दुईवटा टाउको भएको शिशु जन्मियो

दैलेख, पुस १२- दैलेखको भैरीकालिकाथुम गाविस-९ दाहाचौर निवासी ३७ वर्षीया विष्णुकला नेपालीले आइतबार दुईवटा टाउको भएको नवजात शिशुको जन्म दिएकी छन् । प्रसव व्यथा लागेपछि गाउँको बालेकाँडा उपस्वास्थ्य चौकी लैजाँदै गर्दा बाटोमा दिउँसो ३ बजेतिर जन्मेको नवजात शिशुको दुईवटै टाउकोमा आँखा रहेको स्थानीय बखत खत्रीले जानकारी दिए ।

बाइस वर्षअघि देउराम नेपालीसँग विवाह बन्धनमा बाँधिएकी विष्णुकलाले चार छोरा र एक छोरीपछि यसपटक जन्म दिएकी नवजात शिशु छोरी हो । दुईवटा टाउको भएको शिशुको जन्म भएको सुनेपछि सुत्केरीलाई घरमै भेट्न गएकी स्वयंसेविका कृष्ण खत्रीले आमा र शिशुको स्वास्थ्य सामान्य रहेको बताइन् । सुत्केरीलाई अहिले आफ्नै घरमा राखिएको छ। रासस

विश्वकै ठूलो "शिला"

- सन्तोष थापा
विश्वकै ठूलो शिला अवलोकन गर्न आउने पर्यटकको घुइँचो लाग्ने गरेको छ । सुन्दर मनोरम दृश्य भएको पर्वतको शालिग्राम गाविसमा पर्ने शिला अवलोकन गर्न दैनिक १ हजारको संख्यामा पर्यटक आउने गरेको स्थानीयबासी बताउँछन् ।

धौलागिरि, लुम्बिनी र गण्डकी तीनै अञ्चलका पर्वत, स्याङ्जा र गुल्मी जिल्लाका सिमानामा रहेको छ शिला । धार्मिक दृष्टिले पनि उत्तिकै महत्त्वको मानिने भएकाले स्वदेशी तथा विदेशी पर्यटक शालिग्राम पुग्ने गर्छन् ।

हिन्दू धर्मअनुसार शिलालाई भगवान विष्णुका रूपमा पुज्ने गरिन्छ । शालिग्रामको शिला दर्शन गरेर 'भाकल' गरे मनोकामना पूरा हुने जनविश्वास छ । शिलाको पूजा गरेको र भाकल गर्नेका तस्बिर खिच्न विदेशी लालायित हुन्छन् ।

अनलाईन साहित्यिक हाजिरी जवाफ प्रतियोगिताको तॆस्रो भाग सार्वजनिक

अंक ३
साउदी अरेवियाले संयुक्त रुपमा यो प्रतियोगिताको आयोजना गरेको हो । विश्वमा छरिएर रहेका नेपालीहरुलाई नयां ज्ञान र वुद्धिको श्रृजना हुन अति नै सहयोगी हुने देखिन्छ यो प्रतियोगिता । अझै भन्ने हो भने सम्बन्धित क्षेत्रका युवा वर्गहरुलाई बौद्विक विकासमा केही सानो-तिनो सहयोग पनि यस प्रतियोगिताले दिलाउने हामीले अपेक्षा राखेका छौं ।

यस प्रतियोगितामा भाग लिनको लागि निम्न नियमहरु पालना गर्नुपर्नेछ ।
1, विनेसाम/अनेसासका केन्द्रिय बोर्ड साउदी अरेवियाका सदस्यहरु र सल्लाहकार बोर्डका सदस्यहरुले यस प्रतियोगितामा भाग लिन पाउने छैन ।
2, विश्वमा रहेको नेपालीहरुले जहांबाट पनि यस प्रतियोगितामा भाग लिन पाउने छ ।
3, सबै भन्दा बढी प्रश्नहरुको जवाफ मिलाउने प्रतियोगिलाई क्वीज मास्टर अफ द मन्थ घोषण गरिने छ र प्रत्येक महिनामा नगद रु १००१ र प्रशंसा पत्र पाउने छ । यो पुरस्कार विनेसामको केन्द्रिय कार्यालय नेपालबाट प्रत्येक बर्ष एक समारोह विच हस्तान्तरण गरिने छ । अंक बराबरी भएमा निर्णायक मण्डलद्वारा गोलाप्रथाबाट प्रथम घोषणा गरिने छ ।
4, लगातार ३ पटक सम्म क्वीज मास्टर अफ द मन्थ भएमा क्वीज मास्टर अफ द इयर छानिने छ जसको लागि नगद रु ५००१ र प्रशंसा पत्र प्रदान गरिने छ ।
5, प्रश्नहरु जम्मा २५ ओटा प्रत्येक महिनाको १० गते भित्र सोधिने छ । जसको जवाफ हरेक महिनाको २५ गते भित्र विनेसामको ईमेल gfnlksa@gmail.com मार्फत प्राप्त भएकोलाई समाबेस गरिने छ ।
6,महिनाको उत्कृष्ट प्रतियोगीको नाम पछिल्लो प्रश्न सोध्ने क्रममा उल्लेख गरिने छ ।
7, प्रत्येक अंकमा प्रायोजकहरुको नाम लेखिने छ ।
8, बर्षको एक पटक संकलन गरि सबै रेर्कडहरु समाबेस गरि एक संकलन पुस्तक निकालिने छ । उक्त प्रकाशनमा पनि प्रत्येक प्रायोजकहरुको नाम फोटो सहित प्रकाशन गरिने छ । स्मरण रहोस प्रायोजन गर्ने संघ-संस्था/व्यक्तिले ३ महिना बराबरको प्रायोजन गर्न अनिवार्य छ तर सह प्रायोजनको लागी न्युनतम एक महिनाको लागि प्रायोजन गर्न अनिवार्य छ । प्रायोजन गर्न चाहनु हुने संघ-संगठन तथा ब्यक्तिहरुले विनेसामको ईमेल ठेगाना gfnlksa@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ ।

भाग ३ का प्रश्नहरुः
१, नेपालकी अनुराधा कोईरालालाई सीएनएन हिरो २०१० कहिले घोषणा गरेको थियो ?
२, प्रत्येक वर्ष राष्ट्रपतिको निर्वाचन हुने देश कुन हो ?
३, विश्वको सर्वोच्च शिखर सगरमाथा कुन गाउं विकास समितिमा पछ ?
४, अमेरिकाकै पृष्ठभूमिमा अमेरिकामा नै बनेको प्रथम नेपाली चलचित्रको नाम के हो ?
५, नेपाल टेलिभिजनको प्रथम परीक्षण प्रसारण कहिले भएको थियो ?
६, १८३१-१९५७ सम्मको निबन्धलाई कुन कालको निबन्ध भनिन्छ ?
७, विश्वमा सबैभन्दा विषालु माकुरो कुन हो ?
८, पहिलो मदन पुरस्कार प्राप्त गर्ने महिला साहित्यकार पारिजात हुन भने उनको कुन कृतिले कहिले उक्त पुरस्कार प्राप्त गर् यो ?
९, नेपालको ईतिहासमा पहिलो पटक जनसरकारको घोषणा कहिले र कहां भएको थियो?
१०, सरल नेपाली यूनिकोड कि बोर्ड बेसमा भस्रन ४.० कहिलेबाट रिलीज भएको हो ?
११, बुद्ध दर्शन अनुसार मानिसले पालन गर्नु पर्ने पांच शीलहरु के के हुन ?
१२, दोस्रो विश्व युद्व कति बर्ष सम्म भएको थियो र कति साल देखी कति साल सम्म?
१३, प्रश्न यो छ की उत्तर के हो ?
१४, विश्वमा सबै भन्दा बढी बोलीने भाषा कुन हो ?
१५, नेपालमा प्रचलित प्रसिद्ध कौडा नाच कुन जातिसंग सम्बन्धित छ ?
१६, चार्ली च्याम्पियन कस्ता कलाकार थिए ?
१७, विश्वको सबैभन्दा ठूलो तेल खानी कुन देशमा पर्छ ?
१८, संसारको सबै भन्दा पातलो वस्तु के लाई मानिन्छ ?
१९, विश्व एड्स दिवस कहिले मनाईन्छ ?
२०, सबै भन्दा कम वर्षा हुने नेपालको जिल्ला कुन हो ?
२१, साउदी अरबको राष्ट्रिय खेल चेस हो भने इण्डोनेशियाको राष्ट्रिय खेल कुन हो ?
२२, संयुक्त राष्ट्रसंघलाई अर्को के नामले पनि चिनिन्छ ?
२३, विश्वमा बढी धान उत्पादन गर्ने देश कुन हो ?
२४, रेडियो जन गणतन्त्र नेपालको स्थापना कहिले भएको हो ?
२५, यूरोपेली संघमा सबै भन्दा सानो राष्ट्र कुन हो ?
---------------------------------------------------------
आयोजकहरुः
विश्व नेपाली साहित्य महासंघ
साउदी अरेविया शाखा
अन्तराष्ट्रिय नेपाली साहित्य समाज
साउदी अरेविया च्याप्टर
---------------------------------------------------------
भाग २ मा सोधिएका प्रश्नहरुको जवाफहरु:
१ वेकन
२ ई
३ Love
४ मुकुन्द इन्दिरा
५ मेगेसेसे पुरस्कार फिलिपिन्स
६ झ्यालोलोङ्गमा
७ लिबिया
८ हरेक बर्ष अक्टोबर १० तारिख
९ सूर्य बहादुर थापा पाँच पटक
१० हुलाक घर
११ भगवान गणेश
१२ कालिदास
१३ अफि्रकाको क्यामरुन
१४ ४ बर्ष सम्म १९१४-१९१८
१५ सन १९७६मा
१६ सन २०१० नोभेम्बर १३ तारिख उनी म्यानमारकी हुन ।
१७ महिला साहित्यकारहरुको ।
१८ बाबुछिरी शेर्पा
१९ मुस्लिम
२० रुपन्देही
२१ पहिलो
२२ माध्यमिक कालको
२३ बिजय
२४ २२ जेष्ठ २०५८
२५ दोस्रो राष्ट्रिय सम्मेलनबाट ।

यस साहित्यीक हाजिरी जवाफ प्रतियोगिता भाग २ मा २१ अंक ल्याएर एल एन खनाल पोखराबाट प्रथम हुनुभएको छ वहांलाई बधाई छ । सम्पूर्ण सहभागी र प्रयासरत अन्य पाठक र यस कार्यक्रम सफल बनाउनलाई आ-आफ्नो ठाँउबाट प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पुर्ण महानुभाबहरु प्रति कृतज्ञता प्रकट गर्दछौं आगामी दिनहरुमा पनि यस्तै निरन्तर सहयोग र सहभागीताको अपेक्षा गर्दछौं ।
श्रोतः हाजिरी जवाफ प्रतियोगिता समुह

पाँच मुक्तकहरु

- विष्णु बैकुण्ठे

१.
टाउको टे‌की ढाड भाँच्न जनतालाई थर्काईदैछ ।
नागरिक हितको नाउँमा उसैलाई तर्साईदैछ ॥
स्वर्ग लाग्ने थुम्का-थुम्का लुक्ने ठाउँ बनाई
देवता बस्ने ढुङ्गा आज तालुमाथि बर्साईंदैछ ।।

२.
सरकार मौन हिंसा बढ्दा, देख्ने चाल नभएपछि
बम, गोला-बारुद गोली छेक्ने ढाल नभएपछि
भाइ भाइ युद्ध गर्दा यो मन दुखेपनि
जानै पर्यो दूरदेशमा बाँच्ने हाल नभएपछि

३.
सँगै जीउने आशाबाट चुक्न नपरोस्
बाध्यताको संघारभित्र लुक्न नपरोस्!!
कहाँ जान्छ्यौ मछली मेरै ढडिया
घर आउने बाटो तिम्रो ढुक्न नपरोस् ।

४.
आफू पछारिदा ईश्वरलाई गाली किन ?
सफाई नगर्ने भए बगैंचामा माली किन ?
केराको बोक्रा जहींतहीं खाएर फ्याँकेपछि
लड्छौ चिप्लिएर सधै चढ्छौ उकाली किन ?

५.
भविश्य सुन्दर देख्दा चिड्चिडाउने धेरै हुन्छन्
तिम्रै बन्छु भन्दै यहाँ घिड्घिडाउने धेरै हुन्छन्
सिंगान पुछ्ने भन्दै उल्टै नाक काटी दिएपछि..
न्याय माग्न ढोकाहरु खिड्खिडाउने धेरै हुन्छन्

ह्याकर

-मनोज बोहरा
सूर्यको प्रकास सिधा बन्दुकमा परेकाले होला, अचम्मैले चम्किए झैँ देख्दैछु। यसमा कम्प्युटर चिप जोड्नु पर्ने हुनाले बन्दुक खोलें, त्यसमा भएको ट्रिगर निकालेर फाल्दिएँ। मोटरबाट निस्केको तार कम्प्युटर चिपमा जोडिदिएँ। मोटर घुम्दा अंकुसे सँगसँगै ट्रिगरमाथि रहेको स्प्रिङ्ग तानियोस् र बन्दुक पड्कियोस् भनेर एउटा पातलो फलामको अंकुसेको एक भाग त्यस सानो मोटरमा र अर्को भाग उक्त ट्रिगरमाथि रहेको स्प्रिङमा जोडें।

त्यहाँ अझै एउटा समस्या देखिन्थ्यो, त्यो के भने कम्प्युटर चिपलाई इन्टरनेट कनेक्सन तथा मोटरलाई बिजुलीको सप्लाई दिन बाँकी थियो। त्यस बन्दुकभित्र रहेको चिपमा र मोटरमा बिजुलीको सप्लाई दिनको लागि युएसबी केवलमार्फत् व्यवस्था मिलाएँ। उक्त बन्दुकको लेन्स भएको भागमा वेब क्यामरा जोडेँ। यसरी युएसबी केवल (डाटा केवल) मार्फत् बन्दुकमा (कम्प्युटर चिप, वेबक्यामेरा) इन्टरनेट कनेक्सन दिनको लागि मोबाइलमा जोडें।

C++ मा तयार गरेको प्रोग्राम रन गरेँ जसले बन्दुकभित्र रहेको मोटर चलाउन मद्दत गर्दथ्यो र बन्दुक पड्किन्थ्यो। त्यस प्रोग्रामले इन्टरनेट कनेक्सन खोज्यो। इन्टरनेट कनेक्सन इनेबल गरी मोबाइलको Ip Address राखी डिभाइस (बन्दुक) सर्च गरें। त्यो डिभाइस मेरो ल्यापटपमा देखियो। ल्यापटमा देखिएको Fire बटन क्लिक गरें। मेरो प्रयोगशाला नै थर्किने गरी बन्दुकले आवाज दियो। (त्यस बन्दुकमा इन्टेरनेट कनेक्सनले जोडेपछि, संसारको अर्को कुनामा रहेको ल्यापटपबाट उक्त बन्दुक चलाउन सकिन्थ्यो)

