H. Al-Qahtani Est.
बोसः - Hey, Bishnu, tomorrow will be party in my house. So, I invite all our employees. You take Kishor and our entire employees and will come together tomorrow morning at 9 O’clock.
मः - But, I have no car since before two day’s. How we will be arriving there?
बोसः - OK. No problem for you, I will tell to Ashif Ali and he will be managing a car.
मः - OK. I will give it information our entire employees and will be come your party.
बोसः - Don’t forget you.
मः - OK. Thank You.
फोन राखें । म मनमनै सोच्न थालें कि आज बोसले यसरी मायालाग्दो तरिकाले बोल्दै किन हामीलाई उसको पार्टीमा बोलाईरहेछ फेरि उसले त म र किशोरलाई मात्र मन पराउँछ आफ्नै कम्पनीको भएपनि अरु नेपालीलाई त्यति मन पराउँदैन थियो । तरपनि कम्पनिमा कार्यरत सबै नेपालीलाई लिएर आउनु भनी मलाई अर् हाएको छ । विहिवार र शुक्रवार राती सन्तोषजीकैमा बसेर शनिवार मात्र मेरो कोठा नपुगी सीधै अफिस आउने मेरो योजना थियो । तर भोली विहानै मेरो कोठा पुग्नुपर्ने वाध्यता भयो । मैले सबैलाई फोनबाट सम्पर्क गरें कि भोली बोसले आयोजना गरेको पार्टीमा सबैजना जानुपर्छ भनी जानकारी गराएँ ।

बेलुका अफिस बन्द गरी म सन्तोषको कोठामा गएँ . धेरैबेर गफगाफ भएपछि मेरो सामान दिन रामजीको कोठातिर गयौं तर रामजीलाई भेटिएन । यो सामानको जिम्मा मैले लिएँ म भोली आएर रामजीलाई हात लगाइदिन्छु भन्दै सन्तोषजीले भनेपछि हामी बजारतिर घुम्न गयौँ । बजारमा पुष्प ओली, रुपक दहालसँग पनि भेट भयो । पुष्पजीले लामो कपाल पाल्नुभएको थियो । उहाँलाई कपाल काट्ने विचार आएछ । तर काट्नु अघि लामो कपाल भएको फोटो खिच्न मन लागी हामीलाई फोटो स्टूडियोतर्फ लगेर एक सामुहिक फोटो खिचाउनुभयो रातको एघार बजे । फोटो तुरुन्तै निस्कियो सबैले एक एकवटा फोटो समाई हामी किनमेलतर्फ लाग्यौं भने पुष्प चाहीँ कपाल काट्न ।

रातको १२ बजे सम्पूर्ण काम सकेर पुष्पको कोठातिर गयौ ताकि अघि नै पुष्पकोमा रात बस्ने सल्लाह भइसकेको थियो । कोठामा पुगी गफ गर्दै खाना बनाई खाँदा विहानको ३ बज्यो । साथीहरु सबै नै जोसिला र झापाली भएको हुँदा समय वितेको पत्तै भएन । खाना खाईसकेपछि हामी एक अर्कामा हाजिरी जवाफ त कहिले दिमाग खियाउने प्रश्न गर्दा गर्दै उज्यालो भयो । विहान छ बजे मेरो कोठा जान भनी निस्किएँ । बाहिर आँधी बतासको साथै आकासबाट ठूलो गडगडाहटमा चट्याङ्ग परिरहेको थियो । मैले कोठा जान आँट गर्न सकिन किनकी मेरो कोठा हिडेर जान पूरा १ घण्टा लाग्थ्यो । विहान ८ बजे आकाश उघि्रयो घाम पनि साथै लागेपछि म साथीहरुबाट विदा भई हिड्दै कोठातर्फ लागें ।

विहान ९ बजे कोठामा पुगें साथीहरु सबै तयार भइसकॆका रहेछन् । Ashif Ali गाडी लिई कोठामै बसिरहेको रहेछ । म पनि हतार-हतार तयार भएँ र सबैजना बोसको घरतिर प्रस्थान गर् यौं । करिब १ घण्टा गाडीको यात्रापछि बोसको घर पुगियो । उसको घरमा कुनै मानिसको चहलपहल थिएन मात्र बोस हामीलाई प्रतिक्षा गरेर बसिरहेको रहेछ । हामीलाई उसकै बैठक कोठामा बोलाई लग्यो । बोससँग कम्पनीको बारेमा केही समय गफ भएपछि हाम्रो स्वागतको लागि खानेकुरा मगायो । कोठामा कुनै फर्निचरका सामाग्रीहरु थिएन त्यसैले हामी सबैजना भूईमा नै बसिरह्यौं । उसको साहिला छोराले भित्रदेखि सजिसजावट तरिकाले फलफूल, बदाम, खजुर (छोकडा) साथै कावा (अरबी कफी) पनि क्रमशः लिएर थ्याच्च भुईमा बस्यो हाम्रै सामुन्ने । अनि एक एक गर्दै प्लेटमा खानेकुरा लगाई घुँडा टेकेर हात हातमा दिन थाल्यो । बोसको घरमा एक इन्डोनेसीयाली केटी कामदार पनि छ । मैले बोसलाई प्रश्न गरें कि यी खानेकुरा बाँड्न उक्त केटीलाई किन प्रयोग नगरेको ? जवाफमा बोसले भन्यो- पाहुनाको सत्कार गर्न अरबी केटा चाहिन्छ खतमा (नोकर) ले हुन्न । मैले अरबीको हरेक नियम रितिरिवाज तथा चालचलन आदि कुराहरु बुझ्नु थियो । त्यसैले मैले फेरि घुँडा टेकेर भान्से भएको बारेमा सोधें । जवाफमा साउदीको नियम हो भन्यो ।

हामी हिन्दूहरुमा चाहीं हरेक पाहुनाहरुलाई विशेष गरेर महिला भान्से भई उठेर बडो सम्मानसाथ खानेकुरा दिइन्थ्यो तर साउदीहरुमा ठीक उल्टो भएको मैले पाएँ । अरबीले खानेकुरा बाँड्दा जुन आशनमा बसेको छ पाहुनाहरुले खाइ नसकुञ्जेलसम्म त्यो भान्सेले त्यही आशनमा बसी आवश्यक कुराहरु थपिरहनुपर्दो रहेछ अनि खाइसकेपछि मात्र उसले उठ्न पाउने रहेछ । मैले त गफको सुरमा ४० भन्दा बढी खजुर खाइसकेछु जुन एकदमै मिठो थियो । कावा पनि अति नै थोरै दिइदो रहेछ जुन एक घुट्की पनि राम्रो नहुने त्यही एक घुट्की कावा लाई १० पटक भन्दा बढी पटक सुरुप-सुरुप पारी सक्नुपर्दो रहेछ । एक चोटी सकिएपछि एक पटक एक घुट्की कावा फेरि थपिदिने चलन पनि रहेछ । कुरैकुरामा बोसले उसको छोराहरुलाई मैले राम्रो-राम्रो चित्र बनाउछु भनि सम्झायो । त्यसपछि त सबै छोराहरु हातमा पेन्सिल कलर तथा ड्रइङ्ग पेपर बोकेर मेरो सामु भीड लागेर सबैले आ-आफ्नो तस्वीर बनाई मागे । मैले सबैको फोटो मागेँ तर उनीहरुले फोटो नदिई कसैले बसेको त कसैले उभिएको फोटो बनाइमागे । यो छोटो समयमा मैले सबैको चित्र बनाइसक्नु सम्भव थिएन । त्यसैले एकजनालाई मात्र बस्न भनें । बोसको काहिंलो छोरो बैठक कोठाको बीचमा बस्यो । हामी १२ जना अन्य सदस्यहरु कोठाको वरिपरी बसेका थियौं । कसरी उक्त छोराको चित्र जस्ताको तस्तै उतार्छ भनेर सबैले मेरो अनुहारतिर हेर्न थाले । म चाहीं निर्धक्कसाथ उसलाई हेर्दै चित्र कोर्न थालें । करीब आधा घण्टामा उसको मुख्य आकृति निकाल्न सफल भएपछि बस्ने केटालाई उठ्न भनें । ताकी एकै आशनमा नहल्ली बसेर ऊ अघि नै गलिसकेको थियो । मेरो चित्र बनाईको कला देखेर अरबी सबै नै छक्क पर्नु स्वाभाविक नै थियो । तर म सँग जाने साथीहरु पनि आश्चर्यचकित भए । चित्रको सम्पूर्ण काम सकिएपछि मैले बोसलाई चित्र देखाएँ ऊ ज्यादै नै खुशी भयो ।

