- देवेन्द्र भट्टराई
पितापुर्खादेखि सुन्दै आएको पाँचथर ‘पान थर’ बनेको थियो, फिदिम ‘फेदेन’ बनेको थियो । पुर्वी पहाडी जिल्लाहरु लिम्बुवानको आन्दोलनमा बौरदैं र मुर्झाउँदैं गरिरहेका थिए । अनेक बहाना राखेर हरेक दिन हुने बन्दहरुले सातो हराएको बिरालो झैं बनेको रहेछ फेदेन । त्यही गोलमालका माझ गत बर्ष कात्तिक दोस्रो साता हामी पाँचथर र इलाम घुमघाममा निस्केका थियौं ।
साँझपख फेदन चोकको युके लजमा पुग्दा लिम्बुवानको भिन्नै जगतमा पाइला टेकेजस्तो भने भएन । भित्तोमा स्वीटजरल्याण्डका सुन्दर दृष्यचित्र र भारतीय नायक-नायिकाका पोजपोजका तस्वीर टाँगिएका थिए भने चर्को स्वरमा हिन्दी गीत गुन्जिरहेको थियो । लिम्बुवानका अभियन्ता मित्र लिङ्देनदेखि कवि भवानी तावा र पत्रकार प्रेम ओझासम्मका बातचितहरु आ-आफ्नै काइदाका लाग्थे । एउटा पुस्तकालयको उद्घाटन समारोहमा पुगेका बेला मैदानमा केही लिम्बु र अन्य जातीय झाँकीहरु देखिएपनि भाषिक उपयोगिताको कुरामा कि नेपाली अथवा केही अंग्रेजीको प्रयोग पनि भैरहेको थियो । ‘यहाँ फेदेन बजारकै लिम्बूहरुले पनि आफ्नो भाषा बुझ्दैन, बरु गाउँतिर भने बाहुनहरुले पनि लिम्बु बुझिरहेका हुन्छन्’, जातिय र भाषिक विविधताले भरिएको नेपाली समाजको यथार्थ सुनाइरहेका थिए, स्थानीय सुम्हात्लुङ एफएमका समाचारबाचक सेसुफुङ शेर्मा । आफ्नो भाषा र सम्पदा जोगाउने अभियानमा अरु तीन साथीभाइसँग मिलेर हरेक बिहान-बेलुका लिम्बु भाषामा समाचार फुकिरहेका उनी बिहानीछेक निकै हतारमा थिए । बरु एकैछिनमा सुम्हात्लुङ एफएमबाट सुनियो, ‘आल्ल इङ्घङ खेप्सुङ्लो…’ (अब लिम्बु भाषामा समाचार सुन्नुहोस ।)
बजारमा अन्तर्राष्ट्रिय सन्धी/अभिसन्धीको कुरा गर्दै थिए-संघीय लिम्बुवान राज्य परिषद्का कार्यकर्ता मित्र लिङ्देन । ‘जल, जमिन, जंगल’मा अग्राधिकारदेखि ऐतिहासिकताका आधारमा अरुणपूर्वका छ जिल्लाको लिम्बुवान राज्य परिकल्पना सुनाउनमा उनी निकै आतुर थिए । लिम्बुवानको बिरोधमा लाग्ने अथवा समर्थन नगर्ने पत्रकारलाई ज्यान लिने धम्की दिएका कारण त्यही साता भिन्नै तनाव पनि उब्जिएको रहेछ फेदेनमा । स्थानीय ‘छाल साप्ताहिक’का पत्रकार मित्रहरुसँग यसैबारे बाचचित हुँदै थियो । त्यही साताको पत्रिकामा पत्रकारिताको बिरोध-विम्बस्वरुप सम्पादकीयमा कालो पोतिएको रहेछ । सम्पादक नारायण तुम्वापो, अतिथि सम्पादक प्रेम ओझासहितका मित्रहरु युके लजमा लिम्बुवानमा चौथो अंगमाथि आइपरेको औडाहा सुनाउनमा व्यस्त थिए । मञ्च सम्बद्ध लिम्बूवान राज्य परिषदले हालै पाँचथरमा आयोजित एक समारोहमा ‘लिम्बूवानको बिरोध गर्ने पत्रकारको टाउको काट्छौं’ भनेर जुलुशनारा गराएकोमा त्यसको बिरोधमा पत्रिका सम्पादकीयमा कालो पोतिएको रहेछ । ‘कालो’ पत्रिकाको सम्पादकीयमा मात्रै पोतिन थालेको थिएन । अनेक भ्रम-दिग्भ्रम र अन्यौलका माझ आ-आफ्नै हेराइ र बुझाइ फेदेनमा फैलिंदै गएको देख्ता दिक्क पनि लाग्यो ।
लिम्बुवानको अभियानमा लागिरहेका संघ-संगठनहरु पनि एकताबद्ध हुनुको साटो ४/५ फ्याक बनेका रहेछन् । कुनै एउटा फ्याकको लिम्बुवान बन्द सुरु भैसकेको थियो । तैपनि लिम्बुवानका अगुवा मित्रजनबाट पत्र बनाएर हामी इलाम सदरमुकामतिर हानियौं, एकदिनको फेदेन बसाइपछि । लिम्बुवानका हाप्पेन चोक, कान्छी दोकान, रक्से बजार सबैसबै एकनाशले बन्द थिए ।
