- हेमन्त परदेशी
मध्य हिउँदको आगमनसंगै शरीरमा काँडा पलाउँने तिखो जाडोको सुरुआत भइसकेकोछ । तर पनि किन किन त्यो चिसो मौसमसित मितेरी गाँस्ने रहरले मलाई बस्तीको सुदुर शिखरमा अवस्थित आगेजुङ् डाँडातर्फ उक्लिन उत्साहित गरिरहेकोछ ।
हो त्यही आगेजुङ् डाँडा, जहाँ मैले आफ्ना जवानीका थुप्रै हिउँदहरु चिसोपनको अलिकति पनि महसुस नगरी बेपर्बाहले बिताएको थिएँ । कहिले लेकाली कटुस र भुईं ऐसेलु टिप्ने रहरमा त कहिले भगवान बुद्धको दर्शन गर्ने बहानामा अनि कहिले बनभोज र शैक्षिक भ्रमणको सिलसिलामा त कहिले उन्मुक्त बैँशको उन्मादलाई बिसाउने चाहानामा कतिपल्ट त्यो लेकाली सैलुङको नाँगी र चउरहरुमा आफ्नो उपस्थिति जनाएँ त्यसको कुनै लेखाजोखा नै छैन मसंग ।
पेम्बा, दोर्जे र फुर्तेम्बाहरुसित होस् या निमा, पासाङ्ग र दाछिरीहरुसित । अथवा डोल्मा, दिकी र आङ्फुटीहरुसित नै किन नहोस् जीवनका थुप्रै महत्वपूर्ण पलहरु चोथ्रो टिप्दै र बुकीफूलहरुको स्पर्श गर्दैमा बिताएको मधुरो संझनाले आज पनि मलाई कता कता कुरी-कुरी गरिरहेको अनुभूति हुने गर्छ ।
स्वाभावैले आज त्यस सैलुङे डाँडातर्फ उक्लिन चाहानेहरुको संख्या कम उल्लेख्य रहेको छैन । बौद्धल्होसारको पावन अवसरमा गुम्बा संचालक समिति र स्थानीय लामा धर्मगुरुहरुको बिशेष सकृयतामा बर्षेनी आयोजना हुने धार्मिक सत्संग र अनुष्ठानको दृष्यावलोकन गर्न र भगवान बुद्धको दर्शन गर्न आउने श्रद्धालु हरुको ताँतीले हरेक साल त्यो उकालोलाई उतिकै ब्यस्त गोरेटोको उपमा दिनेगर्छ ।
“जाडो धेरै बढेको छ, फेरि पनि चिसोले समात्न सक्छ । बित्थामा किन रहर गर्नुहुन्छ ड्याडी?”
मेरो खस्किदो स्वास्थप्रति सदैब चिन्तित छोरी दीक्षाको कुराले अनायसै झस्किन्छु म ।
“साँच्ची कस्तो मैले त आफ्नो स्वास्थको ख्याल नै नगरेको? केही महिना अघि मात्रै बाथले थलापर्दा डाक्टर पान्डेले –“भरसक चिसोबाट चाहिँ टाढै बस्नु होला “ भनेको कुरा त भुसुक्कै बिर्सेछु मैले ।” यद्धपि मनभित्रको यो कुरालाई दीक्षासामु ब्यक्त गर्न चाहन्न म । बरु मप्रतिको उनको चिन्तित मनोदशालाई दूर गर्ने उद्धेश्यले सम्झाउन खोज्छु उनलाई –धेरैबेर अलमल गर्दिन म, फेरि जाडोलाई तह लगाउने न्याना लुगाहरुको कमी पनि त छैन मसंग ।”
“त्यसो भनेर कहाँ हुन्छ र ड्याडी? उल्टै मलाई नै सम्झाउन थाल्छिन उनी –“भरसक जाँदै नजानुस् , यदि नगइ नसक्ने नै भए म पनि संगै जान्छु ।”
“हुन त म एक्लै भए पनि पुगेर आइहाल्ने थिएँ तर यदि तिम्रो मन मान्दैन भने मेरो भन्नु केही छैन ।” यसो भन्नुको बिकल्प देख्दिन म ।
त्यसपछि केही हल्का चिया-चमेना गरेर सुरु भएको हाम्रो उकालो यात्रा बीच-बीचमा थकाई मार्दै र सुस्केरा हाल्दै निरन्तर अगाडि बढिरहेको हुन्छ । त्यस क्रममा हामीबीच थुप्रै पारिवारिक भलाकुसारी पनि हुन्छन् ।उकालो चढाईको थकान मेटाउन बाटो छेउका पाटी र चौतारीहरुमा सुस्ताउन खोज्दा अनायसै उनको मुहारमा प्रतिबिम्बित हुन आइपुग्ने सुम्निमाको प्रतिबिम्बले पटक-पटक झस्काउँन खोज्छ मलाई । त्यही आँखा , त्यही मुस्कान अनि त्यही चन्चलता । साँच्ची कति ठ्याक्कै मिलेको आमा-छोरीको प्रतिरुप ?
