-मनोज बोहरा
सूर्यको प्रकास सिधा बन्दुकमा परेकाले होला, अचम्मैले चम्किए झैँ देख्दैछु। यसमा कम्प्युटर चिप जोड्नु पर्ने हुनाले बन्दुक खोलें, त्यसमा भएको ट्रिगर निकालेर फाल्दिएँ। मोटरबाट निस्केको तार कम्प्युटर चिपमा जोडिदिएँ। मोटर घुम्दा अंकुसे सँगसँगै ट्रिगरमाथि रहेको स्प्रिङ्ग तानियोस् र बन्दुक पड्कियोस् भनेर एउटा पातलो फलामको अंकुसेको एक भाग त्यस सानो मोटरमा र अर्को भाग उक्त ट्रिगरमाथि रहेको स्प्रिङमा जोडें।
त्यहाँ अझै एउटा समस्या देखिन्थ्यो, त्यो के भने कम्प्युटर चिपलाई इन्टरनेट कनेक्सन तथा मोटरलाई बिजुलीको सप्लाई दिन बाँकी थियो। त्यस बन्दुकभित्र रहेको चिपमा र मोटरमा बिजुलीको सप्लाई दिनको लागि युएसबी केवलमार्फत् व्यवस्था मिलाएँ। उक्त बन्दुकको लेन्स भएको भागमा वेब क्यामरा जोडेँ। यसरी युएसबी केवल (डाटा केवल) मार्फत् बन्दुकमा (कम्प्युटर चिप, वेबक्यामेरा) इन्टरनेट कनेक्सन दिनको लागि मोबाइलमा जोडें।
C++ मा तयार गरेको प्रोग्राम रन गरेँ जसले बन्दुकभित्र रहेको मोटर चलाउन मद्दत गर्दथ्यो र बन्दुक पड्किन्थ्यो। त्यस प्रोग्रामले इन्टरनेट कनेक्सन खोज्यो। इन्टरनेट कनेक्सन इनेबल गरी मोबाइलको Ip Address राखी डिभाइस (बन्दुक) सर्च गरें। त्यो डिभाइस मेरो ल्यापटपमा देखियो। ल्यापटमा देखिएको Fire बटन क्लिक गरें। मेरो प्रयोगशाला नै थर्किने गरी बन्दुकले आवाज दियो। (त्यस बन्दुकमा इन्टेरनेट कनेक्सनले जोडेपछि, संसारको अर्को कुनामा रहेको ल्यापटपबाट उक्त बन्दुक चलाउन सकिन्थ्यो)
भित्रबाट रक्षा दौडिदै आइन्। (यिनी अहिलेको नाम चलेको इन्टेरियर डिजाइनर्स हुन्। यिनको काठमाडौंमा डेकोरेशनको ठूलो व्यवसाय छ।)
“अविनाश, तिम्रो खुसीको मुस्कान देख्दा त सफल भयौ जस्तो लाग्छ नि ?” कानै नजिकै आएर फुस्फुसाइन्।
“ठीक भन्यौ, म यो दिनको वर्षौदेखि पर्खाइमा थिएँ। बरु भन तिमीले यो बन्दुक लुकाउनको लागि मिल्दो टेबल बनायौ त ? ”
“टेबल बनिसकेको छ। यो टेबल त्यस घरको ठिक सोफाको सामुन्ने भित्ताको आड दिएर राख्ने विचार गरेकी छु।”
“राम्रो विचार, टेबलभित्र बन्दुक राखेर भित्ता कै आडदिएर राख्नु। हैन भने यो पड्किँदाको समयमा आड पाएन भने निशाना चुक्न सक्छ। गोली निस्कने भागको ठीक अगाडिको टेबलको भागमा प्वाल पार्न लगाउन नबिर्सनु नि, बाँकी तिमी बुझ्ने नै छ्यौ।”
“त्यति पनि आफैले बुझ्न नसक्ने, त्यत्तिसम्म बुद्धु छु होला त ?” दुवै आँखी भौं एकै ठाउँमा खुम्चाइन्। अनि आखाँको नानी दायाँ बायाँ हल्लाउँदै मतिर प्रश्न तेर्साइन्।