भित्रबाट रक्षा दौडिदै आइन्। (यिनी अहिलेको नाम चलेको इन्टेरियर डिजाइनर्स हुन्। यिनको काठमाडौंमा डेकोरेशनको ठूलो व्यवसाय छ।)

“अविनाश, तिम्रो खुसीको मुस्कान देख्दा त सफल भयौ जस्तो लाग्छ नि ?” कानै नजिकै आएर फुस्फुसाइन्।

“ठीक भन्यौ, म यो दिनको वर्षौदेखि पर्खाइमा थिएँ। बरु भन तिमीले यो बन्दुक लुकाउनको लागि मिल्दो टेबल बनायौ त ? ”

“टेबल बनिसकेको छ। यो टेबल त्यस घरको ठिक सोफाको सामुन्ने भित्ताको आड दिएर राख्‍ने विचार गरेकी छु।”

“राम्रो विचार, टेबलभित्र बन्दुक राखेर भित्ता कै आडदिएर राख्नु। हैन भने यो पड्किँदाको समयमा आड पाएन भने निशाना चुक्न सक्छ। गोली निस्कने भागको ठीक अगाडिको टेबलको भागमा प्वाल पार्न लगाउन नबिर्सनु नि, बाँकी तिमी बुझ्ने नै छ्यौ।”

“त्यति पनि आफैले बुझ्न नसक्ने, त्यत्तिसम्म बुद्धु छु होला त ?” दुवै आँखी भौं एकै ठाउँमा खुम्चाइन्। अनि आखाँको नानी दायाँ बायाँ हल्लाउँदै मतिर प्रश्न तेर्साइन्।

“धेरै काम सक्नु पर्नेछ आज मैले। म जान्छु पनि।” (मलाई हात हल्लाउँदै रक्षा त्यो बन्दुक तथा सम्पूर्ण उपकरण बोकेर कारतिर लागिन्)
_********************************_
मोबाइलबाट बच्चा खित्का छोडेर हाँसेको स्वर सुनियो। ल, कसैले फोन गरेजस्तो छ। मोबाइल हेरें। रक्षाले फोन गरेकी रहिछन्।

“हेल्लो”
“त्यस व्यक्तिको घरको डेकोरेशन सकियो, टार्गेट चेक गर्नुभए हुन्छ।” रक्षाले जवाफ दिइन्
“थ्याङ्कस अ लट डिएर”

यत्तिका तयारी गरे पनि एउटा तयारी गर्न भुले झैँ लाग्यो- आइपी हाइड गर्नु। आजै काम सक्नु पर्ने बाध्यताले आइपी हाइड गर्न सम्भव होला जस्तो लागेन। तैपनि हाइड गर्नको लागि अमेरिकाबाट सञ्चालन गरिएको प्रोक्सी सर्भर प्रयोग गर्ने निधो गरें, जसले नेपालमै भए पनि कसैले खोज अनुसन्धान गरे भने पनि आइपी अमेरिकाको देखाउने छ। कम्युटरमा त्यस प्रोक्सी सर्भरको एड्रेस टाइप गरें। प्रोक्सी सर्भरमा एड्रेसबार देखियो। त्यस एड्रेसबारमा www………..com टाइप गरें। साइट खुल्यो।

Fire Program क्लिक गरें
Enter your Password ल्यापटपमा म्यासेज देखियो।
Password टाइप गरी इन्टर थिचें। प्रोग्राम खुल्यो।
टार्गेट मेनु क्लिक गरी – वेबक्याममा क्लिक गरें।
Target Found कम्युटरमा म्यासेज देखियो।

ल्यापटपभित्र वेवक्यामको तस्विर हेर्ने भागमा हेरें। एक मोटे सोफामा बसिरहेको देखियो। गोली कता लाग्छ भनी त्यस वेबक्याममा देखिएको तस्बिलाई ठूलो (जुम) गरें। निसाना ठीक टाउकोमा लाग्ने रहेछ। इन्टर थिचें। स्क्रिनमा Fire बटन र अलि दायाँपट्टी Cancel बटन देखियो।

अलिकति पनि समय खेर नफाल्दै Fire बटन क्लिक गरें। वेब क्याममा केही देखिएन। केही क्षण पश्चात् ल्यापटपको वेबक्याममा त्यस मोटे रगताम्य भई सोफामा लडेको देखियो।
_*****************************_
आँखा खुल्यो, वरपर प्रहरी विभागका विशेष व्यक्तिहरु रहेछन्। भर्खरै देखेका कुराहरु त अपराधी पत्ता लगाउनको लागि हिप्नोटाइज विभागका प्रहरीहरुद्वारा हिप्नोटाइज पो गरेका रहेछन्। सम्पूर्ण कुराहरु उनीहरुले थाहा पाइसकेको हुनाले, मेरो अपराध प्रमाणित भैसकेको थियो, मैले झुक्याउने कुनै ठाउँ नै थिएन।

प्रधानमन्त्रीलाई किन गोली चलाउनु भयो ? के रिसइबी थियो तपाईँको सम्माननीय प्रधानमन्त्रीज्यूसँग ?

तपाईलाई साथ दिने साथीहरु अरु को-को छन् त ? एक प्रहरीले प्रश्न राख्यो।

मलाई त्यो मोटेलाई गोली चलाएकोसम्म त थाहा छ प्रधानमन्त्रीलाई गोली चलाएको बारेमा केही थाहा थिएन। चुप बसें। केही क्षणको सन्नाटालाई चिर्दै अर्को प्रहरीले प्रश्न गर्‍यो।

यो विशेष किसिमको सैन्य तालिम कहाँबाट सिक्नु भयो ?
उनीहरुले हिप्नोटाइज गरेर उकेलिएको शब्दभन्दा एक शब्द भन्दा बढी केही कुराहरु पनि याद थिएन। मुख बन्दै राख्नु भन्दा अरु विकल्प ममा केही बाँकी थिएन।

यो राजनिटिक हट्या भन्ने प्रमाणित भे र पेठ्याउँछ। ओह इन्स्पेक्ट्र साप- एक प्रहरीले जवाफ दियो।
शक्ति र सम्पतिको लोभमा तपाईले गलत बाटो रोज्नु भयो अविनाशजी। इन्स्पेक्टरले रवाफिलो स्वरले दुवै हात हल्लाउँदै धम्क्यायो।

गन्तव्यमा पुग्न कुन बाटो ठिक कुन गलत भनेर अल्मलिएमा त गन्तव्य खित्का छोडेर हास्नेछ साब।

शक्ति सम्पत्तिको लोभमा अपराधको बाटो समाउनु व्यर्थ छ। अपराधको बाटो सुरुमा जस्तै मखमली देखिए पनि आखिर यस्को गन्तव्य भनेको जेलको चिसो छिंडीसम्म मात्र हो अविनाशजी। नत्र तपाईं जस्तो मास्टर माइन्ड मेरो अगाडि निरीह देखिंदैन थियो होला।
_****************************_

लगातार वर्षाको पानीले होला, त्रिशुलीको ठाडो खोला उर्लेर अझै बढी डरलाग्दो भएको देखिन्छ। छेउका किनाराहरु खेतीयोग्य जमिन बगाउँदै यो मेरै क्षेत्र हो भनी हुँकार छोड्दै निरन्तर बगिरहेको प्रतित हुन्छ। बीचमा रहेको राजमार्गमा अन्त्यहीन गन्तव्यमा पुग्नको लागि बसमा सवार यात्रुहरु एकपछि अर्को निरन्तर दौडिरहे झै देखिन्छ।

लुक्नको निम्ति आड लिएको रुखको पातबाट तप्प पानी चुहियो। चिसोले आँगै सिरिङ्ग भयो। रुखमा बसेका चराहरु चिर्र, चिर्र च्यार्र, उँक, उँक गरि कराउँदै कहिले उड्दै कहिले रुखको डालीमा बस्न लागे। चराहरुले पात हल्लाएर, पातमा रहेको पानीले मलाई निथ्रुक्कै भिजाए। अगाडि रहेको सिस्नुको झ्याङ्ग आँखाले छिचोल्दै राजमार्गमा निहाल्दै थिएँ। दुई जना प्रहरीहरु भ्यान तेर्स्याएर यताउता हेर्दै मलाई खोज्दै रहेछन्।

“अविनाश यहाँ भन्दा अगाडि भाग्नै सक्दैन। यहाँभन्दा अगाडिका सबै नाकाहरु बन्द छन्।” एक प्रहरीले आफ्नो साथीलाई आशय व्यक्त गर्‍यो।

“अब यो जंगलमा कहाँ खोज्ने यसलाई। साँझ पर्न लाग्यो। फेरि मुसलधारे पानी पर्ला जस्तो छ। फर्कने हो कि ?” अर्को प्रहरीले मोवाइल हातमा खेलाउँदै आफ्नो आशय व्यक्त गर्‍यो।

अब यिनीहरु फर्कनेछन् भनी ढुक्क पर्न लागें। तर ती प्रहरीहरु म भएतिरै पो आइरहेका छन् त। उनीहरु बिग्रेर बसेको ग्यासको टयाङ्करको नजिकै पो आइ पुगिसकेका रहेछन्।
खल्तीबाट मोबाइल झिकें, त्यस मोबाइल हातमा खेलाउने प्रहरीलाई मोबाइल वेबको लिंक म्यासेज पठाएँ।

“लौ मलाई म्यासेज आएछ ” हातमा मोबाइल खेलाउने प्रहरीले आफ्नो साथीलाई भन्दै हातको इसाराले रोकिन लगायो।

त्यस लिंकमा थिच्नासाथ एक किसिमको भाइरस डाउनलोड हुन्थ्यो जसले अनावश्यक रुपमा विभिन्न प्रोग्राम रन गरेर त्यसभित्र रहेको व्याट्रीको इन्टरनल सर्किट तताउने गर्थ्यो। त्यस अवस्थामा कसैको फोन रिसिभ गरे मोबाइल पड्किन्थ्यो।

डाउनलोड हुन सकिएछ। तिनीहरु अगाडि बढ्न लागे। त्यसै बखत मैले त्यस प्रहरीको मोबाइल नं. डायल गरेँ। मोबाइल रिसिभ गर्दै गर्दैन।

अब नजिकै रहेको ग्यासको ट्रकमै जोडिन झैँ आइपुगे। त्यहाँबाट म लुकेको रुख केही टाढा टाढा मात्र थियो उनीहरुले राम्ररी नियालेमा मलाई राम्ररी देख्न सक्थे। डरले मेरो मुटु ढुक-ढुक हुन लाग्यो। चिसोले होला खोकी लाग्ला झैँ भयो, आफ्नो घाँटी आफैले अट्ठ्याए। फेरि त्यस प्रहरीको मोबाइल नं. डायल गरें। यस पाला त्यस प्रहरीले मोबाइल रिसिभ गर्‍यो। “हेल्लो” मात्र के भनेको थियो। मोबाइल ड्वाङग् गरी पड्कियो संगै “मरेँ नि” प्रहरीको चित्कार पनि। त्यसरी पड्केको मोबाइलले नजिकै रहेको ग्यासको ट्याङ्करमा आगो सल्कियो। टयाङ्करबाट ठूला ठूला लप्काहरु निस्केर ती प्रहरीहरुलाई बेरिरहेको देखें।

“गुहार….. मरेँ नि…..बचाउनुस्…………आत्था, मरेँ नि…….आम्मा…..ए..आम्मा मरेँ नि….बचाउनुस्” विस्तार विस्तार उनीहरुको आवाज सून्यमा विलिन हुँदै जाँदै थियो।

लौ खतरा टल्यो। म राजमार्गमा निस्किएँ।
पछाडिबाट कसैले रिवल्वरबाट फाइरिङ गरेको आवाज सुनियो।

मैले आफ्नो स्थिरता गुमाएँ। छेउमा रहेको त्रिशुली नदीको छेउमा रहेको बुटा समात्न खोज्दै थिएँ तर असफल। मेरो नाक र छाती त्रिशुली नदीको पानीमा बजारिन पुग्यो। नाकबाट, मुखबाट हुलुक्क….हुलुक्क गर्दै पानी मेरो घाँटीतिर छिर्दै थियो।
_*********************************_
एक जोडी वृद्धवृद्धा गुन-गुनाएको आवाज टड्कारै सुनिंदैछ। आ…… बिस्कुन नसुकेर हो कि मिल चलाउन नजानेर हो। सबै चामल कुड्कै कुड्कै बनाइदियो। वृद्धा बोलिन।

समय पनि त्यस्तै छ नि। रुन नजानेको पिन्चे जस्तो। घरी घाम लाग्छ, घरी स्यारारा झरी पर्छ। धन्न यत्तिको भए पनि भएछ। यसरी झरी परेकै परै भयो भने भोक-भोकै पो परिन्छ होला। वृद्धले जवाफ दिए।

पछाडि करेसोमा रायो बीऊ छरेको थिएँ। यो झरीले कुहिन्छ पो होला- वृद्धा बोलिन्। पल्लाघरे साइँलाको त्यो माउ पोथी साखा सन्तान नै बोकेर सँधै यतै झर्छ। खोस्रेको खोस्रेकै। त्यो ज्यामाराजले पो केही बाँकी रहन नदिने भो। झरीले भन्दा नि त्यो पोथीले पो खाइसक्यो होला। बृद्ध बोले।

अलि दिन विचार गर्नु पर्छ उम्रेन भनि खन्दिनु पर्छ। बरु बार बार्दिने पो हो कि कुखुराले दिक्कै पार्‍यो। वृद्धाले आफ्नो आशय व्यक्त गरे।

अँ….वृद्धाले केही सम्झे झैं गरी बोलिन्।
त्रिसुली खोलाँ माझीहरुले भेटेर ल्याएका ति बाबुलाई होस आउला जस्तो भाछ।
हो र — हषिर्त स्वरमा बृद्धले प्रश्न राखे।

पातली छोरी भा भए अलि चाँडै निको हुन्थे कि बरा…..। त्यसको पनि यतिबेलै डाक्टरको परीक्षा रे। गोली निकालेर त्यसलाई पनि यति बेलै काठमाडौँ लाग्नु पर्ने। हिजो मैले तेल घस्दिदा चोरी औंला हल्लाएका थिए। खुसी बृद्धाको स्वरमा प्रष्टै छचल्किरहेको थियो। हे ईश्वर बरा त्यो बाबुलाई चाँडै निको गर्दे- आकाश तिर फर्किँदै इश्वर पुकार्न लागिन्। १५ दिन भैसक्यो इन्तु न चिन्तु। सद्धे हो कि लाश पत्तो पाउन सक्या छैन।