म आनो सुदूर अतितलाई सम्झेर अनायसै विह्वल बन्छु । लामो उकालो चढाईको थकानले भन्दा पनि मानसिक बिक्षिप्तताका झट्काहरुले कता-कता नसाहरुमा रक्तसंचार अबरुद्ध भए झैँ महसुस हुन्छ मलाई । गुम्बा परिसरको यौटा खुल्ला चउरमा बसेर आफ्नै अतित र बर्तमानबीचको फराकिलो दरारलाई समायोजन गर्ने जमर्को गर्छु । त्यहाँबाट दृष्टिगोचर हुने उत्तरी क्षितिजका कुम्भकर्ण र कन्चनजंघा हिमशिखरहरु आज पनि त्यसरी नै मुस्कुराइरहेकाछन् जसरी आज भन्दा तेइसबर्ष अघि सुम्निमासित मेरो पहिलो भेट हुँदा मुस्कुराइरहेका थिए ।
“आहा स्वाधिनता र अमरत्वको कस्तो निशानी? न कसैसित झुक्नुपर्ने विवशता न त कसैमा समाहित हुनैपर्ने बाध्यता ।” मनभरि यस्तै यस्तै बिचारहरु असरल्ल छरिन थाल्छन् ।
“ड्याडी तपाईको आँखामा आँशु?”
छोरी दीक्षाको आवाजले झसंग हुन्छु म । भावनाहरुमा बहकिंदा बहकिंदै खै कतिबेला आँशुले आँखा र चिउँडोबीचको परिधि नाप्यो , त्यसको अलिकति भेउसम्म पाइन मैले ।
“भन्नुस् न ड्याडी ! आज तपाई किन यति भावुक र उदास बनिरहनुभएको छ?”
उनको मुहारमा प्रष्टै झल्किरहेका आशातित जिज्ञासु भावहरुलाई नकार्न नसकेकै कारण म आफ्नो अलिखित जीवनकथाको पानाहरु पल्टाउन बाध्य हुन्छु ।
हो त्यही जीवनकथा जुन कथा आजसम्म मेरो जीवनको एउटा अलिखित कथा बनेर मनभित्रै गुम्सिरहेकोछ । भन्नैपर्दा आजभन्दा तेइसबर्ष अगाडि ठ्याक्कै आजकै दिन सुम्निमासंग मेरो पहिलो भेट यही गुम्बा परिसरमा भएको थियो । आज अनुमान लगाउँछु म , भगवानले हामी दुवैलाई एक अर्काकै लागि यस धर्तीमा जन्म दिएका थिए सायद । नत्र पहिलो भेटमै एक अर्काप्रति किन त्यसरी आकर्षित बन्थ्यौँ होला र हामी । यद्धपि एक अर्काप्रतिको हाम्रो पहिलो भेटको त्यो बेजोड आकर्षण भगवानकै अर्को सृष्टिका लागि बीचैमा विकर्षणमा अनुवाद भएको थियो र त्यो पनि सदा सर्बदाको लागि ।
सुम्निमा , जस्तो नाम त्यस्तै रुप । अझ शील-स्वभाव र बोली-बचन त झनै अतुलनीय एवम् अबर्णनीय । हरेक शब्दहरुको पस्काईमा मिठो मुस्कुराहटको सम्मोहनता । प्रस्तुतिमा पनि त्यस्तै मिठास र नरमपन कहीं कतै रत्तिभर नबिझाउँने । एक अर्थमा भन्ने हो भने शारीरिक , बौद्धिक एबम् चारित्रीक लगायतका सबै गुणहरुले सम्पन्न एउटी सुशील , सभ्य र सुन्दर नारीको पर्याय थिइन् उनी ।
सार्थकताको गहिराइमा डुबुल्की मार्दा म जमानासंग टकराउँन पुग्छु । त्यो यौटा जमाना जुन जमानामा “पढ्यो लेख्यो के काम? हलो जोत्यो खायो माम ।”-लाई पिता-पूर्खाहरुको दिब्योपदेशको रुपमा ग्रहण गर्ने गरिन्थ्यो । यद्धपि जमानासंगै बदलिएको परिबेशमा मैले आफ्नो अध्ययनलाई भने माध्यमिक तहसम्म पुर्याइसकेको थिएँ त्यसबेला ।