“धेरै काम सक्नु पर्नेछ आज मैले। म जान्छु पनि।” (मलाई हात हल्लाउँदै रक्षा त्यो बन्दुक तथा सम्पूर्ण उपकरण बोकेर कारतिर लागिन्)
_********************************_
मोबाइलबाट बच्चा खित्का छोडेर हाँसेको स्वर सुनियो। ल, कसैले फोन गरेजस्तो छ। मोबाइल हेरें। रक्षाले फोन गरेकी रहिछन्।
“हेल्लो”
“त्यस व्यक्तिको घरको डेकोरेशन सकियो, टार्गेट चेक गर्नुभए हुन्छ।” रक्षाले जवाफ दिइन्
“थ्याङ्कस अ लट डिएर”
यत्तिका तयारी गरे पनि एउटा तयारी गर्न भुले झैँ लाग्यो- आइपी हाइड गर्नु। आजै काम सक्नु पर्ने बाध्यताले आइपी हाइड गर्न सम्भव होला जस्तो लागेन। तैपनि हाइड गर्नको लागि अमेरिकाबाट सञ्चालन गरिएको प्रोक्सी सर्भर प्रयोग गर्ने निधो गरें, जसले नेपालमै भए पनि कसैले खोज अनुसन्धान गरे भने पनि आइपी अमेरिकाको देखाउने छ। कम्युटरमा त्यस प्रोक्सी सर्भरको एड्रेस टाइप गरें। प्रोक्सी सर्भरमा एड्रेसबार देखियो। त्यस एड्रेसबारमा www………..com टाइप गरें। साइट खुल्यो।
Fire Program क्लिक गरें
Enter your Password ल्यापटपमा म्यासेज देखियो।
Password टाइप गरी इन्टर थिचें। प्रोग्राम खुल्यो।
टार्गेट मेनु क्लिक गरी – वेबक्याममा क्लिक गरें।
Target Found कम्युटरमा म्यासेज देखियो।
ल्यापटपभित्र वेवक्यामको तस्विर हेर्ने भागमा हेरें। एक मोटे सोफामा बसिरहेको देखियो। गोली कता लाग्छ भनी त्यस वेबक्याममा देखिएको तस्बिलाई ठूलो (जुम) गरें। निसाना ठीक टाउकोमा लाग्ने रहेछ। इन्टर थिचें। स्क्रिनमा Fire बटन र अलि दायाँपट्टी Cancel बटन देखियो।
अलिकति पनि समय खेर नफाल्दै Fire बटन क्लिक गरें। वेब क्याममा केही देखिएन। केही क्षण पश्चात् ल्यापटपको वेबक्याममा त्यस मोटे रगताम्य भई सोफामा लडेको देखियो।
_*****************************_
आँखा खुल्यो, वरपर प्रहरी विभागका विशेष व्यक्तिहरु रहेछन्। भर्खरै देखेका कुराहरु त अपराधी पत्ता लगाउनको लागि हिप्नोटाइज विभागका प्रहरीहरुद्वारा हिप्नोटाइज पो गरेका रहेछन्। सम्पूर्ण कुराहरु उनीहरुले थाहा पाइसकेको हुनाले, मेरो अपराध प्रमाणित भैसकेको थियो, मैले झुक्याउने कुनै ठाउँ नै थिएन।
प्रधानमन्त्रीलाई किन गोली चलाउनु भयो ? के रिसइबी थियो तपाईँको सम्माननीय प्रधानमन्त्रीज्यूसँग ?
तपाईलाई साथ दिने साथीहरु अरु को-को छन् त ? एक प्रहरीले प्रश्न राख्यो।
मलाई त्यो मोटेलाई गोली चलाएकोसम्म त थाहा छ प्रधानमन्त्रीलाई गोली चलाएको बारेमा केही थाहा थिएन। चुप बसें। केही क्षणको सन्नाटालाई चिर्दै अर्को प्रहरीले प्रश्न गर्यो।
यो विशेष किसिमको सैन्य तालिम कहाँबाट सिक्नु भयो ?
