दमाममा ४ महिला सहित १७ नेपाली अलपत्र, एनआरएनए साउदी अरबद्वारा उद्धार

- एनआरएनए / साउदी अरब 
अलपत्र नेपालीहरुलाई उद्दार गर्न पुग्नुभएका धरम के.सी (दायाँ) र पुरुषोत्तम श्रेष्ठ (बायाँ)
आज १८ अप्रिलमा दिउंसो १२ बजे रियाद बिमानस्थलमा अवतरण गरेका ४ महिला सहित १७ जना नेपाली कामदारहरू बेलुका ७.३० मा दमाम साब्ट्को बसपार्कमा आइ अलपत्र परे । रियाद बिमानस्थलमा रोजगारदाता कम्पनी (ImanCo.) नै लिन पुगेको, रियाद कार्यालयमा पुग्ने बित्तिकै सबैको मेडिकल जांच पनि गराइएको, सबैबाट पासपोर्ट लिइएको तर कुनै सम्झौता या अन्य कागजात नदिएर रियाद देखि दमाम सम्मको ४५० कि.मी.को यात्रा यी कामदारहरूलाई साउदी अरबको सार्बजनिक यातायात (SABTCO) माध्यमबाट गराइयो जसमा कम्पनीका कुनै पनि स्टाफ रहेनन् ।  

दमाममा ImanCo. बाट यी कामदारहरूलाई लिन कोही पनि आएनन् ! यी नयां कामदारहरूसंग उक्त कम्पनीको दमाम कार्यालयका कसैको पनि कुनै पनि सम्पर्क नम्बर थिएन, न त कसैले दियो न त यिनीहरूले नै मागे । यिनीहरूसंग रहेको उक्त रोजगारदाता कम्पनीको रियाद कार्यालयको सम्पर्क फोन (Land line) उठन छोड्यो । नेपालमा यिनलाई पठाउने म्यानपावर कम्पनी (Crown Employment Consutltant) तथा एजेन्टले पनि यी अलपत्र कामदारहरूको फोन उठाउन छोडे ।

अलपत्रमा चार चेलीहरु
यसरी यो १७ जनाको समुह नै बसपार्कमा अलपत्र परे पछि यो खबर एनआरएनए साउदी अरबका प्रमुख सल्लाहकार तारा भण्डारीले पाउनुभयो र वहांबाट तुरून्तै अध्यक्ष धरम के.सी. र महासचिव पुरूषोत्तम श्रेष्ठलाई जानकारी मिलेपछि आधा घण्टाभित्रै दुबैजना बसपार्कमा पुगी अलपत्र परेका महिला पुरूष सबै कामदारहरूसंग भेटवार्ता गर्नुभयो । धरम के.सी.ले ब्यापक सोधपुछ र सम्पर्क गर्दै जांदा रोजगारदाता इमान्को कम्पनीका जिम्मेवार ब्यक्तिको सम्पर्क नम्बर पत्ता लगाई तुरून्त बसपार्कमा लिन आउन अनुरोध गरेपछि कम्पनीले ३ वटा गाडी पठायो र महिला र पुरूष कामदारहरूलाई छुट्टा छुट्टै गाडीमा राखी आ-आफ्ना क्याम्पहरूमा लग्यो । यसरी यो उद्धार कार्य ३ घण्टामा सम्पन्न भयो ।

यो घटनाले छोडेका केही अनुत्तरित प्रश्नहरूः
यस घटनामा कामदार स्वयं, म्यानपावर कम्पनी र रोजगारदाता कम्पनी सबैको लापर्बाही देखाएको छ । १७ जनाको समुहमा कसैले पनि कामगर्ने शहर कुन हो ? त्यहां कसलाई सम्पर्क गर्ने ? सम्म जानकारी नलिनु, म्यानपावरले पनि यी सबै कुराहरू स्पष्ट नबताइदिनु अनि रोजगारदाता कम्पनीले पनि रियादबाट दमाम पठाउंदा साथमा कम्पनीको कसैलाई नपठाउनु र कम्पनीभित्रको आन्तरिक सञ्चार (कामदार आउदै गरेको जानकारी दमाम कार्यालयलाई नदिनु) लापर्बाही देखिने तथ्यहरू हुन् । प्रश्न उठछ यस्तो लापर्बाही आखिर किन हुन्छ ?

यस घटनाबारे राजदूत उदयराज पाण्डेयज्युसंग कुरा राख्दा अर्को एउटा प्रश्न पनि जन्मिएको छ कि यो कम्पनीको डिमाण्ड (भिषा) कसले कसरी स्वीकृत गर्यो ? किनकि दूतवासबाट यो कम्पनीको भिषा तलब सुविधा नव निर्धारित स्केल (८०० + २००) भन्दा कम रहेकाले अस्वीकृत भएको थियो । यी कामदारहरूसंग नेपालमै गराइएको करारनामा हेर्दा त्यसमा तलब मात्र ७०० साउदी रियाल रहेको उल्लेख छ र यो कम्पनीमा कसैको पनि कहिल्यै पनि ओभरटाइम (काम) पनि हुंदैन । यस इमान्को कम्पनीमा कार्यरत पुराना नेपाली कामदारहरू भन्छन “यो ७०० त अहिले बढाएर यति भएको हो, पुराना त पुरूष ५०० मा र महिला ६०० रियालमा आएका छन र यो सुख्खा तलब हो, खाना पनि यो कम्पनीमा सबै कामदारहरूले आफ्नो तलबबाटै खानुपर्दछ”। राजदूतज्यू अगाडी भन्नुहुन्छ “अब हामी छोड्दैनौं, दूतावासको स्वीकृति बिना कामदार किन र कसरी पठाइयो, खोजिनीति गर्दछौं र जो जहां दोषी पाइन्छ, कार्बाही गर्छौं, गराउछौं”।

इमान्को कम्पनीमा पहिले आएका र अहिले नयां आएका महिला पुरूष सबै ‘हस्पिटल क्लीनर’ को काममा आएका छन । यी नयां कामदारहरूलाई म्यानपावर कम्पनीले ८०० रियाल तलब, खाना फ्री छ र ओभरटाइम (काम) पनि हुन्छ भनेको बताउंछन अलपत्र परेका नयां कामदार । “तपाईहरूको सहयोगमा झन्न कम्पनीमा सम्म जान पाइनेभो, नत्र हामीहरू त साह्रै ठूलो चिन्तामा थियौं, पछि पनि समस्या परे सम्पर्क गर्नेछौ” भन्दै धरम के.सी. र पुरूषोत्तम श्रेष्ठको मोबाइल नं. नोट गर्दै इमान्कोको गाडीमा चढे । 
अलपत्र परेका नेपालीहरु उद्दारपश्चात सम्बन्धित कम्पनीको गाडीमा चढ्दै ।

No comments:

Post a Comment

- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।