भरत केसी / बुटवल
सिद्धार्थ गौतमबुद्धको जन्मस्थल लुम्बिनी बैद्धमार्गीहरुका लागि जति महत्वपूर्ण मानिन्छ त्यतिकै महत्वपूर्ण बुद्धलाई जन्म दिने आमा मायादेवी, उनलाई पालनपोषण गर्ने सानिमा गौतमी प्रजापति र उनकी धर्मपत्नी यशोधराको जन्मथलो मानिन्छ । तर, यस्तो महत्वपूर्ण क्षेत्र उनीहरुको जन्मथलो अहिलेसम्म पनि यकिन हुन सकेको छैन । मायादेवीको माइती अर्थात् बुद्ध मावली भनेर रुपन्देहीको देवदह क्षेत्रलाई दाबी गर्दै आए पनि यसको पुरातात्विक तथा प्राचीन प्रमाण अहिलेसम्म पनि फेला नपरेकाले यो नै बुद्ध मावली क्षेत्र हो भनेर पुष्टि भइसकेको छैन।
बुद्ध जन्मस्थल लुम्बिनी र शाक्य वंशको राजधानी कपिलवस्तुको तिलौराकोट दरबार क्षेत्र १०० वर्षअघि सन् १८९६ मा वास्तविकता पत्ता लगाइएको भए पनि बुद्ध मावली क्षेत्र पत्ता लगाउन अहिलेसम्म पनि उत्खनन् हुन नसक्दा वास्तविकता पत्ता लाग्न नसकेको हो।
बुद्ध धर्मग्रन्थ त्रिपिटकका अनुसार रोहिणी नदीदेखि पूर्व नारायणी नदीदेखि पश्चिमको भू-भाग तत्कालीन कोलियराज्य भएको इतिहासविद्हरुको भनाइ रहेको छ। यही अनुमानका आधारमा रुपन्देहीको भवानीपुर, कन्यामाई, खयरडाँडा, कुमारवर्ती, घोडाहा, बैरिमाई र बङ्गलाबङ्गली क्षेत्र कोलिय राज्यको दरबार क्षेत्र हुन सक्ने अनुमान गरी रुपन्देहीको देवदह क्षेत्रलाई बुद्ध मावली भएको अनुमान गरिँदै आएको छ। तर, उक्त कुरा उत्खनन पछि मात्रै पक्का हुन सक्ने पुरातत्वविद् प्रकाश दर्नाल बताउँछन्।
सरकारले बुद्धसँग सम्बन्धित क्षेत्रको रुपमा यी क्षेत्रलाई पनि समावेश गरी लुम्बिनीको विकाससँगै यी क्षेत्रको पनि विकास र संरक्षण कार्य अगाडि बढाउने उद्देश्यले लुम्बिनी गुरुयोजनामा समावेश गरेको छ। यसअन्तर्गत लुम्बिनी विकास कोषले पुरातत्व विभागको सहकार्यमा गत वर्ष कन्यामाई क्षेत्रको उत्खनन गरिएको थियो । सो उत्खननबाट बुद्धको भूस्पर्स (टाउको नभएको) मूर्ति, स्त्री तथा पुरुषका मूर्तिहरुसँगै ताराजस्ता मूर्ति फेला परेका थिए। ती मूर्तिहरु बुद्धकालीन समयका नभएर मध्ययुगीनकालका भएको सो उत्खननमा प्रमुख नेतृत्व गर्नुभएका पुरातत्वविद् दर्नाल बताउँछन्।
उनका अनुसार ईशापूर्व छैटौँ, सातौँ शताब्दीका कपिलवस्तु र लुम्बिनीमा फेला परेका प्राचीनवस्तु जस्तै यी क्षेत्रमा पनि प्राचीनकालका वस्तुहरु हुन सक्ने अनुमान छ। यसका लागि यी क्षेत्रको सूक्ष्म तथा समग्र रुपले उत्खनन गर्नु जरुरी छ।
अहिलेसम्मको उत्खननबाट फेला परेका वस्तुबाट यो क्षेत्र प्राचीनकालको देवदह अर्थात् कोलिय राज्यनै रहेको पुष्टि हुने आधार नभएको दर्नालको भनाइ छ। उनी भन्छन्- 'अहिलेसम्मको उत्खननले र इतिहासको अध्ययनले यो क्षेत्र बुद्धको समय पछाडि पनि यहाँ बस्ती थियो, गुल्जार थियो भन्ने मात्र पुष्टि हुन्छ। यसको वास्तविकता पत्ता लगाउन सुक्ष्म ढङ्गले अध्ययन अनुसन्धान गर्नुपर्छ।'