उनीहरुले हिप्नोटाइज गरेर उकेलिएको शब्दभन्दा एक शब्द भन्दा बढी केही कुराहरु पनि याद थिएन। मुख बन्दै राख्नु भन्दा अरु विकल्प ममा केही बाँकी थिएन।
यो राजनिटिक हट्या भन्ने प्रमाणित भे र पेठ्याउँछ। ओह इन्स्पेक्ट्र साप- एक प्रहरीले जवाफ दियो।
शक्ति र सम्पतिको लोभमा तपाईले गलत बाटो रोज्नु भयो अविनाशजी। इन्स्पेक्टरले रवाफिलो स्वरले दुवै हात हल्लाउँदै धम्क्यायो।
गन्तव्यमा पुग्न कुन बाटो ठिक कुन गलत भनेर अल्मलिएमा त गन्तव्य खित्का छोडेर हास्नेछ साब।
शक्ति सम्पत्तिको लोभमा अपराधको बाटो समाउनु व्यर्थ छ। अपराधको बाटो सुरुमा जस्तै मखमली देखिए पनि आखिर यस्को गन्तव्य भनेको जेलको चिसो छिंडीसम्म मात्र हो अविनाशजी। नत्र तपाईं जस्तो मास्टर माइन्ड मेरो अगाडि निरीह देखिंदैन थियो होला।
_****************************_
लगातार वर्षाको पानीले होला, त्रिशुलीको ठाडो खोला उर्लेर अझै बढी डरलाग्दो भएको देखिन्छ। छेउका किनाराहरु खेतीयोग्य जमिन बगाउँदै यो मेरै क्षेत्र हो भनी हुँकार छोड्दै निरन्तर बगिरहेको प्रतित हुन्छ। बीचमा रहेको राजमार्गमा अन्त्यहीन गन्तव्यमा पुग्नको लागि बसमा सवार यात्रुहरु एकपछि अर्को निरन्तर दौडिरहे झै देखिन्छ।
लुक्नको निम्ति आड लिएको रुखको पातबाट तप्प पानी चुहियो। चिसोले आँगै सिरिङ्ग भयो। रुखमा बसेका चराहरु चिर्र, चिर्र च्यार्र, उँक, उँक गरि कराउँदै कहिले उड्दै कहिले रुखको डालीमा बस्न लागे। चराहरुले पात हल्लाएर, पातमा रहेको पानीले मलाई निथ्रुक्कै भिजाए। अगाडि रहेको सिस्नुको झ्याङ्ग आँखाले छिचोल्दै राजमार्गमा निहाल्दै थिएँ। दुई जना प्रहरीहरु भ्यान तेर्स्याएर यताउता हेर्दै मलाई खोज्दै रहेछन्।
“अविनाश यहाँ भन्दा अगाडि भाग्नै सक्दैन। यहाँभन्दा अगाडिका सबै नाकाहरु बन्द छन्।” एक प्रहरीले आफ्नो साथीलाई आशय व्यक्त गर्यो।
“अब यो जंगलमा कहाँ खोज्ने यसलाई। साँझ पर्न लाग्यो। फेरि मुसलधारे पानी पर्ला जस्तो छ। फर्कने हो कि ?” अर्को प्रहरीले मोवाइल हातमा खेलाउँदै आफ्नो आशय व्यक्त गर्यो।
अब यिनीहरु फर्कनेछन् भनी ढुक्क पर्न लागें। तर ती प्रहरीहरु म भएतिरै पो आइरहेका छन् त। उनीहरु बिग्रेर बसेको ग्यासको टयाङ्करको नजिकै पो आइ पुगिसकेका रहेछन्।
खल्तीबाट मोबाइल झिकें, त्यस मोबाइल हातमा खेलाउने प्रहरीलाई मोबाइल वेबको लिंक म्यासेज पठाएँ।
“लौ मलाई म्यासेज आएछ ” हातमा मोबाइल खेलाउने प्रहरीले आफ्नो साथीलाई भन्दै हातको इसाराले रोकिन लगायो।
त्यस लिंकमा थिच्नासाथ एक किसिमको भाइरस डाउनलोड हुन्थ्यो जसले अनावश्यक रुपमा विभिन्न प्रोग्राम रन गरेर त्यसभित्र रहेको व्याट्रीको इन्टरनल सर्किट तताउने गर्थ्यो। त्यस अवस्थामा कसैको फोन रिसिभ गरे मोबाइल पड्किन्थ्यो।
डाउनलोड हुन सकिएछ। तिनीहरु अगाडि बढ्न लागे। त्यसै बखत मैले त्यस प्रहरीको मोबाइल नं. डायल गरेँ। मोबाइल रिसिभ गर्दै गर्दैन।
