बैरागी काइलाले पाए एक लाखको मुन्धुम पुरस्कार

- गणेश राई/ ललितपुर
भाद्र १७ - नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काइँला (तिलविक्रम नेम्बाङ) लाई एक लाख रुपैयाँ राशिको 'रत्नशोभा-शुभलक्ष्मी मुन्धुम पुरस्कार' प्रदान गरिएको छ । लिम्बु जातिको सामाजिक संस्था किराँत याक्थुङ चुम्लुङको २४ औं स्थापना दिवसका सन्दर्भमा आइतबार प्रदान गरिएको हो । संस्कृतिविद् सत्यमोहन जोशी र पुरस्कारका संस्थापक मञ्जुलकुमार याक्थुम्बाले संयुक्त रूपमा ताम्रपत्र र नगद पुरस्कार प्रदान गरेका हुन् ।
किरात लिम्बु जातिमा रहेको धर्मशास्त्र मुन्धुमबारे पाँचदशकदेखि निरन्तर खोज, अनुसन्धान, लिपिबद्ध गरी दर्जनभन्दा बढी कृति प्रकाशितका स्रष्टा काइँलालाई पहिलो पटक यो पुरस्कार दिइएको हो । वि.सं. १९९६ भदौमा पाँचथरमा जन्मिएका आयामेली कवि काइँलाको किराँत मिक्हन साम्लो, महागुरु फाल्गुनन्दका उपदेश तथा सत्यहाङ्मा पन्थका भजनमालाहरु, कोखपूजा आख्यान, आँखीडाही मुन्धुम, सामसोधा मुन्धुम, मोचमार्ने मुन्धुम, तङसिङ तक्मा मुन्धुम र सृष्टि आख्यान मुन्धुम कृति प्रकाशित छन् । सिरिजंगा लिपि र देवनागरी तथा अंग्रेजीमा समेत अनुवादित मुन्धुम कृति छनोटका क्रममा काइँलाले सम्मान पाएका हुन् ।

पुरस्कार छनोट समितिले 'तङसिङ तक्मा मुन्धुम' कृतिका निम्ति यो पुरस्कार छनोट गरेको चुम्लुङले जनाएको छ । चुम्लुङका अध्यक्ष उत्तमसिंह थाङदेनका अनुसार दुई-दुई वर्षमा प्रदान गरिने यो लिम्बू समुदायमा प्रदान गरिने सर्वाधिक राशिको यो पहिलो पुरस्कार हो । काइँलाको व्यक्तित्वबारे साहित्यकार यहाङ लाओतीलगायतले चर्चा गरेका थिए ।

त्यसैगरी गत वर्षको एसएलसी परीक्षामा सामुदायिक विद्यालयतर्फबाट सर्वोत्कृष्ट अंक हासिल छात्र पवन योङयाङ र छात्रा प्रविना लिम्बूलाई जनही १० हजार तथा अन्यलाई प्रसंशापत्र प्रदान गरिएको थियो । त्यस अवसरमा 'चुम्लुङहिम अभिलेख' पुस्तक विमोचन गरिएको थियो ।

No comments:

Post a Comment

- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।