नेपालको ताजमहल "रानीमहल"

- हीरालाल विश्वकर्मा
नेपाल पर्यटन वर्ष्रलाई लक्षित गरी रङ्गरोगन गरिएपछि नेपालको ताजमहलकारुपमा ख्यातिप्राप्त पाल्पाको ऐतिहासिक रानीमहल दरबार यतिबेला स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षणको केन्द्रविन्दु बनेको छ ।

लामो समयसम्म संरक्षणविहीन अवस्थामा रहेको सेतो रङले रङ्गिएको रानीमहललाई यतिबेला सेतो रङ्गमाथि रङ्ग थप्दै बीच भागमा नीलो रङले रङ्गाइएपछि रानीमहल दरबार हेर्न स्वदेशी तथा विदेशी पर्यटकको घुइँचो लाग्न थालेको छ ।

रामेछापबाट दरबार घुम्न आएका प्रदीप खड्का कालीगण्डकीको किनारामा रहेको रानीमहल दरबार साँच्चिकै मनमोहक रहेको उल्लेख गर्दै यस क्षेत्रमा बसोवासका लागि पर्याप्त होटलको व्यवस्था हुनसकेमा स्वदेशी तथा विदेशी पर्यटकको अझै घुइँचो लाग्नेमा जोड दिनुहुन्छ ।

उहाँले भन्नुभयो- "तानसेनमा बसेर यहाँ आउन र जान मात्रै एकदिन लाग्छ धित मर्ने गरी घुम्न र दरबारको अवलोकन गर्नका लागि समय पुग्दैन ।" वि.सं. १९५० मा शिलान्यास भई चार वर्ष्रमा दरबार मन्दिर पाटीपौवासहितको निर्माण कार्य पूरा भएको बौघागुम्बा गाविस- २ मा अवस्थित रानीमहल दरबार सडक असुविधाका कारण त्यहाँसम्म जाने पर्यटकले सास्ती बेहोर्दै आउनुपरेको छ ।

कालीगण्डकीको उत्तरतर्फ हानिने मोडमा विशाल चट्टानमाथि पश्चिमी कलाशैलीमा रहेको रानीमहल दरबारको बायाँतर्फ शीत्तलपाटी दरबार परिसरमा फोहराका लागि कुँदिएका ढुङ्गाले निर्मित दुईवटा पोखरी दाहिनेतर्फ पहरा दिने स्थल छ भने खुड्किलोको बायाँतर्फ एउटै किसिमको शिव र गङ्गाका दुई मन्दिर छन् ।

दरबारको मूलढोकाबाट कुँदिएको ढुङ्गा र इँट्टाबाट बनाइएका खुड्किलो तल सिधा कालीगण्डकी नदी कुण्डमा जोडिएको छ । प्रसिद्ध मुक्तिनाथ तिर्थ जाने मुख्यद्वार भएकाले तिर्थालुहरुलाई बस्ने सुविधासहितका पौवासमेत निर्माण गरिएको थियो ।

नेपालकै ताजमहलकारुपमा दरबारको चर्चा निकै सुनेर अवलोकनका लागि भक्तपुरबाट आएका दिपेश श्रेष्ठ यातायातको असुविधा कारण दरबारको चर्चा त्यतिधेरै हुन नसकिरहेको बताउनुहुन्छ । यातायातको सुविधा हुने हो भने यहाँ पर्यटकको घुइँचो नै लाग्ने उहाँ ठोकुवा गर्नुहुन्छ ।

'विहान ८ बजे हिँडेर आइयो दरबारको अवलोकन मज्जासँग गर्नै नपाएर फर्कनु पर् यो' चारघण्टा लगाएर दरबार पुग्नुभएका श्रेष्ठ भन्नुहुन्छ- 'अब चाँडै फर्कने सुरसार नगर्ने हो भने बाटोमै अलपत्र पर्न सकिन्छ ।'

भाबी पुस्तालाई समेत उपभोग र उपयोग गर्न मिल्ने गरी अत्यन्त दुर्लभ मानिने तथा अत्यन्त पवित्र ठानिने उत्तरबाहिनी काली नदी किनारमा अवस्थित ऐतिहासिक दरबारका निर्माता खड्गशमशेरले भने उपभोग गर्न पाएनन् । आपुनी दिवङ्गत रानी तेजकुमारीको सम्झनामा दरबारको निर्माण गरिए तापनि पाँच वर्षसम्म मात्र राज गर्न पाएको जानकारहरुको भनाइ छ ।

तानसेनका एसपी प्रधान वि.सं. १९६० मा खड्ग शमशेरले श्री ३ को पदसहित शासनसत्ताको बागडोर आफूले संचालन गर्न खोज्यो भन्ने षड्यन्त्रको छनक पाएपछि चन्द्र शमशेरले पाल्पामा थप सेना पठाइ तैनाथी आफनो हातमा लिएका उल्लेख गर्नुहुन्छ ।

उहाँकाअनुसार खड्गशमशेरले आफूमाथि थप खतरा उत्पन्न हुने त्रासमा दरबारमा रहेका सबै बहुमुल्य बस्तु छाडेर तीन साँचो र सरकारी ढुकुटी लिई भारत पलाएन भएपछि प्रेमको प्रतिक ठानिने रानीमहल बेवारिसे बन्न पुगेको हो । दिवङ्गत रानीको सम्झनामा बनाइएकोले रानीमहल दरबारलाई 'प्रेमको प्रतिक' का रुपमा लिइने गरिन्छ ।

ऐतिहासिक पृष्ठभूमि रहेको रानीमहल दरबार लामो समयसम्म लथालिङ्गै अबस्थामा रह्यो भने वि.सं. २०४३ मा आएको हावा हुरीले दरबारलाई पूर्णरुपमा क्षति तुल्याएपछि एक दशकसम्म दरबारका महत्वपूर्ण बस्तु तथा गजुरहरु चोरी हुनुकासाथै जिर्ण बन्न पुगेको थियो ।

पर्यटकीय तथा पुरातात्विक महत्व बोकेको रानीमहल दरबारको संरक्षण गर्न कुनै निकाय नभएका कारण दरबार परिसरको मन्दिरको छानो समेत चोरी भयो । वि.सं. १९५० मा निर्मित रानीमहल दरबार परिसरभित्रका पाटीपौवा खुड्किला यतिखेर निशाना मात्र छन् भने कतै भग्नावशेष बाँकी रहेका छन् ।

पछिल्लो समयमा दरबारभित्रका मन्दिर संरक्षणका नाममा ठूलो रकम खर्च गरिएपनि मन्दिरको संरक्षण भने अझै पनि अपूर्ण नै पाइन्छ ।
पाल्पा

प्रारम्भ

-विद्या सापकोटा
झ्यालबाट घामका किरणहरुले चियाइसकेका थिए । चराहरुको रहरलाग्दो चिरविराहट सुनिदै थियो ।
हिजो छतमा वल्लोछेउ र पल्लोछेउ गर्दैमा घडीका सुईहरुले १२ नाघिसकेकाले पनि विहान ढिला जागी ऊ । अनि हठात् विउझिदै गुन्गुनाइ, आबुई कति सुतेछु ?

'ए रामु, घर सिरानदेखी पुछारसम्म राम्ररी पुछेस्, सवै कुरा ठाँउको ठाँउमा मिलाएर राखेस हैं ।' हतारहतार कपाल मिलाउदै, झ्यालबाटै कराउन भ्याई ।

'सुन न! सुधा, म आउदैंछु नी | अव त तिमी खुसी छौं नी हैंन ?
'ह्या के सोध्छौं तिमी , यो पनि कुनै सोध्ने कुरा हो........'.ऊ बोलेकी थिई ।
वास्तव मै खुसी थिई ऊ । खुसी हुनु नै पर्ने थियो । चार वर्षदेखी विदेशिएको उसको लोग्ने सुबोध फर्कदै थियो । आम्मामा मैले यो चार बर्ष कसरी विताए होला?? सोच्दा -सोच्दै सिडिंमा थुचुक्क बसी ऊ ।

झट्ट उसका आँखा ओरिपरि विगतका चित्रहरु तैरिन थाले ।

स्कूल देखी नै उनीहरु एक अर्कालाई मन पराउथे । पागलपन थियो त्यो मायामा, अनौठो चुम्वकीय आकर्षण । दुनियाँको आँखा छल्दै उनीहरु एक अर्कालाइ भेट्थे । त्यतीले नपुगेर अलकचो उमेरमा भागेथे, आफ्नो घरसंसारबाट मायाको संसार बसाउन । त्यसपछिका हरेकपल ऊ उसको काधमा टाउको राखेर लोलाइरहन्थी । उसको ऊ 'सुवोध' एकोहोरो सपना बुन्थ्यो, सुनाउथ्यो ,फकाउथ्यो ।

'हामी एकअर्कासँग एकदम खुसी छौं तर हेर जीवन त लामो छ नी ।'
'हाम्रो विवशता कहाँ लुकेको छ र ?'
'हामीले आफ्नो लागि नभए नी हाम्रा हुनेवाला मुनाका लागि त केही गर्नुपर्छ नी हैन ?'
'तिमी यहाँ पढ्दै गर | म केही समय मिहिनेत गर्छु । त्यसपछि हाम्रो दुनियाँ, संसार कै अनुपम बन्नेछ । थोरै प्रतिक्षा गर ।'

यस्तैयस्तै संझाएर एकदिन ऊ मरुभूमी भासियो । ऊ गएपछिका प्रत्येक पल सुधाका लागि भारी परे । ऊ एक्लैएक्लै सुकसुकाउथी, मुस्कुराउथी अनि हराउथी कताकता ।

'म यसरी कतिदिन बस्नसक्छु ?? प्लिज...'सहनै नसक्ने भएर फोन मै पनि भक्कानो छोड्थी ।
सुबोध पनि मरुभूमीको तातो बाफमा आशुको उष्णता मिसाएर कयौंबेर भक्कानिन्थ्यो । त्यस्तैमा च्यातिएको चोली लगाएकी सुधा, पढ्न नपाएर धुलोमा खेल्दै गरेको सानो बाबु, उसका आँखामा भोली बनेर नाच्थे अनि ऊ झट्ट रोकिन्थ्यो ।
'सुधा,मेरी प्यारी ! अव थोरै प्रतिक्षा गर ।' अवरुद्ध गलाबाट निस्कन्थ्यो ।

'तिमीलाई घरमा एक्लै बस्दाबस्दा बोर भयो हैं । मेरो साथीको अफिसमा कर्मचारी चाहिएको रहेछ । त्यहाँ ट्राइ गर न त । मन पनि बहलिन्छ ।' उसैले एकदिन फोन गरेर भन्यो ।
उसलाई सुवोधको कुरा चित्त बुझ्यो ।
सुवोध रातदिन नभनी उता सपनाका महल बनाउदै थियो यता सुधा आफ्नो काममा रमाउदैं । विहान बेलुका एक्लै हुँदा मनमा विचारहरुको हुण्डरी चल्थे । विस्तारै काममा रमाउन थाली ऊ । क्रमशः उसका हरकिसिमका दुखसुख साट्ने, हेर्ने काम सुबोध हैन उसैको मित्र सरोजले जिम्मा लियो । सुधालाई लाग्न लागेको थियो , आफ्नो सफलताको एकमात्र राज सरोज नै हो । आफ्नो सफल पहिचानमा ऊ हराइनै सकेकी थिई ।

यस्तैमा सुवोधले फर्कने कुरा गर्यो । सधैं 'आऊ कि आऊ' भनेर चिच्याइरहने ऊ सुवोध फर्कर्ने कुराले पनि खुल्न सकिन यसपाला । मनै त हो । सधै राम्रै विचार आउछ भन्ने पनि त हुन्न । नचाहिँनचाहिँकन पनि कयौपटक उसको तन्द्रामा सरोज ,सुवोधसँग जोडिएर आइरहे ।
'सरोज' एक उच्च पदस्थ कर्मचारी, उँचो छवी । उसको आगमन मै गुडमर्निङ्ग सर भन्नेहरुको झुण्ड लाग्थ्यो ।
'सुवोध' इन्टर पनि नसकाई मुग्लान भासिएको एउटा लाचार मान्छे ।
अरे........ म पनि के सोच्छु छि । जे भएपनि, जस्तो भएपनि ऊ मेरो प्रेम हो, लोग्ने हो ।
'अनि सरोजसँगको सामित्यता?' आफ्नै सवालका टक्करले टाउको खाइरहेको थियो ।
मनमा दुर्भावना मडाडिदै जादा उसलाई रिगंटा लाग्दैथ्यो ।

'म्याडम ,सरको फ्लाइट त सर्यो रे । अव भोलि विहान ८ बजे मात्र आउनुहुन्छ रे ।' रामु चिच्याउदै आयो ।
'हँ......हो र ?'
'अँ त.........हजुरको मोवाइल रिसिभ भएन रे, त्यसैले ल्याण्डलाइनमा फोन गर्नुभएछ ।'
'ला , मेरो ध्यान ... 'मोवाइल मिसकल प्रशस्त देखेर झस्किइ ऊ ।

भित्तामा झुण्डिएको घडीले ११ वजेको संकेत गर्दै थियो । मन एकतमासको भैरहेको थियो । यसैपनि रहरले घरमा बसेकी थिइन ऊ । त्यसमा पनि सुवोध नआउने भएपछि किन बसिरहनु ऊ हिडीं । सुवोध/सरोज,सरोज/सुवोध विभिन्न भावभङ्गिमा ऊ माथि साम्राज्य जमाउदैथे । ऊ कहिले आफूलाई दोषी देख्थी, कहिले सुवोधलाई नालायक......तर्कनैतर्कनामा अफिस आइपुग्यो ।

