भरत केसी / बुटवल
सिद्धार्थ गौतमबुद्धको जन्मस्थल लुम्बिनी बैद्धमार्गीहरुका लागि जति महत्वपूर्ण मानिन्छ त्यतिकै महत्वपूर्ण बुद्धलाई जन्म दिने आमा मायादेवी, उनलाई पालनपोषण गर्ने सानिमा गौतमी प्रजापति र उनकी धर्मपत्नी यशोधराको जन्मथलो मानिन्छ । तर, यस्तो महत्वपूर्ण क्षेत्र उनीहरुको जन्मथलो अहिलेसम्म पनि यकिन हुन सकेको छैन । मायादेवीको माइती अर्थात् बुद्ध मावली भनेर रुपन्देहीको देवदह क्षेत्रलाई दाबी गर्दै आए पनि यसको पुरातात्विक तथा प्राचीन प्रमाण अहिलेसम्म पनि फेला नपरेकाले यो नै बुद्ध मावली क्षेत्र हो भनेर पुष्टि भइसकेको छैन।
बुद्ध जन्मस्थल लुम्बिनी र शाक्य वंशको राजधानी कपिलवस्तुको तिलौराकोट दरबार क्षेत्र १०० वर्षअघि सन् १८९६ मा वास्तविकता पत्ता लगाइएको भए पनि बुद्ध मावली क्षेत्र पत्ता लगाउन अहिलेसम्म पनि उत्खनन् हुन नसक्दा वास्तविकता पत्ता लाग्न नसकेको हो।
बुद्ध धर्मग्रन्थ त्रिपिटकका अनुसार रोहिणी नदीदेखि पूर्व नारायणी नदीदेखि पश्चिमको भू-भाग तत्कालीन कोलियराज्य भएको इतिहासविद्हरुको भनाइ रहेको छ। यही अनुमानका आधारमा रुपन्देहीको भवानीपुर, कन्यामाई, खयरडाँडा, कुमारवर्ती, घोडाहा, बैरिमाई र बङ्गलाबङ्गली क्षेत्र कोलिय राज्यको दरबार क्षेत्र हुन सक्ने अनुमान गरी रुपन्देहीको देवदह क्षेत्रलाई बुद्ध मावली भएको अनुमान गरिँदै आएको छ। तर, उक्त कुरा उत्खनन पछि मात्रै पक्का हुन सक्ने पुरातत्वविद् प्रकाश दर्नाल बताउँछन्।