"साउदी अरबका श्रमिक समस्या समाधानमा नेपाली दूतावास र एनआरएनए" अन्तरक्रिया कार्यक्रम सम्पन्न

- विष्णु प्रसाद चापागाईं

एन. आर. एन. ए. क्षेत्रिय समन्वय समितिको आयोजनामा आज साउदी अरबको दमाम शहरमा “साउदी अरबका श्रमिक समस्या समाधानमा नेपाली दूतावास र एनआरएनए” अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाली दूतावास साउदी अरबका महामहिम राजदूत श्री उदयराज पाण्डेज्यूको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा पुर्बी क्षेत्र क्षेत्रिय समितिका अध्यक्ष श्रीकृष्ण श्रेष्ठज्यूले सभापतित्व गर्नु भएको थियो ।

पुर्बी क्षेत्रिय लेबर टास्क फोर्स कमिटीका सदस्य चिन्तामणी राजनले सञ्चालन गर्नुभएको यस कार्यक्रममा एनआरएनए साउदी अरबका अध्यक्ष धरम के.सी. तथा आइसिसी मनोनित सदस्य यस्मिन वेगम बिशेष अतिथी हुनुहुन्थ्यो भने अतिथिहरुमा एनसिसीका प्रमुख सल्लाहकार तारा भण्डारी, सल्लाहकार त्रय चोला पाठक, राजु सैयद र मनोज विष्ट, महा सचिव तथा दूतावास प्रतिनिधी पुरुषोत्तम श्रेष्ठ, सह कोषाध्यक्ष नारायण पासवान, सदस्य द्वय सूर्य श्रेष्ठ र चन्द्र प्रकाश भण्डारी, प्राज्ञ डा. युद्ध बहादुर क्षेत्री, चार्टर्ड एकाउण्टेन्ट अल सुवाइदी कम्पनीका फाइनान्स म्यानेजर राजेश बुढाथोकी, प्रबासी नेपाली सेवा समितिका अध्यक्ष हेम कुमार खडका, नेपाली जन प्रगतिशिल मञ्चका सचिव बिबेक लामा, तामाङ सेवा समितिका अध्यक्ष पुर्ण लामा, बिश्व नेपाली साहित्य महासंघका बिष्णु ‘बैकुण्ठे’ तथा म्यानपावर ब्यवसायी बालकृष्ण श्रेष्ठ रहनुभएको थियो भने संघका पञ्जिकृत सदस्य तथा पीडित कामदारहरूको पनि उलेख्य उपस्थितीले सभाकक्ष भरिएको थियो ।

