- निर्मला कटुवाल, भक्तपुर,
'घिनी ट्वाङ-घिनी ट्वाक, घिन्ताङघिसी ट्वाक' यो तालले जतिबेला ट्वाक भन्छ, हातमा बोकिएका ली एकआपसमा ठोक्किएर ट्वाक्क आवाज आउँछ। आइतबार दिनभर नै सिँगो भक्तपुर परम्परागत पहिरन, विभिन्न झाँकी र यसै आवाजमा रमाएको थियो।
भक्तपुरवासी बिक्रमको १४ औं शताब्दीअघि नै लिच्छविकालबाटै गाईजात्राको प्रचलन सुरु भएको ठान्छन्। स्थानीय राजा जयस्थिति मल्लको छोरा दिवंगत भएपछि निरन्तरता पाएको गाईजात्रा मुलुकभरका नेवार समुदायमा प्रचलित काठमाडौंका प्रताप मल्लले चलाएको भन्दा केही फरक छ। त्यसैसँग जोडिएको यहाँको अर्को साँस्कृतिक जात्रा हो- घिन्ताङघिसी, जसमा ताल मिलेर ली जुधाउँदै रमाउने परम्परा छ। वर्षेनी मनाइने यो जात्रामा केही वर्षअघिसम्म छोरीबेटी देखिँदैनथे।
'दुई-तीन वर्षदेखि भक्तपुरका युवतीहरू यो जात्रामा सरिक हुन थालेका हुन्,' भक्तपुरको साँस्कृतिक क्षेत्रमा सक्रिय रविन्द्र पुरी भन्छन्, 'यसपटक आधाभन्दा बढी महिला सहभागिताले सिंगो भक्तपुर आश्चर्यमा परेको छ।'
अधिकांश हाकु पटासी, कोही फेसनेवल त कोही साधारण पोसाकमा सजिएका। पहिले दर्शक मात्र बन्न बाध्य उनीहरू अहिले आफैं सरिक हुन पाउँदा रमाएका पनि देखिन्थे। यो नृत्यमा सबैभन्दा पहिले ली बोकेर निस्कने मध्येकी हुन् - सानोठिमीकी निरञ्जना शाक्य। 'महिला र पुरुषको दायरामा अल्भि्कनुभन्दा पनि सँस्कृति बचाउने सोचले अघि बढेकी हुँ,' उनले भनिन्, 'सम्पूर्ण युवा लागिपरे मात्र यस्ता परम्परा भोलिको पुस्तासम्म फैलिन सक्छ।'
पुरीका अनुसार महिलाहरू यो जात्रामा आउन सुरु गर्दा उनीहरूको उपस्थिति अत्यन्त थोरै थियो। दुई-चार चेली मात्र जात्रामा सरिक हुँदा कुरा काट्ने बढी थिए। 'हिजोआज बढ्दो संख्यासँगै यो दृश्य जति सामान्य बन्दै गएको छ,' उनी भन्छन्, 'यसले जात्रामा रौनकता पनि बढाउँदै लगेको पाइन्छ।'
घिन्ताङ्घिसी (ली) नाच भक्तपुरमा मात्र आयोजना हुने गर्छ। यसका निम्ति चारवटा बाँसबाट बनेको टाहासा, डोकोसा र माटोले बनेको बसाहाका साथमा सिँगारिएका बालबच्चालाई गाई बनाएर अघि लगाइन्छ। त्यसभन्दा पछाडि भने ली बोकेर नाच्नेहरूको लस्कर हुन्छ।
मरेको मान्छेको सम्झनामा गरिने गाईजात्रासँगै घिन्ताङ्घिसी पनि नाच्दा मृतकको आत्मा खुसी हुन्छ भन्ने मान्यता रहँदै आएको छ। यसअघि स्कुले कार्यक्रममा मात्र नाच्ने सूर्यविनायककी रमिला श्रेष्ठ पहिलोपटक ली बोकेर सडकमा नाच्न आएकी थिइन्। 'सबै साथीसँग यसरी नाच्दा बेग्लै रमाइलो हुने रहेछ,' पसिना पुछ्दै उनले भनिन्, 'अब वर्षेनी नाच्छु।'
रमिलालाई साथ दिने रेश्मा रञ्जितकारको भने यो दोश्रो वर्ष थियो। त्यसैले उनले नै 'यसरी घुमाउनु पर्छ' भन्दै रमिलालाई सिकाइरहेकी थिइन्। १५ वर्षीया उनी पोहोर परिवारसँग पहिलोचोटि गाईजात्रा हेर्न आउँदा अरुले नाचेको देखेर आफू पनि कस्सिएको सुनाउँछिन्।
ट्वाक्क ट्वाक्क लीको आवाजले बाजाको ताललाई साथ दिने यस किसिमको वाद्यवादन भक्तपुरमा वर्षभरि यसै जात्राको बेला मात्र सुन्न पाइन्छ। 'यस्तो तालमा केटाले भन्दा हामीले नाच्दा नै राम्रो देखिन्छ,' रेश्माले थपिन्, ‘केटाहरु नाच्नेभन्दा पनि बढी हल्ला गर्छन्।'
बाजाको तालमा ट्वाङ आवाज निस्केको बेला कतिपय पुरुष यसमा रोचकता थप्न विभिन्न नाटकीय दृश्य पनि प्रस्तुत गर्छन्। कतिपयले यो आवाजसँगै रक्सी राखेको 'अन्टी' तल हात लगेर पिएको जस्तो गर्ने प्रचलन पनि छ।
यो नाचमा पहिले युवतीको उपस्थिति बर्जित हुँदा युवकले नै युवती रूप धारण गरी नाच्ने गर्थे। 'ठूलो संख्यामा पुरुषहरूले साडी, चोलो र लामो कपाल पहिरेर नाच्थे,' स्थानीय संस्कृतिका ज्ञाता ओम धौभडेल भन्छन्, 'तर, युवतीहरू स्वयं आउन थालेपछि भने पुरुषले स्त्री भेष धारण गर्ने काम बन्द भएको छ।' धौभडेलका अनुसार पहिला चेतनाको कमीले गर्दा नै छोरी मान्छेले नाच्न हुँदैन भनिन्थ्यो।
यसरी घिन्ताङ्घिसीमा वर्जित रहे पनि यसै जात्रामा प्रस्तुत हुने रामायणको बेग्लै नृत्यमा भने अलिक अघिदेखि नै फाट्टफुट्ट महिला सहभागिता हुनथालेको थियो। परम्परा अनुसार जात्रामा सरिक कसैकसैले मृतकको स्मृति झल्काउने करुण रसप्रधान गीतीलीला देखाउन चाहे रामायणको प्रदर्शन गर्ने चलन छ।
रामायणमा पनि सरिक हुनुअगाडि भने जात्रामा महिला उपस्थिति ठ्याम्मै हुँदैनथ्यो। त्यसताका नाच हेर्न मन लागे उनीहरू घरको झ्यालबाट चिहाउनचाहिँ पाउँथे। हिजोआज पुरुषजस्तै स्त्रीले पनि सबैथोकमा सरिक हुन सक्छे भन्ने सोंच विकास भएकाले छोरीबेटीको सहभागीता बढेको धौभडेल बताउँछन्।
गाईजात्राको दिन सुरु हुने यो नृत्य आठ दिन आठ रातसम्म भक्तपुरमा जारी रहनेछ।
- नागरिकबाट
No comments:
Post a Comment
- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।