नेपालबाट कस्तो प्रकारका सामानहरु ल्याउँदा यहाँ त्यसको राम्रो व्यापार हुन्छ भनी बोस सोधिरहन्थ्यो । हामीले सोचविचार गरेर अर्को दिन जवाफ दिने भन्यौं । हाम्रो नेपालको स्थान तथा रितिरिवाजको बारेमा गफ चलिरहँदा फेरि अर्को परिकारको खाना आइपुग्यो । जसलाई खाप्सा (पुलाऊ जस्तै खाना, कुखुरा सिङ्गै पोलेर पकाएको र अन्य सलादका परिकार) भनिन्छ । उक्त खाप्सा खाने समयमा परिवारका सदस्य सम्पूर्णलाई कोठाबाट हटाएर हामी नेपालीलाई मात्र बसायो अनि ऊ पनि मेरो छॆऊमा बस्यो । एउटा ठूलो नाङ्लो जस्त्रो एक थालमा हामी सबैजनालाई पुग्ने खाना ल्याएको थियो । हामी सबैजनाले वरिपरीबाट खान थाल्यौं एकै थालमा ।

बोसले यसरी नेपालीसँग बसेर कहिले पनि खाएको थिएन रे त्यो पनि एउटै थालमा । तर किन हो कुन्नी बोसको व्यवहारमा दिन प्रति दिन परिवर्तन भईरहेछ । पहिला म आउँदा बोस बाघको जस्तो गर्जेर भोटे कुकुर जस्तो गरी झम्टन्थ्यो कसैलाई पनि टेर्दैनथ्यो निकै नै घमण्डी थियो । तर म आएको पाँच महिना नपुग्दै उसमा धेरै परिवर्तनहरु आइसके । ऊ अहिले हरेक कुरामा नरम भइसकेको छ कि मैले भनेको कुनै पनि कुरालाई काट्न चाहदैन । हुन त मैले पनि शुरुशुरुमा उसको गाली नखाएको भने होइन । तर काम नगरेर नभई भाषा नबुझेर गाली खाएको थिएँ । अफिसमा म एक्लै हुन्थें, बोस आउँथ्यो चर्को बोली गरेर काम अर् हाउँथ्यो । अनि यो बेलामा मलाई रिस उठ्थ्यो तर नरम भई बोसलाई सम्झाउँथे कि आफ्ना कामदाहरुको काम खानु छ भने तिमी कुनै पनि कुरामा नझर्क, तिमी नरम हुन सिक, आफ्ना कामदारहरुलाई माया गर्न सिक । तिमीले आफ्नो सम्मान खोज्छौ भने अरुको पनि सम्मान गर्न सिक । अनि पो हरेक कामदाहरु तिम्रो पछि लाग्छन् । तिमीलाई मन पराउँछन् अनि तिम्रो कम्पनीमा आउन चाहन्छन् । यसरी जहिल्यै बाघ गर्जेझैं गरेर कर्मचारीमाथि झम्टिदा हरेक मानिस तिम्रो विरोधी हुन्छन् । अनि तिम्रो कम्पनीले कसरी नाफा कमाउन सक्छ ? भनि बारम्बार सम्झाउने प्रयास गर्थें । सायद मेरा यिनै सल्लाहले गर्दा होला उसको मन दिन दिनै पग्लिदै गएछ । र आज हामी नेपालीसँग सँगै बसेर नेपालीको जुठो खाने रहर लागेछ क्यारे । घरमा कुनै कार्यक्रम नभए पनि हामीलाई ख्वाउन अनि हामीसँगै खानको लागि हामीलाई बोलाएको रहेछ ।

बोसको आमालाई भर्खरै आँखाको अप्रेशन गरेर घरमा ल्याएको थियो । सबैजना वरिपरी बसेर खाप्सा खाइरहेको समयमा मैले बोसका आमाको स्वास्थ्य स्थितिको बारेमा सोधें । उसले सुधार भइरहेको जानकारी गरायो । Can I see your sickbed mother? मैले बीचैमा फेरि प्रश्न गरेँ । No! No!! You cannot see my mother. No see anybody to my mother without my family. There is very deferent law in Saudi Arabia than Nepal, India, Egypt and other countries. मैले OK Thanks भनि समर्थन जनाएँ । उसले अब नयाँ नयाँ कार्यक्रम ल्याउन लागेको कुरा पनि सुनायो । यस्ता कार्यक्रमहरुमा अफिस विदाको दिन हरेक समय आफ्ना कर्मचारीहरुलाई साउदीको विभिन्न ठाऊँ घुमाउन लैजाने कुरा पनि बतायो । अनि आउने शुक्रबार चाहीँ उसको मजरा (खेतबारी/बगैंचा) र बकरी (भेडा तथा उँट पालेको ठाउँ) घुमाउन लैजाने र उँटको दुध चखाउने कार्यक्रम पनि सुनायो । हाम्रो अफिसदेखि उसको मजरा तथा बकरी धेरै टाढा पर्दछ । अफिसदेखि बोसको घर नै १५० कि मि टाढा छ भने मजरा तथा बकरी पनि घर देखि त्यति नै टाढा पर्दछ । मतलब ओहोरदोहोर ८०० देखि १००० कि मि सम्मको यात्रा गर्नुपर्ने कुरा पनि जनायो । र उक्त यात्रा गर्नको लागि कोठाबाट विहानै हिड्दा राम्रो हुने र सबैथोकको अवलोकन गर्न पाइने कुरा पनि छुटाएन ।

बेलुकीको ५ बज्यो हामीले हाम्रो कोठातर्फ जान हतारियौं । Ashif Ali दिउँसै हिडिसकेकोले बोसले झोलाभरी फलफूल र मजराबाट ल्याएका ताजा तरकारी मेरो दुईहातमा थमाउँदै उसको गाडीमा चढायो र केही परसम्म पुर् यायो जहाँ भाडाको ट्याक्सी रोकिराखेको थियो । उसको काम विशेषले हामीलाई कोठासम्म पुर् याउन नभ्याएकोले पर रोकि राखेको ट्याक्सी १०० रियालमा रिजर्भ गरी हामीलाई कोठासम्म पठाउने व्यवस्था उसैले मिलाईदियो । बोस उसको घरतर्फ फर्कियो भने हामी पनि आफ्नो कोठातर्फ हुईकियौं ।
हाल- साउदी अरेबिया
Email: bpchapagain@ymail.com

श्रीअन्तु नेपाल हो, मेचीखोलाको उद्‌गमस्थल लालीखर्क होइन

- जीवन शर्मा
नेपालको अन्तिम पूर्वीय स्थान हो श्रीअन्तु अथवा समुन्द्र सतहदेखि २३२८ मीटरको उचाइसम्म उचालिएको पहाडी टाकुरो हो श्रीअन्तु अथवा यसो भनौ मेचीखोलाको काख र सिद्धिखोलाको बुईमा हुर्किएको एउटा पुल्पुले बालक हो श्रीअन्तु ।
श्रीअन्तु डाँडामा रहेको पोखरी
यसलाई जसरी जे भनेर परिभाषित गरे पनि हुन्छ। तर सूर्योदयको लागि प्रख्यात पहाडी टाकुरो हो श्रीअन्तु अर्थात दीपेन्द्र शिखर भन्यो भने पक्कै पनि अपूरो र अधुरो परिचय हुन्छ श्रीअन्तुको । किनभने श्रीअन्तुले आफ्नो परिचयको लागि धेरै प्रख्यात बनाएको छ भनौं न कुबेरको सुमधुर स्वर मानसिङको मीठो संगीत, सूर्यको उदीयमान सृजना गिरीजीको लोक सुस्केरा छत्रबहादुरहरूका चिया बगान रमेशको सल्बलाउँदो साहित्यिक जमर्को लेप्चाजातिहरूको पौराणिक–ऐतिहासिक संग्रह अनि संसार हँसाउने फूलका खेतीहरू र तिनका मीठो सुबास त्यही अन्तुडाँडाबाट बगेका छन्।