अब नजिकै रहेको ग्यासको ट्रकमै जोडिन झैँ आइपुगे। त्यहाँबाट म लुकेको रुख केही टाढा टाढा मात्र थियो उनीहरुले राम्ररी नियालेमा मलाई राम्ररी देख्न सक्थे। डरले मेरो मुटु ढुक-ढुक हुन लाग्यो। चिसोले होला खोकी लाग्ला झैँ भयो, आफ्नो घाँटी आफैले अट्ठ्याए। फेरि त्यस प्रहरीको मोबाइल नं. डायल गरें। यस पाला त्यस प्रहरीले मोबाइल रिसिभ गर्यो। “हेल्लो” मात्र के भनेको थियो। मोबाइल ड्वाङग् गरी पड्कियो संगै “मरेँ नि” प्रहरीको चित्कार पनि। त्यसरी पड्केको मोबाइलले नजिकै रहेको ग्यासको ट्याङ्करमा आगो सल्कियो। टयाङ्करबाट ठूला ठूला लप्काहरु निस्केर ती प्रहरीहरुलाई बेरिरहेको देखें।
“गुहार….. मरेँ नि…..बचाउनुस्…………आत्था, मरेँ नि…….आम्मा…..ए..आम्मा मरेँ नि….बचाउनुस्” विस्तार विस्तार उनीहरुको आवाज सून्यमा विलिन हुँदै जाँदै थियो।
लौ खतरा टल्यो। म राजमार्गमा निस्किएँ।
पछाडिबाट कसैले रिवल्वरबाट फाइरिङ गरेको आवाज सुनियो।
मैले आफ्नो स्थिरता गुमाएँ। छेउमा रहेको त्रिशुली नदीको छेउमा रहेको बुटा समात्न खोज्दै थिएँ तर असफल। मेरो नाक र छाती त्रिशुली नदीको पानीमा बजारिन पुग्यो। नाकबाट, मुखबाट हुलुक्क….हुलुक्क गर्दै पानी मेरो घाँटीतिर छिर्दै थियो।
_*********************************_
एक जोडी वृद्धवृद्धा गुन-गुनाएको आवाज टड्कारै सुनिंदैछ। आ…… बिस्कुन नसुकेर हो कि मिल चलाउन नजानेर हो। सबै चामल कुड्कै कुड्कै बनाइदियो। वृद्धा बोलिन।
समय पनि त्यस्तै छ नि। रुन नजानेको पिन्चे जस्तो। घरी घाम लाग्छ, घरी स्यारारा झरी पर्छ। धन्न यत्तिको भए पनि भएछ। यसरी झरी परेकै परै भयो भने भोक-भोकै पो परिन्छ होला। वृद्धले जवाफ दिए।
पछाडि करेसोमा रायो बीऊ छरेको थिएँ। यो झरीले कुहिन्छ पो होला- वृद्धा बोलिन्। पल्लाघरे साइँलाको त्यो माउ पोथी साखा सन्तान नै बोकेर सँधै यतै झर्छ। खोस्रेको खोस्रेकै। त्यो ज्यामाराजले पो केही बाँकी रहन नदिने भो। झरीले भन्दा नि त्यो पोथीले पो खाइसक्यो होला। बृद्ध बोले।
अलि दिन विचार गर्नु पर्छ उम्रेन भनि खन्दिनु पर्छ। बरु बार बार्दिने पो हो कि कुखुराले दिक्कै पार्यो। वृद्धाले आफ्नो आशय व्यक्त गरे।
अँ….वृद्धाले केही सम्झे झैं गरी बोलिन्।
त्रिसुली खोलाँ माझीहरुले भेटेर ल्याएका ति बाबुलाई होस आउला जस्तो भाछ।
हो र — हषिर्त स्वरमा बृद्धले प्रश्न राखे।
पातली छोरी भा भए अलि चाँडै निको हुन्थे कि बरा…..। त्यसको पनि यतिबेलै डाक्टरको परीक्षा रे। गोली निकालेर त्यसलाई पनि यति बेलै काठमाडौँ लाग्नु पर्ने। हिजो मैले तेल घस्दिदा चोरी औंला हल्लाएका थिए। खुसी बृद्धाको स्वरमा प्रष्टै छचल्किरहेको थियो। हे ईश्वर बरा त्यो बाबुलाई चाँडै निको गर्दे- आकाश तिर फर्किँदै इश्वर पुकार्न लागिन्। १५ दिन भैसक्यो इन्तु न चिन्तु। सद्धे हो कि लाश पत्तो पाउन सक्या छैन।
यो बाबुको आँखा त काट्टीकुटी हाम्रै छोराको जस्तो छ नि- ती वृद्धाले आफ्नो छोरालाई स्मरण गरिन्।
केही बेर सन्नाटा छायो।
बृद्धले खुइए गर्दै लामो श्वास ताने। आफ्नो छोरा सम्झिए। आ….. त्यो पनि अम्रिकै भासियो। अब त फर्किन्छ होला भनी दिन गन्दागन्दै डाँडा माथिका घाम भैसक्यो। त्यसको अत्तो पत्तो छैन। याँ भए…. घर खेत गरेर खान्थ्यो कि। पर्देशमा…………. खै…….. के गरेर बस्छ होला।
