बिमल गौतम, रियाद
३ आश्विन, नेपाली राजदुतावास साउदी अरबले बिजया दशमी २०६९ को उपलक्षमा शुभकामना आदान प्रदान सहित रात्रिभोजको आयोजना गर्यो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्नुहुंदै महामहिम उदयराज पाण्डेले उपस्थित नेपालीहरुलाई बडादसैं, तिहार, छट, नेपाल सम्बत तथा मुस्लिम धर्मावलम्बीहरुको बक्रइदको शुभकामना दिदै सबैको सुख, सम्वृद्धि, प्रगति, सुस्वास्थ्य तथा शान्ति र मित्रताको कामना गर्नुभयो । राजदुत पाण्डेले प्राचिनकालमा मेसोपोटामिया सभ्यतामा अन्न उत्पादन सुरुगर्दा जौंको बेर्नालाई खुशी र सम्मानले शिरमा लागाउने प्रचलन शिन्धुघांटिहुंदै नेपाल भित्रिएर जमरा शिरमा लगाउने प्रचलन रहेको भन्दै यो पर्व मान्यजनबाट आशिर्वाद लिने र नेपाली बिचको एकता सद्भाव र मेलमिलाप तथा खुशीको पर्व रहेको बताउनुभयो ।
नेपाली श्रमिकहरुले भोगेका समस्याहरुको समाधानमा यहाको नेपाली कम्युनिटीले पुर्याएको योगदानको प्रशंसा गर्दै राजदुत पाण्डेले आगामी दिनमा पनि सहकार्यबाट मात्रै समस्याको समाधान गर्न सक्ने औंल्याउनुभयो । नेपाली दुताबासको लगातारको प्रयत्नपछी यहांका नेपालीहरुको समस्या समाधान गरेको प्रमाण पेश गर्दै नेपाली कामदारको तलव कम्तिमा १००० रियाल ( करिब २२,००० नेपाली रूपैंया ) कायम गरे पछि कम्पनी छाडेर भाग्नेको संख्यामा कमि आएको, लास नेपाल पठाउन महिनौं लाग्ने गरेकोमा हाल महिनाको ३० मृत्युदरको बराबरी मात्र मृत्युको केस आउनेगरेको, आफ्नो १४.५ महिने कार्यकालमा समुहगत र ब्यक्तिगत गरि नेपाली दुतावासमा परेका करीब ८०० वटा उजुरीका हजारौं नेपालीलाई न्याय दिलाएको, गैर कानुनी कामदारले नेपाल जानको लागि जेलमा महिनौ बस्नुपर्ने अवस्थालाई सुधार गर्दै ल्याएको विवरण प्रस्तुत गर्दै महामहिम राजदुतले महिलाको समस्यामा समेत उल्लेख्य सुधार आएको जानकारी दिनुभयो । बिगतमा गृह सेविका (हाउसमेड) एम्बेसीले बनाएको सेफ हाउसमा प्रतिदिन २५-३० को संख्यामा रहने गरेकोमा गतः महिनाबाट हरेकदिन ५-६ को संख्यामा मात्र रहेको, नेपालि महिलाहरुले जुनसुकै सुगम, दुर्गम स्थानबाट उद्धारको लागि खबर गरे चौबिसै घण्टा नेपाली कम्युनिटी तथा प्रहरीको सहयोगमा उद्धार गरिने गरेकोले यसमा कमि आएको बताउंदै भारतको एयरपोर्टबाट उड्न बन्द गरिएको र कुवेत हुंदै ल्याउने बाटो समेत बन्द गरिएको जानकारी दिनुभयो ।
बिगतमा यस दुताबासलाई लागेको मृतकको बिमा रकम समेतको हिनामिनाको आर्थिक अपचलनको कालो दाग पखाली अनियमितता शून्यमा झारेको र कसैले अनियमितताको उजुरी गरे पुरस्कार दिने समेत बताउनुभयो । सबै पीडितको पहुंच दुतावासमा पुर्याउन वेवसाइट तथा विभिन्न प्रकाशनमा दुताबासमा कार्यरत सबैको मोबाइल नम्बर निबासको नम्बर सहित सार्वजनिक गरेकोले पीडितसम्म यो नम्बर पुर्याई सहयोग गर्न उपस्थितलाई आग्रह गर्नुभयो ।