यो बाबुको आँखा त काट्टीकुटी हाम्रै छोराको जस्तो छ नि- ती वृद्धाले आफ्नो छोरालाई स्मरण गरिन्।

केही बेर सन्नाटा छायो।

बृद्धले खुइए गर्दै लामो श्वास ताने। आफ्नो छोरा सम्झिए। आ….. त्यो पनि अम्रिकै भासियो। अब त फर्किन्छ होला भनी दिन गन्दागन्दै डाँडा माथिका घाम भैसक्यो। त्यसको अत्तो पत्तो छैन। याँ भए…. घर खेत गरेर खान्थ्यो कि। पर्देशमा…………. खै…….. के गरेर बस्छ होला।

हत्याको योजना र त्यस मोटे अर्थात् प्रहरीको भाषामा भन्नुपर्दा प्रधानमन्त्रीको हत्या भन्दा अरु कुनै पनि कुरा मलाई स्मरण नै छैन। म आफ्नो विगत सम्झन खोज्छु। त्यस घट्ना भन्दा अघिका दिनहरु याद गर्ने कोशिस गर्छु सबै कोशिस व्यर्थ। सम्झना केवल सून्यता मात्र। मेरो मानसपटलमा मेरो बारेमा बताइदिनसक्ने एकमात्र व्यक्ति बाँकी रहेकी थिइन “रक्षा”। फेरि उनी कहाँ बस्छिन्, त्यसको बारेमा म पूर्ण रुपमा अनभिज्ञ नै छु। मेरो उद्देश्य केवल रक्षालाई खोज्नु मात्र बाँकी रहेको थियो। आफूलाई पहिचान गर्ने त्यसभन्दा अरु विकल्प औंसीको रात झै अँध्यारो देखिन्थ्यो।

कसैको न्यानो हातको स्पर्श मेरो निधारमा पर्‍यो। म झसंग झस्किए। मलाई सेवा गर्ने वृद्धा रहिछन्।

“बाबुलाई कस्तो छ त अहिले” बनावटी मुस्कुराहट ओठमा ल्याउन खोज्दै बृद्धाले प्रश्न गरिन्।
“अलि निको छु आमा” मैले खोक्दै उत्तर दिएँ।

मैले बोलेको आमा शब्दले बृद्धालाई अलि प्रभावित पारे जस्तो लाग्यो। आँखाबाट निस्किन लागेको आँसु बाहिर निस्किन नदिइकन आँखा भित्रै सुकाइन्।

“बाबुलाई खोकी लागे जस्तो छ। म बेसार पानी र बोजेको झोल बनाएर ल्याइदिन्छु। बस्दै गर्नुस है” बृद्धा जुरुक्क उठिन् सारीको सप्को मिलाएर भान्छा घरतिर लागिन्। म पनि बृद्धाको पछि लागें।

वृद्धाले दुबै हात एक अर्कामा हिर्काएर थपडी बजाइन्। भान्छा घरको बिजुली बत्ति बल्यो। एक क्षण त अलमल्लमा परें तर छेउको भित्तामा राखेको भ्वाइस रिकोग्नाइजेसन बक्स देखेपछि बल्ल बुझें थपडी बजाएपछि त्यो भ्वाइस बक्सले थपडीको आवाज पहिचान गरी घरको बिजुली बत्ति बल्ने गर्दो रहेछ।

बाबु हाम्रो छोरा ठ्याक्कै तपाईँ कै उमेर कै भयो – ऐले अम्रिकामा छ। काट्टीकुटी तपाई जस्तै देखिन्छ। तर बाबु फर्कने होश त्यसलाई कहिल्यै भएन। बृद्धाले मेरो आवाजले पहिचान गरिछन् सायद। पछाडि नफर्की कुरा सुरु गरिन्।

कुराकानी त फोनबाट हुँदो हो नि आमा, मैले जिज्ञासा राखें।

पहिले पहिले महिना महिना दिनमा फुन गर्ने गर्थ्र्यो। कम्पुटरमा चिठी नि पठाउँथ्यो। पैसा नि मनग्य पठायो। तर अहिले हामीलाई बिर्से जस्तो छ। उतैको नागरिकता लिने रे भनेर पल्लाघरे साइँलोलाई भन्थ्यो अरे। वर्षदिन जति भयो। न चिठी न फुन पत्तोफाँट छैन बाबु- बृद्धाले उत्तर दिइन्।

“हुर्केको छोरालाई घरमै बाँधेर राख्नु हुन्न आमा, बेलाँ-बेलाँ पैसा पठाएकै रहेछन्, फोन पनि गरिरहेका रहेछन्, यो वर्ष ढिला भयो र त के भयो र समय मिले त फोन गर्लान् नि।”

“आ…… बाबु हामी त डाँडा माथिका घाम, विरामी पर्दा तातो पानी ख्वाउने मान्छे पनि हुन्न। त्यतिखेर यत्रो बडो घर दौडेर टोक्न आए झै लाग्छ। के गर्नु बाबु पैसाले, यसलाई सिरानी हाली सुतेर न रोग निको हुने रहेछ। न भोक नलाग्ने हुने रहेछ। झर्न लागेको आँसु सारीको एक छेउले पुच्छ्दै लामो स्वास तानिन। अब त….त्यसको अनुहार पनि देख्न नपाई मर्छौँ झैँ लाग्न थालिसक्यो।”

सन्नाटा…..

बृद्धाले केही सम्झे झैँ गरिन्।
ग्यासमाथिको दराजभित्रको सानो प्लास्टिकको भाँडोबाट एउटा कम्प्युटर चिप निकालेर दिइन्- बाबु यो तिम्रो शरीरमा गाडिएको अवस्थामा भेटिएको भन्दै थिई छोरी पातलीले।

आमा हजुरको घरमा कम्प्युटर छ ? हातमा कम्प्युटर चिप लिंदै मैले प्रश्न गरें।
हामी त कम्पुटर चलाउन त जान्दैनौ बाबु तर बेलाँ बेलाँ त्यही पातलीले चलाउँथी, पल्लो कोठामा छ।
हो र आमा।
म पूर्वतिरको कोठातर्फ लागें।
कम्प्युटरमा त्यस कम्प्युटर चिप जोडें। कम्प्युटरले इन्टरनेट कनेक्सन माग्यो। ओके बटन क्लिक गरें।
इन्टर योर पासवर्ड।
कम्प्युटरले पासवर्ड खोज्यो। मलाई कुनै पासवर्ड याद नै थिएन।
त्यसैले पासवर्ड क्र्याक गर्न घन्टौँ मिहिनेत गर्नु पर्‍यो। अन्तमा सफल भएँ।

त्यहाँ रक्षाको बारेमा सम्पूर्ण जानकारी राखिएको रहेछ। त्यो जानकारी नोट गरें। अरु पनि जानकारी केही पाइन्छ कि भनेर यता उता क्लिक गरी हेर्दै थिएँ, कम्प्युटर ह्याङ्ग भयो।

एक्कासी बाहिरबाट घरभित्र राइफलबाट गोलीको वर्षा हुन लाग्यो। बृद्धबृद्धाको चित्कार सुनियो। म झटपट भान्छा घरतर्फ लागें। बृद्धा छटपटाइ रहेकी थिइन्। मलाई देख्नासाथ सिथिल भइन्।

आफ्नै अगाडि बृद्धाको मृत्यु देखेर मेरो मन भक्कानी रहेको थियो। कसेर कराउँ कि टाउको भितामा ठोक्काउँ। के गरौं के गरौं मैले सोच्नै सकिरहेको थिएन। मन त्यसै एक तमासको भैरहेको थियो। पूरै शरीर रिसले थर्रर कामी रहेको थियो। आफन्तको मृत्युले मानिसलाई कतिसम्म चोट पुर्‍याउँछ भनेर बल्ल त्यसबेला मलाई चेतना भयो।

ती हत्याराहरुसँग बदला नलिइनछोड्ने दृढ अठोट लिएँ। बृद्धाको लाशबाट उनको मोबाइल झिकें। दुवै हात पड्काएर मोबाइलमा रेकर्ड गरी त्यो रेकर्ड मोबाइलको रिङ्गटोन बनाएँ। ग्यासको पाइप काटेर रेगुलेटर पूरै खोलें। ग्याँस पूरै कोठामा भरियो। घरको बिजुली बन्द गरी त्यस मोबाइल भ्वाइस रिकोग्नाइजेसन बक्सको सामुन्ने राखी नजिकैको झ्याङमा गएर लुकेँ।

ती हत्याराहरु घरभित्र जाँदै गरेको देखिंदै थियो। एक हुल प्रहरी पनि त्यस घरभित्र जाँदै गरेको देखियो।

मैले भ्वाइस रिकोग्नाइजेसन बक्स नजिकै राखिएको मोबाइलको नं. आफ्नो मोबाइलबाट डायल गरें।

केही क्षणपछि त्यो क्षेत्र पूरै थर्कायमान हुने गरी सिलिन्डर विस्फोट भयो। पूरै घर सिसा झैँ चकनाचुर भयो। त्यहाँभित्र रहेका हत्यारा तथा पुलिस सबै देख्दादेख्दै एकै चिहान भए।

मैले यिनीहरुले मेरो बारेमा पाएको जानकारीको बारेमा अनभिज्ञ थिएँ। सायद मेरो शरीरमा पाइएको चीप, जसमा रक्षाको जानकारी थियो। मैले कम्प्युटरमा लगाउनासाथ मेरो आइपी ट्रयाकिङ्ग गरिएको हुनुपर्छ।
_*****************************_
कम्प्युटर चिपबाट पाएको जानकारी अनुसार रक्षाको घर त यही हुनुपर्छ। वरिपरि पर्खाल लगाइएको बडेमानको गेट हुँदै घरको मूल द्वारसम्म पुगें। मूलद्वारको देब्रे भागको भित्तामा कुकुरदेखि सावधानको बोर्ड राखिएको रहेछ। दाहिने भागको भित्तामा बिजुली घन्टीको स्वीच। स्विच थिचें।

नसमेटिएको चिसो कपाल झाँक्रो फिजाएझै देखिने गरि रक्षा बाहिर निस्किन।
को हो ?
मेरो मनमस्तिष्कमा रहेको एकमात्र अनुहार र अति प्रिय पनि। हो, त्यही अनुहार हो यो। एक नजरमा चिन्न नसक्नु भन्नु आफ्नो महत्वपूर्ण अंग बिर्सनु झैँ थियो मेरो लागि।

उनलाई देख्नसाथ लाखौं प्रश्न मेरो मनमस्तिष्कमा उठेका कारण के भन्ने के गर्ने म अन्यौलमा थिएँ। बोल्न खोज्छु। तर शब्द निस्किरहेका थिएनन। आफूआफैभित्र उकुसमुकुस भैरहेको थिएँ। रक्षा मलाई एक टकले हेरेर टोलाइरहेकी थिइन् जसले गर्दा मलाई थप संकटमा पार्दै थिए। उनले मलाई बिर्सिसकेकी त हैनन्।

“भित्रै आउँ कि”
मेरो शब्द निस्कियो। एकै शब्द नबोली हातको इसाराले भित्र आउने इशारा गरिन्।
कोठाको ढोका बन्द गरिएको आवाज सुनियो।
अगाडि राखिएको कुर्सीमा बस्न खोज्दै थिएँ। कसैले पछाडिबाट गह्रौँ वस्तुले पिठ्युँमा जोडले हिर्कायो। मेरो हात पछाडि लगेर टन्टनी बाँधियो।

रक्षा रहिछन्।

“कुर्सीमा बस” मतिर घृणाको नजर फ्याक्दै रक्षा बोलिन्।

“के भयो र रक्षा आज तिमीलाई”
रक्षाले जवाफमा कुनै जवाफ दिन जरुरी दिन सम्झिनन्। जवाफमा २ वर्षअगाडिको पुरानो पत्रिका टेबलमा राखिन्। पत्रिकामा मोटो-मोटो अक्षरमा केही हेडिङ लेखिएको थियो।

“बेरोजगारीको कारण महिना दिनमा लाखौं युवा विदेश पलायन” यसको अलि तल अर्को हेडिङ देखियो।

“बेरोजगारीको कारण आत्महत्या” त्यसको दायाँ भागमा “अनिश्चितकालीन नेपाल बन्दको आह्वान” “उत्पादन तथा शिक्षा क्षेत्रमा भन्दा हातहतियारमा खर्च गर्ने योजना” लेखिएको रहेछ।

उत्पादन तथा शिक्षा क्षेत्रमा लगानी नगरी हातहतियारमा खर्च गरे बेरोजगारी त त्यसै बढ्छ नि। अनायासै मेरो मुखबाट शब्दहरु निस्कियो। केही समयपछि आजै प्रकाशित पत्रिका टेबलमा फ्याँकिन्।

“स्वदेशमा विभिन्न अवसरका कारण विदेशिएका युवालाई नेपाल फर्कन आह्वान”
“जापान तथा अमेरिकाका कामदारलाई भित्र्याउने तयारी”
“चन्द्रमा विभिन्न वस्तुहरुमा निहीत अक्सिजन उत्पादन गरी, पर्याप्त अक्सिजन वायुमण्डलमा कृत्रिम रुपमा राखी बसोवासयुक्त बनाउने ठेक्का नेपाल सरकारले लिएको जानकारी”

अर्को समाचार थियो। नेपालकै अर्को प्रतिष्ठत कम्पनीले चन्द्रमाको पानीको उपयोग गरी सिचाईँ व्यवस्था गरी चन्द्रमा हराभरा बनाउने जिम्मा लिएको रहेछ।”

त्यस्तै अर्को समाचार थियो।
नेपालकै प्रतिष्ठित कम्पनी मध्येको अर्को कम्पनीले स्याटेलाइटमार्फत् चन्द्रमामा बिजुली बत्ती झलमल्ल पार्ने जानकारी राखिएको रहेछ।

चकित हुँदै रक्षालाई प्रश्न गरें- “२ वर्षमा यत्तिको परिवर्तन ?, विश्वासै गर्न नसकिने”

मेरो प्रश्नको बेवास्ता गर्दै मेरो बारेमा जानकारी दिन लागिन्- “तिमी अविनास हैनौ” उनको बोलीमा चिडचिडापन थियो।

के भन्यौ फेरि भन त।
हो-हो तिमी अविनाश हैनौ- रक्षाले फेरि दोहोर्‍याइन्।
त्यसो हो भने म को हुँ त ?
तिमीलाई त्यस मोटे व्यक्तिलाई गोली हानेकोसम्म याद छ हैन त ?

