प्रारम्भ

-विद्या सापकोटा
झ्यालबाट घामका किरणहरुले चियाइसकेका थिए । चराहरुको रहरलाग्दो चिरविराहट सुनिदै थियो ।
हिजो छतमा वल्लोछेउ र पल्लोछेउ गर्दैमा घडीका सुईहरुले १२ नाघिसकेकाले पनि विहान ढिला जागी ऊ । अनि हठात् विउझिदै गुन्गुनाइ, आबुई कति सुतेछु ?

'ए रामु, घर सिरानदेखी पुछारसम्म राम्ररी पुछेस्, सवै कुरा ठाँउको ठाँउमा मिलाएर राखेस हैं ।' हतारहतार कपाल मिलाउदै, झ्यालबाटै कराउन भ्याई ।

'सुन न! सुधा, म आउदैंछु नी | अव त तिमी खुसी छौं नी हैंन ?
'ह्या के सोध्छौं तिमी , यो पनि कुनै सोध्ने कुरा हो........'.ऊ बोलेकी थिई ।
वास्तव मै खुसी थिई ऊ । खुसी हुनु नै पर्ने थियो । चार वर्षदेखी विदेशिएको उसको लोग्ने सुबोध फर्कदै थियो । आम्मामा मैले यो चार बर्ष कसरी विताए होला?? सोच्दा -सोच्दै सिडिंमा थुचुक्क बसी ऊ ।

झट्ट उसका आँखा ओरिपरि विगतका चित्रहरु तैरिन थाले ।

स्कूल देखी नै उनीहरु एक अर्कालाई मन पराउथे । पागलपन थियो त्यो मायामा, अनौठो चुम्वकीय आकर्षण । दुनियाँको आँखा छल्दै उनीहरु एक अर्कालाइ भेट्थे । त्यतीले नपुगेर अलकचो उमेरमा भागेथे, आफ्नो घरसंसारबाट मायाको संसार बसाउन । त्यसपछिका हरेकपल ऊ उसको काधमा टाउको राखेर लोलाइरहन्थी । उसको ऊ 'सुवोध' एकोहोरो सपना बुन्थ्यो, सुनाउथ्यो ,फकाउथ्यो ।

'हामी एकअर्कासँग एकदम खुसी छौं तर हेर जीवन त लामो छ नी ।'
'हाम्रो विवशता कहाँ लुकेको छ र ?'
'हामीले आफ्नो लागि नभए नी हाम्रा हुनेवाला मुनाका लागि त केही गर्नुपर्छ नी हैन ?'
'तिमी यहाँ पढ्दै गर | म केही समय मिहिनेत गर्छु । त्यसपछि हाम्रो दुनियाँ, संसार कै अनुपम बन्नेछ । थोरै प्रतिक्षा गर ।'

यस्तैयस्तै संझाएर एकदिन ऊ मरुभूमी भासियो । ऊ गएपछिका प्रत्येक पल सुधाका लागि भारी परे । ऊ एक्लैएक्लै सुकसुकाउथी, मुस्कुराउथी अनि हराउथी कताकता ।

'म यसरी कतिदिन बस्नसक्छु ?? प्लिज...'सहनै नसक्ने भएर फोन मै पनि भक्कानो छोड्थी ।
सुबोध पनि मरुभूमीको तातो बाफमा आशुको उष्णता मिसाएर कयौंबेर भक्कानिन्थ्यो । त्यस्तैमा च्यातिएको चोली लगाएकी सुधा, पढ्न नपाएर धुलोमा खेल्दै गरेको सानो बाबु, उसका आँखामा भोली बनेर नाच्थे अनि ऊ झट्ट रोकिन्थ्यो ।
'सुधा,मेरी प्यारी ! अव थोरै प्रतिक्षा गर ।' अवरुद्ध गलाबाट निस्कन्थ्यो ।

'तिमीलाई घरमा एक्लै बस्दाबस्दा बोर भयो हैं । मेरो साथीको अफिसमा कर्मचारी चाहिएको रहेछ । त्यहाँ ट्राइ गर न त । मन पनि बहलिन्छ ।' उसैले एकदिन फोन गरेर भन्यो ।
उसलाई सुवोधको कुरा चित्त बुझ्यो ।
सुवोध रातदिन नभनी उता सपनाका महल बनाउदै थियो यता सुधा आफ्नो काममा रमाउदैं । विहान बेलुका एक्लै हुँदा मनमा विचारहरुको हुण्डरी चल्थे । विस्तारै काममा रमाउन थाली ऊ । क्रमशः उसका हरकिसिमका दुखसुख साट्ने, हेर्ने काम सुबोध हैन उसैको मित्र सरोजले जिम्मा लियो । सुधालाई लाग्न लागेको थियो , आफ्नो सफलताको एकमात्र राज सरोज नै हो । आफ्नो सफल पहिचानमा ऊ हराइनै सकेकी थिई ।