अन्तुलाई चिन्न त ओल्टाई–पल्टाई सबैतिरबाट हेर्नुपर्छ, छाम्नुपर्छ भनौ न सिद्धिखोलामा डुबुल्की मारेर गाउँ–गाउँमा बास बस्दै धित मरुन्जेल मेची खोलामा पौडिएपछि अनि असले दोभानमा निस्किएपछि मात्र अन्तुलाई छामिन्छ र बल्ल अन्तुको बास्तबिकता पाइन्छ। त्यसैले श्रीअन्तुमा सूर्यास्त कहिल्यै हुदैन ।

कुबेर, मानसिङ, सूर्यहरूका सांगीतिक यात्राले थामेको छ सूर्यलाई, चिया किसानले थेगेका छन् सूर्यलाई, फूलहरूको सुवासले अल्मल्याएका छन् सूर्यलाई, जुझारु युवाजमातले रोकेका छन् सूर्यलाई, कलमहरू तिखारिदैछन्, आवाजहरूमा मिठासता थपिंदैछ। त्यसैले श्रीअन्तुमा सूर्यास्त हुँदैन। पहिले–पहिले हुन्थ्यो होला तर अब हुँदैन। यहाँ अब चौवीसै घण्टा सूर्य लागिरहने छ। त्यसैले यसलाई आनन्दसँग भन्न सकिन्छ श्रीअन्तु मेचीखोला र सिद्धिखोलाको लाडप्यारमा हुर्कदै गरेको पुल्पुले बालक हो। श्रीअन्तुको वास्तविकता यस्तै छ। यिनै वास्तविकता बोकेर अन्तुले सकेसम्मको र भ्याएसम्मको उन्नति गरेको छ सँगसँगै आफूले सके जतिको मनोरञ्जन सबैसँग बाँड्दै आएको छ। यसलाई आत्मीयताले अझै धेरै नजिकबाट छामेर हेर्दा अझ धेरै वास्तविकता र परिचय पाउन सकिन्छ। मैले पनि श्रीअन्तुलाई स्नेहपूर्ण धेरै नजिकबाट छुने जमर्को गरें र पाएँ एउटा नमीठो कारुणिक र दुःख लाग्दो वास्तविकता।
श्रीअन्तु डाँडाबाट देखिएको सूर्योदयको मनोरम दृश्य
श्रीअन्तु त धेरै कालदेखि एउटा नमीठो वास्तविक पीडाले नराम्ररी थलिएको रहेछ। आफूलाई थिल्थिलो पारेर भए पनि सबैलाई हसाउँन खोज्दोरहेछ ? आफू रोएर अरुलाई हसाउँने कति महान् रहेछ श्रीअन्तु। उसका पीडामा पीडित हुनु नै मैले आफूलाई उपयुक्त ठानें। उसका पीडामा केही मलम लगाउने प्रयास गर्नु नै सच्चा मित्र बन्न सकिन्छजस्तो लाग्छ मलाई। उसका पीडाले मलाई पनि रुवाएको छ। त्यसैले मैले उसका पीडामा केही गर्न प्रसंगवश पावनभूमि साप्ताहिक, अघिल्लो बर्षको चिनारी तथा अन्य केही पत्रपत्रिकामा प्रसंग उठाएको थिएँ। तर आज मलाई पीडाका बारेमा धेरै लेख्न मन लागेको छ ‘मेची खोलाको उद्गमस्थल लालीखर्क‘ होइन।

अहिले बजारमा पाइने सामान्य ज्ञानका पुस्तकहरूमा मेची खोलाको उद्गमस्थल लालीखर्क हो भनेर प्रकाशित गरी हाम्रो इलामको गौरव श्रीअन्तुलाई सिमानापारि पार्ने कुप्रयास गरिएको पाइन्छ। ऋषिकेश निरौलाद्वारा संकलित तथा प्रकाशित सामान्यज्ञान दिग्दर्शनको पेज नं. ४७ को नेपालका महत्वपूर्ण नदीहरू शीर्षकमा, हिरामणि निरौला तथा भिम राना जिज्ञासुबाट सम्पादित सामान्यज्ञान दिग्दर्शनको पेज नं. ७२ को केही नदीहरूको चिनारी शीर्षकमा तथा सुरेशचन्द्र डीसी तथा सन्तोषबहादुर खड्काबाट सम्पादित आठराई सामान्य ज्ञानको पेज नं. को अन्य केही चर्चित नदीहरूको चिनारी शीर्षकमा पनि मेचीखोलाको उद्गमस्थल लालीखर्क नै उल्लेख गरिएको छ।

यस्ता सामान्यज्ञानका पुस्तकहरूको नाम लिने हो भने यहाँ निकै ठूलो स्थान लिन्छ। कतिपय पुस्तकहरूमा त मेचीखोलाको उद्गमस्थल पाँचथरको लालीखर्क उल्लेख गरिएकोछ। सुरेशचन्द्र डीसी तथा सन्तोषबहादुर खड्काको पुस्तकमा पनि पाँचथरको लालीखर्क नै उल्लेख गरिएको छ। जति सामान्य ज्ञानका पुस्तकहरू छन् सबैमा नै मेचीखोलाको उद्गमस्थल लालीखर्क नै उल्लेख गरिएको पाइन्छ। तर साँचो र सही वास्तविकतालाई मान्ने हो भने मेचीखोलाको जन्म नै श्रीअन्तुमा भएको हो। (पाठकहरूलाई अफ्ठ्यारो पर्नजाला मैले श्रीअन्तु भनेर श्रीअन्तु गाविस र समालबुङ्ग गाविसलाई चिन्ने गरेको छु।)                       श्रीअन्तुमा देखिएको चियाकमान

मेचीखोला नेपालको सुदुरपूर्वका जिल्लाहरू इलाम र झापाका सीमाबाट नेपाल र भारतको सीमाङ्कन गर्दै बग्ने खोला हो। यस खोलाले सुगौलीको सन्धि पश्चात आजसम्म नेपाल र भारतको सिमाना छुट्याएर बगिरहेको छ। हुन त खोलाले पूरै मेची अञ्चलभरि नेपाल र भारतको सिमाना भने छुट्याएको छैन किनभने यसको उद्गमस्थल नै श्रीअन्तु गाविसअन्तर्गत वडा नं. ५ छब्बीसे मेचीबजारबाट भएको छ। यस खोलालाई उसको उद्गमस्थलदेखि नै मेचीखोलाकै नामले चिनिन्छ। सामान्यज्ञानमा उल्लेख गरिएको उद्गमस्थल लालीखर्क चाहि पशुपतिनगर गाविसको वार्ड नं. ३ को भूभाग हो र यो स्थान चाहिँ श्रीअन्तुलाई सधै बुईमा राखेर बग्ने सिद्धिखोलाको उद्गमस्थल हो। लालीखर्क पशुपतिनगर गाविसको एउटा वडा हो। यसको सिमाना पशुपतिनगर बजारसँग जोडिएको छ। सोही गाउँबाट ३ वटा अलिक ठूला खोल्साहरू देवीस्थान खोलाको बारेमा चाहिँ गीतकार बुद्धविर लामाले आफ्नो एउटा गीतमा उल्लेख गरेका छन्-
"देवीस्थान खोलाको त्यो चिसोपानी ग्रागी है भरौला,
तिम्रो त्यो बाचा साँचो हो भने सिन्दुरले सजाउँला"