हत्याको योजना र त्यस मोटे अर्थात् प्रहरीको भाषामा भन्नुपर्दा प्रधानमन्त्रीको हत्या भन्दा अरु कुनै पनि कुरा मलाई स्मरण नै छैन। म आफ्नो विगत सम्झन खोज्छु। त्यस घट्ना भन्दा अघिका दिनहरु याद गर्ने कोशिस गर्छु सबै कोशिस व्यर्थ। सम्झना केवल सून्यता मात्र। मेरो मानसपटलमा मेरो बारेमा बताइदिनसक्ने एकमात्र व्यक्ति बाँकी रहेकी थिइन “रक्षा”। फेरि उनी कहाँ बस्छिन्, त्यसको बारेमा म पूर्ण रुपमा अनभिज्ञ नै छु। मेरो उद्देश्य केवल रक्षालाई खोज्नु मात्र बाँकी रहेको थियो। आफूलाई पहिचान गर्ने त्यसभन्दा अरु विकल्प औंसीको रात झै अँध्यारो देखिन्थ्यो।
कसैको न्यानो हातको स्पर्श मेरो निधारमा पर्यो। म झसंग झस्किए। मलाई सेवा गर्ने वृद्धा रहिछन्।
“बाबुलाई कस्तो छ त अहिले” बनावटी मुस्कुराहट ओठमा ल्याउन खोज्दै बृद्धाले प्रश्न गरिन्।
“अलि निको छु आमा” मैले खोक्दै उत्तर दिएँ।
मैले बोलेको आमा शब्दले बृद्धालाई अलि प्रभावित पारे जस्तो लाग्यो। आँखाबाट निस्किन लागेको आँसु बाहिर निस्किन नदिइकन आँखा भित्रै सुकाइन्।
“बाबुलाई खोकी लागे जस्तो छ। म बेसार पानी र बोजेको झोल बनाएर ल्याइदिन्छु। बस्दै गर्नुस है” बृद्धा जुरुक्क उठिन् सारीको सप्को मिलाएर भान्छा घरतिर लागिन्। म पनि बृद्धाको पछि लागें।
वृद्धाले दुबै हात एक अर्कामा हिर्काएर थपडी बजाइन्। भान्छा घरको बिजुली बत्ति बल्यो। एक क्षण त अलमल्लमा परें तर छेउको भित्तामा राखेको भ्वाइस रिकोग्नाइजेसन बक्स देखेपछि बल्ल बुझें थपडी बजाएपछि त्यो भ्वाइस बक्सले थपडीको आवाज पहिचान गरी घरको बिजुली बत्ति बल्ने गर्दो रहेछ।
बाबु हाम्रो छोरा ठ्याक्कै तपाईँ कै उमेर कै भयो – ऐले अम्रिकामा छ। काट्टीकुटी तपाई जस्तै देखिन्छ। तर बाबु फर्कने होश त्यसलाई कहिल्यै भएन। बृद्धाले मेरो आवाजले पहिचान गरिछन् सायद। पछाडि नफर्की कुरा सुरु गरिन्।
कुराकानी त फोनबाट हुँदो हो नि आमा, मैले जिज्ञासा राखें।
पहिले पहिले महिना महिना दिनमा फुन गर्ने गर्थ्र्यो। कम्पुटरमा चिठी नि पठाउँथ्यो। पैसा नि मनग्य पठायो। तर अहिले हामीलाई बिर्से जस्तो छ। उतैको नागरिकता लिने रे भनेर पल्लाघरे साइँलोलाई भन्थ्यो अरे। वर्षदिन जति भयो। न चिठी न फुन पत्तोफाँट छैन बाबु- बृद्धाले उत्तर दिइन्।
“हुर्केको छोरालाई घरमै बाँधेर राख्नु हुन्न आमा, बेलाँ-बेलाँ पैसा पठाएकै रहेछन्, फोन पनि गरिरहेका रहेछन्, यो वर्ष ढिला भयो र त के भयो र समय मिले त फोन गर्लान् नि।”
“आ…… बाबु हामी त डाँडा माथिका घाम, विरामी पर्दा तातो पानी ख्वाउने मान्छे पनि हुन्न। त्यतिखेर यत्रो बडो घर दौडेर टोक्न आए झै लाग्छ। के गर्नु बाबु पैसाले, यसलाई सिरानी हाली सुतेर न रोग निको हुने रहेछ। न भोक नलाग्ने हुने रहेछ। झर्न लागेको आँसु सारीको एक छेउले पुच्छ्दै लामो स्वास तानिन। अब त….त्यसको अनुहार पनि देख्न नपाई मर्छौँ झैँ लाग्न थालिसक्यो।”
सन्नाटा…..
