यसरी अस्तायो मैले देखेको सूर्य

- प्रमिला देवकोटा
'दिदी ! दिदी ! मोहन त मर्‍यो !'
सिनित्त सिगान तान्दै ६ वर्षीय धुमुर्सले सुनायो । उसको असली नाम धुर्मुस होइन । नेपाल टेलिभिजनको सिरियल 'मेरी बास्सै'का केटाकेटी फ्यानले उसको नामै धुर्मस राखिदिएका छन् । ऊ यस नाम(धुर्मुस) मा यति अभ्यस्त भइसकेको छ कि आफ्नो खास नामै बिर्सिसक्यो होला ।
चितवनको ३९ डिग्रीको घाममा रापिँदै घर पुगेकी थिएँ । झोला राख्न नपाउँदै धुर्मुसले सुनाएको समाचारले मलाई दुःखभन्दा बढी चिडचिडाहट महसुस भइरहेको थियो । किनभने, यो फुच्चे धुर्मुसको मुखबाट सुन्नुभन्दा धेरै अघि नै मैले मोहनको मृत्युको खबर पाइसकेको थिएँ ।

'को मर्‍यो भनेको ?' मैले मिनिएचर धुर्मुसलाई झर्केर सोधेँ ।
'मोहन के !' उसले जिब्रो निकालेर टोक्यो केही बेर । अर्थात्, सांकेतिक भाषामा मृत्यु जनायो ।

'हो र ? कहिले मर्‍यो ?' मैले यत्तिकै सोधिदिएँ । भनूँ मोहनको मृत्युबारे बेखबर भएको नाटक गरेँ । धुर्मुसलाई के थाहा ? मोहन मरेको भोलिपल्टै समाचार काठमाडौँ पुगिसकेको थियो ।
'अस्तिइइइ... नै !' उसले बल दिन हात माथि उठायो अर्थात् 'मोहन मरेको एक जुगै भइसक्यो' भन्ने बताउन खोज्यो । 'जंगलमा मरिराखेको रै'छ रे ! गुन्डाहरूले पिटेर मारेको रे ! पछि, त्यसलाई पुलिसले लग्यो रे,' रे रे को फुँदा गाँस्दै घटना-विवरण पेस गर्‍यो उसले । उसको अनुहारमा मोहन मरेको दुःख प्रतिविम्बित थियो । साथमा, मलाई समाचार सुनाउन पाउँदाको खुसीको पनि !'
'तिमी केटाकेटीलाई त मोहनले खुब लखेट्थ्यो नि, होइन ?' मैले निधारको पसिना पुछ्दै सोधेँ ।
'माया पनि गथ्र्यो नि,' उसले मोहनलाई ग्लोरिफाई गर्न खोज्यो, 'हामीले नाच् भनेपछि नाच्थ्यो । पैसा दिन्थ्यो, चकलेट दिन्थ्यो ।'
'हो र ?' मैले नपत्याएझैँ गरेँ ।
ऊ एकछिन् मौन रह्यो । उसका आँखा दिवंगत मोहनको तारिफ मागिरहेका थिए । तर, म त्यसो गर्ने मुडमा थिइनँ । मसँग मोहनका डरलाग्दा स्मृति थिए । मेरो बाल्यकालमा मोहन एकखाले आतंक थियो ।
०००
वैशाख महिना । तराईमा गर्मीका वेला प्रायः बिहानको स्कुल हुन्छ । बिहान साढे दसतिर स्कुल छुट्थ्यो । त्यसपछि हाम्रो काम हुन्थ्यो- 'फलाहार' खोज्ने । कसैका बगैँचामा पाकेका अम्बा हुन्, आँप हुन् या आरू । हाम्रा सिकारी नजरबाट ती बच्दैनथे । स्कुल छुटेपछि हाम्रो फलफूल हन्ट सुरु हुन्थ्यो । छुट्टी हुनासाथ सीधै घर गइँदैनथ्यो ।