स्कुले जीवनको प्रसंग ओकल्दा यहाँ छुटाउनै नहुने केही समय-सन्दर्भहरु पनि छन् । जब म आठ-नौ कक्षातिर थिएँ त्यतिबेला देखि नै म भित्र जवानीको भुत सवार भइसकेको थियो । भन्नैपर्दा विपरित लिंगीप्रतिको आकर्षणले मलाई अध्ययनमा कम र मायाँ-पृतीको खेलमा बढि लीन हुन उत्प्रेरित गरिरहेको थियो । जसको फलस्वरुप म कहिले गाईतिहारे औँशी र बालाचतुर्दशी मेला भर्न चतुरे डाँडामा पुग्थेँ त कहिले रामानवमी र कृष्णजन्माष्टमी घुम्म्ने बहानामा अमरपुरको बतासे डाँडामा हाजिर हुन्थेँ ।
सम्झँदा आज पनि कता-कता रोमाण्टिक पलहरुको अनुभूति हुन्छ मलाई । त्यो दिन आजकै दिन अर्थात बौद्धल्होसारको पबित्र दिन थियो र सधै झैँ त्यस दिन पनि म आफ्ना गाउँका दौतरीहरुसंग ठाँटिएर बौद्ध सँस्कृतिमा आधारित लामा नृत्यको दृष्यपान गर्न आगेजुङ गुम्बा पुगेको थिएँ । सायद उन्मुक्त बैँशको चरमोष्णताकै कारणले होला त्य्सबेला आजको जस्तो ठन्डीपन पटक्कै महसुस भएको थिएन मलाई ।
“आदर्श तिमी……………….?”
“किन म आउन नहुने थियो र?”
गुम्बा परिसरमा पाइला राख्दा नराख्दै भेट भएकी मेरी “क्लास फ्रेण्ड” नितिकासंगको रमाइलो ठट्टा थियो त्यो ।
“त्यसो भए आज चाहिँ धान नाच्नु पर्ला है आदर्श ।”
“धान मात्रै किन र नितिका , मौका मिल्यो भने जे जे नाचौँला नि ।”-जिस्किनमा खप्पिस मैले झनै उताउलो अभिब्यक्ति जाहेर गरेँ ।
मेरो अभिब्यक्तिले निरुत्तर बन्न पुगेकी नितिकाले केहीबेरमै आफ्ना गाउँका एकहुल केटीहरु जम्मा गरिन् र एक –अर्कालाई हातमा हात समाउन लगाउँदै धान-नाचको सुरुआतक्को शुभहुहूर्त गरिन् ।
वास्तबमा त्यो नै मेरो जीवनको यौटा अबिष्मरणीय पल थियो , कि जीवनमा पहिलोपल्ट मैले कुनै अपरिचित युवतीको मूलायम हातको स्पर्श गर्ने सौभाग्य प्राप्त गरेको थिएँ र त्यो युवती अरु कोही नभएर मेरो जीवनको पलभरको सहयात्री उनै सुम्निमा थिइन् ।
देख्दा जति नै सामान्य र बेअर्थको लागे पनि धान-नाचभित्रको गहन रहस्य साँच्चै नै बुझिनसक्नुको हुन्छ । संयोगले भेट भएको प्रसंगदेखि भबिष्यको सुन्दर फूल फूलाउने चाहानाहरुसम्मलाई कवितात्मक गीतिसम्बादकै भरमा अभिब्यक्त गर्ने गर्छन् धान-नाचका पारखीहरु । अझ बीच-बीचमा प्रसंगबस अभिब्यक्त हुन आइपुग्ने जीवन र प्रेमसित सम्बन्धित मिथकहरुले त कतिलाई आँशुको भावसागरमा चुर्लुम्मै डुबाइदिने गर्छन् त कतिलाई त्यहीँबाट प्रणयनाताको गोरेटोमा पाइला चाल्ने प्रेरणा समेत प्रदान गर्छन् ।
त्यसो त त्यो धान-नाचले मेरो लागि केटीहरुको हात समात्न प्रदान गरेको यौटा सुनौलो अवसर बाहेक अरु केही अर्थ राख्दैनथ्यो । किनकि गायकी कला र गला नभएको मजस्तो मानिसको लागि त्यसप्रति न कुनै आकर्षण थियो न त चाहाना नै । र , त्यो पनि यौटा संयोग नै भन्नु पर्छ कि ती केटीहरुको हुलमा पनि सुम्निमा भने म जस्तै धान-नाचमा अनभिज्ञ रहेछिन् ।
“खै त सुम्निमा जी ! हामी त दुवैजना धान-नाचमा पोख्त रहेछौं ।” घुमाउरो पारामा उनको चाहना बुझ्न खोजेँ मैले –“बरु यतै कतै बसेर गफसफ नै पो गर्ने हो कि?”