बृद्धाले केही सम्झे झैँ गरिन्।
ग्यासमाथिको दराजभित्रको सानो प्लास्टिकको भाँडोबाट एउटा कम्प्युटर चिप निकालेर दिइन्- बाबु यो तिम्रो शरीरमा गाडिएको अवस्थामा भेटिएको भन्दै थिई छोरी पातलीले।
आमा हजुरको घरमा कम्प्युटर छ ? हातमा कम्प्युटर चिप लिंदै मैले प्रश्न गरें।
हामी त कम्पुटर चलाउन त जान्दैनौ बाबु तर बेलाँ बेलाँ त्यही पातलीले चलाउँथी, पल्लो कोठामा छ।
हो र आमा।
म पूर्वतिरको कोठातर्फ लागें।
कम्प्युटरमा त्यस कम्प्युटर चिप जोडें। कम्प्युटरले इन्टरनेट कनेक्सन माग्यो। ओके बटन क्लिक गरें।
इन्टर योर पासवर्ड।
कम्प्युटरले पासवर्ड खोज्यो। मलाई कुनै पासवर्ड याद नै थिएन।
त्यसैले पासवर्ड क्र्याक गर्न घन्टौँ मिहिनेत गर्नु पर्यो। अन्तमा सफल भएँ।
त्यहाँ रक्षाको बारेमा सम्पूर्ण जानकारी राखिएको रहेछ। त्यो जानकारी नोट गरें। अरु पनि जानकारी केही पाइन्छ कि भनेर यता उता क्लिक गरी हेर्दै थिएँ, कम्प्युटर ह्याङ्ग भयो।
एक्कासी बाहिरबाट घरभित्र राइफलबाट गोलीको वर्षा हुन लाग्यो। बृद्धबृद्धाको चित्कार सुनियो। म झटपट भान्छा घरतर्फ लागें। बृद्धा छटपटाइ रहेकी थिइन्। मलाई देख्नासाथ सिथिल भइन्।
आफ्नै अगाडि बृद्धाको मृत्यु देखेर मेरो मन भक्कानी रहेको थियो। कसेर कराउँ कि टाउको भितामा ठोक्काउँ। के गरौं के गरौं मैले सोच्नै सकिरहेको थिएन। मन त्यसै एक तमासको भैरहेको थियो। पूरै शरीर रिसले थर्रर कामी रहेको थियो। आफन्तको मृत्युले मानिसलाई कतिसम्म चोट पुर्याउँछ भनेर बल्ल त्यसबेला मलाई चेतना भयो।
ती हत्याराहरुसँग बदला नलिइनछोड्ने दृढ अठोट लिएँ। बृद्धाको लाशबाट उनको मोबाइल झिकें। दुवै हात पड्काएर मोबाइलमा रेकर्ड गरी त्यो रेकर्ड मोबाइलको रिङ्गटोन बनाएँ। ग्यासको पाइप काटेर रेगुलेटर पूरै खोलें। ग्याँस पूरै कोठामा भरियो। घरको बिजुली बन्द गरी त्यस मोबाइल भ्वाइस रिकोग्नाइजेसन बक्सको सामुन्ने राखी नजिकैको झ्याङमा गएर लुकेँ।
ती हत्याराहरु घरभित्र जाँदै गरेको देखिंदै थियो। एक हुल प्रहरी पनि त्यस घरभित्र जाँदै गरेको देखियो।
मैले भ्वाइस रिकोग्नाइजेसन बक्स नजिकै राखिएको मोबाइलको नं. आफ्नो मोबाइलबाट डायल गरें।
केही क्षणपछि त्यो क्षेत्र पूरै थर्कायमान हुने गरी सिलिन्डर विस्फोट भयो। पूरै घर सिसा झैँ चकनाचुर भयो। त्यहाँभित्र रहेका हत्यारा तथा पुलिस सबै देख्दादेख्दै एकै चिहान भए।
मैले यिनीहरुले मेरो बारेमा पाएको जानकारीको बारेमा अनभिज्ञ थिएँ। सायद मेरो शरीरमा पाइएको चीप, जसमा रक्षाको जानकारी थियो। मैले कम्प्युटरमा लगाउनासाथ मेरो आइपी ट्रयाकिङ्ग गरिएको हुनुपर्छ।
_*****************************_
कम्प्युटर चिपबाट पाएको जानकारी अनुसार रक्षाको घर त यही हुनुपर्छ। वरिपरि पर्खाल लगाइएको बडेमानको गेट हुँदै घरको मूल द्वारसम्म पुगें। मूलद्वारको देब्रे भागको भित्तामा कुकुरदेखि सावधानको बोर्ड राखिएको रहेछ। दाहिने भागको भित्तामा बिजुली घन्टीको स्वीच। स्विच थिचें।
नसमेटिएको चिसो कपाल झाँक्रो फिजाएझै देखिने गरि रक्षा बाहिर निस्किन।
को हो ?