म चकित थिएँ। मलाई त्यतिसम्म मात्र थाहा छ भनेर यिनले कसरी थाहा पाइन ?
आश्चर्य हुँदै “हो” भनेँ।
त्यसपश्चात् के भयो सुन्न चाहन्छौं ?
के भयो त त्यसपछि।

त्यो प्रधानमन्त्री मारिएको थिएन। उसलाई हस्पिटल लगियो। विदेशबाट आएको डाक्टरको उपचारबाट पूर्ण रुपमा ठीक गरियो। त्यसपश्चात उसको अनुहारको प्लाष्टिक सर्जरी गरी उसको अनुहार अविनाशको जस्तो र अविनाशको अनुहार त्यस मोटे व्यक्तिको जस्तो पारियो।

कम्प्युटरको सहायताले त्यस मोटे व्यक्तिको स्मरणशक्ति मेटाइयो। तत्पश्चात अविनाशको दिमागमा रहेको प्रधानमन्त्रीको हत्याको योजनादेखि गोली चलाएकोसम्मको स्मरण तिम्रो दिमागमा सारियो।

त्यसो हो भने २ वर्षअघिको प्रधानमन्त्री मै हुँ।
हो, हो तिमी नै आमेश्वरभाइ मल्ल हो। २ वर्षअघिको प्रधानमन्त्री।

थुक्क हत्यारा। तिमेरु पापी हौ। तिमेरु सिधै नर्कमा जानेछौ। मेरो रिसको पारो नाघिसकेको थियो। मेरो हात नबाँधिएको भए नाकमा पन्च हानेर धुलो चटाउँथे हुँला। तर दाँत बजाउनु सिवाय म के नै गर्न सक्थें र ?

पापी को हो ? एक हत्यारा कि हजारौं हत्यारा जन्माउन तयार पारिएको वातावरण ? दोषी को हो ? त्यस वातावरणबाट या समाजबाट तयार पारिएका हत्यारा कि त्यस्तो किसिमको वातावरण बनाउने व्यक्ति ?

मानिस त केवल ४-५ लिटर रगत हाड-मासु र खकारको त पुत्ला हो नि। हैन र ? त्यसभन्दा बढी मानिसको शरीरमा अरु केही छ भने कहिल्यै नमर्ने कपाल मात्र। त्यस रगत मासुको पुत्ला के आफै हत्यारा बन्यो होला त ? पक्कै पनि हैन त्यसले जस्तो वातावरण पाउँछ त्यो पुत्ला त्यस्तै बन्दै जान्छ। यस्तो किसिमको वातावरण बन्न नदिने जिम्मा कस्को ? के यो जिम्मेवारी राष्ट्र प्रमुखको हैन र ? मूर्ख केटीले तर्क प्रस्तुत गरी।

त्यस बेलाको वातावरणले हत्यारा जन्माउँथ्यो भन्ने तँसँग के प्रमाण छ त।
“सबभन्दा ठूलो प्रमाण तिमी आफै हौ” मूर्ख बोली।

अविनाशको आफ्नो स्मरण मात्र तिम्रो दिमागमा सरेको थिएन, त्यस बीचका सम्पूर्ण अविनासले पाएको वातावरण पनि स्मरणको रुपमा तिम्रो दिमागमा सरेको थियो। त्यस वातावरणले गर्दा तिमी कस्तो निच हत्यारा बन्यौ। तिमीले बिर्सियौ तिमीले कति निर्दोषलाई मार्‍यौ। कति प्रहरीलाई मार्‍यौं। अब भन दोषी को हो त ? तिमी कि अविनाश ?

खुल्ला आकासलाई कालो बादलले ड्याम्म ढाके झैँ भयो। मेरा वरीपरी निष्पट्ट अँध्यारो भए झैँ लागिरहेको थियो। तैपनि मानिस हुँ आफूलाई गलत भन्न सक्दिनथें। किनकि दोषी त सधैं अरु नै हुन्छन्, दोषी “म” कहिल्यै भएको छैन, भएको देखेको पनि छैन र हुने पनि छैन।
Source: Mysansar

पारसको मुरलीको बिछट्टको धुन

- खगेन्द्र संग्रौला
केही साताअघि राजधानीको चाबेलमा चन्द्रविनायक-भैरवनाथ जात्राको धुमधाम थियो । चाबेल भेगमा उमङ्ग थियो, रौनक थियो र गति थियो । रैथाने बाजागाजा, खटयात्रा, धुनी जगाइ र भोजमा चाबेल मस्त भयो । जात्राका कर्ताहरूले यसलाई संस्कृतिको जगेर्ना, पितृहरूको सम्झना, अनिष्टहरूको विनाश र समुदायको भावनात्मक ऐक्य भन्ने सङ्ज्ञा दिएका थिए । तर जात्राको बीचमा एउटा अनर्थ भयो । 'युवराजाधिराज' भनेर पारस शाहलाई निम्त्याइयो र गणतन्त्रको खिल्ली उडाइयो । राजसी शैलीमा रातो कार्पेटमा पारसको सवारी चलाइयो र चाबेलको शिर निहुराइयो । यसबारे यसै दैनिकमा मैले एउटा सानो टिप्पणी लेखेँ ।

मेरो भन्नु थियो- तन्नेरी कुममाथि बूढा टाउका भएका जीवात्हरूले लज्जास्पद दासता प्रदर्शन गरे । र तिनले स्वतन्त्रता र स्वाभिमानप्रेमी चाबेलको अनुहारमा कलङ्क लगाए । लेख पढेर केही युवा मकहाँ आए । तिनले गुनासो गरे- हामी पत्रु पारसपथका पथिक किमार्थ होइनौँ । हामी त जात्राको मूल समितिका पो हौँ । पारसको पूजाअर्चना गरेको चारुमती युवा परिवारले हो । रैथाने युवाहरूको चित्त दुखेको देखेर मेरो पनि चित्त दुख्यो । लेखमा मैले सिङ्गै चाबेललाई पारसमार्गी भनेको थिइन । तर त्यस्तो बुझिएछ । नखाएको विष लाग्दैन । कालो खानेले पो कालो हग्छ, नखानेले किन हग्छ ? चाबेलका बेकसुर युवाहरूले त्रुटि सच्याइपाऊँ भनी मसँग आग्रह गरे । र मैले तीसँग सविनय माफी मागेँ । पारस शाहका चरणमा शिर राखेर निजी लाभ र मोक्षको याचना गर्ने वृद्ध युवाहरू चाबेलमा कति नै पो होलान् र !

'म सुट गर्न गइरहेको छु' -पारस शाह

- रुबेल चौधरी
हामी शनिबार साँझ साढे ७ बजेतिर डिनर खाने ठाउँमा गएका थियौं। हाम्रा नानीहरूलाई सुत्न जानुअघि नै डिनर ख्वाउन चाहन्थ्यौं। होटल र डिनर खाने ठाउँ अलग-अलग थियो। हामीले हाम्रो परिवारलाई आगोको नजिकै राखेर खाना मगायौं। पारस शाह ८ बजेतिर त्यहाँ आउनुभयो। मसँग गएका दुई जना साथीले उहाँसँग परिचय गराए। उनीहरू नै पहिले उहाँसँग गएर बोले। म अर्को कुनामा परिवारका साथ डिनर टेबुलमा थिएँ, मैले यसअघि चिनेको पनि थिइँन। त्यसपछि मेरा साथीहरूले उनी भएको टेबुलमा बोलाएपछि म गएँ र हात मिलाएँ। त्यसपछि हामीले डिनर खायौं। डिनरपछि मेरी श्रीमती र मेरा दुई साथीकी श्रीमती आगोको छेऊमा बसिरहेका थिए।

हामी भने अर्को टेबुलमा प्रकृतिविदहरूसहित छलफल गरेर बसेका थियौं। एकजना प्रकृतिविद लण्डनबाट आएका हुनाले त्यहीको बारेमा कुराकानी गरिरहेका थियौं। मेरी श्रीमती र नानीहरूले आफ्नो कोठामा जान चाहे। यसभन्दा अगाडि पारस झण्डै १० पटक भित्रबाहिर गरिरहनु भएको थियो, सायद वाथरुमतिर आउने जाने गरिरहनु भएको थियो।

पारस आएर हामीसँगै बस्नुभयो। उहाँले एक बोतल ह्वीस्की ल्याएर सबैलाई हाल्न थाल्नुभयो। मैले घाँटी दुखिरहेको र यात्रा गरिरहेको हुनाले लिन्न भनें। म आफूले हटलेमन लिइरहेको थिएँ। उहाँले तिमीले लिनै पर्छ भनेपछि मैले 'तपाईँले भने पनि म नाइ भन्न सक्दिन राखिदिनोस्' भने। यसभन्दा पहिले म मेरी श्रीमती र बच्चालाई हेरेर आउँछु भनें। किनभने उनीहरूले त्यहाँबाट निस्केर जंगल हुँदै सुत्ने ठाउँमा माथि पुग्नु पर्थ्यों। उहाँले 'ओके ओके' भन्नुभयो। उहाँको ब्रदर इन्ल त्यही हुनुहुन्यो। अरु पनि थिए। कुरा गर्दै हुनुहुन्थ्यो। सेनाको मान्छे पनि त्यही थिए।

मेरो परिवार र साथीको परिवार हेरेर फर्कें। हाम्रा श्रीमानहरू पनि त्यहाँ बसिरहेका छन्, उनीहरू मात्न सक्छन्। भोलि हाम्रो हात्ती चढ्नेलगायतका गतिविधि कार्यक्रम भएकोले उनीहरूलाई समयमै ल्याउन समेत उनीहरूले मलाई भने। मैले गएर उनीहरूलाई ल्याउछु भनें। म पुग्नुभन्दा अघि पारसले सबैलाई भन्दै हुनुहुँदो रहेछ, 'मैले तिम्रो साथीलाई ड्रिङ राखिदिए ऊ भने छोडेर गयो।'

म भलादमीपाराले फर्केर गएपछि उहाँ ठीकठाक हुनुहुन्थ्यो। त्यसपछि उहाँले नेपालको बारेमा कुराकानी गर्न थाल्नुभयो। उहाँले सोध्नुभयो, तपाईलाई नेपाल कस्तो लाग्छ? मैले भने, 'मलाई यहाँको मौसम र जनता अत्यन्तै राम्रा लाग्छन्।' उहाँले यहाँको राजनीति कस्तो लाग्छ? भन्नुभयो। मैले भने, 'म राजनीतिक परिवारबाट पनि आएको हुन सक्छु। तर, म राजनीतिबारे जानकार छैन। म लण्डनमा हुर्किएँ। त्यसपछि म यहाँ फकिएँ। म यहाँ प्रेम भएको हुनाले आएँ। म यहाँ सामाजिकरुपमा घुलमेल गर्छु। मेरा यहाँ साथीहरूमात्र छन्।'

त्यसपछि उहाँले भन्नुभयो, 'राजतन्त्र हटाएर गिरिजाबाबुले गल्ती गर्नु भयो भन्ने तपाईंलाई लाग्दैन?' मैले भने यो पूर्णतः राजनीतिक प्रश्न हो। मेरो यसबारेमा कुनै समझ छैन। मैले यो बुझ्नुपर्ने कारण पनि केही छैन। हरेक कुराको आफ्नै कारण होला। यसमा मलाई केही थाहा छैन। उहाँको राजनीतिको पनि आफ्नै कारण होला। तर मलाई यसमा उदृत नगर्नुहोला।'

फेरि उहाँले सोध्नुभयो, 'हामीले कसरी अघि बढ्नुपर्छ होला भन्ने लाग्छ?' मैले भनें, 'तपाईंले सबैलाई साथमा लिएर हिड्नुपर्छ। तपाईं विभिन्न ठाउँमा पुगिरहनु भएको छ, धेरैलाई चिन्नुहुन्छ, ती सबैलाई साथ लिएर अघि बढ्नुपर्छ।'

'आर्थिक विकास अत्यावश्यक छ भन्ने तपाईंलाई लाग्दैन?' उहाँले सोध्नुभयो। 'यो अत्यावश्यक छ, यसका लागि सामुहिक रुपमा अघि बढ्नुपर्छ। होइन भने अहिलेकै स्थिति रहन्छ,' मैले भनें। त्यसपछि उहाँले भन्नुभयो, 'तपाईं साँच्चै राम्रो परामर्शदाता हुनुहुँदो रहेछ। तपाईंले मेरो जिन्दगीभर परामर्श दिनुपर्छ। मैले तपाईंलाई यसअघि कहिल्यै चिनेको थिइँन्।'

त्यसपछि उहाँले मलाई अंकमाल गर्नुभयो। यस्तो भयो कि हामी धेरै वर्षदेखि एकअर्कालाई चिन्छौं र। मेरा साथीहरूले उहाँलाई आठ वर्षदेखि चिनेका थिएँ। उनीहरू पनि अचम्ममा थिएँ। उनीहरू एकजना नेपाली र अर्का भारतीय हुन्। एकजना कुमारी बैंकका निर्देशक सान्तु श्रेष्ठ र अर्का सारिक लारी हुन्। उहाँको ब्रदर इन्लले समेत हामीले तपाईंको बारेमा धेरै सुनेका थियौं भन्दै राम्रो व्यक्तित्व र राम्रोसँग कुरा गर्ने व्यक्तिका रुपमा मेरो प्रशंसा गर्नुभयो।

हामीले यो वा त्यो धेरै कुराकानी गर्‍यौं। त्यसपछि उहाँले एकाएक भन्नुभयो, 'लौ बाघको शिकार गर्न जाऔं। मैले भने, 'बाघको शिकार, हुन्न दुई तीन वटा बाघ त छन्।' त्यसपछि मैले भनें, 'माफ गर्नुहोला, म धेरै थाकेको छु।'

हामीले एक अर्कालाई ब्रदर (भाइ)को रुपमा संवोधन गरिरहेका छौं। उहाँले मलाई ब्रदर भन्नुभयो, मैले उहाँलाई ब्रदर भनिरहेको छु। सर वा अरु केही भनेको छैन। आज म धेरै थाकेको छु, भोलि दिनभरि केटाकेटीहरूसँग गर्नुपर्ने धेरै गतिविधि छन्। बरु हामी भोलि भेटौंला र जाऔंला।'

मजाकको रुपमा केही भन्दा ठीकै थियौं। उहाँले आधा बोतलजस्तो ह्वीस्की पिइसक्नु भएको थियो। उहाँले फेरि भन्नुभयो, 'तिमीहरूले मसँग आउनै पर्छ। रमाइलो पाराले खुसीखुसी यस्तो कुरा भइरहेको थियो। 'अरे भाइ किन चिन्ता गर्नुहुन्छ हामी जाऔंला,' रमाइलोसँग मैले यसो भनिरहेको थिएँ।