उसको कार्यकक्ष जादाजादैको ढोका छेउमा थियो । यताउता कोहि देखिएनन् । कहाँ गएछन् सवका सव ? सोच्दासोच्दै ऊ आफ्नो सिटमा पुगी । थचक्क बस्नै लागेकी मात्र थिई | सँगैको यानकी सरोजको कोठाबाट छुट्दै गरेको अट्टहाँस कानैमा ठोक्किए ।

'एक्कासी तपाईको सरुवाको खवरले कसैकसैको त ज्यानै जाने भो नी ?'
'हामीलाई त छड्के आखाँ पनि लगाउदिँन त......यसो कुरा मिलाइदिएर जानुस् यार ।' कुइरे बस्नेतले साउति मार्यो ।
'तपाईहरु खुसी हुनुहोस् बस्नेत जी/कल्याण जी | अव, चिठ्ठा तपाईहरुको भागमा । सुवोध नहुदाँ मैले लिएको ठाम अव निस्फिक्री लिनोस् । '
'तपाई र सुवोध त मिल्ने साथी त्यस्तो नगर्नुपर्ने थियो कि ?' ख्याउटे कल्याणले अट्टहाँस् छाड्यो ।
'पाकेको फल टिपेर खान छाडेर यसको/उसको भन्दै को मुख वायर बस्छ यार ? नामर्द कुरा नगर्नुस | टिप्नुस्, खाइहाल्नुस् । हा हा हा..............' सरोजको धोत्रो स्वरले उसका कानै छेडे, कमपारो तातेर आयो ।

त्यो भन्दा बढि सुन्न सकिन उसले । उसलाई पूरै धर्ती फाटे झैं लाग्यो । उसका हात कामे । कम्पन छुट्यो । आफूलाई नमस्कार म्याडम, केही पर्यो भने भन्नुस् है भन्ने ती अनुहारदेखी घृणा उम्लिएर आयो ।आफ्नो जागिर, पद र अभिवादनप्रति नै ग्लानी भएर आयो । उसका हात यन्त्रवत चले । एकैछिनमा पत्र तयार भयो । ढ्याङ्ग ढोका तान्दै ऊ पल्लो कोठामा पसी ।
'यहाँ, सही गर्नुस् सरोज जि ।' ऊ जंगिई ।
'हँ........म्याडम तपाई यहाँ ??' सबैजना एक अर्कामुखमा हेर्न लागे ।
सरोज रातोपीरो देखियो ।
'यो मेरो राजिनामा पत्र, तपाईको जागिर तपाई खानुस् हाकिम सा'प.......'दाह्रा किट्दै फन्फनिदै हिडीं ऊ । टक्-टक् जुत्ता बजेको आवाज एकैछिनमा विलिन भयो । उसले महसुस गरी, 'सुवोध वीना संसारमा ऊ कत्ति एक्लै रहिछ ।' छटपटि मै उसका रात विते ।

भोलिपल्ट विहानै, एउटा बुके बोकेर एयरपोर्टतिर लागि ऊ । उसको हिडाँइमा जीवन थियो । उसका अंगअंग स्वस्फूर्त खुलेका थिए । फूल झै देखिइ ऊ, नयाँ जीवनको प्रारम्भमा ।
काठमाण्डौ

ब्युटिफुल पिपुल

- विनु रिजाल
beenu.rijal@yahoo.com
सम्भवतः अंग्रेजीमा लेख्ने नेपाली लेखकहरूमा कान्छा लेखक हुन्- प्रदीप स्वाँर । १९ वर्षीय प्रदीपको उपन्यास 'ब्युटिफुल पिपुल' सार्वजनिक भएको छ । तीन वर्षअघिदेखि उनले यो उपन्यास लेख्न सुरु गरेका थिए । अंग्रेजी भाषामा लेखिएको यो उपन्यास भर्खर बामे सर्न थालेको अंग्रेजीलेखनको नेपाली बजारका लागि अवश्य महत्त्वपूर्ण हुनेछ । मातृभाषा अंग्रेजी नहुनेले १६ वर्षको उमेरदेखि नै अंग्रेजीमा लेख्नु चानचुने कुरो होइन । त्यसमाथि उपन्यास लेख्नु झन् गाह्रो काम हो । यसर्थ प्रदीपले प्रशंसनीय काम गरेका छन् । अंग्रेजीमा कलम चलाउन चाहने नेपाली युवापुस्ताका लागि ब्युटिफुल पिपुल प्रेरणाको स्रोत हो ।

दुई सय २५ पृष्ठको यो उपन्यासको कथावस्तु हो- हाल सिंगो विश्वलाई आक्रान्त पारिरहेको आतंकवाद । उपन्यासलाई ८२ अध्यायमा बाँडिएको छ । यसको कथा विश्वका सबै महादेशको सेरोफेरोमा घुमेको छ । उपन्यासमा एक रुसी र एक अमेरिकी परिवारको कथा समेटिएको छ । कथाका मुख्य पात्र ब्रान्डन तस्करीमा संलग्न छन् । ब्रान्डनलाई उसकी श्रीमती केरेनले पनि सहयोग गर्छिन् । छिटो पैसा कमाएर उच्चस्तरको जीवनशैली बाँच्न यो दम्पतीले तस्करी पेसा अँगालेको हुन्छ ।

उता, होटल व्यवसायमा संलग्न रुसी नागरिक एन्ड्रयु र उनकी श्रीमती मार्सिया पनि यस उपन्यासका मुख्य पात्र हुन् । काठमाडौँमा बस्ने ब्रान्डन परिवार र भारतमा बस्ने एन्ड्रयु परिवारको भेट उनीहरूका छोराहरूले गर्दा हुन्छ । ब्रान्डन जोडीको छोरा टोनी र एन्ड्रयु दम्पतीका जुम्ल्याहा छोरा डार्सिया र पिटर दार्जिलिङमा रहेको एउटै कन्भेन्ट स्कुलमा पढ्छन् । कथाका अन्य पात्र मिस्टर अग्रवाल, ओमार, अब्दुल्ला आदि छन् । यी तीनै पात्र तस्करी र आतंकवादसँग सम्बन्धित छन् ।

ब्रान्डन तस्करी गरेर रातारात समृद्ध बन्छन् । यसैगरी, एन्ड्रयु पनि छिट्टै भारतमा होटलको सञ्जाल विस्तार गर्न सफल हुन्छन् । एन्ड्रयुलाई सफल हुन सहयोग गर्छन् मिस्टर अग्रवालले । तर, अग्रवालको ओमारसँग सम्बन्ध भएको थाहा पाएपछि एन्ड्रयु र अग्रवालको सम्बन्ध बिग्रन्छ ।

अब्दुल्ला र ओमारले एन्ड्रयुका छोरा डार्सियासहित १२/१३ जना बच्चालाई अपहरण गर्छन् । विश्वलाई एकछिन स्तब्ध पार्न सफल अपहरणकारीहरूमध्ये अब्दुल्लालाई अपहरित किशोर-किशोरीले मारिदिन्छन् ।

उपन्यासमा लेखक स्वाँरले जासुसी उपन्यासमा जस्तो थुप्रै सस्पेन्स राखेका छन् । सस्पेन्स, थ्रिलर आदिमा रुचि भएका पाठकलाई उपन्यासले आकषिर्त गर्छ । पाठकलाई पुस्तक पढुन्जेल अब के हुन्छ होला भन्ने कौतूहल भइरहन्छ । उपन्यासमा वाक्य छरिता र छोटा छन् । भाषा एकदम सरल छ । अंग्रेजीमा त्यति धेरै दख्खल नभएका पाठकलाई समेत उपन्यास पछ्याउन कुनै कठिनाइ हुदैन ।

तर, लेखकले कलिलो उमेरमै लेखेको उपन्यास भएर होला उपन्यासमा गहिराइ भेटिँदैन । कथा सतही छ । पात्र पनि सतही लाग्छन् । पात्र-निर्माणमा उपन्यासकार चुकेका देखिन्छन् । केही घटनालाई राम्ररी व्याख्या नगर्दा पाठक उपन्यासको सुरुसुरुमा केही अलमलिन्छन् । उपन्यासमा ओमार र अब्दुल्लाले एन्ड्रयुलाई सहयोग गर्न मिस्टर अग्रवाललाई अह्राउँछन् । तर, यसपछाडिका कारणबारे उपान्यासकारले प्रस्ट नपार्दा कथा कतै अड्किएजस्तो लाग्छ । एन्ड्रयु कसरी यति छिट्टै सेलिब्रेटी होटल व्यवसायी बन्न सफल भए, त्यति स्पष्ट पारिएको छैन । 'ब्युटिफुल पिपुल' उपन्यासको कथा कता-कता मसलेदार थि्रलर बलिउड फिल्मको कथाजस्तो पनि भान हुन्छ ।

स-साना अध्यायमा बाँडिएका यो उपन्यास केही छरिएको छ । उपन्यासलाई यति धेरै अध्यायमा बाँडिनुपछाडि कुनै तुक देखिँदैन । उपन्यासको सम्पादनमा बिल्कुल ध्यान दिइएको छैन । तर, यति भन्न सकिन्छ- ब्युटिफुल पिपुल टिनएजर पाठकका लागि बढी उपयुक्त छ ।
नयाँ पत्रिकाबाट

किचकवध/केचनाकलन

झापाको पृथ्वीनगरस्थित किचकबध क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न बृहत्तर गुरुयोजना अघि सारिएको छ । पर्यटन बर्ष २०११ मा यस क्षेत्रलाई थप प्रवर्धन गर्न स्थानिय स्तरमा समेत प्रयास शुरु गरिएका छन् ।

किचकबध धार्मिक ऐतिहासिक तथा पर्यटकीय क्षेत्र स्थल संरक्षण समितिले त्यस विषयमा सरकारलाई समेत जानकारी गराएको छ । बृहत्तर गुरुयोजनाको खाका बुझाएर समितिले किचकबध र आसपासको क्षेत्रलाई पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न सकिने निष्कर्ष निकालेको छ ।

“सम्भाव्यताका विषयहमा पुनः अध्ययन् गर्न सरकारको ध्यानाकर्षण गरेका छौं ।” समितिका सचिव मदनकुमार कँडेलले भने “एघार करोड रुपैयाँ बरावरको बृहत्तर गुरु योजनाको खाका तयार गरी बुझाएका छौं । “सबै मन्त्रालयमा योजनाको प्रतिलिपी पुर्याएको र सरकारी स्तरबाट काम थालिने आशा बढेको उनले बताए ।

देउनिया नदी कटान नियन्त्रण, किचकवध क्षेत्रको पुन उत्खनन्, उत्खनन् पछि प्राप्त ऐतिहासिक वस्तुको स्थायी सार्वजनिक प्रदर्शनीको व्यवस्था, सडकबाटो निर्माणका साथै नौका बिहारका लागि ऐतिहासिक पोखरी खन्ने लगायत विषय योजनामा समेटिएको कँडेलले जानकारी दिए ।

किचकबध क्षेत्रमा वि सं २०५९ सालमा पुरातत्व विभागले उत्खनन् गरि सातकोठे दरवारमा पुरातात्विक महत्वका वस्तुहरु र माटाका भाँडाका टुक्राहरु फेला परेका थिए । ती सबै वस्तु शुंग कुषाणकालको मानिएको मोरङ जिल्लाको भेडियारीमा प्राप्त पुरातात्विक वस्तुसँग मिल्दाजुल्दा छन् । भारतमा भएका उत्खननमा प्राप्त इशापूर्व २०० का पुरातात्विक वस्तुसँग पनि ती वस्तुको प्रकृति मिल्दोजुल्दो रहेको उत्खननमा संलग्न पुरातत्व विभागका उद्धव आचार्यले आफ्नो प्रतिवेदनमा लेखेका छन् ।
तर स्थानियवासीले भने त्यो क्षेत्र महाभारतकालीन विराटराजाको नाट्य दरवार रहेको दाबी गर्ने गरेका छन् । पृथ्वीनगर ५ का दुर्गा घतानीले भने- यहाँ दुइ तल्ले पक्की भवन रहेको र त्यहाँ विराटराजा आई नृत्य हेर्ने गरेको किम्बदन्ती छ । यो क्षेत्र धार्मिक रुपमा पनि महत्वपूर्ण छ । उनले यस किचकवध क्षेत्रको विकासमा सरकारले विशेष चासो दिनुपर्नेमा आफूँहरुको माग रहेको बताए । स्थानिय कुवेर गौतमले भने “यो क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तब्यको रुपमा विकास गर्नु पर्ने हाम्रो माग छ । यसमा हामी पनि होस्टेमा हैंसे गर्न तयार छौं ।” किचकवध पृथ्वीनगर र महेशपुर गाविसको सीमामा रहेको छ ।

नेपालकै सवभन्दा होचो भुभाग केचनाकलनमा वनाइएको स्तम्भ दुइ पटक गरी गरिएको उत्खनन्को कार्य द्वन्द्वकालमा पूरा गर्न नसकिएपछि यहि बर्ष पुनः सो काम शुरु हुने समितिले जनाएको छ । किचकबध क्षेत्रमा भीमसेनले किचकसँग लाप्पा खेलेर उस्को बध गरेको किम्बदन्ती पनि छ । सोही कुरा उजागर गर्न त्यहाँ वि. स. २०३८ सालमा भीमसेन र किचकको मूर्ति समेत निर्माण गरिएको थियो । दश विघा क्षेत्रफलमा फैलिएको किचकबध झापा सदरमुकाम चन्द्रगढीबाट १३ किलोमिटर दक्षिणमा अवस्थित छ । त्यहाँ ऐतिहासिक कुवा, बारुणी पोखरी, सत्यदेवी मन्दिर, गंगा जमुना र शिवालय रहेका छन् । किचकबधमा हरेक बर्षमाघ शुक्ल पूर्णीमाका दिन ठूलो मेला लाग्ने गरेको छ । त्यहाँ किचकबध धार्मिक ऐतिहासिक तथा पर्यटकीय क्षेत्र स्थल संरक्षण समितिले पनि महोत्सव र अठार पुराण लगाउँदै आएको छ । त्यहाँ बर्षेनी हज्जारौको संख्यामा आन्तरिक पर्यटक पुगेपनि विदेशीहरुलाई भने लग्न सकिएको छैन ।
तितोपिरोमिठोबाट