यी तीन खोल्साहरूमध्येमा पनि धोद्रेखोला चाहिँ अलिक ठूलो छ जसमा पशुपतिनगर बजारको निकास पानी पनि मिसिन्छ। केही बर्ष पहिले पशुपतिनगर बजारमा बिशाल पानी पर्दा एउटा बालकलाई नालीवाट बग्ने भेलले बगाएर लगेको थियो र धोद्रेखोलामा पुर्‍याएपछि निक्कै लामो दुरीसम्म धोद्रेखालाले बगाएको थियो। त्यसै गरेर पशुपतिनगर गाविस र श्रीअन्तु गाविसको सीमाङ्कन गरेर बग्ने अर्को सल्लेरी खोला छ जसको उद्गमस्थल हिले आसपास हो। ती खोल्साहरू लालीखर्क र अर्थेटारको फेदीमा मिसिन्छन् तिनीहरू त्यहाँ मिसिएपछि ती खोलावाट एउटो खोला वनिन्छ जसको नाम हो सिद्धिखोला। सिद्धिखोलामा गायक कुवेर राईको विशेष सक्रियतामा एउटा पक्की पुलको पनि निर्माण भइसकेको छ। यो खोला लगभग ३० किलोमिटर जति एक्लै फिक्कल श्री अन्तु, कन्याम समालबुङ गाविसको सिमाना छुट्याएर बग्छ। यता मेचीखोला भने श्रीअन्तु गाविसको छब्बीसे मेचीबजारवाट सुरु भई बग्छ। हुन त भौगोलिक हिसावले हेर्ने हो भने मेचीखोलाको उद्गमस्थलभन्दा सिद्धिखोलाको उद्गमस्थल निकैमाथि पर्छ।
श्रीअन्तु डाँडामा अवस्थित स्वयम्भू
मेचीबजारबाट निस्कने सानो खोल्सो नै मेचीखोला हो। यसको नामका लागि अन्य खोलाको सहारा लिनुपर्ने आवश्यकता नै पर्दैन। यसरी उद्गमस्थलदेखि नै मेचीखोलाको नामले बग्ने मेचीखोलाले नेपाल र भारतको सिमाना छुट्याएको छ। तर ती सामान्यज्ञानहरूमा भने सिद्धिखोलाको उद्गमस्थललाई भनी उल्लेख गरिएको छ। यो सरासर श्री अन्तुको लागि अन्याय हो, इलामका लागि घृणा गरिएको हो र समस्त राष्ट्रका लागि घात हो। तर दुई तीन पटक यस प्रसंगलाई सञ्चार माध्यमबाट प्रकाशित गरिए पनि हाम्रो इलामको सम्बन्धित विभागले निष्कर्ष निकाल्ने कष्ट गरेन। बरु यस प्रसंगलाई आँखा चिम्लेर बसेको छ त्यसैले यो प्रसंग जस्ताको तस्तै छ। इलामको सम्बधित निकायले यसवारेमा अध्ययन गर्न नसक्नु र समस्त जिल्लावासीले यस विषयमा गम्भीर भएर आवाज नउठाउनु हामी सवैको ठूलो कमजोरी हो। तसर्थ पनि यो प्रसंग श्रीअन्तुको लागि अत्यन्तै दुःखदायी छ।

मेचीखोला र सिद्धिखोला तुलनात्मक रूपमा उद्गमस्थलमा सिद्धिखोला ठूलो छ तर यी दुईको मिलन हुने ठाँउमा भने मेचीखोला नै ठूलो छ त्यसैले सिद्धिखोलाको नाम विलय भएर मेची खोलाको नामले यो अरु बग्दै गएको छ। यी दुईवटा खोलाको मिलन चाँहि जिर्मले गाविसको फेदी असले दोभान भन्ने ठाउँमा हुन्छ। तिनै सामान्य ज्ञानलाई आधार मानेर जाने हो भने सल्लेरीदेखिको भू–भाग मेची खोलापारि पर्छन् र हाम्रा राष्ट्रका दुई वटा गाविस रातारात हराउँदैछन्। हाम्रो देशको पूर्वको सिमाना मेचीखोला हो भनेर किटान गरिएको छ भने ती सामान्य ज्ञानले सिद्धिखोलालाई मेचीखोला हो भने किटान गरेका छन्। त्यसैले मैले श्रीअन्तुलाई मात्रै नभएर समस्त राष्ट्रकै पीडाका विषयमा उल्लेख गर्न खोजेको हुँ। यदि त्यसैलाई सत्य मान्ने हो भने कुन चाहिँ अन्तुवासी सिमानापारिको नेपाली भएर बाँच्न चाहन्छ ? श्रीअन्तु भनेर समालवुङ्ग गाविसमा पर्छ र श्रीअन्तु डाँडाको नामबाट श्रीअन्तु गाविसको नाम रहन गयो, तर समालवुङ्ग गाविसको भू–भाग हो। तसर्थ श्री अन्तु एउटा दुई गाविसको संयुक्त भू–भाग हो।

श्रीअन्तु को टुप्पाबाट हेर्दा सूर्र्योदयको सुन्दरता देखिन्छ आ–आफ्नो कल्पनाअनुसारको प्रायः सबैको अनुभव हुन्छ कसैसँग कसैको अनुभव नमिल्न सक्छ। शायद आँखाको भ्रम पनि हुनसक्छ। सबैको समान मत पाइदैन। श्री अन्तुको गौरव–गाथा उच्च पार्न पटक–पटक श्रीअन्तु महोत्सव गरिदैछ। ठूला–ठूला फूलका फाँटहरू तयार छन्, फूलैफूलका सुन्दर फाँट। गाउँलेहरूले कम्प्युटर भित्राएकाछन् । कस्तो सुन्दर सोचाइ दुई दईवटा चिया कारखाना वनाएकाछन् । कस्तो राम्रो योजना, तर वाटो र विजुलीले भनेजस्तो वाटो देखेको छैन। मिल र घट्ट घुमेका छन् तर सरकारी दृष्टि अझै घुमेको छैन।
श्रीअन्तुले चाहेको छ एउटा विचित्रको योजना। अन्तुलाई गहिरिएर अध्ययन गर्दै जाँदा मैले उसको योजनाको मेसो पाएँ – कन्यामबाट श्री अन्तु डाँडासम्मको केवुलकार सञ्चालन। वास्तवमा सही सोचाइ हो श्रीअन्तुको कन्याम पनि पर्यटकीय स्थल श्रीअन्तु पनि संगै सानी पाथीभारा देवीको पनि महिमा उत्तिकै बड्ने। “यदि कन्याम र श्रीअन्तु केवुलकारले जोडिदिने हो भने एउटा पर्यटक श्रीअन्तुमा सूर्योदय हेरेर पाथीभरामा पूजा गरी कन्याममा वनभोज खाएर आफ्नो गन्तव्यमा सजिलै पुग्न सक्छ।” यसका लागि हामीसंग आन्तरिक पर्यटकहरू पनि काफी हुनेछन्। राम्रो सोचाइ पर्यटकीय स्थलको उत्थानका लागि अत्यन्तै उपयुक्त सोचाइ।

आफ्नो उत्थानको सम्भाव्यतालाई बाहिर ल्याएको छैन होला तर ग्रामीण भेगमा त्यसको परिकल्पना गरिएको पाइन्छ रिटामतिरका बासिन्दाले भने बाहुनडाँगीको बाटोसँगै कन्याम गाबिस वार्ड नं. ५ बाट गएको बाटोलाई आफ्नो गाउँसँग जोडन सके झनै राम्रो हुने महसुस गर्दारहेछन्। यसरी फिक्कल, बरबोटे, कन्याम, बाहुनडाँगी, बौद्धधाम, पशुपतिनगर, हिले, छब्बीसे, निगाले, तल सौरेनी र सिस्ने मेची बगानबाट बाटो जोड्न पाए श्रीअन्तुको उचाइ कति अग्लिन्थ्यो होला तर यसका लागि पशुतिनगरबाट पर्यटकहरूले सोझै आवतजावत गर्न पाउनुपर्छ। हो यिनै सम्भाव्यताहरूले र महत्वकांक्षी बिकास योजनाहरूले श्रीअन्तुमा घाम अस्ताउने छैन तर यसका लागि श्रीअन्तुको एक्लो प्रयासले सम्भब छैन ।                                  श्रीअन्तु डाँडाको मनोरम दृश्य

