– भारती गौतम
‘हरेक कुरा म बुझ्छु किनकी ती सबैलाई म माया गर्छु' -लियो टल्सट्वाय ।
माया, प्रेम, लभ नसोचौं भन्दा पनि भ्यान्टाइन्स डे को निकटताले यस्तो नसोची धरै दिएको छैन । वर्षभरीको प्रेम, वर्षभरीको अभिव्यक्ति सबै एकैपटक वषिर्ने यो प्रेममय मौसमले जबर्जस्ती सबैको मन, वचन र कर्म भित्र प्रेम घोल्ने प्रयास गरेको छ ।
हिमाल ओर्लेर आएजस्तो हिउँ घर आँगनभरी ओछिएको भए पनि, वसन्त बाटैमा आउँदै भए पनि, सूर्यका किरणहरुले जमिनमा धेरैबेर बस्न रहर गर्न नथालेको भए पनि मान्छेको हृदयमा प्रेमको फूल फुल्न खाँचो भएको छैन । वर्षभरीका सम्झिएर बिर्सिएका या बिर्सिएर सम्झिएका अभिव्यक्तिहरुले निकास पाउने या निकास पाउनुपर्ने भ्यालेन्टाईन्स डे आफैं व्यस्त देखिन्छ ।
दोकानका महत्वपूर्ण कुनाहरु चकलेट, मीठाई र राता अनि गुलावी रंगका कार्डहरुले सिंगारिँदा, फूल बेच्ने पसलहरु रंग रंगका गुलावले बैंश जस्तै फक्रिँदा, गहना पसलहरु बिहेको दुलही जस्तै भित्रको खुशीलाई शरममा अनुवाद गरेर गहनाको बोझले नुहेजस्तै नुहुँदा, होटेलका कोठाहरु हप्तौं अघिदेखि नै ओगटिँदा प्रेमको नशाले नछोइएका भेट्नु र शिशिरका रुखमा पात भेट्नु झण्डै झण्डै उस्तै समेत लाग्न सक्छ । अर्को तरिकाले भन्नु पर्दा प्रेमको मातले सबैलाई मताउन थालेको छ ।
अर्काको हृदयबाट अर्काकै लागि निस्किएका अभिव्यक्तिहरु किनेर आफ्नो भावनामा अनुवाद गरेर हामी आफ्ना पि्रयलाई दिन्छौं । अर्काले अर्कैलाई सम्झिएर बनाएका फूलका गुच्छाहरु आफ्नो बनाएर आफ्नो माया व्यक्त गछौं । अर्काले तोकिदिएको मितिमा अर्काले गर्दै आएको रीतमा, अर्काले नै कोरिदिएको गीतमा हामी आफ्नालाई मायाका गीत गाउँछौ र आफैंले यो सबै गरेको भन्छौं ।
बेलुन, रेस्टुरेन्ट, गहना, चकलेट, भेकेसन, कार्डको माध्यमबाट विनिमय हुनु नै माया हो । अर्थात यसरी विनिमय हुनु मात्र माया हो भन्ने भ्रम पर्नु अगासड प्रेम या माया या आशक्ति यी सबैसँग सानो परिचय गर्नु पर्ने हुन्छ ।
कोठबारीको बगैंचाभरी गुलावलगायत अरु बिभिन्न फूल बाह्रै महिना जस्तो फुल्दा पनि मेरी आमाले कहिल्यै फूलको गुच्छा पाउनु भएन । काव्य र साहित्य आफ्नो पेशा भित्रै परे पनि प्रेमका अभिव्यक्तिका कार्डहरु मेरा बुबाले कहिल्यै आमाको सिरानमा राखिदिनु भएन । रेस्टुरेन्टमा खाने भनेको लखनउ र वनारसको गल्लीका कुनामा रहेका पानीपुरी, जिलेवीपुरी अनि घर बाहिर रहेको बेला आवश्यक परे बाहेक कहिल्यै अनुभव गराउनु भएन । यसो सम्झिदा अहिलेको अतिशयोक्तीले प्रयोग हुने ‘आई लभ यु’ या अनुवादमा ‘म तिमीलाई माया गर्छु’ पनि शायदै भन्नु भयो होला । बुबाप्रति आमाले त झन् यस्ता प्रेम प्रदर्शनको व्यवहार गर्नु भएको कल्पना पनि गर्न सक्तिन । ‘तिमीहरुका बा’ या ‘आफू’ भनेर संवोधन गरिने बुबाको नामको उच्चारण त परै जाओस बाको नामको चार अक्षरमा तीन अक्षर उस्तै भएका छिमेकिको समेत नाम उच्चारण गर्नु भएन । यस अर्थमा मेरा बुबा र आमाले एक अर्कालाई माया गर्नु भएन ।
म शायद दस वर्षकी थिए होला मेरा वुवा लामो विरामी पर्नु भयो, उहांलाई अस्पतालमा राखियो। आमाले एकहप्ता भन्दा पनि वढी समय सम्म भोके रहेर अस्पतालमा वुवाको साथ दिईरहनु भयो। वेलुकी अस्पतालको ढोका वन्द भए पछि देखि विहान ढोका खुल्नु अगाडी सम्म आमा अस्पतालको वन्द ढोका अगाडी आफ्नो भोक प्यास निद्रा जाडो गर्मी विर्सिएर ग्रिक देवीको मूर्ती जस्तै उभिईरहनु भयो । मृत्युको मुख छेउ पुग्दै फर्किदै गरेजस्तो अनुभव गरिरहनु भएका वुवाको अनुहार आमाको आहटको आवाजैले वादल उघ्रिएको घाम जस्तो उज्यालिन्थ्यो। थाहा छैन वजारमा पाईने कुन कार्डले प्रेमको यो गहिराई नापेको हुन्छ।