'चाडपर्व आउँछन्, रुवाएर जान्छन्'

- राजु अधिकारी
त्यो बिहान, झापाको आकास सफा र चम्किलो थियो। सावित्रा निरौला, ७०, कौसीमा बसेर टोलाइरहेकी थिइन्। हातमा तातोपानीले भरिएको गिलास अँठ्याएकी थिइन्। अचानक सडकको कल्याङमल्याङले उनी झस्किन्। 'आत्था! खुइली पो हाल्यो त,' पोलेको जिब्रो नाकको टुप्पोतिर तन्काउँदै गिलास कौसीको छेउमा राखिन्। कम्पाउन्डबाहिर सडकमा उनका आँखा अडिए। एक हुल महिला हलक्क हुर्केका पाँहेला जमरा बोकेर बाटो हिँडिरहेका रहेछन्। 'ए, टिका भित्रेछ,' उनले मनमनै गुनिन्। उनको अनुहार अँध्यारो भएर आयो। जमरा जति टाढिँदै थिए, उनका आँखा उति रसाउँदै थिए।

जमरा छेकिए, आँसु खसे।

'जे छैन त्यसैको आस बढी हुने,' धोतीको फेरले आँसु पुछ्दै निरौलाले भनिन्, 'चाडबाडका बेला झन् बढी आसलाग्दो र'छ।' परिवारको सम्झना उनका आँखाअगाडि तस्बिर बनेर नाचिरहेका छन्। ६० वर्ष भयो परिवारका सदस्यलाई यसरी नै सम्झेर बिताएको। पारिवारिक निकटता उनले पूरै गुमाएकी छन्। भर्खरै ओझल परेको जमरा बोकेका महिलाको हुलले उनलाई धेरै कुरा सम्झायो। मिठोमसिनु खाने, वर्षौंदेखि फेर्न नपाएको एकसरो नयाँ लुगा लगाउने तिर्सनाका मुना उनको मनमा जागे। यस्ता तिर्सनाका मुना वर्षेनी पलाउँछन् र मर्छन्।

सतासीधामको माइधारस्थित लक्ष्मीनारायण मन्दिरमा अढाइ दसकदेखि आश्रयरत निरौलालाई ती इच्छा पूरा गर्ने उपाय अहिलेसम्म सुझेको छैन। कौसीबाटै उठेर उनले आफ्नो कुटीतिर नजर दौडाइन्। त्यहाँ दुई पाथी कनिका बाँकी थियो। आँसु तरक्क चुहियो। उनी थुचुक्क भुइँमा बसिन्। 'त्यही कनिकाले दसैं टारेँ,' उनले आँसु पुछिन्। धोतीको फेर भिज्यो। आँखा दसैंको टिकाजस्तो रातो देखियो।

'म अभागिनीलाई कालले पनि लाँदो रहेनछ,' कोजाग्रत पूर्णिमाको अघिल्लो दिन कुटीको त्यही कौसीमा टोलाइरहेकी उनी एक्लै बर्बराइन्, 'परिवारसँग बस्न, मिठो खान र राम्रो लाउन भाग्य नै चाहिने रहेछ।' आमनेपालीमा खुसीको बहार ल्याउने चाडपर्व निरौलाका लागि मुटु चहर्‍याउने घाउ बन्ने गर्छन्। अरू पिँढी र आँगनमा निस्केर हाँस्दा उनी कुना पसी आँसु पुछिरहेकी हुन्छिन्। अरूलाई उनी सकभर रमाइलो गर्न आग्रह गर्छिन्, तर त्यही रमाइलो उनी हेर्न सक्दिनन्। इर्ष्याले होइन, डाहले पनि होइन। परिवारको सम्झनाले।

'चाडपर्वका बेला अरूले रमाइलो गरेको देखिन्छ, तर मैले सधैं रुनुपर्छ,' पीडाको पन्तुरो फुकाउँदै उनी भक्कानिइन्, 'चाडपर्व जति आउँछन्, मलाई रुवाएरमात्रै जान्छन्।'
.............................................................
'म सधैं हाँसिरहन्छु,' ९ वर्षको हुँदा निरौला भन्थिन् रे, 'कहिल्यै रून्नँ।' विसं २००६ साल। इलाम मंगलबारे, निरौलाको घर। घरमा दाजुभाइ र दिदीबहिनीसँग ९ वर्षकी उनी रमाएर खेल्थिन्। घरमा धन्दापातदेखि घाँसदाउरासम्मको काममा सघाउन थालिसकेकी थिइन्, आमालाई।

'त्यो मंसिरको कुनै एक बिहान हुनुपर्छ,' उनले ६१ वर्षअगाडिको सम्झना गरिन्। आँगनमा काका र अरू आफन्त गफ गरिरहेका थिए। उनले कान त्यतैतिर लगिन्। थाहा पाइन्, त्यहाँ 'कन्यादान' को कुरा चलिरहेको थियो। 'समयमै छोरीको कन्यादान नगरे कसरी वैकुण्ठबास पाइन्छ,' उनका अभिभावक जिद्दी गर्दै थिए। अन्ततः उनको कन्यादानको निष्कर्ष निक्लियो। र, केही दिनमै उनलाई कुटुम्बको जिम्मा लगाइयो।

'बल्ल थाहा पाएँ मेरो त बिहे पो भको रैछ,' ६ दसकअघिको घटना सावित्राले सम्भि्कइन्, 'तर, कोसँग भयो, अब मैले के गर्नुपर्छ, केही था थिएन।' बेहुली बनेर पतिको घर भित्रिएको दस दिनपछि उनी माइत फर्किइन्। बिहे भए पनि उमेर बढेपछि मात्र घर पठाउने त्यसबेलाको चलन थियो। त्यसपछि दुलही बनेर भित्रिएको घरमा उनी कहिल्यै जान पाइनन्। किन त?

'बिहेको वर्षदिन नबित्दै उहाँको (पति) निधन भयो,' उनी फेरि सुकसुकाइन्। पतिको निधनसँगै उनको गलाको पोते खोसियो। सिउँदोको सिन्दुर पुछियो। अभिभावक र छिमेकीबाट नयाँ परिचय पाइन् - 'विधवा'।

'त्यसयता चाडपर्वमा रमाएको थाहा छैन,' दस वर्षको बाल्यावस्थामै विधवा बनेकी निरौलाले सुनाइन्, 'त्यही भएर चाड पर्व आ'को, ग'को थाहै हुन्न।' पतिको मुखाकृति त के, नामठेगानासम्म भेउ नपाउँदै एक्ली बनेकी उनले केही समय माइतीमै बिताइन्। जीवन समाप्तिको मूल्यमा आफ्नो जीवनका सारा समय निरश बिताएकी निरौलाको साथ विस्तारै उनैका आमा बुबाले पनि छाडे। उनको जीवनमा कष्ट थपिँदै गयो।

माइती पनि उनको आफ्नो रहेन। 'मातापिता बितेपछि मलाई साहरा दिने कोही भएन,' नेपाल र भारतका विभिन्न आश्रमहरूमा शरण लिएको बताउने निरौलाले भनिन्, 'त्यसपछि कुटीको बास भो।' झन्डै २५ वर्षअघि भारतबाट नेपाल फर्किएपछि उनले माइधारको लक्ष्मीनारायण मन्दिरमा आश्रम रहेको थाहा पाइन्। र, यहाँ आइपुगिन्।

'म आउँदा अरू थुप्रै थिए,' अहिले पनि १९ जना आफूजस्तै परिवारबाट एक्लिएका महिला रहेको बताउँदै निरौलाले चित्त बुझाउने बाटो खोजिन्। 'सबैको दुःख मेरैजस्तो रैछ। कोहीकोही त छोराछोरी भएर पनि बसिरहेका छन्। उनीहरूलाई देख्दा चाहिँ कोही नभएको मैले दुःख पाउनु नौलो होइन भन्ने लाग्छ।'

सबैको पीडा उस्तै
सन्तान हुनेहरूको पीडा पनि निरौलाको भन्दा फरक छैन। सन्तानले नहेरेपछि निरौलासँगै आश्रममा बसिरहेकी छन्, इलाम लामीडाँडाकी खगिन्द्रा बुढाथोकी। उनी दुई छोराकी आमा हुन्। 'दसैं तिहार र अरू चाडबाडका बेला छोराहरूको साह्रै याद आउँछ,' सन्तान भएर पनि बेसहारा बनेकी उनले भनिन्, 'तर, छोरो ढुंगाको मन भको रैछ।'

उमेर ढल्किँदै गएपछि शरीर गल्दै जान्छ रे। त्यसैले होला, सानोतिनो बिमारले पनि कहिलेकाहीँ धेरै सताउँछ। त्यतिबेला उनलाई लाग्छ, 'यतिखेर छोरो आइपुगिदिए हुन्थ्यो नि!' प्वाँख झरेको पंक्षीजस्तो बुढाथोकीको इच्छा मनमै कुँजिएको धेरै भयो। छोरा फर्किने कुनै छाँट छैन। ६४ वर्षीया बुढाथोकीलाई आफ्नो बिहे भएको तिथिमिति राम्ररी हेक्का पनि छैन। कुन उमेरमा आफ्नो कन्यादान भयो, उनी बताउन सक्दिनन्। उनलाई यत्ति थाहा छ, '२०२१ सालमा पतिको देहान्त भयो।'

त्यसपछि त भर्खरै हुँर्कदै गरेका दुई छोराको सम्पूर्ण दायित्व उनीमाथि आइलाग्यो। उनीहरूकै अनुहार हेरेर भविष्यको आसमा दुःखजिलो गरेर गाउँमा बसिन्। तर, पति वियोगको केही वर्ष नबित्दै उनको एउटा छोरो बेपत्ता भयो, जसको अवस्था अहिलेसम्म उनलाई अत्तोपत्तो छैन। 'एउटा छोरा घरबाट हिँडेदेखि बेपत्ता छ,' उनले भनिन्, 'अर्को घरजम गरेर धरानमा बसेको छ। तर, मलाई हेर्दैन।'

थाहै नपाई विधवा
२०२८ सालमा बनेको लक्ष्मीनारायण मन्दिरमा आश्रय लिएर बस्ने डेढ दर्जन वृद्धाहरूको जीवन कथा लगभग उस्तै छ। अनौठो संयोग - उनीहरूमध्ये अधिकांश बाल विधवा छन्। उनीहरूलाई बिहे भएको त कुरै छाडौं, विधवा बनेकोसमेत राम्ररी थाहा छैन। 'सात वर्षमा बिहे भको रे,' भुटानबाट आएकी ईश्वरी न्यौपाने, ८०, ले आफ्नो कथा सुनाइन्, 'दुई-तीन वर्ष नबित्दै विधवा भइस् भने, त्यहाँदेखि यत्तिकै बसेकी छु।'

विडम्बना कस्तो छ भने, जसको निधनले उनीहरूलाई विधवाको पीडादायी परिचय दियो, ती मान्छेबारे उनीहरूलाई नै राम्रो सम्झना छैन। अभिभावकले विधवा भइस् भने, उनीहरूले सहजै स्वीकारे। नातिनातिना खेलाउँदै आफ्ना सन्तानसँग आनन्दको दिन बिताउने उमेरमा कष्टदायी दिन गुजार्न बाध्य बनेका अधिकांश वृद्धाहरूलाई आफ्नो पतिको नामसमेत थाहा छैन। मन्दिरले दिने खाद्य सामग्री र बेलाबेला 'धर्म कमाउन' मन्दिर आइपुग्ने मनकारीहरूले दिने लत्ताकपडाको भरमा उनीहरूको धेरै दसक बितिसकेको छ। सामान्य औषधिउपचार मन्दिरले गरिदिन्छ। दीर्घरोगबाट पीडित वृद्धाहरूको दैनिकी भने ऐयाआत्थामै बित्ने गर्छ। 'खुट्टो दुखेर उभिनुहुँदैन,' लक्ष्मीनारायण मन्दिरमा सबभन्दा पहिले आएर बसेकी झापा चारपानेकी जमुनादेवी गौतम भन्छिन्, 'राम्रो ठाउँमा उपचार गरे ठिक हुन्थ्यो होला, कसरी गर्नु?'

