ममताको भेल

-लोचन रिजाल, विराटनगर
”बाबा ! यो बाकस खोलिदिनु न ।” एउटा सानो टिनको बाकस मेरो अगाडि राखेर सात वर्षकी मेरी छोरीले मसँग अनुरोध गरी ।
”किन -” छोरीको आग्रह सुनेर मैले प्रश्न गरे ।

”यो बाकसमा म किताब कापी राख्छु । भाइ एकदम चकचक गर्छ । जतिखेर पनि मेरो किताबहरू चलाइदिन्छ । कतिचोटि त च्याती पनि दियो ।” छोरीले मुख फुलाउँदै भाइको पोल सुनाई ।

”यसको साँचो छैन नानी ! उहिले नै हराएको हो । यो बाकस नखोलेको त धेरै वर्ष भयो । ” मैले छोरीलाई सम्झाउने शैलीमा टार्ने प्रयास गरें ।

”आखिर पुरानो बाकस त हो नि ! त्यो ताल्चा फुर्टाई दिनु न । मलाई किताबकापी राख्न कस्तो खाँचो भएको छ । ” छोरीले ढिपी गर्न थाली ।

उसको ढिपीलाई नै समर्थन जनाउँदै श्रीमतीले पनि ढिपीमाथि ढिपी थपेर गृहिणी फाँट अन्तर्गतको विशेष अधिकार प्रयोग गर्न थालिन । ”ठिकै त हो, खाली गरिनिु नि त । त्यो बाकस त्यसै कत्ति राखिरहनु -” आमा छोरीको जिद्दीलाई मैले र्टार्न सकिनँ । त्यस पुर्ख्यौली बाकसमा एउटा सानो भोटे ताल्चा झुन्डिएको थियो ।

”लौ त ” भनेर मैले एउटा ह्याक्सल लिएँ । अनि त्यो ताल्चालाई रेट्न थालें ।

मलाई अलिअलि सम्झना छ मेरी हजुरआमा बनारसमा स्वर्गे भएपछि उहाँको यो बाकस यता ल्याउने क्रममा यसको साँचो हराएको थियो निकै वर्ष बितिसक्दा पनि बुबाले यसलाई खोलेर हर्ेर्ने मनसाय कहिल्यै प्रकट गर्नु भएन । बाकस त्यसै पडिरह्यो । बुबा स्वर्गे हुनुभएको पनि पाँच वर्ष भैसक्यो । आज म यस पुर्ख्यौली बाकसको ताल्चालाई ह्याक्सलले रेटिरहेको छु । म भन्न सक्दिनँ मैले ठीक गरें या बेठीक ।

मैले ताल्चा काट्तै गरेको दृश्यलाई आमा छोरी मेरै छेउमा बसेर एकटकले हेरिरहेका थिए । दुवैलाई कौतुहल थियो । एकलाई बाकस कतिखेर खुल्छ भन्ने कुरा । दोस्रोलाई बाकसबाट के के निस्कन्छ भन्ने । मेरो मनमा कुने त्यस्तो उतारचढाव थिएन । म एकसुरले रेटिरहेको थिएँ ।

छोरीको हर्षध्वनि कोठामा एकाएक गुन्जियो । ”खुल्यो बाकस खुल्यो” बाकस त खुल्यो तर मेरो निकैबेरसम्मको प्रयास पछि । त्यसभित्र केही कागजपत्रहरू थिए । थोत्रैथोत्रा कागजहरू मात्र देखेर श्रीमती ओठ लेप्राउँदै एकातिर लागिन् । छोरी हर्ष यथावत् रह्यो ।

त्यस बाकसलाई सरसफाई गर्न छोरी नै अग्रसर भएकी देखेर मैले त्यहाँका कागजहरू आफ्नो हातमा लिएँ र पढ्ने कोशिश गरेँ । ती सबै चिट्ठीहरू नै रहेछन् । सबै चिट्ठीहरूमा मेरै पिताजीका हस्ताक्षरहरू थिए । मैले सरसरती पढ्न थालें तर कतिपय अक्षरहरू सायद पानीको थोपा परेर होला मेटिएका थिए ।

एउटा पत्र मेरो हातमा पर्‍यो । त्यस पत्रमा पिताजी भर्‍याङबाट लडेर उहाँको दाहिने हात भाँचिएको कुरा उल्लेख गरिएको थियो । विशेष गरी त्यो पत्रचाहिं अधिकांश भिजर अक्षरहरू फुलेका रहेछन् । मलाई पढ्न निक्कै अप्ठयारो पर्‍यो ।

