– धरम के.सी.
बिबाह भएको केही महिनामै पेटमा गर्भ लिएर माइती फर्केकी सुर्खेत लाटिकोइली – ४ नयां घुस्रा की निर्मला चौधरी फेरी कहिल्यै फर्किनन् आफ्नो पतिको घरमा । किन त? भन्ने मेरो जिज्ञासामा उनले “मलाई मेरो बिगत नसोध्नुहोस” भन्दै रूनै थाले पछि मैले त्यो प्रश्न फेरी दोहोर्याइन । उनले माइती मै जन्माएकी ती छोरी अहिले ७ बर्षकी भैसकेकी छिन् । उनको त्यो अब्यक्त बेदना पक्कै निकै गहिरो रहेको अनुमान गरें मैले ।
यसरी नै नेपालमा हाम्रा छोरी चेली, दिदी बहिनीहरू कुनै न कुनै ठोकर (चोट) खाएरै बांकी जिन्दगी जिउने चिन्तामा छटपटाइरहेको बेला हाम्रै नेपाली दलालहरूले भावनात्मक अपहरण गर्दै, सपनाका स्वर्णिम संसार देखाउंदै, ललाई फकाई भारत हुंदै खाडीका मुलुकहरूमा ल्याइपुर्याएका छन । निर्मला तिनै अभागी चेलीहरूमध्येकी एक हुन् ।
यिनलाई बर्दियाका ‘प्रताप’ भन्ने दलालले भारतको दिल्ली हुंदै कुवेत पठाएका हुन । प्रतापलाई यिनले (यिनका माइतिले) ऋण सापटी गरेर रू. ७० हजार पनि बुझाएका रहेछन । दिल्लीमा त प्रताप जस्ता अरू ४-५ जना नेपालीहरू त्यहां रहेको दलालको दलाली अफिसमा नै काम गर्ने रहेछन् । ४ बर्ष अघि कुवेत आएकी निर्मलाले २ बर्ष कुवेतमै काम गरिन्, कुवेतका ती २ बर्ष सोंचेजस्तो सहज र फलदायी नरहे पनि सबै दुखहरू उनले सहनसक्ने सिमाभित्रै थिए ।
पीडीतः निर्मला चौधरी |
तर जब ती कुवेती घरमालिकले साउदी अरबको खुरायात भन्ने ठाउं (दमाम र रियाददेखि २००-३०० कि.मी. टाढा) मा रहेका आफन्तको सेवा गर्न भनी साउदी पठाए, उनका लागि कठोर दुखका दिनहरू शुरू भए । त्यस घरमा रहेका ७ जना बच्चाहरूको सेवा सुसार गर्नु त थियो नै, अन्य घरायसी कामको बोझ यति धेरै थियो कि बिहान ५ बजेदेखि राती ३ बजेसम्म अबिरल (२२ घण्टा) काममा खटिरहनु पर्दथ्यो । पेटभरी खानपनि नपाउने, तलब त माग्नै नहुने रे ! माग्दा “तलाई लाज लाग्दैन तलब माग्न?” भन्ने जबाफ दिने । यस्तै सवाल गर्दा एक दिन त घर मालिक्नीले पिठ्युमा चक्कु नै रोपिदिइन् ! जुन घाउ उनको शरीरमा अझै पनि देख्न सकिन्छ ।
त्यस घरमा १४ महिना कठिनतम कालरात्रीहरू बिताएपछि एकदिन साउदीको त्यो परिवारले उनलाई पनि दमाम शहरमा शपिंग गर्दा संगै ल्याएको रहेछ, निर्मलाले त्यही मौकाको सदुपयोग गर्दै त्यो परिवारलाई छोडेर भागीछन । एक्लै सडकमा भौंतारिंदै गर्दा उनी एकजना पाकिस्तानी परिवारको सम्पर्कमा पुगिछन र दमामको त्यही पाकिस्तानी परिवारमा उनले अरू १० महिना गुजारिन् । उनका लागि त्यो पाकिस्तानी परिवार तुलनात्मक रूपमा राम्रो रहेछ ।
निर्मलाले स्वदेश फर्किने इच्छा ब्यक्त गरेपछि पाकिस्तानी आफैले नेपाली दूतावास रियादमा फोन गरेछन् र राजदूत उदयराज पाण्डेयज्युको निर्देशन बमोजिम दूतावासका अबैतनिक प्रतिनिधि तथा एनआरएनए साउदी अरबका महा सचिव पुरूषोत्तम श्रेष्ठले गतः २६ जुलाईमा रिसिभ गर्नुभयो, सो दिन हाम्रो परिवार संगै रहिन् निर्मला र भोलीपल्ट रियाद लग्यौं ।
२७ जुलाईमा एनआरएनए साउदी अरबको स्थापना दिवसमा दिनभरी ‘पर्यबेक्षक’ बनिन् निर्मला । ४ बर्षसम्मको अरबी घरपरिवारभित्रको गुप्तबासबाट मुक्त भई अचानक थुप्रै प्रबासी नेपाली दाजुभाइहरूका सामाजिक तथा राष्ट्रिय चिन्तन तथा गतिबिधिबारेका बृहद छलफल प्रत्यक्ष देखेसुनेपछि अचम्मको अनुभूति भए छ र भनिन् “बिदेशमा पनि नेपालीहरू यसरी संगठित भएर नेपाली समाज र राष्ट्रका लागि यति चिन्तित होलान्, मैले त यस्तो कल्पनासम्म पनि गरेको थिइन ।“
सोही दिन सांझ नेपाली दूतावासमा निर्मलालाई बुझाए (हस्तान्तरण गरे)पछि हामी दमाम फर्क्यौं । अब केही दिनमै निर्मला स्वदेश फर्किनेमा कुनै शंका त छैन तर स्वदेश फर्केपछि निर्मलाका दिनहरू कसरी बित्लान्? निर्मलालाई अब फेरी खाडी मुलुकमा कोही पनि नेपाली महिलाहरू आउनुहुंदैन भन्ने शिक्षा त उनको आफ्नै ४ बर्षे खाडीको भोगाईले दिएकै छ तर नेपालमा पनि उनका लागि के कस्ता बिकल्पहरू छन् त भनी निर्मलाले खोज्नैपर्ने छ ।
उनको माइती, उनको समाज र नेपाल राष्ट्रले निर्मलाहरूलाई स्वदेशमै कुनै रोजगार (स्वरोजगार) या जिवनयापनका अन्य बाटाहरू देखाउनै पर्दछ नत्र नेपाली महिलाहरूले खाडीमा भोग्नुपरेको यो (यस्तो) नियति रोकिने कुनै सम्भावना देखिदैन ।
No comments:
Post a Comment
- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।