क्षेत्रिय समितिका सल्लाहकार तथा एनसिसी सदस्य सूर्य श्रेष्ठको स्वागत मन्तब्यबाट शुरू भएको यस कार्यक्रमको पहिलो सत्रमा दमाम स्थानिय समितिको घोषणा गरियो जसमा चिन्तामणी राजन अध्यक्ष, जय आले प्रथम उपाध्यक्ष, अब्दुर रहीम द्वीतिय उपाध्यक्ष, बिनोद भारती सचिव, जहरूद्दिन कोषाध्यक्ष, तथा बिक्रम राई र अर्जुन घिमिरे सदस्यमा रहनुभएको छ । नव गठित स्थानिय समितिका पदाधिकारीहरूलाई एनसिसी अध्यक्षले परिचय पत्र (ब्याज) प्रदान गर्नुभयो भने क्षेत्रिय अध्यक्षले सपथ ग्रहण गराउनुभएको थियो ।
त्यसपछिको शून्य समयलाई सदुपयोग गर्दै एनसिसी सल्लाहकार तथा आइसिसीको हालै गठित ‘सामुहिक लगानी टास्क फोर्स’का सदस्य चोला पाठकज्युले एनआरएनएको बिशेष पहलमा एनआरएनहरूको कम्पनी स्थापना गरी नेपालमा जलविद्युत लगायतका क्षेत्रहरूमा सामुहिक लगानी गरिन लागेको जानकारी दिनुभयो । साथै वहांले एनआरएनएको बिशाल सञ्जालभित्र बिश्व भरिका अनुभवी, खारिएका, ज्ञानी, पूंजीपति र क्षमतावान एनआरएनहरूको सशक्त समुह रहेको, कुनैपनि एनआरएनहरूले रू. १ लाख देखि १ करोडसम्मको सेयर किनेर लगानीकर्ता बन्नसक्ने र स साना लगानीकर्ताहरूले पनि समुह बनाई सामुहिक प्रतिनिधी मार्फत यस सामुहिक लगानीमा सामेल हुनसक्ने गरी कम्पनी स्थापना हुनलागेकोले सबै एनआरएनहरूलाई निशंकोच यसमा सहभागी भई नेपालले अन्यदेशबाट मागेर लिने प्रवृति र प्रथाको अन्त्य गर्दै नेपालको बिकासमा र स्वदेशमै रोजगारी प्रबर्द्धन गर्ने यो अभियानमा सहभागी हुन आह्वान गर्नुभयो ।
त्यसपछिको अन्तरकृया सत्रमा एनआरएनए एनसीसी अध्यक्ष श्री धरम के.सी.ज्यूले साउदी अरबको रोजगारमा रहेका नेपाली श्रमिकहरुका समस्या समाधानका लागि एनआरएनए साउदी अरबको हालसम्मको भूमिका र पहलहरू समेटिएका सात बुंदाहरू लिखित रूपमा प्रस्तुत गर्नुभयो । (बिस्तृत बिवरण तल हेर्नुहोला) । साथै गतः ३० डिसेम्बर २०११ मा साउदी अरबका दुई प्रमुख समस्याहरू (१) भगौडा कामदारहरू र (२) घरेलु महिला कामदारहरू बारेमा ७-७ बुँदे सुझावपत्र राजदूतज्यु समक्ष पेश गरिएको र दूतावासको बिशेष पहलमा ती मध्य धेरै बुंदाहरू हाल कार्यान्वयन समेत भैरहेको जानकारी समेत दिनुभयो ।
राजदूत उदयराज पाण्डेयले सामुहिक लगानीका बारेमा बोल्दै आंफुले नेपालमा १०० मेगावाटको हाइड्रो प्रोजेक्टमा लगानी गर्नका लागि साउदीलाई तयार बनाई त्यसको बिस्तृत योजना (DPR) तयार पारिदिन नेपाल सरकारलाई ४ महिना अघि नै अनुरोध गरेकोमा नेपाल सरकारकै ढिला सुस्तीका कारण उक्त प्रोजेक्ट अघि बढ्न नसकेको, साथै नेपालको हिमाली मुलहरूको पानी पिउनका लागि साउदी अरब ल्याउने र चुरे क्षेत्रमा ‘अर्गानिक’ खेतीका लागि साउदीहरूलाई लगानी गरी त्यहां उत्पादित अर्गानिक भेजिटेवल (तरकारीहरू) साउदीमा ल्याउने प्रस्ताव साउदीहरू माझ राखेकोमा सो को सकारात्मक प्रतिउत्तर मिलेको जानकारी दिंदै एनआरएनहरू नै यसरी स्वदेशमा लगानीका लागि अघि सरेको सुन्दा आंफु झनै उत्साहित बनेको र नेपाली दूतावास साउदी अरबले यस्तो शुभकार्यमा आवश्यक सबै सहयोग गर्ने बताउनुभयो ।

बैदेशिक रोजगारीमा देखिने समस्याको जरा नेपालमै रहेको हुंदा धेरै समस्याको समाधान पनि नेपालबाटै खोज्नुपर्ने स्थिती रहेको, हाल नेपाली दूतावासको स्वीकृति बिना कुनैपनि भिषा नेपाल नजाने र दूतावासले हाल १ हजार साउदी रियाल भन्दा कम तलब रहेका कुनै पनि भिषालाई स्वीकृति नदिएको, साउदीहरू दूतावासले अघि सारेको १५ बुंदे मापदण्ड मान्न तयार नदेखिएकोले आफ्नो अनुरोधमा हाल साउदी सरकारले नै नेपाली घरेलु महिला कामदारहरूको भिषा रोक्ने निर्णय गरेको जानकारी दिनुभयो ।