यदि पानी पुग्ने हो भने सिद्धिखोलामा उत्पादन गर्न सकिने बिद्युतलाई उपभोग गरेर केबुलकारलाई फन्फनी घुमाउन सकिएला, सिद्धिखोलामा सञ्चालन गरिएका पसलहरूमा बसेर लोकल माछा र चिउरा मरक–मरक मर्क्याएर उकालो लाग्न सकिन्थ्यो। सूर्योदयको मनोरमतामा आफैलाई हराएर भारतका भू–भाग र नेपाली भू–भागको आँखाभरिको रमिता हेर्न सकिन्थ्यो। कालोपत्रे बाटो टेलिफोन र बत्तीको सुविधा हुनु हो भने अन्तुका फूलहरू बिदेशमा मुस्कुराउन पुग्थे, लेप्चाहरूका ऐतिहासिक बस्तुहरूलाई धित मरुन्जेल अवलोकन गरेर पूर्खाहरूको बीरताको गाथा बुझ्न सकिन्थ्यो होला। उखु पनि फल्ने हो भने कति मीठो फल हुन्थ्यो होला ।

यसरी नै श्रीअन्तु ले चाहेअनुरूपको बिकास पाए श्रीअन्तुलाई छोडेर सूर्यले कतै जाने प्रयास गर्दैनथ्यो होला अब सूर्यलाई अस्ताउन नदिन धेरै गर्न बाँकी छ तर अन्तुको पहिलो आवश्यकता भने आफ्नो भू–भागलाई नेपालमा नै रहेको प्रमाण गर्न ती कथित पुस्तकहरूलाई सुधारेर अर्थात मेचीखोलाको उद्गमस्थल लालीखर्क होइन मेचीबजार बनाउनु छ अनि दुई पैसा लाभको लागि सस्ता सामान्यज्ञानको पुस्तक संकलन गर्ने र बजारमा प्रकाशित गरी राष्ट्रिय अस्मितामाथि खेलबाड गर्ने सम्पूर्ण बिना प्रमाणित र बिना आधारका कुरालाई समेट्न खोज्ने कोठे संकलनकर्ता र प्रकाशकलाई झूलको खेती गरी नगदको ब्यापार गर्न नदिन श्रीअन्तुको मात्र होइन इलामकै पहिलो कदम हुनुपर्नेछ।
Jiwanharidas@yahoo.com

ढाँटको निम्तो खाइपत्याउनु

- काशिनाथ
सक्नुहुन्छ भने लुट्नुहोस्, सक्नुहुन्न भने चोर्नुहोस्, त्यो पनि नसके ढाँट्नुहोस् किन कि यो युग नै ढाँटको हो। सत्ते रामराम भनेर कसम खानेहरूले त ढाँट्छन् भने तपाईं हामीजस्ता ठण्डारामहरूलाई ढाँट्न के आपत्ति। लौ ढाँट्दै नढाँट्ने मान्छे मेरो अगाडि ल्याउनुहोस् मैले तपाईंकै अगाडि झुन्डिएर मरुँला। गाईको मासु खाने, सक्दै सक्नुहुन्न। नढाँटी निर्वाह नै हुन्न अहिले। खराबमध्येको सबभन्दा राम्रो काम हो यो। असलमध्येको सबभन्दा नराम्रो चाहिँ साँचो बोल्नु हो। यो बुद्धको युग हो र? साढे पच्चीस सय वर्षअघि जन्मेका मान्छेले भनेको कुरा आजको कम्प्युटर युगले किन मानिरहोस्। अरू सब कुरा रुढिवादी भएपछि ती बुद्धका उपदेश पनि त हुनु पर्‍यो नि। अहिले बुद्धले नै पुनर्जन्म लिएर आए पनि ढाँट्नुपर्छ अझै अरूको कुरा।

गौतम बुद्धले भनेका थिए भनेर सत्य बोल्नुहुन्छ तपाईं ? परोपकार गर्नुहुन्छ ? काटमार नगर्नू भनेका थिए, गर्नुहुन्न ? तपाईं मात्र होइन म मात्र होइन यहाँ जति पनि मानिस छन् ती सबै ढाँट्छन् । पुराणका हरिश्चन्द्र होऊन् या कुरानका मुहम्मद होउन् या बाइबलका ख्रीष्ट जो भए पनि अहिले ढाँटेन भने बाँच्दैन। सधैँ सत्य बोल्ने भनेका महाभारतका युधिष्ठिरले त ढाँटे– नरो वा कुञ्जरो अश्वत्थामा हतोः हतः भनेर भने नेपालको उपमहाभारतका युधिष्ठिरहरूले कति पटक ढाँट्ने शपथ खाएका छन् तपाईंलाई थाहा छ ?

अश्वमेध यज्ञ गर्छु भनेर हाम्रो उपमहाभारतको युधिष्ठिर तम्सिएको दुईतीन पटक भइसक्यो। कहिले धृतराष्ट्रले दिएन भनेर ढाँटे, कहिले द्रौपदी सुत्केरी भइन् भनेर ढाँटे। अस्ति पल्ट अर्जुनका ससुरा मरे भनेर अश्वमेध रोकिएको। अब फेरि सुरु गर्ने रे। बाबा ! पत्याउनुहुन्छ ? नढाँटी भन्ने हो भने बाले सुनाएको एउटा किस्सा याद आयो। एउटा गरिब बाहुनले मन्त्रीलाई खुशी पार्न भोजको निम्तो गरेछ। त्यति बेलाका मन्त्री अहिलेका जस्ता भोट पाएपछि जनताको मुखै नहेर्ने कहाँ हुन्थे र ? साधारण जनताको भोजको निम्तो पनि स्वीकार्थे। विचरा त्यो बाहुनले मन्त्री बोलाएको दिनसम्म पनि सामग्री जुटाउन सकेनछ। मन्त्री महोदयको प्रवेश भयो घरमा तर केही तयारी थिएन। बाहुनले एउटा उपाय सोचेछ। बस्ने आग्रह मन्त्रीलाई गरी बाहुनले घरभित्र ढुङ्गामाटो लैजान थालेछ। मन्त्रीलाई लागेछ चुलो बनाउन होला। निकै बेरपछि मन्त्रीलाई भित्र डाकेर भनेछ आजलाई भएन हेर्नुहोस् न मेरो घरले बच्चा जन्माइदियो। यस्तो सुतक परेको घरमा को खाने, यसो हेर्छन् त मझेरीमा सानो घर पो बनाएको रहेछ। भोकले टाट पल्टेको भए पनि लुरुक्क फर्केछन्।

महायज्ञको निम्तो त पहिले पनि पाइएको हो क्यारे, घरघर निम्तोपत्र बाँड्न हिँडेका हुन् तर अकबरलाई गोरुको दूध चाहियो र त्यो नपाएर रोकियो। यतिखेर वीरबलले सुत्केरी भएको अभिनय गरेका छन् हेरौँ के हुन्छ।

