आयुमी फुकाइ हिराचन
म नेपालीको छोरी भएर पनि जापान मै जन्मिए हुर्किए । पढाइ पनि जापानमै सकियो र काम पनि उतै गर्दैछु । म नेपालीकी छोरी हुं तर मेरो रहन सहन जापानिज नै छ । मेरो नेपाली भाषा त्यति राम्रो छैन । मलाइ नेपाल धेरै मन पर्छ । समय मिलाएर म नेपाल आइरहन्छु । नेपाल आउँदा यहाँका रमाईला ठाउँहरु घुम्न जान मन गर्छु । नेपाली साथीभाइलाइ भेट्ने काम गर्छु ।
आज भन्दा पाँच छ वर्ष अघि नेपाली भाषा सिक्नको लागि नेपालमा मेरो बसाइ लगातार डेढ वर्ष जति भएको थियो । नेपालको राम्रो क्याम्पस मध्य विश्वभाषा क्याम्पसमा नेपाली भाषा पढेको थिएँ । त्यहाँ पढ्दा राम्रो विचार भएको नेपाली साथीहरु पाएँ । डेढ वर्षको मेरो नेपाल बसाईमा एउटा रमाइलो अनुभव के रह्यो भने नेपाली सँस्कृति चालचलन सिक्न र बुझ्नको लागि नै मैले सोर्हखुट्टेमा एउटा कोठा लिएर बसेको थिएँ । त्यहीबाट आफ्नो कलेज (विश्वभाषा) जाने आउने गर्थेँ ।
त्यही क्रममा मेरो कोठा नजिकै एउटा दिदीले तरकारी बेच्नुहुन्थ्यो । म उहाँकै तरकारी पसलबाट सधै तरकारी किन्ने गर्थें । हाम्रो चिनजान नजिकिदै जाँदा ती दिदीले मलाई प्रायः सधैजसो मैले किन्ने गरेको तरकारीमाथि अलिकति बढि सित्तैमा राखिदिनुहुन्थ्यो । मलाई अचम्म लाग्थ्यो । जापानमा त यस्तो मन भएको मानिस पाउन पनि सकिदैनथियो । यहाँको नेपालीको मन साह्रै राम्रो । एक आपसमा सहयोगको भावना हुने । ‘तिमीलाइ अप्ठ्यारो परेको छ ? भनेर सधै सोध्ने पवित्र मनले मलाइ नेपालीप्रति सधै सिर झुकाउँछ । नेपाल प्रति मेरो केही दायित्व सहयोग हुनु पर्छ भन्ने भावनाले गर्दा मेरो बुवा (देवमान हिराचन)को संस्था एसोडेकमा सहयोग गरिरहेकोछु ।
गाउँ गाउँका गरिव बालबालिकाको लागि शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको एसोडेकले विभिन्न जिल्लामा गरि सत्रवटा स्कुल बनाइ दिएकोछ । जसमा मैले पनि मेरो कमाइबाट केही रकम एसोडेक मार्फत गाउँका गरिव बच्चाहरुलाई छुट्याएर सहयोग गर्दै आएकोछु । त्यस्तै प्रवासी नेपालीहरुले स्थापना गर्नु भएको ग्लोवल क्यापिटल इन्भेष्टमेन्ट कम्पनीमा पचास लाखको सेयर राखेकोछु जसले गर्दा नेपालको आर्थिक क्षेत्रमा केही सहयोग पुग्न सकोस् । अझ मेरो पहल के रहनेछ भने जापानमा रहेका मेरा जापानिज साथीहरुलाई नेपालमा लगानी लगाउन पे्ररित गर्नेछु ।
हिमाल, पहाड, तराइ र विभिन्न चराचुरुङ्गी, रङ्गीविरङ्गी फूल, विभिन्न जातजाति भएको हाम्रो देश नेपाल साँच्चै नै गौरव गर्न लायक छ । खाने कुराका अनेक परिकार देखि जातैपिच्छेका भेषभुषाले पनि जो कोहीलाई आकर्षित गर्नु स्वभाविकै हो । जापान बाहेक म विभिन्न अन्य केही मुलुकमा पुगेकोछु जहाँ आफ्नोपन, हाँसो ठट्टा, रमाइलो कहिल्यै देख्न पाइदैन । झन जापानमा त त्यस्तो पटक्कै छैन । कोही साँचो जीवन जिउन चाहान्छौ भने नेपालमा जाऊ भनेर पनि मैले जापानिज केही साथीहरुलाइ बेलाबेलामा भन्ने गरेकोछु ।
म अनलाइनमा समाचार पढ्दाखेरि होस् या मेरो बुवा (देवमान हिसाचन)ले भने अनुसार र मेरो नेपाल आउजाउको क्रममा मैले के पाएँ भने जापानिजहरु आफ्नो देशको लागि काम गर्छन् तर नेपालमा नेपालीहरु आाफ्नो लागि मात्र काम गर्छन् देशको लागि होइन । हाम्रो देशको विकास नहुनुमा यो पनि मुख्य कारण हो जस्तो मलाइ लाग्छ । जापानिजहरु पहिला देशको विकास अनि मात्र आफ्नो भन्ने सोचाइ राख्छन् तर मैले नेपालमा त्यस्तो पाइँन ।
मलाइ नेपालको विग्रदो राजनिति अवस्था देखेर चिन्ता लाग्छ । मेरो बुवाले नेपालको सबै कुराको बारेमा जानकारी गराइरहनु हुन्छ । सुदुरपूर्व देखि सुदुरपश्चिमका बालबालिकाहरुले पढ्न पाएका छैनन्, राम्रो औषधि उपचार पाएका छैनन् । त्यसैले पनि बेलाबेलामा झाडापखालाको महामारीले गर्दा कयौंले ज्यान गुमाउनु परेको घटना सबैलाई थाह भएकै कुरा हो । नेपाल सरकारले त्यस्तो गम्भिर समस्यालाई महत्वका साथ हेरेको जस्तो मलाई लाग्दैन ।
उदाहारण लिन सकिन्छ, भरखरै नेपाल सरकारले पास गरेको बजेट मैले इन्टरनेटमा सर्च गरेर हेरेको थिएँ , त्यस बजेटमा पिछडिएका जिल्ला र वर्गलाई विषेश छुट्याउनु पर्नेमा त्यो मैले पाउन सकिन । त्यसैले मैले के भन्न खोजेको हो भने म जापानमा बसेर यहाँ नेपालमा विभिन्न क्षेत्रमा गरेको लगानीबाट आएको पैसाले नेपालका गरिव केटाकेटीहरुलाई शिक्षा , अपाङ्ग, अनाथ, वृद्धाहरुलाइ सहयोग गर्न चाहान्छु । त्यो मेरो ठूलो सपना हो ।
हामी धर्मको नाउँमा भगवान खोज्न मन्दिर पुग्छौ, तर ती अनाथ अपाङ्ग नै हाम्रा लागि भगवान हुन् । हामीले चिन्न नसकेको मात्र हो । हामीले भोकालाई खान दियौं भने मात्र त्यो खानेकुराको वास्तविक स्वादको महत्व हुन्छ । अघाएको मान्छेको लागि खानाको स्वाद पनि हुदैन र महत्व पनि हुँदैन । म नेपालप्रति सधै सहयोग गर्न र मेरा शिपहरु नेपालका विभिन्न ग्रामिण भेगमा गएर सिकाउन चाहान्छु । म सधै नेपाल र नेपालीको साथमा रहन चाहान्छु ।
No comments:
Post a Comment
- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।