“त्यही त आदर्श जी ! जान्नु न तान्नु घचेडी माग्नु भने झैँ यहाँ बेकारको फन्को मारिरहनु भन्दा त बसेर गफसफ गर्न नै उचित होला ।”
उनले यसो भनिरहँदा तीनखोले ढाकाको खास्टोभित्रको उनको लजालु ओठ थर्थर काँपिरहेको प्रस्टै प्रतीत हुन्थ्यो ।
त्यसपछि हामी त्यही चउरको एक छेउमा बसेर आ-आफ्ना मनका भावनाहरु साटासाट गर्न थाल्यौँ । सायद किशोरावस्थाको विपरित लिङ्गीप्रतिको चरम आकर्षण र भावनात्मक समानताकै कारणले गर्दा होला थाहै नपाई हामीबीच अनायसै प्रेमको बीजारोपण हुनपुग्यो । यद्धपि त्यस कुराको अनुभूति भने छुट्टिने बेलामा मात्रै भएको थियो हामीलाई ।
त्यसको केही दिन पछि नै मेरो हिउँदे बिदा पनि समाप्त भयो र नितिकासंग भेट्ने मेरा उत्कट अभिलाषाहरु पनि स्वत पुरा भए । त्यसपल्टको मेरो बिद्धालय आगमनको सुरुआतदेखि नै म धेरै कुरामा फरक बन्दै गएँ । जब अलिकति एकान्त मिल्थ्यो नितिकाले मलाई “ज्वाइँ सा’ब” भनेर अचाक्ली जिस्काउँने गर्थिन् तर उनी मेरो “बेस्ट फ्रेण्ड” भएकीले म उनको जिस्काइलाई त्यति गम्भिर रुपमा लिदैनथेँ । बरु उल्टै घुमाउरो पारामा “आखिर हाम्रो जातीय परम्परामा जेठीसासुलाई पनि एक रुपैयाँ राखेर ढोगे त भ इहाल्छ रे नि ।” भनेर जिस्काउँने गर्थेँ । मैले यसो भन्दा उनी मलाई केवल नजर तर्ने मात्रै गर्थिन् । उनको त्यो नशालु हेराईले म झनै रोमान्चित बन्ने गर्थेँ ।
कुरै कुरामा एकदिन नितिकासित सुम्निमाका बारेमा धेरै कुराको जिज्ञासा राखेँ । मेरो जिज्ञासाको गाम्भीर्यतालाई बुझेरै होला सायद, उनले पनि सुम्निमाका सम्पूर्ण बायोग्राफी नै बताइन् मलाई ।
यौटा अर्धशिक्षित मध्यम बर्गीय किसान परिवारकी एक्ली छोरी भएर पनि “छोरीलाई धेरै लेख पढ गराए बिग्रन्छन् “ भन्ने सामाजिक कुधारणाको शिकार बनेर उनी टोलकै प्राथमिक बिद्धालयबाट पाँच कक्षा पास गरेपछि सधैँका लागि दाउरा-घाँस , मेला-पात र चुला-चौकामै सीमित बन्न पुगेकीथिइन् । यद्धपि उनका हरेक अभिब्यक्तिहरुलाई विश्लेषण गर्दा उनलाई अशिक्षित नारीहरुको पंक्तिमा उभ्याउन जोकोहीलाई पनि हम्मे नै पर्थ्यो ।
