‘चिहान’मा भेटिएको डायरी

- टेकराज थामी

मृतकः निराजन पुन मगर

‘आकाशको चरी, डालीमाथि झरी
 मबाट केही भूल भए, आई एम सरी’

यी हरफ एघार वर्षीय नीराजन पुनमगरको डायरीबाट टिपिएको हो, जो अब यस दुनियाँमा छैनन् । शनिबार राति कालीमाटीमा भएको भीषण आगलागीमा आफ्नो बाबु र दुई दिदीहरूसँगै नीराजनको पनि प्राण गयो ।

आइतबार दिउँसो करिब एक बजे पुग्दा कालीमाटीस्थित तरकारी बजार भग्नावशेषजस्तो देखिएको थियो । आगोको वाफिलो राप अझै पनि हराएको थिएन । डढेका तरकारीका थुप्रो विस्थापन गर्न व्यस्त थिए, प्रहरी र सैनिकहरू । व्यापारीहरू हतास मनस्थितिमा यताउता गरिरहेका थिए । तरकारी बजारस्थित भवनको माथिल्लो तलाको बीचकोठा आधा खुला थियो । भित्र पस्दा कोठाभरि ध्वाँसो भरिएको थियो । असरल्ल अवस्थामा रहेका ओढ्ने–ओछ्याउनेलगायत कोठाका सबै सामान काला देखिएका थिए । झ्यालका सिसा फुटेका थिए । कोठामा बस्ने परिवारका कोही पनि सदस्य त्यहाँ थिएनन्, थिए त उनीहरूका तस्बिरहरू मात्र । ओछ्यानको सिरानीनजिकै रहेको एल्बममा हीराबहादुरको परिवारको तस्बिरहरू सङ्गृहीत थिए । एल्बमनजिकै थियो, नीराजनको कालो सानो डायरी ।


जीवन एउटा फूल हो
सुन्दर माला गाँस्नु
दुःख पर्दा आँसु होइन
मुस्कान दिई हाँस्नु
नीराजनको डायरी यस्तै छोटा–मीठा कविता, चुट्किला र चित्रहरूले भरिएको छ । डायरीको पहिलो पेज खाली छ भने दोस्रो पेजमा नीराजनले आफ्नो सामान्य परिचय र रुचिका कुरा उल्लेख गरेका छन् । कालीमाटीकै टङ्केश्वरस्थित नीलबराही उच्च माध्यमिक विद्यालयमा कक्षा पाँचमा पढ्ने नीराजनको रोल नम्बर १६ रहेछ । डायरीमा उल्लेख भएअनुसार उनका मिल्ने साथीहरू दीपक, अश्विन र रमेश हुन् । नीराजनको ‘निकनेम’ पनि दीपक रहेछ ।

आफूलाई मन पर्ने कलाकार भनेर राजेश हमाल, विराज भट्ट र निखिल उप्रेतीको नाम लेखेका छन् । कलिलो उमेरमा उनको साहित्य तथा सिर्जनामा गहिरो अभिरुचि र दख्खल देखिन्छ । डायरीका विभिन्न पेजमा छोटा कविता, चुट्किला तथा चित्रहरू रहेका छन् ।
आफ्नो डायरीमा निराजन पुनले लेखेका कविताहरु
सात वर्षको उमेरमै नीराजनले आफ्नी आमा छमी पुनमगरलाई गुमाएका थिए । त्यसको केही वर्षपछि बुबाले कान्छी श्रीमतीका रूपमा हिक्कामाया पुनमगरलाई भित्रयाए । दुई दाजु र दुई दिदीका भाइ उनले सानीआमाबाट पनि आमाकै जस्तो माया पाए । हीराबहादुरका सबै छोराछोरी जेठी श्रीमतीबाट जन्मिएका हुन् । जेठो छोरा दुबईमा र माइलो भारतमा काम गरिरहेका छन् ।

३५ वर्षीय हिक्कमाया गर्भवती छिन् । धुवाँले निस्सासिएर बाहिर निस्कन नसकेकाले उनी कोठाभित्रै घोप्टो परेकी थिइन् । गम्भीर घाइते अवस्थामा उनलाई अहिले छाउनीस्थित आर्मी अस्पतालको आइसियूमा राखिएको छ ।

No comments:

Post a Comment

- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।