तर, फलफूल हन्ट अलि खतरायुक्त हुन्थ्यो । बगैँचाका मालिकले देखे भने लखेट्थे । र, भेटे भने कुट्थे पनि । तर, जब हामी भाग्थ्यौँ, हामीलाई भेट्नु सरोकारवालाका लागि असम्भवप्राय हुन्थ्यो । तर, पछि कुटाइ खाने सम्भावना भने बलियो रहन्थ्यो । त्यसैले, अरूका बगैँचामा निर्धक्क पस्न सकिँदैनथ्यो । तर, त्यसो भनेर आफ्नो एड्भेन्चर त कहाँ छाड्न सकिन्थ्यो र ! वैशाखमा पाक्ने एउटा फल टिप्न भने हामीलाई खतरा थिएन । "काफल" । तराईतिर पाइने काफलमा बिया हुँदैन । काफलमा नुन-खुर्सानी छर्केर खानुको मज्जा...अहिले पनि सम्झिनासाथ मुखमा सररर पानी आउँछ ।
तर, काफलका सम्बन्धमा एउटा अप्ठ्यारो थियो । एक झर पानी नपर्दै खाएको काफलले हैजा ल्याउँछ भन्थे । यो हामी केटाकेटीका मनमा आतंक भरिदिन काफी थियो । तर, यसको मतलब हैजाका डरले पाकेका काफललाई बोटमा यत्तिकै छाडिदिने मूर्खता हामी कहाँ गर्न सक्थ्यौँ र ! यत्ति हो, पानी नपरिन्जेल काफल कम खाइन्थ्यो ।
हाम्रो घर पुग्न नहरको बाटो हुदै जानुपर्थ्यो । म र मेरी दिदी शर्मिला प्रायः सँगै हुन्थ्यौँ, जहाँ जाँदा पनि र जे गर्दा पनि । हामी खुब मिल्थ्यौँ । हामी दुईजनालाई के 'थाहा' थियो भने दिउँसो १२ बजे भूत आउँछ । बालमनोविज्ञानमा खाँदी खाँदी डर भरिदिन सिपालु थिए बूढापाका- 'फलानो ठाउँमा नजानू, नांग्लोजत्रो कान भएको भूत आउँछ, बेलुका दोबाटोतिर ननिक्लनू, पछाडि खुट्टा र्फकेकी किचकन्या आउँछे ।' राँकेभूत, मुर्कट्टा, मसान, के-के हो के-के ? हामी केटाकेटीलाई 'ठीक पार्न' भूतको असंख्य बटालियन तम्तयार थिए । तर, एकदिन काफल खाएर घर फर्किंदा १२ बजिसकेको थियो । नहरको दुईतिर सिसौका रूख हार मिलाएर उभिएका थिए । तिनका साथमा स-साना बुट्यान । झाडीमा जो पनि सजिलै लुक्न सक्थे । बाटो सुनसान थियो । किरा कराइरहेको कर्कश आवाजले कानै 'रनन्न' पारिरहेका थिए । डरले मुटु थरथर काँप्दै थियो । ठूलाबडा र बुज्रुकहरूका मुखबाट सुनेका दन्त्यकथाका भयानक, भयानक भूत त्यस एकलासको बाटोबाट निक्लिएर हामी दुई दिदीबहिनीलाई एकै गाँस पार्न के बेर ! हामीले परसम्म नजर दौडायौँ- कुनै जीव देखिएन । हामी केमा शतप्रतिशत 'विश्वस्त' थियौँ भने भूत कुलाको छेउछाउ बस्न बढी रुचाउँछन् ।
नभन्दै, एउटा कालो आकृति देखापर्‍यो केही पर, कुलाको डिलमा । कालो कपाल र कालो अनुहार भएको र कालै लुगा लगाएको कालो स्वरूप ! उसको शरीरमा केही सेतो थियो भने उसको दाँत । यो कालो र सेतोको कन्ट्रयास्टले त्यस भूतलाई झन् भयावह बनाएको थियो ।
'मोहनभाइ सूर्य !' उसले ठूलो स्वरमा करायो, 'केटीहरू काफल खाएर आएका ?' हामी दिदीबहिनीको सातोपुत्लो उड्यो । हंसले ठाउँ छाड्यो । हामी भएभरको बल लगाएर भाग्यौँ । जसरी, बाघ देखेर मृग भाग्छ, त्यसरी भाग्यौँ । मुटु भट्याक-भट्याक धड्किरहेको थियो । मानौँ, छाती फोरेर बाहिर निक्लेलाजस्तो । अघिपछि भए घर पुग्न १० मिनेट लाग्थ्यो । तर, हामी तीन मिनेटमै पुगेछौँ । घडी नहेरे पनि अनुमान लगायौँ । १० मिनेटको बाटो तीन मिनेटमा पार गर्‍यौँ । ज्यानको भयले हामीलाई बाइपंखी घोडा बनाइदिएको थियो ।
०००
घर पुग्दा हामी कालो-नीलो भएका थियौँ । सातो गएजस्तो । धपेडीले स्वाँ-स्वाँ गरिरहेका थियौँ, खलातीझैँ ।
'के भो ?' आमाले सोधिन् ।
'हामीले भूत देख्यौँ,' हामीले भन्यौँ ।
'कस्तो भूत हो ?' आमाले सोधिन् ।
'कालो पूरै कालो । दाँत मात्रै सेतो थियो,' हामीले बतायौँ ।
'के भन्छन् ?' उल्टै, आमा फन्किइन् ।
'हो, भूतै हो,' हामीले काँपेको आवाजमा पुष्टि गर्न खोज्यौँ ।
आमाले पत्याइनन् । हामी अझै काँप्दै थियौँ डरले ।
करिब दुई घन्टापछि हाम्रो घरअघिल्तिरको चौतारोमा त्यही भूत लडिरहेको थियो, डङरङ । हामीले आमालाई बोलाएर देखायौँ, 'अघि हामीले देखेको भूत !'
'त्यो त मोहन हो । तिमीहरू बहुलायौ,' आमाले भनिन् ।
०००
एक दिन पानी परिरहेको थियो । रातको त्यस्तै आठ बजेको हुँदो हो । त्यही नहरको खतरनाक बाटो गइरहेका थियौँ । त्यसमाथि चिप्लोबाटो । हामीसँग ठूलो, थोत्रो साइकल थियो । दिदीले चलाएकी थी । म पछाडि बसेकी थिएँ । । केही पर भैंसीजस्तै लाग्ने छाया देखियो । दिदीले भनी 'हेर त भैँसी बाँधेका रहेछन्, हान्ने हो कि ?' तर, त्यो बाटोमा बिजुलीको एउटा खम्बा पनि थिएन । हामी डराइ-डराइ जाँदै थियौँ । त्यो कालो भैँसी नै थियो । बाटोको छेउतिर चेप्दै अगाडि बढ्यौँ हामी । अचानक कालो भैँसी करायो, 'ऐया...को मोरा