ढाँट्नु त आजको अनुशासन हो। शासन जस्तो गरे पनि अनुशासन चाहिँ राम्रो पालना गर्नुपर्छ। अब त ढाँट्न सकेन भने कुनै कुरा पनि आँट्न सकिन्न भन्ने ठोकुवा गरे हुन्छ। सोझो औँलाले घिउ आउँदैन भने बङ्ग्याउनुहोस्। घिउ त खानैपर्छ। घिउ नखाई जिउ लाग्दैन। त्यो यज्ञ होला र लड्डू खान पाइएला भनेर बस्ने हो भने त मनको लड्डू घिउसँग खानु भनेजस्तै हुन्छ। फेरि गरिब बाहुनले मझेरीमा बनाएको घर जस्तो तराईतिर अर्को नेपाल बनाउनेहरूले हाम्रो भनिएको कपाल नखालान् भन्न सकिन्न। अनि त देश नै सुत्केरो पर्छ। विवेक विचार नगरी त्यसै दिएको निम्तोपत्र नसमात्नु होला। ढाँटेको निम्तो पो हो कि? ढाँटेको निम्तो खाई पत्याउनु भन्छन्। खान पाएपछि मात्र हो रहेछ भनेर पत्याउँला। मुसालाई अगाडि लगाएर काशी जान हिँडेको बिरालाले डाक्दैमा मुसाहरू अगाडि लाग्ने हो भने ठीकै छ। नत्र भने बिरालाका नङ्ग्रा उस्तै छन्, दाँत उस्तै छन्। एकैछिन झरीमा रुयो भनेर हुन्छ? थाहा पाइराख्नुपर्छ त्यो ङ्याउँङ्याउँ रामभजन होइन। ढाँटको निम्तो हो।

हर्ताकर्ता हामी नै हौँ भनेर मख्ख पर्नुभएको होला, पुरेत बाजेले जसोजसो भन्यो उसैउसै स्वाहा गर्नुपर्ने होला क्यारे। पुरेत बाजेले यज्ञ नथाल्दै दान दक्षिणा मागे भने तपाईंको मात्र होइन तपाइँका बाबुको सम्पत्ति बेचे पनि पुग्दैन। अनि कसले पुर्‍याउँछ यो ढाँटको निम्तो ?
Source: Samakalinsahitya.

गजल (चेतेर आयौ)

- विष्णु बैकुण्ठे
प्रवासी भूमिमा टेकेर आयौ
उत्तिष्ण बादल रेटेर आयौ

विकास विफल अघोर निन्दा
विज्ञान प्रविधि देखेर आयौ

विवश गरीवी जहाँको त्यहीं
श्रृजना सवल भेटेर आयौ

हट्दैन कदम अगाडी बढ
विरोध अड्चन छेकेर आयौ

नेपाली पाखुरी नितान्त चाल
विदेशी लगाव चेतेर आयौ
*****************

साउदीका अरबी र नेपालको गरीबी

- विष्णु प्रसाद चापागाईं
"हैन हजुर मेरो भिसा अझै लागेन ? ६ महिना भइसक्यॊ मेरो एग्रिमेन्ट पेपर अझै आउँदैन ? मैले भने बमोजिमको भएन भने ५०० सेलरीको भएपनि हुन्छ । त्यसैमा मेरो पासपोर्ट एप्लाई गरिदिनुहोस् । आऽऽ कति बस्नु नेपालमा ! विदेश जान पाए सबै कुराको समाधान हुन्थ्यो !"

माथिको प्रसंग कुनै नौलो होइन । यी प्रसंगहरु काठमाण्डौका मेनपावरमा मात्र नभई नेपालका विभिन्न शहरका मेनपावरमा हरेक दिन सुन्न पाइन्छ र मैले सुनेको पनि थिएँ । माथिका यस्ता कुराहरुले प्रष्ट पार्छ कि हामी नेपालीलाई विदेश जाने र धन कमाउने कत्रो धोको रहेछ त ! नेपाल छोड्ने वित्तिकै उसको सम्पूर्ण समस्या समाधान हुने कत्ति ठूलो विश्वास । के उसले धन कमाउन विदेश नै जानुपर्ने कारण किन ?

हामी सबैले नेपालको पत्रपत्रिका तथा रेडियोमा देखे सुनेकै हो- "फलानो देशको फलानो कम्पनीमा ४०० कामदारको माग भई आएको हुँदा जान इच्छुक नेपालीले आफ्नो सक्कल राहदानी र १२ प्रति पासपोर्ट साइजको फोटो सहित तुरुन्त फलानो म्यानपावरमा सम्पर्क राख्नुहोला ।" यस्तो विज्ञापन सुनेपछि त वेरोजगार युवा युवतीहरुको तोकिएको मेनपावरमा भिड नै लाग्छ अनि पहिलो अनुच्छेदमा झैं वाक्यहरु फरर निस्कन्छन् उनीहरुबाटै ।

कथा (पापी समय र निष्ठूरी मायालु)

- केदार श्रेष्ठ
समयको चक्र घुम्दै जाँदा मानवीय जीवन जिउने क्रममा कति दिन हाँसेर, कति दिन रोएर बिताइयो होला ,त्यसको कुनै लेखाजोखा छैन। जुवाडेको हिसाबकिताबजस्तै। बालापनको सखीहरु एकादेशको राजकुमारजस्तै भइसक्यो। को कहाँ के गर्दैछन्, कस्ता भए अत्तोपत्तो छैन। म सम्झन्थेँ समयलाई मान्छेले पछि लगाउनु पर्छ न कि मान्छेलाई समयले। तर, मैले सोचेजस्तो हुँदोरहेनछ। समय मान्छेको माउते नै रहेछ। करै लाग्दो रहेछ समयको बन्धनभित्र बाधिनको लागि मान्छेले।

खाना खाइसकेपछि टी.भी. हेरिरहेको छु। आज दिशानिर्देश आउने दिन, त्यसैको प्रतीक्षामा छु। प्रायः दिशानिर्देश म कहिल्यै छुटाउँदिन किनकि म विजयकुमार पाण्डेको फ्यान हुँ। म उनको प्रश्न सोध्ने शैली– बाट अति प्रभावित छु। त्यतिमात्र नभएर यो कार्यक्रम ज्ञानवर्द्धक पनि छ। टी.भी.मा कार्यक्रम सुरु भयो। आजको पाहुना का रहेछ भनि नियालिरहेको थिएँ। तर, आजको पाहुना व्यक्ति नभएर देश रहेछ। कर्णालीमा मोटर पुगेको अवसरमा जुम्लाको यथार्थ देखाइएको रहेछ। साँच्चै नै त्याहाँका मान्छे कति खुसी भएका मोटर गाडि देख्दा, कति अन्जान देखिन्थे मोटर गाडि चल्दा। अलि बाठो देखिने वालक विजयकुमारसाग कुरा गर्न कहिले आइपुग्थ्यो त कहिले अलि माथि डाँडामा गएर जुम्लामा गाडि आयो भन्दै कुर्लन्थ्यो। लाग्थ्यो, उसको बालाजीवनको पहिलो आत्मैदेखि नै खुसी भएको क्षण हो यो। कार्यक्रम विश्लेषण गर्ने क्रममा विजयकुमार पनि कहिले प्रफुल्ल मुद्रामा देखिन्थे त कहिले भावुक र गम्भिर मुद्रामा देखिन्थे। उनले सयौ भाग दिशानिर्देश चलाए होलान्, अरु भागले के कस्तो असर पार्यो मान्छेलाई त्यो त थाहा छैन मलाई तर यो भागले भने एउटै मुलुकमा दुई देश रहेछ भन्ने संकेतमात्र नभएर शासकवर्ग सत्ता र सुविधामा मात्र झुम्मिदा रहेछन् र देशको अवस्थासँग अनभिज्ञ हुँदारहेछन् भन्ने कुराचाहिँ उजागर गर्न सफल भए उनी। म उनीप्रति ऋणि छु। घरमै बसी–बसी जुम्लाको बारेमा धेरथोर जान्ने मौका पाएकोमा। साह्रै मार्मिक थियो यो भाग।

कार्यक्रम सकियो। पल्टेको छु ओछ्यानमा। नानाथरिका कुराहरु खेलिरहन्छ मनमा। घरिघरि आइरहन्छ मानसपटलमा सिनेमाको दृश्यजस्तै कोही खुसीले, कोही डरले ती अवोध बालबालिकाहरु गाडि देख्दा कराएका र भागेका क्षणहरु। झन विजयकुमारलाई कति यादले सताउँदो हो कार्यक्रम सुटिङ्ग गर्न जाँदा देखेको समाजको वास्तविक परिदृश्य, जुम्लाको परिवेश र भू–वनोटले। जसरी म आफ्नो जीवनको एक मोडमा भएको क्षणलाई कहिल्यै भुल्न सक्दिन। त्यो क्षण यसरी सुरु भएको थियो–

पारिवारिक अवस्था अलि कमजोर भएकोले एसएलसी पछि पढ्न सकेको थिइनँ। गाउँमै प्लस टु खुलेपछि पढ्न सुरु गरेको थिएँ। कक्षा सुरु भएको एक महिना पछि एउटी गोरी केटी हाम्रो कक्षामा पढ्न आउन थालिन्। ऊ साह्रै हिस्सी परेकी थिई। ऊ बोल्न नडराउने र नलजाउने वहिर्मुखी स्वभावको रहेछ। ऊ आएकै दिन मलाई सोधी–हाम्रो ऐच्छिक विषय कुन हो?