नेपाली पीडितका समस्या बुझ्न साउदी अरबका मुख्य सबै शहरहरुमा पिडित तथा नेपाली संघ सस्थाका प्रतिनिधिको बिचमा अन्तरक्रिया कार्यकम गरि आएका समस्यालाई लिएर रियादमा उपस्थित नेपाली म्यानपावर ब्यावसायीसंग समेत अंतरक्रिया गरि पहिचान गरिएका समस्या र समस्या निवारणका लागि राजदुतावासको दृस्टीकोण सम्बंधमा हालै “साउदी अरबमा रहेका नेपाली कामदारहरुका समस्या र समाधानका उपाय” नामक पुस्तिका प्रकाशित गरिएको जानकारी गराउदै महामहिमले सो पुस्तक सम्बन्धित सबैसम्म पुर्याउन सहयोग गर्न अनुरोध गर्नुभयो । यस पुस्तकमा समेटिएका समस्यालाई लिएर छिट्टै साउदी अरबका रोजगारदाता तथा म्यानपावर ब्यावसायी बिचमा बृहद छलफल गरि समस्या निराकरण गर्ने योजना समेत वताउन भ्याएका महामहिमले बर्षौ देखिको साउदी राजदुतावास नेपाल लाने प्रयास सफल भै ४ जना कर्मचारी नेपाल गैसकेकाले अर्को महिनाबाट कार्यालय संचालन हुने र हाम्रा समस्याको सुनुवाई त्यहाँ पनि गर्नसकिने विश्वास ब्यक्त गर्नुभयो । आर्थिक कुटनीतिको चर्चा गर्दै राजदुत पाण्डेले सिक्टा सिचाई आयोजनालाई सहयोग गरेको “साउदी बिकाश कोष“ संग झन्डै तिन दशक पछी विभिन्न परियोजनाको लागि एघार अर्व नेपाली रुपैंया सहयोग को सम्झौता गर्न सफल भएको हुंदा विश्वको २० प्रतिसत तेल भण्डार रहेको र २०२० सम्ममा प्रतिव्यक्ति आय ३५,५०० डलर बनाउने लक्ष लिएको यो साउदी अरबबाट आर्थिक कुटनीति मार्फत धेरै सहयोग लिन सकिने आधारहरु प्रस्तुत गर्दै महामहिम राजदुत पाण्डेले उपस्थित सबैलाई धन्यवाद दिदै नेपालीको शिर उंचा राख्न आग्रह गर्नुभयो ।
नियोग उपप्रमुख हरिश्चन्द्र घिमिरेले संचालन गर्नुभएको अनौपचारिक समारोहमा महामहिम पाण्डेले बोल्नु अघि ४५० कि.मी. टाढा सम्मबाट आएका एन आर एन ए, हेल्प नेपाल, नेपाल आदिबासी जनजाती महासंघ , नेपाली जनप्रगतिशिल मञ्च, साउदी नेपाल सम्पर्क मंच, मिथिला एकता समाज, सिर्जना सास्कृतिक परिवार आदि का प्रतिनिधि सहित म्यानपावर ब्यावसायी , ब्यापारी तथा विभिन्न तह र तप्काका नेपाली श्रमजीवी, महिला तथा नेपाली राजदूतावास परिवारका सदस्यहरुले संक्षिप्त परिचय सहित शुभकामना व्यक्त गर्नुभएको थियो । महामहिमको निवासमा आयोजित कार्यक्रममा महिला सहभागिता समेत उल्लेखनीय थियो ।
ओरिएन्टल महिला समूह ( पुर्बिय देशका राजदुतावास महिला परिवारको संस्था ) नेपाल च्याप्टरको तर्फवाट नोभेम्बरमा इण्डोनेसियन राजदुतावासले आयोजना गर्ने अन्तरास्ट्रीय बजारमा नेपाली दुतावासले समेत आफ्नो स्टल राख्ने र अन्य नेपाली ब्यापारीहरुले समेत ६ वटा स्टल राख्न सक्ने जानकारी दिदै राफल चिट्ठा सहितको प्रबेश टिकट खरिद गरि सक्रिय सहभागिता जनाउन अनुरोध गरिएको थियो र सो बाट प्राप्त रकम च्यारिटी कोषमा जाने श्रीमती कल्पना रिजाल पाण्डेले जानकारी गराए पश्चात संचालक हरिश्चन्द्र घिमिरेले शुभकामना कार्यक्रम अन्त्य भएको घोषणा गर्दै रात्रिभोजमा सरिक हुन आग्रह गर्नुभयो । ६ बजे सांझ सुरुभएको कार्यक्रम राति १० वजे सकिएको थियो ।
नेपाली परिकार को रात्रिभोज को स्वाद भने यो पंक्तिकारको जिब्रामा अझै छ ।
फोटो फिचर..................... (सम्पूर्ण फोटोहरू पर्शुराम मिश्रबाट उपलब्ध भएको)
No comments:
Post a Comment
- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।