भलाकुसारीकै क्रममा यो पनि थाहा भयो कि उनले पनि मेरो बारेमा नितिकासंग यस्तै खाले जिज्ञासा पोखेकी रहेछिन् । त्यस कुराको जानकारीले त म झनै खुशी बनेँ र मभित्रका आकांक्षाहरुमा अरु थप उर्जा थपिएको महसूस गरेँ । अन्तत एकदिन मनका सारा भावनाहरु शब्दहरुमा समेटेर नितिका मार्फत उनलाई पहिलो प्रेम-पत्र पठाउँने हिम्मत गरेँ । सायद मेरो सौभाग्य नै मान्नुपर्छ कि प्रत्युत्तरमा उनले पनि आफ्ना भावनाहरुलाई त्यसरी नै ब्यक्त गरिन् । बिस्तार बिस्तारै हाम्रो प्रेमको टुसा पनि हुर्कदै र मौलाउँदै गयो र अन्तत एक-अर्काप्रतिको अभाव महसूसले दिनानुदिन हामीलाई अझ बढी बेचैन बनाउँदै लग्यो ।
त्यसको झन्डै दुई सालपछि मैले आफ्नो माध्यमिक तहको अध्ययनलाई पुरा गरेँ । यद्धपि उच्च शिक्षा अध्ययनका लागि पर्याप्त आर्थिक सबलता नभएका कारण एसएलसी पछिका मेरा केही समयहरु जागिरकै खोजीमा खर्च भए । तर जति नै कोशिस गरे पनि उचित रोजगारीको अवसरबाट बन्चित हुनुपरेकाले परदेसिनुको विकल्प देखिन मैले । फेरि त्यसबेलाको जमाना आज जस्तो विश्वभूमण्डलीकरणको अवस्थामा पुगिसकेको पनि थिएन । जसले गर्दा अमेरिका , जापान र यूरोपियन मुलुकहरुको कुरा त परै राखौँ मध्यपूर्बका खाडी राष्ट्रहरुमा समेत आज जस्तो रोजगारको सजिलो अवसर प्राप्त थिएन त्यसबेला । थिए त केवल त्यही छिमेकी मुलुक भारतका बिभिन्न सहरहरु –जहाँ बहदुर , गोर्खे र कान्छाका उपाधिहरुले शुसोभित हुन्थे हाम्रा नेपाली दाजु-भाइहरु । आखिर मैले पनि त्यही छिमेकी मुलुकको भारतीय गोर्खा सैनिकमा आफ्नो भाग्य परीक्षण गर्ने निर्णय गरेँ र त्यस कुराको जानकारी उनलाई पनि दिएँ ।
“आदर्श जी ! एकपेट दाल र रोटीका लागि बिदेसी माटोमा सिन्चन हुने तपाईका रगत र पसिनाहरुले यो देसको माटोलाई कहिल्यै उर्बर बनाउन सक्दैनन् , फेरि आमाको लाम्टा चुस्दा त केही हुन्न भने बुबाको घुँडा चुसेर त झनै के होला र?”