कोठेवारीमा लटरम्म पाकेका एकएक फलहरु, वगैचामा फक्रिएका जातजातका फूलहरु, घरका सवै तलाहरु, कोठाहरु कोठाका कुना कुनाहरु, गोठका गाईवाच्छाहरु , घरभित्रका सरसामानहरु एक एक प्रति आशक्त र निकट रहनु भएका मेरा वुवाले वगैचाको कुन फूल पहिले टिप्ने या सुन्तला या अम्वाको रुखवाट कुन फल पहिले टिप्ने समेतको हेक्का राख्नु हुन्थ्यो। घर र यसको वरिपरी मात्र हैन तर वारीका कान्ला, आंगनका ढुंगा, कान्लाका घांस सवै प्रति अगाध माया भएका मेरा वुवाले आफू स्वर्गे हुनु अघिका तीनवर्ष आफूलाई सर्वोपरी लागेको त्यो जमिनमा फेरि पाईला राख्नु भएन ।
‘आमा थिई र पो सबै थियो त, अब त्यो घर मेरा लागि मसानघाट समान हो’ । आफू काठमाडौंमा भएको बेला आमा अकस्मात स्वर्गे भएपछि मेरा बुबा आफ्नो अभिन्न अंग ठानेको, जीवनको महत्वपूर्ण हिस्सा मानेको परिवेशसंग नै टाढिनु भयो । बाले माया गरेको भनेका रुख विरुवा, कोठा चोटा, सर सामान, फूल बगैंचामा बाको उपस्थितिको अभाव बाहेक अरु कुनै परिवर्तन आएको थिएन । आमा प्रतिको मायाको प्रतिविबम्ब भएर बुबाको हृदयमा कुंदिएर बसेका ती सवै भौतिक वस्तुहरु आमाको अभावमा आत्माले छोडेर गएको शरीर जस्तै मात्रै भए । यस प्रकारको अनन्त र अनुपम प्रेम कुनै पनि फूलको गुच्छा र दामी गहनाले उच्चारण समेत गर्न सक्तैन ।
बिहानको उज्यालो भूईंमा झर्नुअघि दस मिनेट हिँडेर माथि डाँडाको वरपिपलमा पानी हाल्न कहिल्यै नचुक्ने मेरी साथीकी आमा तीनदशक पहिले दिवंगत पतिको सम्झना गर्ने गर्नुहुन्थ्यो । स्वर्गे हुनु अगाडि उहाँका पतिले रोपेको वरपिपल उहांको घरै अगाडि भएको वरपिपल भन्दा केहि फरक नदेखिए पनि उहाँ सधैं दस मिनेट उकालो चढेर त्यहि वरपिपलमा जानु हुन्थ्यो । मायामा यति बल भरिदिने कुनचाहिं तिथि कसले तोकिदिएको थियो होला र ?
शायद माया प्रेम भन्ने कुरा कुनै प्रतिबिम्ब होला । सानो वस्तुको छायाँ सानो, ठूलो वस्तुको छायाँ ठूलो , मोटो दुब्लो, होचो अग्लो सबैको छायाँ त्यही अनुरुप भए जस्तै माया या प्रेम हामी भित्र जति छ, जसरी छ, जसप्रति छ, त्यो प्रतिबिम्बित भएर व्यक्तिने नै होला ।
कम्प्युटरको प्रोग्रामका बटन थिचेजस्तो, या रोवटलाई ईशारा गरे जस्तो यो घडी यो पलामा प्रेमको बटन थिच्ने बित्तिकै क्रिसमस ट्रीको बत्ती जस्तै सबैको ह्रदय अनायास प्रेम र मायाको बत्तीले झलमल्ल हुने भ्रमबाट जति चाँडो टाढियो, प्रेमको उज्यालाले त्यसै समयमा त्यसैगरि हृदय उज्यालिन नसक्दा हुने निराशाबाट त्यति नै चाँडो आफूलाई जोगाउन सकिने हुन्छ । आफू भित्र रहेको अथाह माया या प्रेम सही समयमा सहि व्यक्ति प्रति व्यक्त गर्नका लागि बाहिरी बहानाहरुले प्रेरणा मात्र गर्ने हुन् । आफ्नो ह्रदयमा प्रेम छैन भने प्रेमै प्रेमको नदिमा चुर्लुम्म डुबे पनि, प्रेम दिवसका समारोहको मातले एक छिनको लागि बेहोसै भए पनि ओभानाको ओभानै अनि रित्ताको रित्तै भईन्छ । आफ्नो हृदयमा भरिने अलौकिक प्रेम आफैंबाट आरम्भ गर्नुपर्ने हुन्छ ।
“भ्यालेन्टाईन्स डे” को शुभकामना।
-अनलाइन खबरबाट
No comments:
Post a Comment
- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।