बुद्धको मावली गाउँ दाबी गरिएको क्षेत्र मध्येको रुपन्देहीको केरवानीस्थित भवानीपुरमा अहिले पुरातत्व विभागले उत्खनन सुरु गरेको छ। शान्तिको सन्देशसहित विश्वसामु नेपालको परिचय दिने गौतमबुद्धको मावली गाउँ दाबी गरिएको यो क्षेत्रको पुरातत्व विभागले पहिलोपटक उत्खनन थालेको हो। हाल उत्खनन सुरु गरिएको क्षेत्रमा प्रमाणहरु भेटिएको खण्डमा मात्रै यस क्षेत्रलाई देवदह मान्न सकिने उनी बताउँछन्।
दुई लाख वर्ष अगाडिदेखि सेन र शाहकालसम्मको अवशेष तत्कालीन कोलिय गणराज्यभित्र पर्ने हुँदा देवदह क्षेत्र महत्वपूर्ण क्षेत्र भएर पनि यो कहाँ पर्छ भन्ने पुष्टिका लागि उत्खननबिना भन्न गाह्रो भएको पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवर बताउँछन्।
इतिहासकारका अनुसार प्राचीनकालमा बुद्ध तिलौराकोटबाट यही बाटो हँुदै अनोमा नदीमा पुगेर आफ्नो राजकीय भेष त्याग गरेको र गया गएको यो उत्तरापथ क्षेत्र हुन सक्ने अनुमान रहेको कुँवर बताउँछन्। 'यो उत्तरापथ क्षेत्र बुद्धको 'कन्थक' (घोडाको यात्रा) हुनसक्छ'- उनले बताए। भवानीपुरमा पहिलो चरणमा गर्न लागिएको उत्खनन १८ दिनको छोटो अवधिका लागि मात्र भएको र त्यसका लागि रु १० लाख बजेट विनियोजन भएको उनले बताए।
विनियोजित बजेटमध्ये करिब रु साढे ५ लाख तालिममा खर्चिनेछ भने उत्खननका लागि रु साढे चार लाख न्यून बजेट रहेकाले आफूहरुले पर्याप्त काम गर्न नसक्ने पनि उनले बताए। सो उत्खननकै क्रममा पुरातत्व विभागमा कार्यरत १० जना कर्मचारीलाई उत्खनन तथा अन्वेषणसम्बन्धी तालिम पनि प्रदान गरिँदैछ। यस तालिमले विभागका १० जना जनशक्ति दक्ष हुने विभागले विश्वास लिएको छ।
विभागले सुरु गरेको उत्खननलाई सो क्षेत्रका देवदह संरक्षणसँग सम्बन्धित समितिहरुले पनि सकारात्मक रुपमा लिएका छन्। देवदह संरक्षण प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पाण्डे देवदहको महत्व लुम्बिनीको भन्दा कम नभएको र लुम्बिनी विकास कोषको जिम्मामा रहेको देवदहसँग सम्बन्धित क्षेत्रमा कोषले संरक्षण तथा संवर्द्धन गर्नुपर्ने बताए।
बुद्धको मावली गाउँ अनुमान गर्न सकिने देवदह क्षेत्रका कन्यामाई, भवानीपुरमा उत्खनन सुरु भएको छ भने बुद्धसँग सम्बन्धित सम्भावनाहरु देखिएका सो क्षेत्रका बैरीमाई, कुमारवर्ती, खयरडाँडा, घोडाहालगायतका क्षेत्रमा समेत भग्नावशेषहरु देखिएकाले ती क्षेत्रमा समेत उत्खननको खाँचो रहेको पुरातत्वविद् दर्नालले औँल्याएका छन्।
No comments:
Post a Comment
- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।