भगौडा कामदारहरूका बारेमा २ दिनपछि साउदी श्रम मन्त्रीसंग तय भएको बैठकमा निश्चित प्रस्तावहरू राख्ने, नेपाली भगौडा कामदारहरूलाई कतिपय नेपालीहरूले नै ‘कमाउ धन्दा’ बनाएको जानकारी आंफूले पाइसकेको, त्यस्ता दलालहरूलाई हाल चेतावनी दिएको र तिनीहरूको त्यस्तो धन्दा नरोकिए आंफूले ती नेपाली दलालहरूबिरूद्ध पनि कार्बाही थाल्ने जनाउंदै यस्ता समस्या समाधानका लागि नेपाली समुदायको पनि सहयोग चाहिएकोले एनआरएनएको सांगठनिक सञ्जाल साउदी अरब भित्र अझै फैलाउन अनुरोध गर्नुभयो ।

जेद्धामा कन्सुलेट अफिस खुल्ने तर दमाममा खुल्न नसक्ने हुंदा यहां दूतावासको एकजना कर्मचारी स्थाईरूपमा राख्नका लागि नेपाल सरकार समक्ष बजेट र दरबन्दी माग गरि पठाइसकेको जनाउंदै त्यतिञ्जेल एनआरएनए र यहां कृयाशिल सामाजिक संघ संस्थाहरूले स्वयंसेवा गरी दूतावासलाई सघाउन अनुरोध गर्नुभयो । वहांले साउदीअरबमा हुने बहुसंख्यक मृतकहरुको पोष्टमार्टम रिपोर्टमा बिष सेवनबाट मृत्यु भएको लेखिएको र यसो हुनुको प्रमुख कारण गैर कानूनी तवरमा अखाद्यवस्तुहरूबाट उत्पादित रक्सी सेवन भएको र यसलाई हटाउन सम्पूर्ण नेपालीहरुहरुले आ-आफ्नो क्षेत्रबाट जनचेतना फैलाउनुपर्ने कुरामा ध्यानाकर्षण पनि गराउनुभयो ।
यसैगरी महासचिव श्री पुरुषोत्तम श्रेष्ठले नेपालीले नेपालीलाई भन्ने अवधारणालाई आत्मसाथ गरेर एनआरएनए अघि बढेको र श्रमिक समस्या समाधानको लागि आफूले आफ्नो रोजगारदातालाई समेत यदाकदा झेल गर्दै आफ्नो परिवारलाई पनि समय नदिएर स्वयंसेवकको रुपमा खटिरहेकोले आफूलाई सम्बन्धित क्षेत्रबाट सहयोग गर्नुपर्ने आवाज उठाउनुभयो भने आइसिसी मनोनित सदस्य श्रीमति यस्मिन वेगमले साउदी अरबमा नेपाली महिला घरेलु कामदारहरुको समस्या अप्रत्यासित रुपमा बढ्दै गइरहेको तर पनि आंफू महिला कामदारहरूलाई साउदी आउनमा बन्देज गर्ने होइन परन्तु ब्यवस्थित गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
उपरोक्त प्रस्तुतीहरू पश्चातको प्रश्नोत्तर सत्रमा बिभिन्न सहभागीहरूले आ आफ्ना प्रश्न, जिज्ञासा र समस्याहरू राख्नुभएको थियो जसको जबाफ महामहिम राजदूतज्यु र एनआरएनए साउदी अरबका अध्यक्षले दिनुभएको थियो । प्रश्नोत्तरको यो सत्रलाई सहजकर्ताको भूमिकामा एनआरएनए एनसिसीका प्रमुख सल्लाहकार तारा भण्डारीज्युले सञ्चालन गर्नुभएको थियो ।
