राजवंशीका थरिथरिका विवाह

- आत्माराम राजवंशी, झापा 
हाम्रो समाजमा विवाह गर्ने चलन कति प्रकारका होलान् ? कसैले तपाईलाई सोध्यो भने उत्तर हुन सक्छ, मागी, प्रेम र कानुनी गरी तीन प्रकारका । तर, हामो समाजमा विवाह गर्ने चलन यति मात्रै छैनन् । समाजमा यस्तो पनि समुदाय छ, जसको विवाह गर्ने चलन छ आठ प्रकारको । झापा, मोरङ र सुनसरी जिल्लामा बसोवास गर्ने राजवंशी समुदायमा यी चलनवाट विवाह भएको देख्न सकिन्छ । 

यस समुदायमा मागी विवाह (बरबधु पक्षबीच समझादारीमा भएको विवाह), धन्जिया विवाह (कन्याकेटीको घरमा बर आएर विवाह गरेर बस्ने), डाँगुआ विवाह (विधवासँग घरमा लोग्ने मान्छे आइ घर जम गर्ने), दामेदुमे विवाह (कन्या केटी आर्थिक अभावका कराण बरको घरमा ल्याई विवाह गर्ने), घरढुक्का विवाह (केटाकेटी मन पराएर केटीले आफूखुशी केटाको घरमा गई बस्ने), भातार धरा विवाह (केटाकेटी मन पराइ बाहिर नै विवाह गर्ने), किआ विवाह (विधवा महिलालाई केटाको घरमा ल्याई विधि विधान गरी घरजम गराइदिने), जाँघ विवाह वा समद विवाह ।

राजवंशी समुदायको विवाह संस्कार आफ्नै मौलिकतामा आधारित भएको राजवंशी समुदायका अगुवा बद्रीनारायण राजवंशी बताउँछन् । ‘सुन्दा त अनौठो लाग्न सक्छ तर संस्कार भन्ने कुरा नराम्रो होइन’, राजवंशी भन्छन्, ‘यसलाई जर्गेना गर्नुपर्छ ।’ राजवंशी समुदायमा विवाह गर्ने चलन धेरै भएपनि वर्तमान अवस्थामा त्यस्तो नरहेको राजवंशी युवाहरु बताउँछन् । खजुरगाछीका प्रकाश राजवंशी भन्छन्, ‘पहिलाको जमानामा यी संस्कार थिए तर हिजो आज हराउँदै गएका छन् ।’ हाल राजवंशी समुदायमा मागी विहेको नै बढी चलन रहेको उनले बताए । मागी विहे गर्ने चलन रहे पनि नयाँ पुस्ताका युवा युवतीहरु प्रेम विवाह गर्न रुचाउँछन् । उनीहरु पारिवारिक डरका कारणले प्रेम विवाहको प्रस्ताव घर परिवारमा राख्न सक्दैनन् । 

मागी विहे परम्परादेखि चलिआएकाले यस समुदायका मानिसहरु प्रेम विवाहलाई सहजै स्वीकार्दैनन् । मागी विहेमा कन्या (बेहुली) र दुलाहा (बेहुला) को खोजी गरी दुवै परिवारको विवाहमा सहयोगीको भूमिका खेल्ने मध्यस्तकर्ता हुन्छ जसलाई कारुवा (लमी) भनिन्छ । करुवाले मागी विवाहमा अहम् भूमिका खेलेको हुन्छ । करुवाले शुभदेखा, तिलक र डालीखरा यी तीन प्रमुख कार्यमा सहयोगीको भूमिका खेल्छ । 

विवाहमा दुलहा दुहलीले आफ्नै परम्परागत पोशाक लगाउँछन् । आफ्नै परम्परागत ढोल ढाल (बाजागाजा)का साथ बैरात (जन्ती) जाने गर्छन् । विवाहमा आफ्नो गच्छे अनुसार नाता कुटुम्बलाई निमन्त्रणा गरी भोज खुवाइन्छ । विवाह सम्पन्न गराएको उपलक्ष्यमा करुवा (लमी) लाई नयाँ लुगाफाटा किनिदिने प्रचलन छ । यस समुदायले बैशाख, जेठ, असार र साउन महिनालाई विहे गर्ने महिनाको रुपमा लिएको पाइन्छ । तर, पछिल्लो समयमा पुस, माघ र फागुन महिनामा पनि राजवंशी समुदायले विवाहवारी गर्ने गरेका छन् । 

विवाह गरेको सालको भदौ महिना बेहुलीले माइतमा गएर बस्नुपर्ने प्रचलन राजवंशी समुदायका अगुवा कमल प्रसाद राजवंशी बताउँछन् । उनले मागी विवाहमा बेहुला र बुहेलीको पोरुआ (कुलदेवता) हेरेर मत्र विवाह हुने गरेको बताए । दुवै (बेहुला बेहुली)को घरको कूल देवता एउटै भए बैबाहिक जीवन सुखमय हुने उनको ठहर छ ।

No comments:

Post a Comment

- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।