- अज्ञात
जब म त्यस रात घरमा पुगेँ, मेरी श्रीमती खान पस्किन तरखर गर्दै थिइन् । उनको हात समात्दै मैले भनें: "तिमिसित एउटा कुरा गर्नुछ"। उनी बसिन् र चुपचाप खान थालिन् । मैले उनको आँखामा उदासीपन महसुस गरें । अचानक मेरो वाक्य बन्द भयो । तर जे कुरा मैले धेरै दिनदेखि सोचिरहेको थिएँ, त्यो भन्न जरुरी थियो– "म उनीसँग सम्बन्ध बिच्छेद गर्न गैरहेको थिएँ ।" तरपनि मैले आफ्नो कुरा संयम्का साथ राखेँ ।
मेरो कुराबाट तिनी बिस्मयचकित् भएको पाइन, बरु नम्र भएर सोधिन्- किन? मैले तिनको प्रश्नलाई टार्न खोजेँ । तिनी रिसाइन् र चप्स्टिक हुर्याएर मलाई 'नामर्द' भन्दै चिच्याइन् । त्यस रात हामी दुवैबीच कुराकानी भएन, तिनी रोइरहेकी थिइन् । हाम्रो बैबाहिक सम्बन्धमा के त्यस्तो खोट देखापर्यो भन्ने कुरा तिनले जान्न चाहनु स्वभाविकै कुरो हो । तर मसंग तिनलाई दिने त्यस्तो सन्तोषजनक जवाफ थिएन । जेन भन्ने महिलाले मेरो हृदय जितिसकेको थियो र मैले मेरो श्रीमतीलाई माया गर्न छोडिसकेको थिएँ । तिनिप्रति दया जागेर आयो । गह्रुँगो अपराधबोधका साथ मैले एउटा सम्बन्ध बिच्छेदको सम्झौता-पत्र तयार पारेँ, जसानुसार हाम्रो घर, गाडी र मेरो कम्पनीको ३० प्रतिशत शेयरमा तिनलाई हकदार बनाएँ । तिनले त्यो सम्झौता-पत्रमा एक नजर दिइन् र माडेर च्यातच्युत पारिन् ।
दश-दश बर्षसम्म एउटै छानामुनी बसेकी ती महिला अब अजनवी भैसकेको थियो । यस घरमा आएर तिनको आफ्नो समय, शिप, शक्ति र यौवन बित्थामा खेर गएकोमा म अत्यन्तै दुःखित थिएँ । तर मैले जे निर्णय गरेँ, त्यसबाट पनि म बिमुख हुन चाहिरहेको थिइन, कारण म जेनलाई असाध्यै माया गर्थेँ । अन्ततः मैले अपेक्षा गरे अनुरुप तिनी डाँको छोडेर रुन थालिन् । साँच्चै भन्नु हो भने तिनको रुवाइले मलाई केही सान्त्वना दिलायो । अनि धरै दिनदेखि मनमा सँगालिराखेको सम्बन्ध-बिच्छेद गर्ने बिचार अहिले आएर ठोस् र स्पष्ट भएजस्तो लाग्यो ।
अर्को दिन जब म राती अबेर घर पुगेँ, तिनी टेबलमाथि केही लेखिरहेकी थिइन् । मैले बेलुकीको खाना खाएको थिइन, तर त्यसदिन जेनसंग गजब रमाइलो दिन बिताएकोले गर्दा म थकित थिएँ र सिधै ओछ्यानमा गएर पल्टेँ । जब म बिउँझें, तिनी अझै लेख्दै थिइन् । मैले वास्ता गरिन र अर्कोतर्फ फर्केर फेरि सुतेँ ।
भोलिपल्ट तिनले सम्बन्ध-बिच्छेदका शर्तहरु मेरो सामु तेर्स्याइन् । सम्बन्ध-बिच्छेद गर्नुअघि १ महिनाको अग्रिम सुचना दिनुपर्ने बाहेक तिनले मबाट कुनै हकदावी गरिनन् । त्यो एक महिनाभित्र हामी दुवैले सकेसम्म सँधैको जस्तो पारिवारिक माहौल कायम गराउनु पर्ने तिनको अनुरोध थियो । कारण १ महिनापछि हाम्रो छोराको जाँच थियो र हाम्रो तनावपूर्ण सम्बन्धले उसलाई नराम्रो असर नपरोस् भन्ने तिनको चाहना थियो ।
यो बाहेक तिनको एउटा अनौठो शर्त थियो- "हाम्रो बिहे भएको बेला कसरी मैले तिनलाई बोकेर सुहागरात मनाउने कोठामा लगेको थिएँ, त्यो सँस्मरण गर्न भनिएको थियो । अनि त्यो एक महिनाभरी बिहेताका झैँ तिनलाई शयन कक्षबाट घरको बाहिरी ढोकासम्म बोकेर लानुपर्ने तिनको अनुरोध थियो"। कतै पगली त भइनन् ? एकछिन त म अकमक्क परेँ । हाम्रा अन्तिम दिनहरु राम्ररी बितोस् भन्नाका खातिर मैले तिनको अनौठो प्रस्ताव स्वीकार गरेँ ।