अन्त्यमा क्षेत्रिय समितिका कोषाध्यक्ष शिव नारायण यादवले सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रमको समापन मन्तब्यमा क्षेत्रिय समितिका अध्यक्ष श्रीकृष्ण श्रेष्ठले दमाममा दूतावासको स्थाई वैतनिक कर्मचारी छिटै खटाइयोस भन्ने माग राख्दै हाल एनआरएनएप्रति कामदारहरूको आस्था जाग्न थालेको र अहिले ‘एनआरएनएको सदस्य बनिदिनोस’ भन्नु नपरेको परन्तु “म एनआरएनएको सदस्य बन्न चाहन्छु” भन्नेहरूका कारण हालै मात्र पञ्जिकृत सदस्य संख्यामा उल्लेख्य बढोत्तरी भएको जानकारी दिंदै तर एनआरएनएबाट आफ्ना सदस्यहरू र आम कामदारहरूका समस्याहरू समाधानमा पनि बिशेष भूमिका र पहलकदमीको खांचो देखिएको स्मरण गराउनुभयो । अन्तमा हालै प्रकाशित एउटा लेखको अन्तिम वाक्य उद्धृत गर्दै भन्नुभयो “महामहिमज्यु, तपाईले सांच्चै राम्रो गर्दै हुनुहुन्छ, यसैले अगाडी बढ्नुहोस, हामीसबै तपाईको पछाडी छौं”।
यस कार्यक्रमको लगत्तै बसेको पुर्बी क्षेत्रिय समितिको बैठकले स्थानिय लेबर टास्क फोर्स कमिटी गठन गर्दै दमाम एरियाका लागि बिक्रम राई र कतिफ एरियाका लागि रामचन्द्र निरौलालाई श्रमिक समस्याहरूलाई स्थानीय स्तरदेखि नै हेर्ने, बुझ्ने र समाधानकालागि पहल गर्ने जिम्मेवारी दिने निर्णय गर्यो ।
साउदी अरबको श्रमिक समस्या समाधानमा एनआरएनए साउदी अरबको भूमिका र पहल
  1. श्रमिक समस्याहरूको निरन्तर अध्ययन, सुनुवाई, समाधानका लागि माध्यम, सहजकर्ता र पुल जस्तै बन्दै आएको 
  2. साउदी अरब भित्र र मध्यपुर्ब क्षेत्रमा भएका एनआरएनएका सभा सम्मेलनहरू तथ यस संघको बिश्व सम्मेलनमा समेत श्रमिक समस्याहरूलाई प्रमुख मुद्धाका रूपमा उठाउंदै आएको
  3. आफ्नै वेभ साइट तथा अन्य मिडियाहरूमा समेत श्रमिक समस्याहरूलाई निरन्तर उजागर गर्दै राष्ट्रिय अन्तराष्ट्रिय ध्यानाकर्षण गर्दै गराउंदै आएको
  4. साउदी अरबभित्र रियाद, दमाम र जेद्धा क्षेत्रमा लेबर टास्क फोर्स कमिटीहरू समेत गठन गरी श्रमिक समस्या समाधानमा सरिक बनेको
  5. एनआरएनए साउदी अरबका उपाध्यक्ष, महा सचिव र प्रमुख सल्लाहकार नेपाली दूतवासका अवैतनिक प्रतिनिधि बनी श्रमिक समस्या समाधान तथा उद्धार कार्यमा दूतावास र समाजकै प्रत्यक्ष हेल्पिङ ह्याण्ड बन्दै आएको
  6. एनआरएनए साउदी अरबको मातहतमा एनआरएनए कल्याणकारी कोष तथा महिला उद्धार कोषहरूको स्थापना गरी पीडित पुरूष तथा महिला कामदारहरूको उद्धारमा आर्थिक सहयोग पुर्याउंदै आएको ।
  7. हालै एनआरएनए साउदी अरबका अध्यक्षको संयोजकत्वमा एनआरएनए आइसिसी अन्तर्गत ‘बैदेशिक रोजगार सूचन केन्द्र’ स्थापना भएको र यो केन्द्रले छिटैनै बैदेशिक रोजगारमा आउने कामदारहरूका लागि बिशेष जानकारी मूलक हाते पूस्तिका निकाल्ने लगायतका चेतनामूलक कार्यहरू गर्दै ।

No comments:

Post a Comment

- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।