- विष्णुप्रसाद चापागाई/ दमाम
२८ डिसेम्बर । साउदी अरबका कम्पनीहरुमा कार्यरत नेपालीहरुको हितको लागि नेपाली दूतावास रियादले साउदी कम्पनी बिरुद्ध कडा कदम चाल्ने भएको छ । साउदीमा आउने नेपाली कामदारहरुको समस्याहरु हरेकदिन बढिरहेकोले त्यसलाई न्यूनिकरण गर्न दूतावासले यस्तो योजना अघि सारेको हो । गैर आवासीय नेपाली संघ साउदी अरबले दमाममा आयोजना गरेको बनभोज कार्यक्रममा बोल्दै महामहिम राजदूतले यी कुरा बताउनुभएको हो ।
दूतावासले गरेको एक अध्ययनमा कम तलबकै कारण नेपालीहरु कम्पनी छोडेर भाग्ने गरेको पाइएपछि सुधारको क्रममा नेपाल सरकारले नेपाली कामदारका लागि न्युनतम तलबमान साउदी रियाल ८००+२०० हुनुपर्ने गरी राजपत्रमै प्रकाशित गरिसकेको हुँदा निर्धारित नयाँ तलब नदिने रोजगारदाता कम्पनी र नेपाली म्यानपावर कम्पनी दुबैलाई कारवाही गरिने महामहिम राजदूत उदयराज पाण्डेले बताउनुभएको छ । "नेपाली कामदारहरुको तलब सुविधा ८००+२०० भन्दा कम हुने गरी पठाएको सूचना दूतावासले पाएमा नेपाली म्यानपावर कम्पनीहरुलाई जरिवाना गर्नेदेखि जेल पठाउने सम्मको कारवाही गर्ने सक्नेछ। " उहाँले भन्नुभयो- " नेपाल सरकारले तोकेको मापदण्डलाई साउदी अरबका कम्पनीले बेवास्था गरे वा कार्यान्वयन नगरेमा उक्त कम्पनीबाट कामदारहरुको तलब अभिलेख वा सेलरीसिट झिकाएर कम तलब सुविधा दिएको पाइएमा त्यस्ता कम्पनीहरुलाई पूनः नेपाली कामदारहरु ल्याउन नपाउने गरी कालोसूचीमा राखिने छ ।" जसको लागि नेपाली कामदारहरुले पनि आफूसँग भएको आवश्यक कागजात नेपाली दूतावासलाई उपलब्ध गराई सहयोग गर्नुपर्नेछ ।
यसै कार्यक्रमको अवसर पारेर गैर आवासीय नेपाली संघ साउदी अरबले गत सेप्टेम्बरमा साउदीमै दिवंगत हुनुभएका धनकुटा निवासी धन बहादुर लिम्बूको संझनामा एक मिनेट मौनधारण गर्दै तत्कालिन राहत स्वरुप रु.२५००० उपलब्ध गराएको छ । संस्थाको पञ्जिकृत सदस्य रहनुभएका लिम्बूलाई एनआरएनएमा रहेको कल्याणकारी कोषबाट प्रदान गरिएको रु. २५००० को चेक महामहिम राजदूतमार्फत मृतकका परिवारजनसम्म पुर्याउनका लागि एनसिसि सल्लाहकार दीपक रेग्मीलाई हस्तान्तरण गरिएको छ ।
No comments:
Post a Comment
- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।