यी चिट्ठीहरू किन यसरी भिजेका होलान् भनेर मेरो मनमा कुराहरू खेल्न थाले । धेरै थोक सोचें पानी परेको बेला उहाँले पत्र पढ्नु भएको थियो क्यारे ! या हजुरआमा सुुत्ने कोठाको छत चुहिन्थ्यो होला अथवा डाकघरमै भिजेको पनि हुनसक्छ । यस्तै यस्तै अड्कलैअड्कलको भूमरीमा फसिरहेको बेला मलाई फुपुको याद आयो । उहाँले मसँग एकदिन आफ्नो मनको कुरो खोल्नुभएको थियो, जुनबेला म न केटाकेटी थिए न त परिपक्क । हजुरआमा बित्नुभएको खबर पाएर बुबा बनारस जानु भएको थियो । सोहिताका फूपुले मलाई एकान्त पारेर भन्नुभयो ”कमलेश ! आमा बनारसमा बस्दा उहाँले साह्रै दुःख पाउनुभएको रहेछ । विचरी असी वर्षपुगेकी वृद्ध शरीर, एक्लो काशीबास, भाडाको सानो कोठामा धुमधुम्ती एक्लै, आफूलाई आवश्यक सामग्री बजारबाट किनेर ल्याउन पनि नसक्ने । बनारसमा गल्लीहरू तिनै हुन् अर्काको आश गरिरहनुपर्ने । कसरी दिनहरू काट्नु भयो होला - खै सम्झदा पनि मेरो मन कुटुकुट खान्छ । परदशमा उहाँ आफूचाहिं काशीबास भनी एक्लै त्यस्तो अवस्थामा बस्नुभयो , तर यता आफ्नै घरमा बसेको छोरोको मायाले भने उहाँको मन चाहिं यतै नेपालमै हुन्थ्यो भन्ने मैले सुनें । यहाँबाट तेरो बुबाको चिट्ठी पुग्दा त्यस चिट्ठीलाई एकछिनसम्म हातमा लिएर घरमा सबैलाई कुशल मंगल होस् कुनै अप्रिय खबर पढ्न नपरोस् भनेर भगवानसँग निक्कैबेर प्रार्थना गरेपछि मात्र हातमा रहेको त्यस पत्रलाई खोल्नुहुन्थ्यो अरे । हेर त ! आमाको मन ! घरमा सबैलाई शुभ्यफाव्य अनि प्रगतिको सुखद समाचार पढ्दा आमाको आँखाबाट हर्षको आँसु चुहिन्थ्यो रे । दुःखको खबरमा चाहिं उहाँ धुरूधुरू रूनुहुन्थ्यो अरे । पोहोर साल तेरो बुबाको हात भाँचिएको पत्र आमाले पढ्नुहुँदा त्यो चिट्ठी हातमा लिएर आमा धेरैबेर रुनुभएको थियो भन्ने सुनें । विचराले कति दुःख पायो होला, दाहिने हात भाँचिएछ कठै ! कसरी खाना खाँदो हो, कति दुखिरहेको होला - भनेर चित्त दुखाई दुखाई रुनुभएको थियो अरे ।” त्यस दिन फूपुले मसँग आफ्ना मनका कुराहरू धेरै खोल्नुभएको थियो ।

पुण्यको लाभमा हजुरआमाले बनारसमा धेरै दुःख पाउनुभएको रहेछ भन्ने कुरा मेले तयसै दिन फूपुबाटै थाहा पाइसकेको थिएँ । त्यति धेरै कष्ट खपीखपी किन बनारस बस्नुपरेको होला भनी तत्काल हजुरआमासँग मेरो चित्त दुखाइपनि भयो । तर के गर्नु ?

त्यसबेला सम्ममा त निक्कै ढिलो भइसकेको थियो ।

मैले फेरि अर्को चिट्ठी हातमा लिएँ । त्यस चिट्ठीका अक्षरहरू पनि ठाउँ ठाउँमा भिजेको देखें । फूपुका कुराहरू संझिएपछि मलाई यो विश्वास भयो कि यी चिट्ठीहरूमा पानीको छिटा या थोपा होइन रहेछ बरु ती वृद्ध आँखाहरूबाट निस्किएको ममताको भेल बगेको पो रहेछ ।

त्यसैबेला श्रीमती मेरो छेउभमा आएर ”खै यी कागजहरू चुल्हो सल्काउन चाहिन्छ ।” भनी मेरो हातबाट खोसेर लगिन् म अकमक्क परे ।

No comments:

Post a Comment

- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।