हँ ?' साइकलका पांग्राले सायद त्यसको खुट्टा कुल्चिएका थिए । आवाज मोहनको जस्तै थियो । तर, त्यहाँबाट बचेर भाग्ने सुरमा हामीले त्यो मान्छे चिन्ने खतरा मोलेनौँ । मोहन बाचिन्जेल ऊ अगाडि पर्दा हामीलाई डर लागिरहन्थ्यो- 'यसले चिन्यो कि ?'
०००
गाउँमा मोहनलाई चित्त नबुझ्ने काम गर्नु रेडियोबाट विज्ञापन फुकाउनु जत्तिकै हुन्थ्यो । ऊ चौबीसै घन्टा 'टिल' हुन्थ्यो । रक्सीको परिमाणकै अनुपातमा उसको मुख चलिरहन्थ्यो । गाउँमा सुनेका मन नपरेका खबर एक राउन्ड नसुनाएसम्म उसलाई निद्रा लाग्दैनथ्यो । चौबीसै घन्टा बर्बराइरहन्थ्यो, फलाकिरहन्थ्यो । टाइफाइडग्रस्त मान्छेझैँ । अलि चर्को आवाजमा मोहनलाई बोलाउने केटाकेटीलाई ऊ न्वारनदेखिको बल निकालेर लखेट्थ्यो । तर, कसैलाई कुट्दैनथ्यो ।