मेरो छुच्चो मुख उघि्रहाल्यो नेपाली भन्दै उसतिर प्रश्न तेर्स्याउछु–वैनीको घर कता पर्यो होला? मन्द मुस्कानमा भन्छे–साखामाढी।

अनि तपाईँको नि?
केदार श्रेष्ठ'गगन' भीमस्थान एकै सासमा भनिदिन्छु नाम सहित।

वैनीको नामचाहिँ?
"सरु"

भर्ना गर्न किन ढिला गरेको त? जिज्ञासा राखछु उसको बारेमा। अर्काको ढोका पोत्ने जात भनेर बुबाले नपढाउने भन्नुभयो पहिले मैले रोइ कराइ जिद्धी गरेपछि पढ्न जाउ भन्नुभयो। त्यही भएर.............।

मनमा सोच्छु एक्काइसौं शताब्दीका भएर पनि समइलाई चिन्न सकेका छैनौ हामीले। अझैँ छोराछोरीमा भेदभाव गर्छौ। अझै जनचेतनाको कमी छ हामीमा।

हजुरबुबाले जसरी पनि बुबालाई बोलाइदे भनेर कर गर्नु भएको धेरै दिन भइसक्यो। नेताहरुले भाषण गर्दा कोही सिङ्गापुर बनाउछु भन्छन्, कोही स्वीजरल्याण्ड बनाउँछु भन्छन् नेपाललाई। तर, खै धेरै वर्ष बितिसक्यो हाम्रो ठाउँमा न मोटर देखियो न विजुली झुल्कियो। न टेलिफोनको तार नै झुण्डियो। त्यसैले फोन गर्नको लागि सिन्धुली बजार जानुपर्ने भयो। बिहान उठेर लागेँ फोन गर्न बजारतर्फ साथमा गोपाल पनि छ। ऊ मेरो साह्रै मिल्ने साथी हो।

फोन गरेँ बुबालाई।
हेलो! कमल सरलाई पाउन सकिन्छ होला?

हजुर म बोल्दैछु। तपाईँ को बोल्नु भएको हो?
सायद मलाई चिन्नुभएन होला। म केदार बोलेको, सन्चै हुनुहुन्छ बुबा?

सन्चै छु। के छ हालखवर घरतिरको?

राम्रै छ। बुबा घर आउने हैन?

एक महिना पछि आउँला। अहिले पैसासैसा पठाइदिन्छु घरब्यवहार मिलाउदै गर्नु हुन्न र?

अहँ हुदैन पैसाले। दुई वर्ष भइसक्यो अझै घर आउने विचार छैन जसरी भए पनि तपाईँ घर एकपल्ट आउनै पर्छ। ढिपी गर्छु।

त्यसो भए तँ पनि काठमाण्डौं आइज न त एकदुई दिनपछि सँगै फिरौँला।

काठमाण्डौं जाने भएँ। त्यसदिन सिन्धुली बजारमै बास बसेँ। अर्को दिन विहानै म काठमाण्डौंतिर लाग्छु, गोपाल घरतिर लाग्छ।

मोकामा चौका हान्नु पर्यो भनेर काठमाण्डौ. पुगेको भोलिपल्टै लागेँ भोटाहिटीतिर आफूलाइृ चाहिएको दुईचारवटा किताब किन्नको लागि। किनकि आफूले खोजेको लेखकको किताब हाम्रोतिर पाइदैन। खाए खा नखाए घिच भने जस्तै हो।

वेलुका बुबा अफिसबाट फर्केपछि हजुबुबाले भनेको सबै कुराहरु सुनाउछु। त्यसपछि बुबाले घर जाने निधो गर्नु भयो। म हतारिन्छु। डर छ मलाई पढाई छुट्छ भन्ने। अलिअलि झल्को सरुको पनि। एक हप्ताको काठमाण्डौंको बसाइ पछि घरतिर लागियो बुबा,म र फुपूको छोरा जीवनसँगै।

घर गएको भोलिपल्टै जान्छु प्लस टु पढ्नको लागि। ऊ हताश मुद्रामा देखिन्थी। मैले ङिच्च दाँत देखाउदै सोधेँ–कति पढाउनु भयो सरहरुले?

एकएक टपिक्स अगाडि बढेको छ भन्दै मलाई एउटा खाम दिई।

म झस्किन्छु। के दिई यो। के छ यसमा। थाहा छैन मलाई। हेर्न आतुर छु डरडर लागिरहेको छ। मैले केटीको हातबाट आजसम्म खाम यसरी पाएको थिइन। सायद, त्यही भएर होला धड्कन बढिरहेको।

मैले त्यो खाम स्कुलमा खोल्ने आँट गरिन। घरमा गई ढाका बन्द गरेर पढ्न सुरु गरेँ। त्यसमा यस्तो लेखिएको थियो–

समुद्रभन्दा गहिरो, नदीभन्दा लामो मुटुभरिको माया। कहाँबाट सुरु गरौं मनको बह पोख्नलाई। हजुरको अगाडि मुख खोल्न सकिनँ त्यसैले यो दुई अक्षर लेख्दैछु। केटा मान्छेको जात कस्तो हुँदोरहेछ? यत्रो दिनसम्म कहाँ जानुभएको थियो? यहाँ जान्छु पनि छैन त्यहाँ जान्छु पनि हैन। साह्रै निष्ठूरी हुँदोरहेछ। आफूलाई एकदिन नदेख्दा एक वर्ष नदेखेजस्तो हुन्छ हजुर भने..............।

रातमा निद्रा छैन दिनमा भोक
बैंसमा लाग्यो हजुर मायाको रोग।
खै! के भएको यस्तो मलाई। आजभोलि यो गीतमा भनेजस्तै हुन्छ। मेरै व्यवहार थाहा पाएर गीतकारले यो गीत लेखेजस्तो लाग्छ। भावनामा हावासँगै बहिरहन्छ मन। पढ्रदा पनि किताबका पानाहरुमा तपाईँलाई मात्र देख्छु। म जहाँ भएपनि मेरो मन हजुरसँगै हुन्छ। मलाई हजुर अति मन पर्छ। मेरो मुटुको ढुकढुकीमा हुनुहुन्छ। सायद, तपाईँ नभए मेरो मुटु चल्नै छाड्छ होला।

म तपाइँसँग टाढा भएर बस्न सक्दिन। जसरी आकाश र तारा, नदी र पानी, नङ्ग र मासु छुट्टिदैनन्। त्यसरी नै म तपाईँसँगै जीवन बिताउन चाहान्छु, म तपाईँको दुःखमा दुःख मिलाएर यो छोटो जीवन व्यतित गर्नलाई तपाईँको जीवनमा बेहुलीको घुम्टो ओढी आउनलाई तयार छु। हजुरको न्यानो अङ्गालोमा बाँधिन आँतुर छु। तपाईँको के बिचार छ त्यो थाहा छैन मलाई। तर पनि यो दुःखीलाई घृणा र यो दुःखीको अनुरोधलाई तिरस्कार गर्नुहुन्न भन्ने आशामा छु। तपाईँको सुकोमल हातबाट लेखिएको दुई अक्षर मेरो प्रस्ताव स्वीकारसहित आउने प्रतिक्षामा बसिरहेकी छु। ल त अहिलेलाई विदा।
उही तपाईँकी प्यारी, सरु
चिठी पढिसकेपछि प्रथम रजस्वला भएपछि स्नान गरी घाम ताप्दै गर्दा एउटा नवयौवनालाई जस्तै केही पाएजस्तो, केही गुमाएजस्तो, कताकता डर लागेजस्तो, कताकता खुसी भएजस्तो भइरहन्छ। चङ्गासरि हावासँगै उडिरहन्छ मन।