आफ्नो मुटुलाई आफूबाट अलग हुन नदिने मनशायले नै यस्तो अभिब्यक्ति पस्किएको भएपनि मैले उनका देसभक्ति भावनाहरु प्रष्टै दृष्यानुभूत गरेँ र उनकै आग्रह बमोजिम “लाहूरे” हुने सपनालाई सधैका लागि तिलान्जली दिएँ ।
उनीसितको पहिलो भेटको झन्डै तीनबर्षपछि हामी दुवैले यौटा नयाँ जीवनयात्रा तय गर्ने निर्णय गर्यौँ र उनकै सल्लाह बमोजिम एकदिन म गाउँकै एकजना बडाबा (जसलाई म तुम्बा भनेर सम्बोधन गर्थेँ) लाई लिएर रीतपूर्बक उनको हात माग्न उनको घर पुगेँ । अठार-उन्नाइस बर्ष पुगिसकेकी छोरीलाई कुटुम्बको हातमा जिम्मा लगाउन कुन बुबा-आमालाई हतारो हुँदैन र? पहिलो औपचारिक भेटमै उनका बुबा-आमा पनि मगनीको प्रस्ताबप्रति सकारत्मक नै देखिए । यद्धपि उ बेलाको चलन अनुसार सोत-रीतको मामलामा भने उनीहरुको ब्यबहार आवश्यक्ता भन्दा बढी नै ढोंगी रहेको थियो ।
त्यसो त कुटुम्बहको हातमा आफ्नो छोरी-चेली सुम्पनु अघि उनीहरुबाट सकेसम्म सुन-चाँदी , रुपैयँ-पैसा , राँगा-बुच्चा र जाँड-रक्सी असुल्ने लिम्बू जातिहरुको कथित जातीय संस्कार नै थियो त्यस जमानामा र उनको बुबा-आमाले पनि त्यही कथित परम्परागत संस्कारको नाममा म समक्ष तीनतोला सुन , दुईहजार नगद, यौटा राँगा , दुईटा बुच्चा र बीसपाथी रक्सी रीत स्वरुप बुझाउन मागदाबी पेश गरेका थिए ।
माइतिपक्षको मागदाबी उपर थपघटको प्रशस्तै जिकिर गर्नसक्ने प्रचलन रहँदै आएको भएतापनि सुम्निमाको चोखो एवम् पबित्र प्रेमलाई खुल्ला बजारमा किनबेचका लागि राखिएका भौतिक सामाग्रीहरु भन्दा बिल्कुल पृथक परिभाषामा समेट्नकै लागि मैले त्यस बिषयमा एकशब्द नबोल्न तुम्बालाई इशारा गरेँ । तुम्बाले पनि मेरो भित्री मनशाय बुझ्नु भएरै होला सायद, बरु जतिसक्दो चाँडो विवाहको शुभमुहूर्त निकाल्ने कुरामा जोड दिँदै माइतिपक्षका सबै प्रस्ताबहरु स्वीकार्य रहेको जानकारी दिनुभयो ।
विवाह पछिका हाम्रा दिनचर्याहरु अत्यन्तै खुशीका साथ बित्न थाले । बाबा , आमा र बहिनीबीच दिनदिनै प्यारी बन्दै ग इन् उनी । समयक्रमसंगै एकदिन उनी आमा बन्ने अवस्थामा पुगिन् र विवाहको एकसाल पुग्दा नपुग्दै छोरी दीक्षाको जन्म पनि भयो । त्यसपछि त झनै उनले पाउने स्नेह र मायाँमा अरु बढोत्तरी आउन थाल्यो । मैले पनि गाउँकै यौटा प्राथमिक बिद्धालयमा अध्यापनको अवसर प्राप्त गरेँ । घर-ब्यबहार पनि सबै चुस्त-दुरुस्त बन्दै गइरहेको थियो । एक अर्थमा भन्ने हो भने सिंगो परिवारमा खुशी नै खुशीको बर्षा भइरहेको थियो त्यसबेला ।
दीक्षा लगभग अढाई सालकी हुँदा उनी पुन: दोजिया बनिन् । अझ त्यसपल्ट त बाबा , आमा र बहिनीले उनलाई आवश्यक्ताभन्दा बढी नै मायाँ दिए । यहाँसम्म कि घरको सानो भन्दा सानो काम समेत छुन दिइन्नथ्यो उनलाई । जसको कारण दिनभर छोरी दीक्षासंग खेलेर समय बिताउनु नै उनको एक मात्र दिनचर्या बनेको थियो ।
आज-भोली भन्दा भन्दै उनको प्रसब-दिन पनि आइपुग्यो । तर , विडम्बना ! त्यो दिन नै उनको अन्तिम दिन बन्न पुग्यो । प्रकृतिको यौटा सुन्दर सृष्टिलाई निरन्तरता दिन खोज्ने क्रममा उनको दुखदायी दैहिक अवशान भयो । संगै जिउने संगै मर्ने सारा बाचा-कसमहरुलाई तोडेर उनी मबाट सदाको लागि टाढा बनिन् ।
"हाम्रो जीवनको सहयात्रा यहीसम्म मात्रै रहेछ । छोरी दीक्षाको राम्रो ख्याल गर्नु है आदर्श !"