मेरो मनमस्तिष्कमा रहेको एकमात्र अनुहार र अति प्रिय पनि। हो, त्यही अनुहार हो यो। एक नजरमा चिन्न नसक्नु भन्नु आफ्नो महत्वपूर्ण अंग बिर्सनु झैँ थियो मेरो लागि।
उनलाई देख्नसाथ लाखौं प्रश्न मेरो मनमस्तिष्कमा उठेका कारण के भन्ने के गर्ने म अन्यौलमा थिएँ। बोल्न खोज्छु। तर शब्द निस्किरहेका थिएनन। आफूआफैभित्र उकुसमुकुस भैरहेको थिएँ। रक्षा मलाई एक टकले हेरेर टोलाइरहेकी थिइन् जसले गर्दा मलाई थप संकटमा पार्दै थिए। उनले मलाई बिर्सिसकेकी त हैनन्।
“भित्रै आउँ कि”
मेरो शब्द निस्कियो। एकै शब्द नबोली हातको इसाराले भित्र आउने इशारा गरिन्।
कोठाको ढोका बन्द गरिएको आवाज सुनियो।
अगाडि राखिएको कुर्सीमा बस्न खोज्दै थिएँ। कसैले पछाडिबाट गह्रौँ वस्तुले पिठ्युँमा जोडले हिर्कायो। मेरो हात पछाडि लगेर टन्टनी बाँधियो।
रक्षा रहिछन्।
“कुर्सीमा बस” मतिर घृणाको नजर फ्याक्दै रक्षा बोलिन्।
“के भयो र रक्षा आज तिमीलाई”
रक्षाले जवाफमा कुनै जवाफ दिन जरुरी दिन सम्झिनन्। जवाफमा २ वर्षअगाडिको पुरानो पत्रिका टेबलमा राखिन्। पत्रिकामा मोटो-मोटो अक्षरमा केही हेडिङ लेखिएको थियो।
“बेरोजगारीको कारण महिना दिनमा लाखौं युवा विदेश पलायन” यसको अलि तल अर्को हेडिङ देखियो।
“बेरोजगारीको कारण आत्महत्या” त्यसको दायाँ भागमा “अनिश्चितकालीन नेपाल बन्दको आह्वान” “उत्पादन तथा शिक्षा क्षेत्रमा भन्दा हातहतियारमा खर्च गर्ने योजना” लेखिएको रहेछ।
उत्पादन तथा शिक्षा क्षेत्रमा लगानी नगरी हातहतियारमा खर्च गरे बेरोजगारी त त्यसै बढ्छ नि। अनायासै मेरो मुखबाट शब्दहरु निस्कियो। केही समयपछि आजै प्रकाशित पत्रिका टेबलमा फ्याँकिन्।
“स्वदेशमा विभिन्न अवसरका कारण विदेशिएका युवालाई नेपाल फर्कन आह्वान”
“जापान तथा अमेरिकाका कामदारलाई भित्र्याउने तयारी”
“चन्द्रमा विभिन्न वस्तुहरुमा निहीत अक्सिजन उत्पादन गरी, पर्याप्त अक्सिजन वायुमण्डलमा कृत्रिम रुपमा राखी बसोवासयुक्त बनाउने ठेक्का नेपाल सरकारले लिएको जानकारी”
अर्को समाचार थियो। नेपालकै अर्को प्रतिष्ठत कम्पनीले चन्द्रमाको पानीको उपयोग गरी सिचाईँ व्यवस्था गरी चन्द्रमा हराभरा बनाउने जिम्मा लिएको रहेछ।”
त्यस्तै अर्को समाचार थियो।
नेपालकै प्रतिष्ठित कम्पनी मध्येको अर्को कम्पनीले स्याटेलाइटमार्फत् चन्द्रमामा बिजुली बत्ती झलमल्ल पार्ने जानकारी राखिएको रहेछ।
चकित हुँदै रक्षालाई प्रश्न गरें- “२ वर्षमा यत्तिको परिवर्तन ?, विश्वासै गर्न नसकिने”
मेरो प्रश्नको बेवास्ता गर्दै मेरो बारेमा जानकारी दिन लागिन्- “तिमी अविनास हैनौ” उनको बोलीमा चिडचिडापन थियो।
के भन्यौ फेरि भन त।
हो-हो तिमी अविनाश हैनौ- रक्षाले फेरि दोहोर्याइन्।
त्यसो हो भने म को हुँ त ?