मैले जेनलाई मेरी श्रीमतीको शर्तहरुबारे बताउँदा तिनी जोडले हाँसेर तिरस्कार गर्दै भनेकी थिइन्- "जस्तोसुकै चलाखी अपनाए पनि उस्ले सम्बन्ध-बिच्छेद नगरि धरै पाउँदिन"। हाम्रो सम्बन्ध- बिच्छेदको कुरो भएदेखि श्रीमती र म बीच शारीरिक सम्बन्ध भएको थिएन । उनको अनुरोध बमोजिम पहिलो दिन जब मैले तिनलाई बोकेँ, हामी दुवैलाई कस्तो कस्तो अप्ठ्यारो महसुस भएको थियो । ड्याडीले मम्मीलाई बोक्नुभयो भनेर छोरो हाम्रो पछाडी ताली पिट्दै थियो । छोराले त्यसो भन्दा मैले नजानिंदो पिडा महसुस गरेँ । श्रीमतीलाई बोकेर शयन् कक्षदेखि बैठक कोठा हुँदै मूलढोकासम्म करीब १० मिटर म हिँडे हुँला । मैले तिनलाई बोकिरहेको बेलामा तिनले आँखा बन्द गरेर मधुर स्वरमा भनिन्- "हाम्रो सम्बन्ध-बिच्छेदबारे छोरालाई नभन है" ।
मैले दुःखी भएर स्वीकृतिसुचक टाउको हल्लाएँ । तिनी काममा जान बस बिसौनितिर लागिन् भने म एक्लै गाडी हाँकेर अफिस गएँ । दोस्रो दिनको बोकाइमा हामी दुवैले केही सजिलो अनुभव गर्यौँ । तिनले टाउको मेरो छातीमाथि राखिन्, तिनको ब्लाउजबाट मिठो अत्तरको सुगन्ध आइरहेको थियो । तिनको मुहारलाई राम्ररी नियालेर हेरेँ, तिनी अब पहिले जस्तो जवान थिइनन्, निधार र आँखाका छेउछाउ हल्का चाउरीहरु देखेँ, केश पनि कहीं-कहीँ फूलेको थियो । वैवाहिक जीवनले नै तिनलाई यस्तो तुल्याएको थियो । म आँफैले पो तिनलाई वास्ता नगरेको निकै भएछ । चौथो दिन जब मैले तिनलाई बोकेँ, एक किसिमको आत्मियता मैले महसुस गरेँ ।
यिनी तिनै महिला थिइन्, जसले बिगत दश बर्षदेखि मलाई साथ दिँदै आएकी थिइन् । पाँचौ र छैठौँ दिन पनि त्यो आत्मियता झन्-झन् प्रगाढ हुँदै गएको मैले पाएँ । जति-जति समय बित्दै गयो, तिनलाई बोक्न झन्-झन् सजिलो हुँदै गयो । शायद प्रत्येक दिनको बोकाइले म बलियो पो हुँदै गएँ की ? एक बिहान तिनी लुगा छान्दै थिइन्,चार पाँच चोटि लुगा फेरिसकेपछी लामो सुस्केरा हालेर भनिन्- "मेरा सबै लुगाहरु खुकुलो भैसके, कुनैपनि जीउमा मिल्दैन" । मैले ध्यान दिएर तिनलाई हेरेँ, कस्ती दुब्ली भईछे, त्यसैले पो होला मलाई बोक्न सजिलो भएको ! आफ्नो मनभित्र अथाह पीडा, ब्यथालाई लुकाएर तिनी बाँचेकी रहिछिन् भन्ने कुराले मलाई अत्यधिक पीडाबोध भयो । एकाएक अर्धचेतनमा मैले तिनको शिर छोएँ । त्यति नै बेला छोरो करायो: मम्मीलाई बोकेर बाहिर लाने बेला भएन र ? उसको बाबुले आमालाई बोक्ने काम दिनचर्या जस्तो ठानिसकेको थियो मेरो छोरोले । मेरी श्रीमतीले छोरोलाई नजिक आउन साउती गरिन् र बेस्कन अंगालो हालिन् ।
आफ्नो अडानमा बिचलन नआओस् भन्नाका खातिर मैले टाउको अन्तै मोडेँ । शयन-कक्ष, बैठक कोठा, हलवे हुँदै म श्रीमतीलाई बोकेर पाइला चाल्दै थिएँ, तिनको हातहरु मेरो घाँटीमा आरामसँग बेरिएका थिए, हाम्रो विवाह अवसरमा झैं मैले तिनको शरीरलाई बेस्मारी च्यापेको थिएँ । तिनको हलुँगो वजन देखेर म चिन्तित थिएँ । अन्तिम दिन जब मैले तिनलाई बोकेँ, किन किन मैले पाइला चाल्न सकिरहेको थिइन । छोरो स्कुल गैसकेको थियो । मैले तिनलाई बेस्मारी च्यापेर भनें- "हामी दुई बीचको आत्मीय सम्बन्धमा कमी भएको त मलाई हेक्कै भएन"।