त्यसपछि उहाँ आफ्नो ब्रदर इन्लसँग कुरा गर्न थाल्नुभयो। केही कुरा गर्नुपर्ने भन्दै उनलाई पारसले शौचालयतिर लानुभयो। उहाँ त्यहाँबाट फर्केर आउँदा उहाँको अनुहार अँध्यारो, आँखा राता थिए। पूरै परिवर्तित भएका थिए। उहा पिइरहनु पनि भएको थियो। उहाँले भन्नुभयो, 'तिमीहरूले मसँग आउनै पर्छ, तिमीहरूसँग कुनै विकल्प छैन।'

मैले भनें, 'अरे यो कस्तो दबाब हो? म थाकेको छु। मेरा साथीहरू थाकेका छन्। हामी गएर सुत्न चाहन्छौं।' उहाँ फेरि बाहिर जानुभयो। कुराकानी गर्नुभयो र आउनुभयो। बारमा गएर फेरि पिउनुभयो। आएर फेरि भन्नुभयो, 'तिमी तीन जनासँग कुनै विकल्प छैन। तिमीहरूलाई आज राति केही पनि भयो भने मलाई दोष नलगाउनू।'

यो पनि सामान्य ठट्टाजस्तै थियो। फेरि बारमा ड्रिङ्कको लागि जानुभयो। त्यसको पाँच दश मिनेट पनि हामी लण्डन र अरु विषयमा कुराकानी गरिहेका थियौं। हामी अझै पनि मित्रवत्स्थितिमै थियौं। त्यसपछि आफ्ना दुई हात ज्याकेटको गोजीमा राखेर क्लिक क्लिक पार्न थाल्नुभयो। म गोली नभएको बन्दुकको आवाज चिन्छु। मलाई थाहा थियो, उहाँसँग बन्दुक छ भन्ने। त्यसपछि मलाई लाग्यो किन उहाँ मलाई जंगलमा लैजान चाहनु हुन्छ।

मलाई जंगलमा लिएर जाने, त्यसपछि एउटा निहुँ पारेर सिध्याउने। पूरै समय उहाँले कुनैनकुनै रुपमा मलाई उत्तेजित गराउन चाहनु भएको रहेछ। उहाँले मलाई केही नराम्रो भन्ने, मैले उहाँलाई ठेस पुर्‍याउने गरी बोलोस् भन्ने चाहनु भएको रहेछ। मैले केही भनेको भए मसँग झगडा गर्ने कुनै कारण हुने थियो। तर मैले केही भनिरहेको थिइँन्। म मित्रवत् रहेको थिएँ। त्यही भएर उहाँ गोजीमा राखेको बन्दुक क्लिक क्लिक पार्दै चलाइरहनु भएको छ।

'तिमीहरूसँग कुनै विकल्प छैन, मेरा मान्छेहरूले बाहिर पर्खिरहेका छन्। म यहाँ छु। तिमीहरू मसँग आउनुमै कल्याण छ।' यति भनेर उहाँ बाहिर निस्कनु भयो। उहाँ बारमा गएर नदेखिने गरी पेस्तोल लोड गर्नुभयो वा के गर्नुभयो मलाई थाहा छैन। उहाँ टेबुलमुनि केही गरिरहनु भएको थियो। होटलका जेनरल म्यानेजर त्यही थिए। हामी अझै कुरा गरिरहेका छौं। उहाँ फेरि आउनुभयो। यो अन्तिम पटक थियो। 'तिमीहरूसँग कुनै विकल्प छैन, खास गरी तिम्रो। मसँग जंगल नजाने हो भने मारिनेछौं। तिमीहरूलाई कसैले फेला पार्ने छैनन्। तिमीलाई सिध्याएपछि तिम्री श्रीमती र बच्चालाई पनि सिध्याउँछु।'

पहिले पारसका बारेमा मैले केही थाहा पाएको थिइन्। अहिले उहाँले मेरो जन्म मिति थाहा पाइसक्नु भएको थियो। उहाँलाई मेरो सबै कुरा थाहा थियो। उहाँले मलाई सोध्नु भएको थियो, 'गिरिजाप्रसाद कोइरालाकी नातिनीलाई बिहा गर्नुको पछाडि तपाईंको पक्कै पनि कुनै आधार हुनुपर्छ, तिम्रो आधारभूमि के हो? मेरो आधारभूमि छ। म पूर्वयुवराज हुँ। तिम्रो आधारभूमि के हो?'

मैले भने, 'मेरो कुनै पृष्ठभूमि छैन। म साधारण मानिस हुँ, जो प्रेममा पर्‍यो र बिबाह गर्‍यो। मेरो बुवा र मलाई बंगलादेशका प्रधानमन्त्रीदेखि प्रमुख राजनीतिक नेताले चिन्छन्। तैपनि मैले यसलाई उल्लेख गरिँन। मैले यो भनिन् अन्यथा उहाँलाई लघुताभाष हुने थियो। उहाँले मलाई उत्तेजित पार्न गरेका सबै प्रयासलाई मैले रोकिरहेको थिएँ। त्यसपछि उहाँ अरु दिक्क हुनुभयो। किनभने उहाँले मलाई उत्तेजित तुल्याउन सक्नु भएन। उहाँ के गर्ने र कसो गर्ने स्थितिमा पुग्नुभयो। यतिबेलासम्ममा उहाँले एक बोतल ह्वीस्की सकिसक्नु भएको थियो।

उहाँ फेरि बन्दुक लिएर आउनुभयो। बन्दुकको नोजल टेबुलमा ठोक्नुभयो। उहाँको गोजीमा दुईवटा रिभोल्बर थिए। 'यु आर डेड। यु आर द बास्टर्ड हु ह्याज फिनिस्ड होल मोनार्की सिन्स यु ह्याभ अराइभ्ड दिस कन्ट्री। योर फेमिली इज द बिगेस्ट बास्टर्ड।' उहाँले यी सबै गाली गिरिजाप्रसाद कोइरालालाई पनि दिनुभयो। 'तिमीहरूका कारण हामी यो स्थितिमा छौं,' उहाँले भन्नुभयो। मैले कृपया शान्त हुनुहोस्, बसौं भनें। उहाँले टेबुलमा रिभोल्भरको टुप्पोले ब्यांग ब्यांग हानिरहनुभयो। फेरि उनी अघि बढ्न लाग्दा उनको ब्रदर इन्लले रोक्न कोसिस गरे।

सुरुमा हिमानी हुनुहुन्थ्यो। पछि उहाँहरूले छोडेर जानुभयो। आफ्ना गार्डसँग केहीबेर फुसुरफुसुर गरेर फेरि उहाँ आउनुभयो। 'मैले तिम्रो श्रीमती र छोरालाई ल्याउन आदेश दिइसके। तिमीहरूलाई लाइन लगाएर मार्दिन्छु,' उहाँले भन्नुभयो। त्यसपछि उहाँले बन्दुक दाहिने हातले लिएर ताक्नुभयो। मैले भनें, 'भाइ, तपाईं किन यसरी एग्रेसिभ हुनुभएको? कृपया शान्त हुनुहोस्। तपाईंलाई के भयो?' उहाँ सम्झनसक्ने अवस्थामा हुनुहुन्नथ्यो।

'मैले तपाईंलाई केही नराम्रो भनें?' मैले उहाँलाई सोधें। त्यसपछि उहाँले पेस्तोल मेरो निधारमा राख्नुभयो र भन्नुभयो, 'म सुट गर्न गइरहेको छु। कसैले एक शब्द भन्न सक्ने छैनन्, यो मेरो एरिया हो।' त्यसपछि म काप्न थालें। हामीसँग आफूलाई संरक्षण गर्ने कुनै हतियार थिएन। म सामान्य नागरिक हुँ। म आफूलाई सुरक्षाका लागि बन्दुक चाहिन्छ भन्ने पनि लागेन। उहाँको कुनै सेन्स थिएन। सेन्स नभएको व्यक्तिले केही गर्दिनासाथ म त मारिने भएँ।

उहाँले भन्नुभयो, 'तिमीले राजतन्त्रको सम्मान गर्नुपर्छ।' 'म गर्छु,' मैले भनें, 'मैले तपाईंको पनि सम्मान गरिरहेको छु।' त्यसपछि उहाँको ब्रदर इन्लले उहाँलाई तान्नुभयो। के गर्न लाग्नुभएको? उहाँ राम्रो मान्छे हो भन्दै उहाँले पारसलाई तान्नुभयो। बिचरा, उहाँलाई धकेलिदिनुभयो। त्यो बेलामा म कापिरहेको थिएँ। मैले उहाँको बन्दुक खोसेर सुट गरौं भने पनि उहाँका सुरक्षाकर्मीले मलाई सुट गर्छन्। म के गर्ने भन्नेमा अल्झिएँ । त्यसपछि डाइनिङहलबाट बाहिर निस्केर उहाँले एक राउण्ड गोली चलाउनुभयो। जनरल म्यानेजर, मेरा दुई साथी मसँगै कापिरहेका थिए। उनीहरूले रुबेल भाग भनेपछि भान्छाको पछाडिको ढोकाबाट भागें। मलाई जनरल म्यानेजर कोर्टयार्डमा लिएर गए। त्यो बेला मेरो दिमागले हजारौं कुरा सोचिरहेको थियो। यो जनरल म्यानेर पनि उसैसँग मिलेको छ कि?  म कोठाबाट बाहिर गएर झाडीमा लुकें। उनीहरूले मेरो परिवारलाई आक्रमण गर्छन् भन्ने लाग्यो। मैले होटलमा आवाज र ढोकामा ड्याम्म हानेको सुनिरहेको थिएँ। ठूलो आवाज सुनिरहेको थिएँ। उनी लजमा गए होलान् भन्ने लाग्यो।

उहाँले सबैलाई मार्नुभयो भन्ने थियो। मेरो मुटु मेरो हातमा थियो। त्यहाँ के भयो भन्ने मलाई थाहा थिएन। बन्दुकजस्तो आवाज थियो, तर बन्दुक होइन। मेरो सबै सकियो भन्ने थियो। मैले दुई घण्टा भगवानको प्रार्थना गरें। मेरो हातमा बन्दुक भएको भए मैले सिध्याइदिने थिएँ, किनभने मैले तालिम पनि गरेको थिएँ। हतियार बिना मैले केही गर्न सक्ने थिइन। त्यसपछि उहाँकै दुईजना सुरक्षाकर्मी आए। उनीहरूले मलाई खोजिरहेका थिए। मैले सोचें मलाई मार्न पठाएको होला। उनीहरूले बिचारा भनेको सुनेपछि म झाडीबाट आएँ र उनीहरूलाई भेटें। मलाई आक्रमण गरे भने आक्रमण गर्नु पर्ला भनेर पछाडि लठ्ठी लुकाइरहेको थिएँ। तर, उनीहरूले त्यो देखेनन्। मैले तीन दिनदेखि यही ज्याकेट लाइरहेको छु। मैले सोधें, 'मेरी श्रीमती र छोरो मारिए?' उनीहरूले भने, 'छैन सर, हामीले यो इडियटलाई तपाईं र तपाईको परिवारलाई खोजिरहेका छौं भनेर झुक्याइरहेका छौं। तपाईं र तपाईं परिवारलाई हामीले सुरक्षा दिइरहेका छौं। त्यसपछि मैले आफूलाई थाम्नै सकिन पग्लिएँ।
---------------------------------------------------
मेरी श्रीमती, मेरो छोरा र म घटनाबाट अझै भयभित छौं। हामी विश्वास गर्छौं नेपालमा फेरि यस्तो हुने छैन जे घटना भयो, त्यो ठीक भएन। खासमा म मिस्टर पारसलाई चिन्दिन। मेरो जीवनमा उनलाई यसअघि कहिल्यै भेटेको थिइँन। जीवनमा पहिलो पटक मैले उनलाई त्यही दिन चिनेको हुँ। उनले भनेका र गरेको कुराको सबैजनालाई जानकारी छँदैछ। मैले तपाईंलाई भनेका कुरामा विश्वासन नगर्नुहोस्। कृपया तपाईंहरू गएर के ठीक हो र के बेठीक भन्ने आफैं पत्ता लगाउनुहोस्। त्यसपछि कानुनले आफ्नो बाटो लिनेछ।

यो घटना राष्ट्रियरुपमा छलफलको विषय हो। म आफ्नो परिवार, साथइका साथ दुई दिन टाइगर टप्समा रमाइलोका निम्ति गएको सामान्य नागरिक मात्र हुँ। तर, यो देशमा मेरा असंख्य साथीहरू र तपाईंहरूबाट पाएको समर्थनबाट अभिभूत भएको छु। धेरै धन्यवाद।

मलाई टाइगर टप्सबाट राम्ररी निस्कन सहयोग गर्ने श्रीमान पारसका निजी सुरक्षा गार्ड, मेरो परिवार र मेरा साथीहरूलाई समेत धन्यवाद दिन्छु। ईश्वरलाई धन्यवाद छ र धन्यवाद हामीलाई सहयोग गर्ने अन्य साथी र परिवारसमेतलाई।

हाम्रोबीचमा कुनै विवादको विषय थिएन। श्रीमान पारस केही अल्कोहल नलिएसम्म सुरुमा निकै मित्रवत हुनुहुन्थ्यो। उहाँलाई नियन्त्रण गर्न मुस्किल परेको हुन सक्छ। मैले उहाँविरुद्ध केही गरेको थिइँन। मलाई यो देशका प्रत्येक व्यक्ति तथा समाज र प्रत्येक संगठन र विश्वका सबै मुलुकप्रति सम्मान छ। म महसुस गर्छु, यो घटना अल्कोहलका कारणले भएको थियो र उहाँले विशेष गरी म, मेरा साथी, मेरी श्रीमती र मेरो साढे तीन वर्षको सानो छोरालाई मार्ने धम्की दिनुभयो। यसले म र मेरो परिवारलाई निकै भयभित तुल्यायो।

म उहाँ विरुद्ध केही छैन । उहाँ एउटा मानव हुनुहुन्छ। म आशा गर्छु उहाँ राम्रो हुनुहुनेछ र राम्रो हिसाबले सोच्नुहुनेछ।
प्रस्तुतिः गुणराज लुँइटेल (नागरिकबाट)

क्षेत्रीय शक्तिसंघर्षका दुष्परिणाम

- महेश चौरसिया
असंलग्न परराष्ट्र नीति अवलम्बन नगर्ने हो भने सामरिक शक्तिसम्पन्न राष्ट्र अमेरिका, भारत र चीनको चेपुवामा नेपाल पिल्सिने पक्का छ । दुई महिनाअघि अमेरिकी सुरक्षासँग सम्बन्धित खुफिया एजेन्सीले आतंकवादी संगठनका लागि नेपाली भूमि सुरक्षित स्थलका रूपमा रहेको दाबी गर्दै एउटा प्रतिवेदन सार्वजनिक गरेको थियो । नेपालको गृह प्रशासनले प्रतिवेदनलाई आधारहीन भनेर टिप्पणी गरे पनि त्यसको ठोस खण्डन गर्न सकेन ।

अन्तर्राष्ट्रिय अपराधीका लागि नेपाल दक्षिण एसियामा एउटा 'ट्रान्जिट प्वाइन्ट' बन्दै गएको अमेरिकी सुरक्षा प्रतिवेदनले दाबी गरेको थियो । कारण, दशकौँअघि लस्कर-ए-तोयबा सम्बद्ध आतंकवादी नेपालको अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलबाट सहारा एयरको भारतीय जहाज अपहरण गरी अफगानिस्तानको कान्दहार पुर्‍याउन सफल भएका थिए ।

त्यतिवेला नेपाली सुरक्षा निकायको व्यापक आलोचना भएको थियो । सुरक्षा दिन नसकेकोमा नेपालले विश्वसामु शिर झुकाउनु पर्‍यो । नेपालको विमानस्थलबाट भारतीय जाली नोटसहित पाकिस्तानी नागरिक र आतंकवादी संगठनका अपराधी समय-समयमा पक्राउ परिरहनुले पनि नेपालको भूमि असुरक्षित हो भन्नु गलत किमार्थ होइन ।

हेल्मेट नलाउनेलाई युवतीको फूल !