मन्दिर परिसरमा रहेका कुटीमा बस्ने यी महिलाको दिन बती कातेर र मन्दिरमा भजनकीर्तन गरेर बित्छ। कुनै अवसरमा धार्मिक महोत्सव हँुदा भक्तजनले दिने विभिन्न सामग्रीले उनीहरूको आवश्यकता टर्ने गरेको छ। मन्दिरका महन्त केशव आचार्यका अनुसार कुल सात विगाहा जग्गामध्ये मन्दिरको ४ विगाहामा खेती गरिन्छ। अँधियारले उत्पादनको आधा भाग लगेपछि बाँकी रहेको आधाले मन्दिर र आश्रयरत वृद्धाहरूको जीवन चलाउनुपर्छ।

यहाँ बसेका सबै महिला क्षेत्री र बाहुन समुदायका छन्। बेसाहाराहरू जोसुकैले यहाँ सहजै आश्रय पाउँछन्। जातका आधारमा विभेद छैन। 'आपसमा मिलेरै बसिएको छ,' २० वर्षदेखि मन्दिरमा बसिरहेकी जमुनादेवी भट्टराई भन्छिन्, 'त्यस्तो छोइछिटो छैन।'

न घर न परिवार
गोमादेवी बराल
यो मन्दिरमा बस्ने धेरैजना आफूलाई विधवा भन्छन्। मचाहिँ होइन। तर, मैले जानेदेखि श्रीमानलाई देखेकी पनि छैन। उनी मरेबाँचे अत्तोपत्तो छैन।

ताप्लेजुङ कटहरेको मिश्र परिवारमा म जन्मेँ। आठ वर्ष पुग्दा नपुग्दै बाआमाले गाउँकै बराल थरका मान्छेसँग बिहे गरिदिए। त्यतिबेला बिहे भएको पाँच-सात वर्ष माइतै बस्ने चलन थियो। त्यसैले म पनि माइतमै थिएँ। दुई वर्षपछि घरमा 'ज्वाइँ' हराए भन्ने कुरा चल्यो। घरबाट बजार हिँडेको मान्छे त्यसपछि कहिल्यै फर्केर आएनन्। उनी जुन दिनदेखि हराए, मेरो खुसी र रमाइलो गर्ने ठाउँ पनि त्यतिबेलै हराएछ। कहाँ गए, कसरी गए, के गर्दै होलान् कहिल्यै थाहा भएन। उनी नै नआएपछि मैले माइत घर छोडिनँ। तर, बाआमा पनि बितेपछि भने मलाई त्यो घर छोड्न कर लाग्यो। त्यहाँदेखि अहिलेसम्मको समय यसैगरी बितिरहेको छ।

४० वर्षअघिदेखि म बेसाहराजस्तै छु। माइती घरबाट छुटेपछि पूजापाठ गरेर भए पनि गरिखान पर्‍यो भनेर भारतको वृन्दावन गएँ। त्यतैका अरू मन्दिरतिर पनि केही समय भौतारिएँ। ३० वर्षअघि माइधारको यो मन्दिर आइपुगेँ। मजस्तै दुःख पाएका, कोही नभएका अरू पनि रहेछन्। उनीहरूसँगै मिलेर बसेकी छु। न घर, न परिवार। केही ठेगान नहुँदा चाडबाडको रामरमाइलो गर्न मन नलाग्दो रहेछ। लागेपनि कसरी गर्नु र! चालीस वर्षका दसै, तिज, तिहारजस्ता चाडपर्व मेरा लागि सधैं खल्लो रह्यो।

म अहिले ७० वर्षकी भएँ। सुनेअनुसार हराइरहेका मेरा श्रीमानको उमेर ८३-८४ वर्षको भयो क्यारे। जीउँदै छन् कि मरे, केही थाहा छैन। हराएका मान्छेको उमेर एक सय नपुगी काजकिरिया गर्नु हुँदैन भन्छन्। त्यसैले त्यस्तो गरिएको छैन। अब त आफ्नो उमेर पनि भरे हो कि भोलिजस्तो भइसकेको छ। दुईजनाकै अन्तिम कर्म एकैचोटि होलाजस्तो छ। तर, कोही नभएपछि कसले गर्छ र!

त्यतिबेला सानैमा बिहे गरिदिने चलन थिएन भने मेरो यस्तो अवस्था हुन्थेनजस्तो लाग्छ। तर, त्यसको पनि के ठेगान र! त्यतिबेलाको चलनले गर्दा दुःख पाइयोजस्तो लाग्छ।

मुस्लिमहरुले पनि टीका लगाए

नेपालगन्ज, कार्तिक ३
यहाँका मुस्लिम समुदायले टीका र जमरा लगाएर महान चाड दसैं मनाएका छन् । समुदायका अगुवाहरूले विजयादशमीका दिन देवीको प्रसादस्वरूप रातो टीका र पहेँलो जमरा लगाएका हुन् । विजयादशमीमा साइत छोपेर टीका लगाउन मुस्लिमहरू आफूकहाँ आएकाले बाँकेका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले प्रसन्नता व्यक्त गरे । मुस्लिमहरू पहिलोपटक आफूकहाँ टीका थाप्न आएको उनले बताए ।

'सामाजिक र धार्मिक सद्भावको अनौठो उदाहरण देख्न पाइयो,' प्रमुख जिल्ला अधिकारी दाहालले भने, 'यो एउटा धर्मावलम्बीले अर्को धर्मावलम्बीप्रति देखाएको सम्मान हो ।' बिहान ११ देखि साँझसम्म जिल्ला प्रशासन कार्यालयमा दाहालसित टीका थाप्न जानेहरूमा हिन्दु र मुस्लिम समुदायका बराबरी थिए । इन्द्रपुर गाउँबाट आएका रमजान शेख र उनका छोरा दसैंको टीका र जमरा लगाउन प्रमुख जिल्ला अधिकारीकहाँ पुगेका थिए । उक्त गाउँकै अलि हुसेन र बेलहरीका इमामूलहक खाँलगायत धेरैले यो दसैं टीका र जमरा लगाएर मनाए । 'आपसी सौहार्दता कायम गर्न मुस्लिमहरूले दसैंको टीका लगाउन थालेका हुन्,' सञ्चारकर्मी मोहम्मद हरूनले भने ।
कान्तिपुरबाट

साउदी अरेवियामा पनि दशैंको टिका लगाए नेपालीहरुले ।

३१ आश्विन २०६७
जहाँ पुग्दैन रवि, त्यहाँ पुगेको हुन्छ कवि
जहाँ पुग्छ नेपाली त्यहाँ पुर्याइन्छ नेपाली संस्कृति ।

साउदी अरेवियामा पनि दशैंको टिका लगाए भन्दा कसैले नपत्याउन सक्छ । किनकी यो कट्टर मुस्लीम देश हो । यहाँ यस्ता चाडपर्व मनाउन छुट छैन । तर यो वर्ष प्रायः कम्पनीहरुमा हिन्दुहरुको लागि आधादिन छुट्टी दिएको पनि पाईयो । प्रवासी नेपालीहरुले घरमा आफन्त तथा साथीभाईहरुलाई फोन मार्फत शुभकामना दिएर अनि मिठो मसिनो खाएर दशैं मनाए ।

यसै अवसरमा विश्व नेपाली साहित्य महासंघ शाखा साउदी अरेबियाको आयोजनामा २०६७ सालको विजया दशमीलाई हर्षोल्लासका साथ मनाएको छ । रोजगारीको सिलसिलामा प्रवासमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाईहरु मिलेर शदियौं देखि मनाउँदै आएको आफ्नो संस्कृति तथा परम्परालाई जोगाउन विदेशमै बसेर भएपनि उहाँहरु सफल हुनुभएको छ । यस साहित्य महासंघका अध्यक्ष श्री खगेन्द्र अधिकारी ज्यूको कोठामा दर्जनौ नेपालीहरुले उपस्थित हुँदा यहाँको वातावरण नै हर्षोल्लासमय देखिन्थ्यो । साउदी अरबमा रातो टीका लगाएर कुनै पनि उत्सव मनाउन प्रतिवन्ध भए तापनि आयोजक बनेको विश्व नेपाली साहित्य महासंघ शाखा साउदी अरेबियाको यस कार्यक्रमलाई उक्त प्रतिवन्धले छेकेन ।

कार्यक्रममा उपस्थित सम्पूर्ण सदस्यहरु दिनभरी आ-आफ्नो काममा व्यस्त हुने भएकोले यस कार्यक्रमलाई रातीको नौ बजेबाट शुरु गरिएको थियो । उक्त समयमा साउदीको दमाममा पर्ने रहीमा सिटीभित्र कार्यरत नेपाली दाजुभाईहरु सजिलै उपस्थित हुन सक्नुभएको थियो । नेपाली झण्डा दुर्गामाताको तस्वीर फलफुल आदिले सजिएको साथमा रातो टिकाको थाली अगाडी राखिएको थियो । लाग्थ्यो त्यतिखेर प्रवासी नेपालीहरु नेपालमै थिए । दर्जनको संख्यामा उपस्थित सदस्यहरु सबैले यो समयमा परदेशमा भएको आ-आफ्नो दुःख तथा पीडालाई भुल्नुभएको थियो । यस कार्यक्रममा उपस्थित हुनुभएकामध्ये सबैभन्दा ज्येष्ठ नागरिक लाल हादुर थापा मगर ज्यूको हातबाट टीका तथा प्रसाद ग्रहण गर्दै आशिर्वाद लिएको दृश्य कम रोचक थिएन ।

कार्यक्रमको दोस्रो चरणमा गजल वचन कार्यक्रम रहेको थियो त्यसपछि दशैं गीतमा सामुहिक नृत्य र अन्तमा रात्रीभोजको आयोजना गरिएको थियो । यसरी विर्सनै नसक्ने गरी साउदी अरेवियामा पनि प्रवासी नेपालीहरुले दशैं मनाए ।
विश्व नेपाली साहित्य महासंघ शाखा साउदी अरेबियाका केन्द्रिय अध्यक्ष खगेन्द्र अधिकारी (अमृत) र केन्द्रिय सदस्य बिष्णु प्रसाद चापागाई (बैकुण्ठे) ज्यूबाट वाचन गरिएका गजलहरुः

गजल
- विष्णु प्रसाद चापागाई (बैकुण्ठे)
भोको पेट खानै नपाइ खुटेर गयो दशैं
आयो आयो भन्दै पोहोर छुटेर गयो दशै

यसपाली चाडवाडमा रंगीन बनाउने
मिठो खाने मेरो रहर भुटेर गयो दशैं

वाध्य भई गएँ मुग्लान गरीबी कम गर्न
चाँजो पाँजो हेरी शितल टुटेर गयो दशैं

ऋणमाथि भारी बिसाएँ हलुङ्गो छैन अझै
चन्द्र-सूर्य देख्ने नयन फुटेर गयो दशैं

गरी कर्म रीति रिवाज संस्कृति बचाउँदा
आफ्नै तन नाङ्गो बनाई लुटेर गयो दशैं


गजल
- खगेन्द्र अधिकारी (अमृत)
यसपाली नी घर आउन पाइन आमा
जमरा र टिका लाउन पाइन आमा

मन त थियो रंगीचंडी घर बनाउने
खरको छानो टिनले छाउन पाइन आमा

आर्शिर्वाद थापी मातापिता दुबैको
भुन्टे र नेप्टेसंगै रमाउन पाइन आमा

नमान्नु है विरानो गाउँघर छिमेकीमा
घरी घर घरी पिडमा धाउन पाइन आमा

यसपाली नी घर आउन पाइन आमा
जमरा र टिका लाउन पाइन आमा

थप फोटाहरु

१. टीका लगाउनु पहिले नवदुर्गा भवानीको पूजा गरिदै


 २. ज्येष्ठ नागरिक श्री लाल ब. थापा मगरज्यूको हातबाट टीका ग्रहण गर्दैः विश्व नेपाली साहित्य महासंघ साउदी अरेविया शाखाका अन्तराष्ट्रिय सल्लाहकार श्री सागर श्रेष्ठ ।



 ३. ज्येष्ठ नागरिक श्री लाल ब. थापा मगरज्यूको हातबाट टीका ग्रहण गर्दैः विश्व नेपाली साहित्य महासंघ साउदी अरेविया शाखाका महासचिव श्री पुष्पक वली ।



३. ज्येष्ठ नागरिक श्री लाल ब. थापा मगरज्यूको हातबाट टीका ग्रहण गर्दैः विश्व नेपाली साहित्य महासंघ साउदी अरेविया शाखाका अध्यक्ष श्री खगेन्द्र अधिकारी (अमृत) ।



४. ज्येष्ठ नागरिक श्री लाल ब. थापा मगरज्यूको हातबाट टीका ग्रहण गर्दैः विश्व नेपाली साहित्य महासंघ साउदी अरेविया शाखाका अर्थ सचिव श्री दुर्गा भण्डारी ।



५. ज्येष्ठ नागरिक श्री लाल ब. थापा मगरज्यूको हातबाट टीका ग्रहण गर्दैः विश्व नेपाली साहित्य महासंघ साउदी अरेविया शाखाका केन्द्रिय सदस्य श्री विष्णु प्रसाद चापागाई (बैकुण्ठे) ।



६. टीका लगाउने कार्यक्रम सकिएपछि सामुहिक तस्विर खिचाउँदै



७. टीका लगाउने कार्यक्रम सकिएपछि सामुहिक तस्विर खिचाउँदै


८. विश्व नेपाली साहित्य महासंघ शाखा साउदी अरेबियाका केन्द्रिय सदस्य बिष्णु प्रसाद चापागाई (बैकुण्ठे) ज्यूबाट गजल वाचन गरिदै


९. कार्यक्रमको अन्तिम चरणमा रात्रीभोज गरिदै ।

१०. कार्यक्रममा भएका सम्पूर्ण दृष्यहरु यो तलको भिडियोमा हेर्नुहोला ।

दशैँ एक चिन्तन

कृष्ण वस्ती
दशैंको शुरुवात हुन अब केही दिनमात्र बाँकी छ तर यसको चर्चापरिचर्चाले भने नेपाली जनजीवनलाई लपक्कै ढाकिसकेकोछ । देशविदेशमा रहेका आफन्त जन आउँने खबरले कसैको घरमा खुसी छाएको छ र घर फर्कन चाहनेहरू दिन गनेर रमाइरहेका छन् । आफन्त मिलनको आनन्द नै त दशैं हो ,मिलन नै नहुने हो भने त दशैं भन्ने कुरा अलिनो भइहाल्छ ।

अर्कोतिर कुनै कारणवश यो बेलामा घर फर्कन नसक्नेको पीडा हृदयविदारक छ ।दशैंमा घर जान नपाउँनेको मन यता अमिलो छ भने घरमा बस्नेको मन पनि धमिलो छ त्यसैले घाउ सुम्सुम्याउनुमा दशैं बित्ने निश्चित छ ।पारिवारिक मिलनको केन्द्रको परिधिमा नै दशैंका यावत् रमाइला पक्षले शोभा पाएका हुन्छन् ।