तिमीलाई त्यस मोटे व्यक्तिलाई गोली हानेकोसम्म याद छ हैन त ?
म चकित थिएँ। मलाई त्यतिसम्म मात्र थाहा छ भनेर यिनले कसरी थाहा पाइन ?
आश्चर्य हुँदै “हो” भनेँ।
त्यसपश्चात् के भयो सुन्न चाहन्छौं ?
के भयो त त्यसपछि।
त्यो प्रधानमन्त्री मारिएको थिएन। उसलाई हस्पिटल लगियो। विदेशबाट आएको डाक्टरको उपचारबाट पूर्ण रुपमा ठीक गरियो। त्यसपश्चात उसको अनुहारको प्लाष्टिक सर्जरी गरी उसको अनुहार अविनाशको जस्तो र अविनाशको अनुहार त्यस मोटे व्यक्तिको जस्तो पारियो।
कम्प्युटरको सहायताले त्यस मोटे व्यक्तिको स्मरणशक्ति मेटाइयो। तत्पश्चात अविनाशको दिमागमा रहेको प्रधानमन्त्रीको हत्याको योजनादेखि गोली चलाएकोसम्मको स्मरण तिम्रो दिमागमा सारियो।
त्यसो हो भने २ वर्षअघिको प्रधानमन्त्री मै हुँ।
हो, हो तिमी नै आमेश्वरभाइ मल्ल हो। २ वर्षअघिको प्रधानमन्त्री।
थुक्क हत्यारा। तिमेरु पापी हौ। तिमेरु सिधै नर्कमा जानेछौ। मेरो रिसको पारो नाघिसकेको थियो। मेरो हात नबाँधिएको भए नाकमा पन्च हानेर धुलो चटाउँथे हुँला। तर दाँत बजाउनु सिवाय म के नै गर्न सक्थें र ?
पापी को हो ? एक हत्यारा कि हजारौं हत्यारा जन्माउन तयार पारिएको वातावरण ? दोषी को हो ? त्यस वातावरणबाट या समाजबाट तयार पारिएका हत्यारा कि त्यस्तो किसिमको वातावरण बनाउने व्यक्ति ?
मानिस त केवल ४-५ लिटर रगत हाड-मासु र खकारको त पुत्ला हो नि। हैन र ? त्यसभन्दा बढी मानिसको शरीरमा अरु केही छ भने कहिल्यै नमर्ने कपाल मात्र। त्यस रगत मासुको पुत्ला के आफै हत्यारा बन्यो होला त ? पक्कै पनि हैन त्यसले जस्तो वातावरण पाउँछ त्यो पुत्ला त्यस्तै बन्दै जान्छ। यस्तो किसिमको वातावरण बन्न नदिने जिम्मा कस्को ? के यो जिम्मेवारी राष्ट्र प्रमुखको हैन र ? मूर्ख केटीले तर्क प्रस्तुत गरी।
त्यस बेलाको वातावरणले हत्यारा जन्माउँथ्यो भन्ने तँसँग के प्रमाण छ त।
“सबभन्दा ठूलो प्रमाण तिमी आफै हौ” मूर्ख बोली।
अविनाशको आफ्नो स्मरण मात्र तिम्रो दिमागमा सरेको थिएन, त्यस बीचका सम्पूर्ण अविनासले पाएको वातावरण पनि स्मरणको रुपमा तिम्रो दिमागमा सरेको थियो। त्यस वातावरणले गर्दा तिमी कस्तो निच हत्यारा बन्यौ। तिमीले बिर्सियौ तिमीले कति निर्दोषलाई मार्यौ। कति प्रहरीलाई मार्यौं। अब भन दोषी को हो त ? तिमी कि अविनाश ?
खुल्ला आकासलाई कालो बादलले ड्याम्म ढाके झैँ भयो। मेरा वरीपरी निष्पट्ट अँध्यारो भए झैँ लागिरहेको थियो। तैपनि मानिस हुँ आफूलाई गलत भन्न सक्दिनथें। किनकि दोषी त सधैं अरु नै हुन्छन्, दोषी “म” कहिल्यै भएको छैन, भएको देखेको पनि छैन र हुने पनि छैन।
Source: Mysansar