- हिरण्यकुमारी पाठक
प्रतिदिनको ताडना र लाञ्छनाले असहय भइसकेको थियो मुनाको मन । विवाह गरेको ६ वर्षमा पनि एउटा सन्तान दिन नसक्ने ! यस्ता वचन सुन्दासुन्दा उनको कान टट्याइसक्यो, हृदयमा सुल घोपेझैँ चस्स-चस्स बिझाउन थालिसक्यो । सन्तानको आवश्यकता र चाहना प्रत्येक स्त्रीलाई अवश्य हुन्छ । सन्तानबिना, मातृत्वको सुखबिना अरू संसारिक सुख सबै-सबै फिका हुन् ।
मुनाको हृदय पनि यस कुराले चिमोटिरहेकै थियो, तर के गर्ने ! लामो सास फेरेर मन बुझाउनु सिवाय अरू केही समाधान थिएन । विवाहको दुई वर्षपछि नै सन्तान नहुँदा, जँचाउन दुवै पति-पत्नी डाक्टरकहाँ गएको सम्झना बारम्बार आइरहन्छ उनलाई । त्यस दिन डाक्टरले मुनामा हैन, प्रजनन शक्ति श्रीमान् नरेशमा छैन भन्ने रिपोर्ट देखाउँदा पतिको अनुहारमा आएको उतार-चढाव आज पनि उनका सामु ताजा छ । घरमा सबैका सामु मुनाले पनि केही भनिनन् । उनको श्रीमान्को यही निर्देशन थियो रिपोर्टबारे । त्यस रात नरेशले आफ्नो कमजोरी अरू कसैलाई नभन्नू भनेर मुनासँग वाचा पनि लिए । मुनाको स्त्री हृदयले के गरोस् ?
तर त्यसपछिका उनका दिनहरू छटपटाहटमा बित्न थाले । विस्तारै-विस्तारै समय बित्दै गयो । दुई वर्ष, चार वर्षपछि पाँचै वर्षमा त नरेशकी आमाले अर्कै निर्णय सुनाइन् । उनले अवश्य पनि मुनाबाट नै सन्तान नभएको हो भन्ने अठोट गरिन् । घरको एक्लो छोरा नरेश ! उसका कुनै सन्तान नभएपछि घरमा चिन्ता हुनु त स्वाभाविक नै थियो ।
नरेशमा कुनै कुराको कमी थिएन- रूप, धन सम्पत्ति, आलिशान घर । नरेशको राम्रो व्यापार पनि छ तर अभाव एउटै कुराको छ- घरको कुलदीपकको आगमनमा ढिलाइ ।
नरेश दिनभरि काममा नै व्यस्त हुन्थे । तर मुनालाई त दिनभरि घर परिवारसँग भिज्नुको विकल्प थिएन । नन्दको बिहे उनीपछि भएको थियो । ती नन्दले छोरा-छोरी लिएर माइत आउँदा मुनाको मुटु चस्सक्क भएर चर्किन थाल्थ्यो । ती साना नानीका मीठा-मीठा कुरा र अबोध वालापनलाई धेरैबेरसम्म आफैँसँग राख्थिन् । उनको मन त्यति बेला रसिलो हुन्थ्यो । शरीरमा फूर्ति आएझैँ हुन्थ्यो । तर उनीहरू गएपछि के गरुँ, कसो गरुँको छटपटी हुन्थ्यो । धेरैबेरसम्म शून्यतामा डुबिरहन्थिन् । उनको मातृ-हृदय ममता पोख्न उर्लिरहन्थ्यो । अनि घरमा सासूलाई पनि दुःख लाग्नु स्वाभाविक नै हो भन्ने ठान्दथिन् ।
आखिर घर त घरै हो नि । घरको रमाइलो नै केटाकेटीले गर्दछन् । नाति-नातिनाको अभावमा दिनका दिन घरमा कचिङ्गल उठ्न थाल्यो । बिहानदेखि बेलुकासम्म आफूलाई अनेक दोषारोपण गरेको सहन अब मुनालाई पनि असैहृय हुन थाल्यो । किनकि जुन बात उनीमाथि लगाइएको थियो, त्यो निराधार थियो । आफ्नो कमजोरी लुकाउन नरेशले उनीमाथि थोपरेको वाचालाई जोगाउन नसक्ने भइसकेकी थिइन् उनी ।
अनि त्यस रात उनले नरेशसँग भनिन्, “अब त अति नै भयो । मलाई आमाले अरू घरमा आएकाहरूका सामु लाञ्छना लगाउदा सारै नै दुःख लाग्छ । अब त म सहन सक्दिनजस्तो छ- नरेश के गर्ने ? सबै कुरा भन्नुमा नै ठीक छ । अब त अति नै भयो ।”
“के गर्ने र हामी के गर्न सक्छौँ मुना ! हेर मलाई त तिमी मात्रभए पुग्छ । आमाले जे भने पनि सहनुपर्छ है ।” नरेश उनलाई मायालु पारामा सम्झाउन खोज्दै थिए ।
“हैन, तर म त अब सहन सक्दिनँ, बिनादोष ममाथि आइपरेको आरोप । कसैको बच्चा हामीले गोद लिए पनि त हुन्छ नि नरेश आमासँग कुरा गर ।”
“ल के भनेको तिमीले मुना ! अर्काको रगत पनि कहिले आफ्नो हुन सक्छ र ?”