राति-राति मोहन कराउँदा निदाउन नपाउनेभन्दा मोहनका नाममा केटोकटी सुताउन पाउने बढी थिए । केटोकटीले भात नखाँदा, स्कुल नजाँदा या पसलको चकलेटमा झुम्मिँदा उनीहरूलाई तर्साउन र तह लाउन मोहनको नाम काम लाग्थ्यो । एकप्रकारले ऊ गब्बरसिंह थियो । अस्तव्यस्त लुगा, सम्भार नगरिएका दाह्री र कपाल र रक्सीको मातमा कराइरहने बानी, केटाकेटी मोहनदेखि तर्सिने भइहाले ।
तर, ऊ कसैको हानि-नोक्सानी गर्दैनथ्यो । अरूका मूलाको पातसमेत डग्दैनथ्यो । लोभ-लालच केही थिएन, उसमा । दिनभरि काम गर्थ्यो र कमाएको बेलुका सक्थ्यो । ऊसँग जेथापुँजी केही पनि थिएन । भोलिको चिन्ता नभएको बिन्दास मजदुर थियो ऊ । 'पाखुरा बलिया भएसम्म केको चिन्ता ?' ऊ निश्चिन्त थियो । गाउँमा हुने भोजभतेरमा मोहनलाई देख्न पाइँदैनथ्यो । 'अरूको सित्तैमा खानुहुँदैन,' उसको दर्शन यही थियो । तर, जाँड-रक्सीका मामलामा भने उसको दर्शनले हावा खान्थ्यो । कसैले जाँड खुवाए नाइँ भन्न जान्दैनथ्यो ।
०००
मोहन यो गाउँमा कहिले आयो, कसैलाई थाहा छैन । सबैसँग एउटै बनिबनाउ उत्तर हुन्छ, 'हामीले देखेदेखि यहीँ छ ।
जाडको तालमा मोहन कहिलेकाहीँ मध्यरातमा कुर्लन्थ्यो, 'मोहनभाइ सूर्य हो, मेरो नाम । बाराको रतनवा मेरो घर । '
मोहनका विषयमा गाउँलेलाई जम्माजम्मी यति जानकारी थियो, 'ऊ ११/१२ वर्षको उमेरमा यो गाउँ छिरेको हो र ऊ मधेसी हो ।'
मोहन कहिल्यै बारा र्फकेन । उसलाई खोज्न यो गाउँमा कोही आएनन् । यति लामो समय बसेर पनि ऊ जोगीजस्तो बास माग्दै हिँड्थ्यो । उसले आफ्ना लागि कहिल्यै घर बनाएन । अझ भनूँ, बनाउन सकेन । बनाउने सपना पनि थिएन होलाजस्तो लाग्छ ।
तीन चिज मोहनलाई असाध्यै प्रिय थिए । पहिलो थियो- सूर्य । यो शब्द उसले आफ्नो नामपछाडि झुन्ड्याएको थियो । एमालेको अन्धभक्त थियो । तर, सायदै उसले भोट हाल्यो । चुनावताका एमालेको प्रचार गर्न पनि हिँडेन । तर, एमाले भनेपछि ऊ भुतुक्कै हुन्थ्यो । उसको एमालेप्रेम एकदम प्लेटोनिक-आध्यात्मिक थियो, भावनाप्रधान । उसको दोस्रो प्रिय चिज थियो- रक्सी । दिनको सुरुवात नै रक्सीबाट गर्थ्यो । आफूले आश्रय लिएको घरमा भन्थ्यो रे ! 'म मर्दा अलिकति रक्सी मुखमा हालिदिनू ।' र, तेस्रो प्रिय चिज थियो- जंगल । कैयौं रात उसले जंगलमै बिताएको थियो ।
०००
केही वर्षअगाडि मोहन जंगल जाँदा गैँडाले आक्रमण गरेछ । गम्भीर घाइते भएको थियो ऊ । गाउँका एक दयालुले उसलाई भरतपुर अस्पतालमा सित्तै उपचार गराइदिए, भनसुन गरेर । निको भएर ऊ फेरि गाउँ फर्क्यो । ऊ बाँचेको देखेर गाउँले दंग थिए । उनीहरू भन्थे, 'गैँडाले हान्दा नमरेको यो अब हत्तपत्त मर्दैन ।' गैँडाको आक्रमणपछि भने मोहन केटाकेटीलाई कम तर्साउँथ्यो । गोजीमा भएको सबै पैसा लुटाउँथ्यो कहिलेकाहीँ ।

अघिल्लो वर्षको फागु पूणिर्मामा ऊ जंगल गएको थियो । मोहनले आश्रय लिएको घरकी आमाले 'पूणिर्माको दिन जंगल नजा' भनेकी थिइन् रे ! तर, मोहनले सुनेन । भोलिपल्ट ती आमालाई खबर आयो- मोहन मारियो रे !
अपराधको घटना थियो । त्यसैले लास प्रहरीले उठायो । पोस्टमार्टम गर्‍यो । त्यसपछि सायद फाल्यो कतै । जंगलमा कसले कुट्यो, प्रहरीले अनुसन्धान गरेन, चाहेन पनि । उनीहरूका लागि मोहन खोजिनलायक पात्र थिएन, उसका लागि प्रहरीलाई घच्घच्याउने पनि कोही थिएनन् ।

कहिले तर्साउने, कहिले लखेट्ने, कहिले चकलेट दिने, कहिले हाम्रा लागि नाचिदिने ! मोहनभाइ 'सूर्य' को अचम्मको 'क्यारेक्टर' थियो ।
pamee.devkota@gmail.com

No comments:

Post a Comment

- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।