दशैंको मितिको निकटतासँगै घर जाने उत्सुकता र जान नपाउनुको विवशतापूर्ण पीडाका भावले व्याप्त गीत, कविता, गजल र लेखहरुले यतिबेला फेसबुकको पाना भरिएका छन्, जो नितान्त स्वाभाविक पनि हो । तर अर्कोतिर दशैंबारेका आग्रहपूर्ण टिप्पणी पनि देखिन्छन् । विशेषत: यो चाड यो वा त्यो जातिको हो भन्दै त्यसप्रति कटुता-घृणा र आपसी द्वेष भरिएका अभिव्यक्तिका विषबमन पनि कम पढ्न पाइन्नन् ।

वस्तुत: जुनसुकै जात-जाति र जनजातिले विकास गरेपनि नेपालका चाडपर्व सँस्कार र संस्कृति नेपाल र नेपालीकै सम्पदा हुन्।तिनीहरुलाई आफ्नै ठान्ने र तिनीहरुभित्र आफूलाई खोज्ने सोचाइले मात्र हामीलाई विनाशको मार्गबाट बचाउँछ भन्ने कुरा हामीले बुझ्नु आवश्यक छ ।

जनताका बीचमा सिर्जना भएर जनताकै बीचमा हुर्किएका चाडपर्व र संस्कृतिमा आडम्बरको जलप लाग्नु एउटा कुरा हो ।लामो समयसम्म लगाएको लुगा पनि त मैलिन्छ । लुगा धोएजस्तै तिनलाई विकृतिबाट मुक्त गर्नुपर्छ र राम्रा पक्षलाई प्रोत्साहित गर्नुपर्छ ।दशै बाहुनवादको संस्कृति हुनाले मान्नु हुँदैन,सामन्तवादले लादेको यो कुसंस्कृतिलाई बहिष्कार गर्नुपर्छ भन्ने स्वर तथ्यमा आधारित छैनन् । यो कसैको हो भने पनि अरुको संस्कृतिको सम्मान गरेरमात्र आफ्नो संस्कृतिले सम्मान पाउँछ । आफ्नो ठिक अरुको बेठिक भने अभिमानले समाजमा कलहबाहेक केही सिर्जना गर्दैन । अँ त्यसभित्र कसैलाई अपमानित गर्ने छिद्र छन् भने चाहिं त्यसको उपचार मिलेरै विनापूर्वाग्रह गर्नुपर्छ ।

समाजको विकाससँगै हरेक जातजातिको जीवनशैली अनुरूप दशैं मान्ने तरिका र रुपमा अवश्य फरक परेको हो र यसमा धार्मिक आवरण थपिएको पनि सत्य हो तर यो पर्वलाई धर्मसँग जोडेरमात्र हेर्नु वा अन्धविरोध गर्नु भनेको त्यसको मर्म रआफ्नो अतीतप्रति न्याय नगर्नु हो । विज्ञानसम्मत कुरा के हो भने दशैंको विकास कुनै दैवी घटनाबाट नभई हाम्रो कृषियुगबाट आरम्भ भएको हो । यसको सारमा हाम्रो कृषिपरम्पराको छाप र पदचिन्ह पाइन्छन् । हामी कृषियुगकै उत्तराधिकारी हौं कि होइनौं ? पछि थपिएका केही तामझामलाई हेरेर त्यसमा प्रहार गर्दा हामीले आफ्नो साँस्कृतिक अतीतलाई पनि रेट्ने काम गर्छौं कि गर्दैनौं ? हाम्रो साझा कृषियुगका पदचिन्ह दशैंमा रहेका केही उदाहरण हेरौं ।

१) बर्षायामको मुसलधारे पानीले घरगाउँका बाटाघाटा क्षतविक्षत बनाएका हुन्थे त्यसैले सफा मौसम शुरु भएपछि सामूहिकरूपले पुनर्निर्माण गर्नु आवश्यक हुन्छ । हाम्रा घरहरुको हालत पनि नाजुक भएको हुन्छ । यसबेला तिपपोत,मर्मत नगरे खण्डहरूमा परिणत हुन्छन् अत: घर-आँगन र बाटाहरु सफा गर्ने सामूहिक अबसर हो यो ।

२) बर्षाको समयलाई उसैपनि मानो खाएर मुरी उब्जाउँने बेला भनिन्छ । बर्षाको कठोर कृषिश्रमको मर्म खेती गरेकालाई मात्र थाहा हुन्छ । रुखासुखा खाएर वा भोकभोकै खेतीमा जोतिएका मानिसका लागि यो आरामको समय हो ।यसबेला कामको ऊति चाप हुँदैन । मानिसलाई आरामको पनि जरुरी हुन्छ । आरामले मात्र शरीरलाई पुग्दैन अत: पोषणयुक्त खानाको पनि जरुरी हुन्छ । बर्षामा पनि राम्ररी नखानु र अब पनि उस्तै हुने हो भने मानिसको जीवन नीरस हुन्छ र आँत पनि छिनेर अर्को श्रमका लागि तयार हुँन सक्दैन ,तसर्थ मीठोमसिनो खाने र आराम गरेर आफूलाई शारीरिक र मानसिक रुपले रिचार्ज गराउँने जीवन शैलीबाट दशैंको विकास भयो ।

३) दशैं नितान्त कृषियुगको सामाजिक छुट्टीको समय हो । विदा मनाउँने तरिका सबैका फरक हुन्छन् । धार्मिक मान्छेले पूजाआजा गर्ला, लेखकले सिर्जना गर्ला, अध्ययनमा रुचि हुनेले राम्रा पुस्तक पढ्ला, भ्रमणमा रुचि हुनेले घुम्ने योजना बनाउला । उसबेला पनि पेसाव्यवसाय अनुसार मनाउँने तरिका फरक भए । कालान्तरमा कुनै मिसिएर अर्को रुपमा देखा परे भने कति हराए स्वभावत: । शनिबार वा आइतबारको छुट्टी उही हो तर मनाउँने तरिका फरक छैनन् र ? कसैले तास खेलेर छुट्टी मनायो भन्दैमा जुवाडेको दिनको रुपमा त लिइन्न नि ? दशैंको हकमा पनि यही कुरा लागू हुन्छ । सिपाहीले हतियार पूजा गरेर, किसानले हलो-फाली पूजा गरेर, कलाकारले कूची-रंग,लेखकले कलमपूजा गरेर पेसा-व्यवसायको सम्मान गर्नुलाई नाजायज भन्न मिल्दैन । यो पर्वलाई कुनै राजामहाराजाले आफ्नो तरिकाले मनायो भन्दैमा उसैको पेवा ठान्नु भनेको त शत्रुको रिसले आफ्नै गर्धन सेर्नुजस्तै भएन र ?

४) मानिस सामाजिक प्राणी हो । आयो गयो माया मोहो, आएन गएन कोहोकोहो भनेको साँचो हो । अरुबेला कामको चापले गर्दा आपसमा भेट नहुने भएकाले हाम्रा पुर्खाले यसलाई भेटघाटको पर्व बनाए । बूढाबूढीलाई हिंडडुल गर्न असजिलो नहोस् भनेर सानोले ठूलोको घरमा जाने, नातागोतासँग अरुबेला भेटहुन सम्भव छैन तर सामूहिक छुट्टीमा सबैको सबैसँग भेट हुने भएकाले नातासम्बन्धलाई रिचार्ज गर्ने अवसरको रुपमा दशैंको विकास गरियो ।

५) कृषिकाममा लाग्नेसँग लुगाको कति अभाव हुन्छ ? भन्नु नपर्ला । एउटै लुगा टालेर लामो समयसम्म लाउनु रहर नभएर विवशता हो । उसमाथि बर्खे झरीले भिजेर मक्किइका लुगा नफर्ने हो भने लाज कसरी छोप्ने ? धन कहिल्यै नहुने र छैनमात्रको रोदनले लाज नछोपिने हुनाले बर्षा सकिएपछि लुगा फेर्ने चलन बस्यो । हुनेले नफेर्दा भयो तर फाटेकाले फेर्नु परेन ? यसबेला फेरेको लुगाले झरीको मार खप्नुपर्दैन जो बर्षासम्मका लागि हुन्छ । गरीबलाई रिन लागेको कुराले दशैंलाई दशा भन्न सजिलो छ तर यो पाटोको मर्ममा हामीले कहिल्यै सोच्यौं ?

६) जमराको पनि धर्मसँग सरोकार छैन । हाम्रा पुर्खाले लगाउँने हिउँदे बालीको पदचिन्ह हो जमरा । जमरा स्वास्थ्यका दृष्टिले पनि महत्वपू्र्ण छ । यसको रस पोषिलो र स्वास्थ्यबर्धक हुन्छ । घरमा आइने नातेदारलाई नयाँ बालीको प्रतीक जमरा,पुरानो बालीको बचतको प्रतीक टीका र कृषकका घरको अमृत दहीको टीका लगाइ दिएर आफ्नो खेती-पौरखको नमुना प्रस्तुत गर्ने बिम्ब र प्रतीक हुन् टीका र जमरा । शुभकामनाको अर्को रुप आशीर्वाद हो । घरमा बल्लतल्ल आएका नातेदारलाई मीठो-मसिनो सबैले ख्वाउने कुरा नै दशैको रमझम हो ।

आराम, मनोरञ्जन, नाताको नवीकरण, भोजन, जीवन र घर-समाजको पुनर्ताजगीकै लागि विकसित भएको सामाजिक छुट्टीले कालान्तरमा चाडपर्व र संस्कृतिको आकार लियो । कृषियुगबाट अहिलेको परिवेशसम्म आउँने कसैका लागि यी सबै कुरा आवश्यक नहोलान् तर यो नै हाम्रो अतीतको वास्तविकता हो र हामी त्यही कृषियुगीन पुर्खाका सन्तति हौं ।

हाम्रो कृषियुगीन सभ्यताका यी प्रवृत्तिमा धर्म-जाति र भूगोलको भेद नभई साझा मर्म छन्, तिनीहरुकै जीवनशैली र जिउँने कलाको छाप छन् दशैंका धेरैजसो शैलीमा ।

एकपटक अतीतलाई फर्किएर हेरौं त कहालीलाग्दो कृषियुगको कठिन जीवनमा यस्तै आकर्षण निर्माण गरेर मानिसलाई हाम्रा पुर्खाले बाँच्ने आधार निर्माण गरिदएका होइनन् ?

दशैं मान्ने नमान्ने वा कसरी मान्ने भन्ने कुरा आफ्नो विवेकको कुरा हो । लुगा मैलियो भन्दैमा मानिसलाई नै नदीमा बगाउँनुपर्छ भन्नु र कुनै शासक, वर्ग वा जातिले उसका किसिमले मान्यो भन्दैमा आफ्नो अतीतको मर्मलाई नै नकार्नु उचित होइन । यो एउटा नमुनामात्र हो । जो कसैको संस्कार-सँस्कृतिलाई सम्मान गरौं र त्यसमा आफ्ना सम्पदा र प्राचीन जीवनगाथा-व्यथालाई नियाल्ने प्रयास गरौं ।

म आज जहाँ छु, त्यो बीजलाई दुखका काँढाका बीचमा पनि फुल्ने र रिचार्ज भएर पुन: श्रममा फर्कने चाँजोपाँजो मिलाएर पुर्खाले जीवनको मीठो स्वाद चखाएको नभए म आज यहाँ हुन्थें कि हुन्नथें थाहा छैन । मलाई धर्मसँग सरोकार छैन तर म कसरी यहाँसम्म आएँको इतिहासको पाना दशैंप्रति मेरो सम्मान छ । म नातागोताको सामूहिक भेटघाट चाहन्छु र यसलाई अवसरको रुपमा प्रयोग गर्छु । भेट्न आउनेको प्रतीक्षामा हुन्छु र भेट्न जान चाहन्छु । मैले आफ्नो हैसियत अनुसार गर्ने हो मन फुकाएर सम्बन्धलाई नवीकरण गर्ने हो । यसमा नातागोता इष्टमित्र सबै पर्छन् । त्यसैले दशैंको हार्दिक शुभकामना सहित तपाईंलाई निमन्त्रणा छ, सके मीठोमसिनो बाँडेर खाऊँला नसके मन साटासाट गरेर सम्बन्धको रिचार्ज गरौंला । मलाई फुर्सद भए तपाई अरुबेला व्यस्त हुनुहुनेछ, सबैको सबैसँग भेट हुने त साझा छुट्टीमा त हो ।
दमक, झापा

खगेन्द्र विश्वकै होचो

आश्विन २८ - पोखरामा गिनिज बुक अफ द वल्र्ड रेकर्डले बिहीबार खगेन्द्र थापा मगरलाई संसारकै होचा व्याक्तिको प्रमाणपत्र प्रदान गरेको छ ।

रेकर्डसका उपाध्यक्ष मार्को फिरगाटीले एक समारोह बीच पोखरामा होचा व्याक्तिको प्रमाणपत्र र मेडल प्रदान गरेका हुन् । खगेन्द्रको उचाई ६७ दशमलब ८ सेन्टिमिटर र तौल ६ दशमलब ५ किलोग्राम रहेको छ । बागलुङ जिल्लाको धुल्लुबासकोट-६ निवासी बाबु रुपबहादुर थापामगर र आमा धनमायाको पहिलो सन्तानको रुपमा २०४९ असोज २८ गते खगेन्द्रको जन्म भएको थियो ।

उनी बिहीबारबाट १८ बर्ष पूरा गरेर १९ औं बर्षमा प्रवेश गरेका छन् । प्रमाणपत्र समारोहमा खगेन्द्रलाई बधाई दिन र हेर्न बिभिन्न क्षेत्रका व्याक्तिहरूको जमघट भएको थियो । आज खगेन्द्रको जन्मदिन परेको र यसै दिन उनी १८ वर्ष पूरा हुने हुँदा गिनिज बुकको टोलीले होचो मानिसको मान्यता दिएको हो ।