केही दिन मनमा गनथन गरी दिमागले शब्द मनथन गर्दै उसको प्रेमप्रस्ताव स्वीकारसहित दुई अक्षर लेखेर दिएँ। उः धेरै खुसी भई। यसैगरी दिनहरु बित्दै गए। यस समयमा हुनेनहुने सबै राम्रा नराम्रा कामहरु भए हामी बीचमा। तड्पाइमा बस्नुपर्दा मात्र रात–दिनहरु लामा र कहाली लाग्दा हुँदा रहेछन्। उसको र मेरो साथमा बितेका यी क्षणहरु दुई बर्ष दुई दिनमै गएजस्तो लाग्यो मलाई। प्लस टु को पढाई सकियो। पढाई राम्रै भएकोले दुबैजना पास भयौ।

उसले सिन्धुली बजारमा नै आफू पढ्ने नपढ्ने टुङ्गो नभए पनि मलाई पढ भन्ने योजना बनाएकी रहिछिन्। मेरो हात सुमसुम्याउँदै भन्छिन् ढुङ्ग्रेवास क्याम्पसमा नै पढौँ है? बेलाबेलामा भेट भइरहन्छ। टाढाको अनुभव हुन पाउँदेन नि, टाढा नजानुस् है?

घरको खर्चले प्रइभेट क्याम्पस पढ्न नसक्ने र वीरगञ्जतिर सानोतिनो काम गर्दै सरकारी क्याम्पस पढ्ने योजना गोपाल र मैले बनाएको बताउँछु। गोपाल वीरगञ्जतिरको भुक्तभोगी हो। उसलाई वीरगञ्जतिरको बारेमा सबै थाहा छ। तिमी मेरो लागि र म तिम्रो लागि जन्मेको र स्वच्छ पवित्र माया भए कसैगरी पनि हामी हाम्रै हुन्छौ, धेरै कुरा नखेलाउनू मनमा मेरो बारेमा केही चिन्ता लिनुपर्दैन। पीर चिन्ताले ज्यान खान्छ। यसरी उसलाई शब्द सान्त्वना दिन्छु।

मेरो निर्णयले सरु धेरै बेर मेरो काखमा घोप्टो परेर रोइरही। उसको बगेको आँसुलाई पुछ्दै सम्झाउछु यसरी रोएर हुन्छ त लाटी, आँसुले प्रगतिको बाटो रोक्छ, रुनुहुन्न।

सुक्कसुक्क गर्दै फेरि भन्छे यता पढ्न नसक्ने भए बरु पढ्नु पर्दैन।

म केही बोल्दिन। चुप लागेर उसको अनुहारतिर आएको कपाललाई खेलाएर बसिरहन्छु। म पढ्नलाई छाड्न चाहान्नथेँ। नपढेर मैले धेरै हण्डर, गोत्ता र पीडा भोगिसकेको थिएँ।

समय परिस्थितिले नै मान्छेलाइृ नजिक र टाढा पुर्याउँदोरहेछ। मान्छेले बल गरेर हुन्न रैछ।

गोपाल र म लाग्छौ वीरगञ्जतिर। उता लाग्नु भन्दा अघिल्लो दिन सरुलाइृ भेटेर फर्किने बेलामा गहभरि आँसु पार्दै भनेकी थिई– हाम्रो भेट कहिले हुन्छ? शंका लागिरहेछ मलाई। यो अन्तिम भेट त हुने होइन? मेरो विहे गरिदिने कुरा चल्दैछ घरमा।

बोल्न खोज्छु। बोली अबरुद्ध हुन्छ। बल्लबल्ल भन्छु एक महिना पछि भेट भइहाल्छ नि, आफैलाई सम्हाली बस जस्तै हुरीबतास आएपनि केही हुने छैन।

खै उसले के बुझी टोलाएर हातको औला पड्काउँदै मुण्टो हल्लाउँछे।

यताउति हेर्दै एकपटक छातिमा टास्छु र बिदा हुन्छु। उसले डाँडाले नछेकुन्जेल मलाई हेरिरही। जव ऊ र म देखिन छाड्यो तब मेरो मनमा पूर्णिमामा ग्रहण लागेजस्तो भयो।

क्याम्पस जाडो विदा भयो। घर फर्के। उसलाइ‌ छेट्न मन हतारिरहेको छ। तर कसरी के निहुँ बनाउने हो ढिला भएकोमा सोचिरहेको छु। जे होला भनेर लाग्छु भेट्नलाइ उसको घरतिर। तर, भेट हुन सकेन। उनी त अरु कसैको भइसकिछ। बिजुली चम्केर चट्याङ्ग बज्रेजस्तो भयो। साह्रै रिस उठ्यो। मसँग बिहे गर्छु भन्नलाई जातले छेकेको भए तापनि एक वर्ष बिहे गर्दिन भनेको भए भइहाल्थ्यो होला नि। म उतै जिन्दगी बिताउन गएको हैन आखिर। फेरि सोच्छु मैले उसले भनेको मानेर यतै पढेको भए सायद यो पीडा खप्नु पर्दैन थियो होला। पछुतो लाग्छ उसको कुरा नसुनेकोमा मलाई। मनमा वेदनाको भेल नदी बगेजसरी बगिरह्यो, चैत्रको खडेरीमा आगो दन्केसरि आगो दन्किरह्यो छातिभित्र, रातभरि निद्रै परेन। त्यही पनि पल्टिरहेँ ओछ्यानमा।

रातभरिको छटपटाइपछि बिहानीपख एउटा गीति कथा लेख्छु पीडा र पश्चातापले भरिएको र पठाउछु सुरसंगममा।

ऊ सधै सुन्थी सुसंगम। अहिले पनि प्रत्येक बिहिवार राति साढे नौ बजे नवजीवनसाथीसँगै रेडियो कानमा राख्छिन् होला।

सरु अहिले अर्कैको भए पनि मेरै भएर नाचिरहन्छिन् आँखाभरि बिर्सु भन्छु झन उर्लिएर आउँछ वेदनाहरु, अधुरै रहे उसले मैले देखेका सपनाहरु।

गल्ती कोबाट भयो ऊबाट वा मबाट थाहा भएन तर धोका भयो पहिलो प्रेममा। पहिलो प्रेम त क्यान्सर नै हुँदोरहेछ बिर्सु दुख्छ,

सम्झु दुख्छ

मृत्युवरण गरुँ

असफलताको जीत हुन्छ

खै के गरुँ? खै के गरुँ?

टाउके डाँडाभरि अझै प्रत्येक वसन्तमा रातै गुराँस फुल्ने गर्छ, त्यही फूल चुल्ठोमा सिउरेर गुराँसको फेदमुनि मेरै प्रतिक्षामा बसिरहेकी छिन् कि जस्तो लागिरहन्छ। दौडेर जान्छु, खोज्छु मेरो मायालुलाई तर त्यहा हुन्न। त्यहाँ गिज्याएर जान्छ हावाले मलाई। टाढा–टाढा कुनै घरमा मधुर स्वरमा कर्णदाशको यो गीत बजेको सुनिरहन्छु टोलाएर–

"भेटिएर छुट्नुभन्दा नभेटिएकै जाति हुन्थ्यो
हामीबिचको सम्बन्ध यो अझै कति माथि हुन्थ्यो।"

र धन्यवाद दिन्छु पापी समय र निष्ठूरी मायालुलाई।
साभार–विमोचन मासिक