कुनै अपरिचित युवतीले मुसुक्क हाँस्दै फूलको गुच्छा दिइन् भने युवालाई के होला ? सम्भवतः उनीहरू गमक्क पर्नेछन् । तर, बाराको सिमरामा आइतबार युवतीको हातबाट फूलको गुच्छा पाउँदा युवकहरू लज्जित हुन पुगेका छन् ।

हेल्मेटविना मोटरसाइकल चलाउने युवकलाई युवतीले फूलको गुच्छा दिएका हुन् । फूल दिएर हाँस्दै 'अबदेखि हेल्मेट लगाएर मात्र मोटरसाइकल चलाउनुस् है,' भन्ने अनुरोध गरेपछि युवा लाजले पानीपानी भए । गल्ती गर्नेलाई सजाय र दण्ड-जरिवानाबाट सुधार्न सकिन्छ भन्ने मान्यताविपरीत माया र प्रेमबाट पनि राम्रो बाटोमा डोर्‍याउन सकिन्छ भन्ने अवधारणासहित नयाँ शैली अपनाइएको हो । क्लिन सोसाइटी सिमरा नेपाललले आयोजना गरेको 'हेल्मेट लगाऔँ, क्षति न्यूनीकरण गरौँ, ट्राफिक नियम पालना गरौँ' जागरण अभियानअन्तर्गत हेल्मेटविना बाइक चलाउनेलाई फूल दिइएको हो ।

हातमा गुच्छा लिएर बसेकी दृष्टि र दिप्ती रेग्मीले 'प्लिज अबदेखि हेल्मेट लगाएर बाइक चलाउनुस् है, तपाईंकै सुरक्षा हुन्छ' भन्दै नवविवाहित दम्पतीलाई फूल दिएपछि उनीहरूले आफ्नो गल्ती अनुभव गर्दै अबउप्रान्त हेल्मेट लगाएर मात्र चलाउने प्रतिबद्धता जनाए । निकै राम्रो कामको थालनी भएको भनी उनीहरूले प्रशंसासमेत गरे ।

कारबाही गर्दा पनि हेल्मेट नलगाउनेमा सोसाइटीले जागरण ल्याएको ट्राफिक प्रहरी कार्यालय सिमराका सहायक निरीक्षक सई मनोजकुमार साहीले बताए । सोमबारदेखि हेल्मेट लगाउन अझै कडाइ गरिने उनले जानकारी दिए ।

प्रहरीको बेवास्ताका कारण पथलैया-वीरगन्ज र पथलैया-हेटौंडा सडकखण्डमा अत्यधिक मात्रामा हेल्मेटविना  बाइक चलाउने गरेको पाइन्छ । आफू लोकल भएकोले हेल्मेट नलगाएको तर बहिनीहरूले फूल दिएपछि आफ्नो आँखा खुलेको सिमराका राम थापाले बताए । हेल्मेट नलगाउनेलाई मात्र होइन बाइकमा तीनजना चढेर आउनेलाई पनि अबदेखि नचढ्न आग्रह गर्दै फूलका गुच्छा दिइएको थियो ।

हेल्मेट नलगाउनेको संख्यामा अत्यधिक वृद्धि भएपछि दुर्घटना बढेकाले जागरण अभियान थालेको सोसाइटीका अध्यक्ष श्यामबाबु गुप्ताले बताए ।
- नयाँपत्रिका

घण्टौं पानीमा तैरिरहने युवक

- बिनोद त्रिपाठी
रत्ननगर, मंसिर २५ - कुनै पौडीबाज ताल वा पोखरीमा स्थिर कति तैरीरहन सक्छ ? सायद केहि मिनेट हुन सक्छ । हलचल नगरि पानीमै घण्टौ सुतिरहन भने जोकोहिलाई मुस्किल पर्ला । तर यहाँका एक युबक यसरी पानीमा स्थिर तैरिएर सबैलाई छक्क पारेका छन् ।

रत्ननगर नगरपालिका-१ का बिकर्णकुमार श्रेष्ठ पानीमा हात खुट्टा नचलाई घण्टौं स्थिर रहन सक्छन् । ठुला तालमा उनि आरामसाथ सुतेर बस्न सक्छन् । सामान्य चप्पल लगाएर उनि सिधा सुत्छन् भने चप्पल नलगाई अलि ढाडो परेर घण्टौं स्थिर रहन्छन् । सानैदेखि पौडीमा रुची राख्ने ३२ बषिर्य बिकर्णले यहांका नदि तालमा लामो दुरीसम्म पौडेर पार गर्दे आएका छन् । यहाँको टिकौली तालमा पानी माथि स्थिर सुतेर देखाउंदै उनले कान्तिपुरसँग भने, 'आनन्दपुर्बक म पानीमा जति पनि उत्रन सक्छु ।' पानीमा शरिरको कुनै भाग नचलाई उत्रन उनले आंफै अभ्यास गरेको बताए । हातका औंला, खुट्टा, टाउको र भुंडीको सन्तुलनबाट मानिस पानीमा पात झैं उत्रिरहन सक्ने उनको भनाई छ । ८२ केजी तौल भएका उनले शरिरलाई पानीमा माछाको भुरा झैं सुलुसुलु पौडिन्छन् ।

पानीमा श्वासप्रश्वास चालको भुमिका महत्वपुर्ण हुन्छ, उनि भन्छन्, 'पानीमा सुत्न, थचक्क बस्न र पौडिन श्वास लिने छोड्ने प्रक्रियाले डुब्ने उत्रने कामको निर्धारण गर्छ ।' पौडिन जति कठिन छ, त्यो भन्दा ज्यादा स्थिर पानीमा बस्न अलग्गै सिप र कला आबस्यक पर्छ । बगिररहेको पानीमा उनि सलल बगेर धेरै टाढा पुगेको उनको अनुभब छ । नारायणी नदिमा उनि १० किमी बढी तैरिएर पुग्ने गर्छन् । नदिमा पानीको गतिसंगै बग्न कुनै कठिन हुंदैन, उनले भने,'तर ताल वा पोखरीको पानीमा स्थिर रहन शरिरको सन्तुलन मिल्नुपर्छ ।'

उनि यहांका नदिमा पौडेर टाढा पुग्ने मात्र होइन, तालहरुमा दिनभर पौडिनरहन्छन् । यस्तो अदुभुत कला मैले पहिलो पटक देखें, काठमाण्डौदेखि घुम्न आएका अर्जुन देबकोटाले भने, 'छिटो तथा अनेक बिधीबाट पौडिन सक्ने ब्यक्ति सुनेको देखेको थिएं, तर पानीमा हलचल नगरि बसिरहन सक्ने पहिलो पटक देख्दैछु ।'

बिकर्णको यो कलालाई लायन्स क्लबले जुलाईमा अमेरिकामा प्रदर्शन गर्ने तयारी गरेको छ । यसका लागि रत्ननगर लायन्सबाट खर्च जुटाउने र उनको कलाबारेमा अमेरिका स्थित नेपालीहरु माझ पत्राचार गरिसकेको छ । उनि यहांको लायन्स क्लबको उपाध्यक्ष समेत हुन् । यस अघि पानीमा स्थिर उत्रिएर थाइल्याण्डमा प्रदर्शन गरिसकेका छन् । ५ दाजुभाई मध्येका माइला बिकर्णले मोटर पार्टसको ब्यबसाय गर्दे आएका छन् । सामाजिक काममा रुचि राख्ने उनले हालसम्म ३६ पटक रक्तदान समेत गरिसकेका छन् ।
साभारः इकान्तिपुर

प्रवासका स्वरहरुः ‘आगो’ कवितासङ्ग्रह

- छविरमण सिलवाल
विदेशीनु को पीडा एकातिर छँदैछ । अर्कोतिर विदेशमा यन्त्रवत जीवन जीउनुको पीडा पनि बेग्लै । तैपनि केही व्यक्तिहरुले यी सबै पीडाहरुलाई भुलेर साहित्यिक रचनाहरु मार्फत आफ्ना अभिव्यक्तिहरु पोखिरहेका छन् । दीप्स शाहले भर्खरै ‘आगो’ कवितासङ्ग्रह संगै आफ्नो कवित्व सार्वजनिक गरेकी छिन् । ‘प्रसुन’ साहित्यिक सँगालो यस अघि प्रकाशित भई सकेको थियो । उनले केही पत्रपत्रिकाहरुमा सम्पादन कार्य पनि गरिरहेकी छिन् । प्रवासबाट प्रकाशित हुने ‘मेरो नेपाल’ द्धैमासिक पत्रिकामा सह–सम्पादनको कार्य गरिरहेकी दीप्सको ‘आगो’ कवितासङ्ग्रहलाई रमेश सागरले सम्पादन गरेका छन् भने राम शाह‘राजा’ले प्रकाशन ।

साहित्यले जीवन–जगत्का गूढता संम्प्रेषण गरि समाजलाई सुमार्ग र नविन चेतनालाई धकेल्नुपर्ने धारणा पोख्दै साहित्यमा आफ्ना कलम तिर्खादै छिन दीप्स । सरल भाषामा गहन प्रस्तुति उनका कविताका विशेषताहरु हुन । तिस ओटा अत्यन्त शक्तिशाली, मार्मिक र मन छुने कविताहरु रहेका छन् ‘आगो’मा । हेरौं एउटा कविताः–

तिम्रो इसारामा लाचार भई
सकिनसकी
म नाचेकी छु
तर नबिर्सि
त्यही नचाइले
तिमीलाई ‘बचाएकी’ छु
बाँचकी छु ‘आफै’ ।
म सांप
तिमी सपेरा–
तिम्रो र मेरो फरक चिनारी ।

नारीले समाजभित्र अनेक भूमिकाहरुका उपस्थिति भएर रहनुपर्छ । घरको चुलो चौकोबाट फूर्सद निकालेर पनि साहित्यमा रमेका महिला साहित्यकारहरु निकै चर्चित रहेका छन् । समाजका भएका कुरिति विरुद्ध कलम चलाएका छन् । दीप्सका कविताहरु यसैका आवजहरु हुन । समाज भित्र रहेका विकृतीहरुका केही नमुनाहरु हुन । फरक पृष्टभूमि फरक दृष्टिकोणबाट लेखिएका यीनका कविताहरु साँच्चै पढ्न लायक नै छन् । एउटी महिलाको हात घरको चुलोचौको छोडेर विदेशी भूमिमा पसिना बहिरहेकाछन् । देश छोड्नुको पीडा त छदैछ । आफ्नो परिवारबाट पनि अलग्गै रहनुको पीडा भोग्नेलाईमात्र थाह हुन्छ । त्यही पीडाका परिणामहरु हुन दीप्सका कविताहरु हुन् । हामीलाई आगो नभैपनि हुँदैन । सदुपयोग गर्न जानेन भने सर्बनास बनाउँछ । समाज भित्र रहेका यस्ता धेरै विकृतिहरु छन् जो हामीले चाहेर पनि निमूल पार्न सक्त्तैनां त्यसले हामीलाई भित्रभित्रै सल्काई रहेछ । विस्तार विस्तारै ति कुराहरुलाई निस्तेज पार्दै लैजानु पर्छ । समाजका यीनै विकृतिविरुद्वका आवाजहरु प्रस्फुटन भएका छन् कविताको सहारा लिएर ।

मान्छेका अहम्हरु जति चुलिएपनि उसले एकदिन माटोको सहारा लिनु नै पर्छ, त्यसकारण अहंम् त्यागेर सत्मार्गमा लागौं भन्ने शास्वात सत्य कुराहरु कविताका माध्यमबाट प्रस्फुटित भएका छन् । मान्छेले जे जति गरेपनि जीवन त केवल केही दिनको पाहुना मात्र हो सबै यही छोड्नु पर्छ । यो यथार्थ हो त्यसकारण मान्छेले मान्छेका पीडाहरु बुझेर दीन दुःखीहरुको सेवामा आफूलाई सर्मर्पित गरौं भन्ने सकारात्मक सन्देशहरु प्रवाह गरिरहेका छन् दीप्सका कविताले । जीवनका यथार्थ भोगाईहरु कविताका विषय बनेका छन् । नारीप्रति गरिएका विभेदलाई कविताले उच्च स्थान दिएको छ । एउटी नारी हुनुको पीडाबोधले नै यी कविताहरु जन्मन सकेका हुन् । ढोंगी परम्परालाई त्यागेर अब सकारात्मक परम्परा बसाल्नु पर्छ भन्ने सन्देश तिमी र म होइन अब हामी बाँच्नुपर्छ भन्ने कविताले गरिरहेको छ ।

मानविय संवेदनाहरुलाई ध्यानमा राखेर लेखिएका उनका यी कविताहरुले देश प्रेमप्रति सर्मर्पित छन् । सम्पूर्ण एउटै भएपनि सिमा भञ्जनले गरिएका छेकवारहरु प्रति विमति छ कविको । आमा बन्ने चाहनामा कसैका बासनामात्र पुरा गर्न नहुने र नयाँ युग जन्माउन सक्नु पर्छ भन्ने सकारात्मक पक्ष कवितामा छताछुल्ल भएर पोखिएका छन् । नारी पात्रलाई समाजले कमजोर बनाएर पुरुषहरु नारीप्रति दयागर्ने र अझ कमजोर बनाउने संस्कार प्रति विमति छ कविको र नारीहरु पनि कम छैनन् भन्ने कुरा उनी आफै पनि हुन जो बिदेशी भूमिमा आफ्ना पौरखहरु सिञ्चित गरिरहेकी छिन् । फुर्सदको समयमा नेपाली भाषा साहित्यको श्रीबृद्विमा कार्यहरु गरिरहेकी छिन् । मान्छे आफैले आफुप्रति विश्वास गर्न सक्नुपर्छ । सकारात्मका विचारहरुलाई सम्प्रेषण गर्नूपर्छ । सम्पूर्ण मानवहरुको पीडा नै आफ्नो सम्झनु पर्छ, भात्तृत्वप्रेम जगाउँन सक्नुपर्छ भन्ने सकारात्मक सन्देशहरु दीप्सका कविताहरुले बोलिरहेका छन् । यसैगरि आगामी दिनहरुमा पनि आफ्नो उचाई कायम गर्न सकेमा दिप्सको काव्य उडान चुलिइरहने विश्वास गर्न सकिन्छ । उनको कविताको पहिलो कृति‘आगो’पनि सार्थक बन्छ ।
समकालिन साहित्यबाट

मुक्तक दोहोरी -२

आदरणीय साहित्यिक अग्रज तथा पृय साथीहरुमा साहित्यिक नमस्कार ।
9th Dec 2010 बिहिबार सीता सुबेदी प्रकृतिज्यूले उहाँको स्टाटसमा एक मुक्तक शेयर गर्नुभएको थियो । उक्त मुक्तकको प्रतिकृया दिने क्रममा मैले अनि उहाँले पुनः मुक्तकबाट नै प्रतिकृया दिनेक्रम जारी रह्यो । अनलाइनबाट यो क्रम करिब एक घन्टासम्म निरन्तर चलिरहँदा मुक्तक दोहोरी बन्न पुग्यो । जुन मुक्तक दोहोरीलाई जस्ताको तस्तै यहाँहरुसमक्ष पेश गरेको छु...