सरकारले दिएको नागरिकता, स्वास्थ्य परीक्षण लगायतलाई आधार मानेर खगेन्द्रलाई होचा व्याक्तिको प्रमाणपत्र दिईएको मार्कोले बताए । खगेन्द्रको बारेमा थप अनुसन्धान र परीक्षण गरी होचा व्याक्तिको प्रमाणपत्र प्रदान गर्न दुई दिनअघि गिनिजको टोली पोखरामा आईपुगेको थियो ।

उनको वास्तविक उचाई र तौल पत्ता लगाउन बुधबार स्थानीय फेवासिटी हस्पिटलमा बालरोग बिशेषज्ञ डा. हुमप्रसाद न्यौपानेले बिहान, दिउँसो र साँझ परीक्षण गरेका थिए । साथै बिहीबार बिहान पनि परीक्षण गरिएको थियो ।

होचा व्याक्तिको प्रमाणपत्र पाएका खगेन्द्र यतिखेर सबैका चासो र आर्कषणका व्याक्ति बनेका छन् । उनको बारे बुझ्न बिभिन्न अन्र्तराष्ट्रिय, राष्ट्रिय संचार संस्थाका प्रतिनिधिहरू यतिबेला पोखरामा आईपुगेका छन् । खगेन्द्रलाई हेर्न बिहानैदेखि पाखरामा भीड लागेको छ ।

जन्मदा अण्डाको आकार जस्ता खगेन्द्र बाँच्ने आशा मारिसकेका आमा धनकला र बुबा रुपबहादुरले छोराको कारण नेपालको नाम संसारमै प्रसिद्व भएकोमा खुसीले हर्षविभोर भएको व्यक्त गरे । प्रतिष्ठानका अध्यक्ष मिनबहादुर राना मगरले खगेन्द्रको नाम गिनिज बुकमा लेखाउन राज्यले चासो नदिंदा धेरै हण्डर खानु परेको गुनासो गर्दै कडा संर्घष र मेहनतका कारण विश्वमा नाम फैलाउन सफल भएको बताए ।

खगेन्द्र विश्वमै कम उचाईमात्र नभई उनको तौलसमेत कम छ ।
कान्तिपुरबाट

घान्द्रुकको यात्रा

अमोल आचार्य,धुलिखेल, काभ्रे
१० अक्टोबर, शनिवार, बिहान नै उठेर, पदयात्राकै लागि भनेर किनेको ‘ट्रेकिङग् ब्याग’ बोकें। पदयात्रा जाने जोशले होला ब्यागमा कोची-कोची राखिएका कपडाहरु, साबुन-स्याम्पुहरु केहीको पनि तौल थाहा भएन। विहान ७:०० बजे जमल पुगेर ‘टुरिष्ट’ बसमा चढेर पोखरा जाने निधो भएको थियो। सबै कुरा निधो गरेझैं भयो। ‘नेपाली टाइम’को परम्परागत प्रवृति भत्किदैगएकोमा खसी लाग्यो। नेपालीहरुले समयको महत्तव बुझ्न थालेको थाहा पाउँदा कुन नेपाली हुनुमानै गर्व गर्ने नेपालीलाई सुखदायक हुँदैन र?

काठमाडौंदेखि मुङलिङ, मुङलिङदेखि पोखरा। विच-विचमा खाना र खाजा। त्रिशुली, पहिरो गएको ढुङ्गे डाँडाहरु, केवुलकार, झोलुङ्गे पुलहरु। यत्तिमात्र वर्णन गर्छु काठमाडौँदेखि पोखरा छिर्नु अघिको यात्राको बारेमा, है। विषेशणहरु भुरुन्दी खोला, पुनहिल, घान्द्रुक, हिमालहरुका लागि बचाउन मन लाग्यो क्या।

हामी पोखरा उप-महानगरपालिका छिर्दा सेती खोला पोखरा घमेर बाहिर निक्लिरहेको थियो। ‘सेती खोलालाई त्यसको पानीले गर्दा सेती भनिएको हो’ पाँच कक्षामा पढ्दा शिक्षिकाले सेतीको वर्णनगर्दा भनेको कुरा याद आयो। पानी साच्चिकै सेतो थियो। कर्णालीले कोइला बगाएको भन्थे, सेतीले सायद चुनदुङ्गा बगाएको होला भनेर सोच्दा देशले सदुपयोग गर्न नसकेको प्राकृतिक सम्पदाका बारेमा चिन्ता लाग्यो। घुम्न आएको मान्छे, आफ्नै झोला भारी हुने डर थियो त्यहि भएर चिन्तालाई बोकिन र तत्कालको लागि चिन्ता बिसाइदिएँ।

गाडि बेगसँग अगाडि बढिनै रहेको थियो। पोखरा नजिकै रहेको आभास बाटोको दुईपट्टी नै देखिएका फाटफुट घरहरुले गराइरहेको थियो। यसो उठेर गाडिको अगाडिको सिसाबाट बाहिर हेर्दा साना-ठुला घरहरुले उभ्भिएर हाम्रै गाडितिर आखाँ लगाइरहेकोझैँ लाग्यो। पहिलो पटक पोखरा आउन पाउँदा आफू निकै खुसी भएको मलाई आफैंलाई थाहा भइरहेको थियो।

पोखराको बस-बिसौनीबाट लेकसाइड पट्टीको सस्तो लज- लुगा फेर्ने कार्यक्रम- खाजा खाने आतुरता। यस्तै त हो नि लामो यात्रापछि।

फेवातालको वर्णन गर्न मन छैन मलाई। फेवाताल नराम्रो लागेकाले हैन। विशेषण बचाउन पनि हैन। कत्ति गर्नु वर्णन फेवातालको। पुग्ने गरि वर्णन भइसकेको छ पोखराको, पातले छाँगोको, सारङ्गकोटको, बेगनास तालको, महेन्द्र गुफाको, शान्ति स्तुपाको, तालबाराहीको, चमेरे गुफाको, विन्दवासिनीको अफ भयो। पोखरा वर्णन नगर्नुको अर्को कारण पनि छ- म पोखरा घुमेको पनि त छैन। फेवातालको किनारमा उभ्भिएर जे देखें त्यत्ति मात्र त हो मैले पोखरा देखेको। जे भएपनि, जतिभएपनि टुङ्ग्याउँछु अब- सुन्दर पोखरा।

पहिले दिन
आइतबार, उठेर खाजा, नास्ता खाएपछी ९:४५ बजे बाग्लुङ्ग बसपार्क पुग्यौँ। बाग्लुङ्ग पोखरामै भएको बाग्लुङ्गको लागि बस पाउने बसपार्क हो। हाम्रो यात्रा बसपार्क देखि नयाँपुलसम्मको मात्र थियो। नयाँपुलबाट हाम्रो पदयात्रा सुरु हुने तय थियो। म पदयात्राको लागि आफूलाई मानसिक रुपमा तयार गर्दै थिएँ।

बसमा चढियो। दुई घण्टामा नायाँपुल पुग्दैथियौं हामी। बस डाँडाको जीऊभरि बनाइएको बाटोमा कुद्दै उकालो चढ्दै थियो। एक घण्टाजतिको यात्रा पछि हो मलाई हावाको चिसोपन बढिरहेको भान भयो। एकछिनमै हावा साह्रै चिसो भइसकेको थियो। म ज्याकेट निकालुँ कि ननिकालुँ भनि मनसँग सिँगौरी खेल्दै थिएँ। हावा किन त्यति चिसो भएको होला भनि गम्दै थिएँ म। सायद हिमाल हाम्रो नजिकै भएर होला- दिमागले तर्क गरिहाल्यो। एकैछिनपछि म चढेकै बसमा भएका अपरिचित यात्रुबाट थाहा भयो, हामि लुम्ले आइपुगेका रहेछौं। एक्कासि मन-मस्तिष्कमा ‘मुटु छुने लुम्लेको हावाले….मनै छुने लजालु मायाले’ भन्ने परिवेश साङ्गीतिक समुह (ब्याड) ले गाएको गीत याद आयो। पोखरा नेपालमा सवैभन्दा धेरै बर्षा हुने ठाँउ हो भन्ने थाहा थियो तर पोखराभित्र पनि लुम्लेमा चाहिँ धेरै वर्षा हुँदो रहेछ। नेपालमै अत्याधिक बर्षाहुने ठाउँको हावासँग परिचय साटियो। नयाँ कुराको ज्ञान भयो। सायद सामान्यज्ञान पढेर नेपालमा सर्वाधिक बर्षाहुने ठाउँ लुम्ले हो भनि याद गर्नु परेको भए मस्तिष्कले निकै संघर्ष गर्नु पर्थ्यो तर आफैं लुम्ले पुग्दा मस्तिष्कले थाहा नै नपाई लुम्लेलाई मनमा बसाएछ। यहाँनेर विश्व साइकल यात्री पुष्कर शाहालाई सम्झन मनलाग्यो मलाई। पुष्करले भर्खर आफ्नो ११ बर्षे विश्व साइकल यात्रा पुरागरेका छन्। नाइल नदी देखेपछि पुष्करले भनेका थिए- ‘सायद अब मैले फेरि परिक्षामा नाइल नदीको बारेमा लेख्नुपर्यो भने २-४ नम्बर बढीनै ल्याउँछु होला’। सुन्नु र भोग्नुको सायद यहि भिन्नता छ, तृप्तीको भिन्नता।

मेरो मन लुम्लेमा रोकिए पनि बस रोकिएनछ। हामी गाडीले ओराल्दिने नयाँपुल पुगिसकेका थियौँ। गाडीबाट ओर्लेर सच्चा नयाँपुल पुग्न करिब आधा घण्टा लाग्यो। थाहै नपाई पदयात्रा सुरु गरिसकेछौं हामीले। केहि अगडी अर्थात वीरेथाँटीबाट अन्नपूर्ण संरक्षण क्षेत्र सुरु भएको थियो। वीरेथाँटीमा विदेशी पर्यटकले विवरण भर्नुपर्ने रहेछ। प्रेम छिरिङग्लाई चाइनीज भनेर चेक पोष्टका कर्मचारीले राहधानी माग्दा रमाइलो ठट्टा भएको थियो। मेरो दिमागमा नयाँपुल भनेको पक्की पुल होला भर्खर बनेको भन्ने थियो। तर पुल त उही पुरानै रहेछ, झोलुंगे पुल। मोदी खोलामाथि तुर्लुग झुन्डिरहेको।

नयाँपुल काट्ने बित्तिकै बाटो दुईतिर लागेको देखियो। दायाँ पट्टीको बाटो जाँदा एकैदिनमा घान्द्रुक पुगिने र बायाँ पट्टी लाग्दा चाहिं तिखेढुङ्गा, घोरेपानी, टाढापानी हुँदै घान्द्रुक पुगिने रहेछ। हाम्रो पदयात्रा पाँच दिनका लागि तय भएकाले हामीले लामो बाटो घान्द्रुक पुग्ने निधो गरि बायाँ पट्टीबाट पहाडको उचाई नाप्न थाल्यौं। पहिलो दिनको बास तिखेढुङ्गामा बस्ने निधो थियो। मेरो दिमागमा तिखेढुङ्गा कस्तो होला भनेर चित्रहरु कोरिन थालिसकेका थिए। एउटा तिखो ढुङ्गा जस्तो पहाडमा भएको गाउँहोला तिखेढुङ्गा भनि मनले ठम्यायो। पाइलाहरु अगाडि बढीरहेका थिए। एकपछि अर्को पाइला गर्दै म दिनको गन्तब्यका लागि अगाडि बढिरहेको थिएँ।

हिजो पोखरा बसेकोले होला पोखराको याद आयो। फेवाताल याद आयो। गीत सुनेको ठाउँ ‘बिजी बी’(Busy Bee) को याद आयो। ‘बिजी बी’ भनेको एउटा होटल/रेष्टुरेन्टको नाम हो। नेपाली तथा विदेशी पर्यटकहरु उल्लेख्य मात्रामा उपस्थित भई ‘बिजी बी’मा गीत सुनेर रमाइलो गर्दा रहेछन्। गीतचाहिं स्थानीय गायन समुह (ब्याड) ले गाउँदा रहेछन् बेलुका ७:०० बजे देखि राति ११:०० बजे सम्म। हामी ‘बिजी बी’ गएको दिन, मात्र अङ्ग्रेजी गीत गाइयो। अङ्ग्रेजी गीत सुन्न मन नपर्ने भएकाले खासै रमाइलो लागेन मलाई। तर अरु मानिसहरुले ‘हेड ब्याङ्ग’ (जीउ निहुराएर टाउको हल्लाउने काम) गरेको देख्दा चाहिँ रमाइलो लाग्यो। ‘कस्तो घाँटी नदुखेको होला?’ मनले भनिरहेको थियो।

हिजो राति पैसा धेरै खर्च गरिएछ। झन्नै २००० रुपैयाँ उडाइएछ। धन्न जाँड, रक्सी खाइएन नत्रभने घान्द्रुक यात्रा पोखरामै टुङ्गीने थियो। जाँड नखाएपनि २००० रुपैयाँ सकिनुबाट पोखरा महङ्गो शहर रहेछ भनेर अड्कल काट्न सकिन्छ। ‘पर्यटकसँग पैसा लिने बानी परेका होटल ब्यवसायीहरु हुन’ भन्यो मनले।

पाइला निरन्तर अगडि बढिरहेका थिए। मोदी खोलामा मिसिन गइरहेको भुरुन्दी खोलाले सुसेलेको आवाज मिठो सङ्गीत बनि वातावरणमा मिसिरहेको थियो। भूरुन्दी खोलालाई देख्दा लाग्यो उ वेगसँग आफ्नो लक्ष्य भेट्टाउन अघि बढीरहेको छ। बाटोमा कतै, केहीबेरका लागी बाङ्गीएपनि लक्ष्य भेट्टाउने उसको उत्कट अभिलाषा प्रेरणादाई छ।