म काममा हिडें, अफिस पुगेपछि गाडीमा चाबी नै नलगाई सरासर उक्लेँ । केही बेरको ढिलाइले मेरो मन परिवर्तन होला भन्ने मलाई डर थियो । माथ्लो तल्लामा उक्लेपछी जेनले ढोका खोली दिइन् । आफू सम्बन्ध-बिच्छेद नगर्ने निर्णयमा पुगेको कुरा जेनलाई बताएँ । जेनले छक्क परेर मतिर हेरिन् र मेरो निधार छामिन् । "तिमीलाई ज्वरो आएको छ ?" तिनले सोधिन् । निधारबाट तिनको हात हटाउँदै मैले फेरी दोहोर्याएँ- "म सम्बन्ध- बिच्छेद नगर्ने भएँ, हाम्रो वैवाहिक जीवन यसरी रसहीन हुनाको कारण हामीले एकअर्कालाई माया नगरेर भएको होइन रहेछ, जिन्दगीका झिना-मसिना कुराहरुलाई महत्वहीन ठानेकाले नै यस्तो भएको रहेछ । विहेको अवसरमा मेरी श्रीमतीलाई मैले बोकेर घरभित्र भित्र्याए झैं जिन्दगीको अन्तिम क्षणसम्म पनि त्यही भावना राख्नु पर्ने रहेछ भनेर म अहिले महसुस गर्दैछु ।" जेन जुरुक्क उठिन् र बेस्कन मेरो गाला चडकाएर ढोका ड्याम्म थुनेर डाँको छोडेर रुन थालिन् ।
म गाडी चढेर घरतर्फ लागेँ । बाटोमा फूल पसलमा रोकिएर एउटा फूलको गुच्छा किन्न लाग्दा फूल पसलनीले सोधी: कार्डमा के लेखिदिउँ ? कार्ड तिनको हातबाट लिएर मैले मुस्काएर लेखेँ- "जीवनको अन्तिम घडीसम्म प्रत्येक बिहान म तिमीलाई बोक्नेछु !!!"
हातमा फूल, मुहारमा मुस्कान लिएर हतार हतार त्यस साँझ म घर पुगेँ । दगुर्दै भर्र्याङ् उक्लेँ । यसरी हतारिएको त मेरी श्रीमतीलाई मृतावस्थामा फेला पार्नु पो रहेछ । म जेनको प्रेममा यसरी डुबुल्किएको थिएँ कि मेरी श्रीमती महिनौँ देखि क्यान्सरको बिरामी भएको कुरो समेत मैले थाहा पाउन सकिन रहेछु । आफ्नो मृत्यु चाँडै नै हुँदैछ भन्ने कुरा तिनलाई थाहा रहेछ । हाम्रो सम्बन्ध-बिच्छेद भैगएको भए त्यसको नकारात्मक असर छोरामा नपरोस् र छोराको नजरमा म दोषी नदेखियोस् भनेर मलाई बचाउन तिनले त्यसो गरेकी रहेछिन् । फलस्वरुप छोराको नजरमा म मायालु लोग्ने हुन पुगेँ ।
जीवनका झिना-मसिना कुराहरु नै वैवाहिक सम्बन्धलाई टिकाउने खम्बाहरु हुन्, न की भब्य महल, गाडी, जग्गा- जमिन र पैसा । यी चिजहरुले त केही टेवा दिने मात्र हो, मुख्य कडी यी होइनन् । तसर्थ आफ्नो ब्यस्त दिनचर्याबाट केही समय निकालेर आफ्नो जीवनसाथीसँग आत्मीयता गाँसौं र जिन्दगीका झिना-मसिना ठानिएका कुराहरुलाई अंगालेर हेरौँ । यिनै महत्वहीन ठानिएका कुराहरुले नै वैवाहिक जीवन भत्किनबाट जोगाउँछ । सफलताको कारक तत्वहरुलाई पहिचान गर्न नसक्दा नै मानिसहरुले असफलता बेहोर्छ ।
"घर सुन्दर छ भने न समाज पनि सुन्दर बन्छ भन्ने कुरालाई हृदयंगम गरी यो कथा पाठकहरु समक्ष प्रस्तुत गरेको छु । यो मेरो मौलिक लेख होइन, एउटा अज्ञात लेखकले समाजलाई माया गरी लेखेको कथा हो । मौलिक पनि हुन सक्छ, सत्यकथामा आधारित पनि हुनसक्छ, जे भएपनि कथा मार्मिक छ, हामी बाँचेकै जिन्दगीको बर्णन छ ।" भन्दै फेसबुक मार्फत प्रचार-प्रसार गर्न अनुरोध गरिएको थियो । लेख अंग्रेजीमा थियो र मैले नेपालीमा अनुवाद गर्ने जमर्को गरेको छु । कतिपय हरफहरुमा शब्दानुवाद् नगरी भावानुवाद् गरिएको छ । मेरो यो अनुवादले कुनै नेपालीको भत्किन लागेको घरलाई टेको दिन समर्थ भयो भने मैले गरेको कार्य सार्थक भएछ भनेर ठान्नेछु ।
No comments:
Post a Comment
- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।