यस्तैमा सुवोधले फर्कने कुरा गर्यो । सधैं 'आऊ कि आऊ' भनेर चिच्याइरहने ऊ सुवोध फर्कर्ने कुराले पनि खुल्न सकिन यसपाला । मनै त हो । सधै राम्रै विचार आउछ भन्ने पनि त हुन्न । नचाहिँनचाहिँकन पनि कयौपटक उसको तन्द्रामा सरोज ,सुवोधसँग जोडिएर आइरहे ।
'सरोज' एक उच्च पदस्थ कर्मचारी, उँचो छवी । उसको आगमन मै गुडमर्निङ्ग सर भन्नेहरुको झुण्ड लाग्थ्यो ।
'सुवोध' इन्टर पनि नसकाई मुग्लान भासिएको एउटा लाचार मान्छे ।
अरे........ म पनि के सोच्छु छि । जे भएपनि, जस्तो भएपनि ऊ मेरो प्रेम हो, लोग्ने हो ।
'अनि सरोजसँगको सामित्यता?' आफ्नै सवालका टक्करले टाउको खाइरहेको थियो ।
मनमा दुर्भावना मडाडिदै जादा उसलाई रिगंटा लाग्दैथ्यो ।

'म्याडम ,सरको फ्लाइट त सर्यो रे । अव भोलि विहान ८ बजे मात्र आउनुहुन्छ रे ।' रामु चिच्याउदै आयो ।
'हँ......हो र ?'
'अँ त.........हजुरको मोवाइल रिसिभ भएन रे, त्यसैले ल्याण्डलाइनमा फोन गर्नुभएछ ।'
'ला , मेरो ध्यान ... 'मोवाइल मिसकल प्रशस्त देखेर झस्किइ ऊ ।

भित्तामा झुण्डिएको घडीले ११ वजेको संकेत गर्दै थियो । मन एकतमासको भैरहेको थियो । यसैपनि रहरले घरमा बसेकी थिइन ऊ । त्यसमा पनि सुवोध नआउने भएपछि किन बसिरहनु ऊ हिडीं । सुवोध/सरोज,सरोज/सुवोध विभिन्न भावभङ्गिमा ऊ माथि साम्राज्य जमाउदैथे । ऊ कहिले आफूलाई दोषी देख्थी, कहिले सुवोधलाई नालायक......तर्कनैतर्कनामा अफिस आइपुग्यो ।

उसको कार्यकक्ष जादाजादैको ढोका छेउमा थियो । यताउता कोहि देखिएनन् । कहाँ गएछन् सवका सव ? सोच्दासोच्दै ऊ आफ्नो सिटमा पुगी । थचक्क बस्नै लागेकी मात्र थिई | सँगैको यानकी सरोजको कोठाबाट छुट्दै गरेको अट्टहाँस कानैमा ठोक्किए ।

'एक्कासी तपाईको सरुवाको खवरले कसैकसैको त ज्यानै जाने भो नी ?'
'हामीलाई त छड्के आखाँ पनि लगाउदिँन त......यसो कुरा मिलाइदिएर जानुस् यार ।' कुइरे बस्नेतले साउति मार्यो ।
'तपाईहरु खुसी हुनुहोस् बस्नेत जी/कल्याण जी | अव, चिठ्ठा तपाईहरुको भागमा । सुवोध नहुदाँ मैले लिएको ठाम अव निस्फिक्री लिनोस् । '
'तपाई र सुवोध त मिल्ने साथी त्यस्तो नगर्नुपर्ने थियो कि ?' ख्याउटे कल्याणले अट्टहाँस् छाड्यो ।
'पाकेको फल टिपेर खान छाडेर यसको/उसको भन्दै को मुख वायर बस्छ यार ? नामर्द कुरा नगर्नुस | टिप्नुस्, खाइहाल्नुस् । हा हा हा..............' सरोजको धोत्रो स्वरले उसका कानै छेडे, कमपारो तातेर आयो ।

त्यो भन्दा बढि सुन्न सकिन उसले । उसलाई पूरै धर्ती फाटे झैं लाग्यो । उसका हात कामे । कम्पन छुट्यो । आफूलाई नमस्कार म्याडम, केही पर्यो भने भन्नुस् है भन्ने ती अनुहारदेखी घृणा उम्लिएर आयो ।आफ्नो जागिर, पद र अभिवादनप्रति नै ग्लानी भएर आयो । उसका हात यन्त्रवत चले । एकैछिनमा पत्र तयार भयो । ढ्याङ्ग ढोका तान्दै ऊ पल्लो कोठामा पसी ।
'यहाँ, सही गर्नुस् सरोज जि ।' ऊ जंगिई ।
'हँ........म्याडम तपाई यहाँ ??' सबैजना एक अर्कामुखमा हेर्न लागे ।
सरोज रातोपीरो देखियो ।
'यो मेरो राजिनामा पत्र, तपाईको जागिर तपाई खानुस् हाकिम सा'प.......'दाह्रा किट्दै फन्फनिदै हिडीं ऊ । टक्-टक् जुत्ता बजेको आवाज एकैछिनमा विलिन भयो । उसले महसुस गरी, 'सुवोध वीना संसारमा ऊ कत्ति एक्लै रहिछ ।' छटपटि मै उसका रात विते ।

भोलिपल्ट विहानै, एउटा बुके बोकेर एयरपोर्टतिर लागि ऊ । उसको हिडाँइमा जीवन थियो । उसका अंगअंग स्वस्फूर्त खुलेका थिए । फूल झै देखिइ ऊ, नयाँ जीवनको प्रारम्भमा ।
काठमाण्डौ

No comments:

Post a Comment

- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।