छेउमा खोला, वरिपरी हरियाली, पहाडको उकालो-ओलारो, हिड्न रमाइलो लागिरहेको थियो। अचानक फेरी मनमा हिजो खर्च गरेको पैसा याद आयो। छ भन्दैमा फजुल खर्च गर्यो भने कुवेरको भण्डारपनि रितिन्छ भन्ने कुरा थाहा हुँदा-हुँदै अनावश्यक पैसा खर्च गरेकोमा आफैसँग रिस उठ्यो। ‘काठमाडौं फर्किउन्जेललाई पैसा पुगेन भने के हुन्छ?’ भनि दिमागले तेर्साएको प्रश्ननको तगारोलाई बाँकि पैसा उपयोगी तरिकाले खर्च गर्छु भनि हटाएँ। बल्ल मलाई पदयात्रा भनेको आफ्नो निउन पुँजी र समयलाई सहि सदुपयोग गर्दै नयाँ ठाउँका बारेमा जानकारी लिन सिकाउने विधि रहेछ भन्ने थाहा भयो।

मन पोखरामा पाइला पदयात्रामा। दिन यसरि नै वित्यो। कहिले काहिँ आफूले पदयात्राको सम्पूर्ण मज्जा लिन नसकिरहेको आभास हुन्थ्यो तर मनको चिन्ता पदयात्रासँग नै सम्बन्धित रहेको र पदयात्राले सुरुमै ठुलो पाठ सिकाएको सम्झेर खुसी पनि लाग्यो। अब चाहिँ पैसाको सहि उपयोग गर्छु भनि मन एकचित्त गरें र सारा ध्यान यात्रामानैं केन्द्रीत गराउन थालें।

बाटोमा अनेकौं झरनाहरु देखिए। कोही लामा, कोही ठुला, कोही पातला। जे जस्ता झरना भएपनि सवै झरना समान थिए। पानि सबैको समान तत्व थियो। झरनाहरु आफूलाई भूरुन्दी खोलामा मिसाएर आफ्नो समुन्द्र भेट्ने लक्ष्यलाई अझ मगबुत बनाइरहेका थिए। कहीँ त पुरा खोला झरना जस्तो भएर उचाइबाट झरिरहेको देखिन्थ्यो। नेपालमा जलबिद्युतको सम्भावना र खेर गइरहेको पानि दुवै विचार एकैपटक मनमा आयो। नेपाल प्रकृतिको ठुलो निगाहा बक्स भएको देश हो तर एउटा लायक छोरो पाउन सकिनन् नेपाल आमाले। म त्यो लायक छोरो हुनसकुँ। यहि इच्छा भयो मलाई।

साथीहरु बाटोको हरियाली, डाँडाकाँडा, सुन्दर झरनाहरु सबैलाई क्यामराको सहयोगबाट कैद गर्न ब्यस्त देखिन्थे। सबैको अनुहारमा चमक थियो पदयात्राले दिएको।
वीरेथाँटीबाट माताथाँटी, लाम्दुवाली, रामघाई, दाङसिङ, सुदामे हुँदै हामी हिले पुग्दा साझको ४:५५ बजिसकेको थियो। हामी वीरेथाँटीमा खाना खाएर १:१५ बजे दिउँसो, उकालो लागेका थियौं। तिखेढुङ्गा पुग्न अझै कति बाँकि छ भन्ने कुरा हामीलाई हिलेमै प्रप्त भएको पदयात्राको नक्साले बताइदियो।

हिलेपछि तिखेढुङ्गा आउँछ भन्ने थाहा पाएपछी साथीहरु धेरै खुसी भएका थिए। सायद उनीहरुलाई तीन घण्टाको नियमित यात्राले थकाएको थियो होला। आधा घण्टापछी अर्थात ५:३० बजे हामी दशै जना तिखेढुङ्गा पुग्यौँ। निला घरहरु भएको एउटा सानो गाउँ रहेछ तिखेढुङ्गा। तिखेढुङ्गामा होटल पाउन गाह्रो भएन हामीलाई। फेरी सस्तो होटलपनि पायौं हामीले। होटल खोज्दा ‘सादा खानाको कति?’ ‘एउटा खाटको कति?’ भनेर टुङ्गो लगाएर मात्र बस्ने निधो गरेका थियौं हामीले। पैसा सबै कुरा नभएपनि चाहिने कुरा चाहिँ रहेछ।

बेलुका भरी साथीहरु सबै गफिंदै बस्यौं। एक-अर्कालाई गिज्याउने, आफ्ना बारेमा साथीहरुलाई थाहा नभएको कुरा भन्ने सुनौलो अवसर भयो तिखेढुङ्गाको वास। राति भने खाना खाने बित्तिकै सबैजना सुति हाल्यौं। तीनवटा खाटमा पाँच जना। केटीहरुपनि त्यसरीनै सुते।

दोस्रो दिन
विहान खाजा खाएर सबै जान घोरेपानि यात्राको लागी तयार हुँदा ८:०० बजिसकेको थियो। होटलमा आफूले खाएको र सुतेको पैसा तिरियो। पोखरामा २००० रुपैयाँ खर्च भएको थियो। तिखेढुङ्गामा रु.२०० मात्र खर्च भयो। खर्च भएको पैसाको भिन्नता देख्दा हासो लाग्यो। सबै प्रकारले सर्वसुलभ पोखरा र नयाँपुलबाट एकदिनको खच्चर ढुवानीबाट सामान ल्याउनु पर्ने तिखेढुङ्गा। अच्चमको भिन्नता।

तिखेढुङ्गाबाट घोरेपानी ६ घण्टाको ठाडो उकालो हो भन्ने थाहा थियो मलाई। समुन्द्र सतहबाट १५४० मिटर उचाईमा रहेको तिखेढुङ्गाबाट २७५० मिटरमा रहेको घोरेपानि पुग्दै थियौं हामी। उकालो जति भएपनि घोरेपानि हाम्रो गन्तब्य भएकाले हामी उकालो चढ्न तर्फ लाग्यौं। ढुङ्गा छापेर बनाइएको सिंडी जस्तो बाटोभरि सामान ढुवानीका लागि प्रयोग गरिएका खच्चरको मलमूत्र देखिन्थ्यो। कहिले काहिँ उकालो चढ्दै गर्दा ओरालो झरिरहेका खच्चरलाई बाटो छोड्दा ‘जनावर’को बाटो नछेक्नुनै उत्तम हो भन्ने पाठ सिकियो। उकालो ठाडो थियो। अगाडी बढ्न निकै गाह्रो भइरहेको थियो। मलाई बल्ल आफूले भारि झोला बोकिएछ भन्ने भान भयो। झोलालाई कर्तब्य ठानि बोकेर हिडिरहें म। कहिं थकाई मार्थे, कहिँ पानि खान्थें। हिड्दा जति दु:ख भएपनि गन्तब्यको नजिक पुगिरहेको आभास मात्रले पनि मनभरि आनन्दको अनुभुति प्रवाह हुन्थ्यो। निधारबाट थोपा-थोप गरि निस्किएको पसिनाले मलाई म पैरख गर्न सक्षम छु भन्ने भान गराइरहेको थियो। जीवनको यात्रामा पनि म मेहनत, पैरख गरेर सफल हुन्छु भन्ने आत्मविश्वास मन भित्र प्रगाढ भइरहेको थियो। उकालो ओलारोमा परिणत हुने क्रम जारी थियो। पहाडको टुप्पोलाई छोएर उडेका बादलहरु नजिकै देखिन थालिसकेका थिए। बादलहरु त्यति नजिकै देख्दा कसको मनमा आनन्द आउँदैन होला र?

हामी हिडिरहेको उकलोलाई उल्लेरीको उकालो भन्दा रहेछन् स्थानिए ब्यक्तिहरुले। उल्लेरी मात्रचाहिँ त्यस ठाउँको नाम रहेछ। करिब २ घण्टाको उकालो यात्रापछि हामीले उल्लेरीको उकालोलाई उल्लेरीको ओरालो बनायौं। अझै करिब ४ घण्टाको यात्रा बाँकि रहेपनि अब बाटो सरल छ भन्ने थाहापायौं हामीले। मेरो लागि उल्लेरीको उकालो उक्लीनु एउटा जीत थियो। मेरो आफ्नो मनमाथिको जीत। मलाई यस्तै लाग्यो।

घोरेपानिको होम्रो यात्रा एउटा पसलमा आफैंले लगेको दालमोट चिउरा खाएपछि फेरी प्रारम्भ भयो। अर्काको पसलमा बसेर आफैंले लगेको खाजा खायौं हामीले। तर चिया चाहिँ पसलकै खाएका थियौं। चुरोटपनि किनियो त्यही पसलमा। ए साँच्ची, फोनपनि गरेका थिए साथीहरुले घरतिर, त्यहि पसलको सि.डि.यम.ए फोनबाट। एक कलको रु.१० मात्र।

केहि खानुपर्दा, कुनै निर्णय गर्नपर्दा सबै साथीहरु भेला हुन्थ्यौं हामी। अघिको पसलमा जस्तै। अनि यात्राको समयमा चाहिँ दुईदेखि तीन जनाको समुहमा हिड्थ्यौं। कहिले एक्लैपनि हिडिन्थ्यो। एक्लै हिड्दापनि कहाँ एक्लै हुइन्थ्योर। मनसँग अनेक कुराहरु गर्थें म। कहि भूतकालका कुरा, केहि भबिष्यका कुरा। योजनाहरु बुनिन्थ्यो जीवनको। कहिलेकाहिँ अनायासै खित्का छुट्थ्यो कुनै रमाइलो घटना सम्झँदा अनि कहिले आफैंले गरेका गल्तीहरु सम्झँदा दु:ख लाग्थ्यो। म वरिपरिको प्रकृतिको मनोरम दृश्य, पहाड, अलिअलि देखिन थालेको हिमाल सबैले मेरो खुसीलाई अझ बढाइरहेका थिए भने मेरो जीवनका नरमाइलो घटनाहरुको असरलाई कमपनि गराइरहेका थिए। जीवन भनेको सुख र सन्तुष्टि बाड्ने एउटा मञ्न न हो। त्यहि गर्नु छ मलाईपनि। यही नै मेरो लक्ष्य हो।

हिड्दा हिड्दै अब त आफूले झोला बोकेको छु भन्ने यादपनि हराउन थाल्यो। झोला त जीउकै एउटा अभिन्न अङ्गै जस्तो भइसकेको थियो। मान्छेको जीउलाई जे गरेपनि हुनेरहेछ। काम गराए काम गर्छ, अल्छी लगाए सुतेर बस्छ। मानिसको जीउ हैन; मन, मनोबल र इच्छा महत्त्वपूर्ण हो भन्ने पाठलाई अझै प्रष्टसँग बुझ्न सहयोग गर्दै थियो घान्द्रुक पदयात्राले मलाई।

दिउँसो १:१० बजेतिर नाङ्गेथाँटी पुगें म। मसँग प्रेम र गैरब थिए। हामी नाङ्गेथाँटी पुग्दा साथीहरु सबै त्यहाँ पुगिसकेका रहेछन्। कोही १० मिनेट अगाडि त कोही १५ मिनेट अगाडि। झरनामा फोटो खिच्नलाग्दा हामीलाई केही ढिलो भएको थियो। नाङ्गेथाटीमै दिनको खाना खाने निधो भएकाले र खाना नपाकिसकेकाले हामीले नाङ्गेथाँटीमा केहीबेर बस्नुपर्ने भयो। खाना पर्खदा हाम्रो भेट केही नेपाली गाइडहरुसँग भयो। उनीहरुले बताए अनुसार घोरेपानि अब १ घण्टाको पैदल दुरिमा थियो। त्यसैले समयको चिन्ता नगरि हामी ती नेपाली गाइडसँग कुरा गर्न थाल्यौं।

नेपाली पदयात्रीहरु देख्न पाउँदा उनलाई निकै खुसी लागेको रहेछ। ‘आठ बर्षअघि गाइडको पेसा सुरुगर्दा पदयात्रामा हिड्ने नेपालीहरु विरलै भेट्टाउथें मैले तर आजकाल नेपालीहरुले पनि पदयात्राको महत्त्व बुझेछन्। पदयात्रा भनेको बरालिएर हिड्नु हैन शारिरिक र मानसिक कसरत हो’ भन्दै थिए ती गाइड। दिनको १५-२० डलर कमाउँछु भन्दैगर्दा उनले पर्यटनले धेरैलाई रोजगारी दिएको छ नेपालमा भनेर भन्न छुटाएनन्। ‘अझै नयाँ रुट र गन्तब्यहरु बनाउनुपर्छ र पर्यटकलाई आकर्षित गर्नुपर्छ’ उनले आफ्नो धारणा सुनाए। खाना पाकिसकेको थियो। हामी खाना खान थाल्यौं। ती गाइड टुरिष्ट लिएर घोरेपानि गए।

नाङ्गेथाँटीबाट तीन बजेमात्र हामी घोरेपानिका लागि रवान भयौं। घोरेपानि हाम्रो पदयात्राको रुट मध्येको सबैभन्दा उच्च ठाउँ थियो। त्यसैले हामी घोरेपानिसँग नजिकहुँदै जादा चिसो बढ्न थालेको अनुभव भइरहेको थियो। हिमालसँग संङ्गत गरेर आएको हावाले हामीलाई न्यानो लुगा लगाउन आदेश दिइरहेको थियो। हावासँग जुँगा लडाई गर्दागर्दै हामी ४:३० बजे घोरेपानि पुग्यौं।

घोरेपानीमा हामीलाई थाहाभयो विदेशीले साच्चैनै नेपालीले भन्दा धेरै पैसा खर्च गर्दारहेछन। यसको उदाहरणका लागि होटेल साकुराकी भाउजुले हामीसँग कुरा गर्दा-गर्दै आफूले चिनेको विदेशी पाहुँनालाई, हामीलाई नै विर्सेर गरेको स्वागतबाट थाहा भयो। त्यतिहुँदा पनि हामीले होटल साकुरामानै बस्ने निधो गर्यौ। अरुतिर ठाउँ खोज्न जाँदा अहिले पाएको ठाउँपनि गुम्ने डर थियो हामीलाई र थकाइपनि मज्जाले लागिसकेको थियो।

