- लीलानाथ घिमिरे, काठमाडौ
नेपालमा पहिलो पटक आयोजना गरिएको मोवाइल एप्लिकेसन्स प्रतियोगिता 'एनलोकेट' ले जितेको छ ।
मोबाइल एप्स उत्पादन गर्नेहरू बीच भएको प्रतियोगिता 'पिभोट नेपाल' को फाइनलमा एन लोकेटलाई देशी/विदेशी निर्णयकको समूहले उत्कृष्ठ घोषित गरेको थियो । एनलोकेट युटिलिटिज एन्ड इन्टरटेनमेन्ट समूहमा समेत उत्कृष्ट भएको थियो ।
उक्त एप्स विकास गर्ने दिपेन चापागाइ र रिचन श्रेष्ठको समूहले सर्बोत्कृष्ट भएर ३ हजार डलर र समूहमा उत्कृष्ट भएर १ हजार गरी ४ हजार डलर (करिव ३ लाख ४८ हजार रुपैयाँ) पुरस्कार जिते । यस्तै सोसियल डेभलपमेन्ट समूहमा 'बर्थडे फरेस्ट' र बिजनेस एन्ड फाइनान्सियल सर्भिस समूहमा 'इ-सेवा' एप्स विकासकर्ता उत्कृष्ट भएका छन् । दुवै समूहले जनही १ हजार अमेरिकी डलर (करिव ८७ हजार रुपैयाँ) पुरस्कार पाए ।
मोवाइल सोसियल नेटवर्क नेपाल र नेपाल उद्यमी मञ्चले संयुक्त रुपमा आयोजना गरेको एप्स डेभलप प्रतिस्पर्धालाई फिनल्यान्डको परराष्ट्र मन्त्रालय र विश्व बैंकले सहयोग गरेका थिए ।
आयोजकमध्येको मोवाइल सोसियल नेटवर्क परियोजना प्रबन्धक प्रवेश श्रेष्ठका अनुसार गत फागुनमा मागिएको आइडियाअनुसार १ सय १६ समूहले मोवाइल एप्स डेभलपबारे आआफ्ना मौलिक आइडिया बुझाएका थिए । तीमध्ये अन्तिम प्रतिस्पर्धामा १८ समूह छानिएका थिए ।
उत्कृष्ट भएको एप्स एनलोकेटले सर्बसाधारणलाई नजिकैको बैंक/एटिएम, अटो सोरुम, पेट्रोल पम्प, सिनेमा हल, एम्बुलेन्स, कफि सप, कलेज, विदेशी दुतावास, अस्पताल, होटल, पार्टी प्यालेस, प्रहरी, ट्राभल एजेन्सीलगायतका बारे सम्पूर्ण जानकारी मोवाइलमै उपलब्ध गराउँछ ।
यस्तै सोसियल डेभलपमेन्ट समूहमा उत्कृष्ठ एप्स बर्थडे फरेस्टले बन जोगाउन सहयोग गर्छ । संरक्षण घिमिरे, रोशन कार्की, रामकुमार भण्डारी, दीपक मल्ल, प्रयाग उपाध्याय र ध्रुव प्रजापतीको टोलीले विकास गरेको एप्सले जमिन अभाव, बीउ/बिरुवा नपाएर, ब्यस्तताले, तिनको हेरचाह गर्ने समय नभएर विरुवा रोप्न नपाउनेहरूलाई सघाउँछ । जन्म दिनमा रुख रोप्न पे्ररित गर्ने एप्सको प्रयोगले हरेक ब्यक्तिले रुख रोप्ने ठाउँको छनौट, कति वटा रोप्ने, त्यसको मूल्य कति तिर्नु पर्ने छनौट गर्न सक्नेछन् । प्रयोगकर्ताले पैसा दिएपछि सरकारी/सामुदायिक वनसँग साझेदारी गरेर विरुवा रोपिने छ ।
बिजनेश एन्ड फाइनान्सियल सर्भिस विधामा उत्कृष्ट एप्स इ-सेवा एफवन सफ्टका हिमाल निरौला, बीरेन्द्र धामी र अनिश श्रेष्ठको समूहले बनाएको हो । नेपालको पहिलो पेमेन्ट गेटवेका रुपमा प्रयोग भइरहेको यो मोवाइल एप्सबाट आफ्नो एकाउन्टबाट अर्कालाई पैसा पठाउने, किनमेलको भुक्तानी गर्ने, बैंकमा रकम जम्मा गर्ने, मोवाइलका रिचार्जकार्ड किन्ने, टेलिफोन बिल भुक्तानी गर्नेलगायतका कारोबार गर्न सकिन्छ ।
No comments:
Post a Comment
- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।