Sita Subedi 'Prakriti'
आँशु सुके नयन दुखे, तिम्लाई हेर्ने बानि छुट्छ
जति टाढा जान खोज्छौ, मायाको यो खानी फुट्छ
तिम्ले माया मलाई गर, भन्नु मेरो आफ्नै भुल
इन्कार गरे पनि प्रिय,तिम्रो लागि जवानी जुट्छ

Bishnu Baikunthe
जवानी त त्यसै गयो मलाई पर्खे नपर्खे पनि
आफ्नो मान्छे आफ्नै हुन्छ सुनपानी नछर्के पनि
सम्हालेर राख त्यो मन मैले माया गरेकै छु
तिमीमाथि इन्कार हुन्न तिमी तर्के नतर्के पनि

Sita Subedi 'Prakriti'
जवानी त आफ्नो यसै नेटो काटी गए पनि.
माया त्यसै लाग्दो रैछ तिमि घाती भए पनि.
मुखले भन्छौ माया गर्छु ठिक्क पार्न जानेकै छौ,
आखिर मलाई एक्लै छोड्यौ ठुलै छाती भए पनि.

Bishnu Baikunthe
घात गर्या छैन तिम्लाई अँटाइरा'छु छातीभित्र
टाढा भए'नि सजाइरा'छु मनमन्दिरको पातीभित्र
बाध्यतामा मुग्लान धाएँ आउँछु फर्की अर्को साल
असल मेरो माया पाउँछौ आफ्नै घरको टाटीभित्र ।

Sita Subedi 'Prakriti'
माया गर्छु भन्छौ मात्र, जाली कुरा कति जान्या ?
मनमन्दिर तिम्रै भन्ने, झ्याली कुरा कति जान्या ?
मुग्लान किन पस्यौ कुन्नि? यतै दुख गरौ भन्थे,
झुक्याउनलाई टाढै बसी, खाली कुरा कति जान्या ?

Bishnu Baikunthe
मुग्लान पस्या गरीबीले कमाउने बाटो नभएपछि
अनि छोडें घर-परिवार, रमाउने बाटो नभएपछि
झुक्याएको हैन प्रिया हृदयबाटै बोलेको छु
तिम्लाई पक्कै दुःख लाग्छ, समाउने बाटो नभएपछि

Sita Subedi 'Prakriti'
सबै कुरा भन्छौ यस्तै छक्क पार्न सिपालु छौ.
समस्या यस्तै भन्दै, मक्ख पार्न सिपालु छौ..
तिम्रो झुटो कुरा मात्र कति सुन्नु मैले अब ?
आफ्नै कुरा सहि भनि निर्धक्क पार्न सिपालु छौ

Bishnu Baikunthe
श‍ंकै शंका हुने खालका कुरा धेरै गर्छौ
यथार्थलाई नबुझेमा तिमी पछि पर्छौ
धरोधर्म ढाँट्या छैन मलाई विश्वास गर
सत्य कुरा नपत्याउँदा म नभेटी मर्छौ

Sita Subedi 'Prakriti'
शंका भन्ने सोच्यौ भने, ठुलै घात हुन्छ यहाँ
समस्या छ घरमा अझै, सम्झे खात हुन्छ यहाँ
पीरमर्का घरको सबै, मिलि पाखा लाउनु पर्छ.
बिस्वाशघाती भन्यौ भने मन आहत हुन्छ यहाँ

Bishnu Baikunthe
सही कुरा ठाउँमा आउँदा सधैं खुशी हुन्छौं
हामी उही गाऊँमा पाउँदा झनै खुशी हुन्छौं
समस्याको निराकरण दुवै मिली गर्नुपर्छ
घात पखाल्ने गीत गाउँदा अझै खुशी हुन्छौं
----------------------------------------------
विस्तृत विवरणको लागि यहाँ क्लिक गर्नुहोस्

नेपालका लेन्डुप दोर्जेहरूको आर्तनाद

imageसबैलाई थाहा भएको कुरा हो समाजवादी मुलुक सोभियत भूमिलाई नष्ट गर्न कम्मर कसेर लागेका चर्चिल र रुजवेल्टले हिटलर, मुसोलिनी र तोजाको फाँसीवादी युद्धबाट विश्वलाई बचाउन आफ्नो ठूलो शत्रु अझ कुनै वेलाका एक नम्बरका शत्रु स्टालिनसित हात मिलाएका थिए । इतिहासमा यी तीन नेता चर्चिल, रुजवेल्ट र स्टालिनलाई बिग थ्री भनिन्छ ।

यस्तो नांगो यथार्थ नबुझ्ने पाखण्डीले मात्र माओवादीले सत्ता नपाएको पीडामा भारतलाई विस्तारवादी भन्यो भन्दै गुनासो गर्छन् । आफ्नो पीडाबोध प्रकट गर्छन् । यसरी उनीहरूले आफूलाई लेन्डुप दोर्जेको स्थानमा झार्छन् । उनीहरूका निम्ति भारतीय विस्तारवादको नेपालमाथिको नांगो हस्तक्षेप पीडादायी कुरा होइन, बरु ठूलो हर्षोल्लासको कुरा हो । धन्य नेपालका संसद्वादी दलहरू ! धन्य नेपालका लेन्डेप दोर्जेहरू ! वास्तवमा भारतले यतिवेला नेपालमा सत्तामा कब्जा जमाउनु भनेको यिनै लेन्डुपेमार्फत नै हो । माओवादी सत्तामा पुगेमा भारतीय विस्तारवादलाई नेपालमाथिको कब्जा गुमेजस्तो लाग्छ । यसैले यतिवेला भारतको कसरत कुनै विभिषणलाई नेपालको राजगद्दीमा बसाल्ने कुरामा नै केन्दि्रत छ ।

इराकका रातहरू

- केदार संकेत
रातमा डिउटी पर्दा दिनमा सुत्नु स्वभाविकै हो । म यसलाई सहज रूपमा लिन्छु । लाटो कोसेराको जस्तो जिन्दगी भएपनि ।अनि स्वभाविकै ठान्दो हौं कि हामी सबैले साहेद । तैपनि रातमा सुत्नुको जस्तो मजा दिनमा कहाँबाट आओस् र ! ओछ्यानमा के पल्टेको मात्र थिएँ, ट्याङ–ट्याङ टेक्स मेसेज हो वा भ्वाइस मेसेजले हो सङ्केत दिन्छ मोबाइलमा । म­ अल्छी पाराले आँखाको ढकनी उघार्छु । मोबाइलको भ्वाइस मेसेज रहेछ । मेसेज सुनेर एकछिन किंकर्तव्यविमूढ हुन्छु । दिनरात गृहयुद्धले क्षतविक्षत भएको सहरतिर जानुपर्दा खिन्न हुन्छु म । त्यसो त मेरो यो बाध्यता थियो अनि एउटा नयाँ यात्राको अर्को पाटो पनि ।

मनमनै साधुवाद दिएँ ती मित्रलाई जसले मप्रति विश्वास का साथ सबै कागजात तम्तयार पारिदिनु भएको थियो । म लगायत अरू साथीहरू पनि थिए उतैतिर जाने । उनीहरू केन्टको आसफोर्ड र डोभरबाट आएका थिए । म भने ह्याम्पसायर भन्ने काउन्टीबाट । बेलायतमा जम्मा ४८ वटा काउन्टीहरू छन् ।

रेलयात्रा गर्नु भन्दा ट्याक्सीबाट नै ब्राइज नर्टनको सैनिक बिमानस्थल सम्म जाने निधो गरेँ । आवश्यक सरसामानहरूको एउटा सुटकेस अनि थोत्रे ल्यापटपको झोला काँधमा भिरें । बाहिर घरअगाडि ट्याक्सी लिएर लोक दाइ चुरोटको धुवाँसँगै जीवन साटिरहनु भएको थियो ।

जिन्दगीको हरेक बिदाइमा मन कुँडिन्छ सबैको । आज मेरो पनि घरबाट बिदाई हुँदा एक्कासि मन भक्कानिएर आयो । दुवै छोरीलाई अँगालोमा बाँधे । सम्भव थियो त त्यो चाहन्नथेँ म सधैं यसरी नै अँगालोमा बाँधिरहूँ, बसिरहूँ । तर यस्ता आत्मतृप्तिका समयका खण्डहरू खहरेकै भेल भइदिए ।

यो नदेखिएको भविष्यको परिवेशले क्वाप्लक्कै निल्दै छ म जस्ताको जीवनपद्धति । अन्ततोगत्वा, ब्ल्याकवाटर रिडिङ हुँदै ट्याक्सी चालक लोक दाइ र म बत्तिन थाल्यौं अक्सफोर्डसायरतिर दर्के पानीको दर्काइसँगै । भनाइ नै छ बेलायतमा तीन डब्लुहरूको भर नपर्नु रेः ‘वेदर, वुमन र वर्कका ।’

बाटोमा देखिने प्राकृतिक दृश्यहरूले वसन्त निम्त्याउँदै थिए । पालुवाका मुजुराहरू उकुसमुकुसिंदै हरियालीमा परिणत हुने तरखरमा देखिन्थे । सडक बाटोको छेउबाट देखिने नजिकको घरहरूका बगैचाहरूमा डेफोडिल र आरुबखडाका फूलहरूले मेरै यात्राको स्वागत गरेजस्तै लाग्थ्यो मलाई । एक घण्टापश्चात् हामी ब्राइज नर्टन बिमानस्थल पुग्छौं, एयरपोर्ट पुग्दा साथीहरू नन्द, जित, खड्क र देवेन्द्रजी पनि पुगिसकेका थिए ब्राइजनर्टन गार्ड रुमको कारपार्कमा ।

पासपोर्ट र कम्पनी कार्ड देखाएपछि चेकिङ कक्षसम्म क्याम्पको बसले पुर्यायो हामीलाई भित्र एयरपोर्टको होटलसम्म । भोलि पल्ट बिहानैको उडान भएकाले आजै चेकिङ गर्ने खबर पाइयो । चेकिङ गरेपश्चात् बोर्डिङ पास र कोठाको चाबी पाएपछि बेलुकीको आठ बजे ट्रान्जिटको भान्सा घरतिर लाग्यौं । खाना खाने ठाउँमा ब्रिटिस आर्मीमा कार्यरत केही गोर्खाली भाइहरूसँग पनि भेट्ने अवसर पाइयो । उनीहरू कुवेतमा छ महिनाका लागि आफ्नो टुर पूरा गर्न जाँदै गरेका रहेछन् । सबैजना मरुभूमिमा लगाउने फुस्रा खालका कम्ब्याटमा थिए । शिरमा देब्रेपट्टि ढलक्क ढल्काएर लगाएका ब्यारेट क्याप । छोटो कपाल । मिजासिलो बोली । छोटा कदका खिरिला चिम्से आँखा । नुनखोर्सानी चटक्क लागेको तरकारी जस्तै देखिन्थे । गोर्खालीका छोराहरू त परे आत्मभाव र इमानदारीलाई खोकिलामा च्यापेर कर्तव्यको शिखर चढ्दै थिए चुम्न ।

धेरै दिनपश्चात्; घरदेश छोडेर परदेश, परदेश पनि छोडेर विदेश लाग्नुको पीडालाई केही हदसम्म क्याम्पकै भट्टीमा गएर एक दुई केन गहुँको सोमरस तानेर बिर्सने झिनो निर्णय गर्यौं । रात छिप्पिदै थियो अनि लटपटिँदै थिए हाम्रा जिब्राहरू । बेलायतको बसाइले कचमचिएको काँचो मकैको च्याँख्ला झैँ ऋणमोचित निसास्सिएका हामी भूपू बेलायती सैनिकका पाँचभाइ कुनबेला गएर बिस्तारामा पल्टिइयौं धिरमिराउँदो सम्झना मात्र छ त्यो रातको हामीहरुमा ।

बिहान माइकमा बोलाएको आवाज एक्कासि कानमा बज्रिंदा पो धोती न टोपी हुँदै बाहिर पटाङ्गिनीमा निस्कियौं । हतारहतार झोली तुम्बी बोकेर करिब ७ बजेतिर बसमा विमानस्थलतिर प्रस्थान गर्यौं । बडिआर्मोर (छातीमा लगाउने आधुनिक ढाल) र हेलमेट (फौजीले लगाउने नीलो फलामे टोपी) को झोला हातमा झुन्ड्याउंदै ओमनी एयर इन्टरनेसनल नामक जहाजतर्फ लाग्यौं । ब्राइज नर्टन बिमानस्थल बाट करिब ९ बजेतिर कुबेतका लागि उड्यौं । जहाजमा प्रायः आर्मीका जवानहरू थिए । घर छोडेर जानुपरेकाले होला सबैको अनुहारमा फिक्कापन छाएको देखिन्थ्यो ।