तिखेढुङ्गाजस्तै घोरेपानिमा पनि हामी खाना नखाउन्जेलसम्म कुरा गरेर बस्यौं र खाना खाएपछि सुत्न गयौं। सुत्न जाँदा करिब १० बजेको थियो होला। भोलि विहानै उठेर सूर्योदय हेर्न पुनहिल जाने कार्यक्रम थियो। त्यसैले मैले ४:०० बजेको समयसुचक आवाज मोबाइलमा लगाएको थिएँ। पदयात्राभर मोबालले संचार यन्त्रको काम नगरेपनि घडिको कामचाहिँ गरेको थियो।

तेस्रो दिन
विहानको ४:०० बजे लगाइएको समय सुचक आवाजले ब्युँझाउनु भन्दा तीन धण्टा अगाडीनै मेरो निर्दा खल्बलि सकेको थियो। रातभरी जाडो, गर्मी दुवै भइरह्यो; कहिले सिरक कम भएर त कहिले धेरै भएर। मलाई घोरेपानीमा बसेको ठाँउ अझै राम्रो लागेको थिएन। जेहेन-तेहेन ४: ५० मा म र शेखर भएर अरु साथीहरुलाई पछाडी नै छाडी सूर्योदय छुट्ला भन्ने डरले पुनहिल तिर हिडिहाल्यौ। विशेष गरेर मलाई र शेखरलाई सूर्योदय कुनैपनि हालतमा छुटाउन मन थिएन। त्यसैले अलि अल्छी गरिरहेका साथीहरुलाई छाड्नु पर्यो। रात पुरै नसकिएकाले उज्जयालो भइसकेको थिएन। हामीसँग बाटोमा चाहिने वा भनौ अध्यारोमा चाहिने बत्ति केहीपनि थिएन। तर हाम्रो यात्रा जुनको प्रकाशले सजिलो बनाइदियो। घोरेपानिमा तेसैत जाडो बढी हुने अझ तेसमापनि हामी हिमालतिरै लम्किरहेकाले होला जाडो एकदमै बढी भइरहेको थियो। जाडोले मेरा दाँतहरु बजिरहेका थिए। केही समयको उकालो चढाइपछि भने जाडो कम हुन थाल्यो, जीऊ तातेकाले। अलिमाथि पुगेपछि मानिसका हुलहरु सलबलाएको देखिन थाल्यो। सबै उकालो चढीरहेका थिए। हामी लम्किरहेको दिशाको ठ्याक्क पछाडी आकाशमा लाली लाग्न सुरु भइसकेको थियो। लाली बढ्दै जाँदा मलाई पुनहिलबाट सूर्योदय हेर्न नभ्याइने भयो जस्तो लागिरहेको थियो। पुनहिल तिरको आफ्नो वेग मैले अझै बढाएँ। झोलाहरु होटलमानै राखेर आएकाले होला मलाई उकालो चढ्न गाह्रो भएको थिएन।

पुनहिल तिरको मेरो वेग बढीनै रहेको थियो। शेखरले मलाई राम्रो साथ दिइरहेको थियो। लम्कदा लम्कदै हामी पहाडको टुप्पो पुग्यौं जहाँ करिब ४००-५०० जना पर्यटकहरु आकाशमा लाली देखिएको दिशातर्फ टाउको एकाग्र बनाएर हेरिरहेका थिए। बिश्वकै ठुलो लालीगुराँसको जंगल अनी समाजसेबी लाहुरे टेकबहादुर पुनले पुनहिलको टुप्पामै निर्माण गरी दिएको भ्यूटावर त मैले देखें तर यी सबै भन्दा महत्त्वपूण हामीले, १६ वटा हिमालले श्रृङ्खला बनाएर हामीलाई अगाडीबाट छेकिरहेको पायौं। श्रृङ्खला बनाउने हिमालहरुमा अन्नपूर्ण हिमश्रृङ्खला, धौरागिरी हिमश्रृङ्खला, नीलगिरी, हिमचुली, माछापुच्छ्रे आदी थिए। आकाशमा लाली अझै बढ्दै थियो। म घरी टावरबाट त घरी भुईंबाट लाली लागेको आकाशलाई हेरिरहेको थिएँ। यत्तिकैमा हामीले होटलमै छाडेका साथीहरुपनि आइपुगे। वातावरण अझ रमाइलो भयो। हामी नेपालले प्रकृतिबाट पाएको वरदानहरुको कुरा गर्न थाल्यौं।

मलाई कुनै हालतमा सूर्योदय नछुटोस भन्ने थियो। तर हो-हल्ला भएर, मानिस जम्मा भएर कराउँदैमा सूर्यकहाँ आउँदो रहेछ र? करिब दुई घण्टाको कुराई, त्यसमा पनि ५०-५० रुपैयाँको कालो चिया खाएपछि बल्ल सूर्यनारायणको आगमन होला जस्तो भयो। सूर्यको किरण सर्वप्रथम अन्नपूर्ण हिमालमा गएर ठोक्किएको देख्दा मलाई अलौकिक आनन्द प्राप्त भएको थियो। अलौकिक आनन्दलाई लौकिक शब्दहरुले वर्णन गर्न सकिदैन भनेर ऋषिमुनिहरुले भनेकाछन्। म पनि सक्दिन। तर म ऋषिमुनि हुनसकेको मानिसचाहिँ होइन। खाली यतिमात्र भन्छु- ‘सूर्यको किरण सेतो हिमालको शिरमा गएर ठोक्किदा स्वर्ग त्यहीँ बन्दोरहेछ’।

आफ्नो आगमनको पूर्व सूचना अन्नपूर्ण र धौरागिरीलाई पठाएका सूर्यनारायण एकछिन स्वयंनै हाम्रा सामु उपस्थित भए। सधै देखिरहेको सूर्य भएपनि आज उसको महत्त्व बेग्लै थियो।

हामीले पुनहिलमा करिब तीन घण्टा बितायौं। हिमाललाई छोएको जस्तो गरी फोटोहरु पनि खिचियो। मैले हवाईजहाजहरु आउँदै फरी एकैछिन पछि फर्केर जाँदै गरेको देखिरहेको थिएँ। सधै टाउको माथिमात्र उड्ने हवाईजहाजहरु आज पैताला भन्दा तल उडिरहेको देख्दा सुरुमा त मलाई पत्यार लागेन, मैले देखेको हवाईजहाजनै हो भनेर तर पछि साथीहरुसँग कुरा गर्दा थाहा पाएँ ‘माउण्टेन फ्लाइट’ भनेको त्यही हो।

पुनहिलबाट साकुरा होटल फर्किएर साथीहरुले खाजा, नास्ता खाएर घोरेपानिबाट घान्द्रुकको लागि हिड्दा विहानको ९:०० बजेको थियो। मलाईचाहिं खाजा खान मन नलागेकाले मैले खाजा खाइन।

पुनहिलको ‘वेस क्याम्प’ घोरेपानिबाट गुरुङ्गहिल हुँदै टाढापानिमा खाना खाएर घान्द्रुक पुग्ने हाम्रो योजना नयाँ थियो। पुरानो योजना अनुसार आज हामी टाढापानि बसेर भोलिमात्र घान्द्रुक जाने निर्णय भएको थियो। तर पैसाको कमीले गर्दा सबैजना पुरानो निर्णय बदल्न राजी भएका थियौं।

झरना, खोला, अग्ला पहाड, फेदी, देउराली, स्वच्छ हावा सबैको सङ्गत र सत्सङ्ग गर्दै हामी पदयात्रामा निरन्तर अघि बढीरहेका थियौं। घान्द्रुक पुग्ने उत्साहले यात्रालाई सरल र सरस बनाइरहेको थियो। मलाई जीवन झन धेरै रमाइलो, झन धेरै उत्साहपूर्ण लागिरहेको थियो। जीवनका लक्ष्यहरुलाई पनि पदयात्राको दैनिक गन्तब्य जस्तै स्पष्ट देख्न थालेको थिएँ मैले। अब फेरी जोस-जाँगरका साथ आफ्नो लक्ष्यको बाटोमा निरन्तर पाइला चाल्ने बाचा आफैंसँग गरे मैले।

घोरेपानिबाट देउराली, बानथाँटी हुँदै हामी टाढापानि पुग्दा दिउँसोको १:३० बजेको थियो। पूर्व योजना अनुसार हामी टाढापानिमा खाना खाँदै थियौं। सस्तो खानाको खोजमा एउटा कमसल देखिने दोकानमा खाना खाने निधो गर्यौं। बाहिरी आवरणमा दोकान कमसल भएपनि दोकाने दिदिको मन कमसल थिएन। दोकानको आवरण कमसल भएकाले होला दोकाने दिदिले खाना खाने ग्राहकको अपेक्षानै गर्नुभएको रहेनछ। भात, दाल, तरकारी सबैनै पकाउनु पर्यो। टाढापानिमा हामि ३:२० बज्दासम्म खाना खाइरहेका थियौं। खाना खाइसक्ने वित्तिकै म र प्रेम घान्द्रुक पुग्न ढिलो भयोभने कोठा नपाइने डरले घान्द्रुक हिंडिहाल्यौं।

टाढापानिबाट घान्द्रुकको दुरी तीन घण्टाको पैदल यात्रा हो। तर हामी एक घण्टा पैंतिस मिनेटमा नै घान्द्रुक पुगेका थियौं। ओरालो बाटो सुरु भएर होला हामीलाई घान्द्रुक पुग्न आधा समय कम लागेको। फेरी समयमा नै घान्द्रुक नपुगे कोठा नपाइने डर पनि थियो जसले हामीलाई निरन्तर चाडो हिडायो। घान्द्रुक पुगेर खाने, बस्ने सबै निधो गरेपछी बल्ल हामीले घान्द्रुकको बनोटमा आँखा डुलायौं। मलाई घान्द्रुक भनेको गुरुङ्गहरुको बसोबास भएको प्राचीनतम गाउँ हो भन्ने मात्र थाहा थियो। जे भएपनि घान्द्रुक घुम्ने कामलाई भोलीको पोल्टामा छाडि म र प्रेम चिया खान थाल्यौं। बिस्तारै साथीहरु आइपुग्न थाले। हामीले छानेको होटल बाटो छेउमानै परेकाले साथीहरुले अलमलिनु परेन हाम्रो खोजीमा।

रात पर्दै जाँदा हामी सवै, आगो बालेर, आगोको वरिपरी बसेर यात्राको बारेमा कुरा गर्न थाल्यौं। मलाई ‘मानिस र खोला दुवै सहर पुगेर मात्र प्रदुषित हुन्छ कि क्या हो?’ भनेर प्रश्न सोध्न मनलागेको थियो तर सोधिन। सबैलाई यात्राले भरपुर आन्नद प्रदान गरेको प्रतिकृया आयो। केही क्षण गौरबको कोकिल कण्ठका गीतहरु सुनेर खाना खायौं हामीले। निरन्तर ८ घण्टाको यात्राले थकाएपनि पदयात्राको प्रमुख गन्तब्य आइपुग्दा म उत्साहित थिएँ। कतिलाई भोलि पोखरा पुग्ने कुराले पनि उत्साहित बनाएको थियो होला। जे भएपनि पदयात्रा सफल हुन सकेकोमा हामी सवै खुसी भयौं र सुत्न आ-आफ्नो कोठा तर्फ लाग्यौं।

चौथो दिन
बिहान मेरो आँखा खुल्दा साथीहरु हल्ला गरिरहेका थिए। हल्ला किन भएको रहेछ भनेर बाहिर निक्लदा लम्जुङ हिमाल, माछापुछ्रे, गङ्गापूर्ण, हिमचुली, अन्नपूर्ण हिमालहरु होटल अगाडि नै हाँसिरहेको देखेँ। हिमाललाई आफ्नो त्यति नजिक मैले पहिला कहिलेपनि देखेको थिइन। जता हेर्यो त्यतै लोभलाग्दो रमाईलो। समुद्र सतहदेखि एक हजार नौ सयको उचाइमा रहेको कास्कीको घान्द्रुक गाउँ वास्तवमै एउटा स्वर्गको टुक्रा जस्तै रहेछ। पर्यटनलाई नेपालको आर्थिक विकाशको मेरुदण्ड बनाउन सकिन्छ भन्ने त सुनेको थिएँ तर किन भनेका रहेछन भन्ने कुरा मलाई घान्द्रुक पदयात्राले प्रष्टसँग बुझाइदियो।

आज घान्द्रुकबाट पोखरा पुग्ने निर्णय भएको थियो। सोही निर्णय अनुसार हामीले विहानको खाजा, नास्ता खाएर करिब ११:३० बजेतिर घान्द्रुक घुम्दै नयाँपुल जाने यात्रा प्रारम्भ गर्यौं। भाङ्ग्रा लगाएका गरुङ्गहरु कमै देखिए घान्द्रुकमा। पदयात्राको अन्तिम दिन थियो आज। बाटामा पर्ने गुरुङ्ग संग्राहलय र विभिन्न किसिमका पुराना घरहरु हेर्दै हामी ओरालो झर्न थाल्यौं नयाँपुलतिर। घान्द्रुक उकालोबाट मोदी पारिको लान्द्रुक गाउँका घर-गोठहरू हरियो चौरमा थुप्रेर बसेका च्याङ्ग्राको बथान जस्तो लाग्थ्यो। घान्द्रुकलाई मनमा सजाउँदै पोखरालाई गन्तब्य मानेर म फटाफट नयाँपुलतिर लम्किरहेको थिएँ।……………
साभारः समकालिन साहित्य