अनि के गर्ने त ?
यस्तै सुर्ता गर्दा गर्दै उनीहरूको त्यो रात बित्यो ।
घरमा विस्तारै नरेशको अर्को बिहेको कुरा चल्न थाल्यो । त्यो कुरा नरेशले मुनाले दुवैले सुने । मुनालाई त नरेशको कमजोरी थाहा थियो । नरेशले आमासँग आपत्ति जनाए । “म अरूसँग बिहे गर्दिनँ” भन्दै ढिपी गरे ।
केहीबेरको गलफत्तीपछि आमाले आफ्नो अडान राखिन्, “अबका वर्ष दिन भित्रमा नाति भएन भने म तेरो अर्को बिहे गराउँछु, मलाई नाति चाहियो, चाहियो ।”
आमाको कड्किलो आवाज छोराबुहारीले दुवैले सुने । अब के गर्ने ! नरेशलाई पनि मनमा चैन छैन ? दिनभरि भौँतारिँदै राति मुनासँग अँगालोमा आफ्नो छटपटीको समाधान कसो गर्ने भन्नेबारे छलफल गर्यो । तर कसै गर्दा पनि समाधान निस्केन ।
मुनाले नरेशको मनमा उत्पन्न छटपटी देखेर निकास निकाल्ने उपाय सोचिन् । नरेशलाई माया गर्दै भनिन्- “हेर्नुस्, हजुरको अर्को बिहे भयो भने अर्की श्रीमतीले त मजस्तै गरी हजुरको कमजोरी लुकाउन सक्दिन ! बरु अब म जे गर्छु चुप लागेर खुसी भई अंगीकार गर्नुस् । आमाले भनेजस्तै एक वर्ष भित्रमा म नाति उहाँलाई दिन्छु, हजुर र मलाई छोरा दिन्छु । त्यसबारे केही नबोल्ने हो, केही नसोध्ने हो भने हजुरको कमजोरी पनि लुक्छ, सन्तान पनि पाइन्छ । मञ्जुर हुनुहुन्छ भने अहिले नै वाचा गर्नुस् ।”
मुनाको मुखबाट अचानक आएको प्रस्तावपछि नरेश निकैबेर घोरिए, सोचमग्न भए । आफ्नो कमजोरी उनी सार्वजनिक गर्नै चाहँदैनथे जग सम्मुख तर आमालाई नाति दिनु पनि जरुरी थियो । के गर्ने त अब ?
धेरै सोचे नरेशले । उनी एउटा सफल व्यापारी पनि हुन् । चारैतिरबाट घाटा नहुने बरु शान्ति र रमाइलो पनि हुने मुनाको प्रस्तावलाई उनले सहर्ष स्वीकार गरे, कुनै जवाफ-सवाल नगरी । त्यसको वर्ष दिनभित्र मुनाले गुदमुने नाति सासूको काखमा राखिदिइन् । मुना घरपरिवार सबैकी प्यारी भइन् भने नरेश पनि छोराका बाबु भए । घरमा आएको रमाइलो वातावरणले सबैलाई मोहित बनायो । वंश चलाउने सन्तान दिइन् मुनाले । सासूससुरालाई प्रसन्न मुद्रामा राखिन् ।
अस्पतालमा छोरा जन्मिएको दिन मुनाले नरेशलाई हेर्दै भनिन् “ल ! आफ्नो छोरालाई काखमा लिनुस् ।” मुनाका कुराले एकैछिन अलमल परे पनि नरेशले । त्यसपछि लगत्तै “आऊ, मेरो छोरा आऊ” भन्दै काखमा लिए । मुना मुस्कुराइरहिन् ।
No comments:
Post a Comment
- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।