भोलिपल्ट इलामको उत्तरी कुनोमा पर्ने माइपोखरीको जसबीरे चियाकमान पुग्नासाथ आफैंमा ऐतिहासिक सम्पदाजस्तो लेन्डरोभर गाडीबाट फुत्त उत्रिए-सहयात्रु गिरीश गिरी । पेशामा पत्रकार र सौखमा डकुमेन्ट्री निर्माता/निर्देशक गिरीका लागि ‘कथाले मागेजस्तो’ ठाउँ थियो त्यो । कुनै सलल बग्ने प्रेम र रोमान्सको फिल्म कुनै दिन बनाएमा यसैगरी चियाका बुटामाथि पिरतीको गीत बुन्ने उनको पटकथा आफैंमा रोमान्टिक लाग्थ्यो ।
ठुली एकादशी पर्वको धुमधाम तयारीमा लागेका रहेछन्, माइपोखरी मुखमा होटल चलाउने निमा दोर्जी शेर्पा । दार्जीलिङतिर पढेबढेका उनको बोलीमा ‘डल्लै र याँच’को थेगो झुन्डिएको थियो । ‘टिम्बुरको रक्सीलाई डल्लै घिउले झानेको स्वाद चाख्नुपर्छ है भाइ’, भेज मःमका डल्ला बेरिरहेका बेला निमा भन्दै थिए । नभन्दै दार्जीलिङबाट ल्याएको बुट्टेदार माटाको माने ग्लासमा छिनभरमैं टिम्बुरको स्वाद आइपुग्यो, साथमा थियो-अकबरे खोर्सानीका डल्ला । त्यो सेवन गरेपछि भने लागेको थियो-यो संसार साँच्चिकै सोचेभन्दा बढी गोलो रहेछ ।
टिम्बुर रक्सीको स्वादमा गढेको जिव्रो फड्कार्दै साँझमा तल इलाम झर्यौं । लिम्बुवान बन्दको क्रम जारी थियो । धन्य, फिक्कल एफमका प्रबन्धक, गायक र चिया कृषक गणेश रसिक फिक्कलबाट इलाम बजार भर्न आएका रहेछन् । उनका साथ लागेर फिक्कल पुग्यौं । रसिक चियाबगान घारीमा सयपत्रीले ढाकेको आँगनमा घेरिएर बस्दा रहेछन् । माओवादी द्वन्द्वकालमा त्यहीमाथि पशुपतिनगर प्रहरीचौकीमा मारिएको इनिस्पेक्टर भाइको सम्झना मनभरि राखेर र सधैं परिवर्तनको संघारमा उभिएको भनिने लिम्बुवान राज्यका यी भावुक नागरिक यो एकान्तमा ‘तराइ हेर कति राम्रो हरियो बन हुनाले’ गीत गाइरहेका थिए ।
‘म इश्वरसँग रुन्छु, मान्छेसँग हाँस्छु’, रसिकले कस्तो बेजोडको कुरा गरे भने आम नेपालीको हविगत उनी बोलिरहेका थिए । भोजपुरको ट्यँम्के डाँडाबाट संर्घषका अनेक तानाबाना बुन्दै लाहुरे बन्न नसकेको र सधैंभरि गरिवीको भुतले लखेटिरहेको दोमन लिएर रसिक कहिले कवि बनेका थिए । कहिले उनी गायक बने, कहिले पञ्चायती अभियन्ता बने, कहिले निकै राम्रा लेखक पनि बने । पछिल्ला दुइ दशक भने उनका लागि जीवनजगत बुझाइको अर्को चरण झैं बनेको रहेछ । उनको ‘दशगजामा उभिएर’ संस्मरण कृति पढ्दा उनको आगत र बिगत यसरी झल्किन्थ्यो कि सबैको जीवनमा आइपर्ने सबै मोड र घुम्तीहरु सधैं सुखद रहिरहन्छन् भन्ने केही ठेगान नहुने रहेछ भन्ने लाग्थ्यो ।
त्यो साँझ आफैंमा हुर्मत लिने साँझ बनेको थियो । एकप्रकारले एकान्तिक, निराशाबोधी र सपनामयी गीतहरु बढी सुनिएका थिए । फिक्कल बजारबाट किनेर लगेको धनकुटाको सुन्तले रक्सीको नसामा मदमस्त मित्र गिरीशका फर्माइसहरु गणेश रसिकबाट अघि बढेर बच्चुकैलाश, मोहम्मद रफी हुँदै लता मंगेशकरसम्म पुगिरहेका थिए । ती उर्लिएका फर्माइसलाई थाम्न रसिकले एउटा बिसौनी गीत गाए, यो गीत गाइरहेका बेला उनका आँखाका डिलडिलबाट आँशुका ढिका बाहिर निस्कन खोजिरहेका थिए-
‘जिन्दगीको आकाशमाथि ताराभन्दा सपना धेरै
देखेको सपनाभन्दा बाच्ने आयु साह्रै थोरै…†
साभारः पुर्वेलीटाइम्स
No comments:
Post a Comment
- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।