करिब सवा छ घन्टापश्चात् कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने खबर पाउँछौं । तैपनि किन हो कुन्नि तीन चारपटकसम्म आकाशमा नै फन्को मार्छ विमानले । हामी मुखामख हेर्छौं । जमिन आकाशबाट एकदमै नजिक भएको कारणले गर्दा कुवेतको धरातल र सहरहरू प्रत्यक्ष रूपमा घुम्न नपाए पनि आकाशबाटै केही हदसम्म अवलोकन गरियो । चट्ट–चट्ट सलाईका काँटी जस्ता मिलेका समुद्र नजिकका ठुल्ठूला महलहरू, चौडा सडकहरू र सडकका दायाँबायाँ रोपिएका हरिया रूखहरूले सजिसजाउ देखिन्थ्यो कुवेत । सम्झें मेरो देश नेपाल अनि राष्ट्रका बारेमा भौतिक पूर्वाधारका विकासका भाषण छाँट्ने विद्वान्हरूको जमातलाई । जसको भाषणैपिच्छे चमत्कारी शब्द खिपेर ओठमा नौनीघीउ घस्दै खोक्रा आश्वासनमा मध्यदिउँसमै जनतालाई सपना देखाउँछन् । हसाउँछन् । अनि तपाईंहरू पनि हाँस्नुहुन्छ, खितितिति–खितितिती । म त झन् हाँस्ने भइहालें त्यसै पनि ।

एक घण्टासम्म हामी कुवेतको विमानस्थमा नै बस्नुपर्यो किनकि हाम्रो सामानहरू अर्को हवाइजहाज सी वानथर्टी (सैनिक तथा मालसामान ओसार्ने बेलायतको फौजी जहाज) मा सारिने भयो । रात परिसकेको थियो । फाट्टफुट्ट नेपालीका अनुहार झुल्किन थाले । कोही सामानका गड्डीहरू घिसार्दै थिए त कोही टसाक–टुसुक बसेका । जमर्को थियो छोटो बोल्ने । आफ्नो देशका दाजुभाइसँग भलाकुसारी गर्न कसलाई पो मन लाग्दैन र ? दिनभरमा कति कमाउँदा हुन् ? वर्षमा छुट्टी कति पाउँदा हुन् ? आदि इत्यादि प्रश्नका गुजुल्टाहरू मनभित्रै गुटमुट्याउँदै म भोक टार्न कफी पसलतिर लम्कन्छु । केही यात्रुहरू कुवेतमा नै उत्रिए । मधुरा बत्तीहरूले कुवेत सहर झिलिमिलिन लागेको थियो । जित भाइ चुरोटको सर्को तान्दै थिए । हामी भने फेरि सी वानथर्टीमा चढेर इराकको यात्रा छोट्याउनतर्फ लाग्यौं ।

बडिआर्मोर र हेलमेट अवतरण हुनुभन्दा पन्ध्र मिनेटअगाडि नै लगायौ । जहाजका सबै बत्तीहरू झ्याप्प निभाइयो अनि उडेको उँचाइ­बाट एक्कासि जमिनको सतहतिर ह्वात्तै झर्न थाल्यो । आङ सिरिङ्ग भयो । मेरो छेवैमा बसेका बीबीसीका क्यामेराम्यानले क्यामेरा पनि उछिट्याए । अर्का उनका साथीले झर्याम झुरुम हुनबाट बाट भने जोगाउन सम्म भने भ्याए ।पछि पो थाहा भयो, बत्ती निभाउनको कारण रहेछ इराकी आतंकवादीले जमिनबाट नदेखोस् र जमिनबाट प्रक्षेपण गरिने आरपिजी (रकेट प्रिपेल ग्रिनेड) प्रहारबाट बच्नुको खातिर रहेछ ।

इराकको बाज्रा अन्तर्राष्ट्रिय विमानस्थलमा एक घण्टा पच्चीस मिनेटमा उत्रियौं । एउटा सेतो फर्ममा आफ्नो डिटेल्स भरेर हामी एउटा सेतोबसमा चढ्छौं । बसमा नीलो पर्दा लगाइएको थियो । अन्धकार थियो बसभित्र । एकजना ब्रिटेनका नाइकबाट छोटो ब्रिफिङ पाउँछौं । बसमा जाँदा कथम् काल कतैबाट हमला आएमा त्यही नै निहुरेर उसको अर्डर पर्खिएर बस्नु रे । मनमा चिसो पस्यो । सोमरसको चिसो र मनभित्र यतिखेर उम्रने चिसो अर्कै हुँदो रहेछ । सम्झें एकचोटि फेरि, बेकारमा के दुःख बेसाएको ? पैसा जाबोको लागि यस्तो कष्ट ? के दिनमा टोनी ब्लेयरले गोर्खालीलाई बेलायतमा ओसारेर धर्म गरे भनेको त भन् पाप पो गरे जस्तो लाग्यो मलाई ।

बेलायतमा बसेपछि भाडामा त बस्नै पर्यो । भाडाको पैसा फर्किने कुरा आएन भविष्यमा । अनि त किन्नै पर्यो यहाँका महँगा कुच्रुक्क परेका गाईगोठ जस्ता घर । करिब शतप्रतिशत नेपालीहरूले घर भने किस्तामा नै किनेका छन् । हुनेले मजैले घटाएका छन् मोरगेज । हुन पनि कत्तिले त थोपरेका छन् ब्यालेन्स पचास प्रतिशतको इर्दागिर्दा । तर म जस्ता कैयौं मित्रहरू पनि छन् जो कमाएको धन सर्वस्व किस्ता चुक्ता गर्दैमा ठिक्क हुने ।

बसको यात्रा निक्कै टाढा होला भनेको त नजिकै रहेछ । पाँच मिनेटपछि हामी हाम्रो गन्तव्य स्थानमा पुग्छौं । अन्धकार साँझले स्वागत गर्छ हामीलाई । आकाशमा एकचोक्टा बादल देख्या हैन । जमिनबाट आउने बाफले शरीर तातिन थाले । एकजना बेलायतका सिपाहीले फेरि बाटो देखाउन थाल्यो । नभन्दै हामी एउटा फुस्रो पालाको ठूलो घ्याङ्घरतर्फ छिर्छौं । यहाँ पनि एउटा फर्म भर्नुपर्दो रहेछ । सोधपुछ शाखा रहेछ ।

कहाँ जाने ?
कुन कम्पनीमा ?
के काम ?
कतिसम्म ?
कुन हो इन्सुरेन्स कम्पनी ?
बाफरे बाफ प्रश्नै प्रश्नको ओइरो । फर्म भरेर त्यहाँका एकजना हाकिमलाई बुझाएपछि मात्र हामी हाम्रो सामान लिन प्यालेट (काठले बनेको, सामान राखेर उचाल्न सजिलोको खातिर) भएकोतिर लाग्छौं ।

‘ओहो कस्तो गर्मी यहाँ त’ खड्क दाइले खोक्न थाल्नुभो । ‘अब भइने भएछ खोले’ अर्का मित्र नन्दले थपे । हुन पनि सामानहरू प्यालेटमा चाङ भएर खाँदिएको छ । चिन्नै गाह्रो । देवेन्द्र दाइले त पाउनु भयो, माथि नै परेछ क्यार उहाँको त । हामी चारजनाको त भेटिँदैन त खै ? मै बोले यो बखत । देखिँदैन कतै पनि । क्या फसादमा परियो । निधारमा चिटचिट पसिना उम्रन थाले हामी चारैजनाको । जित भाइले तान्न थाले धतुरो अनि निकाले धुवाँ फुसुसुसु नाकका प्वालबाट । अम्मल भनेको अम्मलै रहेछ । न मौसमको पर्वाह, न समयको ? समय पायो कित लाइटर फ्याँट–फ्याँट ।

कुखुराले चारो खोस्रेको झैं खोस्रदा खोस्रदा पिंधमा बल्ल भेट्टाइयो हाम्रा सामान । हातमा, काँधमा, पिठ्युँमा सामान बोकेर बाहिर निस्कन्छौं हामी । हामीलाई लिन दाइ शाही (शैलेन्द्र नाल्बो) र उहाँका टिम युवराज र याम भाइहरू आएका थिए बाज्रा विमानस्थलमा । बाटोमा जाँदाजाँदै यहाँको विभिन्न वातावरणको बारेमा जानकारी पाउछौं शाही दाइबाट । बम आउँदा कसरी लुक्ने ? कति मिनेटसम्म ट्रेन्चमा बस्ने, आदी ईत्यादी वकबासहरु ।

मान्छेको जातलाई लाग्ने भोक र रोग नै त रै’छ । सायद बिरलै पाइएलान्, मलाई कुनै रोगले छोएको छैन र भोक लागेको छैन भन्नेहरू । जिन्दगीमा को होला त्यो व्यक्ति जसले दबाई नै खाको छैन भन्ने । भारतका ऋषिमुनीहरुले पनि दबाइ खाएका कुरा ओकल्छन् बेलाबेलामा । ता कि उनीले नै पछि दबाइ खानुहुन्न व्यायामको माध्यमबाट शरीरलाई निरोगी राख्न सकिन्छ भनेर विश्वभर प्रचार गर्दै छन् ।

केही बेरमै भुँडी भित्रका सयपत्री रमाउन थाले । खानापछि हामी क्याम्पको हाताभित्र छिरेर अरू कुरा गर्दै कोठामा बस्दै थियौं त्यत्तिकैमा साइरन बज्यो । गोराहरू चिच्याउन थाले ‘गेट–डाउन गेट–डाउन’ भन्दै । हामी पनि कोठामा नै छाती जोतेर लम्पसार पर्यौं । केही आकाशमा नै पड्किए केही नजिकैको हातातिर खसे । डम का डम ।

‘स्वागत गरेको यो ति’मेरुलाई’ यो साइरन बजेन र दिनमा एकदुईवटा बम पड्केन भने शून्य लाग्छ हामीलाई त, कुन्ताका गफाडी झन् हामी माथी गफ छाँट्न थाले साही दाइले । मुटुमा ढ्याङ्ग्रो बज्न थाल्यो । बेकारमा छँदाखाँदाको घुरेनको जागिर छोडेर ठूलो भाग खान आ’को हैन ? खाइस्, मजाले खाने भइस् । धित मर्ने गरी खा । सराप्न थालें मनमनै आफैंले आफैंलाई ।

भोलिपल्ट बाज्रा क्याम्पको हाताभित्र रहेका आर्मी क्याम्पदेखि लिएर हाम्रा काम र कर्तव्यहरूको बारेमा जानकारी गराइयो । चरक्क चर्किएको घाम लागेको छ । बिभिन्न मुलुकका काला, गोरा, लंगडा सबै सबै अटाएको रहेछ यो क्यम्पमा ।

क्याम्प घुम्न मिनीबसमा एक घण्टाभन्दा बढी लाग्यो । क्याम्प घुम्दै जाँदा सद्दामको भत्किएको सालिक नेर पुग्ने मौका पनि पाइयो । मात्र टेलिभिजनमा भत्काइएको देखिएको थियो । आज प्रत्यक्ष रूपमा आफ्नै आँखाले देख्न पाउँदा सपना जस्तो लाग्यो मलाई । जिन्दगीमा यसरी यो ठाउँ­­­मा आइन्छ भन्ने सोचेको पनि थिइनँ मैले । यात्रा न हो जीवन, कहाँ पुगिदो रहेछ, रहेछ । कहिले बैरीको पोथ्रोमा, कहिले कल्पबृक्षको निर्छलो धाममा ।

यहाँ काम गर्दा इराकी इन्जिनियरदेखि कुल्ली कामदारहरूसँग घुलमिलिने मौका पाइयो । मैले उनीहरूलाई गफैगफमा सद्दाम हुसेनको कार्यनीतिदेखि लिएर जनताप्रतिको उदारताको बारेमा सोधे र असी प्रतिशतभन्दा बढीले सद्दाम इराकी जनताका लागि उदारनीति लिएर हिँड्ने व्यक्ति भनेर जवाफ दिन्थे । उनी राष्ट्रपति हुँदा इराकी जनताका लागि सहुलियत स्वरुप प्रत्येक महिना जियाको दुई लिटर खानेतेल, एक किलो चिनी, एक बोरा चामल, फ्री टेलिफोन सेवा, बिजुलीबत्ती र खानेपानी जस्ता जनतालाई सित्तैमा उपलब्ध गराएका थिए रे । तर आज इराकी जनताले न सित्तैमा चामल पाएका छन् न त एक थोपा तेल नै ।

इन्जिनियर इसाम थप्तै थिए, हो उनीले कुर्दिसहरूलाई दुःख दिए र विषाक्त रसायन छरेर निर्दोष जनतालाई मारे, त्यो नै सबैभन्दा सद्दामको गल्ती थियो र पतनको बाटो पनि ।

धेरै दिन भएको थियो रकेट नआएको । आज एक्कासि आइडिएफ अर्थात् (इन्डाइरेक्ट मिसाइल) आएको साइरन बज्यो । एकदम अत्यासलाग्दो ध्वनि । म चिप्लेकिरा जसरी भुइँमा टाँसिन्छु । तीन मिनेटसम्म यसरी बस्नुपर्छ यहाँको नियममा त्यसपछि मात्र ट्रेन्चमा गएर माइकमा अल क्लियर नभनुन्जेलसम्म पर्खिनुपर्छ । त्यतिखेर अरू राष्ट्रहरू भारत, बंगलादेश, श्रीलंका र पाकिस्तानका साथीहरू पनि तँछाडमछाड गर्दै आएका थिए ट्रेन्चमा आफ्नो ज्यान जोगाउन । साइरन झन्डै तीन मिनेटसम्म बज्यो । बम पड्किएका आवाजहरु सुनिन्छ । पाँच मिनेटपछि साइरनबाट नै अल क्लिएर भन्ने सुन्छौं । हामी त्यसपछि आ–आफ्नो कोठातर्फ लाग्यौं । त्यो हामी गएपछिको दोस्रो रकेट प्रहार थियो । पुनः भोलिपल्ट दुईचोटि हाम्रै हाताभित्र बम खस्यो । कसैलाई पनि चोटपटक भने लागेन ।

यी बम खसाउनेहरूमा यहाँका सिया उग्रवादीहरूको ठूलो हात भएको रहेछ भने बम पैठारी गर्ने गराउनेमा छिमेकी राष्ट्र इरानको दरो हात भएको यहाँका स्थानीय बासिन्दालगायत बेलायतका गुप्तचर विभागबाट सुन्न पाइयो ।

आज धेरै दिन भयो साइरनको कर्णप्रिय धुन सुन्न नपाएको । मेरो कार्य अवधिमा निकै हताहत भए यहाँ भन्न असमर्थ छु, तर नेपालीहरू भने सबै स–कुशलै छन् आजको दिनसम्म । सदा कुशल भइरहून् भन्ने कामना गरौं ।

हामी यसरी बाज्रा सहरमा अमेरिका र बेलायतका मित्रहरूसँग काम गरेर तीन महिनाको अविस्मरणीय क्षण बिताएर बगदादतर्फ लाग्छौं । खैः, अरु कति दिनसम्म चिप्लेकिरा बन्नुपर्ने हो, हेर्न बाँकी नै छ यो जिन्दगीमा ।
समकालिन साहित्यबाट