प्रसब पीडाले अर्धचेत बनिसक्दा पनि उनको मुखबाट बारम्बार मुखरित भ इरहेको यस आग्रहलाई टाउको हल्लाएर "हुन्छ" को स्वीकृति दिनु बाहेक अरु कुनै बिकल्प थिएन मसंग ।
अहिले अनुमान लगाउँछु म । त्यसबेला आजको जस्तो घर पायकमा स्वास्थ-चौकी र अस्पतालहरु भइदिएको भए अथवा यातायातको सुबिधाको उपलब्धता मात्रै भइदिएको भए पनि त्यस्तो जवानीमै मृत्युसंग सायदै सम्झौता गर्नुपर्ने थियो उनले ।
जति नै सम्झे पनि आखिर अतित अतित नै हो जसलाई न फर्काउन सकिन्छ न त बदल्न नै । आज गाउँ-गाउँमा स्वास्थ-चौकी र अस्पतालहरु खुलेकाछन् । जसले मानिसहरुलाई अकालमा मर्नबाट त जोगाएकाछन् तर मृत्युको अनिवार्यतालाई चुनौती दिन सकेका छैनन् । बदलिंदै जाने समयहरुसंगै हरेक संरचनाहरुको परिवर्तन जरुरी हुन्छ । आज पारासिटामोल र ब्रुफिनले निदान हुने शीरदर्द भोलि बिनासर्जरी ठीक नहुन पनि सक्छ । त्यसैले हिजो र आजको तुलना होइन भोलिको बारेमा चिन्तन गर्नु नै मानव सभ्यताको दूरगामी बुद्धिमता ठहर्न सक्छ ।
"ड्याडी ! आफूलाइ सम्हाल्ने कोशिस गर्नुस् ।"
एकाएक कानमा प्रतिध्वनित हुनपुगेको छोरी दीक्षाको यो आवाजले झस्ंग हुन्छु । यथार्थको धरातलमा अवतरण गरेपछि पो बल्ल थाहा हुन्छ उनका परेलीहरु पनि आँशुले लछप्पै भिजिसकेक रहेछन् । सायद भावनाहरुको बहकाइमा उनको मनमा ठेस लाग्ने कुराहरु पो बोलेँ कि? म भित्रभित्रै सम्झने प्रयास गर्छु ।
"किन रोएकी छोरी?" आँशु पुछिदिदै अगाडि थपेँ मैले -"के ड्याडीले तिम्रो चित्त दुख्ने कुरा गर्नु भयो र?"
"हैन ड्याडी !" सुँकक-सुँक्क गर्दै रुग्ण आवाजमा बोलिन् उनी -"तपाईको दुखदायी जीवनकथा सुनेर अत्यन्तै दु:ख लाग्यो । हो, ड्याडी ! छतीभित्र यस्तो असह्य पीडा बोकेर पनि मेरो खुशीका लागि तपाईले आफ्नो खुशीको बलिदान दिनुभयो । भन्नैपर्दा मम्मी कस्तो हुनुहुन्थ्यो भन्ने कुरा तस्बीरमा देखेको बाहेक धमिलो सम्झनासम्म छैन मलाई । यद्धपि तपाईको न्यानो मायाँ र स्नेहका कारण उहाँको अभावको महसुस कहिल्यै गरिन मैले ।"
दीक्षाको कुरा सुनिसकेपछि भने म घाम जस्तै छर्लङ्गै भएँ । भावुकताको बेहोशीमा साँच्चै नै मैले आफ्न अन्तरमनका कुराहरु मुखरित गरेछु । आखिर मेरो जीवनको गोपनियताको पर्दाफास भइसकेपछि अरु कुरा लुकाइराख्नुको केही अर्थ देख्दिन म ।
"ड्याडी ! अब म पनि ठूली भइसकेकी छु ।" सम्बादकै क्रममाबोलिन् उनी -"आजसम्म जस्तो जिन्दगी जिउनु भएपनि कमसेकम बाँकी जीवनको बारेमा त गम्भीरतापूर्बक सोच्नुस् ।"
"छोरी ! तिमी बुझ्दिनौं यो कुरा ।" उनले मलाई दोस्रो विवाह गर्न उक्साउन खोजिरहेको आशय बुझेरै मैले आफ्नो मनको कुरा स्पष्ट राखेँ- "हो, छोरी ! जब म सोह्र बर्षसम्म त तिम्रै मुख हेरेर बाँचे भने अब यो ओरालो लागेको उमेरमा कसरी दोस्रो विवाहको कल्पना गर्न सक्छु र?" एक अर्थमा भन्ने हो भने म आफ्नो जीवनको क्षणिक खुशीका लागि तिम्रो खुशीमा खडेरी पार्न चाहन्न ।"
"ड्याडी ! मप्रतिको तपाईको मायाँ अनि आफ्नो चोखो प्रेमप्रतिको समर्पणलाई म पनि बुझ्न सक्छु र तपाई जस्तो ड्याडीको छोरी हुन पाएकोमा आफैलाई भाग्यशाली पनि ठान्छु ।" लामो भूमिका बाँधेर थपिन् उनले -"हो। ड्याडी ! आज म छु र पो मेरो मुख हेरेर बाँचिरहनु भएकोछ । तर, भोलि कुनै दिन मैले पराईको घर सजाउनै पर्छ । तब तपाईको बुढेसकालको साहरा को हुन्छ? कहिले सोच्नु भएकोछ तपाईले?"
मेरो भविष्यप्रतिको चिन्तामै उनका शब्दहरु मुखरित भएका भएतापनि कता कता नरमाइलो अनुभूति भयो मलाई । आखिर पखेटा लागेको चरीले हुर्किएको गुँडलाई होइन उम्नुक्त खुल्ला आकाशलाई नै आफ्नोसंसार बनाउन खोज्दोरहेछ ।
"ड्याडी ! के सोचिरहनु भएको?"
"केही होइन छोरी ! जीवनको वास्तबिकतालाई नियाल्ने जमर्को गरिरहेकोछु ।"
"मलाई थाहा छ ड्याडी ! आफ्ना जीवनका सारा खुशीहरु उधारो राखेर हुर्काए बढ्हएको आफ्नै छोरीले जब बुढेसकालको एक्लो बाबालाई छाडेर पराईघर जाने कुरा गर्छे त्यसबेला त्यो बाबाको हृदय कति छिया-छिया बन्छ भनेर । तर म यसो हुन कदापि दिन्न । आखिर म पनि त हजुरकै रगत हुँ र म भित्रका भावनाहरु पनि हजुरकै जस्तो स्वच्छ , कोमल र पबित्र छन् ।"
कस्तो ठ्याक्कै मिल्ने आमा छोरीको आनीबानी । सुम्निमाले पनि यसरी नै मेरो मन चोर्ने गर्थिन् बेला बेलामा । म पुन: सुदूर अतिततिरै बरालिन थाल्छु । अनायसै मेरा नजरहरु उत्तरी क्षितिजमा चाँदी झैँ टल्किरहेका हिमशृंखलाहरुमा टोक्किन पुग्छन् । त्यही उचाई , त्यही अटलता अनि त्यसभन्दा माथिको खुल्ला अनि फराकिलो आकाशमा उन्मुक्तसित उडिरहेका सिमलका भुवाहरु झैँ आभास हुने सेता अनि कन्चन बादलका प्यूरीहरु । जुन आजभन्दा तेइसबर्ष अघि पनि यसरी नै दृष्टिगोचर भ इरहेका थिए । फरक यति हो त्यसबेला मसंग मेरो पहिलो प्रेम सुम्निमा साथमा थिइन् अनि आज त्यही प्रेमको अमूल्य उपहार छोरी दीक्षा ।
अनायसै मनभरि अनेकौं तर्कनाहरु उठ्न थाल्छन् । हिजो , आज र भोलिको त्रिबेणीमा उभिएर जीवनको सार्थकतालाई बुझ्न खोज्छु । यद्धपि बितेका पलहरु साथमा नहुने र आउने पलहरु हातमा नहुने अकाट्य सत्यताका सामु मेरो बर्तमानको कुनै अर्थ र महत्व नजर आउँदैन । सायद यही नै जीवनको यथार्थ हो । छोरी दीक्षाको मुहारमा झल्किरहेको सुम्निमाको प्रतिबिम्ब नियाल्दै यही कुराको अन्दाज लगाउँछु म ।
("अनुभूतिका बिम्बहरु" कथा संग्रहबाट साभार गरिएको)